December 6, 1988
Created by nepalarchives

निर्णय नं. ३६५२ – कर्तव्य ज्यान

निर्णय नं. ३६५२     ने.का.प. २०४५                 अङ्क ११   संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४४ सालको...

निर्णय नं. ३६५२     ने.का.प. २०४५                 अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४४ सालको फौ.साधक नं. ५९

फैसला भएको मिति : २०४५।८।२१।३ मा

 

वादी : छत्रे देउराली गा.पं.को पत्रले श्री ५ को सरकार

विरुद्ध

प्रतिवादी : धादिङ छत्रेदेउराली गा.पं.वा.नं.८ बस्ने ठुली भन्ने कान्छी तामाङसमेत

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)                जातक बच्चालाई यसले यसरी मार्‍यो भन्ने प्रतिवादीले उल्लेखसम्म पनि गर्न नसकेको तथा जातकको अस्वाभाविक मृत्यु भएको भन्ने पुष्टी भएको यस अवस्थामा प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान तथ्ययुक्त तरिकाबाट पुष्टी भएको मान्न नसकिने ।

(प्रकरण नं. १६)

(२)               व्यक्तिले साक्षी राखी कर्तव्य गर्ने भन्ने स्वभाविक प्रकृया नहुने, यस्तै प्रत्यक्ष प्रमाण नभएको अवस्थामा परिस्थितिजन्य प्रमाणलाई राम्ररी छानबीन गरी निष्कर्षमा पुग्नु पर्ने । प्रत्यक्ष प्रमाणको अभाव छ भनी त्यसको लाभ अभियुक्त मात्रलाई दिने हो भने परिस्थितिजन्य प्रमाणको धारणा मृतप्रायः हुने स्थिति सृजना हुन जाने ।

(प्रकरण नं. १६)

(३)               लोग्ने मरेको स्वास्नी मानिसले जातक जन्माएकोले लोक लाजबाट बच्न जन्मेको जातक मारी कसैलाई थाहा नहुने भन्ने मनसायले गाडेको हुँदा ऐन बमोजिमको सजायँ गर्दा चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं.बमोजिम ५ वर्ष मात्र कैद हुने ।

(प्रकरण नं. १६)

 

वादीतर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री रामकृष्ण श्रेष्ठ

उल्लिखित मुद्दा : लवरु राना थारुको जाहेरीले वादी श्री ५ को सरकार वि.फरेष्टर मानेश्वर मण्डल समेत भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प. २०४२, अंक ३, पृष्ठ ३२३) संयुक्त इजलासबाट सिद्धान्त प्रतिपादन भएको ।

 

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।११।२६ को फैसला साधक निकासाको लागि पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ ।

२.    २०४१।८।३ गते छत्रे देउराली गा.पं.वडा नं.८ जुङे खोला गाउँमा कान्छी तामाङनीले बच्चा जन्माएको कसैलाई थाहा नदिई पुरी राखेको भन्ने विशेष सुत्रबाट पत्ता लागेकोले आवश्यक कारवाही गरी पाउँ भन्ने छत्रे देउराली गा.पं.को ०४१।८।३ गतेको पत्र ।

३.    मुखबाट रगत बगी सुकेको अन्य शरीरमा घाउचोट नभएको छोरी जातकको लास ठिक छ भन्ने ०४१।८।५ को लाश प्रकृति मुचुल्का ।

४.    ०४१।७।२६ गते दिनको अन्दाजी २ बजेको समयमा लास प्रकृतिमा लेखिएको बच्चा जीवितै जन्माई केही वेर साल झारी घाँस काट्न लगेको फलामे हँसियाँले नाभी काटी केही वेर बच्चालाई स्याहार गरी अब मलाई गाउँलेले थुक्ने भए भन्ने लागी कसैले थाहा नपाउने गरी मारी गाडी दिन्छु भन्ने सोची घाँटीमा दाहिने हाते थिची सो बच्चाको मृत्यु भएपछि मृतक बच्चालाई घाँसले छोपी घरबाट कोदालो ल्याई खाडल खनी गाडेको हुँ मार्नमा कसैको सहयोग छैन भन्ने समेत व्यहोराको ठुली भन्ने कान्छी तामाङनीले प्रहरीमा गरेको बयान कागज ।

५.    ठुली भन्ने कान्छी तामाङनीले केही दिन अघि बच्चा जन्माएको शारीरिक लक्षणहरुबाट बुझिएको प्रमाणित गरिन्छ भन्ने ०४१।८।७ को धादिङ हेल्थ सेन्टरको पत्र ।

६.    कान्छी तामाङनीले को कस्को गर्भ धारण गरी ०४१।७।२६ गते बच्चा जन्माई मारी गाडेको हो भन्ने समेत व्यहोराको ०४१।८।१५ को सरजमीन मुचुल्का ।

