निर्णय नं. ६३५४ – लिखत दर्ता वदर
निर्णय नं.- ६३५४ ने.का.प, ०५४ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको...
निर्णय नं.- ६३५४ ने.का.प, ०५४ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
सम्वत् २०५१ सालको दे.पु.नं. …. २३८६
फैसला मितिः २०५३।११।२९।४
मुद्दा :- लिखत दर्ता वदर ।
पुनरावेदक/वादी : हरिश्चन्द्र महतो समेत जना ४ ।
विरुद्ध
प्रत्यर्थि/प्रतिवादी : जिल्ला सिरहा लक्ष्मीपुर गाउँ विकास समिति वडा नं. ३ वस्ने फुलो देवी हाल नाम कौशल्या देवी ।
§ वादीले दावी नगरेको कुराको प्रमाण वुझि यकिन गर्नु नपर्ने ।
(प्र.नं. ९)
पुनरावेदक तर्फवाटः विद्वान अधिवक्ता श्री महादेव यादव
विपक्षी तर्फवाटः
अवलम्बित नजीरः x
फैसला
न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत, जनकपुरको मिति २०५०।६।६ को फैसला उपर वादी तर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. गोखुल महतोको छोरा नभै छोरी कौशल्या देवी मात्र भएको २०३४ सालमा कौशल्या र २०३५ सालमा गोखुल महतो परलोक भए गोखुलको श्रीमती दानादेवीले हामी माथि दिनु भएको दे.नं. २६४२ को अंश मुद्दामा जि.ध. छोडमरान गा.पं. वडा नं. ५ को कि.नं. २२२ को जग्ग्गा विगाहा ०-१३-१८ मध्ये दक्षिणबाट ०-७-० जि.ध. छौडामरान गा.पं वडा नं. ४ (क) को कि.नं. २०६ को जग्गा विगाहा १-७-११ मध्ये उत्तरबाट ०-७-० र ऐ.ऐ.को कि.नं. २९५ को जग्गा विगाहा ०–१–८ समेत जम्मा विगाहा ०–१५–७ दानावतीले विक्री व्यवहार गर्न पाउने र जि.ध. छौडामरान गा.पं. वडा नं. ५ को कि.नं. २३१ को जग्गा विगाहा ०–८–६ मध्ये दक्षिण सो ०–४–३ ऐ.ऐ. वडा नं. ४ (क) को कि.नं. २५ को जग्गा विगाहा ०–९–५ मध्ये दक्षिण मश्चिम सो ०–३–१७ ऐ.ऐ. कि.नं. २०६ को जग्गा विगाहा १-७-११ मध्ये दक्षिण सो ०–६–५ र ऐ.ऐ. कि.नं. २६५ को जग्गा विगाहा ०–३–२ मध्ये उत्तर सो ०–१–११ समेत जम्मा विगाहा ०–१६–१७ विक्री व्यवहार, दानदातव्य गर्न नपाउने गरी र शेषपछि प्रतिवादीले पाउने गरी मिति २०३६।६।२६ मा मिलापत्र भएको कौशल्याको मृत्यु पश्चात निजका पति राम स्वरुपले भारत वस्ने हरिहर सिंहको पत्नी फुले देवीलाई जारी गरी ल्याई स्वास्नी वनाई राखेका दानवतीका नाममा रहेको जग्गा विगाहा ०–१५–८ कौशल्याको नाममा धनुषा मालवाट हालै देखिएको वक्सपत्र गराई लिनु भएको रहेछ पत्ता लगाउँदा फुले देवीले कौशल्यादेवी नामाकरण गरी जालप्रपन्च गरी लिखत पास गरेको हुँदा लिखत दर्तावदर गरी जग्गा दर्ता गरी पाउँ भन्ने समेतको फिराद पत्र ।
३. कौशल्या देवीको दाता आमा दाना देवीले विक्री व्यवहार गर्न पाउने जग्गाहरु, म छोरीलाई वक्सपत्र गरीदिएको हो म वक्स पाउने नै कौशल्या देवी हुँ । जि.का. सिराहाले मलाई नागरीकता दिएको छ भने विपक्षीहरुलाई कौशल्या होइन भन्न पाउने अधिकार छैन । फिराद दावी खारेज गरी पाउँ भन्ने प्रतिउत्तर पत्र ।
४. कौशल्या देवीको दानावती आफनै सहोदर छोरी नभै आफ्नो छोरी मरेपछि ज्वाईको अर्को स्वास्नी भएको नाताले छोरी स्वीकार गरेको देखिन्छ । ७५ वर्ष वृद्ध अवस्थाको दानावतीले आफ्नो जग्गा वक्सपत्र गर्दा संरक्षकको आवश्यकता परेको अवस्थामा संरक्षक हुने व्यक्ति किटानी नभएपछि त्यस्तो व्यक्ति संरक्षक भई पारित भएको सो लिखत दावी वमोजिम वदर भई वादीको नाममा दर्ता हुने ठहर्छ भन्ने समेत व्यहोराको धनुषा जिल्ला अदालतको मिति २०४७।८।१३ गतेको फैसला ।
