December 29, 1988
Created by nepalarchives

निर्णय नं. ३६८४ – ज्यान

निर्णय नं. ३६८४     ने.का.प. २०४५                 अङ्क १२   संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं....

निर्णय नं. ३६८४     ने.का.प. २०४५                 अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४४ सालको फौ.पु.नं. ५११

सम्वत् २०४४ सालको साधक नं. १०९

फैसला भएको मिति : २०४५।९।१५।५ मा

 

पुनरावेदक/प्रतिवादी : केन्द्रीय महिला कारागार काठमाडौंमा थुनामा रहेकी सीता पुडासैनी

विरुद्ध

विपक्षी/वादी : रामजीप्रसाद पुडासैनीको जाहेरीले श्री ५ को सरकार

 

मुद्दा : ज्यान

 

(१)                प्र.ले अदालतमा आई गरेको बयान र अन्य स्वतन्त्र प्रमाणहरुबाट मृतक बच्चा बच्चीहरु प्रतिवादीकै कारणबाट मर्न गएको भन्ने पुष्टि भएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्‍याएको शुरुको सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १८)

(२)               सासू, जेठानी, समेतबाट गरिएको दुव्र्यवहार र भुत्ल्याएर लछार पछार पार्ने जस्तो क्रिया, रोग लाग्दा समेत औषधी मुलो नगरिनु, खान नदिनु जस्तो व्यवहारबाट निजको मनमा तर्क वितर्क र खिन्नता उत्पन्न हुन गई हतोत्साहित भएको र मर्ने सम्मको निर्णय लिँदा आमाको मायाले बच्चाहरु अलपत्र पर्ने दुःख पाउने जस्तो परिकल्पना उठी छोरा छोरीलाई समेत लिई मर्ने निधो गर्न पुगेकी भन्ने जस्तो संवेदनशील कुराको आधार लिई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम सजायँ घटाइनु पर्ने भनी शुरुले राय व्यक्त भएकोमा क्षेत्रीय अदालतले अपराधको प्रकृति र घटना घटेको परिस्थिति विचार गरी निजलाई ५(पाँच) वर्ष कैद हुने गरी ठराएको मनासिब देखिने ।

(प्रकरण नं. १९)

 

पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय

 

फैसला

न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी तथा साधक जाहेर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    मिति २०४२।१।५ गते दिनको अं. १२ बजे तिर पत्नी सीता र नाबालक ३ छोरोलाई साथमा लिई घरदेखि अं. १½ किलोमिटर टाढा भोर्ले खोलाको दहमा गई घाँटीसम्म पानी आउने गरी उभिएको र ३ नाबालक केटाकेटीहरु डुबी मरी सकेको कुरा स्कूलबाट घर आएका केटाकेहीहरु सो दहमा पौडी खेल्न जाँदा उक्त घटना देखी गाउँमा आई सो कुराको हल्ला गरेपछि गाउँका मानिसहरु जम्मा भई घटनास्थलमा गई मेरी पत्नी जीवित भएको देखी निजलाई पनि पानीबाट बाहिर निकाले छन् । केटाकेटीहरुको मृत्यु भइसकेको रहेछ, म घटनास्थलमा पुग्दा गाउँका मानिसहरु जम्मा भई रहेकोमा मेरी पत्नी बेहोस अवस्थामा लडी रहेकी ३ जना छोराछोरी मृत्यु अवस्थामा पानीको दहको किनारामा लडी रहेको देखेपछि म मुर्छा परी बेहोस भएको र होस खुलेपछि छोराछोरी डुबी मेरेको हृदय विदारक दृश्य हेरी रहन नसकी र जाहेर गर्नुपर्छ भन्ने कुरा नजानी भाइ ध्रुव आमालाई कुर्न घरतर्फ गएकोले म र मेरो साँहिलो दाजु लोकनाथ भई सोही पानीको दहको किनारामा लाश सदगत गरी जलाएको हुँदा यो दर्खास्त गरेको छु । काुनन बमोजिम जे जो बुझ्नु पर्छ बुझी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको रामजीप्रसाद पुडासैनीको मिति २०४२।१।९ को जाहेरी दर्खास्त ।

