June 6, 1988
Created by nepalarchives

निर्णय नं. ३७२७ – विध्वंसात्मक अपराध

निर्णय नं. ३७२७    ने.का.प. २०४६      अङ्क २   तीन न्यायाधीशको इजलास माननीय नयायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री...

निर्णय नं. ३७२७    ने.का.प. २०४६      अङ्क २

 

तीन न्यायाधीशको इजलास

माननीय नयायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०४४ सालको फौ.वि.अ.स.पु.नं. १५ साधक ८

फैसला भएको मिति : २०४५।२।२४।२ मा

पुनरावेदक/वादी : प्रहरी शिविर लैनचौरका प्र.ना.नि. डोलबहादुर थापाको जाहेरीले श्री ५ को     सरकार

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जि.धनुषा गा.पं. तारापति सिर्सिया वा.नं. ८ बस्ने चन्द्रविजय साहसमेत    

मुद्दा : विध्वंसात्मक अपराध

(१)    विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ११(२) मा प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानुन बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराध सम्बन्धमा कुनै कानुनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुनेछ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानुन बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न यो ऐन बनेको देखिने ।

(प्रकरण नं. १०९)

(२)   नेपाल अधिराज्यको सुरक्षा, शान्ति र व्यवस्था कायम राख्न सर्वसाधारणको ज्यू ज्यान र धन सम्पत्ति तथा महत्वपूर्ण सार्वजनिक सरकारी र गैर सरकारी स्थान, भवन र साधनहरु समेत सुरक्षा गर्न विध्वंसात्मक अपराधलाई विशेष रुपले नियन्त्रण गर्न तथा तत्सम्बन्धी सजायँको विशेष व्यवस्था गर्न संविधानको धारा १७(२) को उद्देश्य परिपूर्तिका लागि उक्त ऐन बनेको तथ्य ऐनको प्रस्तावनाबाट देखिने ।

(प्रकरण नं. १०९)

(३)   संविधानको धारा ११(३) मा जेसुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १७(२) मा उल्लेखित उद्देश्य अनुरुप राज्यले कानुन बनाउन सक्ने र संविधानको धारा १७(१) समेतको आधारमा त्यसरी बनेको कानुनले संवैधानिक हकहरुको प्रयोगलाई समेत बन्देज लगाउन सक्ने देखिएबाट अघि भएको अपराधलाई पछि बनेको ऐनले सजायँ गर्न संविधान तथा ऐनको दफा ११(२) समेतको आधारमा कुनै असर पुर्‍याएको नदेखिँदा यस अपराधमा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन बमोजिम कारवाही भई सजायँ गर्न समेत संविधान र कानुन अनुकूल नै देखिने ।

(प्रकरण नं. १०९)

(४)   वारदात गराएको भन्ने शंकारहित प्रमाण वादी श्री ५ को सरकारबाट प्राप्त हुन नआएको अवस्थामा अभियुक्तहरुको हकमा वादी दावी बमोजिम सजायँ गर्न मनासिब नहुने ।

(प्रकरण नं. ११०)

(५)   अभियोग पुष्टि गर्ने शंकारहित प्रमाणको अभावमा विध्वंसात्मक अपराध जस्तो संगीन प्रकृति र अवस्थाको कसूर केवल अभियोगको भरमा मात्र ठहर गर्न न्यायसंगत नहुने हुँदा शंकाको सुविधा अभियुक्तहरुले पाउने ।

(प्रकरण नं. १११)

(६)    विध्वंसात्मक कार्य गर्न गराउन विदेशी भूमिमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले खडा गरेको गिरोहले खेमराज मायालु समेतको सहमतीबाट विस्फोटक पदार्थ सहित विध्वंसात्मक कार्य गर्न गराउन पठाएको सिद्ध हुन आएकोले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूरमा सोही ऐनको दफा ७(१) अनुसार अभियुक्तहरु मध्ये प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंहलाई मृत्युदण्डको सजायँ गर्ने ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको इन्साफमा केही परिवर्तन गरी रहन नपर्ने ।     

(प्रकरण नं. ११२)

पुनरावेदक/वादी तर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार देखिन्छ ।

२.    २०४२।३।६ गतेको दिन अं. १३.४५ बजेको समयमा देशको शान्ति सुरक्षा खलबलाउने उद्देश्यले होटल अन्नपूर्णमा आतंककारीहरुले बम विस्फोटन गराई महत्वपूर्ण स्थलको क्षति समेत पुर्‍याएकोले यस किसिमको अपराध कार्य गर्ने आतंककारीहरुलाई पक्राउ गरी आवश्यक कडा कार्यवाही र सजायँ समेत होस् भन्ने समेत व्यहोराको प्र.ना.नि. डोलबहादुर थापाको ०४२।३।६ को जाहेरी प्रतिवेदन ।

