निर्णय नं. ७३६८ – लुटपिट ।
निर्णय नं.७३६८ ने.का.प.२०६१ अङ्क ४ संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्वत २०५७ सालको फौ.पु.नं. २५८३ फैसला मिति...
निर्णय नं.७३६८ ने.का.प.२०६१ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी
माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
सम्वत २०५७ सालको फौ.पु.नं. २५८३
फैसला मिति २०६१।३।१८।६
मुद्दाः— लुटपिट ।
पुनरावेदक
वादीः काठमाडौं जिल्ला का.म.न.पा.वार्ड नं.२९ सामाखुसी वस्ने विष्णुलाल उप्रेतीको मु.स.गर्ने जानकी सिलवाल
विरुद्ध
प्रत्यर्थी
प्रतिवादी नुवाकोट जिल्ला थानापति गा.वि.स.वडा नं.९ वस्ने राजेन्द्र प्रकाश लोहनी
§ म्याद गुजारी वसेका प्रतिवादीले पुनरावेदन गर्ने सम्वन्धमा अ.वं.२०८ नं.मा अड्डावाट जारी भएको समाव्हान इतलायनामाको म्याद तारिखमा प्रतिवादी नदिई म्याद गुजारी वसेका झगडियाको ऐन वमोजिम एकतर्फी प्रमाण वुझी भएको फैसला उपर पुनरावेदन लाग्न सक्दैन भन्ने देखिदा शुरु म्याद गुजारी प्रतिउत्तर नफिराई वस्ने प्रतिवादीले पुनरावेदन गर्न सक्ने देखिदैन । सोही कानूनी व्यवस्था अनुसार शुरु नुवाकोट जिल्ला अदालतको फैसलामा प्रतिवादीलाई पुनरावेदनको म्याद दिनु नपर्ने भनि तपसिल खण्डमा उल्लेख गरेको समेत देखिएकोमा उपरोक्त कानूनी व्यवस्थाको प्रतिकूल प्रतिवादी राजेन्द्र प्रकाश लोहनीलाई पुनरावेदनको म्याद दिएको एवं पुनरावेदन अदालत पाटनवाट निज प्रतिवादीको कानून विपरीतको पुनरावेदन लिई इन्साफ गरेको अ.वं.२०८ नं. विपरीत हुँदा प्रत्यर्र्थी प्रतिवादीको पुनरावेदन अदालत पाटनमा दर्ता भएको कानून विपरीतको पुनरावेदन खारेज भै पुनरावेदन अदालतपाटनको फैसला उल्टी हुने ।
(प्र.नं. १२)
पुनरावेदक वादी तर्फवाटः
प्रत्यर्थी प्रतिवादी तर्फवाटः
अवलम्वित नजिरः
फैसला
न्या. मीनवहादुर रायमाझीः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः—
२. मेरो हकभोग दर्ताको नुवाकोट जिल्ला सुनखानी गा.वि.स. वार्ड नं. नं.९ को कि.नं.२५५ क्षेत्रफल ८—९—३—२ खेत जग्गा विपक्षीका पिता नरेन्द्र नाथ लोहनीसंग घर भत्काई मोही निष्काशन गरी पाउं भन्ने मुद्दा परी शुरु देखि सर्वोच्च अदालतसम्म वाट मोही निष्काशन हुने गरी फैसला भई ०५३ सालको धानवाली मैलेलाई दश कर्म गरी वांकी तयार भएको पोख्रेली धान विपक्षीले ३५ जनाको हुलवल लिई मिति ०५३।७।२४ गतेका दिन विपक्षीहरुले लुटपिट गरी लगेकोले लुटी लगेको पोख्रेली धान १३ कुइन्टलको हुने १५६००।— र पराल भारी ७० को हुने रु.२१००।— समेत जम्मा रु.१७७००।— विपक्षीवाट दिलाई भराई सजाय समेत गरी पाउं भन्ने फिराद पत्र ।
३. प्रतिवादीहरुका नाउंमा मिति ०५४।२।२६ मा तामेल भएको म्यादमा उपस्थित नभई प्रतिउत्तर दर्ता नगरी शुरु म्याद गुजारी वसेको ।
४. वादी दावीको जग्गामा दुवै पक्षले १० कर्म गरेका हुन वाली चाही प्रतिवादीहरुले लुटपिट गरी लगेका हुन भन्ने वादीका साक्षी चन्द्रवहादुर थपलिया र रामप्रसाद उप्रेतीले अदालतमा गरेको वकपत्र ।
