March 4, 1986
Created by nepalarchives

निर्णय नं. २५९४ – उत्प्रेषण

निर्णय नं. २५९४ ने.का.प. २०४३ अङ्क १ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १६६२ आदेश...

निर्णय नं. २५९४ ने.का.प. २०४३ अङ्क १

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको रिट नं. १६६२

आदेश भएको मिति : २०४२।११।२१।३

 

निवेदक : जि.भोजपुर आमृप गा.पं.वडा नं.१ बस्ने लिलाकुमारी कार्की

विरुद्ध

विपक्षी : जि.भू.सु.शाखा भोजपुरका का.मु.शाखा अधिकृत सूर्यमान रन्जितकारसमेत

 

विषय : उत्प्रेषण

 

(१) बुझ्नु पर्ने प्रमाण नबुझी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । 

(प्रकरण नं. ७)

 

विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस

 

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह : विपक्षी कार्यालयले मिति ०४१।७।१५।४ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ ।

२. यसमा महादेव स्थान गा.पं.वडा नं.१ कि.नं.४८ को ५–११–१–२ जग्गामा बाली भराई मोही निष्कासन गरी पाउँ भनी निवेदन दिनु भएकोमा मिसिल संलग्न कागजातबाट मोहीले बाली बुझाएको भए तापनि भर्पाई नदिएको कारणबाट मात्र फिराद गरेको हुँदा निवेदकको उजूरी निवेदन खारेज हुने ठहर्छ भन्नेसमेत व्यहोराको भू.सु.शाखा भोजपुरको ०४१।७।१५।४ को निर्णय । विपक्षी कार्यालयले कुन कागजबाट बाली बुझाएको देख्नुस भएको हो सो छैन र विपक्षीका साक्षीले पनि बाली बुझाएको छैन भनेका छन । बाली बुझाएको देखिने अन्य कुनै सबूद प्रमाण पनि छैन यस्तो अवस्थामा भू.सं. ऐन, ०२१ को दफा ३४ विपरीत विपक्षीले गरेको निर्णयबाट मेरो संवैधानिक हक हनन् भएकोले संविधानको धारा ७१ अन्तर्गत रिट निवेदन गरेको छु । विपक्षीको ०४१।७।१५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन ।

३. विपक्षीबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने सिंगलबेञ्चको आदेश ।

४. ०४०।३।१७ मा विपक्षी कृष्णबहादुर कार्कीले मोही बेदखली सम्बन्धी निवेदन परी कारवाही चल्दा ०४० सालको बाली ज.ध.लिलाकुमारीले भोगचलन गर्ने बाली बाँकी खाएपछि जग्गा खाली गरी मोही कृष्णबहादुरले साविक बमोजिम ०४१ सालका बाली देखि मोहीमा कमाउन पाउने गरी यस शाखाबाट ०४०।४।२६ मा मिलापत्र भएको । ०४० सालको बाली दिएन निष्कासन गरिपाउँ भनी लीलाकुमारीले डायर गरेको सरजमीन समेत ०४० सालको बाली ज.ध लिलाकुमारीले खाने भनी मिलापत्र भएको भनी बकेको पछि आफ्नु श्रीमान अर्जुनबहादुर कार्कीले मिलापत्र गरेको ख्यालै नराखी लिलाकुमारीले हक प्राप्त मोहीलाई आफूले बाली खाई निष्कासन गर्ने उद्देश्यले झुठ्ठा रिट निवेदन गरेको हुँदा उक्त मिलापत्रको मिसिलको प्रमाण हेरी कानुन बमोजिमको निर्णय सदर भई रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भू.सु. शाखा भोजपुरको लिखितजवाफ ।

५. तथ्यको कुरा रिट क्षेत्रबाट हेर्न मिल्ने होइन  विवादीत जग्गामा मेरो बेदखलीमा उजूर परी ०४० सालको बाली ज.ध.ले नै लगाएको हुनाले सो भित्राएपछि जग्गा मोहीलाई नै कमाउन दिने गरी ०४०।४।२६ मा मिलापत्र गरी सो बाली विपक्षी रिट निवेदकले नै प्राप्त गरी झुठ्ठा रिट निवेदन गरेकोले अधिकार प्राप्त अधिकारीले कार्यालयमा भए गरेको मिलापत्रको समेतका आधार प्रमाणबाट कानुनको परिधिभित्र रही गरेको निर्णय मिलेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको कृष्णबहादुर कार्कीको लिखितजवाफ ।

६. निवेदकतर्फबाट उपस्थित हुनुभएका निवेदकको वा.छवीरमण सिटौलालाई रोहवरमा राखी विपक्षी कार्यालय तर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले र लिखितजवाफ तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री शिवानन्ददास सरसले गर्नुभएको बहस समेत सुनियो । मुख्यतः निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

७. यसमा विवादीत जग्गाको दर्तावाला निवेदक लीलाकुमारी जग्गाधनी भएको र विपक्षी कृष्णबहादुर कार्की मोही भएकोमा विवाद देखिँदैन । दावी गरेको ०४० सालको बाली जग्गाधनी लिलाकुमारीलाई दावी बमोजिमको बाली बुझाई कानुन बमोजिमको भर्पाई लिएको पनि देखिँदैन । यस्तो स्थितिमा बुझ्नु पर्ने प्रमाण नबुझी वादी दावी नै खारेज हुने ठहराई भूमिसुधार कार्यालय शाखा भोजपुरले ०४१।७।१५ मा गरेको निर्णयमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४(२) समेतको त्रुटि गरी गरेको देखिन आएकोले उत्प्रेषणको ओदशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम जो बुझ्नु पर्ने सबूद प्रमाण बुझी पुनः निर्णय गर्नु भनी भूमिसुधार कार्यालय शाखा भोजपुरका नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई फायल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा म सहमत छु । 

न्या. हरिहरलाल राजभण्डारी

 

इति सम्वत् २०४२ साल फाल्गुण २१ गते रोज ३ शुभम् ।

