July 14, 1997
Created by nepalarchives

निर्णय नं. ६४३५ – वक्सपत्र वदर

निर्णय नं. ६४३५          ०५४, ने.का.प               अङ्क ९   संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने सम्वत् २०५०...

निर्णय नं. ६४३५          ०५४, ने.का.प               अङ्क ९

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्र वहादुर न्यौपाने

सम्वत् २०५० सालको नि.नं. … २९६२

फैसला मितिः २०५४।३।३०।२

 

मुद्दाः वक्सपत्र वदर ।

 

निवेदकः धवलागिरी अञ्चल वाग्लुङ जिल्ला कालिका नगरपालिका वडा नं. १ रामरेखा वस्ने राजेन्द्र चर्मकार । 

बिरुद्ध

विपक्षीः धवलागिरी अञ्चल वाग्लुङ जिल्ला कालिका नगरपालिका वडा नं. १ रामरेखा वस्ने सुमित्रा सर्कीनी समेत २

 

§  आफ्नो खुश गर्न पाउने अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वक्स गरी दिन हुदैंन भन्ने कानूनी प्रावधान रहेको अवस्थामा सगोलको सम्पत्तिबाट छोरीलाई वक्सपत्र दिंदा सगोलको छोराको समेत मन्जुरी लिई वक्सपत्र गरी हक हस्तान्तरण गर्नु पर्नेमा सो वमोजिम मन्जुरी नलिई गरी दिइएको वक्सपत्रको सम्पत्तिमा ३ नै जनाको संयुक्त हक लाग्ने हुँदा सो वमोजिम ३ खण्डको १ खण्ड वक्सपत्र गरी दिएको लिखत वदर गर्नु पर्नेमा सो नगरेको हदसम्म पुनरावेदन अदालत, पोखराको फैसला त्रुटीपूर्ण हुँदा केही उल्टी हुने ।

 

निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर                     

विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वंजाडे

अवलम्वित नजीरः

 

फैसला

            न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर मुद्दा दोहोर्‍याउने निवेदन परी दोहोर्‍याउने निस्सा प्रदान भइ पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं यस अदालतको ठहर यस प्रकार छ ।

            २. पिता भवे आमा विपक्षी सुमित्राको म एक छोरा र छोरी भएकोमा १० वर्ष पहिले पिता स्वर्गे हुनु भएको र जेठी दिदीको विवाह भई सकेको हुँदा हाल सगोलमा विपक्षी आमा र विपक्षी दिदी कोपीला र म भई आमा र म २ अंशियार भएको र म गत ११ वर्ष देखि भारतिय सि.आर.पि. फौजमा भर्ति भई कमाएको रुपैया पैसा आमालाई राख्न दिने गरी आएको मध्ये घडेरी खरीद गर्न रु. ६०,०००।- दिनुहोस, भन्दा प्रष्ट जवाफ दिन नसकेकीले आफन्तहरुले नै हिनामिना गरी दिएको नदिएको बुझ्दै छु । कसेले ठगी खाएको पत्ता लागेमा छुट्टै उजुर गर्ने छु । मैले रहम खोज्यो भन्ने रिसले हो वा कसैको षडयन्त्रबाट हो म एकमात्र छोराको अंश हक मेट्ने नियतले केही घरको पैसा र केही मैले कमाएको र केही ऋण काडेको र पहिलेको वन्धकी थैली समेतबाट आमाको नाममा खरीद भएको मेरो समेत अंश हक लाग्ने वाग्लुङ कालिका गा.वि.स. वडा नं. १ कि.नं. १४८ को क्षेत्रफल १-२-२-१ मध्ये मूल्य रु. ३६,०००।- को ०-४-१-१ जग्गा मिति २०४८।१।१५ दिदी विपक्षी कोपिलालाई हालैको वक्सपत्र पारीत गरी दिनु भएको र पुनः मिति २०४८।१।१७ मा कि.नं. ११६६ को क्षेत्रफल ०-१४-१-१ मध्ये ०-५-०-० जग्गा मूल्य रु. ३६,०००।- मा निजै दिदी विपक्षी कोपिला सर्कीनीलाई हालैको वक्सपत्र पारीत गरी लिनु दिनु भएको रहेछ । २०४८।२।९ मा थाहा पाई मेरो अंश हक लाग्ने जग्गा लिखत वदर गरौं भन्दा जानेको गर भनी हांक जवाफ दिएकोले आफूखुश गर्न पाउनेवाहेक अरु अंशियारको मन्जुरी पनि नलिई साक्षी पनि नराखी गरी दिएको हालैको वकसपत्र मेरो हक जति लिखत वदर गराई पाउँ भन्ने समेत राजेन्द्र चर्मकारको फिराद पत्र ।