३.    मेरी श्रीमती पहिले देखिनै कहिले काँही पागल भई हिंड्ने र फेरी सञ्चो भई कामकाज गर्ने गरेकी  थिई, उक्त दिन श्रीमतीले के भई बच्चाहरु दहमा डुबाई मारी म यकीन भन्न सक्दिन, तर मेरो विचारमा आफू समेत मर्ने बच्चा समेत लिई दहमा फाल हालेको हुनु पर्छ मेरा मृत बच्चाहरुलाई लाश प्रकृति मुचुल्का नहुँदै म र मेरो दाई लोकनाथले अनजानमा परी जलाएको हो भन्ने समेत व्यहोराको प्र.रामजीप्रसाद पुडासैनीले प्रहरीमा गरेको बयान कागज ।

४.    मेरो बेला बखत बेहोस भई लड्ने र पेट दुख्ने रोग पनि थियो । यसरी आफू रोगी घरमा सँधै कचकच भई रहने हुँदा पिर खप्न नसकी मर्न चाहेको र मेरा छोरा छोरीहरुले म मरेपछि दुःख पाउँछन् भनी साथै मर्छु भनी बच्चा समेत लिई काली दहमा फालहाल्दा मेरा दुई छोरी एक छोरा मरेकोमा कानूनले जो ठहर्छ सहन बुझाउन तयार छु भन्ने समेत व्यहोराको सीता पुडासैनीले प्रहरीमा गरेको बयान कागज ।

५.    ३ जना बालकको मृत्यु भएकोमा जाहेर गर्नु पर्छ भन्ने कुरा मलाई थाहा नभएकोले लाश जलाएको हो, लाश जलाएपछि जाहेर गर्न भाइ रामजी प्रसादलाई पठाएको हुँ भन्ने समेत व्यहोराको लोकनाथ पुडासैनीले प्रहरीमा गरेको बयान कागज ।

६.    सीता पुडासैनी ३ जना बालबच्चा समेत काली दहमा परे, त्यसमध्ये ३ जना बच्चाहरुको मृत्यु भयो, सीता पुडासैनी बाँचिन् र बिरामी अवस्थामा घरमा छिन भन्ने सुनेको हो को कसले दहमा पारी मारे वा आफैं परी मरे सो थाहा भएन भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

७.    सीता पुडासैनीले नाबालक बच्चाहरु दहमा डुबाई मारी मु.ऐन ज्यानसम्बन्धी महलको १ नं. अनुसार कसूर गरेको प्रष्ट देखिन आएकोले सीता पुडासैनीलाई ऐ. ऐनको १३(३) नं. बमोजिम सजाय हुन र रामजीप्रसाद पुडासैनी र लोकनाथ पुडासैनीलाई ऐ. ऐनको दफा २५ र ४ नं. बमोजिम सजायँ हुन माग दावी भएको प्रहरी प्रतिवेदन ।

८.    घरमा भएको हेला दुःख सहन नसकी आफू समेत मर्न भनी जाँदा बच्चाहरु मात्र मरेछन । यस्तोमा कानूनले के कस्तो सजायँ हुन्छ मलाई थाहा छैन, कानूनले जे ठहर्छ भोग्न तयार छु भन्ने समेत व्यहोराको सीता पुडासैनीले अदालतमा गरेको बयान ।

९.    बुहारी सीताको कसैसंग झैझगडा भएको मलाई थाहा छैन, पहिले पहिले मुटुको साथै छोपुवा रोग थियो, कसैलाई जाहेर नगरी जलाउँदा सजायँ हुन्छ भन्ने मलाई थाहा नभई जलाएको हुँदा कानूनले जो ठहर्छ व्यहोर्न तयार छु भन्ने समेत व्यहोराको लोकनाथ पुडासैनीले अदालतमा गरेको बयान ।

१०.    मेरी श्रीमतीसंग आजसम्म कुनै झैझगडा भएको छैन, मेरी श्रीमतीलाई छोपुवा व्यथा छ, जाहेरी नदिई जलाएमा सजायँ हुन्छ भन्ने थाहा नहुँदा कानूनले जो ठहर्छ व्यहोर्न तयार छु भन्ने समेत व्यहोराको रामजीप्रसाद पुडासैनीले अदालतमा गरेको बयान ।

११.    आफ्ना प्यारा नानीहरुलाई कुनै पनि तरिकाले मार्ने अधिकार निज प्रतिवादी सीता पुडासैनीलाई प्राप्त भएको नदेखिँदा निजको हकमा प्रहरी प्रतिवेदन दावी मनासिब ठहर्छ । कानूनको अनभिज्ञता माफी नहुने भएबाट समेत प्रतिवादीहरु रामजीप्रसाद पुडासैनी र लोकनाथ पुडासैनीको हकमा समेत प्रहरी प्रतिवेदन दावी मनासिब ठहर्छ । प्र.सीता पुडासैनीको हकमा ठहरिएको सजायँ दिँदा चर्को हुन जाने लागेबाट न्यूनतम सजायँको व्यवस्था हुन अ.बं. १८८ नं. को कानून व्यवस्था बमोजिम छुट्टै राय पेश गरेको भन्ने समेत व्यहोराको नु.जि.अ.को मिति २०४२।८।३० को फैसला ।

