निर्णय नं. ७१२७ – हक कायम समेत ।
निर्णय नं. ७१२७ ने.का.प. २०५९ अङ्क ९/१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा...
निर्णय नं. ७१२७ ने.का.प. २०५९ अङ्क ९/१०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री
सम्बत् २०५७ सालको दे.पु.इ.नं. ..८९
फैसला मितिः २०५९।९।११।५
मुद्दा :– हक कायम समेत ।
पुनरावेदक
प्रतिवादीः भ.पु.जि.भक्तपुर न.पा.वार्ड नं.७ गोलमढी टोल वस्ने ज्ञानलाल गोसाई
विरुद्ध
विपक्षी
वादीः भक्तपुर जिल्ला भ.पु.न.पा वडा नं. ७ वस्ने मधुसुदन राजोपाध्याय समेत
§ कारणी स्वयं आफूले कवुलियत गरिदिएको कुरामा इन्कार गर्न नसकेको अवस्थामा साक्षीले मेरो सहिछाप हैन भनी जिकिर लिए तापनि साक्षीको सहिछाप विशेषज्ञबाट परीक्षण गराइरहनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था नदेखिने ।
§ साक्षी नै नराखी गराएको लिखतका सम्बन्धमा समेत अदालतले वीस रुपैयाँ सम्म जरिवाना गरी त्यस्तो लिखतलाई प्रमाणमा लिन सक्ने प्रावधान मुलुकी ऐन कागज जाँचको महलको १४ नं. मा भइरहेको अवस्थामा साक्षीको सहिछाप जाँच गर्ने विशेषज्ञलाई अदालतबाट परीक्षण नगराई त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन नमिल्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने ।
§ वादीहरुले फिराद गर्दा प्रमाण स्वरुप पेश गरेको कवुलियतलाई देख्न सुन्न पाएमा नामाकरण गर्नेछु भनी प्रतिउत्तर जिकिर लिएको पाइएतापनि मुद्दा पर्नु भन्दा अगाडि नै प्रतिवादीलाई सो कवुलियत वारे जानकारी भइसकेकाले मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम सो कवुलियत सुनाई वयान गराइरहनु पर्ने अवस्था समेत नदेखिने ।
§ भक्तपुर नगरपञ्चायतबाट भएको कारवाहीमा पेश भएको कवुलियतका सम्बन्धमा थाहा जानकारी पाइसकेपछि प्रतिवादीले आफ्नो बयानमा दावी गरे झै झुक्याई सहिछाप गराएको भए निजले ऐनका म्याद भित्र सो कवुलियतका सम्बन्धमा कानून बमोजिम उजुर गरी वदर गराउन सक्नुपर्नेमा सो समेत गरेको नपाइदा प्रतिवादीले गरिदिएको वहाल सम्बन्धी कवुलियतलाई अन्यथा भन्न नसकिने ।
§ १९९६ सालको लगतमा विवादको घरका हकमा घर धनी वा घरमा वस्नेको नाम जात भन्ने महलमा सँग्राम गोसाहीहरुको गुठिपक भन्ने जनिएकोमा तथ्यांक संकलनका प्रयोजनका लागि खडा गरेको देखिने सो लगतमा घरधनी वा घरमा वस्ने जोसुकैको नाम उल्लेख हुन सक्ने र सो लगतमा नाम भएकै आधारमा विवादको घर यी प्रतिवादीका बाबुको नाममा रहेको एकलौटी हक भोगको घर हो भनी भन्न नसकिने ।
(प्र.नं. २३ देखि २५)
पुनरावेदक तर्फबाटः विद्धान अधिवक्ता श्री भरतप्रसाद खरेल
विपक्षी तर्फबाटः विद्धान अधिवक्ताव्दय श्री विष्णुप्रसाद नेपाली र श्री पन्नामान तुलाधर
अवलम्वित नजिरः
आदेश
न्या.गोविन्दबहादुर श्रेष्ठः यस अदालत पूर्ण इजलासवाट मिति २०४५।५।२।५ मा भएको फैसला उपर श्री ५ महाराजाधिराज सरकार समक्ष परेको विन्तिपत्र यस अदालतमा प्रात भएकोमा यस अदालत संयुक्त इजलासवाट दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :–
