निर्णय नं. २९८५ – खिचोला मेटाई दर्ता हक कायम समेत
निर्णय नं. २९८५ ने.का.प. २०४४ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर...
निर्णय नं. २९८५ ने.का.प. २०४४ अङ्क २
पूर्ण इजलास
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
सम्वत् २०४३ सालको दे.फु.नं. ९४
मुद्दा : खिचोला मेटाई दर्ता हक कायम समेत
पुनरावेदक/वादी: काठमाडौं नगरपञ्चायत वडा नं. २१ जैसीदेवल बस्ने ठूलो कान्छा परलोक भई मु.स. गर्ने र आफ्नो हकमा समेत ऐ न्हुगवाहाल बस्ने धु्रव बानियाँ
विरुद्ध
विपक्षी/प्रतिवादी : का.न.पं. वडा नं. २१ जैसीदेवल बस्ने रम्भादेवी क्षेत्री
फैसला भएको मिति: २०४३।१२।२०।६ मा
विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा हो भन्ने कुराको तथ्ययुक्त सबूद प्रमाण पनि कुनै देखिन नआएको हुँदा विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा रहेछ भन्न मिलेन।
(प्रकरण नं. १६)
विवादित जग्गा प्रतिवादीले दर्ता गराउँदा स्ववासी भनी दर्ता गराएको छ तर निजको मात्र एकलौटी हकको हो भन्ने लिखत प्रमाण पेश गर्न सकेको पनि छैन यस स्थितिमा तथ्ययुक्त सबूद प्रमाण बेगर विवादित जग्गा प्रतिवादीको मात्र एकलौटी जग्गा भन्न पनि मिलेन ।
(प्रकरण नं. १७)
पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल
विपक्षी, प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री छविरमण सिटौला
उल्लेखित मुद्दाः
फैसला
प्र.न्या.धनेन्द्रबहादुर सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्राप्त गरी वादीको पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. हाम्रो बाबु बाजेको पालादेखि का.जि. जैसीदेवल न्हूगल बाहालमा घरवास गरी बसोवास गरी आएको ४।५ पुस्ता भई सकेको उक्त ठाउँका जग्गा स्ववासी भई अवछिन्न भोगचलन समेत गरी आएका छौं । वादी म ठूलो कान्छाको बाबु म धु्रवको बाजे विष्णुलालको छोरा जेठा लक्ष्मण बानियाँ माहिला म ठूलो कान्छा, कान्छा बुद्धिबल बानियाँ ३ छोरा भएकोमा म वादी ध्रुवको बाबु बुद्धिबल हुन् । दाजु तथा जेठा बाबु लक्ष्मण गत २००६ सालतिरै परलोक हुनु भएको र उहाँको श्रीमती सुखिया पनि ०२३ सालमै परलोक हुनु भएको हाम्रो बाबु तथा बाजेको हक खाने हामी मात्र भएकोले उपरोक्त ठाउँको स्ववासी घर जग्गा आफ्नो अंश भाग गरी आएको र जेठा लक्ष्मणको अंश भागको घर उहाँकी श्रीमती सुखियाले नै निज विपक्षवालालाई गत ०२६।५।२३ गते राजीनामा गरी दिएको । उक्त राजीनामा गरी लिँदा ३ पुस्ताभित्रको हकदार र अंशियार समेत कोही छैन भनी लेखी दिएबाट म वादी ध्रुव बानियाँले हकदार नदेखाई जालसाजी गरे भनी फिराद गरेकोमा ०३४।१२।१ मा थाहा भएको भन्ने मनासिब नहुँदा वादी खारेज हुने ठहर्छ भनी ०३५।५।१५ गते का.जि.अ. बाट फैसला भएकोमा सर्वोच्च अदालत समेतबाट अनुमति नपाउने भनी ०३७।४।२५।४ मा आदेश भएको पूर्व चक्रबहादुरको घर साँध, पश्चिम वादी मध्येकै ध्रुव बानियाँको एकलौटी घरचोक, उत्तर चक्रबहादुरको घर र विपक्षकै घर सो घर अगाडि म ध्रुव समेतको साझा ढलापात र कुमारी थानमा जाने गल्ली बाटो साँध दक्षिण सडक यति चार किल्ला भित्रको जग्गाको पूर्व पश्चिम लड्ड १८’।