निर्णय नं. ३०२१ – जग्गा खिचोला मेटाई चलन चलाई पाउँ
निर्णय नं. ३०२१ ने.का.प. २०४४ अङ्क ३ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर...
निर्णय नं. ३०२१ ने.का.प. २०४४ अङ्क ३
पूर्ण इजलास
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४० सालको दे.फु.नं. ८८
मुद्दा : जग्गा खिचोला मेटाई चलन चलाई पाउँ।
निवेदक/प्रतिवादी:लुम्बिनी अंचल नवलपरासी जिल्ला कावासोती गा.पं. वार्ड नं. ४ विष्णुपुर बस्ने रामनाथ पराजुली।
विरुद्ध
विपक्षी/वादी: ऐ. ऐ. परासी गा.पं. वार्ड नं. ८ परासी बजार बस्ने हरिकेशव लाल दास।
फैसला भएको मिति: २०४३।१२।३।६ मा
प्रतिवादीले गराई लिएको सट्टापट्टा लिखत र दर्ता समेत बदर भई वादीको हक कायम हुने ठहरी निर्णय भएको हुँदा सो फैसला समेतको आधारबाट प्रस्तुत मुद्दामा वादी दावी बमोजिमको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर गरेको इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. १७)
निवेदक, प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
विपक्षी, वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंह
उल्लेखित मुद्दाःX
आदेश
न्या.हरगोविन्द सिंह प्रधानः श्री ५ महाराजाधिराज सरकारका हजूरमा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४०।५।५।२० को फैसलामा चित्त बुझेन फुल बेञ्चबाट मुद्दा दोहर्याई हेरिदिनु भन्ने हुकुम प्रमांगी पाउँ भनी प्रतिवादीले चढाएको विन्तिपत्रमा मुद्दा फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट २०४१।८।१९ मा लेखिआए अनुसार फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. ऐति कुल्मानीसँग घरसारमा रु. ८,०७५।– बुझाई निजको नाउँमा दर्ता रहेको कावास्वती गा.पं. वडा नं. ४क. नक्शा भित्रको कि.नं. ४९ को जग्गा विगहा २–३–१८ भएको सो जग्गा ०२६।१।१६ गते राजीनामा गरी ऐति कुल्मानीले पास गरी नदिँदा पारीत गराई पाउँ भनी मैले उजूर दिई प.क्षे.अ. बाट समेत पारीत हुने ठहरी पारीत भई मेरो हक भएको उक्त जग्गामा प्रतिवादीहरूले सट्टापट्टा गरी लिई अमान्य लिखतबाट आफ्नो स्वामित्व देखाई खिचोला गरेको हुँदा उक्त जग्गा मेरो हक कायम गरी खिचोला मेटाई पाउँ भन्ने समेत हरिकेशव दाशको फिरादपत्र रहेछ ।
३. उक्त जग्गा मेरो हो सो जग्गामा वादीको हक छैन वादीको यो दावा अ.बं. ७३ नं. प्रतिकूल छ वादीले यो जग्गा विषयमा जालसाजी दर्ता लेखत बदर लुटपिट मुद्दा समेत दिनु भएको छ वादीले देखाउनु भएको ०३४।८।१४ को वारदातको वादीले सामना गर्नु परेको भए ०३४।१०।२८ मा दायर भएको लुटपिट मुद्दामा जिकिर लिन सक्नु पर्ने सो नसकेको हुँदा कल्पित वादीको दावीबाट अलग फुर्सद भई वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत प्रतिवादी मध्येको रामनाथ पराजुलीको प्रतिउत्तरपत्र रहेछ ।
४. प्रतिवादी मध्ये ऐति कुल्मानी ०३४।१२।२६ मा तामेल भएको ३० दिने इतलायनामाको म्यादै गुजारी बसेको रहेछ ।
