June 1, 1988
Created by nepalarchives

निर्णय नं. ३४०२ – कर्तव्य ज्यान

निर्णय नं. ३४०२ ने.का.प. २०४५     अङ्क ३     संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको...

निर्णय नं. ३४०२ ने.का.प. २०४५     अङ्क ३

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४३ सालको फौ.पु.नं. ४७७

सम्वत् २०४३ सालको फौ.सा.नं. १३४

फैसला भएको मिति : २०४५।२।१९।४ मा

 

पुनरावेदक/वादी : प्र.ह. बलबहादुर श्रेष्ठको प्रतिवेदनले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : सुनसरी वराहक्षेत्र गा.पं. वा.नं.२ बस्ने शिवकुमारी राईसमेत

 

मुद्दा : कर्तव्य ज्यान

 

(१)      मृतकलाई आफ्ना कोठामा लगी जबरजस्ती करणी गरी सोही जबरजस्ती करणीको आघातले गर्दा निजको मृत्यु भएको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम कसूरदार ठहर्‍याएको इन्साफ मिलेको  देखिने ।

प्रतिवादीहरूको उमेर हेर्दा १६ वर्षका देखिएका मृतकलाई रिसइवी वा अन्य कुनै कारणले ज्यानै मार्नेसम्मको मनसायले ज्यान मारेको भन्ने मिसिलबाट नदेखिई मृतकले मुखबाट फिज काडेपछि तत्कालै उपचार  गराउन चिकित्सक बोलाउन र अस्पताल लाने कार्य गरेको समेत मिसिलबाट देखिन आएबाट जबरजस्ती करणी गर्दा ज्यान मर्न गएको ज्यान मार्ने मनसाय नभएको देखिन आएकोले अ.बं. १८८ नं. बमोजिम जनही ५।५ वर्षका दरले कैद गर्ने गरेको राय मनासिव ठहर्‍याएको राय मिलेकै देखिने ।

(प्रकरण नं.  २७)

 

पुनरावेदक वादीतर्फबाट    :      विद्वान का.मु.सहन्यायाधिवक्ता श्री बलराम के.सी.

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं व्यहोरा संक्षेपमा यसप्रकार रहेछ :

२.     ०३९।८।७।५ को बेलुकी धरान न.पं. वार्ड नं. ६ देसीलाईन कान्छा लामा भनेको रविनकुमार लामाको डेरा घरमा बराह क्षेत्र गा.पं. वार्ड नं. २ बस्ने सुश्री शिवकुमारी राई र मर्ने अं. वर्ष १५ की सुश्री शान्ता राई वास बसेको रात अं. ११.३० बजे शान्ताको मुखबाट फिंज आई बमौट गरी योनीबाट खुन निस्की बिमारी भई तत्कालै मृत्यु भएको । शान्तालाई धरान ६ बस्ने सुभाष राई, रविन कुमार लामा, शिवकुमारी राई समेत भई धरान न.पं. वडा नं. अस्पताल पुर्‍याई लाश मुर्दा घरमा राखेको बुझिएकोले उक्त लेखिएको व्यक्तिहरूलाई समेत पक्राउ गरी ल्याएको छ भन्ने प्र.ह.बलबहादुर श्रेष्ठको ०३९।८।६।१ को प्रतिवेदन ।

३.     धरान अस्पतालको मुर्दा राख्ने घर पश्चिम ढोका वरिपरि झ्याल भएको ढोका भित्र फलामको स्ट्रेचर माथि पश्चिम शिर पूर्व गोडा उत्तानो पारेको दुवै खुट्टा सलक्क पसारेको । दाहिने हात शरीरमा सटाई सलक्क पसारेको अर्धमुठी पारेको बाँया हात कम्मर माथि घोप्टो अर्धमुखी पारी राखेको खुट्टामा सेतो नाईलनको मोजा खाकी रंगको जामा, कालो पहँेलो धर्का भएको नाईलनको गंजी लगाएको, दुबै आँखा चिम्लिएको, कपाल केही कैलो जस्तो अगाडि घाँटीको रुद्रघण्टी वरिपरि निलो दाग जस्तो देखिएको मुख र नाकबाट फिंज आई रहेको, रुवा राखेको देखिएको, लगाएको कपडा खोली उल्टाई हेर्दा शरीरमा निल घाउ चोट केही नभएको अण्डरपेण्ट खोली हेर्दा योनीको मुखमा सेतो पुरानो गंजीको टुक्रालाई निलो बुट्टे प्लास्टीकको टुक्रामा पोको पारी बुजो (बन्द) गरिदिएको सो रगत र पानीले भिजेको, योनीबाट खुन समेत आइरहेको, मलद्वाराबाट केही ननिस्किएको, योनी र तिघ्राको काममा बाँयापट्टि १ इन्च लामो आधा इन्च गोलाई छाला पिल्सीएर रगत पानी आएको दाहिनेपट्टि, योनी र तिघ्राको कापमा पाँच पैसे जत्रो गोलाईको छाला पिल्सी रगत र पानी आई रहेको, गहुँगोरो अनुहार भएको वर्ष १५ को शान्ता राईको ०३९।८।६।१ को भई आएको लाश प्रकृती मुचुल्का ।