४” अठार फिट चार इन्च भएको पूर्वतर्फ अर्थात् चक्रबहादुरको घरतर्फ उत्तर दक्षिण चौडाई फिट २५’ बीच साझा ढलापात तथा गल्ली बाटा नेर उत्तर दक्षिण चौडाई १९’।४” उन्नाइस फीट चार इन्च र म ध्रुव भक्तको घर चोकतर्फ पाइखाना सम्म उत्तर दक्षिण चौडाई १४’।७” चौध फिट सात इन्च बगैंचा जग्गा र जो जग्गामा भएको पाइखाना समेत हामीहरूको भोगचलनको भएकोमा कि.नं. १६७८ को घर सो घरसंग जोडिएको घरले चर्चेको पाताल जग्गा अर्थात् बगैंचा भन्ने कि.नं. १६८० को क्षेत्रफल ०–१–०–२ को अस्थायी निस्सा पाएको का.नं.पं. वडा नं. २१ को भन्ने र काही मेरो एकलौटी हकभोगको पाताल जग्गा भन्ने र कानूनबाट वञ्चित हुनु भएको भन्दै मेरो निजी पाइखाना र पाताल जग्गा भन्ने उल्लेख भएको ०३५।४।३०।२ मा सर्भे ३ नं. नापी टोलीबाट दिएको अस्थायी प्रमाणपत्र र नक्शा समेतको नक्कल पेश गरी निवेदन गरेको रहेछ उक्त निवेदन र अस्थायी प्रमाण समेत ०३७।११।२२।५ मा नक्कल सारी लिई हेर्दा निज विपक्षको नाममा जग्गा दर्ता गराएको हामीलाई प्रष्ट भयो । उक्त जग्गा बाबु बाजेको पालादेखि हाम्रो स्ववासी जग्गा भई हामीहरूले अविछिन्न रुपमा भोगचलन गरी आएका छौं । विपक्षले पाएको राजीनामाको दक्षिणतर्फको किल्ला तथा साँधबाटै साझा बगैंचा र गल्ली बाटो विपक्षको जग्गा हैन भन्ने प्रष्टै छ । हाम्रो हकको बगैंचा जग्गा र पाइखाना समेत मेरो भई सकेको छ भनी हटक खिचोला गरी म ध्रुवको चोकबाट उक्त बगैंचामा जाने ढोका समेत खोली बगैंचा र चर्पीमा समेत जान दिन्न भनी जबरजस्ती गरेकाले प्रचलित मोल रु. ५,०००। जाने जग्गामा गराएको दर्ता बदर वातील गरी हामीहरूको नाउँमा दर्ता गरी साझा हक कायम गराई खिचोला मेटाई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको वादीहरूको फिराद दावा ।
३. विष्णुलालका ३ छोरामा जेठो लक्ष्मण माहिला ठूलो कान्छा र कान्छा बुद्धिबल हुन्। निजहरू ४०।४२ वर्ष अगाडि छुट्टि भिन्न भई आ–आफ्नो भागको घर भोग गरी आएका हुन् । १६८० को कित्तामा ठूलो कान्छाको हक लाग्ने होइन निजको हक लाग्ने भए मौकैमा उजूर गर्न सक्नु पर्ने । नापी दर्ता भएका २ वर्ष पछाडि विपक्षले मेरो भन्न पाउने होइन । विपक्ष ध्रुव बानियाँको भागको कि.नं. १६७७ को र मेरो हकभोगको घर १६७८ चोक वारी १६८० भई यी तिनै कित्तासंग भएकाले एकै दिन नापी भएका हुँदा विपक्षले इन्कार गर्ने ठाउँ छैन । कि.नं. १६७८ लाई मात्र विरोध गरी झगडा जनाई पाउँ भनी विपक्षी ध्रुवले १ नं. नापी टोलीमा ०३५।३।१।१ मा उजूरी दिएका थिए । त्यसकारण सोही कित्तासँग जोडिएको यो विवादको १६८० तर्फ चित्त बुझाई बसेको हुँदा जानकारी नरहेको हाल मात्र थाहा भएको भन्न मिल्दैन यसरी हदम्याद भित्र नपरेको फिराद खारेज हुनु पर्ने हो । २०२६ सालमा गरी लिएको राजीनामा दक्षिण साझा बगैंचा र गल्ली बाटो भनी लेखिएबाट सो १६८० को बगैंचाको दक्षिणपट्टिको गल्ली समेतलाई पक्रेको हुनाले सो बगैंचा बाहेक गरेको नभई बगैंचालाई समेत राजीनामा भित्र पारेको छ । उक्त जग्गा हामीले खरीद गरी लिएपछि आ–आफ्नो भाग अलग गरी आफ्नो हक जतिमा उत्तर दक्षिण लम्बाई गरी पर्खाल लगाई सो पर्खाल पनि म विपक्षीले र पर्खाल पूर्व मैले एकलौटी भोग गरी आएको हुँदा नापीमा समेत चित्त बुझाई सो कि.