July 15, 1986
Created by nepalarchives

निर्णय नं. २६४८ – लिखित बदर

निर्णय नं. २६४८     ने.का.प. २०४३  अङ्क – ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त...

निर्णय नं. २६४८     ने.का.प. २०४३  अङ्क – ३

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४१ सालको दे.फु.नं. ८७

फैसला भएको मिति : २०४३।३।३१।३ मा

 

निवेदक/वादी : जिल्ला ताप्लेजुङ दोखू गा.पं.वार्ड नं. ३ बाझो गरा बस्ने रामचन्द्र उपाध्याय मरी मु.स. गर्ने त्रैलोक्यनाथ उपाध्याय घिमिरे

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ.भेडाबारी बस्ने दिनानाथ उपाध्याय घिमिरेसमेत

 

मुद्दा : लिखित बदर

 

(१)         बन्धकी दिएको तथा सो जग्गाको बालीको सम्बन्धमा मिलापत्र गरेको भन्ने कुराले मात्र त्यस्तो अबण्डाको जग्गालाई वादीको एकलौटी भन्न नमिल्ने ।

(प्रकरण नं. १५)

 

निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय दोहर्‍याई पाउँ भनी वादीले चढाएको बिन्तिपत्र फुलबेञ्चबाट दोहराई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट लेखी आई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२. पिता जगन्नाथका दुई जना श्रीमतीमा जेठी पट्टीका चार भाइ छोरा ६८ साल मै छुट्टिई सकेका र कान्छी पट्टिका जेठा देउदत्त निजका छोरा नरनाथ, औजराज, माहिला म रामचन्द्र र साहिला दिनानाथ, कान्छा होमनाथ भएकोमा हामीहरू सगोलमा रहँदैका अवस्था पिताजी जगन्नाथ १९९३ सालमा र आमा १९९७ सालमा जेठा दाजु देउदत्त १९९९ सालमा देहान्त भएपछि हामी अंशियारको अंशबण्डा नभएको गोश्वरा जग्गा मध्ये ५० साल जाँचमा सु.अर्थपति जिम्मा बाजे डिल्लीराम खेततर्फ माटो मुरी ।१० को तिरो रु.५।मा दर्ता भएको तमारे नदी पूर्व गुहेली पुछार भिर पहरा पश्चिम गुहेलीबाट झरेको ठाडो खोल्सी उत्तर भोटबाट झरेको ठाडो खोल्सी दक्षिण यति ४ किल्ला भित्रको तिरो रु.५।लाग्ने ओदिम्बा भन्ने रैकर खोला खेत १, कैनिम धुरी भन्ने बारी १, मिरे मुनी भन्ने रैकर खेत १, तनोम १, रैकर घर वारी १, साजबाटै भन्ने रैकर खेत १ समेत ७ खला जग्गा अंबण्डा गोश्वाराबाट भोग गरी आएका जग्गा मध्ये रैकर खेतलाई भतिजा नरनाथ भाइ होमनाथ दिनानाथले मलाई एकलौटी खानु भनी यो जग्गाको सट्टा अबण्डा गोश्वारा जग्गा मध्ये कैनिन धुरी रैकर घरबारी अरु ३ भाइले एकलौटी खाने मुखकै सर्त गरी खोला खेत मैले नै भोग गरी मैले नै १ नं. १४ नं. फाराम समेत भरी मैले नै २०२७।१।१ गते सु.खड्गबहादुर लिम्बूलाई रु.५००।मा २०२७।६।१९ गते ताप्लेजुङ मालबाट भोगबन्धकी पास गरी दिई साहूले भोग गरी आएको भूस्वामित्व मेरो एक लौटी देखिने उक्त ४ किल्ला भित्रको जग्गालाई प्रतिवादीहरूले मिली अरु होमनाथ, नरनाथ, रामप्रसाद, औजराज  देखा नपरी माटो मुरी ।१० लाई माटो मुरी ।२० भनी ०३०।१०।६ गते रु.५००।मा राजीनामा लेखी दिने भाइ दिनानाथ, लिने यी रणबहादुर, अन्तरसाक्षी हुने यी कृष्णप्रसाद समेत भई राजीनामा लिनु दिनु गरेछन्, ऐ.७ गते ताप्लेजुङ मालबाट पारीत गर्ने गराउने गरेछन् ०३१।४।११ मा थाहा पाई लेनदेन व्यवहारको ४० नं.को म्यादभित्रै फिराद गर्न आएको छु । उक्त विपक्षीहरूले गरेको रु.५००।को ०३०।१०।७ को राजीनामा पास बदर वातेल गरिपाउँ भन्ने समेत व्यहोराको ०३१।४।१७ मा दिएको फिरादपत्र ।

