March 20, 1989
Created by nepalarchives

निर्णय नं. ३७९१ – अंश

निर्णय नं. ३७९१     ने.का.प. २०४६      अङ्क ४   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान सम्वत् २०४४ सालको दे.पु.नं....

निर्णय नं. ३७९१     ने.का.प. २०४६      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान

सम्वत् २०४४ सालको दे.पु.नं. ८१६

फैसला भएको मिति  : २०४५।१२।७।२ मा

पुनरावेदक/वादी : जि.झापा दमक न.पं. वडा नं. ११ बस्ने नानीगोपाल सिकदार

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने अम्वरकृष्ण सिकदार

मुद्दा : अंश

(१)    दुबै थरीका मन्जूरीबाट गाउँका भलाद्मी समेत बसी अंश मिलाई दिए अनुसार भारतको घर वादीकै भागमा पारी सो घर निज वादीको श्रीमतीको नाममा दर्ता रहे भएकोमा पनि प्रतिवादीले स्वीकार गरी चित्त बुझाई २०२७।१।४।६ मा दुबै थरीका मन्जूरबाट खडा भएको घरसारी  कागजलाई नै मान्यता दिई सोही अनुसार खाई भोगी आएको देखिन आएको आधार प्रमाणहरूबाट अंशबण्डाको ३० नं. बमोजिम पुनः उजूर गरी बण्डा छुट्याउन नमिल्ने ठहराई वादीले प्रत्यवादीबाट दावी बमोजिम बण्डा पाउन नसक्ने गरी गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