नं. १६८० को बगैंचा दावा नगरी बसेको समेतबाट विवादको बगैंचा विपक्षीको होइन भन्ने प्रष्ट छ तसर्थ वादीको झुठ्ठा दावाबाट अलग फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।
४. नापी हुनु भन्दा अगाडि जालसाजी मुद्दा परेको हुँदा कि.नं. १६८० समेतको जग्गा नाप जाँच हुँदा वादीको हकको जग्गा भए चूप लाग्ने अवस्था नभएको र अन्य लिखत प्रमाणको आधारमा समेत अ.बं. १८० नं. ले खारेज हुने ठहर्छ भन्ने शुरु का.जि.अ.को ०३८।६।८ को फैसला।
५. शुरु काठमाडौं जिल्ला अदालतको इन्साफमा चित्त बुझेन । पुनरावेदन जिकिर बमोजिम गरी शुरु जिल्ला अदालतको अन्यायपूर्ण फैसला उल्टी गरी वादी दावी अनुसार गरिपाउँ भन्ने समेतको वादी पक्षको पुनरावेदनपत्र ।
६. का.न.पं. वडा नं. ५ हाल २१ बाट नापी भएको नक्शाको ट्रेस उतार सम्बन्धित कार्यालयबाट झिकाई पेश गर्नु भन्ने मिति ०३९।३।८ को आदेश ।
७. विवादको जग्गा स्ववासी भनी दावी भएको स्ववासीको प्रमाण पेश हुन नआएको भनी खारेज गरेको इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम झगडिया झिकाउने भन्ने मिति ०३८।१०।२१ को आदेश ।
८. दर्ता भएको अढाई वर्षपछि मेरो हक भनी वादीको दावी म्यादभित्रको समेत नभएबाट शुरुले वादी धु्रव बानियाँ समेतको दावी खारेज हुने ठहर्छ भनी गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको ०३९।३।३० को फैसला ।
९. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१।४ को आदेश ।
१०. नक्शा प्रकृतिबाट पनि विवादित जग्गा प्रतिवादीतर्फकै देखिन्छ । तसर्थ बागमती अञ्चल अदालतको फैसलामा केही परिवर्तन गरी रहन परेन । वादी दावी नपुग्ने गरी गरेको सो अञ्चल अदालतको निर्णय मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४०।१२।२४ को फैसला ।
११. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४१।१।२५ को आदेश ।
१२. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा विवादित कि.नं. १६८० को जग्गा दर्ता वादीको तथा प्रतिवादीको साझा वा प्रतिवादीको मात्र हक लाग्ने हो भन्ने बारेमा विवाद परेको देखिन्छ । वादी प्रतिवादीहरूको घरजग्गा भएको कि.नं. १६७७, १६७८ र १६८० को जग्गा २०१३ सालमा राजीनामा गरी लिएको देखिन्छ । त्यसरी लिएको जग्गा मध्ये हाल प्रतिवादीको घर भएको १६७८ को जग्गा समेत रम्भादेवीले मिति ०२६।५।२२ मा राजीनामा गरी लिएको देखिन्छ । रम्मादेवीलले राजीनामा गरी लिए उपर यिनै वादीले जालसाजी मुद्दा दायर गरेकोमा वादी दावी नपुग्ने ठहरी ०३६।३।१३ मा बा.अं.अ. बाट भएको फैसला अन्तिम भएर रहेको देखिन्छ । रम्भादेवीले लिएको राजीनामाको दक्षिण किल्लामा साझा बगैंचा र गल्ली बाटो भन्ने उल्लेख भएको पाइन्छ । विवाद परेको जग्गा नापीमा कि.