June 10, 1986
Created by nepalarchives

निर्णय नं. २६४४ – दाखेल खारेज बदर

निर्णय नं. २६४४    ने.का.प. २०४३  अङ्क – ३ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा...

निर्णय नं. २६४४    ने.का.प. २०४३  अङ्क – ३

फुलबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४२ सालको दे.फु.नं. ७०

फैसला भएको मिति : २०४३।२।२७।३ मा

 

पुनरावेदक/प्रतिवादी : कपिलवस्तु मोतिपुर गा.पं.वडा नं.७ सीसहनिया बस्ने बसीर मिया

विरुद्ध

विपक्षी/वादी : ऐ.तौलिहवा गा.पं.वडा नं.४ तौलिहवा बजार बस्ने समसुल रंगरेज

 

मुद्दा : दाखेल खारेज बदर

 

(१)         राजीनामा पास गरिपाउँ भन्ने नालिश परिरहेको अवस्था सो लिखत पारीत हुने ठहरी फैसला नहुँदै सो लिखतमा लेखिएको जग्गामा वादीको हक नपुग्ने ।

(प्रकरण नं. १६)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा

 

फैसला

प्र.न्या.धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजनबेञ्च समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच राय मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :

२. प्रतिवादी मध्ये कविर मियाले मबाट रु.९,०००।नौ हजार बुझी आफ्ना नाउँको गा.पं.मोतिपुर मौजे सिसहनिया मध्ये कि.नं.५६ समेतको जग्गा विगहा १।।३।२ जग्गा ०२९।६।१ मा घरसारमा मेरा नाउँमा राजीनामा लेखी दिएकोमा पारीत गरी नदिएमा मेरो फिराद परेकोमा भोगबन्धकी हो भनी प्रतिवाद गरेको र प्रतिवादी कविर मियाँले नं. ५१६ को जिमिदारी विगहा २।।।४।। मध्ये विगहा २द्र३ जग्गा प्रतिवादी मध्येका बसीर मियाँलाई २०२७।२।४ मा अ.खाँ मालबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी दिनु लिनु गरेको, सो जग्गा सर्भे नापी कि.नं. ७२ र कि.नं.२० भएको जुन कि.नं. दाखिल खारिज गरिपाउँ भनी वसिर मियाँले ०३०।२।१९ मा भू.प्र.का.क.व. मा दर्खास्त दिई कारवाही भएको थियो र कि.नं. ५६ को विगहा १।।२।१ जग्गा राजीनामा पारीत गराई पाउँनलाई मेरो नालिश परेको म प्रतिवादी कविर मियाँले ०३०।११।१ मा कविर मियाँ के घरद्वारमा प्र.बसिर मियाँसँग मिली मिलाई मेरो राजीनामा पास रहने गरी तपाइलाई २०२७।२।४ मा राजीनामा गरेको दाखिल खारेज गराउन तपाइको दर्खास्त समेत दिँदाको जग्गा कि.नं. ७२ र कि.नं. २० को जग्गा भए तापनि ०२९।२।५।५ मा मैले कि.नं.७२ को जग्गा आफैंलाई राजीनामा रजिष्ट्रेशन गरी सकेकोले सो समसुलको राजीनामाबाट कि.नं. ५६ को पूरै जग्गा १।।२।१ र कि.नं. १८ मध्ये विगहा ।।.।।४ जग्गा समेत ०२७।२।४।१ को राजीनामाको जग्गा हो भनी दर्खास्त दिई दाखिल खारेज गराई लिनुस, सो दाखिल खारेज गराई लिएपछि मेरा नाउँमा जग्गा दर्ता कायमै रहेको देखिन आउँछ र यस्तो स्थितिमा समसुलको राजीनामा रजिष्ट्रेशन हुन सक्दैन भनी वसिर मियाँसँग राय सल्लाहा  गरी मुखको परिपञ्च मिलाई प्रतिवादी वसिर मियाले २०३०।१।१९ को कुरा नै गुम पारी ०२७।२।४ को राजीनामाको जग्गा कि.नं. ५६।१८ समेतको जग्गा कविर मियाँको नाउँबाट खारेज गरी मेरा नाउँमा दर्ता गरिपाउँ भनी ०३०।१।१५ गते भू.प्र.का.क.व. मा दस्तखत दिई निवेदक वसिर मियाँ र प्र.कविर भई दा.खा. को कारवाही गराई भू.प्र.का.क.व.बाट ०३०।१।१६ मा निर्णय गराई बसिर मियाको नाउँमा दर्ता गराएको समेत रहेछ । सो कुरा मलाई थाहा थिएन । ०३१।६।२१ गते प्रमाणका मानिसहरूबाट थाहा पाई ०३१।६।२२ मा सो निर्णय दर्खास्तहरू र राजीनामाको समेतको भू.प्र.का.क.व.बाट रीतपूर्वकको नक्कल सराई लिंदा दर्ता गरे गराएको कुरा प्रष्ट देखिन आयो । प्रतिवादीहरूले मेरो राजीनामा रजिष्ट्रेशन पारीत मुद्दामा असर पर्ने गरी जग्गा सम्बन्धी कारवाही निर्णय गरी गराई दर्ता गराएको बदर गरी जालसाजीको अपराध गरी जग्गा दर्ता गराउने निर्णय गरे गराएकोमा जालसाजीमा छुट्टै नालेश गर्ने गरी अ.बं. ८२ नं.ले मेरो हक पुग्ने कुरा हुँदा अ.बं. ८६ नं. बमोजिम ०३१।६।२१ गते थाहा पाएको मितिले ३५ दिनभित्र फिराद गर्न आएको छु । उक्त गा.पं.मोतिपुर वडा नं.७(ख) मध्ये कि.नं.५६ को जग्गा विगहा १।।२।१ जग्गाको दर्ता कबिर मियाँको नाउँबाट खारेज गरी बसिर मियाँले दर्ता गर्न गराउन ०३०।११।१५ मा दर्खास्त दिई ०३०।११।१६ मा भू.प्र.का.क.व.बाट निर्णय गराएको समेत बदर गरी सो जग्गा कविर मियाँको नाउँमा दर्ता कायम रहने गरी हक इन्साफ भई प्रतिवादीहरूबाट कोर्टफी ऐन, २०१७ को दफा १५, १६ अनुसार कोर्टफी समेत भराई पाएँ भन्ने ०३१।७।२५ को समसुल रंगरेजको फिराद दावी ।

