August 4, 1987
Created by nepalarchives

निर्णय नं. ३०५२ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ३०५२    ने.का.प. २०४४ अङ्क ४   पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज...

निर्णय नं. ३०५२    ने.का.प. २०४४ अङ्क ४

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

सम्वत् २०४३ सालको रिट नम्बर ५०

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ।

 

निवेदक/प्रत्यर्थी: का.जि.भद्रकाली गाउँ पञ्चायत वडा नं. ७ बस्ने भैरवबहादुर खत्री।

विरुद्ध

विपक्षी/रिट निवेदक: ऐ.ऐ. बस्ने तिलकबहादुर खत्री।

आदेश भएको मिति: २०४४।४।१९।३ मा

     गाउँ पञ्चायतको सिफारिश बमोजिम विवादित जग्गा नामसारी गर्ने गरेको निर्णय तथा सो बमोजिम जग्गाधनी दर्ता प्रमाण पूर्जा दिने गरेको काम कारवाहीहरू त्रुटिपूर्ण हुन गई त्यस्तो नामसारी सम्बन्धी निर्णय तथा कारवाहीहरू कायम रहन नसक्ने ।

(प्रकरण नं. १३)

निवेदक, प्रत्यर्थीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

मालपोत कार्यालयतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री राजकिशोर सिंह

गाउँ पञ्चायतर्फबाट: विद्वान अधिवक्ता श्री नुतन थपलिया

विपक्षी तर्फबाट      : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी

उल्लेखित मुद्दाः X

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१२।४ को निर्णय उपर मुद्दा फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी भैरवबहादुर खत्रीको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा प्रस्तुत उत्प्रेषण मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमांगी बक्स भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :

२.    अंश भाग वापत जीउनी रहेको का.जि. विष्णु गा.पं. वडा नं. ३(ख) कि.नं. २१ को ज.रो. ५० र ऐ को कि.नं. १० को ज.रो. २२ मध्ये कि.नं. २१ को ५० मध्येबाट ३० विवाह भाग परसारी बाँकी दुइवटै कित्ताको जग्गा ४२ जग्गा म रिट निवेदकले जबरजस्ती गरी खाइरहेकोले दिलाई पाउँ भनी का.जि. खड्गा भद्रकाली गा.पं. वडा नं. ७ बस्ने हेल थंकु खत्रीले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा निवेदन दिई बक्स भइआएको हु.प्र. बमोजिम कारवाही चलिरहेकोमा वादीले आफ्नो दावी प्रमाणित गर्न नसकी तारिख गुजारेकोले मिति २०३८।४।२१ मा मुद्दा डिसमिस फैसला भई अन्तिम टुंगो लागिरहेको छ। उक्त मुद्दा चलिसकेपछि  म निवेदक वादी र विपक्षी भैरवबहादुर प्रतिवादी भई काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा परी तहतह हुँदै मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मैले अंश नपाउने गरी मिति २०३९।७।१७ मा फैसला भए उपर पुनरावेदनको अनुमति पाउँ भनी मेरो निवेदन परी कारवाही भइरहेकोमा उक्त मिति २०३८।७।२५ को काठमाडौं जिल्ला अदालतको र मिति २०३९।७।१७ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलाले मैले जितिपाएको भनी बाबुका नाममा दर्ता रहेको विष्णु गाउँ पञ्चायत वडा नं. ३(ख) को कि.नं. १० को २२ र कि.नं. २१ को ५० समेत जग्गा रोपनी ७२ जग्गा मेरो नाममा नामसारी गर्न सिफारिश पाउँ भनी विपक्षी भैरवबहादुर खत्रीले विष्णु गाउँ पञ्चायतमा मिति २०३९।११।१० मा दिएको निवेदन बमोजिम गाउँ पञ्चायतबाट दिएको सिफारिशको आधारमा म निवेदकले आजसम्म अविछिन्न रुपमा भोग गरिआएको मेरो बाबु तपबहादुर खत्रीका नाममा दर्ता रहेको जग्गा विपक्षी भैरवबहादुरको नाममा दाखिल दर्ता गरिदिएको छ ।

