December 23, 2004
Created by nepalarchives

निर्णय नं. ७४५४ – वक्सपत्र लिखत वदर हक कायम ।

निर्णय नं.७४५४     ने.का.प.२०६१       अङ्क १०   संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह सम्वत २०५८ सालको दे. पु. नं. …७२७२...

निर्णय नं.७४५४     ने.का.प.२०६१       अङ्क १०

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री खिलराज रेग्मी

माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह

सम्वत २०५८ सालको दे. पु. नं. …७२७२

फैसला मितिः २०६१।९।८।५

 

मुद्दः वक्सपत्र लिखत वदर हक कायम ।

 

पुनरावेदक

प्रतिवादीः जिल्ला रौतहट वैरिया गा. वि. स. वडा नं. ४ बस्ने जिना बेगम

बिरुद्ध

प्रत्यर्थी

वादी ऐ. ऐ. वडा नं. ७ बस्ने जमिला शेखिन  समेत

 

§  छुट्टा छुट्टै बिषय प्रकृति र विवादको कुरामा हदम्यादको कानूनी व्यवस्था भएकोमा सोही बमोजिम हुने हुनाले दान बकसको हकमा दान वकसको ५ नं. ले हदम्यादको व्यवस्था गरेको र त्यसलाई निष्कृय हुने गरी प्रयोग र ब्याख्या गर्नु न्यायिक र ब्याख्याको सिद्धान्त अनुकुल नहुने हुँदा लिखत बदरको माग गर्न आएको लिखत बकसपत्र देखिएको र सो वकसपत्र लगायत दान बकसको सम्वन्धमा दान बकसको महल नै आकर्षित  हुने ।

§  अंश नलिएका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले आफ्ना पालामा आर्जेको चल अचल सबै आफुखुश गर्न पाउने व्यवस्था अंशवण्डाको १९(२) नं. मा गरेको पाईदा पैतृक सम्पत्ति वाहेक अंशवण्डा नभई संगोलमै रहेका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले निजहरु संगोलमै रहेका अबस्थामा समेत आर्जन गरेको सम्पत्ति आफ्ना पालामा आर्जेको सम्पत्ति मानिने र हक छाडी विक्री वितरण गरेर आफु खुशी गर्न पाउने

§  संगोलमा रहेका बाबु, आमा, दाजु, भाई हुने मानिसको निजी आर्जन बाहेक आफ्ना पालाको आर्जन भनी छुट्याउन मिल्ने नदेखिने र सो को परिकल्पना कानूनले गरेको देखिदैन । नीजहरुको हकमा अन्यथा प्रमाणित नगरेसम्म संगोलको कुनै पनि अंशियारको नाउंको सम्पत्ति संगोलको आर्जन हुने देखिन्छ । एउटै व्यक्तिको बाबु, आमा, दाजु भाईको हकमा संगोलको आर्जन हुने सम्पत्ति नीजको स्वास्नी, छोरा, अविवाहिता छोरी वा वुहारीको हकमा आफ्ना पालाको आर्जन हुन जाने ।

 

पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारी

प्रत्यर्थी वादी तर्फवाटःविद्वान अधिवक्ता श्री ध्रुवलाल राज

अवलम्वित नजिरः

 

फैसला

            न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत हेटौडाको मिति ०५८।३।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत प्रतिवादीको तर्फवाट पुनरावेदन दायर भई पेश हुन आएको प्रस्तुत पुनरावेदन पत्र सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

