July 6, 2010
Created by nepalarchives

निर्णय नं. ८४०८ – उत्प्रेषण समेत

निर्णय नं.८४०८ ने.का.प २०६७ अङ्क ७   सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६२ सालको...

निर्णय नं.८४०८ ने.का.प २०६७ अङ्क ७

 

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ

माननीय न्यायाधीश श्री सुशीला कार्की

संवत् २०६२ सालको रि.नं.३०१४

आदेश मितिः २०६७।३।२२।३

विषयःउत्प्रेषण समेत 

 

      निवेदकः सुनसरी जिल्ला धरान नगरपालिका वडा नं. १४ घर भै हाल महेन्द्र संस्कृत    विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठमा उपप्रध्यापक पदमा कार्यरत लक्ष्मीप्रसाद   पराजुली

बिरुद्ध

      विपक्षीः महेन्द्र संस्कृत विश्वविद्यालय, बेलझुण्डी दाङ समेत

 

§  आँफैले पेश गरेको आवेदन फाराम रीतपूर्वकको भएको र प्राध्यापन गरेको अनुभव १० वर्षभन्दा वढी नै भएको भनी लिखित जवाफ व्यहोरामा उल्लेख गरेतापनि निवेदकले मूल दावी लिएको विज्ञापनमा उल्लिखित न्यूनतम् योग्यता महेन्द्र संस्कृत विश्वविद्यालयमा नै १० वर्षसम्म पढाएको हुनुपर्ने हकमा विपक्षीले उपप्राध्यापक पदमा रही सम्वद्ध विषय पढाएको अवधि (१० वर्ष) पूरा भएको भन्ने तथ्य प्रमाणले पुष्टि पेश गरेको आवेदन फारामको प्रतिलिपि नहुनुका साथै निजको उपप्राध्यापक पदको स्थायी नियुक्ति २०५२ साल उल्लेख भएको अवस्थामा सो मितिदेखि विज्ञापन प्रकाशित मितिसम्म दश वर्ष सेवा अवधि पुगेको मान्न नमिल्ने 

(प्रकरण नं.४)

§  सहप्राध्यापक पदमा बढुवा पाउने स्थिति स्पष्ट देखिएको विद्यमान अवस्थामा विश्वविद्यालयले विज्ञापन प्रकाशित गर्दा आफैले उक्त सूचनामा उल्लिखित न्यूनतम योग्यताको आधारभन्दा भिन्न प्रकारबाट उम्मेदवार चयन गरी नेपाली विषयको योग्यताक्रमअनुसारको सहप्राध्यापक पदका उम्मेद्वारको हकमासम्म महेन्द्र संस्कृत विश्वविद्यालय कार्यकारी परिषद्को २०६२।५।१३, १६ र १९ गते समेतको निर्णय एवं सो निर्णयअनुसार शिक्षक छनौट समितिको कार्यालयद्वारा प्रकाशित सूचना कानूनसम्मत नदेखिने 

(प्रकरण नं.६)

 

निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ता श्री युवराज कोइराला

विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री मदन पोखरेल

अवलम्बित नजीरः

सम्वद्ध कानूनः

·         महेन्द्र संस्कृत विश्वविद्यालय छनौट समितिको कार्यविधि सम्बन्धी विनियम, २०४७ को परिच्छेद १२ को विनियम १२.१०.६

 

आदेश

न्या.सुशीला कार्कीः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः

निवेदक महेन्द्र संस्कृत विश्वविद्यालयको २०४७।३।३१ को पत्रानुसार विश्वविद्यालयमा स्थायी रुपमा २०४७।४।१ देखि कार्यरत छु । सो भन्दा अघि २०४३।५।२४ देखि २०४७।३।३१ सम्म त्रि.वि.वि.शिक्षा शास्त्र संकाय अन्तर्गत नेपाली विषयको सहायक प्रध्यापक पदमा कार्यरत रहेको समेतबाट सेवा अवधि हालसम्म १८ वर्ष भएको छ 

महेन्द्र संस्कृत विश्वविद्यालयमा कार्यरत रहेकै अवस्थामा विश्वविद्यालयको वि.नं. ३।०५५।५६ मिति २०५५।९।३० मा आन्तरिक प्रतियोगिताद्वारा प्राध्यापक एवं सहप्राध्यापक पदमा स्थायी पदपूर्ति गर्ने वारेको सूचना प्रकाशित भएकोमा उक्त सूचनामा सहप्राध्यापक पदको आवदेन फर्ममा आवश्यक न्यूनतम योग्यता महेन्द्र संस्कृत विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्वद्ध विषयमा प्रथम श्रेणीमा आचार्य वा सो सरहको परीक्षा उत्तीर्ण गरी यस विश्वविद्यालयमा कम्तिमा दश वर्ष सम्वद्ध विषय पढाएको अनुभवको साथै स्थायी उपप्राध्यापकमा कार्यरत भन्ने उल्लेख भएको कारण देखाई महेन्द्र संस्कृत विश्वविद्यालयमा तत्काल १० वर्षसम्म अध्यापन गरेको योग्यता नभएको हुँदा यो नियम विश्वविद्यालयबाट सबैका लागि समान ढंगबाट लागू हुने नै हुँदा चित्त बुझाई बसेको थिएँ 

