April 17, 1988
Created by nepalarchives

निर्णय नं. ३३५९ – नाता कायम गरी न्वारान गराई पाउँ

निर्णय नं. ३३५९                 ने.का.प. २०४५                  अङ्क २     संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत्...

निर्णय नं. ३३५९                 ने.का.प. २०४५                  अङ्क २

 

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४३ सालको फौ.पु.नं. ३८४

फैसला भएको मिति : २०४५।१।५।१ मा

 

पुनरावेदक, प्रतिवादी : जि. रामेछाप गा.पं. दौरम्वा वा. नं. २ बस्ने वाङगेल मोक्तान

विरुद्ध

विपक्षी, वादी : जि. रामेछाप गा.पं. दौरम्वा वा.नं. २ बस्ने ज्ञानु तामाङनी

 

मुद्दा : नाता कायम गरी न्वारान गराई पाउँ

 

(१)                  अस्पतालमा भर्ना भएको र त्यहाँबाट उपचार गराएको प्रमाणको अभावमा व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको उपचार सम्बन्धी प्रमाण र औषधी किनेको भनेको बिललाई मात्र अकाट्य ठोस प्रमाणको रुपमा ग्राहृय गर्न नमिल्ने ।

(प्रकरण नं.  ११)

(२)                व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको प्रमाणपत्र र औषधी कीनेको बिल त्यस्तो अवस्थामा मुद्दामा प्रमाणको रुपमा ग्राहृय हुनसक्छ जब प्रतिवादीको जिकिर अन्य ठोस प्रमाणहरूद्वारा पनि पुष्टी भएको हुन्छ ।

(प्रकरण नं.  ११)

(३)                कुनै पनि अविवाहित स्वास्नी मानिसले कुनै पुरुषले करणी गरेको र गर्भ रहेको कुरा झुठ्ठा रुपमा भन्ने र दावी गर्नु हाम्रो समाज र संस्कारमा प्राय सम्भव नहुने ।

(प्रकरण नं.  ११)

 

पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

 

फैसला

न्या.पृथ्वीबहादुर सिंह : म.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुनआएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ ।

२.म २०४१ साल जेष्ठ ५ गते अन्दाजी ९ बजेको समयमा दौरम्वा गा.पं. वार्ड नं. २ मा पर्ने बाबाको क्षेती खोलाको बारीमा वर्षे गोठ हुँदा घाँस काट्न गएका बखत विपक्षले मलाई तिमी र म लोग्ने स्वास्नी हुन पर्छ भन्दा हामी दुबै विवाह नभएका हुँदा गोठमै खुसिबाटै करणी लिनु दिनु भएको र त्यसपछि जहाँ जुन ठाउँमा एकान्त पर्छ सोही ठाउँमा करणी लिने दिने भयो । छर छिमेक र आमा बाबुले समेत गर्भ रहेको थाहा पाई खार खेर गरेकाले विपक्षकै सहवासबाट मेरो गर्भ रहेको भनी मैले भनेपछि विपक्षलाई बाबु जितबहादुरले झिकाउँदा नआई अन्यत्र गई बसेकाले २०४१।१०।१५ गते विपक्षीको बाबु लालबहादुरकहाँ गई तपाईको छोरा वाङगेल मोक्तानले मलाई २०४१।२।५ देखी स्वास्नी बनाई राखी गर्भ बोकाएको ९ महीना भइसकेकोले तपाईको घरमा आएको हुँ, छोरा कहाँ गयो भनी सोद्धा छोरा घरमा छैन तिमिलाई बस्न खान दिन्न भनी विपक्षीलाई भगाएको र त्यहाँ बस्न नदिई लाचार भई माइतमा आएकी थिएँ । मिति २०४१।११।२ गते जातक छोरी जाय जन्म भएकोले ऐ. ७ गते न्वारान गरिदेउ भनी विपक्षको घरमा जाँदा न्वारान गरी नदिएकोले म अविवाहिता मानिसलाई करणी गरी गर्भ बोकाई जातक छोरी जन्मी सकेकीले विपक्षी वाङगेलसंग लोग्ने कायम गरी न्वारान समेत गराई पाउँ भन्ने व्यहोराको फिरादपत्र ।

३.वादी दावी बमोजिम २०४१।२।५ गते विपक्षलाई विपक्षको बाबुको छेति खोलाको गोठमा मैले करणी गर्दा गर्भ बोकाएको छैन । वारदातका दिन म घरमा नभई छातिको रोग सम्बन्धी उपचार गर्न कालिमाटी काठमाडौं गई डाक्टर केशवप्रसाद भक्त श्रेष्ठबाट उपचारको लागि २०४१।२।१ गते देखि ऐ. १५ गतेसम्म नियमित रुपले उपचार गरी २०४१।२।१९ मा मात्र घर आएको छु । निज डाक्टरले दिनु भएको सर्टिफिकेट र औषधीको बिल समेत म संग छ । विपक्षलाई मैले गर्भ  बोकाएको भए मेरो करणी विर्यबाट गर्भ रहेको भनी प्रहरी चौकी र पञ्चायतका सामुन्ने भन्न सक्नु पर्ने र चौकीले समेत मलाई जिम्मा लगाउन सक्नु पर्र्ने, विपक्षले दौरम्वा गा.पं. वार्ड नं. १ बस्ने छावा तामाङको छोरा ज्ञानबहादुर तामाङको २०४१ जेष्ठ देखि गर्भ बोकी जातक समेत भयो रे भन्ने साक्षीहरूले गाउँघरमा हल्ला गरेको सुनेको हुँ । ज्ञानु तामाङनी र ज्ञानबहादुर तामाङ समेतलाई अदालतबाटै खारखेर गरिपाउँ । जितबहादुरको सिकायतमा लागि झुठ्ठा फिराद दिएको हुँदा झुठ्ठा फिराद दिएमा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर ।