२.    हामी फिरादीको अंश हक लाग्ने जिल्ला रौतहट गा. वि. स. बैरिया वा. नं. ८ कि. नं. २५ को ०१० ऐलानी जग्गा तथा सो मा भएको फुसको घर थान १ को प्र. शेख सौखत अलीले हामी फिरादीसंग मन्जुरी नलिई तथा साक्षी समेत नराखी प्र. जिना बेगमका नाउँमा २०५४।३।२२ गते हालैको बकस पत्रको लिखत र. नं. ७९८६ बाट पारित गरी दिएकोले सो पारित लिखतमा उल्लेखित जग्गा मध्ये हामी फिरादीको अंश हक जति ३ भागको २ भागको हकदार हामि फिरादी मध्येका जमीला सेखिन तथा सेख जमिरुल हक भएकोले उक्त जग्गा घर मध्ये ३ भागको २ भाग दक्षिणतर्फबाट ०१० कनवा जग्गा तथा सो मा भएको घर तथा बांकी एक भाग प्र. शेख सौखत अलीको अंश भागमा पर्ने भएकोले सो एक भागको ३ भाग गरी सो ३ भागको २ भागको हामि फिरादी भिखैनिया शेखिन तथा सेख मुमताज आलम हकदार रहेकोले सो २ भाग दक्षिण तर्फबाट ०४ कनवा जग्गा तथा सो मा भएको घरको हदसम्म लिखत बदर हुने ठहराई सो जग्गा घरमा हामि फिरादीको हक कायम समेत हुने इन्साफ गरी पाउँ भन्ने समेत ब्यहोराको वादीको फिराद दाबी ।

३.    मेरो दाता सेख सौखत अलीले मलाई २०५४।३।२२ मा बकस लेखी दिएको घर जग्गामा वादीहरुको अंश हक लाग्ने सम्पत्ति नभई दाता प्र. शेख सौकत अलीको आफुले आर्जन गरेको एकलौटी निजी सम्पत्ति रहेकोले र प्रस्तुत फिराद नै लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी दर्ता भएकोले वादी प्रपन्न अधिकारी र प्र. रमा दहाल समेत भएको बकस पत्र लिखत दर्ता बदर मुद्दामा सर्वोच्च अदालतबाट २०५४।९।१६ मा प्रतिपादित सिद्धान्तको आधारमा खारेज गरी पाउँ भन्ने समेत ब्यहोराको प्र. जिना बेगमको प्रतिउत्तर पत्र ।

४.    प्र. जिना बेगमको नाउंमा दाबीको जग्गाको बकस पत्र मैले पारित गरी दिएको हुँ । अंश मार्ने उद्देश्यले वकस पत्र लिखत पारित गरी दिएको छैन भन्ने समेत व्यहोराको प्र. मध्येको सेख सौखत अलीको छुट्टै दिएको प्रतिउत्तर पत्र ।

५.    यसमा प्रस्तुत मुद्दाको तथ्यसंग मिल्ने वादी प्रपन्न अधिकारी समेत र प्रतिवादी रमा अधिकारी समेत भएको लिखत बदर मुद्दामा रमा दहाललाई उर्मिलाले मिति २०४५।२।३१ मा बकस पत्र गरी दिई २०४७।२।३० मा दान बकसको ५ नं. को म्यादमा फिराद परेकोमा लेनदेन व्यवहारको १० नं. मा रजिष्ट्रेशन पारित भएको १ बर्षसम्म थाहा पाएको ३५ दिन भित्र उजुर गर्नुपर्ने कानूनी व्यवस्था देखिएकोले लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी फिराद परेको देखिदैन भनी सर्वोच्च अदालतको नि. नं. ६६४३ ने. का. प. ०५५ पृष्ठ ७०५ मा नजिर प्रतिपादन भएको देखिएकोमा प्रस्तुत मुद्दामा प्रतिवादी शेख सौखत अलीले मिति २०५४।३।२२ मा जिना बेगमलाई बकसपत्र गरेको र फिराद २०५६।३।१ मा परेको देखिदा उक्त नजिरले म्याद नाघी दायर भएको देखिएकोले वादी दावी अ. वं. १८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको शुरु रौतहट जिल्ला अदालतको मिति २०५६।११।११।४ को फैसला ।