(प्रकरण नं. १०)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     पूर्वाञ्चल क्षेत्रीय अदालतका फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस इजलाश समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.    फेरादीको १ मात्र भाइ भएको र हाम्रा आमा बाबु परलोक भइसकेपछि हामी अंशबण्डाको महलको १।२ नं. प्रयोजनको लागि २ मात्र अंशीयार छौं । बाजेकै जीवनकाल देखि पेशा व्यवसायका सिलसिलामा मोरङमा रहने बस्ने गरी आई पिताको देहान्त भएपछि घरको व्यवहारको खर्च मैले धान्नु पर्ने अवस्था परी आफू होमियोपेथी चिकित्सा प्रणालीको दर्तावाला डाक्टर भएकोले दमकमा आई २०१८ सालदेखि पेशा व्यवसाय गरी विपक्षीलाई कलकत्तामा राखी विपक्षीले कलकत्तामा घर बनाउने विचार व्यक्त गर्दा उनको परिवारलाई सुविधा पर्ने जस्तो लागी दुःख गरी कमाएको सबै रकम उनलाई पठाई घर बनाई दिएँ । सो पछि २०२४ सालमा पढ्न छाडी निजले दमकमै बस्ने इच्छा व्यक्त गरी खबर पठाएकोले दमक ल्याई साथ राखी आफू देहाती क्षेत्र इलाजमा कहिले कहाँ कहिले कहाँ हिंड्न पर्दा दबाई दोकानको आम्दानी खर्च निजको जिम्मा राखी दमक बजारमा समेत निजकै नाउँमा घडेरी खरीद गरी घर बनाई भोग गर्दै आएको अवस्था २०२७ सालमा विपक्षी र मेरा बीचमा अलग अलग बस्ने सल्लाहा हुँदा के गरी अलग हुने हो भनी गाउँका भलादमी राखी सल्लाह गर्दा तिमीहरू डाक्टरीको काममा सधै बाहिर हिड्ने हुँदा सो अवस्था आमा पनि जीवितै हुनु हुँदा आमालाई भाइसँग बस्ने व्यवस्था मिलाई आमालाई पाल्दा लाग्ने खर्च र केही ऋण समेत तिर्न भाइलाई दमकको घर दिनु त्यसको भाडाले उनले ऋण र आमाको पालन पोषण गर्छन् । कलकत्तामा भाइको नाममा भएको घर सानो भए पनि तिम्रो छोरा छोरी पढ्न सजिलो हुने भएकोले छोरा छोरी त्यहाँ राखी पढाउ भन्दा रीतपूर्वक अंश गर्ने सल्लाहले २०२७।१।४ मा दमकको घर निजले भोग्ने र कलकत्ताको घर मेरो हुने समेत व्यहोराको ठाडो कागज गरी सोही मितिदेखि बेग्लै बसी आफ्नो आफ्नो काम गरिआएको अवस्थामा २०४०।९।२५ का दिन प्रमाणका मानिस समेत भेला भएको ठाउँमा अंशबण्डा पत्र गर्ने कुरा गर्दा विपक्षीले २०२७।१।४ मा कागजबाट अंशबण्डा भइसकेकोले बण्डा गर्न बाँकी के छ भन्ने ठाडो जवाफ दिई कलकत्ताको घर पास गरी दिन्छ की भन्दा त्यो पनि दिंदैदिन्न भनी जवाफ दिएकोले २०२७।१।४ को कागजलाई नै बण्डापत्रको संज्ञा दिन खोजे पनि रीतपूर्वकको पाउने भाग पाइसकेको छैन र नेपाल सरहदको घर निजको मात्र एकलौटी हुन आएकोले अंशबण्डाका २०, २१, २२ नं. बमोजिम निजसँग फाँटवारी लिई २ भागको १ भाग अंशबण्डा अदालतबाटै गरी २ भागको १ भाग अंशको चलन समेत पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.    कलकत्ताको घर पिताकै पालामा बनेको र सो घर मेरा नाउँमा दर्ता नभई विपक्षीको श्रीमतीको नाउँमा दर्ता छ । म बाजेकै पालामा मोरङमा बसी पिताको स्वर्गवास पछि २०१८ सालमा दमक आई भाइ कलकत्तामा बस्न नमानी दमकमै आउने इच्छा गरेकाले झिकाई दमकमै बसेउँ भन्ने कुरा झुठ्ठा हो । २०१८ सालमा दमकमा दाजु बेग्लै दवाई दोकान गर्ने, म र आमा बेग्लै दवाई दोकान गरिआएको । दोकानबाट केही रकम जम्मा गरी आफ्नो आर्जनको पैसाबाट २०२० सालमा हरिमाया माझिनीबाट ज.वि. ०१० जग्गा खरीद गरी घर बनाई बसेको अवस्था २०२७ सालमा विपक्षी र मेरो बीचमा भिन्न बस्ने सल्लाह हुँदा गाउँका भलादमीले तिमी डाक्टरी काम गर्ने, सधैं बाहिर जान्छौं आमा, भाइसँग बस्ने र आमालाई खर्च पाल्न र केही ऋण समेत तिर्न भाइलाई दमकको घर दिनु त्यसको भाडाले आमाको पालन पोषण गर्छन् । कलकत्तामा भाइका नाउँमा भएको घर सानै भए पनि तिम्रो छोरा छोरी पढाउन राम्रो हुन्छ, छोरा छोरी कलकत्तामा राखी सो कलकत्ताको निजले भोग्ने र यहाँको घर म आमा पालेकोले भोग्ने गरी ठाडो कागज गरी अलग अलग बस्ने गरी बैग्ले बसी आफ्नो काम गरी रहेको अवस्था झुठ्ठा बनावटीको कुरा बनाई नालेस गरेका मात्र हुन् । २०२७ सालको शर्त बमोजिम अंश भई आफू आफूले भोग गरी रहेको अवस्था मैले सो पछि निजी आर्जनबाट आर्जेको घर जग्गा समेतलाई रिस गरी अब फेरि अंशबण्डा गरिपाउँ भन्ने झुठ्ठा दावी लिएको हुँदा अंश नपाउने हुनाले झुठ्ठा दावी गरेमा वादीलाई नै सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र ।

४.    वादीबाट दाखिल भएको मिति २०४२।२।४ मा पेश भएको अंशको फाँटवारी बमोजिम अंश पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु झापा जिल्ला अदालतको फैसला ।

५.    शुरुको उक्त इन्साफमा चित्त बुझेन, कि.नं. ३७२ को ज.वि. ०१० को आधा भाग अंश पाउने गरी भएको फैसला बदर गरी सो जग्गा, त्यस्मा बनेको घर भान्छा र पाइखाना घर समेत फाँटवारी बमोजिमको आधी अंश छुट्याई भाग लाग्ने गरी हक इन्साफ पाउँ भन्ने समेतको वादीको पू.क्षे.अ.मा परेको पुनरावेदनपत्र ।