३.    उक्त जग्गा मेरो होइन हेलथंकु खत्रीको जीउनी जग्गा हो भनी विपक्षी भैरवबहादुर आफैंले बयान गरी सो मुद्दा डिसमिस फैसलालाई अन्तिम भइसकेको निर्णयलाई असर पर्ने गरी एउटा मुद्दामा जितिपाएको फैसलालाई अर्को असम्बन्धित जग्गाको हकमा प्रमाणको रुपमा प्रयोग गरी गराई विपक्षीहरू परस्पर भई सिफारिश गर्ने गराउने गरी मिति २०३९।११।२६ मा टिप्पणी उठाई ऐ ३० गते टिप्पणी सदर गर्ने निर्णय गरी साविक देखि मैले भोगिआएको मेरा बाबुका नाममा दर्ता रहेको जग्गाबाट मलाई वञ्चित गरी मेरो सम्पत्ति सम्बन्धी स्वतन्त्रतामा आघात गरेकोले विपक्षी विष्णु गा.पं. को मिति २०३९।१०।२६ कै गैरकानूनी सिफारिशको आधारमा विपक्षी मालपोत कार्यालयले विपक्षी भैरवबहादुर खत्रीका नाममा विष्णु गाउँ पञ्चायत वडा नं. ३ (ख) कि.नं. १०, २१ को जग्गा नामसारी गरिदिने गरेको टिप्पणी सदर गरेको र सो को आधारमा विपक्षी भैरवबहादुरको नाममा जग्गाधनी प्रमाण पूर्जा दिएको समेत सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिटनिवेदन रहेछ ।

४.    विपक्षीबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफ संक्षिप्तमा यस प्रकार रहेछ ।

५.    रिटनिवेदन जिकिर बमोजिमको सम्पूर्ण काम कारवाही मालपोत कार्यालयबाट भएकोले त्यहीँबाट विस्तृत विवरण पेश हुने नै हुँदा र यस विभागबाट भए गरेको भनी निवेदकले भन्न सकेको नहुँदा समेत रिटनिवेदन खारेज होस् भन्ने समेत मालपोत विभाग ।

६.    रिट निवेदनमा नै तहतह अदालतबाट अंश नपाउने गरी हारिसकेको कुरा उल्लेख गर्दागर्दै केवल दुःख दिन अन्य उपचारको व्यवस्था हुँदाहुँदै रिट क्षेत्रमा प्रवेश गरेको हुँदा रिटनिवेदन खारेज होस् भन्ने समेत भैरवबहादुर खत्री ।

७.    गाउँ पञ्चायतले दिएको सिफारिश जालसाजी हो वा होइन र सिफारिशका आधारमा गरिएको निर्णय समेत उपर ठीक वा बेठीक हो भन्ने सम्बन्धमा रिट निवेदकले जालसाजी दर्ता बदर आदिद्वारा बदर गराउने सम्बन्धित जिल्ला अदालतमा फिराद गरी कानूनी हक प्रचलन गराउन पर्नेमा रिट क्षेत्रमा प्रवेश गरेकोले रिटनिवेदन खारेज होस भन्ने समेत विष्णु गाउँ पञ्चायतका प्रधान पञ्च गुणबहादुर खड्का ।

८.    रीतपूर्वक म्याद तामेल भई मालपोत कार्यालयबाट लिखितजवाफ पेश नभएको ।

९.    आजै दे.पु.नं. ५९६ को अंश मुद्दामा रिट निवेदकले अंश पाउने भई मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उल्टी हुने ठहरी फैसला भएको हुँदा जुन फैसलाको आधारमा गाउँ पञ्चायतले सिफारिश गरी दिएको र सोही सिफारिशको आधारमा जग्गा नामसारी भएको सो फैसला नै उल्टी भई बदर भएकाले विष्णु गाउँ पञ्चायत  कार्यालयको मिति २०३९।१०।२६ को सिफारिश र सोको आधारमा विवादको जग्गा नामसारी गरिदिने मालपोत कार्यालय, काठमाडौंको मिति २०३९।१०।३० को टिप्पणी निर्णय समेत कायम रहन नसक्ने हुँदा उक्त सिफारिश र टिप्पणी निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ, भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१२।४ को आदेश ।

१०.    सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको मिति २०४१।१२।४ को निर्णयबाट मलाई अन्याय पर्न गएकाले मुद्दा फुल बेञ्चबाट दोहर्‍याई हेरी निर्णय गर्नु भन्ने सर्वोच्च अदालतका नाममा हुकुमको प्रमांगी बक्स पाउँ भनी प्रत्यर्थी भैरवबहादुर खत्रीले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्र जाहेर हुँदा विन्तिपत्रमा लेखिएको उत्प्रेषणको मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुमको प्रमांगी बक्स भई आएको रहेछ ।