५. आमा दानावतीले आफूखुस गर्न पाउने जग्गा मिति २०४४।१२।१७ मा वक्सपत्र गरी दिनु भएको सो व्यवहारलाई अमान्य भन्न मिल्दैन मिति २०३६।६।२६ गतेको मिलापत्रलाई मध्य नजर राखी निर्णय दिनु पर्नेमा मिसिल संलग्न प्रमाणलाई वेवास्ता गरी गरेको निर्णय अग्राहय छ । अर्को कुरा ७५ वर्षको व्यक्तिले व्यवहार गर्दा संरक्षक राख्नु पर्छ सो नराखेको भन्ने फैसलामा वर्णित छ । स्वस्थ्य व्यक्तिले व्यवहार गर्दा उमेर पुगेको सीमालाई ध्यानमा राखी संरक्षक रोहवरमा राखी लिखत गरिदिनु पर्ने वाध्यता छैन । संरक्षक रोहवरमा नराखी गरेको लिखतलाई अमान्य भन्न मिल्दैन तसर्थ जिल्ला अदालतले गरेको त्रुटीपूर्ण फैसला वदर गरी पाउँ भन्ने समेतको पुनरावेदन पत्र ।
६. प्रस्तुत मुद्दामा लिखतमा संरक्षक राखेको पाईयो । कानूनले वाध्य नगरेको कानून विरुद्ध नभएको कुनै कुरा लिखतमा उल्लेख गरेको वा साक्षी संरक्षक वसेकै आधारले त्यस्तो लिखत अमान्य भन्न सकिने अवस्था नरहेको र दानादेवीले अंश मुद्दाको मिलापत्रवाट पाएको आफूखुस गर्न पाउने जग्गा नै लिखतको व्यहोरावाट कौशल्या देवीलाई छोरीको हैसियतबाट वक्सपत्र गरी दिएको देखिंदा दानावतीले आफूखुस गर्न पाउने अवस्थामा समेत कुनै विवाद नरहेबाट शुरु जिल्ला अदालतले लिखत वदर दर्ता वदर गरी वादीका नाममा दर्ता हुने ठहर्याएको निर्णय त्रुटीपूर्ण भएकोले उक्त निर्णय उल्टी हुने ठर्हछ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत, जनकपुरको फैसला ।
७. संरक्षक राख्नु नपर्ने अवस्थामा संरक्षक राखिएको भन्ने तर्फ गर्नु पर्ने अवस्था प्रस्तुत मुद्दामा छैन कि नाम ठेगान दर्जा केही पनि ठीक नभएको कीर्ते मानिसलाई खडा गरी लेखत गराइएका हो । यो कुरा मिसिल संलग्न जिल्ला प्रशासनको पत्रबाट प्रमाणीत भएको समेत आधारमा पुनरावेदन अदालतबाट समग्र कानूनी एवं न्यायिक तथ्य तर्फ विचार नभै फैसला भएको हुँदा पुनरावेदन अदालत, जनकपुरको २०५०।६।६।४ को फैसला वदर गरी फिराद दावी अनुसार इन्साफ गरी पाउँ भनी हरिश्चन्द्र महतो कोइरी समेतले यस अदालतमा चढाएको पुनरावेदन पत्र ।
८. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री महादेव यादवले पुनरावेदन अदालतको फैसलालाई न्याय र कानून सम्मतः मान्न सकिने छैन । जहाँसम्म दाना देवीको अवस्था अ.वं.को २४ नं. वमोजिम थिएन भन्ने आधार लिएको छ त्यो पनि मिसिलमा आधारित छैन भनी गर्नु भएको वहस जिकिर समेत सुनि मिसिल अध्ययन गरी यसमा पुनरावेदन अदालत, जनकपुरको फैसला मिले नमिलको के रहेछ, सो सम्वन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
९. निर्णयतर्फ विचार गर्दा यस्मा वादी र दाना देवीको वीचमा अंश मुद्दा चलि मिति २०३६।६।२६ मा मिलापत्र भएको तथ्य्मा विवाद छैन । सो मिलापत्रमा ०–१५–८ जग्गा दानादेवीले विक्री व्यवहार समेत गर्नपाउने व्यहोरा परेको प्रमाणको अंश मुद्दाको मिसिल सामेल रहेको मिलापत्रबाट देखिन आउँछ । सो मिलापत्रले विक्री व्यवहार गर्न पाउने वाहेकको जग्गा दानादेवीले फुलो देवी भन्ने कौशल्या देवीलाई २०४४।१२।१७ मा वक्सपत्र गरी दिएको हो भन्ने वादी दावी छैन । वादीले दावी नगरेको कुराको प्रमाण बुझि यकिन गर्नु पर्ने अवस्था रहदैन । उक्त बक्स पत्र लिनु दिनु गरेको सम्वन्धलाई लिई जालसाजी कीर्ते ठगी मुद्दा यीनै वादीले निज फुलोदेवी भन्ने कौशल्या देवी समेत उपर चलाएकोमा वादी दावी नपुग्ने ठहरी २०४७।८।१३ मा शुरु जिल्ला अदालतबाट फैसला भए उपर वादीले पुनरावेदन गरेकोमा सो पुनरावेदन २०४८।१२।२ मा डिसमिस भई अन्तिम भई रहेको सम्वन्धित प्रमाण मिसिलबाट देखिन आउँछ । दावी वमोजिम लिखत दर्ता वदर हुनु पर्ने कानूनी आधार देखिन आउँदैन । तसर्थ शुरु जिल्ला अदालतको इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहर्याएको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मिलेकै देखिंदा मनासिव ठहर्छ, वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु।
उक्त रायमा म सहमत छु ।
न्या. केशव प्रसाद उपाध्याय
इति सम्वत् २०५३ साल फाल्गुण २९ गते रोज ४ शुभम्