May 19, 1989
Created by nepalarchives

निर्णय नं. ३७९२ – अंश

निर्णय नं. ३७९२    ने.का.प. २०४६      अङ्क ४   संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं....

निर्णय नं. ३७९२    ने.का.प. २०४६      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४४ सालको दे.पु.नं. ६४७

फैसला भएको मिति: २०४६।२।६।६ मा

पुनरावेदक/प्रतिवादी : कपिलवस्तु जि.हरदौना गा.पं. वार्ड नं. ९ बस्ने लखन चमारसमेत

विरुद्ध

विपक्षी/वादी : ऐ. सिसवा गा.पं. वार्ड नं. १ बस्ने चीरकुट चमार

मुद्दा : अंश

(१)    व्यवहार प्रमाण समेतबाट अंशबण्डा भई छुट्टी भिन्न भई बसेको नदेखिएको स्थितिमा भिन्दा भिन्दै मौजामा रहे बसेकै कारणबाट छुट्टी भिन्न भएको मान्न नसकिने ।

(प्रकरण नं. ९)

वादी तर्फबाट :       विद्वान अधिवक्ता श्री कृष्णकान्त ज्ञावाली

प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्जविहारीप्रसाद सिंह

फैसला

न्या.बब्बरप्रसाद सिंह

१.     प.क्षे.अ. को मिति २०४४।२।५।३ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    बाबु गोल्हई चमारका २ छोरा जोखु र चिरकुट र जोखुका २ छोरा लखन र जगरनाथ हुन् । बाबु आमा र दाजु जोखु समेत परलोक हुनु भएको हामी सगोलमा रही उखडामा प्राप्त गरेको जग्गा जुमहना र सेमरीको जग्गा जमीन घर समेत सगोलबाट भोग गर्दै आएकोमा विपक्षीले गहुँ बाली समेत हिनामिना गर्न लागेकोले २०३९।१।१८ गते अंश छुट्याई माग्दा इन्कार गरेकोले फिराद परेका अघिल्ला दिनसम्मको तायदाती लिई मेरो अंश भाग छुट्याई पाउँ भन्ने समेत फिराद   दावी

३.    फिराद दावी झुठ्ठा हो बाबुको मृत्युपछि अमेल भई भएका जग्गा जमीन आफ्ना नाउँमा नामसारी दा.खा. गरी ज.ध.द.प्र. पुर्जा समेत प्राप्त गरी म छुट्टै मौजामा बसी छुट्टा छुट्टै व्यवहार गरिआएको, अंशबण्डाको ३० नं. ले वादी दावी लाग्न नसक्ने भन्ने समेत प्रतिउत्तर जिकिर ।

४.    प्रतिउत्तर जिकिरलाई समर्थन गर्ने अंशबण्डा भइसकेको भन्ने प्रमाणको अभावमा अंशबण्डा भएको भन्न नमिलेकाले २०४०।५।२१ मा दाखिल भएको तायदाती फाँटवारीबाट आधा अंश वादीले प्रतिवादीहरूबाट पाउने ठहर्छ भन्ने समेत शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला ।

५.    सो फैसला उपर प्रतिवादीहरूबाट लु.अं.अ. मा परेको पुनरावेदनमा वादी प्रतिवादीहरू सगोलमै रही उखडा जग्गा आर्जन गरेको र सो बण्डा हुनुपर्ने भन्न सकिने स्थिति नदेखिँदा हामी वादी प्रतिवादीहरू सगोल सराकतमै छौं अंशबण्डा गरी १ भाग अंश दिलाई पाउँ भन्ने फिराद दावी पुग्न नसकी फिराद दावी झुठ्ठा ठहर्छ । अंशबण्डा हुने ठहर्‍याएको शुरु जि.अ. को इन्साफ मनासिब नदेखिँदा गल्ती भई उल्टी हुने ठहर्छ भन्ने समेत लुम्बिनी अञ्चल अदालतको फैसला ।

६.    लु.अं.अ.को फैसला उपर वादीको प.क्षे.अ. मा परेको पुनरावेदनमा व्यवहार प्रमाण समेतबाट छुट्टी भिन्न भई बसेको स्थापित हुुन नआएकोले प्रतिवादी लेखकै भरमा वादी प्रतिवादीहरु छुट्टी भिन्न भइसकेका मान्न नमिलेकोले वादी दावी बमोजिम अंश नपाउने ठहराएको लु.अं.अ. को फैसला बदर भई वादी दावीको अंश प्रतिवादीहरूबाट पाउने ठहर्‍याएको शुरु कपिलवस्तु जि.अ. को इन्साफ मनासिब ठहर्छ भन्ने समेत प.क्षे.अ. को फैसला ।