५. वादीबाट पेश भएको राजीनामा प्रतिवादी मध्येको ऐतिले राजीनामा गरिदिएपछि लिखत पारीत मुद्दा पर्दा प्र.रामनाथ समेत वारेस भई मुद्दा दायर भएको र पैरवी गरेको देखिनाले वादीले राजीनामा गरी लिएका जग्गा पारीत हुने ठहरी प.क्षे.अ. बाट समेत निर्णय भई पास भएको देखिएको र पहिलेको लिखत पारीत मुद्दा पर्दापर्दै पछि अर्को लिखत गराई लिएकोमा लेनदेन व्यवहारको २७ नं. ले अघिल्लो लिखतले नै पाउने भई पछिल्लो लिखतबाट वादीले दावी गरेको मिलेन लिखत बदरतर्फ आजै लिखत बदर हुने भई निर्णय भएकोले जग्गा मेरै हो भन्ने प्रतिउत्तर जिकिर भएकोबाट समेत वादी दावी मुताविक जग्गा अर्को भएको भन्नेतर्फ कुनै विवाद पनि नदेखिनाले वादी दावी मुताविक प्रतिवादीहरूले जग्गा खिचोला गरेकै ठहर्छ भन्ने समेत नवलपरासी जि.अ.को ०३६।१।२ को फैसला रहेछ ।
६. उपरोक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.रामनाथ पराजुलीको पुनरावेदनपत्र रहेछ ।
७. नक्शा गरी पेश गर्नु भन्ने प.क्षे.अ. डिभिजन बेञ्चको ०३६।८।२८ को आदेश रहेछ।
८. यिनै प्रतिवादी वादी, भएको लिखत बदर दर्ता गरिपाउँ भन्ने मुद्दा आजै सिंगलबेञ्चबाट रामनाथ पराजुलीले लिएको सट्टापट्टाको लिखत कायम रहन नसक्ने ठहरी फैसला भएको छ, हरिकेशवलाल दाशले राजीनामा पारीत गराई पाउँ भनी फिराद दायर गरी अदालतमा मुद्दा चलिरहेको अवस्था ऐति कुमाल्नी र रामनाथ पराजुलीले लिनु दिनु गरेको देखिँदा मान्यता दिन मिलेन, प्रतिवादीको लिखत अघिल्लो मितिमा पारीत भएको भन्ने विद्वान अधिवक्ताको तर्कसंग सहमत हुन सकिएन नवलपरासी जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत प.क्षे.अ. डिभिजन बेञ्चको ०३६।१२।७।५ को फैसला रहेछ ।
९. मैले सट्टापट्टा गरी लिएको जग्गा ०२५।१२।२४ मा नापी शुरु भई ०२६।१।६ मा समाप्त भएको हो, सट्टापट्टा गरिएको विषयमा लेनदेनको २६ नं. मा व्यवस्था गरे अनुसार ६ महिनासम्ममा थाहा पाएको ३५ दिनभित्र उजूर गर्नु पर्ने हुन्छ, सट्टापट्टाको लिखत ०३२।१२।१९।५ मा पास भएको छ फिराद ०३४।१२।२।४ मा दर्ता भएको म्याद नाघेको प्रष्ट छ, पञ्चायत वार्ड नं. मौजा नखुलेको कि.नं. ३४ को जग्गा राजीनामा गराई लिनेले कि.नं. ४९ को जग्गामा दावी गर्न पाउने होइन मैले अ.बं. ७३ नं. को प्रश्न उठाई जिकिर लिएको ध्यानै राखिएन प्रस्तुत मुद्दा र लिखत बदर गरी दर्ता गराई पाउँ भन्ने दुवै एकै लगाउको मुद्दाहरू हुन् कुनै सिंगल र कुनै डिभिजन बेञ्चबाट हेर्न मिल्ने होइन कानूनी त्रुटिपूर्ण फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत निवेदनपत्रमा, यसमा लिखत बदर दर्ता गरिपाउँ भन्ने मुद्दामा सिंगलबेञ्चबाट सट्टापट्टाको लिखत कायम रहन नसक्ने ठहरी फैसला भएकोले नवलपरासी जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ, उक्त लिखत बदर दर्ता गरिपाउँ भन्ने मुद्दा