निर्णय नं. ३०५४ – ज्यान
निर्णय नं. ३०५४ ने.का.प. २०४४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५०९...
निर्णय नं. ३०५४ ने.का.प. २०४४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४१ सालको फौ.पु.नं. ५०९
मुद्दा : ज्यान
पुनरावेदक/वादी: सोनादेवी लोहार्नी समेतको जाहेरीले श्री ५ को सरकार।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : जि. नवलपरासी जगसाथपुर गा.पं. वा.नं. ३ डिविनी बस्ने दुधनाथ गुप्ता।
फैसला भएको मिति: २०४४।२।७।५ मा
सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(३)(छ) मा उपदफा (४) अन्तर्गत अदालतमा प्रस्तुत भएको प्रहरी प्रतिवेदनमा उल्लेखित अपराधको अभियोग वा अभियुक्त बारेमा अदालतले आवश्यकतानुसार आफैं वा अन्य प्रहरी कर्मचारी वा सरकारी अभियोक्ता प्रचलित नेपाल कानून बमोजिम पुनः तहकिकात गरी गराई मुद्दामा पूरा तवरले इन्साफ गर्ने यो दफामा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन भन्ने किटानी व्यवस्था भएको पाइन्छ यस्तोमा इन्साफ नगरी शुरुले तामेलीमा राख्ने ठहर्याएको आदेश मनासिब ठहर्याई गरेको फैसला कानून अनुरुप मिलेको नदेखिने ।
(प्रकरण नं. १५)
पुनरावेदक, वादीतर्फबाट: विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा
उल्लेखित मुद्दाः X
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह: श्री पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा चित्त बुझेन भनी यस अदालतमा वादी श्री ५ को सरकारको परेको पुनरावेदनको तथ्य तथा विवरण संक्षेपमा निम्नानुसार छ ।
२. जिल्ला नवलपरासी जगन्नाथपुर गा.पं. वा.नं. ३ बस्ने दुधनाथ गुप्ताले मेरो बाबुलाई ललाई फकाई घडेरी र जग्गा समेत परासी मालमा गई पास गराई भोलिपल्ट घरमा आएका थिए । नामालुम कुन औषधि खुवाई उक्त दिनको राती नै बुबाको मृत्यु भएछ, भोलिपल्ट हामी नजिकको छोरीहरूलाई खबर नगरी आफू र आफ्नो मानिस लगाई बुबाको लाश जलाई दिएछन् । हामी लोहारको र निज दुधनाथ गुप्ता तेली जातको मानिसले त्यसरी जलाउनु नपर्ने निजलाई प्रहरीद्वारा पक्राउ गरी के खुवाई कर्तव्य गरी मारेका हुन खुलाई कानून बमोजिम कारवाही गरिपाउँ भन्ने सिहसनी लोहार्नी र सोना लोहार्नीको एकै मिलानको जाहेरी दर्खास्त ।
३. २०३६।१०।२० गते म र शीतल लोहार परासी मालमा जग्गा विगहा १–२–३ को घडेरीको ०–०–६ समेत मलाई पास गरिदिन भनी जम्मा रु. २६,९९९।– निज शितल लोहारलाई दिई घरमा आएको हो । भोलिपल्ट निजको मृत्यु भएको हो मैले डाक्टरी औषधिको दुकान खोलेको छु, औषधिहरू बिक्री गर्दछु । शितल लोहारको मृत्यु भएपछि जाहेरवालाको लोग्ने र गाउँका मानिस समेत नारायणी नदीमा लगी जलाइएको हो, मैले कुनै औषधि खुवाई मारेको होइन भन्ने समेत दुधनाथ गुप्ताको मौका कागज ।
४. ०३६।१०।२१ गते मर्ने शीतल लोहारको मृत्यु भयो भन्ने कुरा भोलिपल्ट थाहा पाएको थियो, कसरी मृत्यु भयो थाहा भएन । यस अघि निज विरामी पनि थिएनन् । दुधनाथ गुप्ताले औषधि खुवाई नखुवाई मारे नमारेको कुरा मौकामा नदेखेको हुँदा हामीलाई थाहा हुन सकेन, निजको भतिजोलाई थाहा होला भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