५. विपक्षी प्रतिवादीहरुले लुटपिट गरे भन्ने वादी दावी भएकोमा प्रतिवादीले प्रतिउत्तर नै नफिराई वसेको सा.फौ २२।७६ को मुद्दाको मिसिलमा भएको फैसला आधार समेतवाट विवादित जग्गामा प्रतिवादीको मोही हक नभएको देखिंदा र वादीका साक्षीको वकपत्र समेतवाट प्रतिवादीले लुटपिट गरेको ठहर्छ । प्रतिवादीले जम्मा रु.८८००।— को धनमाल लुटपिट गरेको ठहर्छ भन्ने समेत नुवाकोट जिल्ला अदालतको मिति ०५४।१०।१५ को फैसला ।
६. पिता नरेन्द्रनाथ लोहनी मोही कायम रहेको र सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको तथा मैले वाली लगाई विपक्षीलाई वुझाउनु पर्ने वाली भु.सु.का.मा धरौटी राखिएको विद्यमान अवस्थामा जोताहा मोहीको दशकर्म गरी वालीलाई न्यायिक मनको अभावमा लुटपिट ठहर गर्ने गरेको नु.जि.अ.को ०५४।१०।१२ को फैसला लुटपिटको १,४ नं.को प्रतिकूल गरी गरेको फैसला वदर गरी पाउं भन्ने राजेन्द्र प्रकाश लोहनीको मिति ०५५।४।१८ को पुनरावेदन पत्र ।
७. यसमा यसै लगाउको फौ.पु.नं.८७९ को लुटपिट मुद्दामा विपक्षी झिकाउने आदेश भएकोले प्रस्तुत मुद्दामा समेत अ.वं.२०२ तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ वमोजिम विपक्षी पेश गर्नु भन्ने पुनरावेदन अदालत पाटनको मिति०५६।५।७ को आदेश ।
८. विवादको जग्गामा प्रतिवादीको मोहियानी हक कायम गरीरहेको अवस्थामा मोहीले वाली लगाउनु स्वाभाविकै भई वादीले वाली लगाएको भन्ने दावी अपत्यारिलो हुँदा वादी दावी वमोजिम प्रतिवादीले वाली लुटपिट गरेको देखिएन लुटपिट ठहर्याएको नुवाकोट जिल्ला अदालतको मिति ०५४।१०।१२।१ को फैसला उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला।
९. सर्वोच्च अदालतवाट २०५३।२।२५ मा फैसला भै विपक्षी मोहीवाट निष्काशन भैसकेको अवस्थामा दावीको जग्गामा विपक्षीको मोहियानी हक कायमै रहेको भन्ने आधार लिएको त्रुटीपूर्ण प्रतिवादीले शुरु जिल्ला अदालतमा म्याद वुझि प्रतिउत्तर नै नफिराई वसेको शुरु अदालतले प्रमाण वुझी एक्तर्फी फैसला गरेको एवं अ.वं.२०८ नं. वमोजिम प्रतिवादीलाई पुनरावेदनको म्याद दिनु नपर्ने भनी उल्लेख गरेकोमा पुनरावेदन अदालतले लाग्ने नसक्ने पुनरावेदन दर्ता गरी कारवाही चलाई शुरु फैसला उल्टी गर्ने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण हुँदा उल्टी गरी शुरु जिल्ला अदालतको फैसला सदर कायम गरी पाउं भन्ने समेत व्यहोराको वादीको यस अदालतमा परेको पुनरावेदन ।
१०. शुरु म्याद गुजारी पुनरावेदन नै नलाग्ने स्थितिमा प्रतिवादीको पुनरावेदन लिएको र वुझ्दै नवुझेको प्रतिवादीको साक्षी समेतको हवाला दिई गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटीपूर्ण देखिदा अ.वं.२०२ नं. वमोजिम विपक्षी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको आदेश ।
११. नियम वमोजिम मुद्दा पेशी सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी उपस्थित पुनरावेदक संग छलफल समेत गरी पुनरावेदन अदालत पाटनको फैसला मिले नमिलेको के रहेछ हेरी निर्णय दिनुपर्ने देखिन आयो ।
