निर्णय नं. ३७८७ – कर्तव्य ज्यान
निर्णय नं. ३७८७ ने.का.प. २०४६ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४३ सालको फौ.पु.नं....
निर्णय नं. ३७८७ ने.का.प. २०४६ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४३ सालको फौ.पु.नं. ४३३
फैसला भएको मिति : २०४५।१२।३०।४ मा
पुनरावेदक/वादी : हरिबहादुर बयालकोटीको जाहेरीले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.गोरखा गोरखकाली गा.पं. वडा नं. ३ बस्ने सनमाने बसेल सार्कीसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) मृतक झुण्डिने अवस्थामा विरोध प्रकट भएको नदेखिँदा मृत्युको मतलवमा प्र. नपसेको नरहेको भन्न मान्न नमिल्ने ।
(प्रकरण नं. २५)
पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटी
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४३।१।८ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. मेरो दाजु कृष्णबहादुर २०३९।८।२४ गते खस्रे कालेको घरमा रतौली हेर्न जानु भएको घर नफर्केको र ऐ. वडा नं. ७ जुगेपानीको बरड्यांग्राको रुखमा झुण्डी मरिरहेको, मेरो पुसाइले देखी खबर गरेकाले लाश सुरक्षित राखी जाहेर गर्न आएको छु, आवश्यक कारवाही गरिपाउँ भन्ने समेतको २०३८।८।२५ को हरिबहादुरको जाहेरी दरखास्त ।
३. मृत्युको कारण झुण्डी सास बन्द भएको भन्ने समेतको २०३९।८।२५ को लाश जाँच प्रतिवेदन ।
४. मेरो दाजु कृष्णबहादुरलाई सुकदेब सार्की, सनमान सार्की, गोथे सार्की, गोथे बस्नेत, सुकुन्द्री सर्केनी समेतले कर्तव्य गरी मारेको शंका लाग्छ भन्ने समेतको हरिबहादुरको दोस्रो जाहेरी ।
५. २०३९।८।२४ गते राती उज्यालो हुने बेलामा जुगेपानीको तल्लो चौतारा मुनि चौरमा सनमानले घाँटीमा समात्ने, गोथे सार्कीले हातमा र गोथे बस्नेतले गोडामा समाती सुकदेवले नाम्लो घाँटीमा कस्ने गरी मारी बरड्याँग्राको रुखमा लगी झुण्डयाएका हुन्, नाम्लो मेरो हो । म कराउन लाग्दा कराइस भने तेरो पनि यही गति हुन्छ भनेका र कसैले नभन्नु भनेकाले कसैलाई भनेकी छैन भन्ने समेतको सुकुन्द्री भन्ने सुमित्रा सर्केनीले प्रहरीमा गरेको बयान कागज ।
६. २०३९।८।२४ गते विवाहको रतौली हेर्न गई रातभर नाच हेरी बिहान उज्यालो भएपछि म घर गएको हुँ । सुमित्राको बयान अनुसार म समेत भई कर्तव्य गरी मारेको हैन भन्ने समेत सनमान सार्कीले प्रहरीमा गरेको बयान कागज ।
७. २०३९।८।२४ गते म रतौली हेर्न गएको थिएँ । सनमान समेतका २०।२२ जना जम्मा भएका थिए बिहान अं. ४ बजे मृतकले सुकुन्द्रीलाई जाउँ भनी तानी लगेको त्यसपछि गोथे बस्नेत पनि गएको हो । सुकदेव ३ बजे तिर गए जस्तो लाग्छ । सनमान उज्यालो भएपछि र म ६ बजे घर गएका हौ । कृष्णबहादुरलाई म समेतले मारेको हैन भन्ने समेतको गोथे सार्कीले प्रहरीमा गरेको बयान कागज ।
