May 20, 2010
Created by nepalarchives

निर्णय नं. ८३५४ – कर्तव्य ज्यान ।

निर्णय नं. ८३५४ ने.का.प २०६७ अङ्क ४   सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६२–CR–३१५८ फैसला...

निर्णय नं. ८३५४ ने.का.प २०६७ अङ्क ४

 

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री प्रेम शर्मा

माननीय न्यायाधीश श्री प्रकाश वस्ती

संवत् २०६२CR३१५८

फैसला मितिः २०६७।२।६।५

 

फैसलाः कर्तव्य ज्यान 

 

पुनरावेदक वादीः जीतबहादुर गिरी समेतको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

प्रत्यर्थी प्रतिवादीः जिल्ला कपिलवस्तु, गोटिहवा गा.वि.स. वडा नं. १ बस्ने अब्दुल अजीज मुसलमान भन्ने अजीज मुसलमान समेत

 

शुरु फैसला गर्ने :

मा.जि.न्या. श्री भीमकुमार ओझा

मा.जि.न्या. श्री फणिन्द्रदत्त शर्मा

पुनरावेदन फैसला गर्नेः

मा.न्या.श्री राजेन्द्रप्रसाद कोइराला

मा.न्या.श्री विश्वनाथ जोशी

§  कुनै कागज मृत्युकालीन घोषणा हो वा होइन निक्र्यौल गर्न घोषणाकर्तालाई आफू मृत्युको सन्निकट रहेको आभास भएकै हुनुपर्ने मानेको छ । सिद्धान्ततः आफू पक्कै मर्ने अवस्थामा पुगेको आभास घोषणाकर्तालाई भएको सम्बन्धित कागजबाट देखिएको छ भन्ने स्थापित भएपछि मात्र त्यसका अन्तरवस्तुमा प्रवेश गर्न मिल्ने 

§  मृतकको कथन मृत्युकालीन घोषणा हुनका लागि घोषणाकर्ता कति समयभित्र मर्न पर्छ भन्ने सीमारेखा तोकिएको हुँदैन । तर, सो कथन र मृतकको मृत्युका बीच मृत्युका अन्य कारण र अवस्था विद्यमान हुन भन्न नहुने 

(प्रकरण नं.४)

§  प्रमाण ऐनको दफा ११ को सीमामा परेन भन्दैमा कुनै लिखित अभिव्यक्ति प्रमाणशून्य हुँदैन । प्रमाण ऐनका अन्य कुनै व्यवस्थाअन्तर्गत त्यो प्रमाण हुन सक्दछ भने त्यसको न्यायिक मूल्याङ्कन हुन सक्ने 

§  आफूउपर घटेको घटनाका सम्बन्धमा सविस्तार व्यक्त गरी गरिदिएको कागजलाई अन्य स्वतन्त्र प्रमाणबाट खण्डित भएको अवस्था नहुँदा प्रमाण ऐनको दफा १० बमोजिम प्रमाणको रुपमा ग्राह्रो हुने 

(प्रकरण नं.५)

§  मुख्य रुपमा आफूले गरेको कार्यले पीडित मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्ने तर्फ कर्ता सचेत रहेको अवस्थामा दुर्भाग्यवस मानिसको मृत्यु भएमा त्यो भवितव्य हुने कानूनी मनसाय देखिन्छ । त्यसैले भवितव्य हत्यालाई सांयोगिक घटनाको रुपमा ग्रहण गरिन्छ । यसमा फौजदारी अपराधमा हुने आपराधिक तत्वमध्येको महत्त्वपूर्ण तत्व मनासयको अभाव रहेको हुन्छ । संयोगवस मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसायप्रेरित हत्याको रुपमा हेरिँदैन । आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान पनि यसका कर्तामा हुनुहुँदैन । ज्यान लिनेसम्मको रिसइवी पनि हुनु नहुने 

(प्रकरण नं.८)

§  आवेशप्रेरित हत्या पनि प्रतिवादीले आफूले आफैलाई नियन्त्रण गर्न नसकी तत्काल उत्पन्न कुनै कारणबाट उत्तेजित भै आफ्नो कार्यबाट हुने परिणामको ख्यालै नगरी पीडितउपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । यसमा प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात मृतकबाटै हुनुपर्दछ । यो उत्तेजना योजनाबद्ध वा पहिलेदेखि नै विद्यमान रहेको नभई तत्काल नै मृतकको व्यवहारका कारणले जन्मेको हुनुपर्ने 

§  पीडितको कारणबाट उत्पन्न हुन आवेशको अवस्था त्यो हदसम्म हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझवुझ भएको मानिस समेत सामान्य मानवीय कमजोरीका कारणबाट उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक उत्पन्न भई प्रतिवादीले त्यसको आवेशले क्षणिक रुपमा आत्मनियन्त्रण गुमाएको हुनुपर्छ । आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन घटनाको परिस्थिति तथा मानवीय संवेदनशीलता जस्ता कुरामा भर पर्ने ।

(प्रकरण नं.९)

पुनरावेदक वादी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली

प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री नरेन्द्रबहादुर के.सी.

अवलम्वित नजीरः

सम्वद्ध कानूनः

·         ज्यानसम्वन्धी महलको ६(२), १३(३), १४

·         प्रमाण ऐन, २०३१ को दफा १०, ११

 

फैसला

न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत बुटवलको मिति २०६२।१२।१५ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः

            बिहान अं. ८:०० बजेको समयमा फोहरमैला फ्याकेको रिसइवीको कारण ज्यान मार्ने मनसाय लिई सफी महमद मुसलमान, छेदीप्रसाद कुर्मी चौधरी, रामप्रसाद चौधरी, श्यामनाथ तिवारी, सई महमद मुसलमान, अब्दुल रहिमान, अब्दुल अजीज मुसलमान, अजीमुल्लाह मुसलमान, सेतु लोनिया, फारुक अहमद मुसलमान, अब्दुल कलाम मुसलमान, राजकुमार गिरी कृष्णनारायण समेतले कल्लु गिरी र हामी जाहेरवाला समेतलाई लाठी, भाला, ईटा समेतले निर्ममतापूर्वक कुटपीट गरेका र गाउँलेहरूले छुट्याई कल्लु गिरीलाई मरणासन्न अवस्थामा लुम्बिनी अञ्चल अस्पतालमा उपचारार्थ पठाएका र हामीलाई समेत घातक चोटपटक लाग्न गएकाले निजहरूलाई पक्राउ गरी ज्यान मार्ने उद्योग गरेतर्फ कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको मिति २०५४।५।१३ गतेको जीतबहादुर गिरी, रामबहादुर गिरी र मीनबहादुर गिरी समेतको जाहेरी दरखास्त 

            जिल्ला कपिलवस्तु गोटिहवा गा.वि.स. वडा नं. १ दलदलाहस्थित पूर्व रामप्रसाद श्रीवास्तव समेतको धान खेत, पश्चिम गाउँभित्रको बाटो, उत्तर गाउँभित्रको गोरेटो वाटो, दक्षिण भगौती नाउँ तथा ओमप्रकाश गिरीको घर यति चार किल्लाभित्रमा ठाउँठाउँमा रगत बगेको भन्ने समेत उल्लेख भएको मिति २०५४।५।१३ को घटनास्थल प्रकृति मुचुल्का 

२०५४।५।१२ गते विहान गा.वि.स. अध्यक्ष सन्तरी मुसलमान र वडा अध्यक्ष छेदी कुर्मीले यसलाई मारेर फ्याँकी देऊ भनी आदेश दिएपछि अजीज मुसलमान, सई मुसलमान समेतले मलाई आआफ्नो हातमा लिई आएको लाठी भाला समेतले मेरो शरीरमा प्रहार गरी म तत्काल सख्त घाइते भएँ । त्यसपछि म वेहोश भएछु मलाई लुम्बिनी अञ्चल अस्पतालमा ल्याई भर्ना गरेका रहेछन् । मिति २०५४।५।१४ गते २१:०० बजे मात्र मलाई होश आएको हो भन्ने समेत व्यहोराको (तत्काल घाइते) हाल मृतक कल्लु गिरीले २०५४।५।१४ गते होश खुल्नासाथ लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरेको कागज 

जाहेरवालाहरू र कल्लु गिरी समेतलाई हानेका, कुटेका होइनौं भन्ने प्रतिवादीहरू रामप्रसाद चौधरी, छेदीप्रसाद चौधरी, अब्दुल रहिमान र कृष्णनारायण नाऊँ समेतको इन्कारी बयान 

सफी महमद समेतका व्यक्तिले कल्लु गिरीलाई ज्यान मार्ने मनसाय लिई हानेका हुन् भन्ने समेत व्यहोराको घनश्याम गिरीको कागज 

छेदीप्रसाद चौधरी समेतले मेरो ससुरा कल्लु गिरीलाई लाठी भालाले हानि रोपी सख्त घाइते बनाएको कारण निज ससुरा कल्लु गिरीको मृत्यु भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाऊँ  भन्ने सत्यनारायणको जाहेरी 

लुम्बिनी अञ्चल अस्पतालको मुर्दाघरमा रहेको कल्लु गिरीको लासको वाँया हातको नाडीको भित्री भागमा ढाई ईञ्च लम्बाई चिरिएको घाउ भएको र १० टाँका लागेको नाडीको एङ्गलमा ३ वटा टाँका लागेको सोको नजिकै ५ टाँका लगाएको वाँया खुट्टाको साप्रादेखि पैतालासम्म सेतो वेण्डेज वाँधेको पट्टीभित्र डिला तल पैतालासम्म प्लाष्टर गरेको गोली गाँठा तल हड्डी भाँचिएको र सो ठाउँमा लागेको चोटबाट भित्र हड्डी देखिएको भन्नेसमेत व्यहोरा उल्लेख भएको मिति २०५४।५।३० को मृतक कल्लु गिरीको लास प्रकृति मुचुल्का 

२०५४।५।१२ गते सफी महमद मुसलमान समेतका मानिसहरूले ज्यान मार्ने मनसाय लिई कल्लु गिरी समेतलाई मरणासन्न हुने गरी कुटपीट गरी घाइते तुल्याएकोले निज कल्लु गिरीको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भई रहेकोमा मिति २०५४।५।३० गते २१ दिनभित्र सोही कुटपीटको कारण मृत्यु भएको हुँदा कानूनबमोजिम होस् भन्ने समेत व्यहोराको पूर्व जाहेरवाला रामचरितर गिरी र मीनबहादुर गिरीको जाहेरी दरखास्त 

२०५४।५।१२ को विहान कल्लु गिरी मेरो गोठघारीमा बसी गाँजा पिई घरतर्फ लागेकोमा सन्तरी मुसलमान र छेदीप्रसाद कुर्मी र अन्य देखे चिन्ने हाल नाम याद नभएका १२/१३ जनाले कल्लु गिरीलाई कुटपीट गरी मरणासन्न बनाउँदा अन्य २/३ जनासमेत घाइते भएका हुन् । म डरले हेर्न गइन । प्रहरीको गाडी आएपछि भागाभाग भएको हो । मिति २०५४।५।३० गते कल्लु गिरीको उपचार हुँदाहुँदै लुम्बिनी अञ्चल अस्पतालमा सोही कुटाई पिटाईको कारण मृत्यु भएको सुनेको हुँ । ज्यान मारे उपर कारवाही होस् भन्ने व्यहोराको काशीराम कुर्मीको मिति २०५४।६।१ गतेको कागज 