३. कविर मियाँले आफ्नो सिसहनियाँको जग्गा मध्ये २० जग्गा कि.नं. नखुलाई मोल विगहा लेखी ०२७।२।४ गते रु.२,१००।घरसारमा लिई राजीनामा गरी ०२७।२।६ मा रजिष्ट्रेशन पारीत गरी दिई जग्गा छुट्याई दिएकोले भोगचलन गरी आएको जग्गाधनी दर्ता प्रमाण पूर्जा लिनु पर्‍यो भनी सर्भे नापीमा कित्ता नम्बर सोद्धा कि.नं. २० र कि.नं. ७२ को हो भनी कविर मियाँले मौखिक बताए बमोजिम कि.नं. खोली दर्खास्त दिएकोमा पछी तपाइले भोगी आउनु भएको जग्गा कि.नं. २० र ७२ नभई ५६ र १८ नं. मध्येको जग्गाको भनी गाउँलेहरूले भन्दा नक्शा मिलाई हेर्दा मेरो राजीनामा बमोजिमको जग्गा कि.नं. ५६ र १८ को भई दर्खास्त दिएकोमा मेरो नाउँमा दर्ता गर्ने ०३०।११।१६ मा भू.प्र.का.बाट निर्णय भई कि.नं. १८ मध्ये कित्ताकाट भई कि.नं. १८७ विगहा ०१०१४ कायम भई साविक कि.नं. ५६ नै रही दर्ता भई तेरो मेरो गरी आएकोमा नाजायज फाइदा उठाउन वादी र कविर मिया समेत भई मिलिमतो गरी मेरो भोगको जग्गा लिनलाई झुठ्ठा दावी दिएका हुन मेरो ०२७ सालमा नै रजिष्ट्रेशन पास भई भोगी आएको र वादी समसुल रंगरेजले ०२९ सालमा राजीनामा गरी लिएकोमा पास हुन नसकी नालिश परी कारवाही चली रहेकोले मैले राजीनामा गरी लिई भोग चलन गरी तिरो भरो गरी आएको जग्गामा वादीको नालेश लाग्ने नसक्ने हुँदा वादी दावी खारेज गरी मेरो दर्ता कायम गराई पाउँ भन्ने समेत वसिर मियाँको प्रतिउत्तरपत्र ।