यसै विश्वविद्यालयको शिक्षक छनौट समितिद्वारा प्रकाशित वि.नं. १।०६०।६१ मिति २०६०।८।२३ मा प्रकाशित आन्तरिक प्रतियोगिताद्वारा सहप्राध्यापक पदमा स्थायी पदपूर्तिको सूचनाअनुसार सहप्राध्यापक पदको आवेदन बुझाउने अन्तिम म्यादसम्म १४ वर्ष ५ महिना मेरो उपप्राध्यापक पदमा निरन्तर रुपमा प्राध्यापन गरेको तथ्य निर्विवाद छ । साथै नेपाली विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेको छु । उक्त विज्ञापन नं. १ को ३५ दिने सूचनाअनुसार सहप्राध्यापक पदमा आवेदन फाराम भरी अन्तर्वातामा समेत सामेल भएकोमा नेपाली विषयको सहप्राध्यापक पदमा सफल उम्मेदवार भनी २०६१।५।२ मा विपक्षी ध्रुवप्रसाद भट्टराईको नाम प्रकाशित भएको रहेछ 

उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को २०५५।९।२७ को निर्णय र सो अनुसार प्रकाशित विज्ञापन नं. १ को २०६०।८।२३ को सूचनाअनुसार विपक्षी ध्रुवप्रसाद भट्टराईको २०५२।९।२६ मा उपप्राध्यापक पदमा नियुक्ति भएको कारणले न्यूनतम योग्यता अर्थात् फर्म भर्ने मितिसम्म यस विश्वविद्यालयमा दश वर्ष अध्यापन गरेको अनुभव पूरा भएको छैन । कार्यकारी परिषद्को निर्णय एवं प्रकाशित सूचनामा उल्लिखित न्यूनतम शैक्षिक योग्यता महेन्द्र संस्कृत विश्वविद्यालय वा सम्वद्ध विषयमा प्रथम श्रेणीमा आचार्य वा स्नातकोत्तर परीक्षा उत्तिर्ण गरी विश्वविद्यालयमा कम्तिमा दश वर्ष सम्वद्ध विषय पढाएको अनुभव साथै स्थायी उपप्राध्यापक पदमा कार्यरत भन्ने व्यवस्था विपरीत हुने गरी सफल उम्मेदवार भनी ध्रुवप्रसाद भट्टराईको नाम प्रकाशित भएको जानकारी पाउनासाथ सो बदरको माग गरी महेन्द्र संस्कृत विश्वविद्यालयको नियमावली, २०४४ को परिच्छेद १३ अनुसार गठन हुने पुनरावेदन आयोग गठन गर्न २०६१।५।२० मा उजूरी दर्ता गरेको थिएं । सो उजूरीको आधारलाई कार्यकारी परिषद्ले स्वीकार गरी अन्य विज्ञापन अनुसार सफल उम्मेदवारहरू मध्ये नेपाली विषय बाहेकका अन्य उम्मेदवारलाई तत्कालै नियुक्ति दिएको र ध्रुवप्रसाद भट्टराईलाई नियुक्ति दिएको थिएन 

सो उजूरीको बारेमा भएको कारवाहीको विषयमा पटक पटक निवेदन दिंदा जानकारी नदिएको कारण पुनः विश्वविद्यालय प्रशासनमा २०६२।९।१० मा बुझ्दा ध्रुवप्रसाद भट्टराईलाई सहप्राध्यापकमा नियुक्ति दिइसकेको छ, तपाईको उजूरीउपर कुनै कारवाही हुँदैन भनेकोले मौखिक रुपमा जिज्ञासा राख्दा २०६२।५।१३, १६ र १९ गते बसेको कार्यकारी परिषद्को निर्णयले २०६१।५।२ देखि लागू हुने गरी विपक्षीलाई नियुक्ति दिएको भन्ने मौखिक जानकारी दिइयो । विज्ञापित पदमा अयोग्य ध्रुवप्रसाद भट्टराईको आवेदन फाराम स्वीकार गरी अन्र्तर्वातामा सामेल गराई नियुक्ति दिनेसम्मका कार्य कानूनविपरीत गरिएका छन् 

विज्ञापित सहप्राध्यापक पदमा बढुवा हुनुपर्ने स्पष्ट अवस्थाको विद्यमानता हुँदाहुँदै योग्यता नपुगेका व्यक्तिको आवेदन फाराम स्वीकृत गरी सहप्राध्यापक पदमा बढुवा गरी पदस्थापना गर्ने विपक्षीहरूको गैरकानूनी कार्यले निवेदकको महेन्द्र संस्कृत विश्वविद्यालय नियमावली, २०४४ को परिच्छेद १३ बमोजिम कानूनी हक एवं संविधानद्वारा प्राप्त मौलिक हक समेतको हनन् भएको स्थिति छ 

महेन्द्र संस्कृत विश्वविद्यालय शिक्षक छनौट समितिले आफैले प्रकाशित गरेको सूचना एवं कार्यकारी परिषद्को २०५५।९।२७ को निर्णय विपरीत तथा प्रकाशित विज्ञापन अनुसार न्यूनतम योग्यता नै नपुगेको विपक्षी ध्रुवप्रसाद भट्टराईको सहप्राध्यापक पदमा आवेदन स्वीकृत गरी अन्तर्वातामा सामेल गराई विपक्षी बढुवा समितिले गरेको निर्णय र सो निर्णयलाई कायम गरी निवेदकले दिएको उजूरी उपर कुनै सुनुवाई नै नगरी २०६२।५।१३,१६ र १९ गतेसम्म बसेको कार्यकारी परिषद्को बैठकले विपक्षीलाई नियुक्ति दिने गरी भएको काम कारवाही, पदस्थापन लगायत सोसँग सम्बन्धित सम्पूर्ण काम कारवाही एवं निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी उल्लिखित विज्ञापनअनुसारको सह प्राध्यापक पदमा शुरु मितिदेखि अर्थात २०६१।५।२ गते लागू हुने गरी निवेदकलाई बढुवा नियुक्ति दिनु भन्ने परमादेशको आदेश समेत जारी गरिपाऊँ भन्ने रिट निवेदनपत्र 

यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश प्राप्त भएको मितिले बाटाको म्याद वाहेक १५ दिन भित्र सम्बन्धित मिसिल साथ राखी महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पठाउनु भनी रिट निवेदनको एक प्रति नक्कल समेत साथै राखी विपक्षीहरूलाई सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने २०६२।९।२१ को यस अदालतको आदेश 

महेन्द्र संस्कृत विश्वविद्यालय, शिक्षक छनौट समितिले २०६०।८।२३ मा विभिन्न विषयहरूका साथै नेपाली विषयको सहप्राध्यापक पदमा आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भनी पदसंख्या १ का लागि विज्ञापन नं. १।०६०।६१ को सूचना प्रकाशित गरी प्राप्त हुन आएका दरखास्तउपर छानबीन गरी नेपाली विषयतर्फ निवेदक समेतका ६ जना उम्मेदवारबाट दरखास्त स्वीकृत भएको सूचना २०६१।२।१३ मा प्रकाशित भएको थियो । २०६१।२।१५ को अन्तर्वाताको लागि सूचना प्रकाशित भै निवेदक समेत सहभागी भै २०६१।५।२ मा प्रकाशित परिणाममा आफू अनुत्तीर्ण भएपछि उक्त परिणाममा चित्त नवुझाई रिट निवेदन दिनु भएको छ । निवेदकले दावी लिएको विषय अन्तर्वाता हुनु अघि दरखास्त स्वीकृत भएकै अवस्थमा थाहा भैसकेको कुरा हो । न्यूनतम योग्यता नै नभएको व्यक्तिसँग आफूले प्रतिष्पर्धा गर्नु परेको भनी उसै वखत आवश्यक उपचारको मार्ग अवलम्बन गर्नुपर्नेमा सम्वद्ध कानूनी प्रक्रियाको अवलम्बन नगरी परिणाम हेरी रिट क्षेत्रमा प्रवेश गरेको देखिँदा निवेदक स्वच्छ विचारले अदालत प्रवेश गरेको देखिँदैन 

निवेदकले २०६१।५।२० र २०६१।१२।१५मा दिएको निवेदनउपर कुनै कारवाही नै नगरी कार्यकारी परिषद्ले ध्रुवप्रसाद भट्टराईलाई नियुक्ति दिने गरी भएको निर्णय बदरको माग दावी गरेको देखिन्छ । महेन्द्र संस्कृत विश्वविद्यालय नियमावली, २०४४ को परिच्छेद १३ मा पुनरावेदन आयोगको प्रावधान रहेको र नियम १३.४ ले पुनरावेदन आयोग विशेष अवस्थामा मात्र गठन हुने तथा कार्य सकिएपछि स्वतः विघटन हुने प्रावधान रहेबाट उक्त आयोग खास प्रकृतिको विषयमा मात्र पुनरावेदन सुन्न गठन हुने देखिन्छ । विश्वविद्यालयका शिक्षक कर्मचारीलाई नियम ९८.८ बमोजिम विभागीय कारवाही भै सजाय पाएको अवस्थामा नियम ९८.८.१५ तथा ९८.८.१५ क बमोजिम पुनरावेदन आयोगमा ३५ दिनसम्म पुनरावेदन लाग्ने देखिन्छ तर छनौट समितिको सिफारिश उपर पुनरावेदन आयोगमा पुनरावेदन लाग्ने व्यवस्था नभएको । पुनरावेदन आयोग महेन्द्र संस्कृत विश्वविद्यालयका उपकूलपति वा कार्यकारी परिषद्ले गठन गर्ने विषय पनि नभएको र माग गर्दैमा आयोग गठन हुने प्रावधान छैन । छनौट समितिको सिफारिशको हकमा छनौट समितिको कार्यविधिसम्बन्धी विनियम, २०४७ को विनियम १२.१०.६ मा बढुवाको निमित्त नाम सिफारिश प्रयोजनको लागि प्रकाशित नामावलीमा चित्त नबुझे नामावली प्रकाशित भएको मितिले २१ दिनभित्र सम्वद्ध छनौट समितिमा उजूर गर्न सक्ने स्पष्ट कानूनी उपचारको मार्ग विपक्षीले अवलम्बन गर्नु नभएको साथै विपक्षीले दिएको निवेदनको सन्दर्भमा कार्यकारी परिषद्को २०६१।६।८ मा बसेको बैठकको निर्णयले प्रा.लेखनाथ आचार्यको संयोजकत्वमा छानबीन समिति गठन भै उक्त समितिको २०६१।७।२४ को प्रतिवेदनका आधारमा कार्यकारी परिषद्ले गरेको निर्णय महेन्द्र संस्कृत विश्वविद्यालय ऐन, नियम, विनियम अनुकूल छ 