२०५४।५।१२ गते विहान जाहेरवालाको घर नजिकको नल पानीमा जाहेरीमा उल्लिखित प्रतिवादी छेदीप्रसाद चौधरी, सफी महमद मुसलमान, रामप्रसाद चौधरी, श्यामनाथ तिवारी, सइ महमद मुसलमान, अब्दुल रहिमान,, अब्दुल अजीज मुसलमान, अजीमुल्लाह मुसलमान, सेतु लोनिया, फारुक अहमद मुसलमान, अब्दुल कलाम मुसलमान, राजकुमार गिरी, कृष्णनारायण नाउँ समेतले लाठी भाला तथा गडासाले हानि कुटपीट गरी जाहेरवाला र कल्लु गिरी घाइते भएका हुन् । घाइतेमध्येको कल्लु गिरीको उपचार हुँदाहुँदै २०५४।५।३० गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो । प्रतिवादीहरूले ज्यानै मार्ने मनसायले कुटपीट गरेका हुन् भन्ने सर्जमिनका कैलाशनाथ तिवारी समेतको वकाई लेखाई भएको सर्जमिन मुचुल्का 

२०५४।५।१२ गते विहान काशीराम कुर्मीले गोठमा गाजा खाई कालीजीको मन्दिरतर्फ गई रहेका कल्लु गिरीलाई बाटोमा घेरा हाली सन्तरी मुसलमान, छेदीप्रसाद, अजीज मुसलमान, निरधन गिरी भन्ने राजकुमार गिरी, वक्रीको छोरा भन्ने अब्दुल कलाम, श्यामनाथ, तिवारी, सई महमद मुसलमान, अब्दुल रहिमान मुसलमान, अजीमुल्लाह मुसलमान, सेतु लोनिया, फारुक अहमद मुसलमान र कृष्णनारायण नाउ समेतले कुटपीट गरी मरणासन्न पारेका हुन् सोही कुटाई पिटाइबाट कल्लु गिरीको मृत्यु भएको भन्ने सुन्ने कारीको कागज 

रगतको संक्रमण र पेटमा आघात परेको कारण मृत्यु भएको भन्ने समेत लास जाँच गर्ने मेडिकल अफीसरहरूको वोर्डको राय भएको मिति २०५४।५।३० को कल्लु गिरीको पोष्टमार्टम रिपोर्ट 

मिति २०५४।५।१२ गते छेदीप्रसाद चौधरी समेतका प्रतिवादीहरूले कल्लु गिरीलाई हानेको कुटेकोमा सोही चोट पीडाको कारणबाट उपचार हुँदाहुँदै मुलुकी ऐन, ज्यानसम्बन्धीको ९ नं. को म्यादभित्र ऐ. ३० गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा निज कल्लु गिरीको मृत्यु भएको पुष्टि भएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. को विपरीत कसूर वारदात गरेमा ऐ. को १३(३) नं. बमोजिम उल्लिखित प्रतिवादीहरू मध्ये छेदीप्रसाद चौधरी (कुर्मी), अजीज मुसलमान, निरधिन गिरी भन्ने राजकुमार गिरी, अब्दुल कलाम मुसलमान, रामप्रसाद चौधरी कुर्मी, गुठु भन्ने श्यामनाथ तिवारी, ढोडे मुसलमान भन्ने अब्दुल रहिमान मुसलमान, अजीमुल्लाह, सेतु लोनिया, सइ महमद मुसलमान, फारुक अहमद मुसलमान, कृष्णनारायण नाउँसमेत जना १२ लाई सजाय गरी अनुसन्धानको क्रममा बुझिएका छुन्ने कोरी भन्ने सुन्ने कोरीको कागजबाट सन्तरी भन्ने सफी महमद मुसलमान वारदातस्थलमा उपस्थित भई घेरा दिने काम गरेको देखिँदा निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १७(२) नं. बमोजिम सजाय गरिपाऊँ  भन्ने अभियोग माग दावी 

२०५४।५।१२ गते विहान ६:०० वजे घरबाट हिँडी ६:३० बजे ट्युशन पढाउन गोटिहवा गा.वि.स. वडा नं. ७ बस्ने रामशंकर चौवेको घरमा गएको थिएँ । पेशाले म शिक्षक हुँ । ट्यूशन पढाएर ८:३० बजे त्यहाँबाट हिँडी ९ बजे डगरी पुगेँ । राजकुमार चौधरीसँग भेट भयो र दल बलाइको कालीचरन कोरीसँग पनि भेट भयो । त्यहाँबाट कालीचरन कोरी र म मेरो गाउँमै गयौँ । मैले कुटपीट वारदात गरेको होइन । अरु कसले कुटपीट गरे मैले देखिन म निर्दोष छु अभियोग दावीअनुसार सजाय पाउनुपर्ने होइन भन्ने समेत २०५४।६।८ मा प्रतिवादी रामप्रसाद चौधरीले अदालतमा गरेको भएको बयान 

यस जिल्लाअन्तर्गत गोवरी गा.वि.स. को सेमरी मौजामा मेरो ससुराल हो । मेरो सासू विरामी परेको खबर आएकोले २०५४।५।१० गते सो सेमरी मौजामा सासूलाई भेट्न भनी गएको थिएँ । ऐ. ११ गते त्यहाँ बसी ऐ. १२ गते घरमा फर्केको हुँ । मेरो गाँउको छोटेलाल वाँनियाको घरको सामुन्ने प्रहरीको गाडी खडा थियो ९:१० बजेको समयमा किन गाडी आएको भनी बुझ्दा जीतबहादुर र कल्लु गिरीको बीचमा खेतमा पानी चढाउने विषयमा झगडा भएको थाहा पाएँ । त्यसपछि तिमी पनि हिँड् भनी प्रहरीले गाडीमा हाली म समेत चारै जनालाई थानामा ल्याएका हुन् । मैले मारपीट गरेको होइन । अभियोगअनुसारको कसूर मैले गरेको होइन । कसरी चोट लाग्न गयो मलाई थाहा छैन । प्रहरीले मलाई नसुनाई आफै मनले लेखी सहिछाप गराएका हुन् म निर्दोष हुँदा सजाय पाउनुपर्ने होइन भन्ने प्रतिवादी ढोडे भन्ने अब्दुल रहिमान मुसलमानले २०५४।६।८ मा अदालतमा गरेको बयान 

२०५४।५।१२ गते म घरमै थिएँ मेरो बाल (कपाल) बनाउने पेशा भएकोले महमद हफिज मुसलमानको बाल बनाउँदै थिएँ । झगडा मारपीट भएको ठाउँमा म गएको थिइन । जीतबहादुर गिरी निजका भाइहरू र कल्लु गिरीको बीचमा खेतमा पानी पठाउने विषयमा झगडा भयो भन्ने सुनेको हुँ । म प्रजातन्त्र पार्टीको हुँ । जाहेरवाला कांग्रेस पार्टीको भएको र जीतबहादुर गिरीको वहिनीको विषयमा छलफल हुँदा अचानक मेरो हातबाट १०/१२ वटा गिलास फुटेको र सोही विषयमा रिसाई मलाई फसाएका हुन् । एकआपसको मारपीटबाट कल्लु गिरीको मृत्यु हुन गएको भन्ने सुनेको हुँ । प्रहरीले आफ्नै मनले लेखी सहिछाप गर भनेको हुँदा मलाई नसुनाई सही गराएका हुन् मैले अभियोगअनुसार कसूर गरेको छैन भन्ने प्रतिवादी कल्लुनारायण नाउँले २०५४।५।९ मा अदालतमा गरेको बयान 

धर्मपनिया गा.वि.स. वडा नं. ६ वर्गदवा मौजामा मेरो बहिनीको घर छ, निज विरामी भएको खबर आएकोले हेर्न भनी मेरै गाउँको अजाजीर हुसेन र म २०५४।५।११ गते मौजामा गयौं । ऐ. १२ गते त्यहाँबाट फर्की तौलिहवा आई चिया पिउन लागेको अवस्था हाम्रो गाउँको श्रीराम कोरीले हाम्रो गाउँमा झगडा भएछ भनी भन्दा सुनेको हुँ । त्यसपछि म घरतर्फ जाँदा गाउँको चौराहामा प्रहरीको गाडी खडा थियो । प्रहरीले तौलिहवा थानामा जानुपर्छ भनी मसमेत चार जनालाई लिएर आए । मैले कल्लु गिरीलाई कुटपीट गरेको होइन । जीतबहादुरको भाइ घनश्याम र मेरो भाइ मोतिलालबीच अदालतमा लेनदेन मुद्दा चलेको कारण रिसइवी लिएर मलाई फसाउन झूठ्ठा जाहेरी गरेका हुन् । जीतबहादुर, कल्लु समेत पानीको विषयमा एकापसमा झगडा मारपीट गरे भन्ने सुनेको हुँ । सोही कारण चोटपटक लागेको होला लास नदेखेको हँदा सो विषयमा मलाई थाहा छैन भन्ने प्रतिवादी छेदीप्रसाद चौधरीले २०५४।६।९ मा अदालतमा गरेको बयान 

२०५४ साल भाद्र ५/६ गतेका दिन मलाई ढाड दुख्ने गरेकाले तौलिहवा सरकारी अस्पतालमा चेक गराई डाक्टरले भारततर्फ गएर राम्ररी जाँच गराउनु होस् भनेकाले २०५४ साल भाद्र ८ गते औषधिउपचार गराउनको लागि भारत गोरखपुरमा गई जचाउँदा डाक्टरले यहीँ बसेर औषधि गराउन पर्छ भनेकाले ३ महिनासम्म औषधिउपचार गराई केही सन्चो भएकोले पौष २१ आफ्नो घरमा आएको हुँ । मैले कल्लु गिरीलाई कुटपीट गरेको होइन । जाहेरवाला जीतबहादुर गिरीलाई घडेरीको सिफारिश सम्बन्धमा प्यारे कुर्म दोहने बस्नेसँग मुद्दा थियो प्यारे कुर्मीलाई सिफारिश दिएको थिएँ सोही कारणले गर्दा जाहेरवालालाई मलाई राजनीतिक कारणले दुई पक्ष भएको कारणले मलाई कुटपीट गरेको भनी झूठ्ठा सर्जमिन गरी दिएका हुन् । म सो अवस्था घरमा नभै वाहिर थिएँ । अनिरुद्रप्रसाद, घनश्याम गिरी समेतले गरेको ठाडो कागज समेत सुने कागज गर्नेमध्ये अनिरुद्रप्रसाद उपाध्याय गा.वि.स. अध्यक्षमा मेरो विरुद्ध उठेका थिए । निज हारे मैले जितें सोही राजनीतिक कारणले गर्दा मलाई फसाउन झूठ्ठा कागज गरेका हुन् भन्ने समेत प्रतिवादी सफी महमद मुसलमानले २०५४।९।२४ मा अदालतमा गरेको बयान 