८. २०३९।८।२४ गते साँझ ९ बजे रतौली हेर्न गई १२ बजेतिर म र मेरी श्रीमती घरमा गयांै । म समेत भई कर्तव्य गरी मारेको हैन कसले मारे थाहा छैन भन्ने समेतको सुकदेव सार्कीले प्रहरीमा गरेको बयान कागज ।
९. २०३९।८।२४ गते मेरै गाउँको बाबुराम सार्कीको विवाहमा राती १२ बजे पुगी नाच हेरे । अं. ३ बजे कृष्णबहादुरले सुकुन्द्रीलाई जाउँ भनी तानी लगेको । अं. साढे चार बजे घरमा गएको भोलिपल्ट कृष्णबहादुर झुण्डी मरेको थाहा पाएको हुँ । मैले मारेको हैन भन्ने समेतको दिलबहादुर बस्नेतले प्रहरीमा गरेको बयान कागज ।
१०. कृष्णबहादुर कर्तव्यद्वारा नै मारिएको हुनुपर्छ सो कर्तव्य गर्नमा सुमित्रालाई थाहा होला अरु उपर केही भन्न सक्दैनौ भन्ने समेतको २०३९।९।१२ को सरजमीन मुचुल्का ।
११. सुकदेब समेतका ४ जना कसूरमा इन्कार रहे तापनि सुकुन्द्रीको किटानी पोलबाट र किटानी जाहेरी समेतबाट निजहरूले कर्तव्य गरी मारेको सिद्ध हुन आएकोले निजहरू ४ जनालाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम मार्न सहयोग पुर्याउने सुकुन्द्री भन्ने सुमित्रालाई ऐ.को १३(४) नं. बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको प्रहरी प्रतिवेदन दावी ।
१२. कृष्णबहादुरलाई म समेत कसैले पनि झुण्ड्याई मारेको होइन मलाई स्वास्नी बनाई लिई जान नपाई झुण्डी मरेको हो । उती बेलै मैले डोरीको गाठो फुकाउन खोज्दा खोज्दै फुकाउन नसकी सुर्केनी कसीन गई मरेको हो । आफैं झुण्डी आत्महत्या गरी मरेका हुन् । खबर गर्न नजानेकीले खबर नगरेको हो, प्रहरीमा कुटपीट गरेकोले ४ जनालाई पोलेकी हुँ भन्ने समेत व्यहोराको प्र. सुकुन्द्री भन्ने सुमित्रा सर्केनीले अदालतमा गरेको बयान ।
१३. कृष्णबहादुरलाई म समेत भई कर्तव्य गरी मारेको होइन । को कसले कर्तव्य गरी मारेको वा आफैं आत्महत्या गरी मरेको थाहा छैन । हरिबहादुरको जाहेरी र सुकुन्द्रीको पोलावट झूठ्ठा पोलबाट झूठ्ठा हो भन्ने समेतको प्र.गोथे सार्कीले अदालतमा गरेको बयान ।
१४. जाहेरी र सुमित्राको पोलाई अनुसार म समेत भई कृष्णबहादुरलाई कर्तव्य गरी मारी झुण्ड्याएको होइन साँचो कुरा प्रहरीमा लेखाएको छु । झूठ्ठा पोलबाट सफाई पाउँ भन्ने समेतको प्र.सनमान सार्कीले अदालतमा गरेको बयान ।
१५. कृष्णबहादुरलाई मारी झुण्ड्याएको होइन साँचो कुरा प्रहरीमा लेखाएको छु भन्ने समेतको प्र.सुकदेव सार्कीले अदालतमा गरेको बयान ।
१६. मैले जाहेरी र प्र.सुमित्राको पोलावट बमोजिम कृष्णबहादुरलाई झुण्ड्याई मारेको होइन भन्ने समेत व्यहोराको प्र.दिलबहादुर बस्नेतले अदालतमा गरेको बयान ।
१७. जाहेरवाला सरजमीनका व्यक्तिहरू तथा साक्षीहरूको बकपत्र भई मिसिल सामेल रहेको ।
१८. अदालतका आदेश बमोजिम २०४१।७।२० मा भएको सरजमीन मुचुल्का मिसिल सामेल रहेको ।