निवेदकले शिक्षक छनौट समितिको २०६०।८।२३ को विज्ञापन तथा छनौट समितिमा सम्वद्ध विषयका विशेषज्ञ समेतको उपस्थितिमा बसेको अन्तर्वाता समितिले नम्वर प्रदान गरेको कार्यलाई चुनौती दिन सक्नु भएको छैन । निवेदक र प्रत्यर्थी ध्रुवप्रसाद भट्टराई समेतले त्रि.वि.वि.अन्र्तगतका क्याम्पसमा प्राध्यापन गरेको अनुभवको प्रमाणपत्र समेतलाई अनुभवमा गणना गरी दरखास्त स्वीकृत भएको अवस्था छ । रीतपूर्वकको दरखास्त र दरखास्त पेश गर्ने सम्पूर्ण उम्मेदवारहरू संलग्न रहेको अन्तर्वातालाई निवेदकले अन्यथा भन्न नसकेको तथा छनौट समितिको सिफारिशलाई विपक्षी बाहेक अन्य उम्मेदवार समेतले चित्त वुझाई बसेबाट छनौट समितिको काम कारवाही उपर चुनौती दिने अवस्था छैन । छनौट समितिबाट लिईएको अन्तर्वाताको परिणामअनुरूप भएको सिफारिशलाई अन्यथा भनी कार्यकारी परिषद्‌मा निवेदन दिएपछि कार्यकारी परिषद्को २०६१।६।८ को बैठकद्वारा छनौट समितिको कार्यविधि सम्बन्धी विनियम, २०४७ को विनियम १२.१२.३ बमोजिम गठित छानबीन समितिको प्रतिवेदन समेतको आधारमा कार्यकारी परिषद्को २०६२।५।१६ को निर्णय नं. ३३ बाट ध्रुवप्रसाद भट्टराईलाई नियुक्ति दिने निर्णय भएको हो । निवेदकले छानबीन समितिलाई विपक्षी बनाउन नसकेको तथा छनौट समितिको र कार्यकारी परिषद्को के कुन निर्णय बदर गर्नुपर्ने हो भन्ने सम्बन्धमा स्पष्ट जिकीर लिन सकेको अवस्था छैन । साथै महेन्द्र संस्कृत विश्वविद्यालय ऐन, २०४४ को दफा १४(३) (४) मा विश्वविद्यालयसँग सम्बन्धित जुनसुकै काम कारवाही उपकूलपतिले हेर्ने तथा रद्द गर्न सक्ने कानूनी व्यवस्थाको अबलम्वन नगरी अस्पष्ट दावीको आधारमा दिएको रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको महेन्द्र संस्कृत विश्वविद्यालय, बेलझुण्डी दाङ, ऐ.को सम्पर्क कार्यालय बसन्तपुर, ऐ.को शिक्षक छनौट समिति एवं प्राज्ञिक परिषद् समेतको तर्फबाट प्रेषित संयुक्त लिखित जवाफ 

महेन्द्र संस्कृत विश्वविद्यालय शिक्षक छनौट समितिको विज्ञापन नं. १।०६०।६१ बमोजिम नेपाली विषयको सह प्राध्यापक पदमा रिट निवेदक समेतका ६ जना आवेदक   थियौं । शिक्षक छनौट समितिले नेपाली विषयतर्फ २०६१।२।१३ मा आवेदन स्वीकृतिको सूचना प्रकाशित गरी २०६१।३।२४ मा अन्तर्वाता लिई २०६१।५।२ मा नतिजा प्रकाशित गरेको हो । छनौट समितिबाट आवेदन फर्म स्वीकृत भै क्रमाङ्क ०५ कायम भएको छ । फाराम स्वीकृतिमा आवेदकहरूको नामावली चित्त नबुझेको भए महेन्द्र संस्कृत विश्वविद्यालय छनौट समितिको कार्यविधिसम्बन्धी विनियम, २०४७ को परिच्छेद१२ को विनियम १२.१०.६ अनुसार नामावली प्रकाशन भएको मितिले २१ दिन भित्र छनौट समितिमा उजूर दिनुपर्ने तर्फ निवेदकले कुनै पहल गर्नु भएको छैन । पदपूर्तिको सूचनाअनुसार त्रिभुवन विश्वविद्यालयमा २०४९।४।२७ देखि प्राध्यापन गरेको अनुभव तथा महेन्द्र संस्कृत विश्वविद्यालयमा २०५२।९।२६ देखि प्राध्यापन गरेको अनुभव समेत गाभी आफूले १० वर्ष भन्दा बढी नै प्राध्यापन गरिसकेको तथ्यलाई रीतपूर्वक हेरी शैक्षिक प्रमाणपत्र र अनुभव सहितको मूल्याङ्कन गरी सहप्राध्यापक पदमा बढुवा गरेको हो । आवेदन पत्र स्वीकृत भएका निवेदक वाहेकका उम्मेदवारहरू छनौट समितिको सिफारिशलाई चित्त बुझाई बस्नु भएको छ । मेरो शैक्षिक योग्यतामा विपक्षीले प्रश्न खडा गर्न नसक्नुका साथै महेन्द्र संस्कृत विश्वविद्यालय बाहेक अन्य विश्वविद्यालयमा प्राध्यापन गरेको अनुभवलाई समावेश गर्ने गरी सहप्राध्यापक पदमा बढुवाको लागि मार्ग खुला गरी राखेको यस अवस्थामा छनौट समितिले सिफारिश नै नगरेका विपक्षीलाई मेरो बढुवा उपर उजूर गर्ने हक छैन । योग्यता र अनुभवको आधारमा सह प्राध्यापक पदमा बढुवा पाएको म प्रत्यर्थीको हकमा विपक्षीले दावी गर्ने अवस्था छैन । शिक्षक छनौट समितिले सिफारिश गरी कार्यकारी परिषदबाट नियुक्ति पाएको विषयमा महेन्द्र संस्कृत विश्वविद्यालय नियमावली, २०४४ को परिच्छेद१३ बमोजिम पुनरावेदन गर्नुपर्नेमा वैकल्पिक उपचारको मार्ग छोडी रिट क्षेत्रमा आएको अवस्था छ । २०६१।५।२ देखि सह प्राध्यापक पदमा बढुवा नियुक्ति पाई एउटै विद्यापीठमा प्राध्यापन गरी आएको कुरा निवेदक लक्ष्मीप्रसाद पराजुलीले तत्काल थाहा नपाउने अवस्था हुंदैन । यस्तो अवस्थामा विलम्वको सिद्धान्तबाट बच्न मेरो नियुक्ति २०६२।९।१० मा मात्र सहप्राध्यापक भएको थाहा पाएं भनी निवेदनमा उल्लेख गर्नु भएको स्थिति छ । विश्वविद्यालय नियमावली, २०४४ को परिच्छेद१३ अनुसार पुनरावेदन आयोग समक्ष दिएको उजूरी उपर सुनुवाई नभएको भने पनि त्यस्तो पुनरावेदन गरेको छु भन्ने निवेदकको भनाई पनि रहेको छैन । कानूनले निर्देशित गरेको उपचारको मार्ग समेत अवलम्बन नगरी रिट क्षेत्रमा प्रवेश गरेको अवस्था छ । यस्तो अवस्थामा निवेदकको संविधानप्रदत्त हकमा आघात पुगेको स्थिति समेत नहुँदा रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको विपक्षी ध्रुवप्रसाद भट्टराईको लिखित जवाफ 