६.    उक्त झापा जिल्ला अदालतको इन्साफमा चित्त बुझेन । कि.नं. ३७२ को ज.वि. ०१० मध्ये आधा वादीले अंश पाउने भनी भएको फैसला बदर गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको मेची अं.अ.मा परेको पुनरावेदन उक्त अदालतका सरुवा आदेश बमोजिम पू.क्षे.अ.मै पठाई डायर भएको ।

७.    अंशबण्डाको महलको ३० नं. ले वादी प्रतिवादी बीच छुट्टीएको घरसारी कागज तयार भई सो अनुसार ऋण समेत तिरिएको र कलकत्ताको घर वादीकै भागमा परेको एवं वादीकै श्रीमतीको नाउँमा दर्ता छ भनी प्रतिउत्तरमा स्वीकार गरेको देखिँदा उक्त ३० नं. अनुसार एकपल्ट छुट्टी भिन्न भइसकेको कुरामा पुनः उजूर गरी बण्डा छुट्याउन नमिल्ने हुँदा वादीले प्रतिवादीबाट दावी बमोजिम बण्डा पाउन सक्तैन । २ भागको १ भाग अंश पाउने ठहर्‍याएको शुरुको इन्साफ उल्टी हुने ठहर्छ भन्नेसमेत व्यहोराको २०४४।२।१० को पू.क्षे.अ.को फैसला ।

८.    उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा परेको निवेदनमा वादी प्रतिवादीको रीतपूर्वक बण्डा भएको देखिँदैन, मन्जूरनामाको आधारमा बण्डा भएको ठहराउन नमिल्ने हुन्छ । नेपाल सरहदको सम्पत्तिमा वादीले अंश पाइसकेको भन्ने प्रमाण प्रतिवादीले देखाउन नसकेको अवस्थामा वादीले अंश पाइसकेको भनी पू.क्षे.अ.बाट भएको फैसलामा २०३७ सालको दे.पु.नं. २१६ को अंश मुद्दामा २०३८।६।२ मा प्रतिपादित सिद्धान्त समेतको त्रुटि भएको देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३(५)(ग) अनुसार पुनरावेदनको अनुमती दिइएको छभन्ने समेतको यस अदालत सं.इलासबाट २०४४।९।२ मा भएको आदेश ।

९.    नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेलले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो । यस्मा मुख्यतया क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ सोही विषयमा निर्णय दिन पर्ने हुन आयो ।

१०.    यस्मा यी वादी प्रतिवादीहरू दाजुभाइ नाताका अंशीयार भएकोमा विवाद छैन । त्यस्तै निजहरूका बीच नेपालको घर जग्गा प्रतिवादीको र भारत कलकत्ताको घर जग्गा यी पुनरावेदक वादीको कायम गर्ने गरी २०२७।१।४ मा घरसारमा बण्डापत्र भएको तथ्यमा पनि विवाद छैन । वादीप्रतिवादी बीचमा लागे लगाएको ऋणपनि प्रतिवादीबाट तिरीएका प्रमाण पेशभएकोमा पनि वादीले अन्यथा भन्न सकेको पाइँदैन । यस्तो स्थितिमा दुबै थरीका मन्जूरीबाट गाउँका भलादमी समेत बसी अंश मिलाई दिए अनुसार भारत कलकत्ताको घर वादीकै भागमा पारी सो घर निज वादीको श्रीमतीको नाममा दर्ता रहे भएकोमा पनि प्रतिवादीले स्वीकार गरी चित्त बुझाई सो २०२७।१।४।६ मा दुबै थरीका मन्जूरबाट खडा भएको घरसारी कागजलाई नै मान्यता दिई सोही अनुसार खाई भोगी आएको देखिन आएको आधार प्रमाणहरूबाट अंशबण्डाको ३० नं. बमोजिम पुनः उजूर गरी बण्डा छुट्याउन नमिल्ने ठहराई वादीले प्रत्यवादीबाट दावी बमोजिम बण्डा पाउन नसक्ने गरी गरेको पू.क्षे.अ. को इन्साफ मनासिब ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

न्या.हरगोविन्दसिंह प्रधान

 

इति सम्वत् २०४५ साल चैत्र ७ गते रोज २ शुभम् ।