२. भ.पु.न.पं.वडा नं. ७ गोलमढीको पूर्व हर्षवहादुर नाइके भएको गुठीको गुसिपको किलास, पश्चिम ऐ.को गौरी नारायण मास्के नाइके भएको गुठीको गुसिपको, उत्तर वाटो र दक्षिण ऐ.का श्री भक्तको वगैंचा यति चार किल्ला भित्रको दुई कवल १ नाले २ तले पराले छानाको भ.पु.ढोका वाहिरका दुइवा पोखरीमा राज भएको श्री भिमसेनमा बली पुजा गर्नुपर्ने मुर्दा गुठीको गुसिपको घर हामीहरुको गुठीको हक भोग चलनको हो । उल्लेखित गुठिको गुसिपको गुसीं दाउरा राख्ने छिंडीको ठाउँ छाडी अरु बाँकी घर तल्ला भाग साल एकको वहाल रु.४।– लिने गरी बिपक्षीलाई वस्न दिई भत्के बिग्रेमा र सालको एकपटक पराले छानो लाउने समेत गरी विपक्षीले मिति २०१४।९।१६ मा बहाल कवुलियत गरी बसी आएको हो । सो घर भत्काई बनाउन भ.पु.न.पं मा दर्खास्त गर्दा उक्त नक्सा दर्खास्त वदर गरी पाउँ भन्ने बिपक्षीको उजुरी भएकोमा नक्शा बमोजिम घर बनाउन पाउने गरी मिति २०३२।२।२७ मा भ.पु.न.पं.का प्रधान अधिकृतको पर्चा भै मिति २०३२।१२।४ मा न.पं. सभावाट सदर भएको । सो पर्चा उपर बिपक्षीको सर्वोच्च अदालतमा रिट निवेदन परेको र सर्वोच्च अदालत डिभिजन वेन्चवाट हकवेहकको प्रश्न उपस्थित भएकोमा निर्णय गर्ने अधिकार नगर पंचायतलाई नभएकोले नं.पं. को निर्णय वदर हुने ठहर्याई मिति २०३३।११।९ मा आदेश फैसला भएको मिति मै बिपक्षीले आफ्नो भनी खिचोला समेत गरेको ऐनको म्यादभित्र फिराद गर्न आएका छौं । बिपक्षीले आफ्नो भनी दावी लिएको गुसिपको घरमा हामीहरुको गुठीको हक कायम गरी पाउँ भन्ने समेत मिति २०३३।१२।१२ को फिराद दावी ।
३. वादी दावीको घर गुसीपको होइन सो घर स्व–वासी परापूर्व देखि भोग चलन गरी वसी आएको घर हो । वादीहको गुसिपको घर भए त्यस कुराको प्रमाण हुनु पेश गर्नुपर्नेमा सो गर्न सकेको छैन । बिपक्षीहरुको माग अनुसार धर्म विचारले सो घरको पूर्वतर्फको छिडि कवलमा वादीहरुलाई गुसिं राख्नसम्म दिएका थियौं त्यहि नाताले बिपक्षीहरुले जम्मै घर आफ्नो बनाउन षडयन्त्र गरेका मात्र हुन् । वास्तवमा घर मेरै हो । वादीहरुले भ.पु.न.पं.मा दरखास्त गर्दा उल्लेख नगरेका हाल नालिस गर्दा कवुलियतको प्रमाण दिएको देखियो सो कवुलियत देख्न पाए नामाकरण गर्नेछु झुट्टा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. पूर्वतर्फ एक कवल छिडिसम्म बिपक्षीहरुलाई कागज गरि दिएको थिएँ । नीरक्षरी हुँदा साक्षी वस्ने भनि एउटा व्यहोरा गरी अर्को व्यहोरा लेखी मलाई झुक्याई सहिछाप गराएको रहेछ स्वास्नी साक्षी बसेकी थिइन् वुझी पाउँ । १९९६ सालमा घरदर हुँदा उक्त घर मेरो वावु सँग्रामको भनि दर्ता प्रमाण छ भन्ने समेत प्र.ज्ञानलालको वयान ।
५. घरदर हुँदा घरधनीमा हामीलाई थाहा नदिई प्रतिवादीको वावुले आफ्नो नाममा लेखाएको हो झुक्याई सही गराएको छैन निजको स्वास्नीलाई साक्षी समेत राखेको हो झुट्टा वयान गरेकोमा बिपक्षीलाई सजाय समेत गरी पाउँ भन्ने वादी जगतानन्दको वयान ।