४.     श्रीमती गंगामाया तामाङको घर टिनको छानो भएको वरिपरी वाँसको टाटीले बारेको इँटाको गारो भएको पूर्वतिर टिनको ढोका भएको कोठामा पिचरोड घरको च्यापदेखि दक्षिण गई काठको लिस्नोबाट चढ्ने गरेको घर कोठा भित्र उत्तरपट्टि साइडमा खटिया माथि सेतो कपडाको खोल भएको पुरानो डस्ना ओछ्याएको सो डस्नाको खोल एकपट्टि साईडमा रगत लागेको र फिंजको गाँज देखिएको, डस्ना भिजी सुकेको दाग भएको समेत व्यहोराको रविन लामाको डेरा खानतलाशी भएको ०३९।८।६।१ को मुचुल्का ।

५.     ०३९।८।५।७ को साँझ अं. ७:४५ बजे २ वटी केटी २ जना केटा आई केही चियानास्ता गरी निस्किए, कुन केटी कुन केटा आएका हुन भनी भन्न  सक्दिन भन्ने व्यहोराको जनसेवा होटेलमा सिलम्वानको काम गरी बस्ने कृष्णबहादुर बरालको र ऐ. होटेलको भान्से रामप्रसाद दगालको ०३९।८।७।२ को कागज ।

६.     ०३९।८।४।६ को दिन दिदी कृष्णकुमारी र निजको छोरी शान्ता चतराबाट आई मसंग भानुचोक धरानमा भेट भयो । बेलुकी बहाराक्षेत्र अन्तर्गत चतरा मोठ बस्ने गाउँ घरमा चंखे भनी बोलाउने थानेश्वर तामाङ थानेश्वरको साथी लाम्चो मोहडा चुच्चो नाक कालो वर्णको, जात क्षेत्री बाहुन जस्तो व्यक्ति मर्ने शान्ता र म गणेश टाकीज सिनेमा हेरी सिनेमा छुटेपछि गीता मन्दिरमा गएर कृष्णकुमारी शान्ता म सुत्यौं । भोलिपल्ट ५ बजे दिदी कृष्णकुमारीलाई शान्ता र मैले फुस्रेसम्म पुर्‍याई शान्ता र म फिर्की आई बिहान ८ वजे भानुचोकमा आइपुगेपछि शान्ता र थानेश्वर रिक्सामा बस्यो । थानेश्वरको साथीले रिक्सा चलाई धरान १७ बस्ने मेरो मामा नाताकोमा बसी सिनेमा हेर्न भानुचोकमा आइपुग्दा १ बजेको थियो । मर्ने शान्ता म थानेश्वरका साथी थानेश्वर ३६ को सिनेमा हेर्न शिव सिनेमा गई छुटेपछि जनसेवा होटलमा आईपुगी सिंगडा निम्कि खायौं । म खादै थिएँ थानेश्वरको साथी बदाम किनेर ल्याउँछु भनी निस्कियो । लगतै शान्ता पनि निस्कियो, करिब ३०।४० मिनेटपछि शान्ता र लगतै थानेश्वरको साथी पनि आयो । शान्ताको अनुहार पनि अलि खसेकोले नाजायज काम गर्‍यो भनी मेरो मनले सोच्यो । सुभाष रविनकुमार सोही मौकामा आई पुग्यो र थानेश्वर र उसको साथी गए । सुभाषले कहाँ सुत्छौं भन्दा केही टुंगो छैन भने र मेरो साथीको डेरामा हिंड भन्दा सुभाष र अहिले थाहा भएको रविनकुमार र मर्ने शान्ता म गयौं र शान्ता र म खटियामा सुभाष र रविनकुमार भूँईमा सुते । रातको अं.११ बजेको समय मर्ने शान्ता अह्रा भनी बोले जस्तो गरेकोले मुन्टो उठाएर हेर्दा सुभाषको हात मर्ने शान्ताको मुखमा र हेर्नासाथ तुरुन्त हात निकाल्यो । हात उठाउना साथ मुखबाट फिंज आयो र बमिट गरिन र पुछेर फाल्यौं र शान्ति बिरामी भएपछि शुभाष र कान्छा लामा डाक्टर बोलाउन गएको डाक्टर आउनु भन्दा अगाडि नै मृत्यु भइसकेको थियो भन्ने व्यहोराको शिवकुमारी राईको ०३९।८।७ को प्रहरीमा बयान कागज ।

