निर्णय नं. ६७९६ – किर्ते
निर्णय नं. ६७९६ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा संम्वत २०५१ सालको फौ.पु.नं....
निर्णय नं. ६७९६ ने.का.प. २०५६ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
संम्वत २०५१ सालको फौ.पु.नं. …. ९००
फैसला मिति : २०५६।५।१४।२
मुद्दा : किर्ते ।
पुनरावेदक
प्रतिवादी : जिल्ला पाचंथर लालिखर्क गाउं विकास समिति वडा नं. ७ वस्ने कृष्णराज पौडेल समेत
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. वस्ने गंगाराम पौडेल
§ एक प्रयोजनको लागि दिएको लिफा अर्को प्रयोजनमा प्रयोग गरिएको भन्ने वादीको दावी नभई सो लिफामा लागेको छाप दस्तखत किर्ते गर्यो भन्ने सम्ममा तहकिकात गर्नको लागि मुलुकी ऐन, अ.वं. ८२ नं. वमोजिम इन्साफ तहकिकात गर्न यी वादीको हक जाने नोक्सान हुने वा सो केही नभएपनि झुठा काम गर्ने भनिएका प्रतिवादी कृष्णराज पौडेल आफैलाई वा अरु कसैलाई यसप्रकारले फाइदा हुने गरी काम कुरा गरिएको भन्ने वादीको दावी नभएकोमा किर्ते कागजको १ नं. वमोजिम इन्साफ तहकिकात हुनु पर्ने स्थिति नदेखिएकोले प्रस्तुत मुद्दा खारेज हुने ।
(प्र.नं. १६)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री माधव वास्कोटा
वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवप्रसाद रिजाल
अवलम्वित नजीर :
फैसला
न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, इलामबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ ।
२. पाचंथर लालिखर्क गा.वि.स. वडा नं. ७(क) कि.नं.. ५८, ५९, ६२, ६४, ५६ समेत ५ कित्ता जग्गा मेरा वाजे चन्द्रलाल पौडेललाई २००१ सालमा गंगाराम तुम्वाकी समेतले तेह्रथुम मालबाट वन्धकी पास गरी दिएको र मेरा पिताका अंशमा परी पिताको स्वर्गारोहण पश्चात हामीले भोगेको मनप्रसाद समेतले मेरी आमा टेकमाया र भाई कृष्णराज र म समेतको नाममा कि.नं. ५८, ५९ र ६२ को जग्गामा वाली लुटपिट गर्यो भन्ने फिराद दिई विपक्षीहरुले कारवाही चल्दाचल्दै मलाई थाहा नदिई कीर्ते मन्जूरनामा लिखत खडा गरी साक्षी हुने दिनानाथ नन्दीकेशर र मन्जूरनामा लिने कृष्णराज भइ लेख्ने वद्री प्रसाद रिजाल भइ म घर नभएको अवस्था पारी २०४५।७।१३ गते कीर्ते मन्जूरनामा वनाई २०४५।७।१५ गते मिलापत्र गरे गराएकोले विपक्षीहरुलाई संजाय गरी पाउं भन्ने समेत फिराद पत्र ।
३. मनप्रसाद समेत वादी र गंगाराम समेत प्रतिवादी भएको लुटपिट मुद्दा मिल्ने भयो म झापा जान्छु भ्याइन मन्जूरनामा लिखतमा सहीछाप गरी भेनाजु इश्वरी प्रसादलाई दिएको छु । मन्जूरनामा लेखाई मिलापत्र गर्नु भनि दाजु झापा जानु भएकोले भेनाजु इश्वरी प्रसादसंग लिफा र कागज मागि लेखि दिनुस भनि म वद्री प्रसादको घरमा कृष्णराजले ल्याएको कागजमा लेखि सकेपछि हामी दिनानाथ, नन्दीकेशरले पनि साक्षी वसी दिएका हौं भन्ने समेत जना ३ को संयुक्त प्रतिउत्तर पत्र ।
४. वादीले कुटपिट गरेको दावी छोडी गंगाराम समेतसंग मिल्न सल्लाह भई सकेपछि मिलापत्र गर्ने अवस्थामा वादीले म झापा तर्फ जान्छु । मन्जूरनामा लिखतमा सहीछाप गरी इश्वरी प्रसाद तिमिल्सीनालाई दिएको छु, लेखाई मुद्दा मिलापत्र गर्नु भनी दाजु झापा जानु भएकोले मुद्दा मिलापत्र गरी सकेपछि विना आधारको फिराद दिई षडयन्त्र गरेको मात्र हो । कीर्ते मन्जूरनामा नभई सद्दे हुंदा वादीलाई नै संजाय गरी पाउं भन्ने समेत कृष्णराज पौडेलको प्रतिउत्तर पत्र ।
५. वादी मसंग आई मैले झापा नगै भएन लिफा लिएर आएको छु । यही लिफाबाट मन्जूरनामा तयार गरी मिलापत्र गर्नु भनी भनि मलाइ दिएकाले मैले सो कागज सालो कृष्णराजलाइ जिम्मा दिएको भन्ने पेटवोलीबाट वुझिएका इश्वरी प्रसाद तिमिल्सिनाको वयान ।