१९. अदालतबाट २०४१।७।२० मा भएको सरजमीनका सबै व्यक्तिले प्र.सुकदेब, गोथे, सनमान र दिलबहादुर उपर दोषारोपण नगरी बेकसूरका व्यक्ति हुन् भनी लेखाएका र साक्षीहरूले समेत निरपराधी हुन् भनी लेखाएको हुँदा जाहेरीको भरमा मात्र कसूरदार ठहराउन न्यायोचित नहुने हुँदा निजहरूले सफाई पाउने ठहर्छ । सरजमीनका दुई तिहाई व्यक्तिहरूले प्र.सुकुन्द्रीले नै कृष्णबहादुरलाई कर्तव्य गरी मारेमा शंका देखाएका हुँदा बिना कारण फसाउनु पर्ने कारण नदेखिँदा प्र.सुकुन्द्रीले कृष्णबहादुरलाई झुण्ड्याएको ठहर्छ । निजलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम पूरै सजायँ गर्दा चर्को पर्ने देखी १० वर्ष कैद गर्ने राय सहितको शुरु गोरखा जिल्ला अदालतको २०४१।७।२८ को जाहेरी फैसला ।
२०. सनमान समेतका प्रतिवादीलाई सफाई दिएकोमा चित्त बुझेन शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेतको वादी श्री ५ को सरकारतर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
२१. मैले मार्नु पर्ने कारण नै नभएकोमा अनुमान र हचुवाको भरमा कर्तव्य गरी मारेको ठहराई गरेको शुरुको फैसलामा चित्त बुझेन, उक्त फैसला बदर गरिपाउँ भन्ने समेतको प्र.सुकुन्द्री भन्ने सुमित्रा सर्केनीको पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।
२२. प्र.सुमित्रा मृतक मर्ने अवस्थामा आफू रोहवरमा रहेकी र पासो लगाएको नाम्लो आफ्नै भएको स्वीकार गरेकोले मृतक झुण्डिई मर्दा विरोध नगरी मतलवमा नपसी त्यसै टुलुटुलु हेरिरहेको रहिन्छन् भन्न सम्झन मिल्ने देखिएन । तसर्थ निजले लेखिए बाहेक अरु किसिमका मतलवमा परेको देखिँदा निजलाई ज्यानसम्बन्धीको १७(३) अनुसार १ वर्ष ६ महिना कैद हुने ठहर्छ । शुरुले सफाई दिएका अन्य प्रतिवादीहरूलाई ठोस सबूद प्रमाणको अभावमा सफाई दिएको मनासिब छ शुरुको फैसला केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०४३।१।८ को फैसला ।
२३. उक्त इन्साफमा चित्त बुझेन विद्यमान सबूद प्रमाणको न्यायिक मूल्यांकन भई प.क्षे.अ. को उक्त फैसला बदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम गरिपाउँ भन्ने समेत वादी दावी श्री ५ को सरकारतर्फबाट यस अदालतमा परेको पुनरावेदन ।
२४. नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सामन्तसिंह बोगटीले प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो । यस्मा मुख्यतया क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ सो विषयमा निर्णय दिन पर्ने हुन आयो ।
