June 24, 1986
Created by nepalarchives

निर्णय नं. २६४५ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २६४५    ने.का.प. २०४३  अङ्क – ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी...

निर्णय नं. २६४५    ने.का.प. २०४३  अङ्क – ३

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् ०४२ सालको रि.फु.नं. ४१

आदेश भएको मिति :  २०४३।३।१०।३ मा

 

निवेदिका : जिल्ला पर्सा सतवरिया गा.पं.वा.नं. ६ को परिवर्तित हाल पोखरीया गा.पं.वा.नं. ५ बस्ने कुमरिया चाइनी

विरुद्ध

विपक्षी : ऐ.ऐ.तुल्सी महतो चाइसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)         होइन भनी कुनै खण्डन गर्न सकेको छैन, यसबाट सगोलमा रहेको भन्ने कुरा स्वीकार गरेको भन्नु पर्ने ।

(प्रकरण नं. १२)

(२)        एकासगोलमा रहे बसेको बुहारी रिट निवेदिकाको स्वामित्वमा रहेको जग्गामा एकासगोलको जेठाजु प्रत्यर्थीलाई अरु जग्गावालाको जग्गा कमाउने खेती गर्ने किसान सम्झन नमिल्ने ।

(प्रकरण नं. १२)

 

निवेदिकातर्फबाट : विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर राणा

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

२. जि.पर्सा सतवरीया गा.पं.वा.नं. ६ कि.नं. ६८ को ज.वि.०८ मथुरा शाहबाट मैले ०२७।८।१ मा खरीद गरी लिएको हो । उक्त जग्गाको मोही तुल्सी महतो चाई मेरो साखै जेठाजु हुन् । जग्गा खरीद गरेको अवस्थामा हामी सगोलमै थियौं जेठाजु र लोग्ने बीच चलेको अंश मुद्दामा मानो छुटेको मिति २०३०।२।३० कायम भई लोग्नेले अंश पाउने ठहरी निर्णय भएको छ । त्यस पछि उक्त जग्गाको सम्बन्धमा दिएको अंश दपोट मुद्दामा फिराद दावी छाडी २०३३।५।११ मा मिलापत्र भएको छ सगोलमा रहेको जग्गामा अंशीयारको मोही हक नहुने हुँदा तुल्सी महतोको मोहीको लगत काटी पाउँ भनी मैले निवेदन दिएकोमा अंशबण्डा भित्रको जग्गा होइन भन्ने बूँदा उल्लेख गरी निवेदन खारेज गर्ने गरी विपक्षी कार्यालयबाट मिति २०४१।४।२६ मा निर्णय भयो । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन लिएको व्यक्तिलाई जनाउँछ भन्ने उल्लेख भएको छ तर मैले जग्गा खरीद गर्दा विपक्षी तुल्सी महतो सगोलमै भएकोबाट निज मोही कायम नहुने प्रष्ट छ । विपक्षी र मेरो बीच कुनै कबूलियत र भर्पाई समेत भएको छैन । तसर्थ ऐनको दफा ३४ को त्रुटिपूर्ण निर्णय भएको छ । जग्गावालासँग कुनै लिखित कबूलियत नगरी अस्थायी प्रमाणपूर्जाको नाताले मोही कायम गर्न नमिल्ने भनी सिद्धान्त प्रतिपादित भएको छ । एकासगोलको दाजु जग्गाधनी र भाइ मोही हुन नसक्ने भनी सिद्धान्त प्रतिपादित भएकोले विपक्षीको लगत कट्टा नगरेको त्रुटिपूर्ण छ । विपक्षी तुलसी मोही भएको भए अंश दपोट मुद्दा दिनुपर्ने थिएन । तसर्थ विपक्षी कार्यालयको मिति २०४१।४।२६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी मोही लगत कट्टा गरी दिने हक न्याय पाउँ भन्ने समेत रिट निवेदन ।

३. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको आदेश ।

४. तुलसी महतो चाई प्रमाणित मोही हुन बिना प्रमाण नाता पर्नाले वा दाजु भाइ हुँदैमा सगालेको भनी मोहीको लगत कट्टा गर्नु न्यायोचित हुँदैन । जग्गा दबायो भन्ने मुद्दालाई नै एकासगोलकै रहेछन भनी कसैको अधिकार खोस्नु न्यायसंगत नहुँदा यस कार्यालयबाट २०४१।४।२६ मा भएको निर्णय सदर भई रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.पर्साको लिखितजवाफ ।

५.    भू.सु.का.ले निर्णय गर्दा वादी दावीको जग्गा अंशबण्डा भित्रको जग्गा नहुँदा मोहीको लगत कट्टा गर्न मिलेन भनी निर्णय भएकोमा उक्त विवादको कि.नं.को जग्गामा निवेदिकाले हकदैया पुगेको भनी दावी गर्न सकेको छैन । हकदैया नपुग्नेले रिट निवेदन दिन पाउँदैन निवेदकको जिकिरको जग्गामा २ नं. अनुसूची प्रकाशित भई जोताहाको प्रमाणपत्र पाइसकेको छु । जग्गाधनी मथुरा साहूको हकसम्म खरीद गरेको निवेदिकाले निजको दाताले नै सुरक्षित गरेको मेरो मोहीको हक समाप्त गर्न मिल्दैन । जग्गा धनीको जति हक छ त्यतिमात्र हस्तान्तरण गर्न पाउने हो । भू.सं.ऐनको दफा २६(क) ले मोही हक सुक्री बिक्री अंशबण्डा नहुने हुँदा मोही लागेकै जग्गा खरीद गर्ने निवेदिकाको कुनै  हक हनन् भएको छैन तसर्थ रिट निवेदन खारेज गरिपाउँ भने समेत तुल्सी महतो चाईको लिखितजवाफ ।

६. डिभिजनबेञ्च समक्ष पेश हुँदा निवेदिका कुमरीया चाईनी बुहारी र विपक्षी तुलसी जेठाजु भएकोमा विवाद देखिन्न । अंश मुद्दाबाट निजहरू २०३०।२।३० मा मानो छुट्टिएको मिति कायम भएको सो भन्दा अगावै २०२७।८।१ मा विवादीत कि.नं. ६८ को ज.वि.०८ निवेदिकाले खरीद गरी लिएको हुँदा एकासगोलमा रहेका बुहारीलाई अरु जग्गावाला भनी मान्न मिल्ने स्थिति देखिँदैन । एका सगोलमा भए बसेका बुहारीका स्वामित्वमा रहेको जग्गामा सगोलको जेठाजु मोही कायम रहन नसक्ने हुँदा विपक्षी मोहीको लगत कट्टा नगरी कायमै राख्‍ने गरेको भू.सु.का.पर्साको ०४१।४।२६ को निर्णय त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी भू.सु.का.पर्साका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय ।

७. विवादीत जग्गा निवेदिकाले ०२७।८।१ मा राजीनामा गरी मथुरा साह रौनियारबाट लिएको सो जग्गाको साविक देखिको मोही विपक्ष तुल्सी भएकोमा विवाद देखिँदैन । अंश दपोट मुद्दा परी मिलापत्र हुँदा समेत निवेदिकाको निजी जग्गा भनी वादी दावी छाडी तुल्सी महतोले मिलापत्र गरेको पाइन्छ । यस स्थितिमा विवादीत जग्गामा साविक देखि मोही कायम भई आएको व्यक्ति तुल्सी महतोको हक हितमा असर पर्न सक्तैन । निवेदिका तुल्सी महतोकी बुहारी भएकोले अंशियार पनि भन्न मिलेन । जग्गाधनी फेरिदैमा मोहीको हक हितमा आघात पार्न मिल्दैन । अतः निवेदिकाको उजूर खारेज गर्ने गरेको भू.सु.का.पर्साको निर्णयम कुनै त्रुटि नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भएको मिति २०४२।६।१३ को आदेश ।