१२.    मलाई सर्वश्व सहित जन्म कैद गर्ने गरेको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३,२५ र ५४ समेतको त्रुटि गरी गरेको फैसला बदर गरी पाउँ भन्ने समेत व्यहोराको सीता पुडासैनीको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१३.    हामीलाई सजायँभागी तुल्याई नुवाकोट  जिल्ला अदालतले गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी पाउँ भन्ने व्यहोराको लोकनाथ पुडासैनी समेत जना दुईको म.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

१४.    प्र.सीता पुडासैनीले वादी दावी अनुसार ज्यानसम्बन्धीको १३(३) अनुरुप कसूर गरेको ठहर्‍याई शुरुले गरेको इन्साफ मनासिब देखिँदा सदर हुन्छ । निजको पुनरावेदन जिकिर पुग्न     सक्दैन । पेश हुन आएको मिसिल कागजात तथा जिल्ला अदालतबाट कारण सहित व्यक्त भई आएको खुलासा राय समेतलाई ध्यानमा राखी अपराधको प्रकृति र घटना घटेको परिस्थितितर्फ विचार गर्दा प्र.सीता पुडासैनीलाई वर्ष ५ कैद गर्न मनासिब देखिएको व्यहोरा श्री सर्वोच्च अदालतमा साधक जाहेर गरी पठाउने । लाशको सदगद गर्न पुर्जी नलिई लाश जलाएको देखिँदा कानून अनुरुप भएको भन्न नमिलेकोबाट ज्यानसम्बन्धीको ४ नं. अनुसार रु. १०।दशको दरले जरिवाना गर्नु पर्नेमा प्रतिवादी रामजीप्रसाद पुडासैनी र प्र.लोकनाथ पुडासैनीलाई जनही रु. २०– (बीस) जरिवाना र महिना ६ कैद समेत गर्ने गरेको शुरु नुवाकोट जिल्ला अदालतको इन्साफ गल्ती भई केही उल्टी हुन्छ । प्रतिवादीहरु रामजीप्रसाद पुडासैनी तथा लोकनाथ पुडासैनीलाई ज्यानसम्बन्धीको ४ नं. बमोजिम जनही रु. १०।–    (दश) को दरले जरिवाना हुने ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

१५.   मलाई हराई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) लगाई शुरुले गरेको इन्साफ सदर ठहराई गरेको फैसलामा चित्त नबुझेकोले बदर गरी आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.सीता पुडासैनीको यस अदालतमा परेको पुनरावेदन ।

१६.    नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्यायले बच्चाबच्चीहरुलाई दहमा डुबाई मारे भन्ने कुरा कतैबाट प्रमाणित नभएको र डुबी मरेको देख्ने चस्मदिद गवाह पनि कोही छैन । लाशको जाँच भएको मुचुल्का वा शव परीक्षण प्रतिवेदन छैन । मेरो पक्षमाथि कसैले गडाउ गरेको पनि छैन । यस्तो स्थितिमा ज्यान जस्तो गम्भीर प्रकृतिको फौज्दारी मुद्दामा कसूर निर्विवाद र शंकारहित तवरबाट प्रमाणित हुनु पर्ने भन्ने सर्वमान्य फौज्दारी न्यायको कुनै विचार नगरी अनुमानको भरमा ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गरेको मिलेको छैन । सफाई पाउनु पर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

१७.   मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब बेमनासिब के रहेछ सोमा निर्णय दिनु पर्ने हुन आयो ।