६. वादी छोराले मवाट मन्जूरनामा लिफा चाहिन्छ भन्ने वयान लिफामा सही गराइ ल्याएको थियो । मिलापत्रको दिन वादी गंगाराम तराइतर्फ गएकोले कान्छो छोरा प्रतिवादी कृष्णराजले मेरो र गंगारामको मन्जूरनामा दाखिल गरी लुटपिट मुद्दा मिलापत्र गरेको हो भन्ने समेत वुझिएका टंकमाया पौडेलको वयान ।
७. मिलापत्र गर्न पेश गरेको मन्जूरनामा कीर्ते गर्नुपर्ने आवश्यकता प्रतिवादीलाई नभएकोले सो मन्जूरनामा प्रतिवादीले कीर्ते गरेको ठहर्दैन भन्ने समेत पाचंथर जिल्ला अदालतको मिति २०४९।१।२९ गतेको फैसला ।
८. शुरुको इन्साफमा चित्त वुझ्ने विशेषज्ञबाट जांच गराउंदा सहीछाप कीर्ते हो भन्ने प्रतिवेदन आएको तथ्य मिसिलबाट देखिन्छ । प्रस्तुत मुद्दामा यो कानूनी वस्तूस्थितिलाई मध्य नजर नगरी इन्साफ गरिएको हुंदा त्रुटीपूर्ण इन्साफ वदर गरी पाउं भन्ने समेत वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
९. मन्जूरनामामा लागेको सहीछाप वादीको सहीछापसंग नमिल्ने भन्ने देखिएकोले कीर्ते नठहराएको शुरुको फैसला फरक पर्ने सक्ने भएकोले अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ अनुसार प्रत्यर्थी झिकाइ पेश गर्नु भन्ने समेत पुनरावेदन अदालतको मिति २०५०।६।३ गतेको आदेश ।
१०. विवादित वारेसनामामा लागेको हस्ताक्षर तथा ल्याप्चे सहिछाप गंगारामको हस्ताक्षर तथा ल्याप्चे संग मिल्न भिड्न गएको नदेखिंदा उक्त सहिछाप किर्ते गरी मन्जूरनामा खडा गरेको पुष्टी हुन आउंदछ । अतः उक्त हस्ताक्षर तथा ल्याप्चेछाप किर्ते कागजको १ नं. वमोजिम किर्ते गरोके ठहराउनु पर्ने वादी दावी नपुग्ने भनी गरेको शुरु पांचथर जिल्ला अदालतको मिति २०४९।१।२९ गतेको फैसला नमिलेको हुंदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत इलामबाट भएको फैसला ।
११. विपक्षी वादी गंगाराम र प्रतिवादी मध्येका कृष्णराज पौडेलको आमा टंकमाया पौडेलले गरेको वयानबाट पनि निज विपक्षी वादीले आमाबाट मिलापत्र गर्न लिफा लिई सल्लाह गरी लिफा भिनाजु इश्वरी तिमिल्सिनालाई छाड्ने भनी घरबाट गएको कुराले पनि वादीले आफै लिफा तयार गरेको कुरा स्वतः सिद्ध भएको छ । राय दिने विशेषज्ञलाई अदालतमा उपस्थित गराइ वकपत्र गराइएको पनि छैन । पुनरावेदन अदालत इलामको फैसला प्रमाण ऐन, २०३१ को दफा २६, दफा ५१ दफा ५४ मुलुकी ऐन अ.वं. १८५ नं. १८४(क) नं. किर्ते कागजको १ नं. ३ नं. विपरीत भएको हुनाले उक्त गैरकानूनी त्रुटिपूर्ण मिति २०५१।२।२९ को पुनरावेदन अदालत इलामको फैसला वदर गरी जिल्ला अदालत पांचथरको मिति २०४९।१।२९ गतेको फैसला सदर कायम गरी विपक्षी वादीलाई नै हदै सम्म सजाय गरी झुठ्ठा दावीबाट फुर्सद दिलाई पुनरावेदन जिकिर वमोजिम इन्साफ पाउं भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीहरुको तर्फबाट यस अदालत समक्ष प्रस्तुत गरिएको पुनरावेदन पत्र ।
१२. यसमा विशेषज्ञको रायलाई प्रमाण लिंदा प्रमाण ऐन, २०३१ को दफा २३(७) वमोजिम अदालतमा वकपत्र नगराइ विशेषज्ञको राय प्रमाणमा लिएको पुनरावेदन अदालतको फैसला नमिली फरक पर्ने देखिंदा अ.वं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०४९ वमोजिम छलफलका लागि विपक्षी झिकाइ आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।
१३. यसमा विशेषज्ञ श्री घनश्याम मुखियाको अदालतमा साक्षी सरह वकपत्र भएको नदेखिंदा प्रमाण ऐन, २०३१ को दफा ५२ वमोजिम वकपत्र गराई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासबाट भएको आदेश ।