६. वादी दावीको घर गुठियारसँग आई कवुलियतमा लेखिए वमोजिम वहाल वुझाउँछु कवुलियत गरी दिन्छु लेखाई राख्नुहोस् भनि म समेतका रोहवरमा प्रतिवादीले भनेकोले लेखिदिएको हुँ भन्ने समेत व्यहोराको लेखत साक्षी विनवहादुरको वयान ।
७. वादीवाट पेश भएको ०१४।९।१६ को कवुलियत देखें । सो लिखतको अन्तरसाक्षीमा लागेको ल्याप्चे सहीछाप मेरो होइन किर्ते हो जाँच गराई पाउँ भन्ने श्रीमायाको वयान ।
८. घरको दावी हुँदा कवुलियतमा रहने साक्षीको सहीछाप सद्दे किर्तेतर्फ विचार गरिरहन परेन । प्रतिवादीले पेश गरेको घरदरको लगत हेर्दा सँग्राम भन्ने फेरादीको वावु भन्ने मिसिलवाट खुल्छ । सो घरको छिडिमा फिरादीहरुलाई दाउरा राख्न दिएकोमा प्रतिवादी सावितै हुनुहुन्छ । घरदरको लगत वाहेक अरु प्रमाण प्रतिवादीबाट नआई कवुलियततर्फ झुक्याई सही गराए भन्ने उल्लेख गरेको झुक्याई तर्फको कुनै परिभाषा प्रतिवादीले खुलाउन नसकेको समेतबाट एकलौटी हक भनी प्रतिवादीले झुट्टा जिकिर लिएको ठहर्छ भन्ने शुरु भ.पु. जि.अ.को मिति २०३४।८।२० को फैसला।
९. उक्त फैसलामा चित्त बुझेन भनी प्र. ज्ञानलाल गोसाईको तत्कालीन बागमती अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
१०. साझा गुठी घरलाई एकलौटी घर हो भन्ने प्रतिवादी जिकिर झुट्टा ठहर्याई छिनेको शुरु जि.अ.को इन्साफ मुनासिव ठहर्छ भन्ने तत्कालीन वा.अं.अ.को मिति २०३७।१२।३ को फैसला।
११. वा.अं.अ.को फैसलामा कानून त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदनमा अनुमति दिइएको छ भन्ने तत्कालीन म.क्षे.अ.को मिति २०३९।२।२०।५ को आदेश ।
१२. प्रतिवादीको विवादित घरमा कानूनी स्वामित्व रहेको भन्न सकिने स्थिति नहुँदा विवादको घर वादीहरुको गुठीको घर ठहर गरेको वा.अं.अ.को फैसलामा कुनै पनि त्रुटि नदेखिएकोले वागमती अंचल अदालतको इन्साफ मुनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत तत्कालीन म.क्षे.अ.को २०४०।५।२९।५ को फैसला ।
१३. मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनि प्रतिवादी ज्ञानलाल गोसाईको यस अदालतमा पर्न आएको निवेदनमा प्रमाण ऐन, २०३१ को दफा २३(७) वमोजिम विशेषज्ञलाई अदालतमा वकपत्र नगराई निजको रायलाई प्रमाण लगाई गरेको उक्त निर्णयमा उक्त ऐनको त्रुटिको र त्यस्ता त्रुटि सार्वजनिक महत्वको समेत हुँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ को (५)(ख) वमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन वेन्चको मिति २०४०।१२।९ को आदेश ।
१४. प्रतिवादी ज्ञानलालले पेश गरेको १९९६ सालका लगत उत्तार हेर्दा सो लगत घर संख्याको लगत भनि विवरणमा घरको धनी वा घरमा वस्नेको नाम जात उल्लेख भै सँग्राम गासाईको गुठि भनी जनिएको र घर संख्याको लगतमा घरमा वस्ने वा घरधनीको नामबाट समेत तथ्याङ्क लगत लिएको र सो तथ्याङ्क लगतलाई वादीहरुवाट पेश भएको मिति ०१४।९।