May 8, 1989
Created by nepalarchives

निर्णय नं. ३७८८ – जिउ मास्ने बेच्ने

निर्णय नं. ३७८८    ने.का.प. २०४६      अङ्क ४   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं....

निर्णय नं. ३७८८    ने.का.प. २०४६      अङ्क ४

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको फौ.पु.नं. ६१८

फैसला भएको मिति : २०४६।१।२६।२ मा

पुनरावेदक/वादी : सिता मगर्नीको जाहेरीले श्री ५ को सरकार

विरुद्ध

विपक्षी/प्रतिवादी : जि.चितवन भ.न.पं. वडा नं. ११ बस्ने राजु तामाङ

मुद्दा : जिउ मास्ने बेच्ने

(१)    प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार प्रहरीमा भएको कागज एवं सरजमीनको व्यहोराले निजहरू अदालतमा उपस्थित भई साक्षीको रुपमा बयान नगरेसम्म प्रमाणको रुप लिनसक्ने नदेखिने ।

(प्रकरण नं. १३)

(२)   प्रहरीमा भएको साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेकोले केवल प्रहरीमा भएको साविती बयानकै आधारमा मात्र सबूद प्रमाणको अभावमा कसूरदार ठहराउन न्यायोचित नहुने ।

(प्रकरण नं. १३)

पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी.

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।

२.    भारत बम्बई गई बसेका केटीहरूलाई जमुनियल एण्ड पुलिस यूनिट क्राइम ब्रान्च सि.आई.डि. बम्बईको पत्रसाथ भारतीय प्रहरीद्वारा यस कार्यालयमा प्राप्त हुन आएका केटीहरू मध्ये सीता मगर्नीलाई भारत लगी बिक्री गरेको भनी निज सीताले देखाएको राजु तामाङ उपर कारवाही हुन अनुरोध छ भन्ने समेत व्यहोराको जि.प्र.का. नवलपरासीले जि.प्र.का. चितवनलाई लेखेको  पत्र

३.    म र राजु नारायणगढ पुलनिर मिति २०४१।४।१ गतेका दिन भेट हुँदा राजु तामाङले मसंग विवाह गर्ने कुरा गरी मलाई ललाई फकाई भारत बम्बईमा लगी रु. १०,०००।मा बिक्री गरेको हुँदा निज उपर जिउ मास्ने बेच्ने महल अनुसार कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको सीता मगर्नीले प्रहरीमा गरेको कागज ।

४.    मैले चिनेको भारत घर हुने प्रकाश भन्ने व्यक्तिले केटी पाए भारत बम्बईमा लगी बिक्री गर्नु पर्छ, खोज्नु भनेकाले मैले केटी खोज्दै रहेकोमा २०४१।४।१ गतेका दिन सीता मगर्नीलाई भेटी कुराकानी गर्दा निजले मसंग विवाह गर्न मन्जूर गरेकीले विवाह गर्ने निहुँ पारी प्रकाश र म समेत २ जनाले भारत बम्बईमा लगी बिक्री गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी राजु तामाङले प्रहरीमा गरेको बयान कागज ।

५.    सीता मगर्नीलाई कहिले कसरी ललाई फकाई लगी विदेशमा बिक्री गरे थाहा पाइएन पछि सीता फर्केर आउँदा यसैले मलाई लगी बिक्री गरेको हो भनी राजु तामाङलाई देखाई चिनाई पक्राउ गराएको कुरा थाहा छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।

६.    संकलित सबूद प्रमाणबाट राजु तामाङले सीता मगर्नीलाई ललाई फकाई भारत बम्बईमा लगी बिक्री गरेको सिद्ध हुन आएकाले निज राजु तामाङ उपर जीउ मास्ने बेच्नेको १ नं. बमोजिम कारवाही सजायँको माग दावी लिई मुद्दा प्रस्तुत गरिएको छ साथै भारत घर भन्ने प्रकाश पछि पत्ता लागी पक्राउ भएका बखत ठहरे बमोजिम हुने हुँदा हाल निज उपर कुनै दावी नलिएको व्यहोरा अनुरोध छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