यस वाल्मीकि विद्यापीठले निवेदकको के कस्तो हक अधिकारमा आघात पा¥यो भन्ने कुरा निवेदनमा उल्लेख गरेको पाइदैन । महेन्द्र संस्कृत विश्वविद्यालय, शिक्षक छनौट समितिले विज्ञापन तथा शिक्षक छनौटसम्बन्धी प्रक्रिया पूरा गरी सफल उम्मेदवार ध्रुवप्रसाद भट्टराईलाई सहप्राध्यापक पदमा नियुक्ति दिई यस विद्यापीठमा पदस्थापना गरी पठाएकोले सोही अनुसार विद्यापीठले काममा लगाउने कार्य गरेको हो । निवेदकलाई अन्याय पर्ने कुनै काम यस विद्यापीठबाट नगरिएको हुँदा रिट निवेदन खारेज गरिपाऊँ भन्ने समेत व्यहोराको वाल्मीकि विद्यापीठका तर्फबाट प्रेषित लिखित जवाफ 

महेन्द्र संस्कृत विश्वविद्यालयको सहप्राध्यापकको बढुवा विज्ञापन नं. १०६०।६१ को सक्कल फायल, सो बढुवाउपर परेको उजूरी तथा गरिएको निर्णय सहितको सक्कल फायल महेन्द्र संस्कृत विश्वविद्यालयका कानून व्यवसायीमार्फत् पेसीका दिन झिकाई पेश गर्नु भन्ने २०६५।५।३१ को यस अदालतको आदेश 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान अधिवक्ता श्री युवराज कोईरालाले निवेदक २०४७ साल देखि हालसम्म महेन्द्र संस्कृत विश्वविद्यालय अन्र्तगत उपप्राध्यापक पदमा स्थायी नियुक्ति पाई कार्यरत रहेका र सो भन्दा अगावै २०४३ साल देखि २०४७ सम्म त्रि.वि.वि.शिक्षा शास्त्र संकाय अन्तर्गत सेवारत् रहेकोमा विवाद छैन । महेन्द्र संस्कृत विश्वविद्यालयबाट २०५५।९।३० मा आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सूचना प्रकाशित भएकोमा सहप्राध्यापक पदको आवेदन फर्म भर्न १० वर्ष सम्वद्ध विषय पढाएको अनुभव नभएको कारण देखाई सो प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गरिएको थियो । सोही विश्वविद्यालयबाट वि.नं. १।०६०।६१ मिति २०६०।८।२३ मा प्रकाशित सहप्राध्यापक पद संख्या १ को पदपूर्ति सम्बन्धमा प्रकाशित सूचनाअनुसार निवेदकले दिएको आवेदन फाराम स्वीकृत भै अन्तर्वातामा समेत सामेल भएकोमा प्रकाशित सूचनामा उल्लिखित १० वर्षसम्म अध्यापन गरेको अनुभव नभएका विपक्षी ध्रुवप्रसाद भट्टराईको नाम सफल उम्मेदवारको सूचीमा समावेश गरी छनौट समितिबाट प्रकाशित सूचना विधि सम्मत छैन । २०५२ सालमा उपप्राध्यापक पदमा सेवा प्रवेश गरेका विपक्षी ध्रुवप्रसाद भट्टराईको न्यूनतम सम्वद्ध विषयमा १० वर्ष प्राध्यापन गरेको योग्यता पूरा भएको अवस्था छैन 

२०५५।९।२७ को कार्यकारी परिषद्को निर्णयद्वारा तोकिएको योग्यताको वारेमा विपक्षीहरूबाट खण्डन गरेको अवस्था छैन । २०५५ सालको विज्ञापनमा यही कार्यकारी परिषद््को निर्णयलाई आधार मानी निवेदकको आवेदन फाराम लिन अस्वीकार गर्ने छनौट समितिले विपक्षी ध्रुवप्रसाद भट्टराईको हकमा आँखा चिम्लेको स्थिति देखिएको छ । छनौट समितिको काम कारवाहीउपर छानबीन समिति समेत गठन गरी दिएको पुनरावेदनको आधारमा धुव प्रसाद भट्टराईलाई नियुक्ति दिएको भन्ने लिखित जवाफमा उल्लेख गरे पनि निवेदकले ध्रुवप्रसाद भट्टराईको अयोग्यता सम्बन्धमा उठाएको प्रश्नमा विश्वविद्यालय मौन रहेको देखिन्छ । छनौट समितिले आफैले विज्ञापन गरी योग्यता तथा अनुभव तोक्ने र आफैले तोकेको योग्यता अनुभवको ठाडै वर्खिलाप गरेको अवस्था मिसिलबाट देखिएको छ । तोकिएको न्यूनतम योग्यता नपुगेका उम्मेदवारलाई सफल उम्मेदवारको सूचीमा नाम प्रकाशित गरेउपर निवेदकले गरेको उजूरीमा पुनरावेदन आयोग समेत गठन गरिएन । २०६२।५।१३, १६ र १९ गते वसेको बैठकले छानबीन समितिको प्रतिवेदनलाई आधार मानी विपक्षीलाई नियुक्ति दिने निर्णय गर्दा समेत निवेदकले उठाएको प्रश्नमा अनुत्तरीत नै रहेको अवस्था छ । न्यूनतम योग्यताको वास्ता नगरी विपक्षी ध्रुवप्रसाद भट्टराईलाई सहप्राध्यापक पदमा दिएको नियुक्ति तथा पदस्थापनको कार्य लगायतका सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकलाई शुरु मितिदेखि लागू हुने गरी वढुवा नियुक्ति दिनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी हुनु पर्छ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो 