१६ को कवुलियतमा लागेको कारणीको ल्याप्चे मेरो होइन नभनी झुक्याई ल्याप्चे लगाएको भन्ने प्रतिवादीको भनाइ भएपनि त्यसको प्रमाण प्रतिवादीले पेश गर्न नसकेको अथवा झुक्याई कवुलियत गराएको भए त्यस्तोलाई ऐनको म्याद भित्र वदर गराउन पर्ने सो गरेको मिसिल प्रमाणवाट देखिन आएन र लेखतको साक्षीले समेत प्रतिवादीले सही गरेको सद्दे लिखत हो भनि वयान गरेबाट समेत विवादित घरमा प्रतिवादीको कानूनी स्वामित्व रहेको भन्न सकिने स्थिति नहुँदा विवादित घर वादीहरुको घर ठहर गरेको बागमती अंचल अदालतको फैसलालाई मुनासिव ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कुनै कानूनी त्रुटि नहुँदा इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालतको मुनासिव ठहर्छ । प्र.ज्ञान लाल गोसाईको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने यस अदालत संयुक्त इजलासको मिति २०४२।२।३१ गतेको फैसला ।
१५. संयुक्त इजलासबाट भएको उक्त फैसला दोहोर्याई पाउँ भनी निवेदक प्रतिवादीको विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारका हजुरमा विन्तिपत्र परेकोमा फुलवेन्चबाट दोहोर्याई हेरी दिनु भन्ने हुकुम प्रमाङ्गी वक्स भएको ।
१६. भक्तपुर नगरपञ्चायतबाट भएको कारवाहीमा पेश भई जानकारी पाएपछि प्रतिवादी निवेदकले ऐनका म्यादभित्र सो कवुलियत उपर कानून बमोजिम उजुर गरी वदर गराउन सक्नु पर्नेमा सो कवुलियत उपर उजुर गरी वदर गराएको समेत नदेखिनाले मुलुकी ऐन अदालती वन्दोवस्तको ७८ नं. वमोजिम सुनाउनै नपर्ने कागज सुनाई भएको कारवाहीलाई मान्यता दिई विशेषज्ञलाई अदालतमा उपस्थित गराई परीक्षण गर्नुपर्ने देखिएन । साथै कुनै प्रमाणको अभावमा विवादको घर निवेदन जिकिर वमोजिम निवेदकको वावु सँग्राम गोसाईको एकलौटी हकको भन्न नमिल्ने हुँदा विवादको घरमा वादी दावी वमोजिम वादीहरुको हक लाग्ने गुठी घर कायम गरेको संयुक्त इजलासको इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको यस अदालत पूर्ण इजलासको मिति २०४५।५।२।५ को फैसला ।
१७. सर्वोच्च अदालत पूर्ण इजलासबाट भएको उक्त त्रुटिपूर्ण फैसला दोहोर्याइ हेरिदिनु भनी सर्वोच्च अदालतको नाममा हुकुम प्रमाङ्गी वक्स पाउँ भनी प्रतिवादीले श्री ५ महाराजाधिराज समक्ष विशेष जाहेरी विभाग मार्फत गरेको विन्तिपत्र छानविन गरी हेरिदिनु भनी यस अदालतमा प्राप्त हुन आएको ।
१८. यस अदालत पूर्ण इजलासको मिति २०४५।५।२।५ को निर्णयमा घरदरको २२३ नं. मा यी निवेदक ज्ञानलाल गोसाइको बाबु सँग्राम गोसाइको नाममा दर्ता जनिई गोसाइहरुको गुठिपक भन्ने जनिएको भन्ने कुरालाई स्वीकार गरेको अवस्था देखिन आउँछ । यसरी निवेदक प्रतिवादीका बाबुको नाउँमा दर्ता भइरहेको अवस्थामा वादीहरुले आधार लिएको कागज सद्दे कीर्ते के हो सो को परीक्षण गरी न्याय निरोपण गर्नुपर्नेमा सो कागज सुनाउनै नपर्ने भन्ने आधार लिई निवदक दावी बमोजिम विशेषज्ञलाई परीक्षण नै नगराई गरेको पूर्ण इजलासको मिति २०४५।५।२।५ को इन्साफ मिलेको नदेखिई दोहोर्याई हेर्नुपर्ने देखिन आएकोले दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्त इजलासको मिति २०५७।३।१४।४ को आदेश ।
