September 25, 1956
Created by nepalarchives

निर्णय नं. ७१ – झुक्याई कागज गराए

निर्णय नं. ७१       ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री न्यायाधीश श्री बल्लभ शम्शेर ज.ब.रा. अं.नं. १०७२।३९...

निर्णय नं. ७१       ने.का.प. २०१६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री अनिरुद्धप्रसाद सिंह

न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री

न्यायाधीश श्री बल्लभ शम्शेर ज.ब.रा.

अं.नं. १०७२।३९

अपीलाट : मणिदीप थपलिया

विरुद्ध

विपक्षी : ले.ज.कल्याण शम्शेर ज.ब.रा.

मुद्दा : झुक्याई कागज गराए

१.    झुक्याई कागज गराए भन्ने मुद्दाको हदम्यादकिर्ते कागजका १ नम्बरमा उल्लेखित भएको भित्र पर्न जाने भएकाले ऐजन ऐनको २१ नम्बर मुताविक २ बर्षको हदम्याद भित्र मुद्दा दायर गर्नुपर्ने ।

     एउटा कामलाई भनी सहीछाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्को व्यहोराको लिखतमा लगाई वा अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भन्ने र सो कागज किर्ते ठहरी बात लाग्छ भन्ने समेत किर्ते कागजका १ नं. मा र सरकारिया छाप लागेको कागजहरू र सरकारिया अड्डामा रहेको कागजपत्रहरू बाहेक अरु किर्ते गर्‍यो भन्ने वा मुखका परिपन्चले किर्ते कुरा गर्ने अथवा नपाएको पगरी पाएँ भनी पर पजनी गर्‍यो भने सो भएका २ बर्ष भित्र सो कुरा गर्‍यो भन्ने नालेस नदिए त्यस्ता कुराको नालेस नसुन्नु भन्ने ऐजन २१ नं. मा लेखिएको हुनाले झुक्यायो भन्ने मुद्दा उक्त १ नं. मा उल्लेखित भएको अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भित्र पर्न जाने भएकोले हदम्यादै छैन भन्न नहुने । उक्त २१ नं. ले २ बर्षको हदम्याद भई म्याद भित्र नालेस परेको देखिनाले खारेज गर्न मनासिव नभएकोले इन्साफ गर्नुपर्ने ।

 

आदेश

      यसमा डिभिजन बेञ्चको रायबाझी भई पेश हुन आएको यो मुद्दा अपीलाट र वारेसलाई समेत राखी बुझ्दा अदालती बन्दोवस्तका ६२ नं. मा जोरजुलुम करकाप गरी कागज गरे गराएमा आफुलाई फुर्सद भएका ३५ दिन भित्र नालिस दिनु भन्नेसम्म लेखिएकोले उक्त हदम्याद यो झुक्याई कागज गराए भन्ने मुद्दामा लाग्न नसक्ने र एउटा कामलाई भनी सहीछाप गरेको लिफा कागज वा छाप लिए दिएकोमा सो काममा नलगाई अर्का व्यहोराको लिखतमा लगाई वा अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भन्ने र सो कागज किर्ते ठहरी बात लाग्छ भन्ने समेत किर्ते कागजका १ नं. मा र सरकारिया छाप लागेको कागजहरू र सरकारिया अड्डामा रहेका कागजपत्रहरू बाहेक अरु किर्ते गर्‍यो भन्ने वा मुखका परपन्चले किर्ते कुरा गर्ने अथवा नपाएको पगरी पाएँ भनी परपजनी गर्‍यो भने सो भएका २ बर्ष भित्र सो कुरा गर्‍यो भन्ने नालेस नदिए त्यस्ता कुराको नालेस नसुन्नु भन्ने ऐजन २१ नं. मा लेखिएको हुनाले झुक्यायो भन्ने मुद्दा उक्त १ नं. मा उल्लेखित भएको अर्कै व्यहोरा लिखत लेख्ने इत्यादी भित्र पर्न जाने भएकोले हदम्यादै छैन भन्न नहुने । उक्त २१ नं. ले २ बर्षको हदम्याद भई सो भित्र नालिस परेको देखिनाले खारेज गर्ने भनी श्री माननीय न्यायाधीश सिद्धिबहादुरज्यूको राय मनासिव भन्न नभएकोले इन्साफै गर्नुपर्ने भन्नेसम्म राय श्री माननीय न्यायाधीश तिलक शम्शेरज्यूको मनासिव हुँदा इन्साफ गर्नालाई मुद्दा कजलिष्टमा चढाई डिभिजन बेञ्चमा पेश गर्नु ।

 

इति सम्वत् २०१३ साल आश्विन १० गते रोज ३ शुभम् ।