७.     ०३९।८।५।७ का दिन म र सुवास जनसेवा होटलमा पुग्दा मृतक शान्ता र शिवकुमारी र नचिनेको २ जना केटा समेत चिया नास्ता खाई रहेका र केही वेर पछि उनीहरू बाहिर गए अं. आधा घण्टा पछि घुमेर सोही ठाउँमा पुग्दा शान्ता र शिवकुमारी सोही ठाउँमा देखि अब कहाँ गई सुत्ने भनी सोद्धा साथै ल्याई दुबै केटीलाई डेरामा ल्याई हामी गई कुखुराको मासु र चिउरा ल्याई दियौं । सो पछि हामी घुम्न गयौं र आई केही बेर मै शान्ताको मुखबाट फिंज निस्कियो । हामीले डाक्टर बोलाई ल्याउँदा ठूलो डाक्टरबाट उपचार गर्नु भन्दा भन्दै शान्ताको मृत्यु भएको भन्ने समेत व्यहोराको कान्छा भन्ने रविनकुमार लामाको ०३९।८।७ को प्रहरीमा बयान कागज ।

८.     ०३९।८।७ को साँझ ७.३० को समयमा म र कान्छा तामाङ समेत घुम्दै जनसेवा होटलमा घुम्दा मृतक शान्ता र शिवकुमारी र नचिनेका २ जनालाई सो होटलमा भेट भई कहिले आयौ भन्दा कोही बोलेनन् । बाहिर निस्कन लाग्दा एकजनाले पैसा तिरी केटाले जाने होइन भनी सोद्धा जानु भनी शिवकुमारीले भनिन् । केही बेर पछि भानुचोकतर्फ जाँदा फेरी शान्तासंग भेट भई तिमीसंग गई सुत्ने भनी भनेकाले साथै लिई कान्छा तामाङको डेरामा राखी बजारतर्फबाट कुकुराको मासु र चिउरा ल्याई खान दिई फेरि दुबैजना बजारतिर अं. १५।२० मिनेट जति घुमी फिर्की आयौं । हामीलाई डर लाग्छ चारैजना यही सुत्नु पर्छ भनेकाले हामी त्यहीँ   सुत्यौं । शान्तालाई समाई मुख थुनेको कुरा शिवकुमारले थाहा पाई मलाई झडको परी डर लागेको जस्तो भयो र हात हटाउनमा साथ मुखबाट फिंज आयो भन्ने समेत व्यहोराको सुभाष राईको ०३९।८।७ को प्रहरीमा बयान  कागज ।

९.     अर्ध पुरानो हरियो रातो डोरा धागो भएको सिलाईको जोडनीमा वरिपरी कालो रंगको कपडा कालै मोडी सिलाई गरिएको र इलास्टिकको इजार भएको कट्टुको इजारदेखि अं. २ ईन्च तल अं. २ ईन्च लम्बाई भएको भिजेको दाग भइसकेको र इजारमा कालो दाग भएको भन्ने व्यहोराको प्रतिवादी सुभाष राईको कट्टु बरामद भएको ०३९।८।७।२ को मुचुल्का ।

१०.     हामीहरूको विचारमा निसासिनु र करणी गर्नुको कारण मृत्यु भएको हो भन्ने समेत व्यहोराको धरान अस्पतालको सि.मे.अ. समेत ३ जना चिकित्सकको राय सहितको लाशजाँच रिपोर्ट ०३९।८।६ को ।

११.     ०३९।८।५।७ को राती अं. ११ बजेको समयमा मलाई नाम थर वतन थाहा नभएको २ जना युवकलाई एकजना बहिनी आई मासु र भात पछि भोमिट गरी सिकिस्त विरामी भयो । एकछिन हेरी दिनोस् भनी ढिपी गर्न लागेकाले पैदल हिंडी विमारी भएको ठाउँमा आई टर्चलाइट बालेर हेर्दा विमारीको आँखामा बादल लागिसकेको मुखमा केही फिंज र लगाएको कपडामा पानी लागेको मरणासन्न अवस्था अस्पतालमा लानुपर्छ भने मैले केही गरिन । मलाई बोलाउन जाने युवकहरू भनेका डोरमा दाखिल भएको देखे, चिने भन्ने समेत व्यहोराको डा. तपन तरफदारको प्रहरी टुर मुकाममा ०३९।८।१८ मा भएको कागज ।