नं. १६८० कायम भएको पाइन्छ । सो १६८० नं. को कित्ताको दक्षिणपट्टि गल्ली बाटो भएको कुरा मिसिल सामेल रहेको मिति ०३९।१।९ को नक्शा कुण्डलीबाट देखिन आएको छ । यसर्थ प्रतिवादीको राजीनामाको किल्लाले विवादित कि.नं. १६८० लाई बाहिर पारेको मान्न मिल्दैन । माथि उल्लेखित नक्शा कुण्डलीबाट वादीको घर जग्गा र विवादित जग्गा बीच पर्खाल रहेको देखिन्छ । यदि वादीको समेत साझा हक लाग्ने भए त्यो घर बहालको अर्थ निरर्थक हुन जाने देखिन आएको छ । प्र.ले लिएको राजीनामाकै पूर्व किल्लामा कारन्जितको घर भन्ने देखिएबाट सो राजीनामाको किल्लाबाट पनि विवादित जग्गा प्रतिवादीको मान्नलाई समर्थन गरेको पाइन्छ । विवादित जग्गाको दर्ता प्रमाण रम्भादेवीका नाउँमा मिति ०३५।४।३० मा विधिपूर्वक भएकोमा आफ्नो समेत हक लाग्ने भए समयमा नै वादीले उजूर गर्न सक्नु पर्ने हुन्थ्यो, सो बमोजिम समयमा नै उजूर गर्न सकेको पनि पाइँदैन अतः यस्तो स्थितिमा अ.वं. ८२ नं. बमोजिम फिराद गर्ने हकदैया नभएको भनी खारेज गर्ने ठहर्याई शुरु काठमाडौं जि.अ. ले गरेको इन्साफ मनासिब ठहर्याएको बागमती अञ्चल अदालतको इन्साफ सदर गरी म.क्षे.अ. बाट भएको फैसलामा कुनै त्रुटि नदेखिँदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।
१३. विवादित कि.नं. १६८० को जग्गा साझा वा प्रतिवादीको एकलौटी के रहेछ भन्ने कुराको निर्णय दिनु परेको छ प्रतिवादीले राजीनामा गरी लिएको मिति ०२६।५।२३ को राजीनामा लिखतमा दक्षिण किल्लामा साझा बगैंचा र गल्ली बाटो भन्ने उल्लेख भएको पाइन्छ । सो किल्लाबाट के बुझिन्छ भने दक्षिण किल्लामा साझा बगैंचा अर्थात् एकलौटी हक नभएको जग्गा हुँदा सो को समेत नाम उल्लेख गरेको र सो विवादित साझा बगैंचाको साझापन समेत किनेको हुँदा त्यसको दक्षिणपट्टिको किल्ला गल्ली समेत उल्लेख गरेको मान्नु पर्ने हुन्छ । यदि त्यसो नमान्ने भएमा एउटै मात्र किल्लाको उल्लेख हुनु पर्ने थियो । प्रतिवादीको मात्र एकलौटी जग्गा भएको भए दक्षिण किल्ला गल्ली मात्रको उल्लेख हुनु पर्दथ्यो । अर्कोतर्फ नाउँबाट नै के प्रष्ट देखिन्छ भने दक्षिण किल्लामा साझा बगैंचा भन्ने भएबाट एकलौटी मान्न मिल्दैन । साझालाई एकलौटी गराउनको लागि वादी पक्षबाट हक छुटाएर लिएको भन्न पनि प्रतिवादीले सकेको पाइँदैन। मिसिल सामेल रहेको मिति ०३९।१।९ को नक्शा कुण्डलीबाट पनि विवादित कि.नं. १६८० मा वादीको घर जग्गाबाट आउने जाने द्वार अथवा बाटो भएको देखिन्छ । पर्खाल विवादित जग्गालाई छुट्टाएको भनेर यसर्थमा तर्क गर्न मिल्दैन । अतः यस्तो स्थितिमा वादी दावी पुग्ने नपुग्ने के हो भनी सबूद प्रमाण बुझी निर्णय गर्नु पर्नेमा वादीको हकदैया नभएको भनी खारेज गर्ने गरेको शुरु इन्साफ सदर गरेको बा.अं.अ. को इन्साफ मनासिब ठहर्याएको म.क्षे.अ. को निर्णय त्रुटिपूर्ण देखिँदा बदर भई उल्टी हुने ठहर्छ । वादी दावी खारेज गर्ने ठहर्याएको इन्साफ सदर गर्ने राय व्यक्त गर्नु हुने माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको रायसँग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली बमोजिम फुल बेञ्चमा पेश गर्नु भनी मिति २०४२।१।२४।४ मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।
