निर्णय नं. ६७९२ – दर्ता वदर
निर्णय नं. ६७९२ ने.का.प. २०५६ अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री टोपवहादुर...
निर्णय नं. ६७९२ ने.का.प. २०५६ अङ्क १०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री टोपवहादुर सिंह
संम्वत २०५४ सालको दे.पु.इ.नं. …. १२२
फैसला मिति : २०५६।७।११।५
मुद्दाः दर्ता वदर ।
पुनरावेदक
प्रतिवादी : जिल्ला पर्सा वीरगंज नगरपालिका वडा नं. ११ वस्ने सुर्यमान श्रेष्ठ
विरुद्ध
विपक्षी
वादीः ऐ.ऐ. वस्ने अमरदेवी श्रेष्ठको मुद्दा सकार गर्ने कृष्णमान श्रेष्ठ
§ वादी अमरदेवी श्रेष्ठबाट हालै देखिको वकसपत्र प्राप्त गरेपछि प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गाको केही खण्डमा साविकमा रहेको खपडाको घर भत्काई पक्की घर वनाएको भन्ने निजको प्रतिउत्तर जिकिर रहेको र मिसिल सामेल रहेको मिति २०५५।६।२४ को नक्सा कुण्डलीमा जनिएको न.नं.. ३० को वाटो दक्षिण तर्फको मुल सडकसम्म गएको र सोही वाटो तर्फबाट प्रतिवादी सुर्यमान श्रेष्ठको पक्कीघरमा जाने वाटो रहेकोबाट उक्त पक्की घरले सो वाटो प्रयोग गरिराखेको अवस्था समेत देखिन्छ । यसरी प्रतिवादीले विवादित जग्गामा पक्कीघर समेत वनाई वसेको अवस्था भएकोमा त्यसतर्फ वादी अमरदेवी श्रेष्ठले मुलुकी ऐन घर वनाउनेको महलको ११ नं. को म्याद भित्र उजुर गरी मौकैमा विरोध गनुपर्नेमा सो समेत गरेको देखिदैन । वकस दिने वादीले प्रतिवादीले विवादित जग्गामा पक्की घर वनाउंदा कानूनको म्याद भित्र विरोध नगरेकोमा वकस गर्नेको दावी पुग्न नसक्ने अवस्थाको श्रृजना भएकोले पुनरावेदक प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गामा वनाएको पक्की घर र वलेसीले चर्चेको वाहेक अरु घर जग्गाको लिखत वदर गर्नुपर्ने भई वदर हुने ठहर्याएको हदसम्म तत्कालीन म.क्षे.अ. को मिति २०४३।९।२१ को इन्साफ मिलेको देखिंदा सदर हुन्छ। वादी दावी वमोजिम वकसपत्र वदर एवं दर्ता वदर भई वादीका नाममा दर्ता हुने ठहर्याएको तत्कालीन नारायणी अंचल अदालतको इन्साफ मनासिव ठहर्याएको यस अदालत संयुक्त इजलासको मिति २०४५।३।९ को फैसला केही उल्टी हुने ।
(प्र.नं. १८)
पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र शेष अस्वास
अवलम्वित नजीर :
फैसला
न्या.उदयराज उपाध्यायः यस अदालत संयुक्त इजलासको मिति २०५५।३।९ को फैसला पूर्ण इजलासवाट एक पटक दोहोर्याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउं भनी श्री ५ महाराजाधिराजका हजुरमा प्रतिवादी सुर्यमान श्रेष्ठले चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्त भई पेश हुंदा दोहोर्याई हेरी दिन निस्सा भई स.अ. नियमावली, २०४९ को नियम ३ बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ :
२. जिल्ला पर्सा विरगंज न.पं. वडा नं. ११ को कि.नं.. १७७ को पूर्व कृष्णमान पश्चिम जनकमान उत्तर मेवालाल दक्षिण सडक यति ४ किल्ला भित्रको पूर्व पश्चिम चौडाई ११” १०” उत्तर दक्षिण लम्वाइ ७० को ज.वि. ०-०-४ जग्गा र सो जग्गामा भएको खपडा घर समेत तपाईको आजन्म सेवा गर्छु भनि विपक्षले भनेकाले मिति ०३६।६।७ मा बक्सपत्र गरी दिएको र मिति २०३८।६।१५ मा विपक्षीले मलाई घरबाट निकाला गरेकोमा मैले बक्सपत्र बदर मुद्दा दिई मिति ०३६।६।७ को शर्त पालना गर्छु भनि मिलापत्र समेत भएको थियो तर यही जेष्ठ २५ गते देखि फेरी मलाई घरबाट निकाला गरेकोले प्रतिवादीलाई मिति ०३६।६।७ मा गरी दिएको हालै देखिको बक्सपत्र र प्रतिवादीको नाउंमा भएको दर्ता वदर गरी मेरो नाउंमा दर्ता गरी पाउं भन्ने समेत व्यहोराको अमर देवी श्रेष्ठको मिति ०३९।३।१७।५ को फिराद पत्र ।
३. दानबक्सको महलमा हालै गरि दिएको बक्सपत्र वदर गराउन पाउने कानूनी व्यवस्था नहुंदा प्रस्तुत फेरादमा अ.वं. ३६ नं. र करार ऐनको दफा १८ लागु हुन सक्दैन । बजैले मलाई बक्स गरिदिएको खपडाको घर अव खपडाको नभै मैले कयौं रुपैया खर्च गरी पक्की घर बनाई बसेको छु साथै बजैको सेवा टहल समेत गरी आएको नै छु भन्ने समेत व्यहोराको सुर्यमान श्रेष्ठको प्रतिउत्तरपत्र ।
४. हालैको बक्सपत्र बदर गराउन पाउने कानूनी व्यवस्था भएको नदेखिएको खाने लाउने तर्फ वादीको उजुर परेका वखत मिति ०३६।६।७ को कागज र मिति ०३९।१।१४ को मिलापत्र अनुसार ठहरे वमोजिम हुने नै हुंदा प्रस्तुत वादी दावी पुग्न सक्तैन भन्ने समेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति ०४०।७।१३।१ को फैसला ।
५. विद्यमान लेखत र मिलापत्रलाई वेवास्ता गरी निराधार बुंदा लगाई गरेको शुरुको फैसला उल्टाई फिराद दावी वमोजिम गरी पाउं भन्ने समेत व्यहोराको वादी अमर देवी श्रेष्ठको मिति २०४०।८।१६ मा नारायणी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
६. शर्त कवुलियत र मिलापत्रलाई मान्यता दिई सो शर्त करारनामा अनुकुलका क्रिया नगरे नभएको देखिएपछि तद अनुकुलको कृया गर्न गराउने पर्ने कार्यलाई इन्कार गरी गरेको शुरुको फैसला मिलेको नदेखिंदा शुरु पर्सा जिल्ला अदालतको फैसला उल्टी भै वादी दावी वमोजिम बक्सपत्र लेखत एवं दर्ता वदर भै वादीका नाउंमा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४१।७।२९।४ को नारायणी अंचल अदालतको फैसला ।
७. नारायणी अंचल अदालतको फैसला कानूनी त्रुटीपूर्ण हुंदा उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउं भन्ने समेत व्यहोराको प्रतिवादी सुर्यमान श्रेष्ठको म.क्षे.अ. मा परेको निवेदन ।
८. हालै देखिको बक्सपत्र शर्तनामाले बदर गराउन पाउने भन्न नमिल्ने हुंदा ना.अं.अ.को फैसला कानूनी त्रुटीपूर्ण हुंदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको म.क्षे.अ. को मिति २०४१।८।२० को आदेश ।