४. सो जग्गामा नत वादीको हक छ न प्र.मध्येका वसिरको हक छ त्यस्तो हक नभएको झुठ्ठा दावा गरेकोले झुठ्ठा दावीबाट फूर्सत गरिपाउँ भन्ने समेत कविर मियाँको प्रतिउत्तरपत्र ।

५.    वादी दावी अनुसार गा.पं.मोतिपुर वडा नं.७(ख) मध्ये कि.नं.५, ६ को जग्गा विगहा ११२६ को कविर मियाँको नाम खारेज गराई बसिर मियाँको दर्ता दाखिल हुने गरेको कि.नं.५६ को हकमा सम्म निर्णय गरेको नमिलेको हुँदा कविर मियाँको नाममा दर्ता कायम हुने र सो जग्गा कानुन बमोजिम दर्ता दाखिल गरिपाउँ भनी सम्बन्धित मालपोत कार्यालयमा वादीको दर्खास्त परेमा निजको नाममा नामसारी हुने  ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३५।५।१३ को शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला ।

६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वसिर मियाँको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

७. दुवै व्यक्ति उपरको दर्खास्त बदरमा उजूर परेको, कविर मियाँको पुनरावेदन पनि नपरेको हुनाले शुरु फैसलामा उल्लिखित प्रमाणबाट समेत समसुलबाट गराई लिएको राजीनामा रजिष्ट्रेशन पास भएपछि आफ्ना नाममा दर्ता गराई लिने अवस्था हुँदा हाल प्रतिवादी कविरका नाउँमा दर्ता कायम राख्‍ने शुरु जि.अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने लुम्बिनी अञ्चल अदालतको मिति ०३६।११।२ को फैसला ।

८. उक्त फैसला उपर बसिर मियाँको अनुमतिद्वारा पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

९. साविक कि.नं. ५१६ मध्ये जग्गा २० खरीद गरेको भन्न मात्र देखिन्छ । तर चार किल्ला र सबै कित्ता नं. खोलिएको पाइँदैन । वादीले लिएको राजीनामामा कि.नं. ५६ उल्लेख भएको   पाइन्छ । भूमिप्रशासनबाट दाखिल खारेज नामसारीकै निर्णयलाई वादीले विवाद उठाई फिराद गरेको पाइन्छ । विवादको फैसलाबाट हक प्राप्त भएको मान्न मिलेन । सो कि.नं.५६ का सम्बन्धमा अदालतमा पास मुद्दा दायर भएको अवस्थामा सो मुद्दामा प्रतिकूल असर पर्ने गरी भएको फैसलालाई कानुनी मान्यता दिन मिलेन । तसर्थ लुम्बिनी अञ्चल अदालतको फैसलामा कुनै कानुनी त्रुटि भएको नदेखिँदा परिवर्तन गरी रहनु परेन, लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१०.    सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा भू.प्र.का.कपिलवस्तुबाट ०३०।११।१६ मा दा.खा.गरी दिने निर्णय भए उपर कविर मियाँको पुनरावेदन पर्दा जिल्ला कार्यालय कपिलवस्तुबाट दा.खा. गर्ने गरेको निर्णय मनासिब ठहरी ०३४।२।१६ मा फैसला भई अन्तिम रहेको सो फैसलालाई प्रमाण नलगाई गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा प्रमाण ऐनको दफा ५४ को प्रत्यक्षत त्रुटि हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०४१।४।८ को आदेश ।

११. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा कि.नं. ५६ को कुरालाई लिएर वादीको राजीनामा पास गरिपाउँ भनी ०३०।१।५ मा नालेश परी सकेपछि ०२७।२।४ को राजीनामालाई लिएर कि.नं. ५६ प्र.वसिर मियाँले दा.खा.गराएको बदर गराउन हक पुग्दैन भन्न मिल्दैन । प्रतिवादीबाट प्रेषित ०२७।२।४ को राजीनामा किल्ला कित्ता खुल्दैन । यस अवस्थामा कि.नं. ५६ को जग्गा प्रतिवादीको राजीनामा बमोजिमको भन्न मिलेन । तसर्थ नामसारी समेत हुने ठहराएको जि.अ.को इन्साफ सदर गरेको लुम्बिनी अञ्चल अदालतको इन्साफ मनासिब ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मनासिब ठहर्छ भनी माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय ।

१२. ०२७।२।४ को राजीनामाको जग्गा यही हो भनी नामसारी गर्ने गराउने र माल कार्यालयको आदेश उपर जालसाजी मुद्दा चलेकोमा जालसाजी नठहरी अन्तिम रहेको देखिन्छ । राजीनामा पास गराई पाउँ भन्ने नालेश गरेकै कारणले वादीको जग्गामा हक पुगेको भन्न मिल्दैन । घरसारको लिखत पारीत हुने गरी फैसला नहुँञ्जेल त्यसमा साहूको हक पुग्छ भन्न मिल्दैन । त्यसकारण यस्तो हक पुगी नसकेको अवस्थामा मेरो पछि पुग्ला भन्ने धारणले परेको फिरादबाट हक कायम गरी दा.खा.बदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ नमिलेको हुँदा बदर हुन्छ । हक नपुग्ने वादीले गरेको  फिरादबाट इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय भई ०४२।२।२५ मा फैसला भएको ।

१३. पुनरावेदक प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले वादीले ०२९।६।१ मा घरसारमा राजीनामा लिएको छ । सो राजीनामा पास गरिपाउँ भनी ०३०।१।५ मा नालेश परेको छ । सो राजीनामाबाट वादीको हक श्रृजित भइसकेको छैन । प्रतिवादीले ०२७।२।४ मा पास गरी लिएको राजीनामाको जग्गा दा.खा. गरेको निर्णय बदर गरी सो जग्गा कविर मियाँको नाउँमा दर्ता कायम रहने गरिपाउँ भनी दावी लिई नालेश गर्ने हकदैया नहुँदा फिराद खारेज हुनु पर्दछ भन्ने समेत र विपक्षी वादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गणेशराज शर्माले कविरबाट वादीले गराई लिएको राजीनामामा कि.नं. ५६ भन्ने उल्लेख छ । राजीनामा पास गराई पाउँ भन्ने उजूर पनि परिराखेको छ । प्रतिवादीले लिएको राजीनामामा सो कि.नं.उल्लेख छैन । वादीलाई राजीनामा गरी दिएको जग्गा प्रतिवादीले दाखिल खारेज गराई लिएकोमा बदर गरिपाउँ भनी नालिश गर्ने हकदैया वादीलाई छैन भन्न मिल्दैन । तसर्थ वादी दावी बमोजिम दाखिल खारिज बदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।

१४. यसमा आज निर्णय सुनाउने तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीलाई प्रस्तुत फिराद दिने हकदैया छ छैन ? भन्ने प्रश्‍नतर्फ हेर्नु परेको छ ।

१५. प्र. कविर मियाँले कि.नं.५६ को १।।२।१ समेत जग्गा ०२९।६।१ मा घरसारमा राजीनामा दिनु भएकोले पारीत गराई पाउँ भनी नालेश गरेको छु । सो जग्गा प्रतिवादीले दाखिल खारेज दर्ता गराएको निर्णय समेत जालसाज एवं गैरकानुनी हुँदा जालसाजीतर्फ आजै नालेश दिने भएकोले कि.नं.५६ का जग्गा कविर मियाँका नामबाट खारेज गराई बसीर मियाँले दर्ता गर्न गराउन भू.प्र.का.क.व. बाट निर्णय गरी दर्ता गराएको समेत बदर गरी सो जग्गा कविर मियाँकै नाममा दर्ता कायम रहने गरिपाउँ भन्ने समेत संसूल रंगरेजको फिराद दावी देखिन्छ ।