१४. रेखा तथा लेखा विशेषज्ञ घनश्याम मुखियाको वकपत्र मिसिल सामेल रहेको ।
१५. नियम वमोजिम पेशी सुचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरुको तर्फबाट उपस्थित हुन भएका विद्वान अधिवक्ता श्री माधव वास्कोटाले सहिछाप सम्वन्धमा राय दिने लेखा विशेषज्ञलाई अदालतमा उपस्थित गराई वकपत्र नगराइएको अवस्थामा त्यस्तो रायलाई प्रमाणमा लिन नमिल्ने अवस्थामा प्रमाणमा लिइ भएको पुनरावेदन अदालत इलामको फैसला प्रत्यक्षतः प्रमाण ऐन, २०३१ को दफा ५२ एवं सर्वोच्च अदालतबाट प्रतिपादीत सिद्धान्त समेतको प्रतिकुल हुनाले पुनरावेदन अदालत इलामको फैसला वदर गरी शुरु पांचथर जिल्ला अदालतको फैसला सदर हुनु पर्छ भनी तथा प्रत्यर्थी वादीका तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री शिवप्रसाद रिजालले विपक्षी प्रतिवादीहरुले मेरो पक्षको मन्जूरी वेगर नै किर्ते मन्जूरीनामा वनाई चल्दाचल्दैको मुद्दा मिलापत्र गराएको हुंदा पुनरावेदन अदालत इलामबाट भएको फैसला मनासिव छ । तसर्थ सो फैसला सदर हुनु पर्छ भनी गर्नु भएको वहस समेत सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन अदालत इलामबाट भएको फैसला मिलेको छ छैन र पुनरावेदक प्रतिवादीहरुको पुनरावेदन जिकिर वमोजिम गर्नुपर्ने हो होइन भन्ने कुरामा निर्णय दिनु पर्ने देखिन्छ ।
१६. यसमा प्रस्तुत मुद्दाका वादी गंगाराम पौडेल र निजको आमा टंकमाया पोडेल समेत प्रतिवादी भइ वादी मन प्रसाद तुम्वाम्फो समेत भएको लुटपिट मुद्दामा वादीले दावी छाडी मिलापत्र गर्ने प्रयोजनको लागि प्रतिवादीतर्फबाट पेश भएको मन्जूरनामा किर्ते गरेको भनी गंगाराम पौडेलको नालेश परी मुद्दामा इन्साफ तहकिकात हुंदै आएको देखिन्छ । अदालतबाट वुझिएका सो मुद्दामा प्रस्तुत मुद्दाका वादीसंगै संयुक्त प्रतिवादी भएको यी वादीकी आमा टंकमायाले आफूले छोरा गंगाराम पौडेल र आफ्नो मन्जूरनामाको संयुक्त लिफा इश्वरी प्रसादलाई दिइ कान्छा छोरा कृष्णराज मार्फत मिलापत्र गरेको कुरा स्वीकार गरेकी र सो तथ्यलाई इश्वरी प्रसाद समेतलाई वुझिदा समर्थित हुन आएको देखिन्छ । यिनै वादी गंगाराम पौडेलले मनप्रसाद तुम्वाम्फो र भाइहरुसंग मिलापत्रको छलफल गरी मिलापत्रको स्वीकृति दिइ आफू झापातर्फ गएको कुरा निजकै भिनाजु इश्वरीप्रसादको वयानबाट स्पष्ट हुन आएको छ । यस स्थितिमा एक प्रयोजनको लागि दिएको लिफा अर्को प्रयोजनमा प्रयोग गरिएको भन्ने वादीको दावी नभई सो लिफामा लागेको छाप दस्तखत किर्ते गर्यो भन्ने सम्ममा तहकिकात गर्नको लागि मुलुकी ऐन, अ.वं. ८२ नं. वमोजिम इन्साफ तहकिकात गर्ने यी वादीको हक जाने नोक्सान हुने वा सो केही नभएपनि झुठा काम गर्ने भनिएका प्रतिवादी कृष्णराज पौडेल आफैलाई वा अरु कसैलाई यसप्रकारले फाइदा हुने गरी काम कुरा गरिएको भन्ने वादीको दावी नभएकोमा किर्ते कागजको १ नं.. वमोजिम इन्साफ तहकिकात हुनु पर्ने स्थिति नदेखिएकोले प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ ।
इन्साफ तहकिकात गरेको शुरु र पुनरावेदन अदालत इलामको फैसला वदर हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए वमोजिम वादी दावी खारेज हुने ठहरेकोले शुरु पांचथर जिल्ला अदालत तथा पुनरावेदन अदालत इलामले राखेको लगत कायम नरहने हुंदा लगत कटृी गर्नु भनी शुरु पांचथर जिल्ला अदालतमा लेखि पठाई दिनु …………….. १
मिसिल नियमानुसार गरी वुझाई दिनु …… २
उक्त रायमा म सहमत छु ।
न्या.हरिप्रसाद शर्मा
इति सम्वत २०५६ साल भाद्र १४ गते रोज २ शुभम …………….. ।