December 16, 1996
Created by nepalarchives

निर्णय नं. ६३२३ – घर उठाई चलन

निर्णय नं. ६३२३     ने.का.प. २०५४      अङ्क २   संयुक्त इजलास माननीय न्यायाधीश श्री केदार नाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५१ सालको...

निर्णय नं. ६३२३     ने.का.प. २०५४      अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदार नाथ उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्वत् २०५१ सालको दे.पु.नं………….२०४५

निर्णय मितिः २०५३।९।१।२

 

मुद्दाः घर उठाई चलन ।

 

पुनरावेदक

वादीः जि. सप्तरी, गा.वि.स. विसहरिया, वार्ड नं. १ वस्ने देव नारायण साहु रौनियार मु.स. गर्ने निजकी श्रीमती सावित्री देवी रौनियार ।

बिरुद्ध

विपक्षी

प्रतिवादीः ऐ.ऐ. वस्ने धनाई यादव समेत जना ४ समेत ।

 

§  पुनरावेदन अदालत नियमावली, २०४९ को नियम ४२(१) मा पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुने व्यवस्था रहेको भए पनि तारेखमा वसी वारेस दिई वारेस समेतले तारेख लिई रहेकोमा वारेसले तारेख गुजारी सकेपछि उक्त नियम ४२(१) को व्यवस्था वमोजिम पुनरावेदकले नै तारेखमा नवस्न चाहेको भन्न नमिल्ने ।

§  पुनरावेदक वा विपक्षलाई प्राप्त तारेखमा वस्न नपर्ने सहुलियत निजहरुले तारेखमा वस्न पठाएको वारेसले आफूखुशी उपभोग गर्न सक्ने कानूनी आधार नभएको र निजले पाएको वारेसनामाको शर्त वमोजिम तारेखमा वसी मुद्दा पुर्पक्ष गर्ने दायित्व वारेसले पूरा नगरी तारेख गुजारेमा त्यसको परिणाम वारेसनामा दिई पठाउने पक्षले स्वतः व्यहोर्नु पर्ने ।    

 (प्र.नं. ८)

 

पुनरावेदक तर्फबाटः

विपक्षी तर्फबाटः

अवलम्वित नजिरः

 

            न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत राजविराजवाट मिति २०४९।१०।२१ मा भएको डिसमिस फैसला उपर मुलुकी ऐन, अ.वं. १७९ नं. वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छः

            २. जि. सप्तरी गा.वि.स. विषहरिया वा.नं. १ मौजेको सा.कि.नं. ६०० को ०.१.१० जग्गा विपक्षीको कि.नं ५३० को ०.२.३ जग्गामा मिसाई २०४६।१०।१५ देखि फुसको घर वनाई खिचोला गरेकोले घर उठाई चलन चलाई पाउँ भन्ने समेत फिराद पत्र ।

            ३. प्रतिवादी धनाई, मखन, जगदीश, यदु यादवले शुरु म्याद गुजारी प्रतिउत्तर नफिराई वसेको ।

            ४. मिसिल संलग्न आधार प्रमाणहरुवाट वादी दावी पुग्न सक्दैन भन्ने समेत सप्तरी जिल्ला अदालतको मिति २०४८।२।३० को फैसला ।

            ५. शुरुको फैसलामा चित्त वुझेन । फिराद दावी वमोजिम गरि पाउँ भन्ने समेत वादीको पुनरावेदन पत्र ।

            ६. पु.वे.अ.ले मिति २०४९।३।२४ को तोकि पाएको तारिख गुजारी थाम्ने थमाउने म्याद समेत गुजारी वसेको देखिंदा अ.वं. १७९ नं. वमोजिम प्रस्तुत पुनरावेदन डिसमिस हुने ठहर्छ भन्ने पु.वे.अ.को फैसला ।

