April 19, 1988
Created by nepalarchives

निर्णय नं. ३३९० – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. ३३९० ने.का.प. २०४५     अङ्क ३     संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४४...

निर्णय नं. ३३९० ने.का.प. २०४५     अङ्क ३

 

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

सम्वत् २०४४ सालको रिट नं. १५६८

आदेश भएको मिति : २०४५।१।७।३ मा

 

निवेदक : जिल्ला ललितपुर नगरपञ्चायत वडा नं. १४ इखबिजापुननी बस्ने तुल्सीबहादुर सिल्पकार

विरुद्ध

विपक्षी : ऐ.ऐ. हौगंल टोल बस्ने पुष्पराज कर्णिकारसमेत

 

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

 

(१)                  हक बेहकमा मुद्दा नपरेको जग्गामा असर नपर्ने गरी घलापात ननघाई घर बनाउन पाउने गरी घर बनाउने नक्शा पास गरेको नगरपञ्चायतको निर्णय तथा सो अनुसार दिएको घर बनाउने पास पुर्जी त्रुटिपूर्ण नदेखिएकोले अन्यथा गर्नु पर्ने स्थिति विद्यमान नदेखिने ।

(प्रकरण नं.  १०)

 

विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल तथा विद्वान अधिवक्ता श्री सीताराम तिवारी

 

आदेश

प्र.न्या.धनेन्द्रबहादुर सिंह :     नेपालको संविधानको २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ ।

२.     पूर्व कि.नं.८०९ को साझा धलापात पश्चिम साझा चोक उत्तर कि.नं.९५१ को घर र कि.नं.९५० को पाताल जग्गा दक्षिण बाटो यति चार किल्ला भित्रको स्ववासी घर जग्गा सर्भे नापी हुँदा ल.पु.न.पं. वडा नं. १४ इखाविजापुननीको कि.नं.८०८ क्षेत्रफल ०० जग्गामा बनेको पश्चिम मोहडाको २ नाले ४ तल्ले घर मेरो हक भोग दर्ताको घर हो । कि.नं.८०८ को पूर्व संधियार विपक्षी पुष्पराज कर्णिकारले ल.पु.न.पं. वडा नं. १४ को कि.नं.८१० मा बनी राखेको साविक घर भत्काई नयाँ घर बनाउने र कि.नं.९८१ मा विपक्षी पुष्पराजले नयाँ घर निर्माण गर्ने र पर्खाल बनाउने भनी ल.पु.न.पं. मा मलाई दक्षिण संधियार देखाई नक्शा पास गरेको दर्खास्त दिएको मेरो नाममा म्याद जारी हुँदा कि.नं.८१० को पश्चिमतर्फ मेरो घर र साझा धलापात भएकोमा नखोली पूर्व पश्चिम १४ उत्तर दक्षिण १४को कि.नं.८०९ को साझा धलापातमा नियम विरुद्ध ठूलाठूला झ्याल र ३ भन्दा बढीको टप राख्न लागेको राख्न नमिल्ने राख्दा आफ्नो जग्गाबाट ३हट्नु पर्ने भएकोले नक्शा दर्खास्त रोक्का राखी पाउँ भन्ने उजुरी दिनाको साथै पर्खाल र कि.नं.९८१ मा बनाउने घर सम्बन्धमा साविक देखि कायम  भइराखेको पिंग देवताको सार्वजनिक चोकलाई निजी वनाई सार्वजनिक बाटो समेत बन्द गर्ने गरी ४६ फिटको पर्खाल घेर्ने सम्बन्धमा विपक्षी पुष्पराजको श्रीमती कमला राज कर्णिकारले निजको दाता अष्टकुमारी र गंगामाया ताम्राकार समेत उपर उक्त सार्वजनिक चोक निजी बनाए ल.पु.जि.अ. मा फिराद परी मुद्दा चल्दा चल्दै मिति २०३८।१०।१७ गते राजीनामा गराई लिएको दुषित लिखत र दर्ता उपर विपक्षी पुष्पराज कर्णिकार समेत उपर ल.पु.जि.अ. मा जालसाजी र लिखत दर्ता बदर मुद्दा परी हक बेहक प्रश्न खडा भएकाले उक्त मुद्दाहरू निर्णय नभएसम्म नक्शा पासको कारवाही मुलतवी राखी पाउँ भन्ने निवेदन चढाएकोमा मुलतवी राख्नु भनी विपक्षी प्रधानपञ्चबाट मिति २०४४।३।२३ मा आदेश भएको । ल.पु.न.पं. बाट बुझ्दा कि.नं.९८१ समेतमा मुद्दा परेको जवाफ ल.पु.जि.अ. बाट आएको मिति २०४४।५।२६ गते मुद्दा परेको बाहेक गरी अरुमा नक्शा पास गरिपाउँ भन्ने विपक्षी बाबुराज कर्णिकारले आफ्नो हकमा समेत दर्खास्त दिनु भई पेश गरेको नक्शा न.पं. ऐन, २०१९ को दफा ४८ को बिपरीत विपक्षीहरूको पश्चिम संधियार म रिट निवेदकलाई बुझ्दै नबुझी नक्शा पास गरिदिने भन्ने मिति २०४४।६।९ को निर्णय पर्चा गरेको प्राकृतिक न्याय सिद्धान्त बिपरीत छ । अर्कातर्फ साझा धलापातको लम्बाई चौडाई केही उल्लेख नगरी परेको दर्खास्त नै वेरित छ । ६ फिटको झ्याल र ३ फिट भन्दा बढीको टप राख्नलाई आफ्नो जग्गाबाट ३ फिट हटेर मात्र राख्न पाउने हो भन्ने मेरो उजूरी परेपछि नक्शा पास नगर्नु पर्नेमा गरेको ऐन बिपरीत छ म निवेदकले पश्चिमतर्फको मेरो साझा धलापात हो भनी किटानी गरेपछि तेरो मेरो परी हक बेहक छुट्टाउनु पर्ने देखिन आए पछि हक बेहक गराई ल्याए पछि नक्शा पास हुने भनी सुनाउनु पर्ने सुनाई गरेको निर्णय त्रुटिपूर्र्ण छ ।