अदालतको आदेशानुसार बुझिएको जाहेरवाला मीनबहादुर गिरी, रामचरितर गिरी, जीतबहादुर गिरी सर्जमिनका मानिस ओमप्रकाश गिरी, सत्ता मुसलमान, ठाडो कागज गर्ने अनिरुद्रप्रसाद उपाध्याय, सत्यनारायण गोसाई र प्रतिवादीहरूको साक्षी नुर महमद, महमद हनिफ, राजाराम यादव, रामशंकर कोरी, रामशंकर चौवे समेतले अदालतमा गरेको बकपत्र रहेछ 

फरार रहेका प्रतिवादीहरू अजीज मुसलमान, राजकुमार गिरी, अब्दुल कलाम मुसलमान, श्यामनाथ तिवारी, अजीमुल्ला मुसलमान, सेतु लोनिया, सइ महमद मुसलमान र फरुक अहमद मुसलमानको हकमा अ.वं. १९० नं. बमोजिम मुलतवी राखिदिने ठहर्छ । मृतकको मृत्यु मुलुकी ऐन ज्यानसम्बन्धी महलको ५ नं. बमोजिम भवितव्यबाट भएको ठहर्ने र उक्त भवितव्य वारदातमा प्रतिवादीहरू रामप्रसाद चौधरी, छेदीप्रसाद चौधरी, अब्दुल रहिम मुसलमान र कृष्णनारायण नाउ समेतको संलग्नता रहेको भन्ने कुरा जाहेरवालाको जाहेरी दरखास्त, सर्जमिनका बहुसंख्यक व्यक्तिको भनाई, ठाडो कागज गर्ने व्यक्तिहरूको कागज र त्यसलाई पुष्टि हुने गरी यिनीहरूले गरिदिएको बकपत्रबाट समेत पुष्टि भएको हुँदा प्रतिवादीहरू रामप्रसाद चौधरी छेदीप्रसाद चौधरी, अब्दुल रहिम मुसलमान र कृष्णनारायण नाउलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम जनही रु. ५००।जरीवाना र २ वर्ष कैद हुने साथै प्रतिवादी सन्तरी भन्ने सफी महमद मुसलमानले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको मिति २०५६।९।५ को फैसला 

जाहेरी व्यहोरा र जाहेरवालाको बकपत्र एकआपसमा विरोधाभाषपूर्ण रहेको साथै मृतक कल्लु गिरीको मृत्यु हात खुट्टामा लागेको चोटबाट नभई पेटमा भएको संक्रमणको कारणबाट मृत्यु भएको तथ्य मिसिल संलग्न तथ्यबाट पुष्टि भइरहेको अवस्थामा मलाई सजाय गर्ने गरी भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी छेदीप्रसाद चौधरीको पुनरावेदनपत्र 

वारदात भएको समयमा हामीहरू वारदातस्थलमा नरही अन्यत्र रहेको भन्ने कुरा हाम्रा साक्षीको बकपत्र समेतबाट पुष्टि भएको साथै मृतकको मृत्यु हात खुट्टामा लागेको चोटबाट भएको नभई पेटमा भएको संक्रमणकाबाट मृत्यु भएको तथ्य फैसला स्वयंले स्वीकार गरिसकेको अवस्थामा पनि हामीलाई कैद एवं जरीवाना गर्ने गरी भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादीहरू रामप्रसाद चौधरी, अब्दुल रहिमान मुसलमान र कृष्णनारायण नाउसमेत जना ३ को संयुक्त पुनरावेदनपत्र 

पोष्टमार्टम रिपोर्ट एवं घा जाँच फारममा काटिएको घाउसहित विभिन्न चोट पटक रहेको स्पष्ट देखिएको र मृतक थला पर्नुमा काटिएको घाउमात्र नभई शरीरका अन्य चोट पटक पनि रहेको स्पष्ट देखिएको छ । प्रतिवादीहरू समेत भै मृतकलाई प्रहार गरेको र सोबाट नै थला परी उठ्न नसकी उपचार हुँदाहुँदै मृतकको मृत्यु भएको कुरा विवादरहित तरिकाबाट पुष्टि भै रहेको अवस्थामा प्रमाणको मूल्याङ्कन नै नगरी प्रतिवादीहरूलाई कम सजाय गर्ने र सफाइ दिने गरी भएको कपिलवस्तु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी अभियोगपत्र माग दावीअनुसार सजाय गरीपाऊँ भन्ने व्यहोराको वादी नेपाल सरकारको तर्फबाट परेको पुनरावेदनपत्र 

कपिलवस्तु जिल्ला अदालतको मिति २०५६।९।५ को फैसलाउपर प्रतिवादीहरू छेदीप्रसाद चौधरी र रामप्रसाद चौधरी समेत तथा वादी श्री ५ को सरकारको समेत पुनरावेदन पर्न आएको देखिएको उक्त फैसलाबमोजिम अ.वं. १९० नं. अन्तर्गत मुलतवी राखिएका प्रतिवादीहरू हाजीर हुन आएको भै त्यसतर्फ कानूनबमोजिम कारवाही किनारा गर्नुपर्नेमा उपरोक्त पुनरावेदन परी मिसिल समेत यसै अदालतमा प्राप्त भएको कारण देखाई उक्त जिल्ला अदालतले मिति २०५७।१।१९ को आदेशानुसार मुलतवी राखी पठाएको देखिन आयो । फैसलाले मुलतवी राखिएको व्यक्तिहरू मध्ये उपस्थित हुन आएका प्रतिवादीहरूको हकमा पनि कानूनबमोजिम कारवाही किनारा गर्न रोक्न नहुने र एकै मुद्दामा उपस्थित सबै प्रतिवादीहरूको हकमा एकै चोटी निर्णय गर्नुपर्ने हुँदा प्रस्तुत मुद्दाका प्रतिवादीहरू हाल शुरु जिल्ला अदालतमा उपस्थित हुन आएका प्रतिवादीहरूको हकमा त्यस अदालतबाट मुलतवी राखेकोमा सो मुल्तवीबाट जगाई कानूनबमोजिम जो जे बुझ्नुपर्छ बुझी ठहरेबमोजिम इन्साफ वोली सोउपर पुनरावेदन परे सो सहित र नपरे पुनरावेदन गर्ने अवधि नाघेपछि मिसिल यस अदालतमा पठाउनु भनी शुरु मिसिल सहित कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउने र उपरोक्तबमोजिम भै नआएसम्म यस अदालतमा परेका उक्त पुनरावेदनको आंशिक निकास दिन नमिल्ने हुनाले उपरोक्तबमोजिम शुरुबाट निर्णय भैसकेपछि जगाई कारवाही र किनारा गर्ने गरी प्रस्तुत मुद्दा अ.वं. १२ नं. बमोजिम मुलतवी राखिदिएको छ भन्ने पुनरावेदन अदालत बुटवलको मिति २०५७।१२।१३ को आदेश 

फरार रहेका प्रतिवादीहरू फारुक अहमद मुसलमान, श्यामनाथ तिवारी, अजीमुल्लाह मुसलमान, सइ महमद मुसलमानको हकमा २०५६।१०।२६ मा प्रस्तुत मुद्दा मुलतवीबाट जगाई दिएको छ भन्ने आदेश भएको 

म उपरको जाहेरी झूठ्ठा हो । वारदात भएको भनिएको २०५४।५।१२ गते म मुम्बईमा थिएँ । राजनीतिक प्रतिशोधको कारण मलाई अनाहकमा फसाएका हुन् । तसर्थ अभियोग दावीबाट फुर्सद पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी श्यामनाथ तिवारीको मिति २०५६।१०।२६ को अदालतमा भएको बयान 

वारदात मितिमा म गाउँ घरमा नभई भारतको दिल्लीमा थिएँ । जाहेरी झूठ्ठा हो राजनीतिक कारण झूठ्ठा पोल गरेका होलान् । अभियोग दावीअनुसारको कसूर नगरेको हुँदा सफाइ पाऊँ भन्नेसमेत प्रतिवादी फारुक अहमदको २०५६।१०।२६ को अदालतमा भएको बयान 

म वारदात मिति समयमा भारतको बम्बैमा थिएँ । राजनीतिक कारणले मलाई झूठ्ठा जाहेरी दिएका हुन् । मैले अपराध नगरेको हुँदा सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अजीमुल्लाह मुसलमानको अदालतमा भएको बयान 

म २०५४।१।१२ गते कानपुरमा गार्मेन्टमा सिलाइको काम गर्न गई २०५६ साल माघ २० गते मात्र घरमा आएको हुँ । पार्टीगत रिसले झूठ्ठा जाहेरी दिएका हुन् । जाहेरी झूठ्ठा हो । मैले अपराध नगरेको हुँदा सजाय हुनुपर्ने होइन । अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सइ महमद मुसलमानको अदालतमा भएको बयान 

म वारदात मिति समयमा भारतको बम्बैमा थिएँ । जाहेरी झूठ्ठा हो । राजनीतिक प्रतिशोधले मलाई फसाएका हुन् । अभियोग दावीअनुसारको कसूर नगरेको हुँदा सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी सेतु लोनियाको अदालतमा भएको बयान 

म वारदात मिति समयमा भन्दा अघि नै भारतको दिल्लीमा काम गरिवसेको थिएँ । राजनीतिक प्रतिशोध लिई मलाई फसाएका हुन् । जाहेरी झूठ्ठा हो अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको राजकुमार गिरीले अदालतमा गरेको बयान 

म २०५४।४।२ गते कामको सिलसिलामा भारतको बम्बै गई २०५६।१२।१० गते मात्र आफ्नो घर नेपालमा आएको हुँ । जाहेरी झूठ्ठा हो । राजनीतिक कारणले फसाएका हुन् । उक्त अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी अब्दुल कलाम मुसलमानको अदालतमा भएको बयान 

वारदात भएको मिति समयभन्दा अगावै म भारतको बम्बै गएको थिएँ । जाहेरीअनुसार मैले कल्लुलाई कर्तव्य गरी मारेको होइन । राजनीतिक कारण झूठ्ठा जाहेरी दिएका हुन् । मैले कुनै अपराध नगरेको हुँदा सजाय हुनपर्ने होइन भन्ने समेत व्यहोराको प्र. अब्दुल अजीज मुसलमानको अदालतमा भएको बयान 

प्रतिवादी अजीमुल्लाह मिति २०५४।३।५ गते भारतको बम्बईमा गै २०५६।१०।२६ गते घर फर्की आएका हुन् । घटना वारदात भएको समयमा यी प्रतिवादी नेपालमा थिएनन् । जाहेरी झूठ्ठा हो । प्रतिवादी निर्दोष छन् । झूठ्ठा जाहेरी मागदावीबाट फुर्सद पाउनुपर्दछ भन्नेसमेत व्यहोराको अजीमुल्लाह मुसलमानका साक्षी सई मुसलमानले गरेको बकपत्र 

यस्तै अन्य प्रतिवादीहरूका साक्षी अब्दुल हकिम मुसलमान, भेदै कुर्मी, मगरु पासी, नारद लौनिया, गफ्फार मुसलमान समेतले बकेको बकपत्र सम्बन्धित मिसिल सामेल रहेको 

अ.वं. ११५ नं. बमोजिम बुझिएका डा. बुलन्द थापा, डा. प्रायश्चित श्रेष्ठले बकेको बकपत्र सम्बन्धित मिसिल सामेल रहेको 