९. यिनै वादी प्रतिवादी बिच यसै बक्सपत्र र शर्तनामा सम्वन्धी विषयमा पर्सा जिल्ला अदालतबाट मिति २०३९।१।१४ मा भएको मिलापत्रमा ०३६।६।७ मा गरी दिएको शर्तनामा मान्ने छु भनि शर्तनामालाई मान्यता प्रदान गरेको देखिन्छ । बजै अमर देवीको हेरविचार गरी रहेको भनि पुष्टि हुन सक्ने आधार प्रमाण समेत गुज्रन आएको नदेखिंदा घरबलेसी वाहेकको बक्सपत्रका जग्गाको लिखत वदर हुने ठहर्छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४३।९।२१ को फैसला ।
१०. मिलापत्र वमोजिम गरी दिएन मिलापत्र वमोजिम गरी पाउं भन्ने फिराद नभै लिखत बदर गरी पाउं भनि फिराद परेको तथा पछि भएको घरसारी लिखत वा मिलापत्रको आधारमा पहिले भएको कानून वमोजिमको लिखत बदर गर्न नमिल्ने हुंदा म.क्षे.अ. को त्रुटिपूर्ण फैसला उपर पुनरावेदनको अनुमति पाउं भन्ने प्रतिवादी सुर्यमान श्रेष्ठको तथा पक्काघरको बलेसीसम्म विपक्षीको भनि घर बनाउनेका १ नं.. को त्रुटीपूर्ण व्याख्या भएको हुंदा पुनरावेदनको अनुमति पाउं भन्ने वादी अमरदेवी श्रेष्ठको यस अदालतमा परेको निवेदन पत्र ।
११. यसमा दान बक्सको व्यवस्थाबाट हालैको बक्सपत्र बदर गराउन पाउने व्यवस्था नभएको र मुद्दामा देखाइएका परिस्थितिमा हालैको बक्सपत्र वदर गराउन पाउने नपाउने भन्ने कानून व्याख्या सम्वन्धी प्रश्न समावेश हुनको साथै ठगी कायम गरी बक्स पत्र वदर गरेको नजिर पनि ठीक मिलेको नदेखिएको पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने प्रतिवादीको निवेदनमा र संवन्धित बक्सपत्र बदर गर्न पाउने भए पुरै बक्सपत्र बदर हुनु पर्नेमा घर भएको जति बदर नगरेको कानून व्याख्या सम्वन्धी त्रुटी देखिएकोले पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने वादीको निवेदनमा यस अदालतबाट मिति ०४४।३।१६ मा भएको छुट्टा छुट्टै आदेश ।
१२. यसमा वादी अमरदेवी श्रेष्ठले प्रतिवादी सुर्यमान श्रेष्ठलाई मिति २०३६।६।७ मा हालै देखिको बक्सपत्र गरीदिएको सोही दिन यी वादी प्रतिवादीले आपसमा शर्तनामाको कागज गरेको र उक्त शर्तनामामा उल्लेखित शर्त अनुकुल प्रतिवादीले नगरेकोले वादीले प्रतिवादी उपर दिएको बक्सपत्र लिखत वदर मुद्दामा दुवै पक्षले पर्सा जिल्ला अदालतमा मिति २०३९।१।१४ मा मिलापत्रगर्दा शर्तनामाका सवै शर्त पालना गर्ने भनी शर्त राखी वादी दावी छाडी मिलापत्र गरेको स्थितिमा शशर्त बक्सपत्र दिएको भन्ने मिलापत्रबाट समर्थित भएको र सो शर्त पालन नभएमा बक्सपत्र वदर हुन सक्ने नै हुंदा पक्कीघर बनाएको भन्ने आधारमा सो घर बलेसीसम्मको जग्गाको हकमा बक्सपत्र वदर हुन नसक्ने भन्ने म.क्षे.अ. को फैसला त्रुटीपूर्ण भएकोले केही उल्टी भई वादी दावी वमोजिम बक्सपत्र लिखत एवं दर्ता वदर भई वादीका नाममा दर्ता हुने ठहर्याएको नारायणी अंचल अदालतको इन्साफ मनासिव ठहर्छ । प्रतिवादी सुर्यमान श्रेष्ठको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४५।३।९ को फैसला ।
१३. उक्त फैसलामा चित्त बुझेन पूर्ण इजलासबाट एकपटक इन्साफ जांची हेरी दिनु भनी हुकुम प्रमाङ्गी बक्स पाउं भन्ने प्रतिवादी सुर्यमान श्रेठले श्री ५ महाराजाधिराजका जुनाफमा विशेष जाहेरी विभाग मार्फत चढाएको विन्तिपत्र ।