१२. निर्णयतर्फ विचार गर्दा विपक्षी संग चलेको मोही निष्काशन मुद्दामा सर्वोच्च अदालतवाट मोही निष्काशन हुने ठहरेको मेरो हकभोग दर्ताको कि.नं. २५५ को जग्गामा मैले लगाएको धानवाली विपक्षीले २०५३।७।२४ मा लुटपिट गरी लगेकोले विगो भराई लुटपिटमा सजायं समेत गरीपाउं भन्ने वादी दावी र प्रतिवादीले प्रतिउत्तर नै नफिराई वसेको प्रस्तुत मुद्दामा शुरु जिल्ला अदालतले वादी दावी वमोजिम लुटपिट ठहर गरेको फैसला उपर प्रतिवादीको पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनवाट शुरु फैसला उल्टी हुने ठहराए उपर वादीको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको देखिन्छ । प्रस्तुत मुद्दामा शुरु नुवाकोट जिल्ला अदालतवाट प्रतिवादी राजेन्द्र लोहनी समेतका नाउंमा मिति २०५४।२।२६ मा म्याद तामेल भएकोमा प्रतिवादीले प्रतिउत्तर नफिराई म्याद गुजारी वसेको तथ्यमा विवाद भएन । म्याद गुजारी वसेका प्रतिवादीले पुनरावेदन गर्ने सम्वन्धमा अ.वं.२०८ नं.मा अड्डावाट जारी भएको समाव्हान इतलायनामाको म्याद तारिखमा प्रतिवादी नदिई म्याद गुजारी वसेका झगडियाको ऐन वमोजिम एकतर्फी प्रमाण वुझी भएको फैसला उपर पुनरावेदन लाग्न सक्दैन भन्ने देखिदा शुरु म्याद गुजारी प्रतिउत्तर नफिराई वस्ने प्रतिवादीले पुनरावेदन गर्न सक्ने देखिदैन । सोही कानूनी व्यवस्था अनुसार शुरु नुवाकोट जिल्ला अदालतको फैसलामा प्रतिवादीलाई पुनरावेदनको म्याद दिनु नपर्ने भनि तपसिल खण्डमा उल्लेख गरेको समेत देखिएकोमा उपरोक्त कानूनी व्यवस्थाको प्रतिकूल प्रतिवादी राजेन्द्र प्रकाश लोहनीलाई पुनरावेदनको म्याद दिएको एवं पुनरावेदन अदालत पाटनवाट निज प्रतिवादीको कानून विपरीतको पुनरावेदन लिई इन्साफ गरेको अ.वं.२०८ नं. विपरीत हुँदा प्रत्यर्र्थी प्रतिवादीको पुनरावेदन अदालत पाटनमा दर्ता भएको कानून विपरीतको पुनरावेदन खारेज भै पुनरावेदन अदालतपाटनको फैसला उल्टी हुने ठहर्छ । अरु तपसिल वमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा उल्लेख भए वमोजिम प्रतिवादीको पुनरावेदन खारेज भै पुनरावेदन अदालतको फैसला उल्टी हुने ठहरेकोले प्रतिवादी वाट वादीले भराई लिन पाउने भनी शुरु फैसलाले कायम गरेको विगो पुनरावेदन अदालतको फैसलाले कटृा गरेकोमा उक्त फैसला खारेज भएकाले शुरु फैसलाले कायम गरे अनुरुप नै प्रतिवादीवाट विगो भराई पाउं भनी वादीले ऐनका म्याद भित्र दरखास्त दिए कानून वमोजिम भराई दिनु भनी शुरु नुवाकोट जिल्ला अदालतमा लेखी पठाउनु……… १
प्रत्यर्थी प्रतिवादी राजेन्द्र प्रकाश लोहनीको हकमा शुरु अदालतको फैसलाले लागेको जरिवाना रु. १७६०।– निजले पुनरावेदन गर्दा पुनरावेदन अदालतमा दाखिल गरी सकेकोले जरिवानाको लगत कट्टा गर्न शुरु नुवाकोट जिल्ला अदालतमा लेखि पठाउनु…….. २
मिसिल निमयानुसार गरी वुझाई दिनु …. ३
उक्त रायमा सहमत छु ।
न्या.शारदाप्रसाद पण्डित
इति सम्बत २०६१ साल आषाढ १८ गते रोज ६ शुभमः –––––––––– ।