निर्णय नं. ६८०० – वाली निश्काशन
निर्णय नं. ६८०० ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ संवत् २०५२...
निर्णय नं. ६८०० ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ
संवत् २०५२ सालको दे.पु.नं. ….. २७१७
फैसला मिति : २०५६।३।७।२
मुद्दा : वाली निश्काशन ।
पुनरावेदक
प्रतिवादी : ललितपुर जिल्ला ललितपुर नगरपालिका वडा नं.. ५ अर्न्तगत नाखीपोट वस्ने विजय कुमार थापा मगर
विरुद्ध
विपक्षी
वादीः ललितपुर जिल्ला ललितपुर नगरपालिका वडा नं. २१ अर्न्तगत छायवहाल वस्ने डँ. होमराज वज्राचार्य
§ मोही साहिली मगर्नी २०३९ सालाम नै स्वर्गे भै सकेकोमा ०४७ सालमा वाली वांकीमा स्व. मोही कै नाउंमा दिएको प्रस्तुत मुद्दाबाट कारवाई गर्नु पर्ने कानून संगत हुंदैन । मरी सकेका व्यक्ति उपर परेको नालेस दैयादारले सकार गर्न आउदैंमा कानून वमोजिम सकार गरेको सरह मान्न सकिदैन । उजुर कर्तालाई प्रतिवादीको मृत्यु भै सकेको तथ्य जानकारी नभएको भए स्थिति विचारणिय हुन सक्थ्यो । तर मरेको तथ्यको जानकारी वादीलाई भएको कुरा निजको वयान समेतका अन्य प्रमाणबाट छर्लङ भएको स्थितिमा मृतक व्यक्ति उपर वाली भराउनलाई दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने हुंदा इन्साफ गर्न शुरु भूमि सुधार कार्यालय पठाउने भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५२।१।२८ को निर्णय त्रुटीपूर्ण हुंदा वदर हुने ।
(प्र.नं. १२)
पुनरावेदक प्रतिवादी तर्फबाट :
प्रत्यर्थी वादी तर्फबाट :
अवलम्वित नजीर :
फैसला
न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) वमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
२. मेरो नाउंमा दर्ता भएको ल.पु.न.पा. वडा नं. ५(क)कि.नं. १५१ को क्षेत्रफल १(९(० किसिम भिर अवल जग्गामा निज विपक्षी मोही मै जोती कमाई आएकोमा आजभन्दा ५,६ वर्ष अघि देखि नै वाली नवुझाई पचाई खाने नियत गरेको हुंदा ०४७ सालको पनि मलाई कुतवाली नवुझाएको र कतै पनि धरौटी राखेको सूचना नआएको हुंदा किसिम अनुसार जिन्सीको जिन्सी नै मकै मुरी ।१५।६ नदिए प्रचलित दरले मकै मुरी १ को ४००। ले हुने जम्मा रु.३१५। विपक्षीबाट दिलाई भराई जग्गाबाट समेत निस्कासन गरी पाउं भन्ने वादी डा. होमराज वज्राचार्यको फिराद पत्र ।
३. वादीले दावी लिएको कित्ता जग्गामा आमा साहिली मगर्नीको नाउंमा जोत कायम भै आएकोमा आमा ०३९ सालमा आफ्नै कालगतिबाट परलोक भएपछि उक्त कित्ता जग्गा म आफैले जोती भोगी आएको छु । परलोक भै सकेको मोहीको नाउंमा उजुर गर्न कानूनी व्यवस्थाले दिएको छैन । ०४१ र ०४२ सालको कुतवाली स्व. साहिली मगर्नीको छोरा कुमार मगरसंग कुतवाली वुझी लिए पनि भरपाई गरी दिएका छन र सो को भरपाई समेत पेश गरेको छु । निज साविक वाला मोही परलोक भएपछि निजका हकदार हामी छोराहरु मध्येका एकजनालाई पत्याई मोही कायम गर्नुपर्नेमा सो तर्फ नलागी मरेका व्यक्तिका नाउंमा दिएको उजूरी खारेज गरी पाउं भन्ने समेतको प्रतिवादी विजय कुमार थापाको प्रतिउत्तर पत्र ।
४. मिति २०३९।८।२९ मै परलोक भैसकेको हुंदा मृतक मोहीका नाउंमा परेको प्रस्तुत वादी दावी खारेज हुने ठहर्छ भन्ने समेतको भु.सु.का. ल.पु.को फैसला ।