११.    निवेदक (प्रत्यर्थी) तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा मालपोत कार्यालयतर्फबाट उपस्थित हुनु भएका विद्वान सहन्यायाधिवक्ता श्री राज किशोर सिंह तथा गाउँ पञ्चायत तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री नुतन थपलियाले मालपोत कार्यालय काठमाडौंले नामसारी गर्ने गरेको निर्णय उपर चित्त नबुझेमा स्थानीय प्रशासन ऐन, २०३८ को दफा ८ को उपदफा (४) अनुसार प्रत्यायोजित आधार प्रयोग गर्ने प्रमुख जिल्ला अधिकारी समक्ष पुनरावेदन गर्ने अन्य उपचार हुँदा हुँदै रिट क्षेत्रमा प्रवेश गर्न आएकोमा रिटनिवेदन खारेज गरिनु पर्नेमा रिट जारी गर्ने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय नमिलेको हुँदा निर्णय बदर हुनु पर्छ भन्ने र विपक्षी तिलकबहादुर खत्रीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरीले मालपोत कार्यालयबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलालाई आधार बनाई विष्णु गाउँ पञ्चायतले दिएको सिफारिश बमोजिम तपबहादुरका नाममा जग्गा भैरवबहादुर खत्रीका नाममा नामसारी गरिदिने निर्णय गरेकोछ । मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर तिलकबहादुर खत्रीको सर्वोच्च अदालतमा पुनरावेदन अनुमतिका लागि कारवाही भइरहेको अवस्थामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला कार्यान्वयन गर्ने स्थिति हुँदैन । अतः सर्वोच्च अदालत डिभिजन बेञ्चबाट वादी तिलकबहादुर खत्री प्रतिवादी भैरवबहादुर खत्री भएको अंश मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय बदर गरी गरेको फैसला छ । मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला कायम नरहेको अवस्थामा मालपोत कार्यालयको नामसारी निर्णय कायम रहन नसक्ने हुँदा मालपोत कार्यालय, काठमाडौंको मिति २०३९।११।३० को निर्णय तथा विष्णु गाउँ पञ्चायतको सिफारिश समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्‍याएको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४१।१२।४ को निर्णय मिलेकै हुँदा सदर हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१२.   यसमा निर्णयतर्फ हेर्दा वादी तिलकबहादुर खत्री प्रतिवादी भैरवबहादुर खत्री भएको अंश मुद्दामा वादी दावी नपुग्ने ठहरी काठमाडौं जिल्ला अदालतबाट भएको फैसला सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति २०३९।७।१७ मा फैसला भएको हुँदा बुबा तपबहादुरका नामको विष्णु गाउँ पञ्चायत वडा नं. ३ (ख) कि.नं. १० को जग्गा रोपनी २२ कि.नं. २१ को जग्गा रोपनी ५० जम्मा जग्गा रोपनी ७२ जग्गा नामसारी गरिपाउँ भनी विष्णु गाउँ पञ्चायतको सिफारिश साथ मालपोत कार्यालय, काठमाडौंमा भैरवबहादुर खत्रीको निवेदन परेकोमा विवादित जग्गा भैरवबहादुर खत्रीका नाममा नामसारी गरिदिने मालपोत कार्यालयबाट मिति २०३९।११।३० मा निर्णय भई उल्लेखित जग्गाको जग्गाधनी दर्ता प्रमाण पूर्जा समेत प्राप्त गरेको देखिन्छ ।

१३.   उल्लेखित वादी तिलकबहादुर खत्री प्रतिवादी भैरवबहादुर खत्री भएको दे.पु.नं. ५८ को अंश  मुद्दामा आज यस इजलासबाट वादी दावी नपुग्ने ठहर्‍याएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय बदर गरी वादी दावी बमोजिम अंश पाउने ठहर गरी ऐन बमोजिम तायदाती लिई शुरु काठमाडौं जिल्ला अदालतमा पठाउने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४१।१२।४ को निर्णय सदर भई निर्णय भएकोले मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला कायम रहने स्थिति भएन । त्यसरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट वादीले अंश नपाउने ठहर्‍याएको फैसला बदर भई वादीले दावी बमोजिम अंश पाउने सर्वोच्च अदालतबाट निर्णय भएको स्थितिमा मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३९।७।१७ को फैसलालाई आधार बनाई गरेको विष्णु गाउँ पञ्चायतको सिफारिश बमोजिम विवादित कि.नं. १०, २१ को जग्गा भैरवबहादुर खत्रीका नाममा नामसारी गर्ने गरेको मिति २०३९।११।३० को निर्णय तथा सो बमोजिम जग्गाधनी दर्ता प्रमाण पूर्जा दिने गरेको काम कारवाहीहरू त्रुटिपूर्ण हुन गई त्यस्तो नामसारी सम्बन्धी निर्णय तथा कारवाहीहरू कायम रहन नसक्ने हुँदा रिट निवेदकको माग बमोजिम विवादित कि.नं. १०, २१ को जग्गाहरू भैरवबहादुर खत्रीका नाममा नामसारी गरी दिने गरेको मिति २०३९।११।३० को निर्णय तथा तत्सम्बन्धी काम कारवाहीहरू उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्‍याएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४१।१२।४ को निर्णय मनासिब ठहर्छ । फाइल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमती छ ।

 

न्या.महेशरामभक्त माथेमा

न्या.प्रचण्डराज अनिल

 

इतिसम्वत् २०४४ साल साउन १९ गते रोज ३ शुभम् ।