January 31, 1989
Created by nepalarchives

निर्णय नं. ३६१५ – बन्दीप्रत्यक्षीकरण

निर्णय नं. ३६१५     ने.का.प. २०४५                 अङ्क १०   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको रि.नं.८७६...

निर्णय नं. ३६१५     ने.का.प. २०४५                 अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४५ सालको रि.नं.८७६

आदेश भएको मिति : २०४५।१०।१८।३ मा

 

निवेदक : नु.जि.तलाखु गा.पं.वा.नं.२ बस्ने सादे भन्ने कमान तामाङ

विरुद्ध

विपक्षी : नुवाकोट जिल्ला अदालतसमेत

 

विषय : बन्दीप्रत्यक्षीकरण

 

(१)                      कारागार ऐन, ०१९ को दफा २४(५) मा उपदफा (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम डेढी बढाई सजायँ कायम गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुनसक्ने सजायको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । ज्यू मास्ने बेच्ने मुद्दामा लागेको कैद वर्ष १० मा थुनुवा भागे भगाएको मुद्दामा सवाई बढाई सजायँ गर्ने गरेको फैसला बमोजिम लागेको कैद भुक्तान हुन बाँकी नै देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने ।

(प्रकरण नं. १३ र १४)

 

निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री ध्रुवनाथ पन्त

प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिंह बोगटी

 

आदेश

न्या.बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुनआएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर निम्न प्रकार छ ।

२.    वादी श्री ५ को सरकार प्रतिवादी म रिट निवेदक भएको जिउ मास्ने बेच्ने मुद्दामा मुद्दा फैसला नभई थुनामा नै रहेको अवस्था जेलबाट भाग्यो भनी अर्को मुद्दा लगाइयो एउटै अदालतमा एउटै व्यक्तिको दुईवटा मुद्दा चलिरहेको अवस्था हुँदै मुद्दा एकैपटक किनारा गर्नु पर्नेमा ०३५।६।१४ मा जिउ मास्ने बेच्ने मुद्दा फैसला गरी हदैसम्म कैद वर्ष १० गर्ने निर्णय भयो । जेलमा थुनामा रहेको अवस्था ०३७ सालमा कारागार शाखाको लगतमा हेर्दा म निवेदकलाई १५ वर्ष कैद गरिएको रहेछ । बुझ्दा जेलबाट भाग्यो भगायो भन्ने मुद्दामा ५ वर्ष कैद लगाएको रहेछ । मुलुकी ऐन दण्ड सजायको ४१ नं.को कानूनी व्यवस्था हेर्दा एकै मानिसलाई एकै मुद्दाको वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा जुन कलममा कैदको सबैभन्दा ठूलो हद छ सो ननाघ्ने गरी कैद ठेक्नु पर्छ । अघि ठेकिएको कैद भुक्तान नहुँदै अर्को कैदको सजायँ भएकोमा अघि ठेकिएको कैद भन्दा घटि कैद पछि ठेक्नु     पर्दैन । धेरै कलमको कैद बराबर रहेछ भने धेरै मध्ये एक कलमको मात्र कैद ठेक्नु पर्छ भन्ने कानूनी व्यवस्था छ ।

३.    यसरी कानूनी व्यवस्था हुँदाहुँदै पनि  नुवाकोट जिल्ला अदालतले १० वर्ष कैद गरी सकेपछि पुनः ५ वर्ष कैद थप गर्न नहुने र नमिल्ने थियो भने उक्त थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा म.क्षे.अ. मा पुनरावेदन पर्दा नुवाकोट जिल्ला अदालतको फैसला उल्टाई २ वर्ष ६ महिना मात्र कैद हुन्छ भनी निर्णय गरेको सो पनि कानून विपरीत हुन गयो । किनकी उक्त मुद्दा म निवेदकलाई लगाउनै नमिल्ने थियो यसरी दुवै विपक्षीहरुले मुलुकी ऐन दण्ड सजायको ४१ नं.मा ठूलो कलमको मात्र कैद गर्नु पर्छ भन्ने प्रष्ट उल्लेख कानूनी व्यवस्था छ । यसरी म निवेदकको नेपालको संविधानको धारा ७१ को भाग ३ द्वारा प्रदत्त मौलिक हकको विपक्षीहरुले हनन् गरेका छन् ।

४.    म निवेदकलाई १० वर्ष मात्र कैद हुन्छ उक्त १० वर्ष कैद मिति ०४४।१०।६ मा नै भुक्तान भइसक्यो तथापी विपक्षी जि.का.कारागार शाखा काठमाडौंले आफ्नो लगतमा १२ वर्ष ६ महिना कैद लेखी थुनामा राखेकोले १० वर्ष भुक्तान भइसकेको हुँदा बन्दीप्रत्यक्षीकरणको आज्ञा, आदेश जारी गरिपाउँ भन्ने निवेदन ।

५.    यस्मा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन पर्ने विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने यसै अदालतका एक न्यायाधीशको इजलासको आदेश ।