७.    ठुली भन्ने कान्छी तामाङनीउपर ज्यानसम्बन्धीको १३(३) बमोजिम र सोही ऐनको ४ नं. को थप सजायँ हुन प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको प्रहरी स.स.अ. तथा स.स.अ.को संयुक्त प्रतिवेदन ।

८.    मेरो लोग्ने मरेको अहिले ८ वर्ष भयो नुवाकोट जिल्ला खोले गाउँ मेरो माइती भएकोले गत माघ महिनामा माइती गएको थिएँ माइती गाउँकै काहिलो तामाङसंग मेरो करणी लिनु दिनु भयो सोही समयको करणीबाट मेरो पेटमा गर्भ रहेछ र ०४१।७।२६ गते म आफ्नो घरबारीमा घाँसकाटी रहेको वारीमा नै गर्भ जातक छोरी जन्मियो जन्मिदा सास थियो आधा घण्टा पछि मर्‍यो र मैले नै सालनाल काटी घरबास कोदालो लगी खाडल खनी मैले नै गाडी दिएको हुँ भन्ने समेत व्यहोराको प्र.ठूली भन्ने कान्छी तामाङनीले अदालतमा गरेको बयान ।

९.    अदालतमा बयान गर्दा इन्कारी भए तापनि सो इन्कारीको ठोस प्रमाणबाट समर्थन गराउन सकेको देखिँदैन वादी दावी बमोजिम निजकै कर्तव्यबाट जातक मृत्यु भएको प्रष्ट देखिएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहर्छ । ऐन बमोजिम सजायँ दिँदा चर्को हुने भई घटी सजायँ हुनु पर्ने चित्तले देखिएकोले अभियुक्तउपर ५ वर्ष सजायँ हुन अ.बं.१८८ नं.अनुसार आफ्नु राय साथ यो जाहेरी फैसला अ.बं.१८६ नं. अनुसार गरी दिएको छ भन्ने समेत धादिङ जिल्ला अदालतको मिति ०४२।५।३१ गतेको  फैसला ।

१०.    लोक लाजबाट बच्न जातकलाई जन्माई मारेको भन्ने स्पष्ट देखिन आएकोले शुरु जि.अ.को इन्साफ मनासिब ठहर्छ । ५ वर्षमात्र कैद गर्ने राय व्यक्त गरेको जि.अ.को राय उचित देखिएन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।११।२६ को फैसला ।

११.    साधक सदरको लागि पठाएको भन्ने मिति ०४४।२।२५ को मध्यमाञ्चल क्षेत्रीय अदालतको पत्रसाथ मिसिल प्राप्त हुन आई साधक लगतमा दर्ता भएको रहेछ ।

१२.    यसमा अभियुक्त ठुली भन्ने कान्छी तामाङनीले प्रहरीमा बयान गर्दा मैले जन्माएकी बच्चालाई घाँटीमा समाती मेरो दाहिने हातले घाँटी निचरी दिएपछि सो बच्चाको मृत्यु भयो भनी सावित भएको देखिन्छ । अदालतमा बयान गर्दा जातक छोरी जन्मदा अलि अलि सास थियो अं.आधा घण्टा पछि मर्‍यो । प्रहरीमा घाँटी थिची मारेको कुरा मैले भनेको थिइन, किन त्यस्तो लेखिदिए मलाई थाहा छैन भनी इन्कार रहेको पाइन्छ । लाश जाँच प्रतिवेदनमा टाउकोको चोटको कारणले मृत्यु भएको उल्लेख भएको देखिन्छ । सो लाश जाँच प्रतिवेदनबाट प्रहरीमा भएको सावितीलाई पुष्टी गरेको देखिन्न निज अभियुक्तले जिउँदो बच्चालाई घाँटी थिची कर्तव्य गरी मारेको देख्ने चस्मदिद प्रमाणहरु समेत नदेखिएकोले अ.बं.२०२ नं.बमोजिम छलफलको लागि म.न्या.का. लाई सूचना दिई पेश गर्नु भन्ने समेत यस अदालत संयुक्त इजलासको मिति ०४४।८।२९ को आदेश ।

१३.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठले गर्नु भएको बहस सुनी मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिले नमिलेको के रहेछ भन्ने नै निर्णय दिनु पर्ने हुन आयो ।

१४.    यसमा अभियुक्त प्रहरीमा सावित रहे तापनि अदालतमा जातक बच्चा मारेकोमा इन्कार रही बयान गरेको लाश जाँच प्रतिवेदनमा टाउकोको चोटको कारण मृत्यु भएको भन्ने उल्लेख भएको तथा कर्तव्य गरी मारेको देख्ने चस्मदिद प्रमाण समेत नदेखिएको आधारमा झगडीया झिकाउने आदेश भएको देखिन्छ ।