१२.    ०३९।८।५ गते राती अं. ११ बजेको समयमा डेरामा निदाएको अवस्था रविनकुमार डेरा गरी बसेकोले डाक्टर लिन जान्छु भनी हल्ला गरेको सुनेकै भयो भनी सोधनी गर्दा २ जना केटी आई बसेको थिए, विरामी भयो डाक्टर लिन जानु पर्‍यो भनेपछि रविनकुमार समेतले डाक्टर लिई आए र पछि विमारी सिरियस भएकाले ठेला गाडीमा हाली मृतक शान्तालाई सुभाष समेतले अस्पताल लगे के भई मरे भन्न सक्दिन भन्ने पि. आर तामाङ्ग, दिनमा विराटनगर भुस लिन गएको राती अं.११½ समयमा र आएकोले सुती भोलिपल्ट शान्ताको कोठामा केटी विमारी भई अस्पतालमा मर्‍यो भनेको सुनेको हुँ के भई मरेको हो यकीन गरी भन्न सक्दिन अरु खुलाउन सक्दिन भन्ने व्यहोराको गोपालप्रसाद शाह, मेरो घर भारत भई घटना हुनु अगावै दिपावली मान्न घर गएको र ०३९।८।१४ गते आएँ । केटी मरेको भन्ने बजारमा सुनेको हुँ भन्ने व्यहोराको गणेश चौधरी ।०३९।८।६ गते विहानै मैले कान्छा भन्ने रविनकुमारको कोठामा हिजो राती २ जना केटीलाई सुताएकोमा विमार परी राती नै अस्पतालमा लगी १ जना चाहीँ अस्पतालमै मर्‍यो भन्ने सुनेको हुँ । सो अवस्थामा सुभाष पनि थियो भन्ने सुनेको हुँ भन्ने समेत व्यहोराको सीताराम चापागाईको । म काठमाडौं गएको र ६ गते घरमा आई पुगी घर गाउँमा कान्छोको डेरा कोठामा दुई जना केटी मध्ये शान्ता समेतलाई आफ्नो कोठामा राती राखी जबरजस्ती करणी गरी शान्ता राई मरी अरे भन्ने सुनेको भन्ने समेत हिम्मत सुब्बा, एकजना शान्ता राई विमार भई अस्पताल लगी मर्‍यो अरे निजहरूले करणी गरी मरेकोले रविन र सुभाषलाई प्रहरीले पक्राउ गरेको भन्ने सुनेको भन्ने गणेशप्रसाद शाह आफ्नै घरमा सुती रहेको अवस्था कान्छो भन्ने रविनकुमार लामाले बोलाएर उठी सोध्दा मेरोमा १ जना केटी आएकी र साह्रै विरामी भएकोले हेरी दिनु पर्‍यो भनेकाले घटना स्थलमा आई हेरे सो अवस्था मृतक शान्ता राई नाक मुख समेतबाट सेतो फिंज काडी बेहोस अवस्थामा थियो अस्पताल लानु भनी म डेरातर्फ फिरे हेर्दा कर्तव्य जस्तै लाग्यो भन्ने समेत व्यहोराको प्रमेशचन्द्र श्रेष्ठ रविनको कोठामा केटी ल्याई राखेकोमा राती सारो विमार भई अस्पताल लगी विमार उपचार गर्न खोज्दा मरे अरे भनेको घटना भोलिपल्ट सुनेको हुँ भन्ने समेत व्यहोराको हरीप्रसाद उप्रेती, रविनकुमारको कोठामा २ केटीलाई रातमा बसेकीमा एकजना केटी विमार भई अस्पताल लगी मर्‍यो अरे भन्ने भोलिपल्ट सुने, जबरजस्ती अनुचित व्यवहार गर्दा मरेको भन्ने सुनेको भन्ने समेत भिमबहादुर राईको र ऐ. व्यहोरा मिलानको  विष्णुप्रसाद जोशीको, राती अं.१०.३० बजेको समयमा ठेलागाडीमा रविनकुमार समेतले ठेलागाडीमा १ जना केटी विरामी जस्तो लगेको देखेको भन्ने यमकुमार राई कान्छाको कोठामा एकजना केटी विमारी परी अस्पताल लगेको छ मरे अरे भन्ने भोलिपल्ट सुनेको भन्ने गंगाधर न्यौपाने, ऐ. व्यहोरा मिलान जस्तै रामबहादुर बस्नेत समेतको ०३९।८।१८।६ को सरजमीन मुचुल्का ।