३. वादी दावीको ओदिम्बा खेत र अरु ५ कित्ता जग्गा १९९९।१०।१७ का बण्डा पत्रमा परेका जग्गा मैले पत्ता लगाई म एकलौटी भोग गर्छु भन्दा सबैले बाँडी खानु भन्ने सल्लाह भई लगनी परे मध्ये ओदिम्बा खोला खेत लगनी तिरी मैले एकलौटी भोग चलन गर्ने गरी खेत होमनाथले लगनी बाँकी चलन गर्दै बाँझ गहरा छवे दर्ताको खेत वादीले भोग गर्ने भनी ००३ सालमा कबोलनामा लेखी सक्कल वादीसँग छ नक्कल मसँग लिएका थियौं हामीसँगको नक्कल हराएको थाहा पाई सक्कल गुम गरी गोश्वारा भनेको गोश्वारा होइन वादीले लेखेको राजीनामा बदर गरिपाउँ भनी दावी गरेको ओदिम्बा भन्ने खोला खेत पिता जगन्नाथले १९७८ सालमा गरी दिनु भएको लेखतको रु.१२०।००३।११।८ गते मैले एकलौटी तिरी उकासी ११४ नं. फाराम भरी मेरै हक कायम भएकोले प्रतिवादी रणबहादुरबाट रु.५००।लिई ०३०।१०।७ मा राजीनामा पारीत गरी दिएको सो कुरा छोरा रामप्रसादले बेमन्जूरी गरी ०३१।५।९ मा हक सफा गरी रामप्रसादले हक लिई सकेको र वादी उल्लेख बमोजिम खड्गबहादुरलाई भोगबन्धकी पारीत गरी दिएको भन्छन् । सो जग्गा खड्गबहादुरले भोग गर्न नसकेकोले लेनदेन व्यवहारको २ नं. बमोजिम थैली वादीकै कपाली हुनुपर्छ । मेरो बेमन्जूरबाट वादीले पारीत गरी दिदैंमा मेरो हक टुट्न सक्ने होइन भन्ने समेत व्यहोराको दिनानाथको र बाबुले गरेको कागजमा साक्षी बस्ने अन्याय ठहर्न सक्ने होइन भन्ने समेत व्यहोराको कृष्णप्रसादको र वादीलाई हामीले अन्याय गरेको छैनौं भन्ने समेत व्यहोराको रामप्रसाद ओजराजको र वादी दावीको ओदिम्बा खेत दिनानाथले मलाई २०३०।१०।७ मा राजीनामा पास गरी दिएको थियो तापनि प्र.रामप्रसादले थैली हकसफा गरी उकासी हकसफा गराएका छन् मेरा हकदावी छैन भन्ने समेत व्यहोराको रणबहादुरको र गैरी खेत रणबहादुर संग झगडा परी श्री सर्वोच्च अदालतबाट ०१२।१०।१५ मा फैसला भइसकेको हुँदा गोश्वारा भन्ने मनासिब नपर्ने भन्ने होमनाथको र प्र.दिनानाथले गरेको लिखत बदर गरिपाउँ भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको नरनाथ समेतको एउटै मिति ०३१।६।२२ को प्रतिउत्तरपत्र ।

४. धनी रणबहादुर ऋणी दिनानाथ भएको वादी दावीको ०३१।१०।७ को रु.५००।को राजीनामा पारीत लिखत बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु ताप्लेजुङ जिल्ला अदालतको ०३३।८।२४।५ को फैसला ।

