March 12, 1958
Created by nepalarchives

निर्णय नं. १०७ – हक सफा

निर्णय नं. १०७                  ने.का.प. २०१७ डिभिजनबेन्च न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मुक्तिकान्त मैनाली दे. डि. नं. ६५३, २४६ निवेदक      : विष्णुप्रसाद जैसी विरुद्ध...

निर्णय नं. १०७                  ने.का.प. २०१७

डिभिजनबेन्च

न्यायाधीश श्री सिद्धिबहादुर मल्ल

न्यायाधीश श्री मुक्तिकान्त मैनाली

दे. डि. नं. ६५३, २४६

निवेदक      : विष्णुप्रसाद जैसी

विरुद्ध

विपक्षी : धनपति पाध्या

मुद्दा : हक सफा

(१)   साहु असामीको ९ नं. खरिद बिक्री गर्नुपर्दा घरको मुख्य मानिसलाई थाहा दिनुपर्ने । निखन्न पर्दा सरहदमा भए ६ महिना म्याद पाउने । घरको मुख्य मानिसले ननिखनी हकदारले निखन्न पर्दा मुख्य मानिसले पाएको म्याद सम्ममा नै निखन्नु पर्ने । म्याद नाघेमा निखन्न नपाउने ।

     साहु असामीको ९ नं. मा घरको मुख्य मानिसलाई थाहा दिई खरिद बिक्री गर्नुपर्ने । वादीको सराकतमा घरको मुख्य बाबु भई सरहदमै रहेको भन्ने देखिन आएकाले घरको मुख्य बाबुले ऐनका म्याद ६ महिना भित्र निखन्न इच्छा भए निखन्ने र निखनी छाडेबाट बाबुले निखन्न इच्छा नगरी हक छाडेको देखिएको । सो साहु असामीको ९ नं. मा थाहा पाउना निमित्त रहेको म्याद भई घरको मुख्य मानिसले थाहा पाए पछि अरूले थाहा नपाई जिउ पिच्छे थाहा पाउने म्याद छुट्टा छुट्टै रहने कुनै ऐनको मनसाय नदेखिंदा घरको मुख्य मानिस भएको मुख्यले थाहा पाएको म्याद नै कायम भई सो घरका मुख्यले निखन्न पाउने म्यादमा सम्म नै घरका मुख्यले ननिखने अरू हकदारले निखन्न पाउनेमा मुख्यले पाएको म्याद ६ महिना नाघेपछिको निखनाई पाउँ भन्ने वादीको उजुर म्याद नाघे पछिको उजुरी भई निखन्न नपाउने ठहराएको ०१४।१०।२१।२ को सिंगल बेञ्चको राय मुनासिब छ ।

(प्रकरण नं. ७)

निवेदक तर्फबाट : प्लीडर हेरम्बप्रसाद उपाध्याय ।

विपक्षी तर्फबाट      : एडभोकेट श्री कृष्णप्रसाद भण्डारी ।

 

फैसला

      १.     यसमा मेरा ३ पुस्ता भित्रका हकदार पद्यपाणीबाट प्र. विष्णुप्रसादले २०१० साल फाल्गुन महिनामा के कतिमा हो हाम्रै भन्ने खेत मुरी ।४।१०राजिनामा गरी लिएका रहेछन् । त्यस बखतमा म घरमा नभइ हिन्दुूस्थान कलकत्तामा गएको थिएँ । हाल यही २०११ साल पौष २९ गते घरमा फर्की थाहा पाएकोले निखन्न जाँदा थैली पनि बताएनन् । निखन्न पनि दिएनन् । थैली किटान गरी हकसफा गरिपाउँ भन्ने वादी रहेछ ।

      २.    दाता पद्यपाणीका वादी भन्दा म नजीक हकदार भएकोले मैले खरिद गरी दिएको जग्गा वादीले निखनी लिन नपाउनेमा पनि मो. रु. १५०० मा १०।११।१२ गते मैले जग्गा राजिनामा गरी लिएपछि ऐजन चैत्र महिनामा वादी घरमा आई फेरि कलकत्ता गएको थियो । वादीको एकाघरको बाबु चक्रपाणी घरमै भई ६ महिनाको म्याद भित्र ननिखनेकोले पनि वादीले निखन्न नपाउने हुनाले वादीले झुट्टा उजुर गरेको हो भन्ने प्रतिवादी रहेछ ।