७.    प.क्षे.अ. को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीहरूको निवेदनमा यी वादी प्रतिवादीहरूका बाजे गेल्हइकै पालादेखी छुट्टी भिन्न भई अलग अलग मौजामा बसी भूमिसुधार लागू हुँदा पेश गर्नुपर्ने पारिवारिक लगत (१ नं. फाराम, ७ नं. फाराम आदि) वादी प्रतिवादीहरूले छुट्टा छुट्टै पेश गरेका, छुट्टी भिन्न हुँदा पैतृक सम्पत्ति नभएको र निजहरूले उखडा जग्गा कमाई बसेको नाउँमा अलग अलग दर्ता भई छुट्टा छुट्टै जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेको भन्ने समेत निवेदन जिकिर । निवेदकका कानुन व्यवसायीले इजलास समक्ष पेश गर्नुभएका सम्बन्धित कागज प्रमाणहरूबाट समर्थित भएको देखिएको यस्तो अवस्थामा वादीले प्रतिवादीहरूबाट अंश पाउने ठहर्‍याएको प.क्षे.अ. को फैसलामा मु. ऐन, अंशबण्डाको ३० नं. को व्याख्यात्मक त्रुटि भई न्या.प्र.सु. (संशोधन सहित) ऐन, २०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।

८.    नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्णकान्त ज्ञावालीको र प्रतिवादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुंजविहारीप्रसाद सिंहको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी आज निर्णय सुनाउन तोकिएकोमा वादी दावी बमोजिम प्रतिवादीहरू बाट अंश पाउने ठहर्‍याएको शुरु कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिले नमिलेको के रहेछ सो मा निर्णय दिनु पर्ने हुन आयो ।

९.    यस्मा वादी प्रतिवादीहरू अंशीयारा भएको भन्ने कुरामा विवाद देखिँदैन । बाजे गोल्हईकै पालामा १९८६ साल वैशाख १ गतेदेखि वादी चीरकुट चमार छुट्टी भिन्न भएको तथा हामी प्रतिवादीहरूसँग पैतृक सम्पत्ति नभएको भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ तापनि १९८६ सालमा वादी छुट्टीएको भन्ने सबूद प्रमाण प्रतिवादी तर्फबाट आउन नसकेको र उक्त समयमा ५।६ वर्षको उमेर देखिएको वादी त्यस उमेरमा छुट्टी भिन्न भएको भन्न नसकिने हुनाले प्रतिउत्तर लेखकै भरमा प्रतिवादीको उक्त जिकिरलाई मान्यता दिन मिलेन । त्यस्तै प्रतिवादीहरूबाट दाखिल भएको तायदाती फाँटवारी हेर्दा बाबुका नाउँको ०२ तथा बाजेका नाउँको ०० उखडा जग्गा म लखनले सकारी कमाएको जग्गा समेत उखडाको विवरण पेश गरी क्षतिपूर्ति बुझाई जग्गाधनीको हक समाप्त गराई नम्बरीमा दर्ता गराई पाएको भन्ने समेत देखिएको र प्रतिउत्तरपत्रकै प्रकरण ४ बाट प्रतिवादीका बाजे तथा वादीका बाबु गेल्हईको जग्गा समेत निजको शेषपछि प्र.लखनले सकारी कमाई तिरो भरो गरिआएको भन्ने समेत देखिँदा प्रतिवादीहरूसंग पैतृक सम्पत्ति नभएको भन्ने समेतको प्रतिउत्तर जिकिर पनि मिल्ने देखिएन । तसर्थ व्यवहार प्रमाण समेतबाट अंशबण्डा भई छुट्टी भिन्न भइबसेको नदेखिएको यस स्थितिमा भिन्दा भिन्दै मौजामा रहे बसेकै कारणबाट प्रतिउत्तर जिकिर बमोजिम छुट्टी भिन्न भएको मान्न नसकिने हुनाले वादी दावी बमोजिम प्रतिवादीहरूबाट वादीले अंश पाउने ठहर्‍याएको शुरु कपिलवस्तु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्‍याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । कोर्टफी राखी पुनरावेदन दायर भएको देखिँदा केही गरी रहनु परेन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु । 

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

 

इति सम्वत् २०४६ साल जेष्ठ ६ गते रोज ६ शुभम् ।