            ७.    उक्त फैसलामा चित्त वुझेन । पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४२ मा तारेखमा नवसे पनि हुने भन्ने शिर्षकमा उपनियम (१) राखी पुनरावेदक वा प्रत्यर्थीले चाहेमा तारेखमा नवसे पनि हुन्छ भन्ने व्यवस्थ गरिएको हुँदा तारेख गुजारेको कारणले अ.वं. १७९क् नं. वमोजिम डिसमिस हुने ठहर्‍याएको पुनरावेदन अअदालतको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी पाउँ भन्ने समेत वादीले यस अदालतमा दिएको पुनरावेदन ।

            ८.    नियम वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको रेकर्ड मिसिल समेत अध्ययन गरी अ.वं. १७९ नं. वमोजिम डिसमिस हुने ठहर्‍याएको पुनरावेदन अदालत राजविराजको फैसला मिले नमिलेको के रहेछ भनी निर्णय तर्फ विचार गर्दा यसमा वादी देव नारायण साहु रौंनियारले पुनरावेदन अदालत राजविराजमा मिति २०४८।४।२६ मा पुनरावेदन दर्ता गरी सोही मिति देखि निज  तारेखमा वसी तारेख चल्दै गएको मिसिल संलग्न तारेख भरपाईवाट देखिन्छ । मिति २०४८।१२।१० को तारेखमा वसी मिति २०४९।३।२४ को तारेख लिई सो मितिवाट तारेख गुजारेको देखिन आउँछ । पुनरावेदन अदालत नियमावली, २०४९ को नियम ४२(१) मा पुनरावेदक वा प्रत्र्थीले चाहेमा तारेखमा नवसे पनि हुने व्यवस्था रहेको भए पनि तारेखमा वसी वारेस दिई वारेस समेतले तारेख लिई रहेकोमा वारेसले तारेख गुजारी सकेपछि उक्त नियम ४२(१) को व्यवस्था वमोजिम पुनरावेदकले नै तारेखमा नवस्न चाहेको भन्न मिल्ने देखिएन । कानूनको उक्त व्यवस्थाले तारेखमा वस्नू नवस्नू पुनरावेदक वा विपक्षको इच्छाधीन छाडेकोमा प्रस्तुत मुद्दामा पुनरावेदक तारेखमा वसेको, पछि वारेस समेत दिई पठाएको देखिंदा पुनरावेदक तारेखमा वस्न चाहेको स्पष्ट हुन्छ । त्यस्तो स्थितिमा पुनरावेदक तारेखमा नवस्न चाहेमा वारेसनामा वदर गरी पाउन र तारेखमा नवस्ने गरी मुद्दाको कारवाही किनारा गरी पाउन पुनरावेदक स्वयंले अदालतमा निवेदन दिनु पर्नेमा सो समेत गरेको देखिदैन । पुनरावेदक वा विपक्षलाई प्राप्त तारेखमा वस्न नपर्ने सहुलियत निजहरुले तारेखमा वस्न पठाएको वारेसले आफूखुशी उपभोग गर्न सक्ने कानूनी आधार नभएको र निजले पाएको वारेसनामाको शर्त वमोजिम तारेखमा वसी मुद्दा पुर्पक्ष गर्ने दायित्व वारेसले पूरा नगरी तारेख गुजारेमा त्यसको परिणाम वारेसनामा दिई पठाउने पक्षले स्वतः व्यहोर्नु पर्ने   हुन आउँछ । त्यस स्थितीमा अ.वं. १७९ नं. वमोजिम पुनरावेदन डिसमस हुने व्यवस्था रहेको र तदअनुकूल पुनरावेदन अदालत राजविराजले पुनरावेदन डिसमिस हुने ठहर्‍याएको फैसला मिलेकै हुँदा मनासिव ठहर्छ । पुनरावेदकको पुनरावदेन जिकिर पुग्न सक्दैन । पुनरावेदक वादी तारेखमा रहेको नदेखिंदा यो फैसलाको जानकारी पुनरावेदनलाई दिइ मिसिल नियमानुसार गरी वुझाई दिनु ।

 

 

उक्त रायमा म सहमत छु ।

 

न्या.उदयराज उपाध्याय

 

इति सम्वत् २०५३ साल पौष १ गते रोज २ शुभम्