            ३. विपक्षीले कमाएको पैसा म सुमित्रालाई राख्न दिएको होइन म सुमित्राले कोपीलालाई हालैको वक्सपत्र दिएको जग्गा विपक्षीको समेत अंश हक लाग्ने होइन । विवादित जग्गा विपक्षीसँग हामी आमा छोरी २०३६ सालदेखि नै मानो छुट्टी वेगल गरी बसी आएको अवस्था हाम्रो निजी ज्ञान शिप र प्रयासबाट आर्जेको रकमबाट खरीद भई रहेको र अंशवण्डाको १८ नं. ले त्यस्तो सम्पत्ति आफूखुश गर्न पाउने भई वक्सपत्र लिनु दिनु गरेको हुँदा विपक्षीको उजुर लाग्न सक्ने अवस्था नैे नहुँदा अ.वं. ८० नं. वमोजिम खारेज गरी पाउँ । विवादित जग्गा म सुमित्रका नाममा दण्डपानी आचार्यसँगको मिति २०४०।२।४ गतेको मूल्य रु.३८,०००। को राजीनामाबाट आएको निजी आर्जनको जग्गा भएको सो राजिनामा लिंदा प्रतिवादी कोपिलाको वढी नगद रुपैया परेको प्रतिवादी कोपिलाको विवाह गरी जानुको वदला आमा र म सुमित्राको सेवा सुसारमा जीवन व्यतित गर्दै आई छोरा विपक्षीले गर्नु पर्ने सेवा सुसार छोरी कोपिलाले गरी आएकोले रिज गुण वापत हालैको वक्सपत्र गरी दिएको हुन । लेनदेनको १० नं. र दान वक्सको १ नं को सुविधा विपक्षीले पाउने अवस्था छैन । झूठा नालेशबाट फुर्सद दिलाई पाउँ भन्ने समेत सुमित्रा सर्कीनी र कोपिला सर्कीनी समेत जना दुइको संयुक्त प्रतिउत्तर पत्र ।

            ४. वादी प्रतिवादीका साक्षीहरुको वकपत्र भई मिसिल सामेल रहेछ । प्रतिवादीहरुले आफ्नो परिश्रमबाट आर्जन गरेको भन्ने कुरा पुष्टि हुने गरी साक्षीहरुले वकपत्र गरि दिएका यसरी लोग्नेको मृत्यु छोरा विदेशिएको अवस्थामा दूःख सूःख गरी खरीद गरेको भन्ने प्रतिवादीको जिकिर पुष्टि हुन जाने अवस्था देखियो । निजी आर्जनको सम्पत्तिलाई अंशवण्डाको १८ नं. ले आफूखुश गर्न पाउने कुरालाई प्रष्ट पारेको हुँदा वादी दावी नपुग्ने ठर्हछ भन्ने समेत शुरु वाग्लुङ जिल्ला अदालतको मिति २०४८।१०।२७ को फैसला ।

            ५. विवादीत जग्गा खरीद गर्दा विपक्षीहरुको परिश्रमबाट मात्र त्यतिका रुपैया जम्मा हुन सकने अवस्था नभएको मैले भारतबाट वेला वेलामा पठाएको रकम र वन्धकी थैली समेतको रकमबाट खरीद भएको जग्गा हुँदा मेरो अंश हक मेटने उद्देस्यले विपक्षीहरुले लिनु दिनु गरेको वक्सपत्र लिखत वदर हुने नठहर्‍याएको वाग्लुङ जिल्ला अदालतको फैसला गलत तर्कमा आधारीत हुँदा उक्त फैसला वदर गरी फिराद दावी वमोजिम गरी पाउँ भन्ने  समेत वादी राजेन्द्र चर्मकारको पुनरावेदन पत्र ।

            ६. २०३६ सालदेखि मानो छुट्टी वसेको भन्ने प्रतिउत्तर जिकिर भएकोमा त्यसतर्फ कानून वमोजिमको लिखत भएको नदेखिएको यस अवस्थाामा प्रतिवादी सुमित्राले लिखत वमोजिमको जग्गा मिति २०४०।२।४ मा खरीद गरेकोमा सो लिखतमा के कस्तो सम्पत्तिबाट खरीद गरेको भन्ने उल्लेख भएको नदेखिएको र निजी आर्जन भन्ने तर्फ विश्वासनीय प्रमाणिक आधार मिसिलबाट देखिन नआएको समेतबाट एका सगोलका अंशियारको नाममा रहेको सम्पत्तिमा वादीको हक नलाग्ने भन्न नमिल्ने हुँदा वादी दावी नपुग्ने ठहर्‍याएको वाग्लुङ जिल्ला अदालतको इन्साफ विचारणिय देखिंदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ वमोजिम छलफलको निमित विपक्षीहरुलाई झिकाई आएपछि वा अवधि नाघेपछि नियमानुसार गर पेश गर्नु भन्ने समेत पुनरावेदन अदालत, पोखराको आदेश