४.ज्ञानु तामाङनीलाई मैले करणी गरी गर्भ बोकाई बालक समेत मेरो भए निजले म उपर नालिश उजूर गर्ने थिइन् सो गर्न नसकेकाबाट समेत म उपरको उजूरी झुठ्ठा हुँदा दावीबाट फुर्सद पाउँ । ज्ञानु तामाङनीले जन्माएका जातक प्र.वाङगेल मोक्तानकै गर्भ बोकी पैदा भएको हुँदा प्र.वाङगेलले न्वारान गरिदिनु पर्ने हो भन्ने समेत व्यहोराको ज्ञानबहादुर लामाको बयान ।

५.वादी दावी बमोजिम वादी ज्ञानु तामाङनी र प्र. वाङगेल तामाङ लोग्ने स्वास्नीको नाता कायम भई जातक छोरीको प्र. ले न्वारान समेत गरिदिनु पर्ने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४२।९।२९ को रामेछाप जिल्ला अदालतको फैसला ।

६.रामेछाप जिल्ला अदालतको फैसला उपर म.क्षे.अ.मा प्रतिवादीको पुनरावेदन परेको ।

७.वादी दावी कायम गरेको रा.जि.अ. को इन्साफ मनासिव हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत म.क्षे.अ. को फैसला ।

८.म.क्षे.अ. को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परी म.क्षे.अ. को फैसलामा अ.बं. १८४(क) तथा प्रमाण ऐन, २०३१ को दफा ३ र ५४ समेतको त्रुटी गरी निर्णय भएको भनी न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम पुनरावेदन गर्ने अनुमति दिने भनी यस अदालत संयुक्त इजलासबाट मिति २०४३।४।८।४ मा आदेश भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको रहेछ ।

९.नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दाको पुनरावेदन मिसिल अध्ययन गरी पुनरावेदकका तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले गर्नु भएको बहस र विपक्षी वादीले गरेको जिकिर समेत सुनियो ।

१०.अब म.क्षे.अ को इन्साफ मिले नमिलेको रहेछ । सो को निर्णय दिन परेको छ ।

११.निर्णयतर्फ विचार गर्दा यसमा वादी ज्ञानु तामाङनी र प्र.वाङगेल मोक्तान आपसमा ख्याल गरी हिंड्ने गरेको भन्ने कुरा वादीका साक्षीहरूबाट खुल्न आएको र वादीले प्र.वाङगेल मोक्तानले आफूलाई करणी गर्ने व्यक्ति भनी झुठ्ठा दावी गर्नु पर्ने तर्कसंगत कारण प्रतिवादीले पेश गर्न सकेको पाइँदैन । जहाँसम्म वादीले उल्लेख गरेको वारदातको समयमा प्रतिवादीले छातीको औषधी गर्न काठमाडौं कालिमाटी गई डा.केशवभक्त श्रेष्ठबाट उपचार गराएको र निज डाक्टरले गरिदिएको सर्टिफिकेट र औषधीको बिल पेश गरेको भन्ने प्रश्न छ त्यसतर्फ विचार गर्दा निज प्रतिवादीले कुनै सरकारी अस्पतालमा भर्ना भई उपचार गराएको भन्न र तत्सम्बन्धी प्रमाण पेश गर्न सकेको पाइँदैन । त्यसरी अस्पतालमा भर्ना भएको र त्यहाँबाट उपचार गराएको प्रमाणको अभावमा व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको उपचार सम्बन्धी प्रमाण र औषधी किनेको भनेको बिललाई मात्र अकाट्य ठोस प्रमाणको रुपमा ग्राहृय गर्न मिल्दैन । वादी दावीबाट इन्कार रही आफ्नो जिकिर खम्बीर गराउन त्यस्तो घटना सम्बन्धमा व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको प्रमाणपत्र र औषधी किनेको बिल त्यस्तो अवस्थामा मुद्दामा प्रमाणको रुपमा ग्राहृय हुन सक्छ जब प्रतिवादीको जिकिर अन्य  ठोस प्रमाणहरूद्वारा पनि पुष्टी भएको हुन्छ । प्रस्तुत मुद्दामा प्रतिवादीले वादी दावी वा अपराधमा इन्कार रहँदा उक्त डाक्टरको सर्टिफिकेट तथा औषधी किनेको बिल बाहेक अन्य कुनै तथ्ययुक्त प्रमाण दिन सकेको छैन । कुनै पनि अविवाहित स्वास्नी मानिसले कुनै पुरुषले करणी गरेको र गर्भ रहेको कुरा झुठ्ठा रुपमा भन्नु र दावी गर्नु हाम्रो समाज र संस्कारमा प्राय सम्भव हुँदैन । यस्तो अवस्थामा जातक बच्ची निज प्रतिवादीको करणी विर्यबाट जन्मेको होइन भन्न मिलेन । तसर्थ वादी ज्ञानु तामाङ र प्रतिवादी वाङगेल मोक्तानलाई लोग्ने स्वास्नीको नाता कायम गरी जातक छोरीको प्रतिवादीले न्वारान गरिदिनु पर्ने समेत ठहर्‍याएको शुरु रामेछाप जिल्ला अदालतको इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मिलेकै देखिँदा सदर हुने ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्द प्रधान

 

इति सम्वत् २०४५ साल बैशाख ५ गते रोज १ शुभम् ।