१४. पुनरावेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले जालसाजी मुद्दामा जालसाजी नठहरहेकोले लिखत कायम भई लिखत बमोजिमको घर नापीमा प्रतिवादीका नाउँमा घर कि.नं. १६७८ मा दर्ता भई सकेको छ प्रतिवादीले खरीद गरेको लिखतमा दक्षिण किल्ला साझा बगैंचा र गल्ली बाटो उल्लेख छ । लिखतबाट विवादित बगैंचा प्रतिवादीको कायम हुने देखिँदैन । कि.नं. १६८० नापीमा खाली भई नापी भएको र सो विवादित बगैंचा वादीहरूको स्ववासी बगैंचा हो । पाइखाना जुठ्यान समेत बनाई भोगचलन गरी आएको छ । वादीको थाहा पाएको मितिले ६ महिनाभित्र नालेश परेको छ । तसर्थ माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर भई सो विवादित जग्गा वादीको साझा कायम हुनु पर्छ भन्ने समेत र वरिष्ठ विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेलले विवादित बगैंचा वादीहरूका अंशियारहरूले साझा गरी भोग गरेको कुरा प्रतिवादीले आफ्नो प्रतिउत्तरको प्रकरण ७ मा स्वीकार गरेको छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री छवीरमण सिटौलाले विवादित जग्गा राजीनामा भित्र पर्दछ । नं. ५ र ३ को बीचको पर्खाल पछि लगाएको हो । ढोका मेरो पक्षतर्फबाट बन्द हुन्छ । वादीहरूले निजहरूको मात्र साझा भनी दावी लिएको छ । मेरो पक्षको समेत साझा भनेको छैन । सो विवादित जग्गामा आवातजावत गर्ने ढोका रहेकोले विवादित जग्गा प्रतिवादीको भन्ने सिद्ध छ । ठुलो कान्छाको घर त्यस ठाउँमा नभएकोले वादीहरूको साझा भन्ने देखिँदैन । तसर्थ वादी दावी नपुग्ने गरेको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
१५. यसमा निर्णयतर्फ हेर्दा प्रतिवादीले वादीहरुका अंशियार सुखिया बाँनियाबाट ०२६।५।२३ मा राजीनामा गरी लिएकोमा सो राजीनामा जालसाजी मुद्दा पर्दा सो राजीनामा जालसाजी नठहरी बागमती अञ्चल अदालतबाट ०३६।३।१३ मा निर्णय भई अन्तिम भई राखेको देखिन्छ । साथै सो राजीनामा बमोजिमको घर नापीमा प्रतिवादीका नाममा कि.नं. १६७८ नं. मा दर्ता भई कायम भई सकेको छ । कि.नं. १६७८ को घरसँग जोडिएको घरले चर्चेको बगैंचा कि.नं. १६८० को क्षेत्रफल ०–१–०–२ मेरो नाउँमा नाप नक्शा भई अस्थायी निस्सा समेत पाएको छु सो जग्गा ढोका खोली फोहर समेत फ्याँकी दिएकोले रोक्दा ढुंगामुडा गरेकाले शान्ति सुरक्षा गरिपाउँ भनी अञ्चलाधीशमा प्रतिवादी रम्भादेवीले दिएको ०३७।११।८ को निवेदनको नक्कल ०३७।११।२२ मा सारी हेर्दा सो कि.