            ७. विवादित सम्पति विपक्षीहरुको निजी आर्जनको हो भनि मान्न सो सम्वन्धी ठोस सवुद विपक्षीहरुबाट पेश हुन नसकेको अवस्थामा निजी आर्जनको हो  रहेछ भनि संझन मिलेन साथै मानो छुट्टीएको लिखत प्रमाण पनि पेश भएको देखिएन । पुनरावेदक वादीले लिखत वदरमा दावी गरेतर्फ हेर्दा विवादित लिखतहरुमा केवल जग्गा ०-४-१-१ र ०-५-०-० परेको अवस्था छ । विपक्षी प्र.तिवादीले वक्सपत्र गरी दिएका साविक मुल कित्ताहरुमा क्रमशः जग्गाहरु १-२-२-१ र ०-१४-१-१ देखिन्छ । यसवाट विवादित लिखतहरुका जग्गा विपक्षी प्रतिवादीले पाउने आफ्नो अंश हकका भन्दा पनि कम देखिन्छ । अर्कोतर्फ वक्सपत्र लिखत गरी दिन लिखत गरी लिने आमा छोरी भएको अवस्था देखिएको र वादी पनि वक्सपत्र गरी दिने सुमित्राको छोरा भएको अवस्था हुँदा वक्सपत्रको लिखतको सम्पति आफ्नो परिवारभित्र नै रहेको अवस्था छ । सर्वोच्च अदालतको फुलवेन्चबाट फैसला भएको निवेदक रुकुम कुमारी सेन ठकुरी विपक्षी पूर्ण देवी ठकुरी समेत भएको निर्णय नम्वर १२४१ को लिखत वदर मुद्दामा आमा छोरी र वुहारी समेतसँग साथ भएको अवस्थामा आमाले कन्या छोरीलाई सम्पत्ति हस्तान्तरण लिखत गरेपनि वुहारीको निमित सम्पति परिवारदेखि वाहिर मान्नु पर्ने अवस्था छैन भन्ने सिद्धान्त प्रतिपादित भई रहेको अवस्था देखिन आयो ।

            ८. आमाले आफ्नो कन्या छोरीलाई आफ्नो अंश हकमा कुने जग्गा भन्दा कम जग्गाको लिखत गरी दिई परिवार भित्रै रहेको उक्त जग्गाको लिखत वदर गरी पाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर मनासिव देखिएन । लिखत वदर नगर्ने ठहर गरेको सम्म शुरु वाग्लुङ जिल्ला अदालतको फैसला मनासिव हुँदा सो हदसम्म सदर हुने ठहर्छ, भन्ने समेत पुनरावेदन अदालत, पोखराको मिति २०५०।७।२५।४ को फैसला ।

            ९. आमा सुमित्राले पाउने अंश भन्दा पनि कम देखिन्छ भन्ने हकमा सर्वोच्च अदालतबाट कैयौं अंशवण्डाको १९ नं. ले पुरुषलाई मात्र बुझाएको देखिन्छ । आमाले दिएको वक्सपत्र प्रतिपादित नजिरमा समेत उल्लेखनिय छ । तसर्थ न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को खण्ड (क) र (ख) वमोजिम मुद्दा दोहोर्‍याई पाउन निस्सा प्रदान गरी इन्साफ गरी पाउँ भन्ने समेत वादी राजेन्द्र चर्मकारको यस अदालतमा पर्न आएको निवेदन पत्र ।

            १०. यसमा वादी प्रतिवादी आमा सुमित्रा अंशयिार भएकोमा विवाद देखिंदैन । यी वादी प्रतिवादी सुमित्राका वीच अंशवण्डा भएको वा मानो छुट्टिएको प्रमाणको अभाव देखिन्छ । आमा सुमित्राले प्रतिवादी कोपिलालाई वक्सपत्र गरी दिएको जग्गा आफ्ना निजी आर्जनले किनेको पक्का सवुद प्रमाण आउन सकेको छैन । सगोलको आमाको नाममा रहेको सम्पति जग्गा अन्यथा प्रमाणित नभएसम्म सगोलकै मान्नु पर्ने अवस्था देखिंदा वादी दावी नपुग्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, पोखराको इन्साफमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) कानूनको व्याख्याको त्रुटी भएको देखिंदा दोहोर्‍याउने हेर्न निस्सा प्रदान गरिएको  छ । विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालतको मिति २०५२।५।९ गतेको आदेश ।