१६. वादी समसुल रंगरेजले प्र.कविरबाट गराई लिएको २०२९।६।१ को राजीनामा लिखत पास गराई पाउँ नालिश परी ०३५।५।१३ मा मात्र राजीनामा पास हुने ठहरी फैसला भएको भन्ने छ । तर प्रस्तुत मुद्दाको फिराद पर्दाको अवस्था वादीको राजीनामा पास हुने फैसला भइसकेको देखिँदैन । प्रतिवादी बसीरले ०२७।२।४ मा रजिष्ट्रेशन पास गराई लिएको राजीनामाको जग्गा यहि हो भन्ने कागज समेत भई दाखिल खारेज नामसारी दर्ता गरेको पाइन्छ । वादीले घरसारमा राजीनामा गराई लिएको र सो राजीनामा पास गरिपाउँ भन्ने नालिश परिरहेको अवस्था सो लिखत पारीत हुने ठहरी फैसला नहुँदै सो लिखतमा लेखिएको जग्गामा वादीको हक पुग्ने हुँदैन । प्रस्तुत मुद्दाको फिराद गर्दा वादीले जग्गामा आफ्नो हक भएको भनी दावी गर्न नसकी सो जग्गा कविर मियाँकै नाममा दर्ता कायम रहने गरिपाउँ भन्ने दावी लिएको पाइन्छ । घरसारको राजीनामाबाट वादीलाई प्रस्तुत फिराद गर्न पाउन हकदैया भएको भन्न मिल्दैन । सोही जग्गा दा.खा.दर्ता गराएको सम्बन्धमा वादीले जालसाजी मुद्दा दिएकोमा सो मुद्दा खारेज भई २०३५।५।१३।३ मा कपिलवस्तु जिल्ला अदालतबाट फैसला भई अन्तिम रहेको पनि देखिन्छ । यस स्थितिमा वादीलाई प्रस्तुत मुद्दाको फिराद गर्ने हकदैया भएको भन्न सकिने अवस्था देखिँदैन ।

१७. तसर्थ दाखिल खारेज नामसारी बदर गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ बदर गरी वादीको फिरादबाट इन्साफ गर्न नमिल्ने हुँदा वादी दावी खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री गजेन्द्र  केशरी बास्तोलाको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

वादी समसुल रंगरेजके शुरु कपिलवस्तु जिल्ला अदालतका ०३५।५।१३ को फैसलाले गा.पं.मोतिपुर वडा नं.७ख.कि.नं. ५६ को जग्गा दर्खास्त परे दाखिल खारिज गर्न मालपोत कार्यालय कपिलवस्तुमा लेखी पठाउने गरेकोमा सो बमोजिम लेखी पठाउन परेन .. १    

प्रतिवादी बसिर मियाँके निजले शुरु जिल्ला अदालत उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० क्षेत्रीय र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० लगतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१।५० समेत जम्मा रु.४।५० वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त परे दस्तूर केही नलिई प्रतिवादीलाई भराई दिनु भनी काठमाडौं जिल्ला अदालतमा लगत दिनु …… २

प्रतिवादी बसिर मियाँके निजले शुरु उपर पुनरावेदन गर्दा लुम्बिनी अञ्चल अदालतमा मिति ०३५।७।५ मा कोर्टफी रु.१०।धरौटी राखेको सो धरौटी फिर्ता पाउँ भनी प्रतिवादीको दर्खास्त परेमा दस्तूर केही नलिई प्रतिवादीलाई फिर्ता दिनु भनी लुम्बिनी अञ्चल अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु … ३

मिसिल नियम बमोजिम गरी बुझाइदिनू……..४

 

उक्त रायमा हामीहरूको सहमत छ ।

न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव

न्या. महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४३ साल ज्येष्ठ २७ गते रोज ३ शुभम् ।