निर्णय नं. ३५३१ – ज्यान
निर्णय नं. ३५३१ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह फैसला भएको मिति...
निर्णय नं. ३५३१ ने.का.प. २०४५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
फैसला भएको मिति : २०४५।३।२०।२ मा
पुनरावेदक/वादी : आङडण्डी शेर्पाको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.तेह्रथुम वसन्तपुर गा.पं. वार्ड नं. २ बस्ने सर्वजीत खड्का
मुद्दा : ज्यान
(१) अस्पतालको जाँच प्रतिवेदनबाट प्रतिवादीको होस ठेगाना नभई मानसिक सन्तुलन ठीक नभएको भन्ने उल्लेख गरेको, निज प्रतिवादीका बाबु प्रहरीमा कागज गर्दा छोरा बौलाएको भन्ने कागज गरिदिएको र सोही व्यहोरा अधिकांश सरजमीनका मानिसहरुले समेत लेखी अदालतमा आई बकपत्र समेत गरिदिएबाट निज प्रतिवादीको होश ठेगान नभई मानसिक सन्तुलन ठीक नभएको प्रमाणित हुन आएकोले दण्ड सजायँको १ नं. बमोजिम निजलाई कुनै प्रकारको सजायँ नहुने ।
(प्रकरण नं. १७)
पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा
फैसला
न्या.प्रचण्डराज अनिल : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मिति २०४२।४।१ मा बहिनी पेम्वाडेमा शेर्पालाई वसन्तपुर गा.पं. वार्ड नं. नजानेको नेवांग बस्ने दिलबहादुर खड्काको छोरा नाम नजानेको मानिसले कुटपिट गरी मारेकोले निज अपराधीलाई पक्राउ गरी कानून बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त ।
३. जाहेरी अनुरुपको कुनै काम गरेको छैन भन्ने समेत व्यहोराको प्र.सर्वजित खड्काले प्रहरीमा गरेको कागज ।
४. छोरा सर्वजित खड्का केही बहुलाएका थिए । निजले पेमाडेमा शेर्पालाई किन मारेका हुन थाहा छैन भन्ने समेत व्यहोराको दिलबहादुर खड्काले प्रहरीमा गरेको कागज ।
५. जाहेरवालाकी बहिनीलाई हिर्काई मार्यो भन्ने सुनी घटनास्थलमा जाँदा जाहेरवालाकी बहिनी मरिराखेको देखेको हुँ भन्ने समेत व्यहोराको दिलबहादुर खड्काले प्रहरीमा गरेको सनाखत कागज ।
६. जाहेरीमा उल्लिखित व्यक्तिबाट बहिनीको मृत्यु हुन गएको हो भन्ने समेत व्यहोराको पेम्वा जम्बू शेर्पाले प्रहरी डोरमा गरिदिएको कागज ।
७. मृतक पेम्वाडेमा शेर्पालाई प्र.सर्वजित खड्काले मारेका हुन् भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका व्यक्तिको सरजमीन मुचुल्का ।
८. प्र.सर्वजित खड्कालाई कानून बमोजिम सजायँ होस् भन्ने समेत व्यहोराको स.स.अ.तथा प्रहरीको संयुक्त प्रतिवेदन ।
९. मलाई अभियोग लगाई सरजमीन समेतका मानिसले किन किटान गरेका हुन् थाहा छैन भन्ने समेत व्यहोराको प्र.सर्वजित खड्काले अदालतमा गरेको बयान ।
१०. प्र.सर्वजित खड्काको स्वास्थ्य परीक्षण गर्दा निजको मानसिक सन्तुलन ठीक भएको नदेखिएको भन्ने तेह्रथुम अस्पतालको प्रतिवेदन ।
११. प्र.सर्वजित खड्काले सफाई पाउने ठहर्छ भन्ने तेह्रथुम जिल्ला अदालतको मिति ०४३।१।१६ को फैसला ।
१२. दावी अनुरुप प्र.लाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकार तर्फबाट पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
१३. अभियुक्तको होस ठेगान नभई मानसिक सन्तुलन ठीक नभएको प्रमाणित हुन आएकोले दण्ड सजायँको १ नं. बमोजिम निजलाई कुनै प्रकारको सजायँ नहुने ठहराएको तेह्रथुम जिल्ला अदालतको इन्साफ मिलेको देखिँदा सदर हुन्छ । सजायँ समेत हुनुपर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१४. प्रतिवादीलाई सजायँ समेत हुनु पर्नेमा कसूरदार सम्म ठहर गरी सजायँबाट सफाई दिएको पू.क्षे.अ.को फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी प्रतिवादीलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको पुनरावेदनपत्र ।
१५. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्माले गर्नु भएको बहस सुनियो ।
१६. पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिब बेमनासिब के रहेछ सो मा निर्णय दिनुपर्ने हुन आयो ।
१७. यसमा निर्णयतर्फ विचार गर्दा अभियुक्त सर्वजित खड्काले आफू उपरको अभियोगमा अधिकार प्राप्त अधिकारी एवं अदालत समक्ष इन्कार नरहेको पाइन्छ । तर निज इन्कार नै रहेको भए तापनि केशवप्रसाद घिमिरे लगायतका अधिकांश सरजमीनका मानिसहरुले मृतक पेमाडेमा शेर्पालाई निज सर्वजित खड्काले लाठीले कुटी मारेका हुन् भनी लेखाइदिएको र सोही व्यहोरा अदालतमा आई समर्थन गरी बकपत्र गरेको समेतबाट अभियुक्त सर्वजित खड्काको कर्तव्यबाट नै मृतकको मृत्यु हुन गएको हो भन्ने प्रमाणित हुन आयो । सो कुरा घटनास्थल तथा लाश प्रकृति मुचुल्का समेतबाट समर्थित भई रहेको पाइन्छ । यसरी निज प्रतिवादी सर्वजित खड्काको कर्तव्यबाट मृतक पेमाडेमा शेर्पाको मृत्यु भएको भए तापनि निज प्रतिवादीको मानसिक सन्तुलन ठीक नभएकोले सजायँ नहुने भन्ने तर्फ विचार गर्दा तेह्रथुम अस्पतालको मिति २०४२।४।१० को जाँच प्रतिवेदनबाट निज प्रतिवादीको होस ठेगान नभई मानसिक सन्तुलन ठीक नभएको भन्ने उल्लेख गरेको पाइन्छ । निज प्रतिवादीका बाबु दिलबहादुर खड्काले प्रहरीमा कागज गर्दा छोरा बौलाएको भन्ने कागज गरिदिएको सोही व्यहोरा अधिकांश सरजमीनका मानिसहरुले समेत लेखी अदालतमा आई बकपत्र समेत गरिदिएबाट निज प्रतिवादीको होस ठेगान नभई मानसिक सन्तुलन ठीक नभएको प्रमाणित हुन आएकोले दण्ड सजायँको १ नं. बमोजिम निजलाई कुनै प्रकारको सजायँ नहुने ठहराएको तेह्रथुम जिल्ला अदालतको इन्साफ सदर गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । प्रतिवादीलाई सजायँ समेत हुनुपर्ने भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.रुद्रबहादुर सिंह
इति सम्वत् २०४५ असार २० गते रोज २ शुभम् ।