१३.    विमारी छ भन्ने कुराबाट मद्दतको लागि सो घर दोकान अगाडि रिक्सा खडा गरी गई हेर्दा मुखाट फिंज आइरहेको रहेछ र मैले यो केटी मरिसकेकी छ त्यस कारण म उठाउँदिन भन्दै म तल ओर्लिए र उनीहरू दुबै जना डा.लाई बोलाउन गए । डा.लाई बोलाई ल्याएपछि म फेरी उठेर सो ठाउँमा गई हेर्दा डा. ले पनि विरामी खतम भयो भन्ने कुरा गरेर डा. ले अस्पताल लानु भनेपछि म समेत भई धरान अस्पतालको मुर्दाघरमा लाश पुर्‍याई आएका हौं । अनुचित व्यवहार गरेर नै त्यस्तो घटना भएको जस्तो लाग्दछ भन्ने व्यहोराको का.अं. १७९१ को रिक्सा चालक देवराज सुब्बाको ०३९।८।१८ को प्रहरीमा कागज ।

१४.    रात अं.१०।११ बजे घटना भइसकेपछि डाक्टर समेत आई सो ठाउँमा हल्ला खल्ला भई हेर्दा रविनको घर कोठा देखि विरामीलाई तल झारी ठेलामा हाली सकेका रहेछन् सो ठेलामा हालेको केटी मृतक अवस्थामा थियो मुख र नाकबाट अली फिंज आइरहेको थियो । मद्दत दिनु होस् भनेकाले म पनि मद्दतमा ठेला ठेल्दै धरान अस्पतालको मुर्दाघरमा लगी लाश राखी केही बेरमा डाक्टर आई जाँच गर्दा अगाडि नै मरिसकेको छ भनी दिए, निजहरूले अनुचित कारोवार गरेकोमा विश्वास लाग्दछ भन्ने व्यहोराको के.कि. तामाङ्गको चिया भातको होटलमा काम गर्ने चन्द्रबहादुर मगरको ०३९।८।१८ को कागज ।

१५.    अभियुक्तहरूले ज्यान मार्न सम्मको अनुचित गैर काम कुरा गरी ज्यानसम्बन्धीको महलको १० को १ नं. को बिपरीत शान्ता राईको ज्यान मार्न गएको हुँदा सोही ऐनको दफा १३(३) अनुसार अभियुक्त उपर सजायँ हुन प्रस्तुत भएको प्रहरी प्रतिवेदन ।

१६.     वारदात हुनुभन्दा ३½ घण्टा अघि अन्य प्रतिवादीहरूसँग छुटी जाने थानेश्वर तामाङ्गले कर्तव्य गरी मारेको भन्ने प्रमाणको अभावमा निज उपर मुद्दा चल्न नसक्ने र निज सुभाष राई, रविनकुमार लामा र शिवकुमारीलाई प्रहरीको राय अनुसार ज्यान सबन्धीको १३(३) अनुसार सजायँ हुन प्रस्तुत भएको सरकारी अभियोक्ताको ०३९।८।१२।३ को छुट्टै राय ।

१७.    अभियुक्तहरू सुभाष राई, रविनकुमार लामा र शिवकुमारी राईलाई पुर्पक्ष निमित्त अ.बं. ११८ को दफा ३(३) अन्तर्गत थुनामा राखी बाँकी अभियुक्तलाई वारेण्ट सहित ७० दिने म्याद जारी गर्ने ०३९।८।२४।५ का आदेशानुसार थानेश्वर तामाङको ७० दिने म्याद दिई ०३९।१०।७।६ मा तामेल भएको देखियो ।