८. निवेदिका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री चोलेन्द्र शमशेर राणाले रिट निवेदिका अंशियार भन्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ग) ले प्रष्ट गरेको छ । प्रत्यर्थी तुल्सी महतो निवेदिकाको जेठाजु भन्नेमा विवाद देखिन्न । भू.सं. ऐनको दफा २(ख) ले परिवार मोही हुन नसक्ने हुँदा मोही लगत कट्टा नगरेको भू.सु.का.को निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने समेत र प्रत्यर्थी कार्यालयबाट बहस गर्न उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले जग्गाधनी सर्दैमा मोहिलाई असर नपर्ने हुँदा मोही लगत कट्टा गरिपाउँ भन्ने उजूरी खारेज गरेको कानुन अनुरुप छ भन्ने र प्रत्यर्थी तुल्सी महतो चाई तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले मोही लागेको जग्गा रिट निवेदिकाले खरीद गरेको छ । अंश दपोट मुद्दा मिलापत्र गर्दा मोही कायम नगर्ने भनेको छैन । तसर्थ मोही लगत कट्टा गरिपाउँ भन्ने निवेदन उजूरी खारेज गरेको भू.सु.का.को निर्णय कानुनी छ । रिट खारेज हुनु पर्दछ भने समेत बहस गर्नुभयो ।

९. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा रिट निवेदिका कुमरिया चाइनी र प्रत्यर्थी तुल्सी महतोचाई बुहारी जेठाजु नाता भएकोमा विवाद देखिँदैन । रिट निवेदिकाको लोग्ने र प्रत्यर्थी तुल्सी महतो चाईको बीच चलेको अंश मुद्दाबाट २०३०।२।३० मा मानो छुट्टिएको कायम भएको भन्ने रिट निवेदिकाले पेश गरेको फैसला तथा मिलापत्र नक्कलबाट देखिन्छ । विवादीत जग्गा रिट निवेदिकाले ०२७।८।१ मा खरीद गरेको भन्ने छ । यसबाट रिट निवेदिका र प्रत्यर्थी तुल्सी महतो चाई सगोल रहेको अवस्था जग्गा खरीद भएको भन्ने देखिन आयो ।

१०. रिट निवेदिकाले अंशियार जेठाजु मोहीमा रहन नसक्ने भएबाट मोही लगत कट्टा गरिपाउँ भन्ने दावी लिई उजूर गरेको देखिन्छ ।

११. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) मा मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै  शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ भनी परिभाषा गरेको पाइन्छ ।

१२. प्रस्तुत मुद्दामा रिट निवेदिकाले जग्गा खरीद गर्दाका अवस्था प्रत्यर्थी तुल्सी महतो चाइसँग एकासगोलमा रहेको भन्ने उपर्युक्त अंश मुद्दाबाट देखिन्छ । सो कुरा प्रत्यर्थी तुल्सी महतो चाईले होइन भनी कुनै खण्डन गर्न सकेको छैन । यसबाट सगोलमा रहेको भन्ने कुरा स्वीकार गरेको भन्नु पर्ने हुन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(ख) ले एकासगोलमा रहेबसेका बुहारी रिट निवेदिकाको स्वामित्वमा रहेको जग्गामा एकासगोलको जेठाजु प्रत्यर्थी तुल्सी महतो चाईलाई अरु जग्गावालाको जग्गा कमाउने खेती गर्ने किसान सम्झन मिल्ने देखिँदैन यस स्थितिमा प्रत्यर्थी तुल्सी महतो चाईको मोही लगत कट्टा गरिपाउँ भनी रिट निवेदिकाको उजूरी खारेज गर्ने गरेको प्रत्यर्थी भूमिसुधार कार्यालय पर्साको मिति २०४१।४।२६ को निर्णय त्रुटिपूर्ण देखिन आयो ।

१३. अतः प्रत्यर्थी भूमिसुधार कार्यालय पर्साको मिति ०४१।४।२६ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब पुनः कानुन बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी भू.सु.का.पर्साका नाउँमा परमादेशको आदेश जारी गरेको डिभिजनबेञ्चका माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियम बमोजिम गरी बुझाइदिनू ।

 

उक्त रायमा हामीहरूको सहमती छ ।

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४३ साल आषाढ १० गते रोज ३ शुभम् ।