५.    सो फैसलामा चित्त बुझेन धनी खड्गबहादुर ऋणी वादी भएको बन्धकी तमसूक समेत बदर वातेल गरी शुरु फैसला बदर गराई पाउँ भन्ने समेत व्यहोराको दिनानाथ समेतले ०३३।१०।२८।५ मा मेची अञ्चल अदालतमा दिएको पुनरावेदन ।

६. वादी दावीको जग्गा प्रतिवादीका हकको देखिन आएकोले आफ्नो हक नपुग्ने जग्गामा प्रतिवादीले लिनु दिनु गरेको बदर गराई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने र शुरुले लिखत बदर हुने भनी ठहर्‍याएको इन्साफ उल्टी ठहर्छ भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको ०३५।१।१८ को फैसला ।

७. मेची अञ्चल अदालतको इन्साफमा कानुनी त्रूटी भएकोले अनुमति पाउँ भनी वादीले दिएको निवेदनमा ०३५।११।१८ मा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट अनुमति प्राप्त भई परेको वादीको पुनरावेदन ।

८. यसमा वादी प्रतिवादी जिकिरबाट वादी दावीको ओदिम्बा भन्ने रैकर खोला खेत ९९ साल माघ १७ गते ७ को बण्डामा नपरी अबण्डा रहे भएकोमा दुवै थर सावित देखिन्छन् सो अबण्डा रहेको खोल्सी खेत मेरो एकलौटी भन्ने वादी दावी । मेरो एकलौटी भन्ने प्रतिवादी दिनानाथ र सोही दिनानाथको एकलौटी भन्ने अरु प्रतिवादी भएको एकलौटी हक भनी दावी जिकिर गर्ने दुवै थरबाट एकलौटी हक कायम भएको अरु अंशियारको हक छुटाई एकलौटी हक गराएको रीतपूर्वकको लिखत प्रमाण दुवैपक्षबाट कुनै पेश भएको देखिएन । अबण्डा जग्गाको वादीले तिरो तिरेको खड्गबहादुर, मोही बेदनिधी बराल बीच मुद्दा परी बेदनिधी मोही कायम भएको प्रमाणबाट वादीको एकलौटी हक भन्न नमिल्ने त्यस्तै प्रतिवादी दिनानाथले प्र.रणबहादुरलाई राजीनामा दिई निजको छोरा रामप्रसादले हक सफा गरी निखनी लिएकै भरले मात्र प्रतिवादी जिकिर बमोजिम प्र.दिनानाथको मात्र एकलौटी हक भन्ने मिल्ने नदेखिँदा प्र. जिकिर मनासिब देखिएन, अबण्डा जग्गाको कुनै अंशियारले तिरो तिरेको र अरुलाई भोगाएको वा भोगबन्धकी दिएको र राजीनामा निखनी हकसफा मोही पत्र भएको प्रमाणका आधारमा अन्य अंशियारले तिरो तिरेको र अरुलाई भोगाएको वा भोगबन्धकी दिएको र राजीनामा निखनी हक सफा मोही पत्र भएको प्रमाणका आधारमा अरु अंशियारको हक छुटाएको लेखत बेगर एकलौटी भन्न नमिल्ने भएकोले एकलौटी हक भन्ने वादी र एकलौटी हक भन्ने प्रतिवादी दिनानाथ समेतको जिकिर मनासिब देखिएन । प्र.को लेख मिसिल प्रमाणबाट दावीको जग्गा अबण्डाको नै देखिन आएकोले सो अबण्डा जग्गामा वादीको पनि अंश हक रहे भएको देखिने र वादी प्रतिवादी लेखबाट मूल पूर्खा जगन्नाथको कान्छी श्रीमती पट्टिका छोरा सन्तान वादी रामचन्द्र १, प्र. दिनानाथ १, प्र. होमनाथ १ र नरनाथका बाबु देउदत्त १ समेत ४ अंशियार देखिँदा वादी दावीको जग्गा प्र.दिनानाथले रणबहादुरलाई ०३०।१०।७ मा राजीनामा पारीत गरी दिएको सो राजीनामा ०३१।५।९ मा प्र.रामप्रसादले हक सफा गरेको लिखत ४ भागको १ भाग बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३६।११।१।४ को फैसला ।

९. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३७।२।१२ को आदेश ।

१०.    वादीको हक जति ४ खण्डको १ खण्ड लिखत बदर हुने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।११।६।४ को फैसला ।