१४. उक्त विन्तिपत्र यस अदालतमा प्राप्त भई पेश हुंदा यसमा २०३६।६।७ मा हालै देखिको बक्सपत्र गरिदिएकोमा दुवै थर वीच विवाद छैन । पारीत भएको लिखतलाई शर्तनामाले असर पुर्याउन सक्ने देखिदैन । सो बक्सपत्र वदर गरी पाउं भनि दिएको मुद्दामा २०३९।१।१४ मा मिलापत्र गर्दा लिखत वदरको दावी छाडी मिलापत्र भएको देखिएको र अ.वं. १८२ नं. ले मिलापत्र वमोजिम गरिदिएन गरी पाउं भन्ने वाहेक अरुमा नालिश लाग्न सक्ने अवस्था नदेखिंदा पुनः शर्तनामा र मिलापत्रको आधार देखाई बक्सपत्र दर्ता वदरमा नालेश गरेको र सोही आधारमा स.अ. संयुक्त इजलासको बक्सपत्र लिखत र दर्ता वदर गर्ने गरेको मिति २०४५।३।९ को फैसलाबाट न्याय मिलेको नदेखिंदा दोहोर्याउने निस्सा दिइएको छ नियमानुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०५३।१२।१ को आदेश ।
१५. यसमा विवादित जग्गामा साविकमा बनेको खपडाको घर तथा पछि बनेको घर समेत स्पष्ट देखिने गरी ती घरको लम्वाई चौडाई घरको आकृति तथा ती घरहरु बनेको जग्गाको लम्वाई चौडाई तथा विवादित जग्गाको लम्वाई चौडाई समेत खुल्ने गरी दुवै पक्षलाई रोहवरमा राखी अ.वं. १७१ नं. को रीत पुर्याई ३० दिन भित्र नाप नक्सा गरी पठाई दिनु भन्ने यस अदालत पूर्ण इजलासको मिति २०५५।४।१४ को आदेश ।
१६. नियम वमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी सुर्यमान श्रेष्ठ तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री श्रीहरि अर्यालले विवादसंग सम्वन्धित बक्सपत्र हालै देखिको बक्सपत्र भएको र दाताले वितेको समयमा गरेको सेवा चाकरी वापत रिझिएर बक्सपत्र दिएको भन्ने वक्सपत्रको व्यहोराबाट देखिन्छ । हालै देखिको बक्सपत्र प्राप्त गरेपछि प्रतिवादीको नाउंमा विवादित जग्गा दर्ता भइसकेको अवस्था छ । उक्त जग्गामा प्रतिवादीले पक्की घर बनाई सकेको र उक्त घर निर्माण कार्य रोक्का गर्ने वा भत्काई पाउं भन्ने तर्फ पनि वादीले कुनै कारवाही चलाएको पनि देखिदैन । वादी र प्रतिवादी वीच २०३९।१।१४ मा भएको मिलापत्रमा शर्तनामा अनुसारको कार्य गर्ने गराउने शर्तमा मिलापत्र भएको र सो मिलापत्र अन्तिम रही रहेको स्थितिमा मिलापत्र वमोजिम गरी दिएन गरी पाउं भन्ने वाहेक अरु कुरामा नालिस लाग्न सक्ने कानूनी व्यवस्था नभएकोले मिलापत्र भएकै विषयमा पुनः शर्तनामा वमोजिम गरी नदिएकोले बक्सपत्रको लिखत वदर गर्न नालिस गर्न नमिल्नेमा त्यस्तो नालिशको आधारमा भएको यस अदालत संयुक्त इजलासको मिति २०४५।३।९ को फैसला मिलेको छैन । सो वदर हुनु पर्छ भन्ने समेतको र विपक्षी वादी अमर देवीको मुद्दा सकार गर्ने कृष्णमान श्रेष्ठका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले पक्ष विपक्ष वीच स्वेच्छाले भएको शर्तनामा अ.