नं. १६८० को जग्गा हामी वादीहरूको मात्र स्ववासी बगैंचालाई विपक्षीले स्ववासी भनी दर्ता गराई अस्थायी प्रमाणपत्र लिएको समेत देखिन आएकोले सो दर्ता बदर गरी हामी २ जनाको साझा हक कायम गरी विपक्षीको खिचोला मेटाई चलन चलाई पाउँ भनी प्रस्तुत फिराद थाहा पाएको मितिले जग्गा मिच्नेको १८ नं. को म्याद ६ महिनाभित्र परेको देखिन्छ । प्रस्तुत मुद्दा जिल्ला अदालत र अञ्चल अदालतको समेत प्रमाण समेतको विवेचना गरी विवादित जग्गामा वादीहरूको हक नपुग्ने आधार समेतबाट खारेज गरेको देखिन्छ । तर मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सबूद प्रमाणको मूल्यांकन गरी वादीको दावी नपुग्ने निष्कर्षमा पुगी इन्साफ गरेको देखिएकोले प्रस्तुत मुद्दा निर्णयार्थ तल्लो अदालतमा पठाउन नमिली यसै अदालतबाट निर्णय दिनु पर्ने हुन आएको छ ।
१६. विवादको बगैंचा वादीहरूको एकलौटी हो वा प्रतिवादीको एकलौटी हो अथवा वादी प्रतिवादीहरू दुवै पक्षको साझा कायम हुने के हो ? त्यसतर्फ हेर्दा हाम्रो साझा बगैंचा जग्गालाई विपक्षीका नाउँमा दर्ता गराउन अधिकार छैन । कि.नं. १६८० को क्षेत्रफल रोपनी ०–१–०–२ जग्गा हामी वादीहरूको मात्र स्ववासी जग्गालाई नापी टोली हात लिई स्ववासी भनी दर्ता गराए सो दर्ता बदर गरी हामी दुई जनाको साझा हक कायम गराई खिचोला मेटाई चलन चलाई पाउँ भन्ने समेत वादीको दावी र लिखतमा परेको घर बगैंचा र विपक्षका फार्छेको चोक समेत बीचमा सीमाना नभई एउटै रही आपसमा दुई दाजु भाइका सन्तानले साझा गरी भोगी आएका रहेछन । हामीले खरीद गरी लिएपछि आ–आफ्नो भाग अलग गरी पर्खाल लगाई भोग गरेको भन्ने समेत प्रतिवादीको प्रतिउत्तर जिकिर देखिन्छ । वादीहरू प्रतिवादीका दाता एकै अंशियार देखिन्छ । त्यसमा विवाद देखिन्न । मिति ०३९।१।९ मा भएको नक्शाबाट न.नं. २, ३ र ४ को जग्गामा झगडा जनिएको देखिन्छ । यो नक्शाबाट न.नं. ७ को वादीको घरबाट न.नं. ५ को चोक भई विवादित जग्गामा आवतजावत गर्ने ढोका रहेको र प्रतिवादीको न.नं. १ को घरबाट पनि झगडा परेको जग्गामा आवत जावत गर्ने ढोका रहेको देखिन्छ । त्यसरी दुवैतर्फबाट आवतजावत भोगचलन गरी आएको स्थितिमा वादी दावी अनुसार वादीहरू दुई जानको मात्र साझा बगैंचा रहेछ भन्न मिल्ने देखिँदैन । विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा हो भन्ने कुराको तथ्ययुक्त सबूद प्रमाण पनि कुनै देखिन नआएको हुँदा विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा रहेछ भन्न मिलेन ।
१७. प्रतिवादीले विवादित बगैंचा राजीनामा भित्र परेको छ । विवादको बगैंचा वादीको होइन भन्ने जिकिर लिएको पाइन्छ । प्रतिवादीले सुखीया बानियाबाट खरीद गरी लिएको भनेको ०२६।५।२३ को राजीनामा हेर्दा दक्षिण साझा बगैंचा र गल्ली बाटो भन्ने किल्ला उल्लेख भएको देखिन्छ । त्यसबाट वादीले खरीद गरी लिएको घरको दक्षिणतर्फको साझा बगैंचा समेत सो राजीनामा भित्र परेको र प्रतिवादीको मात्र एकलौटी भन्ने देखिँदैन । सो विवादित जग्गा प्रतिवादीले दर्ता गराउँदा स्ववासी भनी कि.नं. १६८० मा दर्ता गराएको छ । तर निजको मात्र एकलौटी हकको हो भन्ने लिखत प्रमाण पेश गर्न सकेको पनि छैन । यस स्थितिमा तथ्ययुक्त सबूद प्रमाण बेगर सो विवादित जग्गा प्रतिवादीको मात्र एकलौटी जग्गा भन्न पनि मिलेन ।