डिभिजन बेञ्चबाट हेरी निर्णय हुनु पर्नेमा सिंगलबेञ्चबाट हेरी निर्णय गरेको त्रुटि भई सो मुद्दामा पुनरावेदनको अनुमति दिने आदेश भएको हुँदा प्रस्तुत मुद्दामा सो त्रुटिपूर्ण सिंगलबेञ्चको निर्णयको आधारमा गरेको निर्णयमा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानूनी त्रुटि देखिन आएको हुँदा प्रस्तुत निवेदनमा न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।१०।१३।२ को आदेश रहेछ ।
१०. यसमा यिनै पक्ष विपक्ष भएको दे.पु.नं. २७३ को लिखत बदर गरी दर्ता गराई पाउँ भन्ने मुद्दा सिंगलबेञ्चबाट हेरी छिनेको अधिकार क्षेत्रात्मक त्रुटि हुँदा प.क्षे.अ.को फैसला बदर गर्ने गरी आजै यस बेञ्चबाट पुनः कानून बमोजिम कारवाही किनारा लगाउन मिसिल प.क्षे.अ.मा पठाउने भएकोले प्रस्तुत जग्गा खिचोला मुद्दाको मिसिल यस अदालतको लगत कायमै राखी उक्त लिखत बदर गरी दर्ता गराई पाउँ भन्ने मुद्दामा प्रमाणको लागि पठाई प.क्षे.अ. बाट उक्त लिखत बदर गरी दर्ता गराई पाउँ भन्ने मुद्दा किनारा भएपछि प्रस्तुत मुद्दा किनारा गर्न यस अदालतमा मिसिल पठाउनु भनी लेखी पठाइदिनु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३८।१०।९।६ को आदेश रहेछ ।
११. यसमा यही पक्ष विपक्ष भएको दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ भन्ने मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३९।४।१९।३ मा फैसला भएकोमा सो उपर निवेदक वादी हरिकेशवलाल दासले पुनरावेदनको अनुमति पाउँ भनी यस अदालत पुनरावेदन शाखामा नि.नं. ७८१, ०३९।५।१५।३ मा दर्ता गरेको देखिँदा सो निवेदनको निर्णय भएपछि साथै पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश रहेछ ।
१२. आजै यस बेञ्चबाट पुनरावेदक (वादी) हरिकेशवलाल दास र विपक्षी (प्रतिवादी) रामनाथ पराजुली भएको दर्ता लिखत बदर गरिपाउँ भन्ने मुद्दामा मुख्य विवादित जग्गाको सट्टापट्टाको लिखत बदर हुने ठहरी फैसला भएको र सोही जग्गा सम्बन्धी प्रस्तुत जग्गा खिचोला मुद्दा भएकोले वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४०।५।२० को फैसला ।
१३. निवेदक (प्रतिवादी) तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीले राजीनामा गरी लिएको जग्गा कि.नं. ३४ को जग्गा हो जुन कम छ, प्रतिवादीले सट्टापट्टाबाट पाएको कि.नं. ४९ को जग्गा जुन बढी छ । वादी दावी बमोजिम जग्गा खिचोला नगरेको हुँदा दर्ता बदर मुद्दाको आधारमा दावी बमोजिम खिचोला गरेको ठहर्याएको डिभिजन बेञ्चको इन्साफ नमिलेको हुँदा बदर हुनु पर्छ भन्ने र विपक्षी (वादी) तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले ऐति कुमाल्नीबाट राजीनामा गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत लिखत पारीत हुने ठहरी ०३३।९।३० मा राजीनामा पारीत भएको साविक कि.नं. ३४ र हाल सर्भे कि.नं. ४९ को जग्गा प्रतिवादीले पुनः दोहरो पारी सट्टापट्टाको लिखत गरी लिएकोमा लिखत बदर मुद्दा परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट लिखत र दर्ता बदर हुने ठहरी निर्णय भएको छ । प्रस्तुत जग्गा खिचोला मुद्दा पनि सो लिखत गरेको ठहर्याई मिति ०४०।५।२० मा गरेको इन्साफ मनासिब नै हुँदा डिभिजन बेञ्चको इन्साफ कायम हुनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