११. श्री ५ महाराजाधिराजका हजूरमा सो निर्णय दोहराई पाउँ भनी वादीले चढाएको बिन्तिपत्रमा फुलबेञ्चबाट दोहर्‍याई हेरी दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति ०४१।८।१९ मा लेखी आएको रहेछ ।

१२. निवेदकको वारिस योगराज चापागाई विपक्षीहरूको वारिस ओमकारमान श्रेष्ठ रोहवरमा रही पेश हुन आएकोमा निवेदकतर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले विवादको औडिम्बा भन्ने खेत वादीको एकलौटी हक भोगको हो । सो जग्गाको तिरो भरो वादीबाट भएको र वादीले खड्गबहादुरलाई भोगबन्धकी दिई भोगाएको समेतबाट वादीको एकलौटी भन्ने देखिन्छ । त्यस्तो वादीको हक लाग्ने जग्गा प्रतिवादी दिनानाथले बिक्री गरेको सबै लिखत बदर गर्नुपर्नेमा ४ खण्डको १ खण्ड मात्र लिखत बदर गर्ने गरेको इन्साफ मिलेको छैन, वादी दावी बमोजिम लिखत बदर हुनु पर्दछ भनी बहस गर्नुभयो ।

१३. आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मिलेको छ छैन ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१४. यसमा निर्णयतर्फ हेर्दा ४ खण्डको १ खण्ड लिखत बदर गर्ने गरेकोमा प्रतिवादीहरूले पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन उजूर नगरी चित्त बुझाई बसेकोले त्यसतर्फ विचार गर्नुपर्ने अवस्था रहेन । सबै लिखत बदर गर्नुपर्नेमा ४ खण्डको १ खण्ड लिखत बदर गरेको मिलेन भन्ने निवेदन जिकिरतर्फ हेर्दा वादीको दावी विवादीत ओदिम्बा भन्ने रैकर खेत १९९९।१०।१७ को बण्डामा नपरी अबण्डा रहेको कुरा वादीले स्वीकार गरेको देखिन्छ ।

१५.   विवादको ओदिम्बा भन्ने रैकर खेत मलाई एकलौटी खानु त्यसको सट्टा केनीम घुरी भन्ने रैकर घरबारी अरु ३ भाइले एकलौटी खाने मुखको शर्त गरी मैले भोगी मेरो एकलौटी हक भएको भन्ने वादीको दावी र विवादको खेत बाबु जगन्नाथले ७८ सालमा प्रतिमनलाई बन्धकी दिएको मैले तिरी उकासी एकलौटी भोगी आएको रणबहादुरलाई बिक्री गरेको हो भन्ने प्रतिवादी दिनानाथको जिकिर देखिन्छ । तर सो जग्गा सबै अंशियारको मन्जूरी लिखत भई जग्गा एकलौटी हक भोग गरेको भन्ने कुराको लिखत प्रमाण वादीबाट पेश हुनसकेको छैन । सो विवादको जग्गा वादीको दावी अनुसार वादीको एकलौटी हक भएको कुनै लिखत प्रमाण देखिँदैन । सो जग्गा वादीले बन्धकी दिएको तथा सो जग्गाको बालीको सम्बन्धमा मिलापत्र गरेको भन्ने कुराले मात्र त्यस्तो अबण्डाको जग्गालाई वादीको एकलौटी भन्न मिल्दैन । सो विवादको जग्गा वादीको एकलौटी हक भएको भन्ने अरु तथ्ययुक्त लिखत प्रमाण नदेखिएकोले सो जग्गा निवेदक वादीको एकलौटी हक भन्ने निवेदन जिकिर पुग्न सक्ने देखिएन । तसर्थ वादीको हक जति ४ खण्डको १ खण्ड लिखत बदर गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजनबेञ्चको इन्साफ मनासिब ठहर्छ । कोर्टफी लागेको मुद्दा हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा हामीहरूको सहमत छ ।

न्या. हरगोविन्द सिंह प्रधान

न्या. महेशरामभक्त माथेमा

 

 

इति सम्वत् २०४३ साल आषाढ ३१ गते रोज ३ शुभम् ।