१८.    ०३९।८।५।७ को रात करिव ७.३० बजे रविनकुमार लामासंग घुमी रहेको अवस्थामा मृतक शान्ता र शिवकुमारीले मलाई बोकाउन मेरो आफ्नै भाइलाई बोलाउन पठाएका हामी गयौं अरु नचिनेको २ जना केटा समेत भई जनसेवा होटलमा नास्ता गर्दै रहेछन् एकजना पैसा तिरेर हामी गयौं भनी होटल बाहिर गए, होटल बन्द हुने समय भएकाले बस्ने टुंगो छैन, सुत्ने ठाउँ बस्दोबस्त गरिदिन पर्‍यो भनिन् र मेरो साथी रविनको घरमा भनी चारैजना रविनको घरमा शान्ता र शिवकुमारीलाई रविनको कोठामा सुत भनी बाहिर निस्कियो । रविनले कुखुराको मासु चिउरा समेत होटलबाट किनेर ल्याई शान्ता र शिवकुमारीलाई दियो । दुबैले मासु चिउरा खाए सो को एकछिन पछि शान्ताले टाउको समाइन मुखबाट फिंज निकाली बमिट गर्न थालीन सारो हुन थालेकाले तपन भन्ने डाक्टरलाई बोलाई ल्यायो र डाक्टर बोलाई ल्याउँदा शान्ताको मृत्यु भइसकेको रहेछ । निज  डाक्टरले सरकारी अस्पताल लानु पर्छ भनेकाले अरु र ठेला चलाउने म रविन, शिवकुमारी समेत भई अस्पताल पुर्‍यायौं । डाक्टर आई जाँच गरे शान्ताको मृत्यु भइसकेको थियो । मृतक शान्तालाई म समेत भई जबरजस्ती करणी गरेको छैन । अरु कोहीसंग करणी गराएको भए उनीहरू नै जानुन् भन्ने समेत व्यहोराको प्र. सुभाष राईको बयान एकजना सानो केटाले बोलाउनु भएको छ जानु अरे भनी सुभाष राईलाई भन्दा निजले मलाई पनी जाउँ भनेकाले हामी दुबैजना जनसेवा होटलमा गयौं । नचिनेका २ जना केटा र यिनै २ केटी नास्ता गर्दै रहेछन् सो मध्ये १ ले नास्ताको पैसा तिरेर केटीहरूले जादैन भने पछि ति दुई केटा होटल बाहिर गए, होटल बन्द हुने समय भएकोले सुभाषले केटीहरूलाई कहाँ सुत्दछौ भनी सोध्दा टुंगो छैन, बन्दोवस्त गरिदिनु पर्‍यो भने र सुभाषले तपाईको घरमा आज सुताउ भनेकाले म सुत्ने गरेको कोठमा लगी होटलबाट हाप प्लेट मासु र चिउरा ल्याई शान्ता र शिवकुमारीलाई दिए दुबैजनाले खाए, मर्ने शान्ताले हात मुठी पारी मुखबाट फिंज निकाल्न थालेको देखि सो बोलेनन् भमिट पनि गर्न थालिन मृतक शान्ता धेरै सारो भएको देखी घरमा हल्ला गर्दा डाक्टर बोलाउनु पर्दछ भनेकोले म र सुभाष समेत तपन भन्ने डाक्टरलाई लिएर घरमा आई पुग्दा शान्ता राईको मृत्यु भइसकेको रहेछ । निज डाक्टरले अस्पताल लानु पर्छ भनी भनेकाले ठेला गाडीमा राखी कुल्ली समेत भई अस्पताल पुर्‍यायौं डाक्टरले जाँचे, शान्ताको मृत्यु भइसकेको थियो शान्तालाई म समेत भई जबरजस्ती करणी गरी ज्यान मारेको समेत होइन भन्ने समेत व्यहोराको कान्छा भन्ने रविनकुमार लामाको बयान । ०३८।८।५।७ को दिन विहान ८ बजे भानुचोकमा आएपछि मर्ने शान्ता थानेश्वर रिक्सामा बसी थानेश्वरको साथीले रिक्सा चलाई धरान १७ बस्ने मेरो मामा नाताको घरमा बसी सिनेमा हेर्न भनी भानुचोकमा आईपुग्दा दिनको १ बजेको र ३ देखि ६ बजेको सम्मको सिनेमा हेरी जनसेवा होटलमा आई सिंगडा र निम्की खायौं र थानेश्वरको साथी बदाम लिन भनी बाहिर आए र लगतै शान्ता पनि निस्कीयो र करिब १०:४० मिनेट पछि शान्ता र सो पछि लगतै थानेश्वरको साथी पनि आए, सोही अवस्था सुभाष र उसका साथी रविनकुमार आई पुग्यो, त्यसपछि थानेश्वर उसको साथी हामी गयौं । सुभाषले कहाँ सुत्छौ भनी सोध्दा केही टुंगो छैन भनी भने र सुभाषले मेरो साथीको डेरामा हिंड भनी भन्दा सुभाष, रविन म र मर्ने शान्ता डेरामा पुगी शान्ता र म खटीयामा सुभाष, रविनकुमार भुईमा सुत्यौं सुत्नु अगाडि सुभाष र रविनकुमारले चिउरा र कुखुराको मासु ल्याई दिएर खायौं मर्ने शान्ताले टाउको समाइन र मुखबाट फिज समेत निकालीन् । सुभाष र कान्छा समेत डाक्टरलाई बोलाउन गएर डाक्टर आई पुग्नु अगावै निज शान्ताको मृत्यु भई हाल्यो । हामी सबैले मिली धरान अस्पताल लगेका हौं । सुभाषले मुखमा हात राखेको देखेको भनी मैले प्रहरीमा कागज गरेको होइन घटनास्थलमा म सुभाष, रविनकुमार र मृतक शान्ता मात्र थियौं भन्ने समेत व्यहोराको प्र.शिवकुमारीको बयान ।