वं. २४ नं. वमोजिम कानूनी मान्यता प्राप्त छ । बक्सपत्र पाउने प्रतिवादीले एकलौटी बक्स पाएको होइन सगोलमा बसी वादीलाई रेखदेख गर्ने र नगरे रजिष्ट्रेशन पास भएपनि उक्त लिखतलाई वदर गराउन सकिने शर्तमा बक्सपत्र पाएको र सो शर्तलाई प्रतिवादीले मिलापत्रमा पनी स्वीकारै गरेकाले यस अदालत संयुक्त इजलासको बक्सपत्र बदर दर्ता बदर गर्ने गरी गरेको फैसला सदर हुनु पर्छ भन्ने र विपक्षी तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता द्वय श्री शम्भु थापा तथा शेष अव्वासले मिलापत्रले वादी प्रतिवादी वीच बक्सपत्र गर्दा भएको शर्तनामालाई मान्यता दिएको छ । पक्ष विपक्ष वीच स्वेच्छाले गरिएको कुनै पनि करार यदि त्यो कानून विपरीत छैन भने त्यसले कानूनी मान्यता पाउंछ भनी प्रतिपादित सिद्धान्तहरुबाट समेत स्थापित भई सकेको छ । प्रतिवादीले करारको दायित्व निर्वाह गरेको भन्न प्रतिवाद पनि गर्न नसकेकोले वादीले प्रतिवादीलाई गरी दिएको शर्त सहितको बक्सपत्रको लिखत वदर गर्ने गरी गरेको यस अदालत संयुक्त इजलासको फैसला मिलेकै हुंदा कायम हुनु पर्छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो ।
१७. विद्वान कानून व्यवसायीहरुको उपरोक्त वमोजिमको बहस जिकिर समेत सुनि प्रस्तुत मुद्दाको मिसिल संलग्न कागजातहरु अध्ययन गर्दा पर्सा जिल्ला विरगंज न.पा. वडा नं. ११ को कि.नं. १७७ को ज.वि. ०-०-४ जग्गा र सो जग्गामा भएको खपडा घर समेत विपक्षी वादी अमर देवी श्रेष्ठले पुनरावेदक प्रतिवादी सुर्यमान श्रेष्ठलाई मिति २०३६।६।७ मा शर्तनामा गरी शर्तनामामा उल्लेखित शर्तहरु पालन नगरेमा पारीत लिखत भएपनि वक्सपत्र वदर गर्नपाउने शर्तमा हालै देखिको वक्सपत्र गरी दिएको र प्रतिवादीले उक्त शर्तनामा वमोजिम रेखदेख हेरविचार नगरी घरबाट निकाली दिएकोले वादीले उक्त वक्सपत्र वदर गरी पाउं भनि दिएको मुद्दामा वादी प्रतिवादीवीच मिति २०३९।१।१४ मा शर्तनामामा उल्लेखित सवै शर्त पालना गरी वादीको हेर विचार पालन पोषण गर्छु भनि मिलापत्र भएको र फेरी प्रतिवादीले शर्तनामाको शर्तहरु उल्लंघन गरी घरबाट निकाली दिएकोले शर्तनामाको आधारमा गरी दिएको हालै देखिको बक्सपत्र वदर गरी पाउं भन्ने फिराद दावी र हालै देखिको वक्सपत्र भएकोले बदर हुन सक्ने होइन वक्सपत्रबाट आफ्नो नाममा दर्ता हुन आएको जग्गामा आफूले थप पैसा समेत खर्च गरी पक्की घर बनाई सकेको र शर्त वन्देजमा उल्लेख भए अनुसार पालन पोषण गर्न तयार छु भन्ने प्रतिवादी जिकिर रहेको प्रस्तुत मुद्दामा घरसारमा भएको शर्तनामा अनुसार सवै शर्तहरु पालना गर्छु भनी अड्डामा भएको मिलापत्रले घरसारमा भएको शर्तनामालाई समर्थन र पुष्टी समेत गरेकोले शर्तनामा सहितको बक्सपत्र दिएको देखिंदा शर्तनामामा उल्लेखित शर्त पालना नभएमा बक्सपत्र वदर हुन सक्ने नै हुंदा वादी दावी वमोजिम वक्सपत्र लिखत एवं दर्ता वदर भई वादीका नाममा दर्ता हुने ठहर्छ भनि यस अदालत संयुक्त इजलासबाट मिति २०४५।३।९ मा फैसला भएको र उक्त फैसला पूर्ण इजलासबाट एक पटक दोहोर्याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउं भनि श्री ५ महाराजाधिराजका हजुरमा प्रतिवादी सुर्यमान श्रेष्ठले चढाएको विन्तिपत्र यस अदालतमा पेश भई मुद्दा दोहोर्याउने निस्सा प्रदान भई प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।