३.     उक्त साझा धलापात समेतमा मुद्दा परेपछि सो मुद्दाको अन्तिम निर्णय भई विपक्षी पुष्पराज समेतको हक भएपछि मात्र नक्शा पास गरिदिनु पर्नेमा सो नगरी कि.नं.८१० को जग्गामा घर बनाउन दिने भनी गरिएको निर्णय पर्चा न.पं. ऐन, २०१९ को दफा ४६, ४७, ४८, ४९ समेतको बिपरीत छ । विपक्षी ल.पु.न.पं. का प्रधानपञ्चको मिति २०४४।६।९ को निर्णय र मिति २०४४।७।३ को सरजमीन मुचुल्का र मिति २०४४।७।१० को नक्शा पुर्र्जी समेतबाट म निवेदकको संविधानद्वारा प्रदत्त हक हनन् हुन गएकाले विपक्षीहरूद्वारा गरिएको सम्पूर्ण काम कारवाही निर्णय सरजमीन मुचुल्का र नक्शा पास पुर्जी समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म न.पं. को पास पुर्जी अनुसार निर्णय कार्य काम नगर्नु भन्ने विपक्षीका नाममा अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर ।

४.     विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघे पछि पेश गर्नु भन्ने यस अदालत एक इजलासको आदेश ।

५.     ल.पु.न.पं. वडा नं. १४ को कि.नं.९८१ को ०२ को मन्जुरनामाबाट र ऐ. वडा नं. को कि.नं.८१० नक्शा दर्खास्तवाला बाबुराजा कर्णिकार को जग्गामा निज बाबुराजा कर्णिकार पुष्पराज कर्णिकार रोशन राज कर्णिकारले घर बनाउने नक्शा पास गरिपाउँन २०४३।७।२५ मा नक्शा दर्खास्त गर्नु भएको थियो । उक्त नक्शा दर्खास्तमा न.पं. ऐन, २०१९ कोे दफा ४७ बमोजिम संधियारका नाममा म्याद तामेल गरी सरजमीन समेत गरी नक्शा पास गरिएको थियो । प्राप्त उजुरी मध्ये विपक्षीको उजुरीमा कि.नं., ८१० को पश्चिममा मेरो घर र साझा धलापात नखोलेको कि.नं.९८१ को पश्चिममा कि.नं.८०९ साझा धलापात छ सो झ्याल र ३ फिट भन्दा बढी सो नराख्ने भन्ने दावी गर्नु भएको थियो । उक्त दावी पश्चात कि.नं.९८१ मा  ल.पु.जि.अ. मा उजूर गरी सो जानकारी समेत प्राप्त भएको थियो । उक्त उजूर पश्चात नक्शा दर्खास्तवालाले उजूर परेको बाहेकमा नक्शा पास गरिपाउन निवेदन गरे अनुसार निर्णय भएको हो । सो निर्णय गर्दा नक्शा दर्खास्त गरेको कि.नं.८१० मा विपक्षीको उजूर नभएकोले नक्शा पास गरिएको हो । विपक्षीको जग्गा नमिल्ने धक्का नदिने आफ्नो मात्र जग्गामा बनाउने गरी निर्णय भएको छ । कि.नं., ९८१ विवादित भएको र उजूर समेत परेकोले नक्शा पास नगरी पछि अदालतबाट भई आएको निर्णयानुसार गर्ने गरी निर्णय भएको हो यस नगरपञ्चायतको निर्णमा कुनै त्रुटि छैन अतः रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी ल.पु.न.पं. का प्रधानपञ्च बुद्धिराज बज्राचार्यको लिखितजवाफ ।

६.     कि.नं. ८१० को जग्गामा विपक्षीको मुद्दा नपरेको समेतबाट अधिकार प्राप्त निकायबाट कानून बमोजिम नक्शा पास गराई कि.नं.८१० को पुरानो घर भत्काई पारित कित्ता बमोजिम पक्की घर बनाई भोगचलन समेत गरी सकेकोले पुरानो घर भत्काई नयाँ घर बनाउन नक्शा पास गरेको न.पं. को निर्णयले विपक्षी रिट निवेदकको कुनै हक अधिकारमा आघात नपरेको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत प्रत्यर्थी पुष्पराज कर्णिकार, रोशनराज कर्णिकार, बाबुराज कर्णिकार समेतको संयुक्त लिखितजवाफ ।