१९.     प्रतिवादी सुभाष राई र प्रतिवादी रविनकुमार लामाले मृतक शान्ता राईलाई कर्तव्यबाटै मारेको ठहरेकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) ले जन्मकैद हुन्छ निजहरू ०३९।८।७।२ बाट हिरासतमा रहेको देखिँदा सोही मितिबाट कैद कट्टा गर्ने गरी लगत राख्नु र अन्य प्रतिवादीहरूले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु सुनसरी जिल्ला अदालतको फैसला ।

२०.    शुरु सुनसरी जि.अ.ले प्र. शिवकुमारी राई र थानेश्वर तामाङलाई सफाई दिने गरी गरेको इन्साफमा चित्त बुझेन उक्त इन्साफ बदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने श्री ५ को सरकारको र सुनसरी जि.अ. ले हामीलाई कसूरदार ठहर्‍याई गरेको फैसला बदर गरी सफाई पाउँ भन्ने समेत प्र. रविनकुमार र सुभाष राईको पु.क्षे.अ. मा परेको पुनरावेदन ।

२१.    शुरु सुनसरी जिल्ला अदालतले प्र. शिवकुमारी राई र प्र. थानेश्वर राईलाई आरोपित कसूरबाट सफाई दिने ठहर्‍याएको र प्र. रविनकुमार र सुभाष राईलाई कसूरदार ठहर्‍याएको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पु.क्षे.अ. को फैसला ।

२२.    पु.क्षे.अ.ले प्र. शिवकुमारी राई र थानेश्वर तामाङलाई सफाई दिने ठहर्‍याएको शुरुको इन्साफ सदर गरेको फैसलामा चित्त बुझेन प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

२४.    नियमबमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट उपस्थित विद्वान उपन्यायाधिवक्ता श्री बलराम के.सी.ले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

२३.    यसमा पु.क्षे.अ. को इन्साफ मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने देखिन आएको  छ ।

२५.    निर्णयतर्फ विचार गर्दा यसमा प्रतिवादी मध्येका शिवकुमारी राई र थानेश्वर तामाङ्गलाई आरोपित कसूरबाट प.क्षे.अ. ले सफाई दिए उपर वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएको र प्रतिवादी मध्येका सुभाष राई र रविनकुमार लामाले कसूर गरेको ठहर्‍याई साधकको लागि यस अदालतमा आएको   देखियो ।

२६.    यस्मा प्रतिवादी मध्येका शिवकुमारी राई र थानेश्वर तामाङलाई सफाई दिने ठहर्‍याएको मिले नमिलेतर्फ विचार गर्दा प्रतिवादी शिवकुमारी राईले प्रहरी र अदालतमा बयान गर्दा घटना हुँदाको बखत मृतक शान्तासंगै सुतेको कुरा स्वीकार गरे तापनि कसूर स्वीकार गरेको देखिँदैन । साथै निजले अन्य प्रतिवादीहरुलाई अपराधिक कार्य गर्न लगाएको वा प्रोत्साहित गरेको भन्ने पनि देखिँदैन । यसको अलावा मृतक शान्ता राईको मुखबाट फिंज आएपछि मौकैमा औषधोपचार गराउन डाक्टर बोलाउने काममा र अस्पताल लैजाने काममा समेत संलग्न रहेको देखियो । मिसिल संलग्न अन्य प्रमाणहरूबाट पनि निज प्रतिवादीले अन्य प्रतिवादीहरूलाई अपराधिक कार्य गर्न प्रोत्साहित गरेको वा सघाउ पुर्‍याएको भन्ने समेत केही नदेखिएको त्यस्तो अपराध गर्नु पर्ने कुनै कारणसमेत नदेखिएको र निजलाई सहअभियुक्तहरूले पोल गरेको समेत देखिन नआएबाट निज प्रतिवादी शिवकुमारी राईले कसूर गरेको भन्न मिल्ने देखिन आएन । प्रतिवादी थानेश्वर तामाङले अदालतमा बयान गर्दा आरोपित कसूरमा इन्कार रहेको र सो इन्कारीलाई निजको साक्षी पूर्णबहादुरले समर्थन गरी बकपत्र गरेको, जाहेरवाला दलबहादुर श्रेष्ठले अदालतमा आई बकपत्र गर्दा प्र. थानेश्वर घटना हुँदाको बखत घटनास्थलमा उपस्थित समेत नरहेको बुझिएको हुँदा निज उपर मृतक शान्ता राईलाई मारेमा शंका लाग्दैन भनी बकपत्र गरेको अन्य प्रतिवादीहरूले निजको अपराध गर्ने कार्यमा संलग्नता रहेको भन्ने समेतको कुनै किसिमको पोल समेत गरेको नदेखिँदा निजले आरोपित कसूर गरेको भन्ने देखिन आएन । अतः प्र. शिवकुमारी राई र थानेश्वर तामाङलाई आरोपित कसूरबाट सफाई दिने ठहराएको शुरु सुनसरी जिल्ला अदालतको इन्साफ सदर गरेको पु.क्षे.अ. को इन्साफ मिलेको देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