१८. संयुक्त इजलासको उल्लेखित फैसला मिले नमिलेको के रहेछ भनि निर्णयतर्फ विचार गर्दा वादी अमरदेवी श्रेष्ठबाट हालै देखिको बक्सपत्र प्राप्त गरेपछि प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गाको केही खण्डमा साविकमा रहेको खपडाको घर भत्काई पक्की घर बनाएको भन्ने निजको प्रतिउत्तर जिकिर रहेको र मिसिल सामेल रहेको मिति २०५५।६।२४ को नक्सा कुण्डलीमा जनिएको न.नं. ३० को वाटो दक्षिण तर्फको मुल सडकसम्म गएको र सोही वाटो तर्फबाट प्रतिवादी सुर्यमान श्रेठको पक्कीघरमा जाने वाटो रहेकोबाट उक्त पक्की घरले सो बाटो प्रयोग गरी राखेको अवस्था समेत देखिन्छ । यसरी प्रतिवादीले विवादित जग्गामा पक्कीघर समेत बनाई बसेको अवस्था भएकोमा त्यसतर्फ वादी अमरदेवी श्रेष्ठले मुलुकी ऐन घर बनाउनेको महलको ११ नं. को म्यादभित्र उजुर गरी मौकैमा विरोध गर्नुपर्नेमा सो समेत गरेको देखिदैन । बक्स दिने वादीले प्रतिवादीले विवादित जग्गामा पक्की घर बनाउंदा कानूनको म्यादभित्र विरोध नगरेकोमा बक्स गर्नेको दावी पुग्न नसक्ने अवस्थाको श्रृजना भएकोले पुनरावेदक प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गामा बनाएको पक्की घर र बलेसीले चर्चेको वाहेक अरु घर जग्गाको लिखत वदर गर्नु पर्ने भई वदर हुने ठहर्याएको हदसम्म तत्कालीन म.क्षे.अ. को मिति २०४३।९।२१ को इन्साफ मिलेको देखिंदा सदर हुन्छ । वादी दावी वमोजिम वक्सपत्र वदर एवं दर्ता वदर भई वादीका नाममा दर्ता हुने ठहर्याएको तत्कालीन नारायणी अञ्चल अदालतको इन्साफ मनासिव ठहर्याएको यस अदालत संयुक्त इजलासको मिति २०४५।३।९ को फैसला केहि उल्टी हुन्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
पुनरावेदक प्रीतवादी सुर्यमान श्रेष्ठ के, माथि इन्साफ खण्डमा लेखिए वमोजिम यस अदालत संयुक्त इजलासको मिति २०४५।३।९ को फैसला केही उल्टी भई विवादित कि.नं. १७७ को जग्गामा बनेको पक्की घर र बलेसी वाहेकको जग्गाको मिति २०३६।६।७ को विवादित लिखत वदर हुने ठहरेकोले यस अदालतको मिति २०४५।३।९ को फैसलाले कायम रहेको लगत कटृा गरी विवादित लिखतमा परेको जग्गा मध्ये पक्की घर र बलेसीको चर्चेको भागको विपक्षी वादी अमरदेवी श्रेष्ठको नाउंको दर्ता वदर गरी आफ्ना नाउंमा दर्ता गरी पाउं भनी पुनरावेदक प्रतिवादी सुर्यमान श्रेष्ठको दरखास्त पर्न आएमा सो वमोजिम गरी दिनु भनि सम्वन्धित कार्यालयमा लेखि पठाउन शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु …………… १
उक्त रायमा हामी सहमत छौं ।
न्या. गोविन्दवहादुर श्रेष्ठ
न्या. टोपवहादुर सिंह
इति सम्वत २०५६ साल कार्तिक ११ गते रोज ५ शुभम् ……………. ।