५. मेरो बुबाको दमको व्यथा भएको हुँदा दुधनाथ गुप्ता राती भई आई सेतो औषधि खुवाएको केही छिन पछि बुबाको मुखबाट रगत आएको थियो, बुबाको मुखबाट रगत आएको देखि म रुन लागें दुधनाथले मलाई नरो हल्ला पनि नगर भनेको हुँदा डरले कसैलाई पनि भनिन र हल्ला पनि गरिन मेरो भाइ रामजी लोहारले पनि रोकेनन्, जलाउन जाँदा पनि रोकिएन । लाश जलाई भाइ रामजी आफ्नो घर भारत जि.देवीया थाना कसया गाउँ गोधा घाटी गए । त्यसपछि मैले र दिदी समेतले निवेदन लेखी हुलाकबाट दिएको हो, मौकामा प्रहरीलाई खबर गर्नु पर्ने र लाश जलाउन नदिनु पर्ने, सो समेत केही गरेको थिइन जग्गा बिक्री गरेको रुपैयाँ दुधनाथ गुप्ताले बुबालाई दिए वा दिएनन् सो समेत थाहा छैन, जग्गा पास गरी आफ्नो नाममा गरेका छन् भन्ने समेत सोनादेवी लोहार्नीको कागज ।
६. पक्राउ भएको दुधनाथ गुप्ताको कागज गराउँदा मैले औषधि खान दिएको होइन र गाउँलेले जलाएका हुन्, मैले शितल लोहारलाई जलाएको समेत होइन भनी इन्कारी कागज गरेको, बुझिएको सरजमीनको भनाई बकाईबाट समेत शीतल लोहारको मृत्यु भएको रात मर्ने शीतल लोहारको म भतिजा रामजी र निज शीतल लोहारको कान्छी छोरी अर्थात् जाहेरवाली पनि शीतलकै घरमा थिए । दुधनाथले औषधि खुवाएको कुरा हामीलाई थाहा छैन । शीतलको मृत्यु भएको कुरा रातमा थाहा भएन, भोलिपल्ट विहान मात्र थाहा भएको र मर्नेको भतिजा र गाउँलेहरू सबै गई शितलको लाशलाई जलाएका हौं भनी बुझिएको सम्पूर्ण सरजमीनको भनाई बकाई भएको र सोना देवी, शीतलको भतिजा समेत शीतल मर्ने समयमा संग साथ रहेको भएको देखिएको र निज दुधनाथले औषधि खान दिएपछि, शीतलको मृत्यु भएको भए मर्नेको छोरी सोनादेवी भतिजा रामजीले तुरुन्त गाउँघरमा हल्ला गर्नु पर्ने र प्रहरीमा खबर गर्नु पर्ने लाश जलाउनु र राख्नु पर्ने सो भए गरेको बुझिएको सरजमीनको भनाई र अन्य संकलित सबूदबाट निज दुधनाथले शितल लोहारलाई औषधि खुवाई मृत्यु हुन गएको देखिन नआएको हुँदा दुधनाथ गुप्ताले शीतल लोहारलाई औषधि खुवाई मारेको भनी दुधनाथ उपर मुद्दा चलाउने सबूद नहुँदा निज उपर मुद्दा नचलाउन र निज दुधनाथलाई अदालतले खोजी गरेको बखत उपस्थित गराउने गरी हाजिर जमानी छाडी सक्कल मिसिल र कागजात यसै साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन।
७. जाहेरवालाहरूलाई राम्ररी चिन्दछु, निजहरूसंग कुनै रिसइवी थिएन । व्यवहार राम्रै थियो, ०३६ साल माघ २० गते म र शीतल लोहार ११ बजे परासी मालपोत कार्यालयमा आएको थियौं । रु. २४,९९९।– को एक र अर्को रु. २,०००।– लिई राजीनामा माल अगाडि लेखी साक्षी बस्ने लेनदेन भइसकेपछि शीतलले पनि सहिछाप गरी मालपोत कार्यालयलाई राजीनामा दाखिल पारीत भएको थियो । काम सम्पन्न गरी सोही दिन ४ बजे परासीबाट हिँडी राती ७।८ बजे तिर घरमा पुगेका थियौं । शीतल भोलिपल्ट राती ९।१० बजे मरेका हुन् । निज आफ्नो कालगतीले मरेका हुन् । निजलाई दमको रोग थियो निजले कहाँ औषधि गराउने मलाई थाहा छैन, मैले औषधि गर्ने गरेको थिइन । रजिष्टर्ड भएको मेरो औषधि पसल छ । तर रोगीलाई औषधि उपचार नगरी सिर्फ खरीद बिक्री गर्ने मात्र गर्दछु । मैले शीतललाई औषधि खुवाएको छैन । मर्नेको घरमा म राती गएको नभई मरिसकेपछि घरका मानिस रोएको आवाज सुनी जाँदा मरेको भन्ने कुरा थाहा पाएको हो । शीतललाई मैले रुपैयाँ दिएको हुँ, रुपैयाँ पचाउने नियतले विषय खुवाएको होइन । जग्गाको लोभले गर्दा झुठ्ठा आरोप लगाएको मात्र हो भन्ने समेत व्यहोराको प्र.दुधनाथ गुप्ताको अदालतमा बयान ।