६.    उक्त शुरु फैसला उपर चित्त बुझेन । जुन महलको जुन ऐन अन्तर्गतको फिराद परेको छ, सोही दायरा भित्र रही न्याय सम्पादन हुनुपर्नेमा दान बकसको महल अन्तर्गतको मुद्दामा लेनदेन व्यवहारको महलको म्याद लगाई फिराद दाबी खारेज गर्ने गरी भएको फैसला कानूनी त्रुटीपूर्ण छ । प्रस्तुत मुद्दामा लगाइएको नजिर निर्णयार्थ मुद्दाको प्रकृतिसंग मेल नखाई अर्को प्रकृतिको बेग्लै परिस्थितिमा उठेको मुद्दामा कायम भएको सिद्धान्तलाई अंगाली खारेज गर्ने गरी भएको फैसला विलकुल कानून तथा न्यायको प्रतिकूल हुँदा पुनरावेदन जिकिर उपर विचार गरी बकस पत्र बदर मुद्दाको रोहमा हदम्याद सम्बन्धमा श्री सर्वोच्च अदालतबाट स्थापित भएका नजिर सिद्धान्तहरुको प्रतिकूल दान बकसको महलमा व्यवस्थित हदम्याद समेतको प्रतिकूल भएको उक्त खारेजी फैसला बदर गरी वादी दावी बमोजिम हुने गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।

७.    यसमा दान बकसको १ नं. र ५ नं. को आधारमा २ बर्ष भित्र परेको फिराद पत्रलाई ने. का. प. २०५५ पृष्ठ ७०५ मा प्रकाशित लेनदेन व्यवहारको १० नं. को हदम्यादमा आउनु पर्ने भन्ने न्यायिक सिद्धान्त अनुरुप हदम्यादको आधारमा जिल्ला अदालतवाट भएको खारेजी फैसला दान बकसको ५ नं. को प्रष्ट कानूनी प्रावधान विपरीत भई शुरु जिल्ला अदालतको फैसला फरक पर्न सक्ने हुँदा छलफलको लागि अ. बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम प्रत्यर्थी झिकाउनु भन्ने समेत ब्यहोराको पुनरावेदन अदालतको आदेश ।

८.    वादी दावीअनुसार २०५४।३।२२ को बकसपत्र लिखत वदर भई हक कायम समेत हुने हुँदा हदम्याद नघाई दायर भएको भनि खारेज गरेको शुरु फैसला उल्टी हुने ठहर्छ भन्ने समेत ब्यहोराको पुनरावेदन अदालत हेटौडाको मिति ०५८।३।१२ को फैसला ।

९.    हदम्याद नाघी आएको फिरादलाई खारेज नगरी गरेको पुनरावेदन अदालत हेटौडाको फैसलामा अ. वं. १८० नं. को ठाडै प्रतिकूल रहेको हुँदा उक्त फैसला वदर गरी फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

१०.    यसमा सेख मुमताजको उमेर नालेस गर्दाको अबस्था १७ बर्ष देखिएको, लिखत हुँदाका वखत १५ बर्षको हुँदा नीजको मन्जुरी लिई रहनु नपर्ने कुरा अंशवण्डाको १९ नं. ले प्रष्ट गरेवाट उक्त ऐनको व्याख्यात्मक त्रुटि र सर्वोच्च अदालतवाट प्रतिपादित .ने.का.प. २०५५ नि. नं. ६६४२ पृष्ठ ७०५) शिद्धान्त प्रतिकूल पुनरावेदन अदालत हेटौडावाट भएको फैसला फरक पर्न सक्ने देखिदा अ. वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतको मिति ०६१।१।१० को आदेश।

११.    नियम बमोजिम दैनिक पेशी सूचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फवाट उपस्थित विद्वान अधिवक्ता श्री खगेन्द्रप्रसाद अधिकारीले आफ्नो आर्जनको घर जग्गा आफुखुस गर्न पाउने अरु अंशियारमा र हकवालाको मन्जुरी लिन नपर्ने कुरा दान बकसको १ नं. लेनदेन व्यवहारको १० नं. अंशवण्डाको १९ नं. ले निर्विवाद गरेको छ । यसप्रकार मन्जुरी लिन नपर्ने कुरा निर्विवाद रहेको वावजुद विपक्षीको फिराद खारेज नगरी भएको निर्णय अ. वं. १८० नं. को विपरीत हुँदा पुनरावेदन अदालतको फैसला उल्टी हुनुपर्छ भनी वहस प्रस्तुत गर्नुभयो । यसैगरी प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री ध्रुवलाल राजले दान वकसको महलमा व्यवस्थित हदम्याद लिखत भएको २ बर्ष भित्र नै नालिस परेको हुँदा पुनरावेदन अदालतको फैसला मिलेको हुँदा सदर हुनुपर्छ भनि बहस प्रस्तुत गर्नुभयो ।