६.    कमानसिं तामाङसमेतलाई ०३५।६।१६ का फैसलाले लागेका कैद वर्ष १० मा कारागार ऐन, २०१९ को दफा २४(१)(ग) बमोजिम डेढी कैद हुने गरी ०३६।३।३१ मा फैसला भएकोले सो फैसलाको जानकारी लेखी अनुरोध गर्दछु भन्ने नुवाकोट जिल्ला अदालतको ०३६।५।८ को प्राप्त पत्रानुसार १० वर्षको डेढी १५ वर्ष कैद जनिन गई सो अनुसारको लगत समेत निज विपक्षी साडे भन्ने कमान तामाङलाई जि.का.कारागार शाखा काठमाडौं चलान गरी पठाएको मात्र हुँदा यस शाखालाई विपक्षी बनाएको रिट खारेज गरिपाउँ भन्ने जि.का.कारागार शाखा नुवाकोटको लिखित जवाफ ।

७.    वादी श्री ५ को सरकार प्रतिवादी यिनै निवेदक कमान तामाङ समेत भएको जिउमास्ने बेच्ने मुद्दामा १० वर्ष कैद हुने ठहरी ०३५।६।१६ मा र थुनुवा भगायो भन्ने मुद्दामा ०३६।३।११ मा ५ वर्ष कैद हुने ठहरी फैसला भएको र सो फैसला उपर पुनरावेदन परी म.क्षे.अ.बाट ०४२।१०।३ मा २ वर्ष ६ महिना कैद हुने ठहरी फैसला भएको देखिन्छ भन्ने समेत नुवाकोट जिल्ला अदालतको लिखित जवाफ ।

८.    नुवाकोट जिल्ला अदालतको पत्रानुसार केटी बिक्री मुद्दामा कैद वर्ष १०, थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा २ वर्ष ६ महिना समेत जम्मा कैद १२।६ महिना ठेकी ०३४।१०।१५ देखि थुनिएको ०४७।५।१५ मा छुट्ने लगत श्रेस्ताबाट देखिन्छ अधिकारप्राप्त अदालतले ऐन नियम फैसला अनुसार कैद ठेकी पठाएको बुझी लिई कारागार ऐन नियमले राखी दिनु पर्ने हुनाले राखिएको सम्म हो यस कार्यालयबाट कुनै किसिमको गैरकानूनी कार्य नगरिएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने कारागार शाखा काठमाडौंको लिखित जवाफ ।

९.    वादी श्री ५ को सरकार प्र.यिनै निवेदक कमान तामाङ भएको जिउ मास्ने बेच्ने मुद्दामा शुरु जि.अ.ले १० वर्ष कैद गर्ने गरी फैसला भएउपर पुनरावेदन पर्न नआएका वादी श्री ५ को सरकार प्र.यिनै निवेदक भएको थुनुवा भगायो भन्ने मुद्दामा नु.जि.अ.ले गरेको फैसला उपर पुनरावेदन परी यस अदालतबाट शुरु जि.अ.को ५ वर्ष थपी कैद गरेको फैसला केही उल्टी भई २ वर्ष ६ महिना मात्र कैद थप गर्ने गरी ०४२।१०।३ मा फैसला भई गएको हुँदा रिट खारेज गरी पाउँ भन्ने समेत व्यहोराको म.क्षे.अ.को लिखित जवाफ ।

१०.    नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुनआएको प्रस्तुत मुद्दामा निवेदकको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री धु्रवनाथ  पन्त र प्रत्यर्थी कार्यालयको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सामन्त सिं बोगटीले गर्नु भएको बहस समेत सुनियो ।

११.    प्रस्तुत विषयमा निवेदकको माग बमोजिम आदेश जारी गर्नुपर्ने हो होइन सो कुरामा निर्णय दिनु परेको छ ।

१२.    जिउ मास्ने बेच्ने मुद्दामा हदैसम्म कैद वर्ष १० लाग्ने गरी फैसला भई म्याद ठेकी सकेपछि थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा २।६ महिना कैद थप गरी सजायँ गरी कैद म्याद ठेक्न नमिल्ने हुँदा जिउ मास्ने बेच्ने मुद्दामा लागेको कैद १० वर्ष भुक्तान भइसकेकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ भन्ने निवेदकको मुख्य माग दावी, जिउ मास्ने बेच्ने मुद्दामा ०३५।६।१६ को नुवाकोट जि.अ.को फैसलाले कैद वर्ष १० र थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा ०४२।१०।३ को म.क्षे.अ.को फैसलाले थप कैद २ वर्ष ६ महिना लागेको सो अनुसार ०३४।११।१५ देखि थुनामा रहेको ०४७।५।१५ मा छुट्ने भनी लगत रही कैद म्याद ठेकिएको भन्ने समेत लिखित जवाफ पाइन्छ ।

१३.    यसतर्फ कानूनी व्यवस्था हेर्दा कारागार ऐन, ०१९ को दफा २४(५) मा उपदफा (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफा बमोजिम डेढी बढाई सजायँ कायम गर्दा भाग्ने थुनुवा वा कैदी जुन अपराधमा कैद परेको हो सो अपराधमा हुनसक्ने सजायको उपल्लो हदको सवाई भन्दा बढी हुने गरी सजायँ कायम गरिने छैन भन्ने कानूनी व्यवस्था भएको देखिन्छ ।

१४.    अतः प्रस्तुत मुद्दामा निवेदकलाई ज्यू मास्ने बेच्ने मुद्दामा लागेको कैद वर्ष १० मा थुनुवा भागे भगाएको मुद्दामा सवाई बढाई सजायँ गर्ने गरेको फैसला बमोजिम लागेको कैद भुक्तान हुन बाँकी नै देखिनाले निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । रिट निवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम फाइल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४५ साल माघ १८ गते रोज ३ शुभम् ।