सरसफाईको विषयमा भनाभन भई कुट्ने व्यक्तिहरू तत्काल आवेशमा आई मृतक लगायतका व्यक्तिहरूलाई लाठा ढुङ्गा र धार नभएको हँसियाले कुटेको भन्ने मिसिल संलग्न प्रमाणबाट देखिन आएकोले ज्यानसम्बन्धी महलको १४ नं. अन्तर्गतको आवेशपूर्ण कुटपीटको चोटबाट उक्त ९ नं. को म्यादभित्र मानिस मरेको वारदात कायम हुने ठहर्छ । मृतकले मृत्युकालीन घोषणामा नाम उल्लेख गरेका प्रतिवादीहरू अब्दुल अजीज मुसलमान, अब्दुल कलाम मुसलमान र निराधिन भन्ने राजकुमार गिरी समेतले तत्काल उठेको रिस थाम्न नसकी कुटेको कुटपीटको कारणबाट ज्यानसम्बन्धी महलको ९ नं. का म्यादभित्र कल्लु गिरीको मृत्यु भएको ठहरेकाले निज प्रतिवादीहरूलाई ऐ. १४ नं. ले जनही १० वर्ष कैद हुन्छ, अन्य प्रतिवादीहरू सेतु लोनिया, सई महमद मुसलमान, अजीमुल्लाह मुसलमान, फारुक अहमद मुसलमान र श्यामनाथ तिवारीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०५९।१०।९ को फैसला 

कपिलवस्तु जिल्ला अदालतको मिति २०५६।९।५ को फैसलाउपर पर्न आएको फौ.नं. ३५८, ३५९, ३७० का पुनरावेदनहरूमा कपिलवस्तु जिल्ला अदालतबाट अन्य प्रतिवादीहरूको हकमा मुलतवी राखी शुरु मिसिल यस अदालतमा प्राप्त हुन आएकोमा यस अदालतका मिति २०५७।१२।१० गतेका आदेशले अन्य प्रतिवादीहरूको हकमा समेत निर्णय गरी पठाउनु भनी शुरु मिसिल पठाई यस अदालतमा दर्ता रहेका पुनरावेदनहरू मुलतवीमा राखिदिनु भन्ने भएका आदेशानुसार कपिलवस्तु जिल्ला अदालतबाट मिति २०५९।१०।९ मा फैसला प्राप्त हुन आएको देखिँदा मुलतवीबाट जगाई दिएको छ भन्ने पुनरावेदन अदालतको मिति २०५९।१२।१२ को आदेश 

मृतकले कागज गरेको धेरै दिनपछि मात्र निजको मृत्यु भएको साथै कागज गर्दा दर्जा पुगेको व्यक्ति रोहवरमा नवसी पियनस्तरको कर्मचारी रोहवरमा बसेको हुँदा त्यस्तो कागजलाई मृत्युकालीन घोषणा भन्न मिल्दैन । म समेतका प्रतिवादीहरू अदालतमा उपस्थित भै बयान गर्दा कसूरमा पूर्णतः इन्कार रही वास्तविक यथार्थ व्यहोराको बयान गरेको अवस्थामा प्रमाणको विश्लेषण नै नगरी वारदातको मिति र समयमा वारदात स्थलमा नरही भारतको दिल्लीमा रहेको व्यक्ति मलाई सजाय गर्ने गरी भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ पाऊँ भन्ने समेत व्यहोराको प्रतिवादी राजकुमार गिरीको पुनरावेदन पत्र 

हामी प्रतिवादीहरू अदालतमा हाजीर भै बयान गर्दा कसूरमा पूर्णतया इन्कार भै वास्तविक यथार्थ व्यहोराको बयान गरेकोमा प्रमाणको विश्लेषण नै नगरी शुरुबाट फैसला भएको छ । मृतक कल्लु गिरीले गरेको कागजमा हामी पुनरावेदकहरूको नाम नै उल्लेख नभएको र वारदातको अवस्थामा वारदातस्थलमा नभै अन्यत्रै रहेको हामी निर्दोष व्यक्तिलाई सजाय गर्ने गरी भएको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी अभियोग दावीबाट सफाइ दिलाई पाऊँ भन्नेसमेत व्यहोराको प्रतिवादी अब्दुल अजीज मुसलमान र अब्दुल कलाम मुसलमानको संयुक्त पुनरावेदन पत्र 

किटानी जाहेरी दरखास्त, घटनास्थल एवं लास जाँच मुचुल्काका प्रत्यक्षदर्शीहरूको वकाई, लेखाई मृत्युकालीन घोषणा वादीका साक्षीको वकपत्रलगायतका संकलित सबूद प्रमाणबाट प्रतिवादीहरू अजीज मुसलमान, राजकुमार गिरी, अब्दुल कलाम मुसलमान, श्यामनाथ तिवारी, अजीमल्लाह मुसलमान, सेतु लोनिया, सह महमद मुसलमान एवं फारुक अहमद मुसलमान समेतका अभियोगपत्रमा उल्लिखित व्यक्तिहरू भई एकआपसको सल्लाह र सहमतिमा मृतक कल्लु गिरीको ज्यान मारी दिने नियतबाट कुटपीट गरेको चोटले ऐनका म्यादभित्र मृत्यु भएको स्पष्ट देखिएको हुँदा शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला बदर गरी उपरोक्त प्रतिवादीहरूलाई अभियोग माग दावीबमोजिम सजाय गरी पाऊँ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारको तर्फबाट पर्न आएको पुनरावेदन पत्र 

यसमा मृतक कल्लु गिरी २०५४।५।१२ को कुटपीटको वारदातपश्चात् उपचारार्थ अस्पताल भर्ना भएको अवस्थामा २०५४।५।३० मा निजको मृत्यु भएको र पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको तथा चिकित्सकहरूले गरेको बकपत्रबाट देखिएको मृत्युको कारण उक्त मितिको कुटपीटबाट सिर्जना हुन नसक्ने देखिँदैन । यस्तो अवस्थामा उक्त मितिको वारदात पुष्टि भइरहँदा पनि जिल्ला अदालतको मिति २०५६।९।५ को फैसलाले अब्दुल अजीज समेत तीन जना प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १४ नं. अनुसार सजाय हुने ठहर्‍याएको देखिन्छ । उक्त दुबै फैसलाहरूबीच मौलिक अन्तर्विरोध र ज्यानसम्बन्धीको ५, ६ र १४ नं. को व्याख्यासम्बन्धी गम्भीर त्रुटि विद्यमान हुनुका अतिरिक्त जाहेरवालाले अदालतमा गरेको वकपत्रहरू र २०५४।५।१२ को वारदात पुष्टि हुने गरी स्व. कल्लु गिरीले गरेको कागज तथा त्यसलाई पुष्टि हुने गरी सत्यनारायण गोसाई समेतले जिल्ला अदालतमा गरेको बकपत्र समेतका प्रमाणहरूको समेत उचित मूल्याङ्कन नगरी भएको २०५६।९।५ र २०५९।१०।९ का फैसलाहरू फरक पर्नसक्ने देखिएकोले दुबै फैसलाबाट सफाइ पाएका प्रतिवादीहरूलाई झिकाउनुका साथै वादी र प्रतिवादीहरूलाई एकअर्काको पुनरावेदन बारे जानकारी दिइ कार्यसम्पन्न भई झिकाइएका प्रतिवादीहरू हाजीर भए वा अवधि नाघेपछि नियमानुसार पेश गर्नु भन्ने मिति २०६१।२।१२ को अदालतको आदेश 

वारदात प्रकृतिबाट यो यसको यस्तो चोटले यस्तो रिस उठेका कारण मारौँ भन्ने नियत समेत राखी छोडेको चोटबाट मृत्यु भएको भन्ने नभएको हुँदा अभियोग दावीअनुसार प्रतिवादीहरूले ज्यानसम्बन्धीका १३(३) नं. बमोजिम सजाय हुने कसूर गरेको देखिएन । तर वारदातमा यी प्रतिवादीहरूसमेत संलग्न रहेको देखिई रहेको अवस्था हुँदा प्रतिवादी रामप्रसाद चौधरी, छेदीप्रसाद कुर्मी, अब्दुल रहिम मुसलमान र कृष्णनारायण नाउले अनजानमा मारौँ भन्ने नियत नराखी सामान्य लात, मुक्का, लाठाले हानेको चोटका कारण बृद्ध मृतक कल्लु गिरीको मृत्यु भएको देखिँदा निजहरूलाई ज्यानसम्बन्धीका ६(२) नं. अनुसार प्रति व्यक्ति २ वर्ष कैद र रु. ५००।जरीवाना हुने र सन्तरी भन्ने सफी महमदले सफाइ पाउने ठहराएको कपिलवस्तु जिल्ला अदालतको मिति २०५६।९।५ को फैसला मिलेकै देखियो । अर्को मिति २०५९।१०।९ को फैसला मिले नमिलेको तर्फ हेर्दा यस अघि नै मृतक कल्लु गिरी भवितव्यको वारदातबाट मरेको भन्ने प्रमाणित भई रहेको स्थितिमा प्रतिवादीहरू अब्दुल अजीज मुसलमान, अब्दुल कलाम मुसलमान र राजकुमार गिरीले तत्काल उठेको रिसबाट मृतकउपर छोडेका चोटका कारण थला परी मृतकको मृत्यु भएको ठहराएको शुरु कपिलवस्तु जिल्ला अदालतको मिति २०५९।१०।९ को फैसला सो हदसम्म मिलेको नदेखिई केही उल्टी भई निज प्रतिवादीहरू अब्दुल अजीज मुसलमान, अब्दुल कलाम मुसलमान र राजकुमार गिरीलाई पनि ज्यानसम्बन्धीका ६(२) नं. अनुसार प्रति व्यक्ति २ वर्ष कैद र ५००।का दरले जरीवाना हुने समेत ठहर्छ । सबै प्रतिवादीहरूलाई अभियोग दावीअनुसार सजाय हुनुपर्छ भन्ने वादी श्री ५ को सरकारको पुनरावेदन जिकीर र कुनै सजाय नै हुनुहुँदैन भन्ने प्रतिवादीहरूको पुनरावेदन जिकीर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालत बुटवलको फैसला 

मृतक कल्लु गिरीले वारदातको २ दिनपछि अर्थात् मिति २०५६।५।१४ गते उपचारको क्रममा अस्पतालमा गरिदिएको कागजमा पनि प्रतिवादीहरूले लाठी भाला समेतले कुटपीट गरेको भनी लेखाई दिएको र ऐ. ३० गते उपचारकै क्रममा निजको अस्पतालमा नै मृत्यु भएको हुँदा निजको उक्त कागजलाई मृत्युकालीन घोषणाको रुपमा ग्रहण गरी प्रमाण ऐन, २०३१ दफा ११ बमोजिम लिई सम्पूर्ण प्रतिवादीहरूलाई दावीबमोजिम सजाय गर्नुपर्नेमा सोबमोजिम नगरी केही प्रतिवादीहरूलाई दावीभन्दा कम सजाय गर्ने र केहीलाई सफाइ दिने गरी भएको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा अभियोग दावीमुताविक नै सजाय गरिपाऊँ भन्ने वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदनपत्र 