त्यसै गरी विपक्षी नेपाल संस्कृत विश्वविद्यालय समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री मदन पोखरेलले नेपाली विषयको सहप्राध्यापक पदको लागि निवेदक तथा प्रत्यर्थी समेत ६ जना उम्मेदवारको दरखास्त परी अन्तर्वाताको लागि सूचना जारी भै अन्तर्वाता सम्पन्न भएको कार्यसम्मको लागि निवेदकले उजूर गरेको अवस्था छैन । अन्तर्वातामा आफू सफल नभएपछि मात्र विश्वविद्यालयको पदपूर्तिको काम कारवाही त्रुटि रहेको भनी दावी लिएको अवस्था छ । प्रकाशित वढुवा नामावली उपर चित्त नवुझे छनौट समितिको कार्यविधि सम्बन्धी विनियम २०४७ को विनियम १२.१०.६ अनुसार छनौट समितिमा उजूर गर्नुपर्नेमा निवेदकले त्यसतर्फ केही पहल गर्नु भएको छैन । छनौट समिति र उपकुलपति समक्ष निवेदन दिई उपचार खोज्नु पर्नेमा सोझै अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट क्षेत्रमा प्रवेश गरेको मिलेको छैन । कार्यकारी परिषद्मा निवेदकले दिएको निवेदन अनुसार छानबीन समिति गठन गरी सो को प्रतिवेदन समेतको आधारमा बढी अङ्क प्राप्त गर्ने ध्रुवप्रसाद भट्टराईलाई नियुक्ति दिने निर्णय गरिएको हो । छानबीन समितिलाई समेत निवेदकले विपक्षी बनाउन सक्नु भएको छैन । यस्तो स्थितिमा निवेदन मागबमोजिमको आदेश जारी हुने अवस्था छैन । निवेदन खारेज हुनु पर्दछ भन्ने समेत व्यहोराको बहस गर्नुभयो 

उपर्युक्त विद्वान कानून व्यवसायीहरूले गर्नु भएको बहस समेत सुनी रिट निवेदन पत्र, विपक्षी तर्फबाट प्रेषित लिखित जवाफ सहितको मिसिल अध्ययन गरी निर्णय तर्फ विचार गर्दा, निवेदन मागबमोजिमको आदेश जारी गर्न मिल्ने, नमिल्ने के हो ? सोही सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो 

२. निर्णयतर्फ विचार गरी हेर्दा मूलतः २०४३।५।२४ देखि त्रिभुवन विश्वविद्यालय अन्र्तगत सहायक प्राध्यापक पदमा तथा २०४७।३।३१ को पत्रानुसार २०४७।४।१ गते देखि महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मीकि विद्यापीठमा उप प्राध्यापक पदमा नियुक्ति पाई सेवारत् रहेको अवस्थामा महेन्द्र संस्कृत विश्वविद्यालयबाट २०५५।९।३० मा सह प्राध्यापक पदको स्थायी पदपूर्ति गर्ने प्रकाशित सूचनाअनुसार विश्वविद्यालयमा सम्वद्ध विषय पढाएको दश वर्षको अनुभव नभएको भन्ने आधारमा निवेदकलाई सो प्रतियोगितामा समावेश हुनबाट बञ्चित गरियो । यसै विश्वविद्यालयको शिक्षक छनौट समितिद्वारा प्रकाशित वि.नं. १।०६०।६१ मिति २०६०।८।२३ मा प्रकाशित आन्तरिक प्रतियोगिताद्वारा सहप्राध्यापक पदमा स्थायी पदपूर्तिको सूचनाअनुसार निवेदकको उपप्राध्यापक पदमा सेवा अवधि १४ वर्षभन्दा वढी भएको र सम्वद्ध नेपाली विषयको सहप्राध्यापक पदमा आफू योग्य भएकोले आवेदन फाराम स्वीकृत गराई अन्तर्वातामा सामेल भएको थिएं । उक्त अन्तर्वाता अनुसार सफल उम्मेदवारको नामावली प्रकाशित हुँदा न्यूनतम योग्यता पूरा नगरेका प्रत्यर्थी ध्रुवप्रसाद भट्टराईको नाम समावेश गरिएको रहेछ । निवेदकको नाम सफल उम्मेवारको सूचीमा निर्विवाद प्रकाशित हुनुपर्नेमा कम्तिमा दश वर्ष सम्वद्ध विषय पढाएको अनुभव नभएका उम्मेदवारको नाम प्रकाशित भए उपर पुनरावेदन आयोग गठन गर्न निवेदन दिएको तथा विश्वविद्यालय कार्यकारी परिषद्‌मा समेत पटक पटक उजूरी दिएकोमा उजूरीको सुनुवाई नै नगरी कार्यकारी परिषद्को निर्णय बमोजिम विपक्षीलाई २०६१।५।२ देखि लागू हुने गरी नियुक्ति दिई पदस्थापना समेत गरी निवेदकको पेशा रोजगारसम्बन्धी संविधानद्वारा प्रदत्त हकमा आघात पुगेको स्थिति छ । कार्यकारी परिषद्को २०५५।९।२७ को निर्णय एवं प्रकाशित विज्ञापनअनुसार योग्यता नै नपुगेका विपक्षी ध्रुवप्रसाद भट्टराईलाई अन्तर्वातामा समेत सामेल गराई वढुवा समितिको निर्णय एवं कार्यकारी परिषद्को २०६२।५।१३, १६ र १९ गतेको विपक्षीलाई नियुक्ति दिने निर्णय एवं पदस्थापन गर्ने लगायतका सो सँग सम्बन्धित सम्पूर्ण काम कारवाही एवं निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी २०६१।५।२ देखि लागू हुने गरी निवेदकलाई सहप्राध्यापक पदमा बढुवा नियुक्ति दिनु भन्ने परमादेशको आदेश जारी गरिपाऊँ भन्ने मुख्य निवेदन माग दावी रहेको पाइयो 