      ३.    वादीको उजुर खारेज हुने ठहर्छ भनी बाग्लुङ अदालतले ०१२।५।१४।३ मा फैसला गरेको रहेछ ।

      ४.    वादीले जग्गा हक सफा गर्न पाउने ठहर्छ भनी पाल्पा अपीलले २०१३ साल आषाढ ६ गते फैसला गरेको रहेछ ।

      ५.    पाल्पा अपीलको इन्साफ मुनासिब छ भनी सर्वोच्च अदालत सिंगल बेञ्चबाट ०१४ साल जेठ १७ गते फैसला भएको रहेछ ।

      ६.    रिभ्यु गरी पाउँ भन्ने प्रतिवादीको तो. नं. ४१९ को बिन्तिपत्रमा रिभ्युको निस्सा दिई वादी प्रतिवादीहरू को साक्षीले घुस खाई बके भन्ने मिसिल र झगडिया समेत छलफलमा झिकाई पेश गर्नु भन्ने सिंगल बेञ्चका ०१४।३।१५।६ को आदेश बमोजिम छलफलमा वादीलाई झिकाई सिंगल बेञ्चमा पेश हुँदा अपीलको र सिंगल बेञ्चको फैसलासँग राय नमिली वादीको उजुर खारेज गर्ने गरेको शुरुको इन्साफ मुनासिव देखिनाले डिभिजिन बेञ्चमा पेश गर्नु भन्ने सिंगल बेञ्चको ०१४।१०।२१।२ को आदेश रहेछ ।

      ७.    सिंगल बेञ्चको उपरोक्त आदेश बेमाजिम तारिखमा रहेको निवेदक विष्णुप्रसाद छलफलमा झिकाई आएको वादी धनपतिको वा. प्रतिमन विष्णुप्रसादको विद्वान वकिल प्लीडर हेरम्बप्रसाद र वादी धनपतिको विद्वान वकिल एडभोकेट कृष्णप्रसादलाई समेत राखी बुझ्दा साहु असामीको ९ नं. मा घरको मुख्य देखि बाहेक अरू अंशि हकदार ठहर्दैनन् र निखन्न पाउदैनन् भन्ने नलेखिएकोले घरका मुख्य बाहेक अरू हकवालाले पनि निखन्न पाउने हुँदा यिनी वादीका बाबुले ननिखनी छाडे पनि छोरा वादीले पनि निखन्न पाउँ भनी निखन्न चाहेमा पाउने हुँदा वादी सरहदमा नभई विदेशमा रहेको भन्ने जिकिर हुँदा सो ऐन बमोजिमको विदेशमा रहेमा पाउने वर्ष दिनको म्याद भित्रैको उजुर हुनाले निखन्न पाउने निखनाई दिने ठहराई अपीलले गरेको इन्साफ समर्थन गरी अघि सिंगल बेञ्चबाट छिनिएको इन्साफ मुनासिब हो कि भन्नालाई अघि प्रमाण नआएको पछिका निवेदनबाट देखिएको यिनै वादीले प्रतिवादीको साक्षी समेत उपर वादी वीचमा घर आएको थिए भनी घुस खाई झुट्टा बके भनी उजुर गरेकोमा सो कुरा साँचो गराउन नसकी डिसमिस गराई छाडेको देखिदा बीचमा घर आएका रहेछन भन्ने पनि देखिन आउने र साहु असामीको ९ नं. मा घरको मुख्य मानसिलाई थाहा दिई खरिद बिक्री गर्नु पर्ने । वादीको सराकतमा घरको मुख्य बाबु भई सरहदमै रहेको भन्ने देखिन आएकाले घरको मुख्य बाबुले ऐनका म्याद ६ महिना भित्र निखन्न इच्छा भए निखन्ने र निखनी छाडेबाट बाबुले निखन्न इच्छा नगरी हक छाडेको देखिएको सो साहु असामीको ९ नं मा थाहा पाउन निमित्त रहेको म्याद भई घरको मुख्य मानिसले थाहा पाएपछि अरूले थाहा नपाई जिउ पिछे थाहा पाउने म्याद छुट्टाछुट्टै रहने कुनै ऐनको मनसाय नदेखिंदा घरको मुख्य मानिस भएकोमा मुख्यले थाहा पाएको म्याद नै कायम भई सो घरका मुख्यले निखन्न पाउने म्यादमा सम्म नै घरका मुख्यले ननिखने अरू हकदारले निखन्न पाउनेमा मुख्यले पाएको म्याद ६ महिना नाघेपछिको निखनाई पाउँ भन्ने वादीको उजुर देखिनाले म्याद नाघेपछिको उजुरी भई निखन्न नपाउने ठहराएको ०१४।१०।२१।२ को सिंगल बेञ्चको राय मुनासिब छ । तपसिल बमोजिम गरी रेकर्ड मिसिल, मिसिल बिभागमा र शुरु कारबाईको मिसिल इलाका अदालतमा पठाई दिनु ।