१४. प्रस्तुत मुद्दामा यस अदालत डिभिजन बेञ्चको इन्साफ मिले नमिलेको के छ ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१५. यसमा निर्णयतर्फ हेर्दा ऐति कुमाल्नीसँग राजीनामा गरी लिएको कि.नं. ३४ हाल सर्भेमा कायम कि.नं. ४९ को मेरो हकभोगको ज.वि. २–३–१८ जग्गा प्रतिवादीले दोहरो पारी ऐति कुमाल्नीसँग सट्टापट्टाको लिखत गरी लिई सो लिखतको आधारमा जग्गा पक्री खिचोला गरेकोले खिचोला मेटाई चलन चलाई पाउँ भन्ने वादी दावी भएकोमा उक्त कि.नं. ४९ को जग्गा मैले सट्टापट्टाबाट प्राप्त गरेको मेरो हकको जग्गा हो दावी बमोजिम खिचोला गरेको छैन भन्ने प्रतिवादी यिनै रामनाथ पराजुलीको प्रतिउत्तरपत्र जिकिर देखिन्छ ।
१६. वादी हरिकेशवलाल दास, प्रतिवादी यिनै रामनाथ पराजुली भएको दर्ता लिखत बदर मुद्दामा यही विवादित कि.नं. ४९ जग्गा वादीको राजीनामाको जग्गा ठहरी प्रतिवादीको नाउँको दर्ता तथा सट्टापट्टा लिखत बदर हुने ठहर्याई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०४०।५।२० मा निर्णय भएको र त्यो निर्णयको आधारमा प्रस्तुत जग्गा खिचोला मुद्दा सोहीसंग सम्बन्धित भएको भन्दै वादी दावी बमोजिम प्रतिवादीले जग्गा खिचोला गरेको ठहर्याई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४०।५।२० मा निर्णय भएको पाइन्छ ।
१७. आजै यस इजलास समक्ष पेश भएको यसै लगाउको यिनै वादी प्रतिवादी भएको दे.फु.नं. ८९ को दर्ता लिखत बदर मुद्दामा वादीले ऐति कुमाल्नीसँग राजीनामा गरी लिएको कि.नं. ३४ को जग्गा र सर्भे नापीमा कायम भएको कि.नं. ४९ को जग्गा एउटै र सो कि.नं. ४९ को जग्गा प्रतिवादीले ऐति कुमाल्नीसंग दोहरो पारी मिति ०३२।१२।१९ मा सट्टापट्टा गरिलिएको लिखत तथा सो लिखतको आधारमा भएको दर्ता समेत बदर हुने ठहर्याएको सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति २०४०।५।२० को इन्साफ मनासिब ठहरी निर्णय भएको छ । सो कि.नं. ४९ को जग्गा प्रतिवादीले गराई लिएको सट्टापट्टा लिखत र दर्ता समेत बदर भई वादीको हक कायम हुने ठहरी निर्णय भएको हुँदा सो फैसला समेतको आधारबाट प्रस्तुत मुद्दामा वादी दावी बमोजिम कि.नं. ४९ को जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिब ठहर्छ । कोर्ट फी रहेको मुद्दा हुँदा केही गर्नु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.हिरण्येश्वरमान प्रधान
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल चैत्र ३ गते रोज ६ शुभम् ।