यसमा मृतक कल्लु गिरीको मृत्यु प्रतिवादीहरूकै कुटपीटबाट ऐनको म्याद २१ दिनभित्र भएको देखिन्छ । खानेपानीको नालामा फोहोर फाली दिएको विषयमा झगडा भएको र प्रतिवादीहरूले लाठी भाला समेतले शरीरमा प्रहार गरी सख्त घाइते भएको भनी उपचारको क्रममा कल्लु गिरीले मिति २०५४।५।१४ मा कागज गरिदिएको देखिन्छ । यस्तो अवस्था देखिँदा देखिँदै प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको ६(२) नं. अनुसार भवितव्यमा सजाय गर्ने गरेको फैसला विचारणीय हुँदा प्रत्यर्थी झिकाउने भन्ने यस अदालतको मिति २०६४।१।२ को आदेश 

नियमबमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदनसहितको शुरु एवं रेकर्ड मिसिल अध्ययन गरियो । पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित महान्यायाधिवक्ताको कार्यालयका विद्वान उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवालीले मृतक कल्लु गिरीसँग प्रतिवादीहरूको खानेपानीको नालामा फोहोर फालिदिएको विषयबाट झगडा भई निजहरूले गरेको कुटपीटको कारणबाट उपचारको क्रममा ऐनका म्यादैभित्र मृत्यु भएको विवादरहित रुपमा पुष्टि भएको छ । मृतकको २०५६।५।१४ गते लुम्बिनी अञ्चल अस्पतालमा भएको कागज जुन प्रमाण ऐन, २०३१ को दफा ११ बमोजिम प्रमाणमा ग्राह्य छ सोबाट पनि प्रतिवादीकै प्रहार गरेको चोटपटकको कारणबाट मृत्यु भएको भन्ने प्रमाणित भै प्रतिवादीहरूले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिमको कसूर गरेको देखिँदा देखिँदै अभियोग दावी परिवर्तन गरी केही प्रतिवादीहरूलाई कम सजाय गर्ने र केहीलाई सफाइ दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा सो बदर गरी अभियोग दावीमुताविक नै सजाय गरी पाऊँ भनी बहस गर्नुभयो । त्यस्तै प्रत्यर्थी प्रतिवादी अजीमुल्लाह मुसलमान, कृष्णनारायण नाउ, अब्दुल रहिमान मुसलमान र रामप्रसाद चौधरीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता नरेन्द्रबहादुर के.सी.ले मृतक कल्लु गिरीको अस्पतालमा भएको कागजमा समेत प्रत्यर्थीहरूको नाम उल्लेख भएको छैन । प्रतिवादीहरू आरोपित कसूरमा इन्कार रही अदालतसमक्ष बयान गरेका छन् । जुन निजका साक्षीको बकपत्रबाट समर्थित भएको छ । सन्तरी भन्ने सफी महमद मुसलमानको मृत्यु भैसकेको अवस्था पनि छ । प्रस्तुत मुद्दामा जाहेरी दरखास्त नै विवादित रहेको अवस्था छ । तसर्थ पुनरावेदन अदालत बुटवलबाट भएको फैसला न्यायसम्मत हुँदा सदर राखी पाऊँ भनी बहस गर्नुभयो 

विद्वान कानून व्यवसायीहरूले गर्नुभएको उपरोक्त बहस सुनी प्रस्तुत मुद्दामा पुनरावेदन अदालत बुटवलले गरेको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखियो 

यसमा प्रतिवादीहरूले लाठी भाला, फर्सा, ढुंगाले हानि हात खुट्टा भाचिने गरी कल्लु गिरीलाई घाइते बनाएको हुँदा ज्यान मार्ने उद्योगमा सजाय गरी पाऊँ भनी पहिलो जाहेरी दरखास्त परेपछि घाइते कल्लु गिरीको उपचार हुँदाहुँदै २१ दिनभित्र मृत्यु भएकोले कानूनबमोजिम कारवाही गरिपाऊँ  भनी यी प्रतिवादीहरूको संलग्नता देखाई पुनः अर्को जाहेरी दरखास्त परेको छ । प्रतिवादीहरू छेदीप्रसाद चौधरी, अजीज मुसलमान, निरधिन गिरी भन्ने राजकुमार गिरी, अब्दुल कलाम मुसलमान, रामप्रसाद चौधरी कुर्मी, गठ्ठु भन्ने श्यामनाथ तिवारी, ढोडे मुसलमान भन्ने अब्दुल रहिमान मुसलमान, अजीमुल्लाह मुसलमान, सेतु लोनिया, सइ महमद मुसलमान, फारुक अहमद मुसलमान र कृष्णनारायण नाउलाई ज्यान सम्बन्धीको १ नं. विपरीतको कसूरमा ऐ. को १३(३) नं. बमोजिम सजायको लागि तथा प्र. सन्तरी भन्ने सफी महमद मुसलमानलाई ऐ. को १७(२) नं.बमोजिम सजाय गरी पाऊँ भनी अभियोगपत्र दायर भएको देखिन्छ 

प्रतिवादीहरू रामप्रसाद चौधरी, छेदीप्रसाद चौधरी, अब्दुल रहिम मुसलमान र कृष्णनारायण नाउलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम जनही रु. ५००।– (पाँच सय) जरीवाना र २ (दुई) वर्ष कैद सजाय हुने र प्रतिवादी सन्तरी भन्ने सफी महमद मुसलमानले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ, साथै प्रतिवादीहरू अजीज मुसलमान, राजकुमार गिरी, अब्दुल कलाम मुसलमान, श्यामनाथ तिवारी, अजीमुल्लाह मुसलमान, सेतु लोनिया, सई महमद मुसलमान र फारुक अहमद मुसलमान समेतका हकमा मुलतवी राखिदिने ठहर्छ भनी कपिलवस्तु जिल्ला अदालतबाट मिति २०५६।९।५ मा फैसला भएकोमा वादी नेपाल सरकार र सजाय भएको प्रतिवादीहरू समेतको पुनरावेदन परेकोमा पुनरावेदन अदालत बुटवलबाट वारेन्ट जारी भएका प्रतिवादीहरू हाजीर हुन शुरु जिल्ला अदालतमा उपस्थित भएको हुँदा मिसिल शुरु जिल्ला अदालतमा पठाई पुनरावेदन परेका मुद्दा मुलतवी राखेकोमा कपिलवस्तु जिल्ला अदालतले पछि हाजीर हुन आएका प्रतिवादीहरू अब्दुल अजीज मुसलमान, अब्दुल कलाम मुसलमान, निरधीन भन्ने राजकुमार गिरीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम जनही १० वर्ष कैद र अन्य प्रतिवादीहरू सेतु लोनिया, सइ सहमद मुसलमान, अजी मुल्लाह मुसलमान, फारुक अहमद मुसलमान र श्यामनाथ तिवारीले अभियोग मागदावीबाट सफाइ पाउने ठहराई मिति २०५९।१०।९ मा गरेको फैसला भएको पाइन्छ 

वादी नेपाल सरकारको र सजाय ठहर भएका प्रतिवादीहरूको समेतको पुनरावेदन परी पुनरावेदन अदालत बुटवलबाट मुलतवीबाट जगाई प्रतिवादी रामप्रसाद चौधरी, छेदीप्रसाद कुर्मी, अब्दुलरहिम मुसलमान, कृष्णनारायण नाउलाई ज्यानसम्बन्धीको ६(२) नं. बमोजिम २ वर्ष कैद र ५००।जरीवाना हुने र सन्तरी भन्ने सफी महमदले सफाइ पाउने ठहराएको कपिलवस्तु जिल्ला अदालतको मिति २०५६।०९।०५ को फैसला मिलेकै देखिने, प्रतिवादीहरू अब्दुल अजीज मुसलमान, अब्दुल कलाम मुसलमान र राजकुमार गिरीलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गरेको नमिलेकाले निजहरूलाई समेत ऐ. को ६(२) नं. बमोजिम २ वर्ष कैद र ५००।रुपैयाँ जरीवाना हुने र अन्य प्रतिवादीहरूलाई सफाइ दिने गरी भएको २०५९।११।९ को फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने हठर्छ भनी पुनरावेदन अदालत बुटवलबाट मिति २०६१।१२।१५ मा फैसला भएकोमा चित्त नबुझी वादी नेपाल सरकारको पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको देखियो 

२.    अव निर्णयतर्फ विचार गर्दा प्रतिवादीहरू छेदीप्रसाद चौधरी, रामप्रसाद चौधरी समेतले मिति २०५४।५।१२ गते लाठी भाला, फर्सा, ढुंगाले हानि हात खुट्टा भाची दिई कल्लु गिरीलाई घाइते बनाएको हुँदा ज्यान मार्ने उद्योगमा सजाय गरिपाऊँ भन्ने पहिलो जाहेरी दरखास्त परेपछि घाइते कल्लु गिरीको उपचार हुँदाहुँदै मिति २०५४।५।३० गते मृत्यु भएकाले प्रतिवादीहरूले कर्तव्य गरी ज्यान मारेकाले सो कार्यमा संलग्नलाई कानूनबमोजिम कारवाही गरिपाऊँ भनी पुनः जाहेरी दरखास्त पर्न आई प्रस्तुत मुद्दामा उठान भएको देखिन्छ । मृतक कल्लु गिरीको मृत्यु स्वाभाविक रुपमा वा कर्तव्य के कुन कारणबाट भएको रहेछ भन्ने सम्बन्धमा हेर्दा प्रतिवादीहरूले भाला, फर्सा, लाठी ढुंगा समेतको प्रयोग गरी कुटपीट गरेको भन्ने जाहेरी दरखास्तबाट देखिए तापनि मृतकको मृत्यु वारदातको समयमा तत्काल नभई उपचार गराउँदाको अवस्थामा झण्डै २ हप्तापछि भएको देखिन्छ । घटनास्थलमा विभिन्न ठाउँहरूमा रगत बगेको देखिएको, परेवाको गुँड (घर) भत्किएको भन्ने व्यहोराको घटनास्थल प्रकृति मुचुल्कामा देखिन्छ । मृतकको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण सम्बन्धमा बाहिरी चोटको कारण भन्ने वाक्यांश नपरी पेरिटोनाइडिस(Peritonids) र सेप्टोसेमिया (Septicaemia) भन्ने उल्लेख भएको छ । उल्लिखित चिकित्साशास्त्रको शब्दावलीको अर्थ विषयमा बुझ्दा पेटमा भएको अङ्गहरूलाई छोपेर राख्ने एउटा नेपाली कागज जस्तो पातलो झिल्लीमा कुनै किसिमको संक्रमण भएमा त्यसलाई पेरिटोनाइटिजभनिन्छ भने सेप्टोसेमियाभनेको रगतमा भएको संक्रमणलाई बुझिन्छ भनी जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तुबाट खुलाई पठाएको देखिन्छ । मृतक कल्लु गिरीलाई कुटपीटका कारणले शरीरमा लागेको चोटपटकका कारण लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि भर्ना रहेको अवस्थामा पेरिटोनाइटिज र सेप्टेसेमियाको संक्रमण भै मुलुकी ऐन ज्यानसम्बन्धीको महलले निर्धारण गरेको म्यादभित्र मृत्यु भएको देखिँदा मृतकको शरीरमा चोट पर्नेसम्मको कुटपीटको वारदातको कारणबाट मृतकको मृत्यु भएको देखिँदा मृतकको मृत्यु स्वाभाविक तवरले नभै शरीरमा लागेको चोटपटकका परिणामस्वरुप भएको पुष्टि हुन आयो । 