 

तपसिल

वादी वाग्लुङ पर्वत मौजे दुलुङ सल्यान बस्ने धनपति पाध्यो के बाग्लुङ अदालतका ०१२।५।१४।३ को फैसलाले दण्ड मो रु. ।२५ गर्ने गरेकोमा पाल्पा अपीलका ०१३।३।६।३ का फैसलाले लगत काट्ने गरेको हाल सो मोरु ।२५ लाग्ने नै हुँदा वाग्लुङ अदालतको सोही मितिको फैसला बमोजिम असूल गर्न अ. त. दे. मा लगत दिने प्रतिवादी ऐजन ऐजन बस्ने विष्णुप्रसाद जैसी के पाल्पा अपीलको सोही मितिका फैसलाले मोरु ३७।५० र सर्वोच्च अदालत सिंगल बेञ्चको फैसलाले मोरु ३।७५ दण्ड गरेकोमा हाल सो दण्ड नलाग्ने हुँदा सिंगल बेञ्चका सो मितिका फैसला बमोजिम ०१४।२।२१।२ मा लगत दिएको सो दण्ड मोरु ३।७५ र पाल्पा अपीलको सोही मितिका फैसलाले गर्ने गरेको सो दण्ड मोरु ३७।५० समेत असूल भएको भए फिर्ता र नभएको भए व्यहोरा जनाई लगत कट्टा गर्न ऐजनमा ऐजन …..१

प्रतिवादीको साक्षी देहायका मानिस के पाल्पा अपीलको सोही मितिको फैसलाले गर्ने गरेको देहाय बमोजिमको जरिवाना हाल नलाग्ने हुँदा ऐजन ऐजन ………….. २

वाग्लुङ पर्वत मौजे दुर्लुङ सल्यान बस्ने गणेश दत्त पाध्या के मोरु एक ।१

ऐजन बस्नेदेवीप्रसाद गुरुङ के मो रु. एक ।१

ऐजन बस्ने ठाकुरप्रसाद उपाध्याय के मोरु रु. एक ।१

ऐजन बस्ने श्री दत्त उपाध्याय के मोरु एक । १

बाग्लुङ अदालतका हाकिम डिट्टा माणिकलाल बैद्य पोखरा बजार के पाल्पा अपीलका सोही मितिकमा फैसलाले मोरु १ जरिवाना गर्ने गरेकोमा हाल सो जरिवाना नलाग्ने हुँदा लगत कट्टा गर्न ऐजनमा ऐजन ………………… ३

प्रतिवादी विष्णुप्रसाद तर्फको विद्वान वकिल प्लीडर हेरम्बप्रसादको १५ रूपैंयाँ दण्ड सजायका ३६ नं. का म्याद भित्र भराई पाउँ भनी वादी धनपतिको जेथा देखाई प्र. विष्णुप्रसादले दर्खास्त दिए दस्तुर केही नलिई भरी भराउ गरी दिनु भनी बाग्लुङ अदालतलाई पूर्जी गर्न अ. त. बिगो फाँटमा लगत दिने …………….. ४

 

इति सम्वत् २०१४ साल फाल्गुण २९ गते रोज ४ शुभम् ।