१२.   पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी वादी प्रतिवादी दुवै पक्षका कानून व्यवसायीहरुले गर्नु भएको बहस जिकिर समेत सुनि निर्णय तर्फ विचार गर्दा यसमा वादी दावी पुग्न सक्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको फैसला मिले नमिलेको के रहेछ ? पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो ।

१३.   निर्णयतर्फ विचार गर्दा संगोलको आर्जनवाट खरिद गरेको विवादित कि. नं. २५ को ०१० धुर जग्गा प्रतिवादी शेख सौखत अलिले मिति ०५४।३।२२ मा प्र. मध्येकी जिना वेगमलाई हालैको वकसपत्र गरि दिएको कारण हाम्रो हक गएकोले हाम्रो हक जति बदर गरी पाउँ भन्ने मुख्य फिराद दाबी रहेकोमा लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी दर्ता भएकोले फिराद खारेज हुनुपर्छ भन्ने व्यहोराको मुख्य प्रतिउत्तर जिकिर रहेकोमा शुरु रौतहट जिल्ला अदालतले हदम्याद नाघी दायर भएको भन्ने आधारमा फिराद खारेज हुने ठहर्‍याई भएको फैसला उपर वादीको पुनरावेदन परेकोमा शुरुको फैसला उल्टी गरी दाबीअनुसार ०५४।३।२२ को बकस पत्र लिखत बदर भई हक कायम हुने ठहर्‍याई पुनरावेदन अदालत हेटौडाबाट भएको फैसला उपर प्रतिवादीको यस अदालतमा पुनरावेदन परी प्रस्तुत मुद्दा पेश हुन आएको पाईयो ।

१४.   विवादको कि. नं. २५ को जग्गा दिने शेष अन्सारुल हक लिने शेष शौखत अलि भै मालपोत कार्यालय रौतहट गौरवाट र. न.. २०४६ मिति २०५३।७।१३ मा राजीनामा गरि लिए दिए पश्चात उक्त जग्गा शेष सौखत अलि दिने लिने जिना वेगम भै र. नं. ७९८६ मिति २०५४।३।२२ मा हालैको बकसपत्र लिखत गरि दिएको देखिन आउंछ । उक्त लिखत बदरको माग गरी दान बकसको ५ नं. को म्याद अंगाली ०५६।३।१ मा फिराद परेको देखिन्छ । प्रतिवादीले प्रतिउत्तर पत्रमा प्रस्तुत फिराद दान बकसको ५ नं. आकर्षित हुने नभै लेनदेन व्यवहारको १० नं. आकर्षित हुने भन्ने जिकिर लिएको र शुरु अदालतले पनि सोही आधारमा फिराद खारेज गरेको देखिन्छ भने पुनरावेदन अदालतले प्रस्तुत फिरादमा दान बकसको महलको ५ नं. आकर्षित हुने ठहर्‍याई शुरुको फैसला उल्टी गरेको  पाइन्छ ।