२७.    अब प्रतिवादी मध्येका सुभाष राई र रविनकुमार लामालाई कसूरदार ठहर्‍याएको मिले नमिलेको के रहेछ त्यसतर्फ विचार गर्दा निजहरू र मृतक शान्ता राई एउटै कोठामा सुतेको प्रतिवादीहरूले प्रहरी र अदालतमा गरेको बयानमा समेत स्वीकार गरेको देखिन्छ लाशजाँच प्रतिवेदन हेर्दा मृतक शान्ता राईको दुबै तिग्राको भित्री भागमा छालो ताछिएको घाउ परेको योनीमा छिल्लिनुका साथै रगत आएको देखिन्छ । साथै मृत्युको कारण  जबरजस्ती करणी गरेको आघातले मृतकको मृत्यु भएको (The case of death is asphyxia resulting form suffocation and shock due to rape) भनी ३ जना मेडिकल अधिकृतको बोर्डले राय व्यक्त गरेको पाइन्छ । साथै मृतकको उमेर हेर्दा १५ वर्षकी नाबालिका देखिन्छ । यि तथ्यहरूबाट शान्ता राई जबरजस्ती करणी गर्दाको आघातले मरेको भन्ने कुरा प्रमाणित हुन आउँछ । अतः प्र. सुभाष राई र रविनकुमार लामाले मृतक शान्ता राईलाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरी सोही जबरजस्ती करणीको आघातले गर्दा निजको मृत्यु भएको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम निज प्रतिवादीहरूलाई कसूरदार ठहर्‍याएको शुरु सुनसरी जिल्ला अदालतको फैसला सदर गरेको पु.क्षे.अ. को इन्साफ मिलेको देखिन्छ । साथै निज प्रतिवादीहरूको उमेर हेर्दा १६ बर्षका देखिएका मृतकलाई रिसइवी वा अन्य कुनै कारणले ज्यानै मार्ने सम्मको मनसायले ज्यान मारेका भन्ने समेत मिसिलबाट नदेखिई मृतकको मुखबाट फिंज काढेपछि तत्कालै उपचार गराउन चिकित्सक बोलाउन र अस्पताल लाने कार्य गरेको समेत मिसिलबाट देखिन आएबाट समेत जबरजस्ती करणी गर्दा ज्यान मर्न गएको ज्यान मार्ने मनसाय नभएको देखिन आएकोले अ.बं. १८८ नं. बमोजिम शुरु सुनसरी जिल्ला अदालतले जनही ५।५ वर्षका दरले कैद गर्ने गरेको राय मनासिव ठहर्‍याएको पु.क्षे.अ. को राय समेत मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरुमा तपसील बमोजिम गर्नु ।

तपसील

प्रतिवादी देहायका मानिसहरू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम ५।५ वर्षका दरले कैद गर्ने राय व्यक्त गरेको शुरुको राय मनासिव ठहर्‍याएको पु.क्षे.अ. को राय सदर हुने ठहरेकोले शुरुले निज प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) अनुसार जन्मकैद गर्ने गरी राखेको लगत कट्टा गरी ५।५ वर्षका दरले कैद ठेग्ने लगत राख्नु भनी शुरु सुनसरी जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त. मा लगत दिनु । साथै निज प्रतिवादीहरू मिति २०३९।८।७ देखि थुनामा रहेको देखिएकोले निजहरूको कैद म्याद कट्टी भइसकेको देखिँदा थुनाबाट छाडी दिनु…..१, प्रतिवादी सुभाष राई …१, प्रतिवादी रविन राई …१, मिसिल नियमबमोजिम बुझाई दिनु…….१

 

उक्त रायमा मेरो सहमति छ ।

न्या. रुद्रबहादुर सिंह

 

इति सम्वत् २०४५ साल ज्येष्ठ १९ गते रोज ४ शुभम् ।