१५.   मौकामा भएको लाश प्रकृति मुचुल्कामा मुखबाट रगत बगी कालो भई सुकेको भन्ने उल्लेख भएको पाइन्छ । त्यस्तै लाश जाँचको प्रतिवेदनमा घाँटी टाउको इत्यादिमा चोट लागेको तथा टाउकोको चोटको कारणले मृत्यु भएको भन्ने चिकित्सको राय देखिन्छ । लाश प्रकृति मुचुल्का तथा लाश जाँच प्रतिवेदनबाट जातकको मृत्यु स्वाभाविक रुपले भएको भन्ने अवस्था छैन । प्रतिवादी कान्छी तामाङको अदालतको बयानबाट यो यस कारणले जातक मरेको भन्ने कुरा खुल्दैन । जातक जन्मिदा प्र.कान्छी तामाङ एक्लै भएको भन्ने कुरामा विवाद छैन । जातकको मृत्यु अस्वभाविक तवरबाट भएको भन्ने कुराको पुष्टी लाश प्रकृति मुचुल्का एवं लाश जाँचको प्रतिवेदनबाट भइरहेको छ ।

१६.    लवरु राना थारुको जाहेरीले वादी श्री ५ को सरकार वि. फरेष्टर मानेश्वर मण्डल समेत भएको कर्तव्य ज्यान मुद्दामा (ने.का.प.२०४२, अंक ३, पृष्ठ ३२३) यस अदालत संयुक्त इजलासबाट अभियुक्तहरुले आफ्नो कब्जामा राखेको व्यक्तिको मृत्यु हुनजान्छ भने त्यो व्यक्तिको मृत्यु कालबाट भएको अथवा कुनै अन्य घटना घटी भएको हो भन्ने कुराको शंकारहित तथ्ययुक्त प्रष्ट प्रमाणले समर्थन गराउने जवाफदेही अभियुक्तहरुकै हुनजान्छ । यसमा कुनै शंका र विवाद हुँदैन । यस्तोमा साधारण प्रमाण प्रस्तुत गरेर अभियुक्तहरुले सफाई पाउने अवस्था पर्दैन भन्ने सिद्धान्त समेत प्रतिपादित भइरहेको देखिन्छ । प्रस्तुत मुद्दामा जातक जन्मदा अलिअलि सास थियो आधा घण्टा पछि मर्‍यो भन्ने प्रतिवादीको इन्कारी  बयान कतैबाट पुष्टी हुनसकेको छैन, यसको अलावा जातक बच्चालाई यसले यसरी मार्‍यो भन्ने प्रतिवादीले उल्लेखसम्म पनि गर्न नसकेको तथा जातकको अस्वाभाविक मृत्यु भएको भन्ने पुष्टी भएको यस अवस्थामा प्रतिवादीले अदालतमा गरेको इन्कारी बयान तथ्ययुक्त तरिकाबाट पुष्टी भएको मान्न सकिएन । अब जहाँसम्म चस्मदिद प्रमाण नभएको भन्ने प्रश्न छ व्यक्तिले साक्षी राखी कर्तव्य गर्ने भन्ने स्वाभाविक प्रकृया हुँदैन । यस्तै प्रत्यक्ष प्रमाण नभएको अवस्थामा परिस्थितिजन्य प्रमाणलाई राम्ररी छानबीन गरी निष्कर्षमा पुग्नु पर्ने हुन्छ । प्रत्यक्ष प्रमाणको अभाव छ भनी त्यसको लाभ अभियुक्त मात्रलाई दिने हो भने परिस्थितिजन्य प्रमाणको धारणा मृतप्राय हुने स्थिति सृजना हुनजाने हुन्छ । अतः प्रस्तुत मुद्दामा माथि उल्लेख गरिएअनुसार परिस्थितिजन्य प्रमाणले जातकको मृत्यु प्र.कान्छीमायाकै कर्तव्यबाट भएको देखिएको हुनाले निजको अदालतको इन्कारी र चस्मदिद प्रमाणको अभावमा झगडीया झिकाउने भन्ने यस अदालतको आदेशसंग सहमत हुन सकिएन । प्र.ठूली भन्ने कान्छी तामाङलाई प्रहरी प्रतिवेदन दावी बमोजिम कसूरदार ठहराएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेकै देखिँदा साधक सदर हुने ठहर्छ । सजायको हकमा लोग्ने मरेको स्वास्नी मानिसले जातक जन्माएकोले लोकलाजबाट बच्न जन्मेको जातक मारी कसैलाई थाहा नहुने भन्ने मनसायले गाडेको हुँदा ऐन बमोजिमको सजायँ गर्दा चर्को पर्ने देखिएकोले अ.बं.१८८ नं.बमोजिम ५ वर्ष मात्र कैद हुन्छ । शुरु धादिङ जिल्ला अदालतले प्र.ठूली भन्ने कान्छी तामाङलाई ५ वर्ष कैद गर्ने गरेको राय मनासिब हुँदा सदर हुन्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४५ साल मार्ग २१ गते रोज ३ शुभम् ।