१९. यसमा मिति २०४५।५।२।५ मा यस अदालतको पूर्ण इजलासबाट भएको फैसला दोहोर्याई हेर्नका लागि निस्सा प्रदान भई आएको प्रस्तुत मुद्दा तीन जना भन्दा बढी न्यायाधीश रहेको पूर्ण इजलासबाट हेरिनु उपयुक्त हुने भन्ने यस अदालत पूर्ण इजलासको मिति २०५८।१२।१।५ को आदेश ।
२०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट विद्वान अधिवक्ता श्री भरतप्रसाद खरेल र विपक्षी वादीहरुको तर्फबाट विद्वान अधिवक्ताद्वय श्री विष्णुप्रसाद नेपाली र श्री पन्नामान तुलाधरले गर्नु भएको वहस सुनी मिसिल संलग्न कागजात गरी हेर्दा पुनरावेदन जिकिर बमोजिम यस अदालत पूर्ण इजलासको मिति २०४५।५।२।५ को इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
२१. निर्णयतर्फ विचार गर्दा, हामीहरुको गुठीको हक भोगचलनको मुर्दा गुठीको गुँसिपको गुसीं दाउरा राख्ने छिडिको ठाउँ छाडी अरु बाँकी घर तल्लामा साल एकको वहाल रु.४।– बुझाउने गरी मिति २०१४।९।१६ मा वहाल कवुलियत गरी विपक्षी प्रतिवादी वसी आउनु भएकोमा आफ्नो भनी निजले खिचोला गरेको हुँदा गुसिपको घरमा हामीहरुको गुठीको हक कायम गरिपाउँ भन्ने मुख्य दावी वादीहरुले लिएको पाइन्छ । वादी दावीको घर गुसिपको घर नभई परापूर्वकालदेखि भोग चलन गरि आएको स्व–वासी घर हो भन्ने जिकिर प्रतिवादीको रहेको पाइन्छ ।
२२. यस अदालत पूर्ण इजलासबाट विवादित घर वादीहरुको गुठी नै कायम हुने भनी मिति २०४५।५।२।५ मा गरेको फैसला उपर श्री ५ महाराजाधिराज समक्ष विशेष जाहेरी विभाग मार्फत परेको विन्तिपत्र यस अदालतमा प्राप्त भई यस अदालत संयुक्त इजलासबाट मिति २०५७।३।१४ मा दोहोर्याई हेर्ने निस्सा प्रदान भएर निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको देखिन्छ ।
२३. यसमा मिति २०१४।९।१६ को कवुलियतमा मलाई झुक्याई सहिछाप गराएको रहेछ स्वास्नी साक्षी वसेकी थिइन् बुझिपाउँ भनी प्रतिवादीले र कवुलियतमा साक्षी वस्ने निवेदक प्रतिवादीको श्रीमती श्रीमायाले सो लिखतको अन्तरसाक्षीमा लागेको ल्याप्चे सहिछाप मेरो होइन कीर्ते हो जाँच गराइ पाउँ भनी वयान गरेको देखिन्छ । उक्त कवुलियतमा साक्षी बस्ने प्रतिवादीको श्रीमती श्रीमायाको सहिछाप विशेषज्ञबाट जाँच हुँदा सद्दे हो भनी राय दिएको तर त्यस्तो राय दिने विशेषज्ञलाई अदालतबाट परीक्षण गर्नुपर्नेमा सो नगरी प्रमाणमा लिन नमिल्ने भनी पुनरावेदक प्रतिवादी तर्फका विद्वान कानून व्यवसायीले जिकिर लिएको र यस अदालत संयुक्त इजलासले निस्सा प्रदान गर्दा समेत सोही कुरालाई आधार लिएको देखिन्छ । यस सम्बन्धमा विचार गर्दा, मिति २०१४।९।१६ मा कवुलियत गर्ने यि पुनरावेदक प्रतिवादी ज्ञानलाल गोसाईले सो कवुलियतमा परेको सहिछाप आफ्नो होइन भनी इन्कार गर्न सकेको पाइदैन । कारणी स्वयंले आफूले कवुलियत गरिदिएको कुरामा इन्कार गर्न नसकेको अवस्थामा साक्षीले मेरो सहिछाप हैन भनी जिकिर लिए तापनि साक्षीको सहिछाप विशेषज्ञबाट परीक्षण गराइरहनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेको देखिदैन । त्यस माथि साक्षी नै नराखी गराएको लिखतका सम्बन्धमा समेत अदालतले वीस रुपैयाँ सम्म जरिवाना गरी त्यस्तो