८. दुधनाथ आई राजदेवलाई शीतलको छोरी सीहसनी, सोना समेतलाई घरबाट निकाली दिए, दुधनाथले आइतवार राजीनामा गराएका सोमबार दवाई दिएको मुखबाट रगत आएको जान्दछु। नामालुम कसरी मरे भन्न सक्दिन भन्ने समेत दफा १ का जग्गदैया तेलीको र करिब करिब एक मिलानको जानकारी तिवारी समेतले दफा दफामा लेखाई दिएको अदालतबाट पुनः सरजमीन मुचुल्का भई मिसल सामेल रहेको रहेछ ।
९. प्र.का.साक्षीहरूका बकपत्र भई मिसिल सामेल रहेछ ।
१०. प्रतिवादी दुधनाथ गुप्ता उपर मुद्दा चलाउन सबूद प्रमाण नपुग्ने हुँदा निज समेत उपर हाल मुद्दा नचलाउने गरी प्रहरी प्रतिवेदन पेश भएको, त्यस्तो वादी आफैंले नै प्र.उपर मुद्दा चलाउन प्रमाण नपुग्ने भई मुद्दा चलाउन सक्दिन भनी मुद्दा सकेपछि अदालत आफैं वादी भई मुद्दा चलाउन नमिल्ने हुँदा प्रहरी प्रतिवेदन माग बमोजिम प्र.दुधनाथ उपर मुद्दा नचलाउने गरी तामेलीमा राखिदिने ठहर्छ भन्ने समेत नवलपरासी जिल्ला अदालतको निर्णय आदेश ।
११. तामेलीमा राखी दिने भनी गरेको नवलपरासी जिल्ला अदालतको आदेश न्याय प्रतिकूल छ । पुनः विचारार्थ मुद्दा दायर गर्ने अधिकार कहाँ पठाउनु पर्नेमा सो नगरी तामेलमा राख्ने गरेको नवलपरासी जिल्ला अदालतको आदेश बदर गरिपाउन अनुरोध गरिन्छ भन्ने समेत वादी श्री ५ को सरकारतर्फको प.क्षे.अ.मा परेको पुनरावेदन ।
१२. पुनरावेदन जिकिरसंग सहमत हुन नसकी शुरुले तामेलीमा राखिदिने गरी गरेको आदेश मनासिब ठहर्छ । श्री ५ को सरकारले पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने प.क्षे.अ.को फैसला ।
१३. उक्त प.क्षे.अ.को इन्साफमा चित्त बुझेन भनी यस अदालतमा वादी श्री ५ को सरकारको परेको पुनरावेदनमा कानून बमोजिम इन्साफ गर्नु पर्नेमा तामेलीमा राखिदिने गरेको शुरु जि.अ.को आदेश सदर गरेको क्षे.अ.को इन्साफ नमिलेको हुँदा अ.बं. २०२ नं. बमोजिम विपक्ष झिकाई नियमानुसार गरी पेश गर्नु भन्ने डिभिजन बेञ्चको आदेश ।
१४. नियमानुसार निर्णयार्थ यस इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विपक्षी प्रतिवादीतर्फबाट उपस्थित हुनु भएको विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्माले गर्नु भएको बहस समेत सुनियो मुख्यतः क्षेत्रीय अदालतले गरेको निर्णय मिले नमिलेको के रहेछ सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. शीतल लोहार मरेकोमा विपक्षी दुधनाथ गुप्ता उपर किटानी गरी जाहेर परेको पाइन्छ । प्रतिवादी दुधनाथलाई हाजिर जमानीमा राखी प्रहरीले अदालत समक्ष प्रतिवेदन पेश गरेको देखिन्छ । सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ३(३) को (छ) मा उपदफा (४) अन्तर्गत अदालतमा प्रस्तुत भएको प्रहरी प्रतिवेदनमा उल्लेखित अपराधको अभियोग वा अभियुक्त वारेमा अदालतले आवश्यकतानुसार आफैं वा अन्य प्रहरी कर्मचारी वा सरकारी अभियोक्ता प्रचलित नेपाल कानून बमोजिम पुनः तहकिकात गरी गराई मुद्दामा पुरा तवरले इन्साफ गर्न यो दफामा लेखिएको कुनै कुराले बाधा पुर्याएको मानिने छैन भन्ने किटानी व्यवस्था भएको पाइन्छ । यस्तो स्थितिमा इन्साफ नगरी शुरुले तामेलीमा राख्ने ठहर्याएको आदेश मनासिब ठहर्याई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला कानून अनुरुप मिलेको नदेखिँदा बदर हुन्छ । पुनः कानून बमोजिम इन्साफ गर्नु भनी पक्षलाई तारेख तोकी शुरु नवलपरासी जिल्ला अदालतमा नियमानुसार गरी मिसिल पठाई दिने ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इतिसम्वत् २०४४ साल ज्येष्ठ ७ गते रोज ५ शुभम् ।