५. भु.सु.का. ल.पु.को फैसला प्रत्यक्ष कानूनी त्रुटीपूर्ण हुंदा सो फैसलालाई वदर गरी शुरु वादी दावी अनुसार गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदक वादी डा. होमराज वज्राचार्यको पुनरावेदन पत्र ।
६. हक र अधिकार खोज्ने दायित्व नव्यहोर्ने सिद्धान्त वमोजिम शुरुले खारेज गर्ने गरेको फैसला विचारणीय हुंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाउने भन्ने समेतको पुनरावेदन अदालत पाटनको आदेश ।
७. निवेदकको उजुर दावी खारेज गर्ने गरेको भु.सु.का. ललितपुरको मिति ०४९।९।२३ को निर्णय मिलेको नदेखिंदा वदर गरी दिएको छ । अव दावी जिकिरका कुराहरुका सम्वन्धमा जो जे वुझ्नु पर्ने वुझी सवुद प्रमाणको मुल्याकंन गरी कानून वमोजिम निर्णय गर्नु भनि तारेखमा रुजु रहेका पक्ष विपक्षलाई तारेख तोकी मिसिल शुरु भूमि सुधार कार्यालयमा पठाई दिनु भन्ने समेतको पुनरावेदन अदालत पाटनको मिति ०५२।१।२८ को फैसला ।
८. मिति २०३९।८।२९ मा परलोक भैसकेको जानकारी छंदाछंदै पनि परलोक भै सकेकोलाई नै प्रतिवादी बनाई फिराद गरेकोबाट कारवाही चलाउन नमिल्ने प्रष्ट हुनुका साथै ०३९ सालमा नै परलोक भैसकेको मोहीले ०४७ सालको वाली वुझाउन नसक्ने प्रष्ट हुंदा पुनरावेदन अदालत पाटनको उक्त फैसला कानून संगत नहुंदा वदर वातील गरी पाउं भन्ने समेत पुनरावेदक प्रतिवादी विजय कुमार थापा मगरको पुनरावेदन पत्र ।
९. पुनरावेदकबाट मिति ०४२।१०।९ को सक्कल भरपाई दाखिल गर्न लगाई अ.वं. ७८ नं. वमोजिम वयान गर्न प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने समेतको यस अदालतको आदेश ।
१०. उक्त ०४२।१०।९ को सक्कल भरपाई सद्दे हो भन्ने समेतको पुनरावेदक विजय कुमार थापा मगरले अ.वं. ७८ नं. वमोजिम गरेको वयान ।
११. पुनरावेदन अदालत पाटनको फैसला फरक पर्न सक्ने देखिंदा छलफलका लागि अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाइ पेश गर्नु भन्ने समेतको यस अदालतको आदेश ।
१२. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक विजय कुमार थापाले अदालतबाट तोकि पाएको मिति ०५५।२।२२ को तारेख गुजारी वसेको भएता पनि अ.वं. २०१ नं. ले निर्णय दिन पर्ने भएकाले सम्वन्धित मिसिल प्रमाण अध्ययन गरी निर्णय तर्फ विचार गर्दा यसमा मोही साहिली मगर्नी २०३९ सालमा नै स्वर्गे भै सकेकोमा ०४७ सालमा वाली वांकीमा स्व. मोही कै नाउंमा दिएको प्रस्तुत मुद्दाबाट कारवाई गर्नु पर्ने कानूनसंगत हुंदैन । मरी सकेका व्यक्ति उपर परेको नालेस दैयादारले सकार गर्न आउदैंमा कानून वमोजिम सकार गरेको सरह मान्न सकिदैन । उजुरकर्तालाई प्रतिवादीको मृत्यु भै सकेको तथ्य जानकारी नभएको भए स्थिति विचारणीय हुन सक्थ्यो । तर मरेको तथ्यको जानकारी वादीलाई भएको कुरा निजको वयान समेतका अन्य प्रमाणबाट छर्लङ भएको स्थितिमा मृतक व्यक्ति उपर वाली भराउनलाई दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने हुंदा इन्साफ गर्न शुरु भूमिसुधार कार्यालय पठाउने भन्ने पुनरावेदन अदालत पाटनको मिति ०५२।१।२८ को निर्णय त्रुटीपूर्ण हुंदा वदर हुन्छ । खारेज गर्ने ठहर्याएको भूमि सुधार कार्यालय ललितपुरको मिति ०४९।९।२६ को निर्णय मनासिव ठहर्छ । मिसिल नियमानुसार गरी वुझाई दिनु ।
उक्त रायमा सहमत छ ।
न्या. ज्ञाइन्द्रबहादुर श्रेष्ठ
इति संवत् २०५६ साल आषाढ ७ गते रोज २ शुभम् ………………………………. ।