१८. अब विवादित नापीको कि.नं. १६८० अर्थात् नक्शा नं. २, ३ र ४ को झगडा परेको जग्गाको स्थिति हेर्दा सो झगडा परेको बगैंचा जग्गामा रक्षान र चर्पी समेत भएको देखिन्छ । त्यसको उत्तरतर्फ न.नं. १ प्रतिवादीको घर दक्षिणतर्फ न.नं. ८ आठको सडक बाटो पश्चिमतर्फ न.नं. ५ वादीको पर्खाल र चोक र सो न.नं. ५ देखि उत्तरतर्फ न.नं. ७ को वादीको घर भन्ने नक्शामा उल्लेख भएको पाइन्छ । वादीहरू र प्रतिवादीका दाता अंशियार भन्ने देखिन्छ । प्रतिवादीले घर खरीद गर्दा वादीहरुका अंशियारबाट खरीद गरेको छ । प्रतिउत्तरको प्रकरण ७ मा लिखतमा परेको घर बगैंचा विपक्षी फार्छेका चोक समेत बीचमा सीमाना नभई एउटै रही आपसमा दुई दाजु भाइका सन्तानले साझा गरी भोगी आएका रहेछन भन्ने उल्लेख भएको पाइन्छ । यसबाट वादीले खरीद गरेको भनेको न.नं. ५ को चोकलाई छुट्याई पर्खाल लगाई झगडा परेको जग्गामा जाने ढोका राखी अंशियारको नाताबाट साझा राखी भोगेको र विवादित साझा बगैंचाको दक्षिण न.नं. ८ को बाटोलाई पनि प्रतिवादीले खरीद गरेको राजीनामामा किल्ला लेखिएकोले प्रतिवादीले पनि सो विवादित जग्गालाई साझा रुपमा भोग गर्न पाउने प्रष्ट देखिन्छ । उपरोक्त उल्लिखित नक्शाबाट प्रतिवादीको न.नं. १ को घरबाट विवादित न.नं. २, ३ र ४ को जग्गामा आवतजावत गर्ने ढोका रही भोग चलन गरी आएको र वादीको न.नं. ७ को घरबाट न.नं. ५ को चोक भई झगडा परेको न.नं. २, ३ र ४ को जग्गामा आवत जावत गर्ने ढोका रहेको रही भोगचलन गरेको मिसिल नक्शा प्रमाण समेतबाट देखिन्छ । प्रतिवादीको राजीनामाको किल्ला साझा बगैंचा भन्ने भएबाट बगैंचाको साझा प्रकृतिमा हेरफेर गर्न मिलेन । यस स्थितिमा विवादित नापीको कि.नं. १६८० अर्थात् झगडा परेको न.नं. २, ३ र ४ को जग्गा वादी प्रतिवादीहरू दुवै पक्षको हक भोगचलनको साझा बगैंचा जग्गा रहेछ भन्ने प्रष्ट देखिन आयो ।
१९. तसर्थ विवादको कि.नं. १६८० अर्थात् न.नं. २, ३ र ४ को बगैंचा जग्गा प्रतिवादीका नाउँमा एकलौटी दर्ता गरेको दर्ता बदर हुने र सो जग्गा वादी प्रतिवादीहरू दुवै पक्षको हकभोग चलनको कायम भई दुवै पक्षको हकभोग चलन गर्न पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम विवादित जग्गा वादी प्रतिवादीहरू दुवैको साझा ठहरी फैसला भएकोले कोर्टफितर्फ केही गर्नु परेन….१ माथी इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले प्रतिवादीका नाउँमा दर्ता भएको का.जि.का.न.पं. वडा नं. ५ हाल २१ कि.नं. १६८० को क्षेत्रफल ०–१–०–२ एक आना दुई दाम जग्गाको प्रतिवादीका नाउँको दर्ता बदर गरी सो जग्गा वादी प्रतिवादीहरू दुवै पक्षका नाउँमा साझा दर्ता गरिपाउँ भनी ऐनका म्यादभित्र वादीको दर्खास्त परे प्रतिवादीका नाउँको दर्ता बदर गरी वादी प्रतिवादीहरू दुवै पक्षका नाउँमा साझा दर्ता गरी दिनु भनी मालपोत कार्यालय काठमाडौंलाई लेखी पठाई दिनु ..२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु ….३
उक्त रायमा हामीहरू सहमत छौं ।
न्या.प्रचण्डराज अनिल
न्या.रुद्रबहादुर सिंह
इतिसम्वत् २०४३ साल चैत्र २० गते रोज ६ शुभम्