            ११. नियम वमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको प्रसतुत मुद्दामा निवेदन वादी र।जेन्द्र चर्मकारको तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पन्नामान तुलाधरले मेरो पक्षले भारतमा नोकरी गरी ल्याएको पैसा र घरको आम्दानीबाट किनेको सगोलको सम्पति मेरो पक्षलाई सोध्दै नसोधी प्रतिवादी आमा सुमत्रिा सर्कीनीले छोरी कोपीला सर्कीनीलाई २ कित्ताको ०-९-१-१ समेतको जग्गा वकसपत्र गरी हस्तान्तरण गरेको मुलुकी ऐन, अंशवण्डाको १९ नं. को विपरित हुँदा सो वक्सपत्र वदर हुनु पर्ने र विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडेले मेरो पक्षहरुले मेहनत मजदुरी गरी कमाएको सम्पत्तिबाट कन्या छोरीलाई दिएको वकसपत्र कानूनको हक भित्रै रहेर जग्गा हस्तान्तरण गरेको मिलेको हुँदा पुनरावेदन अदालत, पोखराको फैसला सदर हुनुपर्ने भनि गर्नु भएको वहस सुनि इजलास समक्ष पेश भएको मिसिल फायल समेत अध्ययन गरी हेर्दा प्रतिवादी मध्ये सुमित्रा सर्कीनीले आफ्नो नाममा रहेको सगोलको समपतिबाट कालिका गा.वि.स. वडा नं. १ को कि.नं. १४८को क्षेत्रफल १-२-२-१ मध्ये ०-४-१-१ को जग्गा मिति २०४८।१।१५ मा र कि.नं. ११६६ को क्षेत्रफल ०-१४-१-१ मध्ये ०-५-० को मिति २०४८।१।१७ मा २ कित्ताको जग्गा अविवाहित छोरी कोपिला सर्कीनीलाई हालैको वक्सपत्र गरी हक हस्तान्तरण गरी दिएको देखिन्छ । वादी राजेन्द चर्मकार र प्रतिवादीहरु सुमित्रा सर्किनी र कोपिला सर्किनी छोरा आमा र छोरी समेतको ३ परिवार सगोलमा रहेको र छोरी कोपीला सर्किनी अविवाहित रही आजको स्थितिमा ३५ वर्ष उमेर पुगी सकेकी र निज समेत ३ जनाको हक लाग्ने अंशियार देखिन आयो । मुलुकी ऐन, दान वक्सको १ नं. मा आफ्नो हक पुग्ने सम्पत्ति दानवक्स गरी दिन हुन्छ सो वमोजिम दान वा वक्स गरी दिंदा हकवालालाई वक्स र अरुलाई दान वा वक्स जुन व्यहोराले दिए  पनि हुन्छ । आफ्नो खुश गर्न पाउने वाहेक अरुमा अंशियार र हक पुग्नेहरुको मन्जुरीको लिखत नलिई वा साक्षी नराखी दान वक्स गरी दिन हुदैंन भन्ने कानूनी प्रावधान रहेको अवस्थामा सगोलको सम्पत्तिबाट छोरीलाई वक्सपत्र दिंदा सगोलको छोराको समेत मन्जुरी लिई वक्सपत्र गरी हक हस्तान्तरण गर्नु पर्नेमा सो वमोजिम मन्जुरी नलिई गरी दिइएको वक्सपत्रको सम्पत्तिमा ३ नै जनाको संयुक्त हक लाग्ने हुँदा सो वमोजिम ३ खण्डको १ खण्ड वक्सपत्र गरी दिएको लिखत वदर गर्नु पर्नेमा सो नगरेको हदसम्म पुनरावेदन अदालत, पोखराको फैसला त्रुटीपूर्ण हुँदा केही उल्टी हुने ठर्हछ । अरु तपसिल वमोजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए वमोजिम निवेदक वादी राजेन्द्र चर्मकार के ३ खण्डको १ खण्ड लिखत वदर हुने ठहरेकोले कि.नं १४८ को क्षेत्रफल १-२-२-१ मध्ये ०-४-१-१ र कि.नं. ११६६ को ०-१४-१-१ मध्ये ०-५-०-० जग्गाको ३ खण्डको एक खण्ड वादीका नाममा कायम गरी दिनु भनि मा.पो.का. वाग्लुङलाई लेखि पठाउन का.जि.अ.त. मा लगत दिनु ….. १

वादीले फिराद गर्दा राखेको कोर्टफि रु.१०। र पुनरावेदन गर्दा राखेको रु.१।५० यस अदालतमा राखेको कोर्ट फि रु.१।५० समेत प्रतिवादीहरुबाट भराई पाउने हुँदा यसै सरहदको जेथा देखाई ऐनका म्याद भित्र दरखास्त दिए कानून वमोजिम गरी भराई दिनु भनि का.जि. अ.त. मा लगत दिनु ……….    २

मिसिल नियम वमोजिम गरी बुझाई दिनु …… ३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र वहादुर न्यौपाने

 

इति सम्वत् २०५४ साल असार ३० गते रोज २ शुभम्