३.    अव वारदातमा पुनरावेदन जिकीरमा उल्लिखित प्रतिवादीहरूको संलग्नता छ, छैन र छ भने को कसको के कस्तो संलग्नता छ भनेर प्रमाणको रोहमा निरोपण गर्नुपर्ने देखिन आयो । छेदीप्रसाद चौधरीको घर नजिक मूल सडककको छेउमा भएको सार्वजनिक हेण्डपाइप (नल) नजिक छेदीप्रसाद र निजका परिवारसमेतले फोहोर मैला फाल्ने गरेको विषयमा मृतक र जाहेरवाला रामचरितर गिरी, मीनबहादुर गिरी समेतले फोहोर नगर्न सफा गर्न भनी भन्दा भनाभन भई रिसइवी लिइरहेकोमा २०५४।५।१२ गते कल्लु गिरीको जग्गाको नजिक रहेको हेण्डपाइप नजिक सई भन्ने सई महमद मुसलमानले आफ्ना साथमा आएका मानिसहरूलाई अह्राई वचन दिई निजहरूले लाठी, भाला, फर्सा समेतले कुटपीट गरी ज्यान मार्ने उद्योग गरेकोमा जाहेरी परेकोमा घाइते कल्लु गिरीको उपचार हुँदाहुँदै ऐनका म्यादभित्र मृत्यु भएकाले प्रतिवादीहरूलाई कर्तव्यमा सजाय गरिपाऊँ  भन्ने जाहेरी दरखास्तको व्यहोरा रहेको छ । ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी परी अनुसन्धान छानवीन भइरहेको अवस्थामा घाइतेको मृत्यु भै अनुसन्धान कारवाहीको मोडमा परिवर्तन आउनुलाई स्वाभाविकै मानिनुपर्ने हुन्छ । पछि परेका जाहेरीमा प्रतिवादीहरूलाई यकीन गरी पोल गरेको देखिन आएको छ 

४.    मिति २०५४।५।१२ को घटनामा घाइते कल्लु गिरीको ज्यानसम्बन्धीको ९ नं. अनुसार २१ दिनभित्र मिति २०५४।५।३० मा मृत्यु भएको कुरामा पनि विवाद रहेको देखिँदैन । मृतक कल्लु गिरीले २०५४।५।१२ गते लुम्बिनी अञ्चल अस्पतालमा भर्ना भै पूर्ण होसमा रहेको अवस्थामा मिति २०५४।५।१४ मा गरिदिएको कागजमा आफूलाई अजीज मुसलमान, निरधिन गिरी गोसाई भन्ने राजकुमार गिरी, छेदी कुर्मी र वक्रीको छोरा अब्दुल कलाम मुसलमानले आफ्नो हातमा लिई आएको भाला, लाठा, ढुंगाले प्रहार गरी सख्त घाइते बनाएको भनी किटान गरी कागज गरेको पाइन्छ । प्रस्तुत मुद्दामा मृतकको उल्लिखित कागजले के कस्तो प्रामाणिक महत्त्व राख्दछ भनी सर्वप्रथम विश्लेषण गर्नुपर्ने अवस्था छ । पुनरावेदक तर्फबाट प्रस्तुत कागजलाई मृत्युकालीन घोषणाका रुपमा प्रमाणमा ग्रहण गर्नुपर्ने जिकीर लिइएको छ भने प्रत्यर्थी प्रतिवादीहरू तर्फबाट अस्पतालको पियनको रोहवरमा भएको कागजले कुनै प्रामाणिक महत्त्व नराख्ने प्रश्न उठाइएको छ । २०५४।५।१२ को वारदातबाट घाइते भएका मृतकले २०५४।५।१४ गते अस्पतालमा होस खुल्नासाथ सो कागज गरेका छन् भने उनको मृत्यु २०५४।५।३० मा भएको छ । प्रमाण ऐन, २०३१ को दफा ११ ले कुनै कागज मृत्युकालीन घोषणा हो वा होइन निक्र्यौल गर्न घोषणाकर्तालाई आफू मृत्युको सन्निकट रहेको आभास भएकै हुनुपर्ने मानेको छ । सिद्धान्ततः आफू पक्कै मर्ने अवस्थामा पुगेको आभास घोषणाकर्तालाई भएको सम्बन्धित कागजबाट देखिएको छ भन्ने स्थापित भएपछि मात्र त्यसका अन्तरवस्तुमा प्रवेश गर्न मिल्ने हुन्छ । मर्ने बेलामा मानिसले आफ्नो ओठमा झूठोपन टांसेर आफ्ना सृष्टिकर्तासमक्ष जाँदैन भन्ने धरातलमा मृत्युकालीन घोषणाको सिद्धान्त जन्मेको छ । प्रस्तुत कागजको सूक्ष्म अध्ययन गर्दा त्यसमा घोषणाकर्तालाई आफ्नो १६ दिनपछि भएको मृत्युको आभास पाइन्न । सो कागजमा मृतकले मुख्य रुपमा आफूलाई प्रहार गर्नेहरूका सम्बन्धमा निम्न कुरा व्यक्त गरेका छन्, “छुन्ने कोरी, दुलारे लोनिया समेत भै गाँजा पिइरहेका थिए; म पनि सो ठाउँमा गै निजहरूसँगै बसी गाँजा खाई आफ्नो कुटी कालीजीको मन्दिर आउँदै थिएँ । मेरो स्थान मन्दिर नपुग्दै ऐ, गोटीहवा गा.वि.स. वडा नं. १ बस्ने अजीज मुसलमान, ईद्धी मुसलमान, निरधिन गिरी गोसाई, वक्रीको छोरा नाम थाहा नभएको केटा ऐ. वडाको वडाध्यक्ष छेदी कुर्मी समेतका व्यक्ति जम्मा थिए, मसँग कुनै प्रकारका रिसइवी थिएन । मलाई देख्नासाथ गोटीहवा गा.वि.स. का अध्यक्ष सन्तरी मुसलमान र म रहेको वडाध्यक्ष छेदी कुर्मीले यसलाई मारेर फ्याकी देऊ भनी आदेश दिएपछि माथि लेखिएका उल्लिखित व्यक्ति समेत भै आआफ्नो हातमा लिई आएका लाठी, भाला समेतले मेरो शरीरमा प्रहार गर्दा म घाइते भई वेहोश भएछु मैले केही थाहा पाइन । मृतकका यी अभिव्यक्तिले आफूमाथि भएको कुटपीटको वर्णन गर्दछ । मृत्युको निकट आफू पुगिसकेको आभास मृतकलाई भएको निष्कर्ष निकाल्ने ठाउँ यस अभिव्यक्तिले दिँदैन प्रमाण ऐन, २०३१ को दफा ११ ले स्पष्ट शब्दमा आफू मर्न लागेको अवस्थामा होस् छँदै आफ्नो मृत्युका कारणका सम्बन्धमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिन हुने व्यवस्था गरेको छ । मृतकको मर्न लागेको अवस्थाको अभिव्यक्तिलाई यस दफाअन्तर्गतको प्रमाण मानेको छ । मृतकको कथन, मृत्युकालीन घोषणा हुनका लागि घोषणाकर्ता कति समयभित्र मर्नपर्छ भन्ने सीमारेखा तोकिएको हुँदैन । तर, सो कथन र मृतकको मृत्युका बीच मृत्युका अन्य कारण र अवस्था विद्यमान हुनु भने हुँदैन । तर कागजको शब्द, रोहवरमा रहेका व्यक्तिको कथन, घाइतेको अवस्था र शवपरीक्षण प्रतिवेदनबाट देखिएको मृत्युको कारण नै कुनै पनि कथन मृत्युकालीन घोषणा हो वा होइन निरुपणका आधार हुन् । प्रस्तुत विवादमा मृतकको पेट र रगतमा भएको संक्रमणबाट मृतकको मृत्यु भएको छ । यसका अतिरिक्त कागजका शब्दावली कुटपीटको सेरोफेरोसँग सम्बन्धित छन् 

५.    मिति २०५४।५।१४ को मृतकले गरिदिएको कागजको रोहवरमा रहेका अस्पतालका पियनले अदालतमा समेत आई मृतकले होशमै प्रहारकर्ता तथा वचनदाताको नाम लिएको पुष्टि गरिदिएका छन् । यस्ता कागजमा स्वास्थ्यकर्मी वा अनुसन्धान अधिकारी नै रहनु पर्छ भन्ने कुनै कानूनी व्यवस्था छैन । सो कागजमा मृतकका आफन्तका अतिरिक्त प्रहरी समेतको उपस्थिति छ । तसर्थ सो कागजको प्रामाणिक महत्व मृत्युकालीन घोषणाका रुपमा ग्रहण हुन सक्ने वा नसक्ने भन्ने एउटा कुरा हो भने सो कागज प्रमाण हुने वा नहुने भन्ने अर्को कुरा हो । प्रमाण ऐनको दफा ११ को सीमामा परेन भन्दैमा कुनै लिखित अभिव्यक्ति प्रमाणशून्य हुँदैन । प्रमाण ऐनका अन्य कुनै व्यवस्थाअन्तर्गत त्यो प्रमाण हुन सक्दछ भने त्यसको न्यायिक मूल्याङ्कन हुन सक्दछ । यस सन्दर्भमा प्रमाण ऐन, २०३१ को दफा १० को अध्ययन आवश्यक छ । कुनै काम घटना वा अवस्थाका सम्बन्धमा कुनै व्यक्तिले मौकामा वा त्यसको तत्काल अघि वा पछि सो काम गर्ने वा थाहा पाउने व्यक्ति वा सो काम, घटना वा अवस्थाबाट पीडित भएको व्यक्तिले व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ । साथै कुनै व्यक्तिले निजको शारीरिक वा मानसिक अवस्था स्पष्ट रुपमा वोध हुने गरी त्यस्तो अवस्था कायम छँदै व्यक्त गरेको कुरा प्रमाणमा लिनुहुन्छ भनी प्रमाण ऐन, २०३१ को दफा १० ले कानूनी व्यवस्था गरेको छ । यहाँ वारदातको घटनासँग प्रत्यक्ष संलग्न रहेका पीडित मृतक कल्लु गिरीले निजको अस्पतालमा होस खुली मानसिक अवस्था ठीक रहेको अवस्थामा २०५४।५।१२ मा आफूउपर घटेको घटनाका सम्बन्धमा सविस्तार व्यक्त गरी गरिदिएको कागजलाई अन्य स्वतन्त्र प्रमाणबाट खण्डित भएको अवस्था नहुँदा प्रमाण ऐनको दफा १० बमोजिम प्रमाणको रुपमा ग्राह्रो हुने देखिन्छ 

६.    मृतकले गरेको कागजमा निजलाई प्रतिवादीहरू अजीज मुसलमान, राजकुमार गिरी र अब्दुल कलाम समेतले आफूलाई सख्त घाइते बनाएका भनी किटानी साथ उल्लेख गरेको देखिन्छ । प्रतिवादीहरू आरोपित कसूरमा इन्कार रही अदालतमा बयान गरेतापनि जाहेरीमा उल्लिखित मितिमा वारदात घटेको तथ्यलाई स्वीकार गरेको पाइन्छ । मूलतः प्रतिवादीहरूले पुनरावेदन अदालतको फैसलाउपर चित्त बुझाई बसेकाले र वादी नेपाल सरकारको पुनरावेदन जिकीरबमोजिम सजाय हुने अवस्थाको विद्यमानता रहे नरहेको तर्फ मात्र विचार गरिनुपर्ने अवस्था छ 