२५. यस्मा निर्णयतर्फ हेर्दा मृतक कृष्णबहादुर र सुमित्रा बीच अनुचित प्रेम सम्बन्ध रहे भएको स्वास्नी बनाई लिई जान नपाई निज आफंै झुण्डी मरेको भन्ने कुरा निज सुमित्राको बयानबाट देखिन्छ । मृतक झुण्डिएको अवस्थामा पाइएको देखिन्छ तापनि त्यस्मा कोही कसैको षडयन्त्र रहे भएको भन्ने शंकारहित सबूद प्रमाण वादी पक्षबाट पेश हुनसकेको देखिँदैन । मृतकको मृत्युको सम्बन्धमा म समेतको कुनै षडयन्त्र नरहेको, नभएको मलाई स्वास्नी बनाई लिई जान नपाई झुण्डिएको, डोरीको गाँठो मैले फुकाउन खोज्दा खोज्दै निजकोे मृत्यु भएको भनी प्र.सुमित्राको अदालत समक्ष आएको बयान देखिन्छ । तर निजले नै मृतकलाई मारेको भन्ने ठोस सबूद प्रमाण देखिँदैन । साथै आएको लाश जाँच प्रतिवेदनबाट पनि सो कुरो खुल्न आएको पाइदैन । तर कृष्णबहादुर (सुमित्राको प्रेमी) झुण्डी मर्ने अवस्थामा आफ्नो उपस्थिति रहेको, झुण्डिएको डोरी नाम्लो आफ्नै भएको भन्ने सुमित्राको बयान जाहेरी दरखास्त सरजमीन मुचुल्का समेतबाट पुष्टि भएको स्थिति अवस्थाको प्रस्तुत मुद्दामा निज सुमित्रा उपर ज्यानसम्बन्धीको १३(४) नं. को अभियोग दावी रहेको पाइन्छ । तर निज सुमित्राले मृतकलाई मार्नमा बचन दिएको, मार्नमा सहयोग पारिदिनको निमित्त मृतकको ज्यूमा हात हाली पक्री समाती दिएको भन्ने समेत संकलित प्रमाणबाट पुष्टि हुनसकेको पाइदैन । साथै प्र.सुकदेव, गोथे, सनमान र दिलबहादुरले कृष्णबहादुरलाई झुण्डयाई मारेको भन्ने सबूद पोष्टमार्टम रिपोर्ट, सरजमीन समेतबाट खुल्न आएको देखिँदैन । यद्यपि प्र.सुमित्रा सर्किनीसँगको प्रेम सम्बन्धकै कारण निजको हातमा रहेको नाम्लो डोरी लिई कृष्णबहादुर झुण्डिएको कुरा संकलित सबूद प्रमाण र सुमित्राकै बयान समेतबाट पुष्टि हुन्छ । कृष्णबहादुर झुण्डिने अवस्थामा निज सुमित्राको विरोध प्रकट भएको भन्ने जिकिर पनि देखिँदैन । यस स्थिति र अवस्थामा कृष्णबहादुरको मृत्युको मतलवमा नपसेको, नरहेको भन्न मान्न मिल्ने नहुँदा निज सुमित्रालाई ज्यानसम्बन्धीको १७(३) नं. अनुसार १ वर्ष ६ महिना कैद हुने ठहराएको र अन्य प्रतिवादीहरू सुकदेव, गोथे, सनमान र दिलबहादुरको हकमा पोष्टमार्टम रिपोर्टबाट कृष्णबहादुरको मृत्यु कर्तव्यबाट भएको देखिन आएको, सरजमीनबाट मृत्युको सम्बन्धमा निज प्रतिवादीहरूको कर्तव्य रहेको कुरामा असहमति जनाइएको, सुमित्राकै अदालत समक्ष भएको बयानबाट पोष्टमार्टम रिपोर्टमा उल्लेख भएको मृत्युको कारण प्रतिवादीहरूको इन्कारी बयान समर्थित भइरहेको, कर्तव्य ज्यान जस्तो संगीन प्रकृतिको फौज्दारी अभियोग शंकारहित सबूद प्रमाणको अभावमा ठहर गर्न न्यायसंगत नहुने हुँदा निजहरूलाई वादी दावीबाट सफाई दिने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ कानुनसंगत नै देखिँदा मनासिब ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी आएको देखिँदा मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४५ साल चैत्र ३० गते रोज ४ शुभम् ।