१५.   दान वकसको ५ नं. मा भएको ब्यबस्था हेर्दा आफुले दान बकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले र दिन नहुने दान बकस दिएकोमा पाउनेको हक पुगी भोगचलन गरेको २ बर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने उल्लेख भएको पाइन्छ । पुनरावेदक जिना वेगमले शेष सौकत अलिवाट र. नं. ७९८६ मिति ०५४।३।२२ मा गराई लिएको लिखत वकसपत्रको देखिनाले यस वकसपत्रको लिखत वदर गराई माग्न दान वकसको ५ नं. को हदम्याद नै आकर्षित हुने देखिन्छ । उपरोक्त बमोजिम फिराद २०५६।३।१ मा दायर भएको देखिदा हदम्याद नघाई फिराद दायर भएको भन्ने पुष्टी हुन आएन । जहांसम्म प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं. आकर्षित हुने भन्ने पुनरावेदकको जिकिर छ सो सम्बन्धमा हेर्दा छुट्टा छुट्टै बिषय प्रकृति र विवादको कुरामा हदम्यादको कानूनी व्यवस्था भएकोमा सोही बमोजिम हुने हुनाले दान बकसको हकमा दान वकसको ५ नं. ले हदम्यादको व्यवस्था गरेको र त्यसलाई निष्कृय हुने गरी प्रयोग र ब्याख्या गर्नु न्यायिक र ब्याख्याको सिद्धान्त अनुकुल नहुने हुँदा लिखत बदरको माग गर्न आएको लिखत बकसपत्र देखिएको र सो वकसपत्र लगायत दान बकसको सम्वन्धमा दान बकसको महल नै आकर्षित हुने हुन्छ । यसै विषय समावेश भएको पुनरावेदक मीनवहादुर वस्नेत विरुद्ध वेद कुमारी बस्नेत समेत भएको बकसपत्र वदर मुद्दामा (ने.का.प. २०५९ अं.क ५, ६ नि. नं. ७०८७ पृष्ठ २५४) वकस पत्र बदर सम्वन्धि विवादमा दान बकसको ५ नं. कै हदम्याद पकडी फिराद परेको देखिएकोले लेनदेन व्यवहारको १० नं. को हदम्याद लागु हुने भन्ने विद्वान कानून व्यवसायीको वकससंग सहमत हुन नसकिने भनी पूर्ण इजलासवाट शिद्धान्त कायम भएको समेतवाट हदम्यादको प्रश्नबाट प्रस्तुत फिरादलाई पन्छाउन मिल्ने देखिन आएन ।

१६.    अव लिखत बदरतर्फको फिराद दाबीको सम्बन्धमा विचार गर्दा विवादित जग्गा ०५३।७।१३ मा प्र. शेष सौखत अलिले राजीनामाबाट प्राप्त गरेको देखिएको हुँदा नीजले आफ्ना पालामा आर्जेको सम्पत्ति देखिन आयो । अंशवण्डाको १९(२) नं. मा अंश नलिएको स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले आफ्ना पालाको आर्जेको सबै आफु खुस गर्न पाउँछ भन्ने व्यवस्था भएको पाइन्छ । प्रस्तुत सन्दर्भमा संगोलको आर्जन, निजी आर्जन तथा आफ्ना पालाको आर्जनको बिषयमा स्पष्ट हुनुपर्ने देखिन आएको छ । मानो नछुट्टिई संगै बसेका अँशियार छन् भने जुनसुकै अंशियारले संगोलको सम्पत्तिवाट वा संगोलको खेत, उद्योग, व्यापार, व्यवसायबाट बढे बढाएको संगोलको आर्जन हुने र कुनै अंशियारले आफ्नो ज्ञान वा सीप वा प्रयासबाट आर्जन गरेकोलाई निजी आर्जन मानिने गरी अंशवण्डाको १८ नं. मा व्यवस्था गरेको पाइन्छ । अंश नलिएका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले आफ्ना पालामा आर्जेको चल अचल सबै आफु खुश गर्न पाउने व्यवस्था अंशवण्डाको १९(२) नं. मा गरेको पाईदा पैतृक सम्पत्ति वाहेक अंशवण्डा नभई संगोलमै रहेका स्वास्नी, छोरा, अविवाहिता छोरी वा विधवा वुहारी हुने मानिसले निजहरु संगोलमै रहेका अबस्थामा समेत आर्जन गरेको सम्पत्ति आफ्ना पालामा आर्जेको सम्पत्ति मानिने र हक छाडी विक्री वितरण गरेर आफु खुशी गर्न पाउने देखिन आयो । संगोलमा रहेका बाबु, आमा, दाजु, भाई हुने मानिसको निजी आर्जन बाहेक आफ्ना पालाको आर्जन भनी छुट्याउन मिल्ने नदेखिने र सो को परिकल्पना कानूनले गरेको देखिदैन । नीजहरुको हकमा अन्यथा प्रमाणित नगरेसम्म संगोलको कुनै पनि अंशियारको नाउंको सम्पत्ति संगोलको आर्जन हुने देखिन्छ । एउटै व्यक्तिको बाबु, आमा, दाजु भाईको हकमा संगोलको आर्जन हुने सम्पत्ति नीजको स्वास्नी, छोरा, अविवाहिता छोरी वा वुहारीको हकमा आफ्ना पालाको आर्जन हुन जाने देखिन्छ । प्रस्तुत मुद्दामा ठीक यही अबस्था पर्न गएको पाइन्छ । प्र. सौखत अलिको नाउंको विवादित लिखतको जग्गा वादीहरुमध्ये आमा जमिला र भाई जमिरुलको हकमा संगोलको आर्जन देखिन आएको छ भने स्वास्नी भिखैनिया र छोरा शेष मुमताजको हकमा आफ्ना पालाको आर्जन हुन आएको पाइन्छ । उपरोक्त बमोजिम प्र. शेष सौखतले राजीनामाबाट प्राप्त विवादित जग्गा आफ्ना पालामा आर्जेको भन्ने देखिदा नीजले वकस पत्र दिई आफु खुशी गर्न पाउने नै देखिदा नीजकी श्रीमती भिखैनिया र छोरा मुमताजको हकमा वादी दावी पुग्न सक्ने देखिन आएन । प्र. शेष सौखतकी आमा जमिला र भाई शेष जमिरुलको दाबीको हकमा विचार गर्दा नीजहरु एका संगोलका देखिएका र निजहरुको हकमा लिखतको जग्गा संगोलको आर्जन देखिन आएकोले नीजहरुको मञ्जुरी विना वकसपत्र भएको, राजीनामा प्राप्त सम्पत्तिलाई अन्यथा प्रमाणित नभएको अबस्थामा निजी आर्जन भन्न नमिल्ने भए समेतवाट नीजहरुको दाबी लाग्ने पुग्ने नै देखिन आयो ।