७.    प्रतिवादीहरू रामप्रसाद चौधरी, अब्दुल रहिम मुसलमान, कृष्णनारायण नाउ र छेदी कुर्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धीको ६(२) नं. अनुसार सजाय गरेको जिल्ला अदालतको फैसला सदर गर्ने र अब्दुल अजीज मुसलमान, अब्दुल कलाम मुसलमान र राजकुमार गिरीलाई शुरु जिल्ला अदालतले ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गरेकोमा केही उल्टी गरी निजहरूलाई समेत ज्यानसम्बन्धीको ६(२) नं. बमोजिम २ वर्ष कैद र रु. ५००।जरीवाना  हुने ठहराई अन्यलाई सफाइ दिएकोमा निजहरू अभियोग दावीबमोजिम नै सजाय हुनुपर्ने भनी वादी पक्षको पुनरावेदन जिकीर रहेकाले प्रस्तुत अवस्था ज्यान सम्बन्धी महलका ५, १३(३) र १४ नं. मध्ये कुन अवस्थाको हो र यी तीन कानूनी प्रावधानको सीमा के कति हो भन्ने कुराको निक्र्यौल हुनुपर्ने आवश्यकता छ 

८.    ज्यानसम्बन्धीको महलको ५ नं. ले भवितव्यको परिभाषा गरेको छ । उक्त कानूनी व्यवस्था हेर्दा ज्यान लिने इविलाग वा मनसाय नभई कसैले आफूले गरेको कर्तव्यबाट मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भई मानिस मर्न गएको भवितव्य ठहर्छभन्ने उल्लेख भएको पाइन्छ । उपरोक्त कानूनी व्यवस्था विश्लेषण गरी हेर्दा मानिस मार्ने मनसाय नभएको, मार्नुपर्ने इविलाग समेत नभएको र आफूले गर्ने कामले मानिस मर्ला जस्तो पनि नदेखिएको अवस्थालाई इङ्गित गरेको देखिन्छ । मुख्य रुपमा आफूले गरेको कार्यले पीडित मानिसको मृत्युको परिणाम निम्त्याउँदैन भन्नेतर्फ कर्ता सचेत रहेको अवस्थामा दुर्भाग्यवस मानिसको मृत्यु भएमा त्यो भवितव्य हुने कानूनी मनसाय देखिन्छ । त्यसैले भवितव्य हत्यालाई सांयोगिक घटनाको रुपमा ग्रहण गरिन्छ । यसमा फौजदारी अपराधमा हुने आपराधिक तत्व मध्येको महत्त्वपूर्ण तत्व मनासयको अभाव रहेको हुन्छ । संयोगवस मानिसको मृत्यु हुने हुनाले यस्तो हत्यालाई मनसायप्रेरित हत्याको रुपमा हेरिँदैन । आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान पनि यसका कर्तामा हुनुहुँदैन । ज्यान लिनेसम्मको रिसइवी पनि हुनुहुँदैन । प्रस्तुत मुद्दाको वारदात सन्दर्भमा उपरोक्त कानूनी व्यवस्थालाई समायोजन गरी हेर्दा प्रतिवादी छेदी कुर्मी समेतको मृतकसँग पूर्व रिसइवी रहेको नदेखिए पनि फोहोर फाल्ने विषयलाई लिएर भएको कुटपीटबाट घाइते कल्लु गिरीको हात र खुट्टा भाँचिनेसम्मका क्रिया भएका छन् लाठी र भाला समेत प्रयोग भएको छ । गम्भीर घाइते मृतकको उपचारको क्रममा मृत्यु भएको छ । यस्तो घटना वारदातलाई केवल सांयोगिक रुपमा घटेको मान्न मिल्दैन । तसर्थ भवितव्यको कारणबाट मृतकको मृत्यु भएको भनी मान्न मिल्ने अवस्था रहेन वारदातलाई भवितव्यतर्फ परिवर्तन गरी ज्यान सम्बन्धीको ६(२) नं. बमोजिम सजाय गरेको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण देखिन्छ 

९.    अव, आवेशप्रेरित हत्याको सम्बन्धमा हाम्रो कानूनी व्यवस्था हेर्दा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. ले व्यवस्था गरेको देखिन्छ । यसमा, “ज्यान मार्नको मनसाय रहेनछ, ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिमी हतियारले हानेको वा विष खुवाएकोमा बाहेक साधारण लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा १० वर्ष कैद गर्नुपर्छभन्ने उल्लेख भएको देखिन्छ । उल्लिखित कानूनी व्यवस्था हेर्दा तत्काल उठेको रिसबाट अभियुक्त आवेशमा आई आफूलाई आत्मनियन्त्रण गर्न नसकी अचानक, अनियन्त्रित अवस्थामा लाठा, ढुङ्गा, लात र मुक्का जस्ता सामान्य माध्यमको सहयोगले गरेको प्रहारले कसैको हत्या गर्दछ भने त्यो आवेशप्रेरित हत्या हुन आउँछ । आवेशप्रेरित हत्या पनि प्रतिवादीले आफूले आफैलाई नियन्त्रण गर्न नसकी तत्काल उत्पन्न कुनै कारणबाट उत्तेजित भै आफ्नो कार्यबाट हुने परिणामको ख्यालै नगरी पीडितउपर आक्रमण गर्दा त्यो आक्रमणको कारणबाट पीडितको मृत्यु भएको अवस्था हो । यसमा प्रतिवादीलाई उत्तेजित पार्ने काम पीडित अर्थात मृतकबाटै हुनुपर्दछ । यो उत्तेजना योजनाबद्ध वा पहिलेदेखि नै विद्यमान रहेको नभई तत्काल नै मृतकको व्यवहारका कारणले जन्मेको हुनुपर्दछ । पीडितको कारणबाट उत्पन्न हुन आवेशको अवस्था त्यो हदसम्म हुनुपर्ने मानिन्छ, जुन अवस्थामा सामान्य सुझवुझ भएको मानिस समेत सामान्य मानवीय कमजोरीका कारणबाट उत्तेजित हुन्छ र आफ्नो उत्तेजित अवस्थालाई नियन्त्रण गर्न सकिरहेको हुँदैन । यस्तो उत्तेजना पीडितको क्रियाकलापबाट अचानक उत्पन्न भई प्रतिवादीले त्यसको आवेशले क्षणिक रुपमा आत्मनियन्त्रण गुमाएको हुनुपर्छ । आत्मनियन्त्रण गुमाउने अवस्था थियो थिएन घटनाको परिस्थिति तथा मानवीय संवेदनशीलता जस्ता कुरामा भर पर्ने हुन्छ । यस्तो आवेशको अवस्था हुन प्रतिवादीले आफैले केही कुरा गरी पीडितबाट आफूलाई उत्तेजित पार्ने कार्य गरेको भन्ने हुनुहुँदैन 

१०.    प्रस्तुत मुद्दाका सन्दर्भमा हेर्दा तत्काल उठेको रिसको कारण साधारण लाठा, ढुङ्गा, लात मुक्काले प्रहार नगरी खानेपानीको नालामा फोहोर फाल्ने विषयमा झगडा भएको कारणबाट भाला समेतको घातक हतियार प्रयोग गरी कुटपीट भएको छ । मृतकको शरीरमा गम्भीर प्रकृतिका चोटहरू छन् । मृतकको सोही प्रहारका कारणबाट शरीरमा हात खुट्टा भाचिएको अवस्था छ भने मृतकको कामकारवाहीबाट प्रतिवादीहरू आवेशमा आई आत्मनियन्त्रण गुमाएको मिसिल कारणबाट नदेखिँदा उल्लिखित १४ नं. प्रस्तुत वारदातका सम्बन्धमा आकर्षित हुन सक्ने देखिन आएन 

११.    वादी नेपाल सरकारको पुनरावेदन जिकीरअनुरूप प्रतिवादीहरूको कसूर मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १ र १३(३) नं. अनुरूपको हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा ज्यानसम्बन्धी महलको १ नं. मा कानूनबमोजिम बाहेक कसैले कुनै मानिसको ज्यान मार्न, मार्न लगाउन वा मार्नाको उद्योग गर्नु हुँदैनभन्ने र ऐ. को १३(३) नं. मा लाठा, ढुङ्गा र साधारण सानातिना हातहतियारले कुटी हानि रोपी घोची वा अरु ज्यानै मर्ने गैह्र कुरा गरी ज्यान मरेमा एकैजनाले मात्र सो काम गरी ज्यान मरेमा सोही एकजना र धेरैजनाको हुल भई मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वस्वसहित जन्मकैद गर्नुपर्छभन्ने उल्लेख भएको पाइन्छ 

१२.   उल्लिखित कानूनी व्यवस्था हेर्दा १ नं. विपरीतको कसूरमा १३(३) नं. अनुरूपको सजाय हुन ज्यान मार्ने र मर्ने कुरा गरेको हुनपर्ने भन्ने देखिँदा प्रतिवादी मानसिक रुपमै ज्यान मार्ने नियतले अग्रसर भएको हुनपर्ने कुरालाई जोड दिएको हुँदा मनसाय तत्वको प्रमुख स्थान रहेको देखिन्छ । यद्यपि हाम्रो कानूनी व्यवस्थाले मनसायपूर्वक गरिने हत्याका सम्बन्धमा स्पष्ट रुपमा परिभाषा नगरेपनि कानूनले वर्जित गरेको मानिस मार्ने कार्य गर्न नहुने भनी निषेधात्मक दृष्टिकोण अपनाएको पाइन्छ । फौजदारी विधिशास्त्रमा मनसाय प्रेरित हत्या हुन प्रतिवादीले मार्ने मनसाय राखेको हुनैपर्ने, मार्नुपर्ने खास उद्देश्य भै त्यसको लागि तयारी र योजना जस्ता कुराहरू रहनुपर्ने मानिए पनि सबै परिस्थितिमा सबै मनसायप्रेरित हत्यामा योजना र तयारी हुनैपर्छ भन्ने अवस्था पनि रहन्न । तथापि प्रतिवादीमा आफूले गरेको कार्यले मानिसको मृत्युको परिणाम निस्कन्छ भन्ने ज्ञान भई त्यो परिणामको पूर्वानुमान लगाएको साथै त्यो परिणाम निस्कियोस् भन्ने ईच्छा राखेको भने हुन्छ 