३. महेन्द्र संस्कृति विश्वविद्यालय शिक्षक छनौट समितिको २०६०।८।२३ मा प्रकाशित आन्तरिक प्रतियोगिताद्वारा सहप्राध्यापक पदमा स्थायी पदपूर्ति गर्ने बारेको सूचनामा निवेदकले विवाद उठाएको नेपाली विषयको सहप्राध्यापक पद संख्या १ तथा अन्य तहका पदहरूको माग गरेको देखिन्छ । प्रकाशित उक्त सूचना अनुसार आवश्यक न्यूनतम शैक्षिक योग्यता अन्तर्गत महेन्द्र संस्कृत विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाहरूबाट सम्वद्ध विषयमा प्रथम श्रेणीमा आचार्य वा सो सरहको परीक्षा उत्तीर्ण गरी यस विश्वविद्यालयमा कम्तिमा दश वर्ष सम्वद्ध विषय पढाएको अनुभवको साथै स्थायी उपप्राध्यापक पदमा कार्यरत भन्ने उल्लेख भएको र यसै न्यूनतम शैक्षिक योग्यताकै आधारमा निवेदकले आफूले सहप्राध्यापक पदमा स्थायी नियुक्ति पाउनु पर्ने र प्रत्यर्थी ध्रुवप्रसाद भट्टराईको न्यूनतम शैक्षिक योग्यता नपुगेको भनी निवेदन दावी लिएको पाइयो 

४. निवेदक लक्ष्मीप्रसाद पराजुली महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत नेपाली विषयको उपप्राध्यापक पदमा २०४७।३।३१ देखि नियुक्ति पाई कार्यरत् रहेको र सह प्राध्यापक पदको विज्ञापन प्रकाशित मिति २०६०।८।२३ गतेसम्म निजको हकमा माथि उल्लिखित न्यूनतम शैक्षिक योग्यता पूरा भएको अर्थात महेन्द्र संस्कृत विश्वविद्यालयमा कम्तिमा १० वर्ष सम्वद्ध विषय पढाएको भन्ने तथ्यमा विवाद देखिन आएन । सहप्राध्यापक पदमा बढुवा पाएका ध्रुवप्रसाद भट्टराईले आफूले पेश गरेको आवेदन फाराम रीतपूर्वकको भएको र प्राध्यापन गरेको अनुभव १० वर्ष भन्दा वढी नै भएको भनी लिखित जवाफ व्यहोरामा उल्लेख गरेतापनि निवेदकले मूल दावी लिएको विज्ञापनमा उल्लिखित न्यूनतम योग्यता विपक्षी महेन्द्र संस्कृत विश्वविद्यालयमा नै १० वर्षसम्म पढाएको हुनुपर्ने हकमा विपक्षीले उपप्राध्यापक पदमा रही सम्वद्ध विषय पढाएको अवधि (१० वर्ष) पूरा भएको भन्ने तथ्य प्रमाणले पुष्टि भएको छैन । यसका अतिरिक्त मिसिल संलग्न निजले पेश गरेको आवेदन फारामको प्रतिलिपि हेर्दा निजको उपप्राध्यापक पदको स्थायी नियुक्ति २०५२ साल उल्लेख भएको रहेछ, सो मिति देखि विज्ञापन प्रकाशित मितिसम्म दश वर्ष सेवा अवधि पुगेको मान्न मिल्ने स्थिति देखिएन 