लिखतलाई प्रमाणमा लिन सक्ने प्रावधान मुलुकी ऐन कागज जाँचको महलको १४ नं. मा भइरहेको अवस्थामा साक्षीको सहिछाप जाँच गर्ने विशेषज्ञलाई अदालतबाट परीक्षण नगराई त्यस्तो विशेषज्ञको रायलाई प्रमाणमा लिन नमिल्ने भन्ने पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । पूर्वतर्फ एक कवल छिडीसम्म विपक्षीहरुलाई कागज गरिदिएको थिएँ, निरक्षरी हुँदा अर्कै व्यहोरा लेखी मलाई झुक्याई सहिछाप गराएको भन्ने प्रतिवादीले जिकिर लिएको भए तापनि त्यसरी झुक्याई सही गराएको भए सो कुराको प्रमाण निजले गुजार्न सक्नुपर्नेमा सो समेत गरेको देखिएन ।
२४. साथै उक्त विवादित कवुलियत भक्तपुर नगरपञ्चायतमा नक्सापास सम्बन्धी उजुरीमा कारवाही हुँदाकै अवस्थामा पेश भई निवेदकलाई जानकारी भइसकेको कुरा मिसिल संलग्न प्रमाण मिसिलबाट समेत देखिन्छ । वादीहरुले फिराद गर्दा प्रमाण स्वरुप पेश गरेको सो कवुलियतलाई देख्न सुन्न पाएमा नामाकरण गर्नेछु भनी प्रतिवादीले प्रतिउत्तर पत्रमा जिकिर लिएको भए तापनि प्रस्तुत मुद्दा पर्नु भन्दा अगाडि नै प्रतिवादीलाई सो कवुलियत वारे जानकारी भइसकेकाले मुलुकी ऐन अ.बं. ७८ नं. बमोजिम सो कवुलियत सुनाई वयान गराइ रहनु पर्ने अवस्था समेत देखिदैन। भक्तपुर नगरपञ्चायतबाट भएको कारवाहीमा पेश भएको सो कवुलियतका सम्बन्धमा थाहा जानकारी पाइसकेपछि प्रतिवादीले आफ्नो बयानमा दावी गरे झै झुक्याई सहिछाप गराएको भए निजले ऐनका म्याद भित्र सो कवुलियतका सम्बन्धमा कानून बमोजिम उजुर गरी वदर गराउन सक्नुपर्नेमा सो समेत गरेको पाइदैन । तसर्थ २०१४।९।१६ मा यी प्रतिवादीले गरिदिएको वहाल सम्बन्धी कवुलियतलाई अन्यथा भन्न सकिएन ।
२५. अब, विवादको घर १९९६ सालको घरदर लगतमा यि पुनरावेदकका बाबुको नाउँमा दर्ता भइसकेको भन्ने जिकिरतर्फ विचार गर्दा, पेश भएको १९९६ सालको लगतमा विवादको घरका हकमा घर धनी वा घरमा वस्नेको नाम जात भन्ने महलमा सँग्राम गोसाहीहरुको गुठिपक भन्ने जनिएको देखिन्छ । तथ्यांक संकलनका प्रयोजनका लागि खडा गरेको देखिने सो लगतमा घरधनी वा घरमा वस्ने जो सुकैको नाम उल्लेख हुन सक्ने र सो लगतमा सँग्राम गोसाहीहरुको गुठिपक भनी जनिएको समेत देखिंदा सो लगतमा नाम भएकै आधारमा विवादको घर यि प्रतिवादीका बाबुको नाममा रहेको एकलौटी हक भोगको घर हो भनी भन्न सकिदैन । यदी विवादित घर आफ्नो एकलौटी हक भोग चलनको भएदेखि यि पुनरावेदक प्रतिवादी आफैले कवुलियत गरी वार्षिक निश्चित रकम तिर्ने गरी वहालमा लिने कुरा पनि हुदैन । तसर्थ विवादित घर प्रतिवादीको एकलौटी हक भोगको घर नभएको हुँदा वादी दावी बमोजिम वादीहरुको हक लाग्ने गुठी घर कायम गरेको इन्साफ सदर गर्ने गरि यस अदालत पूर्ण इजलासबाट मिति २०४५।५।२।५ मा भएको फैसला मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छौं ।
न्या.अरविन्दनाथ आचार्य
न्या.कृष्णकुमार वर्मा
न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय
न्या.गोपालप्रसाद खत्री
इति सम्बत् २०५९ साल पौष ११ गते रोज ५ शुभम् ……………….।