१८.    यसमा निर्णयतर्फ विचार गर्दा प्र.सीता पुडासैनी अधिकार प्राप्त अधिकारी तथा अदालतमा समेत बयान गर्दा मेरो दुई छोरी एक छोरा म मरेपछि दुःख पाउँछन् होला भन्ने विचार गरी ११ महिनाको छोरीलाई पछाडि, ठूली छोरीलाई दायाँपट्टि र छोरालाई बायाँपट्टि कोखमा च्यापी खेत नजिकैको भोर्ले खोलाको काली दहमा हाम फाल्दा मेरो दुई छोरी एक छोरा मरेको हो भनी साविती रहेको पाइन्छ । जाहेरीमा चारैजना दहमा डुबेको निकाल्दा तीनजना बच्चाबच्ची मरिसकेको र प्रतिवादी सीता पुडासैनी जीवित नै रहेको ती मुतक बच्चाबच्चीलाई साथमा लिई प्र.सीता पुडासैनी दहमा हामफाली डुबेको कारणले बच्चाबच्ची मरेको भनी किटानी जाहेरी दर्खास्त दिएको देखिन्छ । अदालतमा आई बकपत्र गरिदिने सरजमीनका व्यक्ति विश्वनाथ पुडासैनीले घटना घटाउनुको कारण आफू समेत भने हुन सक्छ भन्ने भनाईको साथै मेरो मनमा अवश्य उनैले डुवाएको हो अरुले डुबाएको होइन भनी भनेको तथा निज विश्वनाथले हल्ला सुनेपछि घटना स्थलमा हेर्न जाँदा आफ्नै बुहारी र ३ वटा बच्चा परिराखेको देखेका र पहिले बुहारीलाई पाखा झिकेपछि बच्चालाई झिकेको र तीनैजना बच्चाहरु मरिसकेको भन्ने लेखाई दिएको पाइन्छ यसरी जाहेरी दर्खास्तमा उल्लेख भएको व्यहोरा र सरजमीनका मानिसले किटानी लेखाई दिनुका साथै स्वयं प्रतिवादी  सीता पुडासैनी आरोपित कसूरमा स्वीकार गरी अदालत समेतमा साविती बयान गरिदिएबाट मर्ने बच्चा बच्चीहरु आमाकै कारणबाट मर्न गएको भन्ने प्रमाणित हुन आयो । तसर्थ प्र.सीता पुडासैनीले अदालतमा आई गरेको बयान र अन्य स्वतन्त्र प्रमाणहरुबाट मुतक बच्चाबच्चीहरु प्रतिवादी सीता पुडासैनीकै कारणबाट मर्न गएको भन्ने पुष्टि भएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैद हुने ठहर्‍याएको शुरुको सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

१९.    तर घटनाको प्रकृतिलाई दृष्टिगत गरी हेर्दा प्र.सीता पुडासैनीको सासू, जेठानी समेतबाट गरिएको दुव्र्यवहार र भुत्लाएर लछार पछार पार्ने जस्तो क्रिया, रोग लाग्दा समेत औषधि मूलो नगरिनु, खान नदिनुको जस्तो व्यवहारबाट निजको मनमा तर्क वितर्क र खिन्नता उत्पन्न हुन गई हतोत्साहित भएको र मर्ने सम्मको निर्णय लिँदा आमाको मायाले बच्चाहरु अलपत्र पर्ने दुःख पाउने जस्तो परिकल्पना उठी छोरा छोरी समेतलाई मार्ने निधो गर्न पुगेकी भन्ने जस्तो संवेदनशील कुराको आधार लिई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम सजायँ घटाउनु पर्ने भनी शुरु नुवाकोट जिल्ला अदालतले राय व्यक्त भएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतले अपराधको प्रकृति र घटना घटेको परिस्थिति विचार गरी निज प्र.सीता पुडासैनीलाई ५ वर्ष कैद हुने गरी ठहराएको मनासिब देखिँदा निज प्र.सीता पुडासैनीलाई कैद वर्ष ५(पाँच) हुने ठहर्छ । प्रतिवादी सीता पुडासैनीको पुनरावेदन परी कारवाही भएको हुँदा साधकको लगत कट्टा गरिदिनु । अरु तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी सीता पुडासैनी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम अ.बं. १८८ नं. अनुसार कैद वर्ष ५(पाँच) हुने ठहरिएकोले शुरु नुवाकोट जिल्ला अदालतको २०४२।८।३०।१ को फैसलाले ज्यानसम्बन्धी १३(३) बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहराई राखेको लगत कायम नरहने हुँदा व्यहोरा जनाई लगत कट्टा गरी यस अदालतबाट ठहरिएको कैद वर्ष ५ (पाँच) को लगत कसी असूल गर्नु भनी शुरु नुवाकोट जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…१

पुनरावेदक प्रतिवादी सीता पुडासैनीले केन्द्रीय महिला कारागार काठमाडौं मार्फत पुनरावेदन गरेको हुँदा यो फैसलाको जनाउ पठाई दिनु…२

मिसिल नियम बमोजिम गरी बुझाई दिनु…३

 

उक्त रायमा म सहमत छु ।

न्या.रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल पौष १५ गते रोज ५ शुभम् ।