१३.   मनसायप्रेरित हत्यामा मार्नेसम्मको क्रिया गरी गम्भीर घाइते बनाएको र त्यसैको पीडाले मृत्यु भएको अवस्था समेतलाई समेट्ने कुरा फौजदारी न्याय प्रणालीमा स्वीकार गरिँदै आएको छ । मुलुकी ऐन ज्यान सम्बन्धी महलको ९ नं. मा ज्यान मार्नको लागि कुनै अंग भाच्ने छिन्ने गरी हाने कुटेमा वाहेक मारौं भनी ग्रैह्र मर्ने कुरा गर्दा उसैबखत ज्यान नमरी त्यही मारौं भनी गरेको चोट पीरले उठ्न नसकी थला परी २१ दिनभित्र, अरु सास्ती सासना जोरजुलुम गरेमा ३ दिनभित्र र विष गैह्र खुवाएमा ७ दिनभित्र मर्‍यो भने ज्यानमारा ठहर्छ”  भन्ने व्यवस्था रहेको पाइन्छ । उपरोक्त कानूनी व्यवस्थाअनुरूपको समयभित्र पीडितको मृत्यु भएमा त्यसको दायित्व पीडकउपर नै रहने निर्विवाद रहेको देखिन्छ 

१४.   प्रस्तुत मुद्दाका सन्दर्भमा उल्लिखित कानूनी व्यवस्थालाई दाँजेर हेर्दा प्रतिवादी छेदीप्रसाद कुर्मी समेतसँग फोहोर फाल्ने विषयलाई लिएर भएको झगडामा कुटपीट हुँदाका बखत मृतक कल्लु गिरी सख्त घाइते भई उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा भर्ना भएकोमा ज्यानसम्बन्धीको ९ नं. को २१ दिनको अवधिभित्र निजको मृत्यु भएकोमा विवाद छैन । मृतक कल्लु गिरीले अस्पतालमा होस् खुलेपछि गरिदिएको कागजमा प्रतिवादीहरू छेदीप्रसाद चौधरी, अजीज मुलसमान, निरधीन गिरी भन्ने राजकुमार गिरी र अब्दुल कलाम मुसलमानले आफूलाई कुटपीट गरी घाइते तुल्याएको भनी स्पष्ट रुपमा किटान गरी कागज गरिदिएको देखिन्छ । मृतकको पोष्टमार्टम रिपोर्टबाट समेत रगतमा भएको संक्रमणका कारण समेतबाट मृत्यु भएको भन्ने उल्लेख भएको र सोको जरिया प्रतिवादीहरूले गरेको कुटपीट बाहेक अरु केही हो भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट देखिएको छैन । प्रमाण ऐनको दफा १० अनुसार प्रमाणमा ग्राह्य मृतकको अस्पतालमा सम्पन्न कागजलाई जाहेरी, सरजमीन, प्रत्यक्षदर्शी समेतका प्रमाणले पुष्टि गरेको छ छैन भन्ने निरोपण यस मुद्दामा अर्को महत्वपूर्ण पक्ष हो । प्रमाण ऐन, २०३१ को दफा १० अन्तर्गतका अभिव्यक्तिको पुष्टि सहप्रमाणबाट हुन आवश्यक छ । मृतकले भनी दिँदैमा त्यसैलाई एक मात्र आधार मानी न्यायिक निष्कर्ष निकाल्न मिल्दैन । कल्लु गिरीले मौकामा व्यक्त गरेको कागजमा नाम उल्लेख गरेका व्यक्तिहरूको सम्बन्धमा सहप्रमाण तथा अन्य कानूनी आधारमा पुष्टि हुने वा नहुनेतर्फ विचार गर्नुपर्ने अवस्था आईपरेको छ । मृतकले बचनदाता भनी चित्रण गरेका प्रतिवादी सन्तरी भन्ने सफी महमद मुसलमानलाई ज्यान सम्बन्धीको १७(२) नं. बमोजिमको सजाय गरी पाऊँ भन्ने अभियोग मागदावी रहेको देखिन्छ । मृतकलाई मार्ने कार्यमा यी प्रतिवादीले घेरा दिने, बाटो गौंडा छेक्ने वा भाग्न उम्कन नपाउने समेत गैह्र काम गरी मार्ने संयोग पारिदिई सहयोग गरेको भन्ने सहअभियुक्तको पोल रहेको छैन । दावीकर्ताले नै ज्यान सम्बन्धीको १७(२) को सजाय गरेकोमा १३(४) नं. अनुसार दावी कायम गरी सजाय गर्न मिलेन । साथै कसूरमा इन्कार रही बयान गरेका देखिँदा निजलाई सफाइ दिने गरी गरेको पुनरावेदन अदालतको फैसलालाई अन्यथा मान्न मिल्ने भएन 

१५.   मृतकको मौकामा व्यक्त गरेको कुरा अभिलिखित कागजमा नाम उल्लेख भएको इद्दी मुसलमान को हुन् भन्ने अनुसन्धानकर्ताले खोजबीन नगरेको यस नामको व्यक्ति प्रतिवादी कायम पनि नभएको र यो कसैको उपनाम भए सोको हो मिसिल संलग्न प्रमाणबाट पुष्टि समेत नभएबाट सो तर्फ सोच्न परेन । प्रतिवादीहरूमध्येका छेदीप्रसाद चौधरी (कुर्मी), अजीज मुलसमान, निरधीन गिरी भन्ने राजकुमार गिरी र वक्रीको छोरा अब्दुल कलाम मुसलमानको नाम मृतकले मौकामा व्यक्त गरेको कागजमा खुलेको र सहप्रमाणबाट पनि पुष्टि भएबाट ज्यानसम्बन्धीको १ र १३(३) नं. बमोजिमको कसूर गरी मृतक कल्लु गिरीलाई मारेको देखिँदा निजहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्नुपर्नेमा ऐ को ६(२) नं. बमोजिम सजाय गर्ने गरेको पुनरावेदन अदालत वुटवलको मिति २०६१।१२।१५ को फैसला सो हदसम्म मिलेको नदेखिँदा उल्टी हुने ठहर्छ त्यसो हुँदा उल्लिखित प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिमको सजाय हुने ठहर्छ 

१६.    पुनरावेदन अदालतबाट समेत मुलुकी ऐन ज्यानसम्बन्धीको ६(२) नं. बमोजिम सजाय भएका प्रतिवादीहरू रामप्रसाद चौधरी, अब्दुल रहिम मुसलमान र कृष्ण नारायण नाउका हकमा निजहरूले पुनरावेदन अदालत बुटवलले सजाय गरे उपर चित्त बुझाई पुनरावेदन नगरी बसेको देखियो । यी प्रतिवादीहरूले अभियोग दावी मुताविक ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ  भन्ने वादीको पुनरावेदन जिकीर मिसिल संलग्न मृतकको कागज समेतका कागजहरूबाट पुष्टि हुन नआएकाले निजहरूका हकमा अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्ने देखिएन 

१७.   पुनरावेदन अदालतबाट समेत सफाइ पाएका प्रतिवादीहरू सन्तरी भन्ने सफी मुसलमान, सेतु लोनिया, श्यामनाथ तिवारी, सई महमद मुसलमान, फारुक अहमद मुसलमान, अजीमुल्लाह मुसलमानका हकमा अभियोग दावीबमोजिम सजाय हुनुपर्ने भन्ने पुनरावेदन जिकीर सम्बन्धमा विचार गर्दा सजाय ठहर भएका अन्य प्रतिवादीहरूले निजहरूलाई पोल गरी बयान गरेका छैनन् । मृतक कल्लु गिरीको २०५४।५।१४ गरेको कागजमा समेत यी प्रतिवादीहरू आफूलाई कुटपीट गर्न संलग्न रहेको भनी किटान नगरेबाट उक्त वारदातमा यिनीहरूको संलग्नता रहेछ भन्ने देखिन आउँदैन । आरोपित कसूरमा पूर्ण इन्कार रही प्रतिवादीहरूले बयान गरेका र वारदातमा संलग्न रहेको भन्ने कुरालाई पुष्टि गर्ने ठोस सबूद प्रमाण प्रस्तुत गरी वादी पक्षले अभियोग पुष्टि गर्न नसकेको हुँदा उल्लिखित प्रतिवादीहरूलाई अभियोगबाट सफाइ दिने गरेको पुनरावेदन अदालतको फैसला अन्यथा नदेखिँदा अभियोग दावीबमोजिम सजाय गरिपाऊँ भन्ने पुनरावेदन जिकीरसँग सहमत हुन सक्ने अवस्था रहेन 

१८.   खानेपानीको नालामा फोहोर फालेको विषयमा भएको कुटपीटको वारदातबाट मृतकको मृत्यु हुन गएको देखिन्छ । मृतक र प्रतिवादीहरूबीच पूर्व रिसइवी रहेको भन्ने स्वयं मृतकले गरेको कागजबाट पनि देखिँदैन । गाउँघरमा कुलो पानी फोहरमैला फाल्ने विषयका सम्बन्धमा झै झगडा बारम्बार भइरहने र प्रस्तुत वारदातमा फोहोर फाल्ने विषयलाई लिएर प्रतिवादी समूह तथा मृतक तथा जाहेरवाला समूहबीच विवाद भै सोही विषयको जरीयाबाट हुलमुलमा हुन गएको कुटपीटबाट  मृतक कल्लु गिरीको १९ दिनपछि पेट र रगतमा भएको संक्रमणबाट मृत्यु भएको देखिँदा वारदात हुँदाको अवस्था मृत्युको कारण र झगडाको विषयवस्तुलाई समेत विचार गर्दा प्रतिवादीहरू अब्दुल अजीज मुसलमान भन्ने अजीज मुसलमान, निरधिन गिरी भन्ने राजकुमार गिरी, छेदी कुर्मी भन्ने छेदीप्रसाद चौधरी, वक्रीको छोरा अब्दुल कलाम मुसलमानलाई मुलुकी ऐन अ.वं. १३(३) नं. बमोजिम २० वर्षको कैद सजाय गर्दा चर्को पर्ने देखिन जाँदा मुलुकी ऐन, अ.वं. १८८ नं. बमोजिम ५ (पाँच) वर्ष कैद सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरूको हकमा पुनरावेदन अदालत बुटवलको फैसला सदर हुने ठहरेको हुँदा वादी नेपाल सरकारको पुनरावेदन जिकीर पुग्न सक्दैन । अरुमा तपसील बमोजिम गर्नू 

 

तपसील

 

पुनरावेदन अदालत बुटवलको फैसला केही उल्टी भै प्रतिवादीहरू छेदी कुर्मी भन्ने छेदीप्रसाद चौधरी, अजीज मुसलमान, निरधिन गिरी गोसाई भन्ने राजकुमार गिरी र वक्रीको छोरा अब्दुल कलाम मुसलमानलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैदको सजाय भै मुलुकी ऐन अ.वं. १८८ नं. बमोजिम ५ वर्ष कैद सजाय हुने ठहर भएकाले छेदीप्रसाद कुर्मी मुद्दा पुर्पक्षका सिलसिलामा २०५४।५।१४ देखि २०५६।९।५ सम्म थुनामा बसेकाले उक्त अवधि कटाई वाँकी हुन आउने अवधि र अन्य प्रतिवादीहरू अजीज मुसलमान, राजकुमार गिरी, अब्दुल कलाम मुसलमानको हकमा ५ वर्षको कैद लगत कसी निजहरू वेरुजु हुँदा असूल गर्नु भनी शुरु कपिलवस्तु जिल्ला अदालतमा लेखी पठाउनू –––१    

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनू –––

 

उक्त रायमा म सहमत छु 

 

न्या.प्रेम शर्मा

 

इति संवत् २०६७ साल जेठ ६ गते रोज ५ शुभम् ––

 

इजलाश अधिकृतः गायत्रीप्रसाद रेग्मी