५. महेन्द्र संस्कृत विश्वविद्यालय शिक्षक छनौट समितिको कार्यालय बेलझुण्डी दाङबाट उपर्युक्त विज्ञापन नं. १।०६०।६१ अनुसार विभिन्न विषयको सहप्राध्यापकको अन्तर्वातामा सफल भएका उम्मेदवारको नामावली प्रकाशन भै नेपाली विषयमा आफ्नो नाम समावेश हुनुपर्ने आधार कारण खोली निवेदकले उपकुलपति समक्ष २०६१।५।२० मा दिएको निवेदनमा उपकुलपतिबाट के गर्दा उचित हुन्छ सुझाव दिने भनी शिक्षाध्यक्षलाई तोक आदेश भएको मिसिल संलग्न प्रतिलिपिबाट देखिन्छ । निवेदक लक्ष्मीप्रसाद पराजुलीले दिएको निवेदन उपर कार्यकारी परिषद्को निर्णयबमोजिम छानबीन समिति गठन भै समितिले दिएको प्रतिवेदनको आधारमा कार्यकारी परिषद्ले ध्रुवप्रसाद भट्टराईलाई नियुक्ति दिने निर्णय गरेकोमा सो छानबीन समितिलाई विपक्षी नबनाएको तथा छनौट समितिमा सम्वद्ध विषयका विशेषज्ञले अन्तर्वाता लिई नम्वर प्रदान गरेको कार्यलाई निवेदकले चुनौती नदिएको भन्ने आधार उल्लेख गरी प्रत्यर्थी महेन्द्र संस्कृत विश्वविद्यालय केन्द्रिय कार्यालय समेतको तर्फबाट लिखित जवाफ प्रेषित गरेको देखिन्छ । निवेदकले अन्तर्वातामा सफल उम्मेदवार ध्रुवप्रसाद भट्टराईको विज्ञापन सूचना अनुसार सम्वद्ध विषयमा १० वर्ष अध्यापन गराएको अनुभव नभएको भनी मुख्य रुपले चुनौती दिएको सो विषयसँग सम्बन्धित कुनै तथ्यगत आधार उल्लेख नगरी निवेदक लक्ष्मी प्रसादको उजूरी निवेदन परिसकेपश्चात् आन्तरिक रुपमा गठित छानबीन समितिको प्रतिवेदनलाई आधार लिई कार्यकारी परिषद् तथा छनौट समितिले प्रत्यर्थी ध्रुवप्रसाद भट्टराईलाई नियुक्ति तथा पदस्थापना गरेको भन्ने व्यहोरासम्म उल्लेख गरेको देखिन्छ । बढुवा निमित्त नाम सिफारिश प्रयोजनको लागि प्रकाशित नामावलीमा चित्त नवुझे छनौट समितिको कार्यविधि सम्बन्धी विनियम, २०४७ को विनियम १२.१०.६ अनुसार छनौट समितिमा उजूर नगरी वैकल्पिक उपचारको मार्ग अवलम्बन नगरेको भन्ने प्रत्यर्थी विश्वविद्यालयको लिखित जवाफ व्यहोरामा उल्लेख भएपनि सो बढुवाउपर निवेदकले चित्त नबुझाई दिएको निवेदनउपर विश्वविद्यालय तर्फबाट छानबीन समिति गठन भएको र सो समितिको प्रतिवेदनअनुसार नियुक्ति र पदस्थापना गरिएको भन्ने देखिंदा वैकल्पिक उपचारको मार्ग नअपनाएको भन्ने विश्वविद्यालयको भनाई स्वयं खण्डित हुन पुगेको देखियो 

६. प्रत्यर्थी विश्वविद्यालय तर्फबाट गरिएको विज्ञापन सूचनामा उल्लिखित उम्मेदवारको न्यूनतम शैक्षिक योग्यताको सम्बन्धमा निर्धारित नियमको पालना गरिएको थियो भन्ने तथ्य विश्वविद्यालयको तर्फका कानून व्यवसायीद्वारा इजलाससमक्ष बहसमा दावी जिकीर गरेतापनि देखाएको उक्त विज्ञापनसँग सम्बन्धित सक्कल फायलबाट उक्त कुरा पुष्टि नहुनुको साथै निवदन माग दावीको सम्बन्धमा प्रत्यर्थीहरूबाट प्रेषित लिखित जवाफ व्यहोरामा समेत बढुवा पाएका प्रत्यर्थी ध्रुवप्रसाद भट्टराईको न्यूनतम योग्यताको सम्बन्धमा निवेदकले उठाएको हकमा अन्यथा प्रमाणित भएको देखिएन । इजलासबाट अवलोकन गरिएको उक्त विज्ञापनसँग सम्बन्धित सक्कल फायल एवं समग्र मिसिलको तथ्यको अध्ययन गरी हेर्दा निवेदक लक्ष्मीप्रसाद पराजुलीले सहप्राध्यापक पदमा बढुवा पाउने स्थिति स्पष्ट देखिएको विद्यमान अवस्थामा विश्वविद्यालयले विज्ञापन प्रकाशित गर्दा आफैले उक्त सूचनामा उल्लिखित न्यूनतम योग्यताको आधारभन्दा भिन्न प्रकारबाट उम्मेदवार चयन गरी नेपाली विषयको योग्यताक्रम अनुसारको सहप्राध्यापक पदका उम्मेदवार ध्रुवप्रसाद भट्टराईको हकमासम्म महेन्द्र संस्कृत विश्वविद्यालय कार्यकारी परिषद्को २०६२।५।१३, १६ र १९ गते समेतको निर्णय एवं सो निर्णयअनुसार शिक्षक छनौट समितिको कार्यालयद्वारा प्रकाशित सूचना कानूनसम्मत नदेखिँदा निज ध्रुवप्रसाद भट्टराईको हकमासम्म उपर्युक्त निर्णय समेतका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ 

७. अतः इजलाससमक्ष अवलोकन गराइएको सहप्राध्यापकको विज्ञापनसम्बन्धी सक्कल फाईल एवं मिसिल संलग्न उपर्युक्त तथ्यबाट निवेदक लक्ष्मीप्रसाद पराजुलीले उक्त नेपाली विषयको सहप्राध्यापक पदमा बढुवा पाउने स्थिति विद्यमान देखिएको हुँदा महेन्द्र संस्कृत विश्वविद्यालय, शिक्षक छनौट समितिका कार्यालय बेलझुण्डी दाङ्गबाट विज्ञापन नं. १।०६०।६१ अनुसार सहप्राध्यापक पदको सफल उम्मेदवारको सूची प्रकाशित मिति २०६१।५।२ देखि जेष्ठता मिति कायम हुने गरी निवेदक लक्ष्मीप्रसाद पराजुलीलाई नियुक्ति दिनु भनी प्रत्यर्थी महेन्द्र संस्कृत विश्वविद्यालय, बेलझुण्डी दा समेतका नाउँमा परमादेशको आदेश जारी गरिदिएको छ । दायरीको लगत कट्टा गरी मिसिल नियमबमोजिम वुझाई दिनू 

 

उक्त रायमा सहमत छु 

 

प्र.न्या.रामप्रसाद श्रेष्ठ                            

 

इति संवत् २०६७ साल असार २२ गते रोज ३  शुभम्

 

इजलास अधिकृतःपुनाराम खनाल