निर्णय नं. ३६२७ – अंश
निर्णय नं. ३६२७ ने.का.प. २०४५ अङ्क १० एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४५ सालको प्रतिवेदन नम्बर ६२ फैसला भएको...
निर्णय नं. ३६२७ ने.का.प. २०४५ अङ्क १०
एक न्यायाधीशको इजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०४५ सालको प्रतिवेदन नम्बर ६२
फैसला भएको मिति : २०४५।८।१७।६ मा
निवेदक/वादी : भ.पु.न.पं.वा.नं.५ याछे टोल बस्ने कृष्णप्यारी वैद्य
विरुद्ध
विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने दिलमोहन वैद्य समेत
मुद्दा : अंश
(१) पटक–पटक मुल्तवी रहनुको साथै अन्य आदेश र कार्यवाहीहरुले गर्दा समेत पक्षले अनावश्यक दुःख भोग्न परेको तथ्य मिसिलबाट विद्यमान देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधन सहितको दफा १६(२) ले दिएको अधिकार प्रयोग गरी विन्तिपत्रमा उल्लेख भएको अंश मुद्दा र सोसंग सम्बन्धित अन्य लगाउका मुद्दा समेत बागमती अञ्चल अदालतमा झिकाई बागमती अञ्चल अदालतबाट कानून बमोजिम चाँडो किनारा गरिदिनु भनी आदेश जारी हुने ।
(प्रकरण नं. २)
फैसला
न्या.बब्बरप्रसाद सिंह : श्री सर्वोच्च अदालत निवेदन शाखाको प्रतिवादी भ.पु.न.पं.वडा नं.५ याछे टोल बस्ने दिलमोहन वैद्य समेत भएको अंश मुद्दामा विपक्षीले जाल परिपञ्चले १४ वर्षसम्म मुद्दा छिन्न नदिएकोले श्री सर्वोच्च अदालतबाट मुद्दा किनारा गरिदिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी वादी ऐ.बस्ने कृष्णप्यारी वैद्यले श्री ५ महाराजाधिराज सरकारमा चढाएको अं.१४२७ नं. को विन्तिपत्रमा यस्मा के भएको रहेछ ? हालसम्म मुद्दा किन नछिनिएको रहेछ ? मुद्दा के स्थितिमा छ ? अंग पुगेको छ छैन ? सबै व्यहोरा खुलाई यो विन्तिपत्र समेत साथै राखी जाहेर गर्नु होला भनी २०४५।४।१२।४ मा भएको आदेशानुसार भक्तपुर जिल्ला अदालतबाट जाहेर गरेको अ.१७३५ को जाहेरीमा “यो जाहेरी र यसै साथ रहेको अ.१४२७ नं. को विन्तिपत्र समेत जाहेर हुँदा यस्मा व्यहोरा साँचो भए हेरी कानून बमोजिम जो गर्नुपर्ने गरी नतिजा जाहेर गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ” भनी बक्स भई आएको हुकुम प्रमांगीको व्यहोरा र भक्तपुर जिल्ला अदालतबाट प्राप्त हुनआएको प्रतिवेदनको व्यहोरा समेत पेश भयो ।
२. यस्मा मुद्दा ढिला गरी मलाई अंश नदिई मार्ने विचारले ०३१ सालमा चलेको मुद्दा ०४५ सालसम्म पनि किनारा हुन नदिई अनावश्यक मुद्दा दिई दुःख दिई आएको भन्ने निवेदिकाको मुख्य निवेदन जिकिर देखिएको र प्राप्त प्रतिवेदन समेतका कागजातबाट उक्त मुद्दा ०३१।१२।१२ मा फिराद परेको र अदालतबाट क्रमसः २०३४।१२।९, ०४१।४।३१, ०४२।३।३, ०४३।३।१८ र ०४५।३।२८ मा समेत पटक–पटक मुल्तवी रहनुको साथै अन्य आदेश र कार्यवाहीहरुले गर्दा समेत पक्षले अनावश्यक दुःख भोग्नु परेको तथ्य मिसिलबाट विद्यमान देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधन सहितको दफा १६ (२) ले दिएको अधिकार प्रयोग गरी यो आदेश गरी दिएको छ । विन्तिपत्रमा उल्लेख भएको अंश मुद्दा र सोसंग सम्बन्धित अन्य लगाउका मुद्दा समेत बागमती अञ्चल अदालतमा झिकाई बागमती अञ्चल अदालतबाट कानून बमोजिम चाँडो किनारा गरिदिनु भनी प्रस्तुत आदेश सहितका कागजात बागमती अञ्चल अदालतमा पठाई दिनु । यो आदेशको व्यहोरा ०४५।५।२७।२ का हुकुम प्रमांगी बमोजिम जाहेर गरी पठाई दिनु ।
इति सम्वत् २०४५ साल मार्ग १७ गते रोज ६ शुभम् ।