७.     रिट निवेदक वा श्री भक्त भडेलले कि.नं.८१० को जग्गामा नयाँ घर निर्माण गर्ने नक्शापासको दर्खास्तमा सो कित्ताको पश्चिमतर्फको निवेदकको घर र साझा धलापातमा स्पष्ट रुपमा उल्लेख छैन साझा धलापात समेत मुद्दा ल.पु.जि.अ. मा दर्ता बदर जालसाजी मुद्दा परी रहेको अवस्थामा सो मुद्दाको अन्तिम निर्णय नभएसम्म घर बनाउने नक्शा पास नगर्नु पर्नेमा कि.नं.८१० को जग्गामा घर बनाउने नक्शा पास गरिदिएको विपक्षी ल.पु.न.पं.का प्रधाननौं पञ्चको मिति २०४४।६।९ को निर्णय तथा घर बनाउने मिति २०४४।७।१० को पुर्जी समेत न.पं. ऐन, २०१९ को दफा ४६, ४७, ४८, ४९ समेतको बिपरीत भई त्रुटिपूर्ण हुँदा उक्त विपक्षी प्रधानपञ्चले गरेको नक्शा पासको निर्णय तथा घर बनाउन दिएको पास पुर्जी समेत उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने प्रत्यर्थी बुद्धिराज बज्राचार्य तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री पुण्यप्रसाद अर्याल तथा पुष्पराज कर्णिकार समेतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री सीताराम तिवारीले कि.नं.८१० मा मुद्दा परेको छैन । उक्त जग्गामा मुद्दा परी हक स्वामित्वको कुरामा विवाद नभए पछि सो जग्गामा नक्शा पास गर्ने निर्णय गर्दा रिट निवेदकलाई हक अधिकार असर पर्ने कुरा छैन । नगरपञ्चायतले नक्शा पास निर्णय गर्दा विपक्षी रिट निवेदकको जग्गा नमिच्ने धक्का नदिने आफ्नो मात्र जग्गामा घर बनाउने गरी अधिकारप्राप्त अधिकारीबाट न.पं. ऐन, २०१९ को व्यवस्था बमोजिम नक्शा पासको निर्णय भएको तथा पास पुर्जी दिएको समेत कानून अनुरुप नै हुँदा रिट जारी हुनु पर्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

८.     यसमा निर्णयतर्फ हेर्दा विवादित कि.नं.८१० को जग्गामा विपक्षी पुष्पराज कर्णिकार समेतलाई घर बनाउने नक्शा पास गरेको विपक्षी ल.पु.न.पं. का प्रधानपञ्चको २०४४।६।९ को निर्णय तथा मिति २०४४।७।१० को घर बनाउने नक्शा पास पुर्जी समेत त्रुटिपूर्ण हुँदा उक्त निर्णय पुर्जी उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर देखिन्छ ।

९.     घर बनाउन प्रत्यर्थी पुष्पराज समेतले नक्शा पास गर्न दिएको विवादित कि.नं.८१० को जग्गामा हक बेहकमा मुद्दा चलेको छ भनी रिट निवेदकले भन्न सकेको छैन । धलापातलाई साझा भने पछि त्यसमातर्फ नखुलेकोले निवेदकको साझा नहुने भन्ने देखिएन । मिसिल सामेल रहेको प्रत्यर्थी नगरपञ्चायत कार्यालयको मिति २०४४।६।९ को निर्णय प्रतिलिपि हेर्दा घर बनाउने  नक्शा पास गरिपाउँ भनी दर्खास्त परेको कित्ता मध्ये कि.नं.८१० मा विवाद नभएको हुँदा प्रतिवादी तुलसीको घरको पूर्वतर्फ रहेको धलापातमा प्रतिवादीलाई धक्का नपर्ने गरी धलापात ननघाई टप राखी कि.नं.८१० कित्ता भरीमा मात्र मिति २०४४।५।२६ को नक्शा दर्खास्त निवेदन अनुसार घर बनाउन नक्शा पास गरिदिने भनी निर्णय गरेको देखिन्छ ।

१०.     त्यसरी हक बेहकमा मुद्दा नपरेको कि.नं.८१० को जग्गामा रिट निवेदकलाई असर नपर्ने गरी धलापात ननघाई प्रत्यर्थीहरूलाई घर बनाउन पाउने गरी घर बनाउने नक्शा पास गरेको प्रत्यर्थी नगरपञ्चायत कार्यालयको मिति २०४४।६।९ को निर्णय तथा सो अनुसार दिएको घर बनाउने पास पुर्जी समेत त्रुटिपूर्ण नदेखिएकोले अन्यथा गर्नु पर्ने स्थिति विद्यमान नदेखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या. पृथ्वीबहादुर सिंह

 

इति सम्वत् २०४५ साल बैशाख ७ गते रोज ३ शुभम् ।