७.    मिति २०४१।४।१ गतेका दिन म नारायणगढमा रिक्सा चलाई रहेको छु । सो दिन जाहेरवालीसँग मेरो भेटघाट पनि भएको छैन । जाहेरवालीलाई मैले चिनेको पनि छैन र निजलाई बिक्री गर्न लगेको पनि हैन । प्रकाश भन्नेलाई मैले चिनेको छैन । प्रहरीमा कुटपीट गरेकाले ज्यान जोगाउन बिक्री गर्न लगेको भनी बयान गरेको हुँ । बिक्री गर्न लगेको नहुँदा सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.राजु तामाङले अदालतमा गरेको बयान ।

८.    कसूर प्रमाणित गर्ने भार वादीको भएकोमा वादी तर्फबाट प्रतिवादीलाई अपराधी हो भन्ने सबूद प्रमाण गुजार्न सकेको कतैबाट पनि नदेखिएको र प्रतिवादीले अदालतमा इन्कार रही बयान गरेको देखिँदा प्रतिवादीले कसूर गरेको ठहर्दैन, सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतको २०४२।३।२४ को फैसला ।

९.    उक्त फैसलामा चित्त बुझेन, जो बुझ्नु पर्ने बुझी उक्त फैसला बदर गरी वादी दावी अनुसार प्रतिवादीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारको तर्फबाट मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेकोे पुनरावेदनपत्र ।

१०.    अदालतका आदेशानुसार जाहेरवाली र सरजमीनका मानिसहरू उपस्थित गराई वादी श्री ५ को सरकारले दावी प्रमाणित गराउन सकेको देखिएन । प्रहरीको साविती पुष्टी हुने अन्य स्वतन्त्र आधार प्रमाणको अभावमा प्रतिवादीलाई कसूरदार ठहराउन नमिल्ने भएबाट सफाई दिएको शुरुको इन्साफ मिलेकै देखिँदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत (साविक पेज नंं ३९१) व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४४।१।७ को फैसला ।

११.    उक्त फैसलामा चित्त बुझेन, साक्षीहरूलाई अ.बं. ११५ नं. को कार्यविधि अपनाई बुझी माग बमोजिम प्रतिवादीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको वादी श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन ।

१२.   नियमानुसार पेश हुन आएको पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. ले गर्नुभएको बहस जिकिर समेत सुनियो । यस्मा मुख्यतया क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ भनी सो विषयमा निर्णय दिन पर्ने हुन आयो ।

१३.   यस्मा निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा जाहेरवाली सीतादेवी मगर्नीको प्रहरीमा भएको कागज तथा अभियुक्तको प्रहरीमा भएको साविती समेतका आधारमा प्र.राजु तामाङ उपर जिउ मास्ने बेच्नेको १ नं. बमोजिमको कारवाही सजायँको माग दावी लिई प्रहरी प्रतिवेदन परेको देखियो । अदालतमा बयान गर्दा प्रतिवादी पूर्णतया इन्कार रहेको पाइन्छ । शुरु अदालतका आदेशानुसार वादी श्री ५ को सरकारतर्फबाट जाहेरवाला एवं सरजमीनका व्यक्तिहरूलाई अदालतमा उपस्थित गराई बकपत्र गराउन सकेको पाइँदैन । प्रमाण ऐन, २०३१ को दफा १८ अनुसार सीतादेवी मगर्नीको प्रहरीमा भएको कागज एवं सरजमीनको व्यहोराले निजहरू अदालतमा उपस्थित भई साक्षीको रुपमा बयान नगरेसम्म प्रमाणको रुप लिनसक्ने देखिँदैन । यस्तो अवस्थामा प्रतिवादीको प्रहरीमा भएको साविती अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि हुन नसकेकोले केवल प्रहरीमा भएको साविती बयानकै आधारमा मात्र सबूद प्रमाणको अभावमा प्रतिवादी राजु तामाङलाई कसूरदार ठहराउन न्यायोचित नहुने हुँदा शुरुले निजलाई सफाई दिने ठहराएको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै त्रुटि नभएकाले सदर हुने ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४६ साल वैशाख २६ गते रोज २ शुभम् ।