१७.   तसर्थ वादी दाबी बमोजिम वादी भिखैनिया र मुमताजको हकमा समेत लिखत बदर हुने ठहर्‍याएको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन । वादी भिखैनिया र मुमताजको दाबी पुग्न सक्दैन ।

१८.   वादी जमिला र शेष जमिरुलको हकमा दाबी पुग्ने भै ३ भागको २ भाग सम्म लिखत बदर हुने ठहर्छ । सो ठहर्नाले पुनरावेदन अदालत हेटौडाको फैसला केहि उल्टी हुने ठहर्छ । अरुमा तपशिल बमोजिम गर्नु ।

 

तपसिल

 

यसमा माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौडाको फैसला केहि उल्टी भै वादीहरु मध्ये जमिला शेखिन र जमिरुल हकको वादी दावी पुग्ने ठहरी ३ भागको २ भाग लिखत बदर हुने ठहरेकोले सोही बमोजिम गर्नु गराउन भनी शुरु रौतहट जिल्ला अदालतमा लेखि पठाई दिनु ………..१

वादीहरुले शुरु अदालतमा फिराद दायर गर्दा राखेको कोर्ट फि. रु ५००।र पुनरावेदन अदालतमा पुनरावेदन गर्दा राखेको उक्त ५००।को १५% ले हुने रु ७५।समेत जम्मा ५७५ पुनरावेदक प्रतिवादीले पुनरावेदन साथ यस अदालतमा दाखिल गरेको देखिएकोले र वादीहरु मध्ये २ जनाको वादी दाबी पुग्ने र २ जनाको दाबी नपुग्ने ठहरेकोले बादी दाबी पुग्ने ठहरेका जमिला शेखिन र जमिनरुल हकले उक्त कोर्ट फि. दिलाई पाउँ भनि कानून बमोजिम माग गरे कानूनको रीत पुर्‍याई रु ५७५ को दामासाहीले हुने रु १४३।७५ भुक्तानी दिनु भनि शुरुमा लेखि पठाई दिनु …….२

मिसिल नियमानुसार गरी बुझाई दिनु …………    ३

 

उक्त रायमा म सहमत छु ।

                       

न्या.अर्जुनप्रसाद सिंह

इजलास अधिकृत शालिग्राम कोइराला

 

इति सम्वत २०६१ साल पौष ८ गते रोज ५ शुभम् ………