३.    का.जि.का.न.पं. वडा नं. १८ बस्ने सरीता पौडेल होटल अन्नपूर्णमा नोकरी गरी बसेकी, ०४२।३।६ मा उक्त होटलको स्वागत कक्षमा भएको बम विष्फोटनमा परी केही मानिस समेत मरेका छन् भन्ने हल्ला सुनी गई हेर्दा सरसामानहरु सबै टुटफुट भई मानिस समेत टुक्रा भई मरेका रहेछन् । कपाल, निजले लगाएको चप्पल र चुरा समेतबाट मृतक मेरी दिदी भएकी सनाखत गरेकोले मृतकको कानुन बमोजिम जे जो गर्न पर्ने गरी सदगतको लागि लास जिम्मा पाउँ भन्ने पवनराज जोशीको जाहेरी ।

४.    मेरो दाजुको छोरी नीरुजा श्रेष्ठ होटल अन्नपूर्णमा नोकरी गरी आएकी ०४२।३।६ मा अचानक उक्त होटलमा भएको बम विष्फोटनबाट घाइते भई वीरअस्पतालमा भर्ना गराएको छ भन्ने खबर पाउँदा नीरुजाको मृत्यु भइसकेको रहेछ । सतगतको लागि लाश जिम्मा पाउँ भन्ने किशोरप्रसाद श्रेष्ठको ०४२।३।६ को जाहेरी ।

५.    मेरो दाजु भूमिनारायण श्रेष्ठ केही वर्ष अगाडिदेखि होटल अन्नपूर्णमा नोकरी गरी बस्नु भएको, २०४२।३।६ गते उक्त होटलमा भएको विष्फोटनबाट मानिसहरु मरेको छ भनी थाहा पाएँ । त्यहाँ गई हेर्दा मेरो दाजुको शरीरको विभिन्न भाग टुटी मृत्यु भइरहेकोले लाश सदगतका लागि जिम्मा पाउँ भन्ने प्रियनारायण श्रेष्ठको ०४२।३।७ को जाहेरी ।

६.    होटल अन्नपूर्णको एंगेल आकारमा फैलिएको ३ तले भवनको तल्लो तहको बरण्डा अगाडिको बा.अ.च. २९३० को प्रा. सेतो कारको बायाँ तर्फको साईड सीसाहरु फुटेको, बरण्डाको झ्यालको सिसा फुटेको, सिमेण्टका पिल्लरहरु पुरै भत्किएको, कोठामा जडान भएका बिजुली चीम र फ्रेमहरु फुटेको, फोन सेटको दराज धुलो भएको, मार्वल प्लेटहरु टुटेको, भवनमा सिलिङ जडान भएको सेतो सिमेण्ट टायल चिप्स पुरै भाग खसी काठ र बिजुलीको तारहरु यत्रतत्र छरिएको । स्वागत कक्षको पल्टेको दिवालदेखि भित्री भागमा पुरै रगतहरु बगी ईटा, माटो, काठमा समेत लटपटिएको, मासुको टुक्राहरु झुण्डिइरहेको, डढेको मासुका टुक्राहरु पनि रहेको, त्यहाँ भएको सम्पूर्ण सामानहरु तोडफोड अवस्थामा पाइएको र स्वागत कक्षको एरियामा बारुदको ध्वाँ जस्तो गन्ध आइरहेको भन्ने समेत व्यहोराको ०४२।३।६ को होटल अन्नपूर्णको प्रकृति मुचुल्का ।

७.    होटल अन्नपूर्णको रिसेप्सन काउण्टर भित्रको भागहरु रगतले भिजिराखेको, लाशको सवै भागहरु क्षेत विक्षेत भइरहेको, लाशको टाउको ५ भागमा टुक्रिएको कम्मरदेखि माथि टाउकोसम्मको भाग २ टुक्रा भएको, लाशको टुक्राहरुलाई मिलाउँदा सोही होटलमा नोकरी गर्ने सरीता पौडेलको हो भन्ने ०४२।३।७ को लाश प्रकृति मुचुल्का ।

८.    वीर अस्पतालको मुर्दा घरमा वर्ष २८ को नीरुजा श्रेष्ठको लाश रहेको, लाशलाई सेतो कपडाले ढाकी राखेको, कपडा उतारी हेर्दा आँखा पूरा नभएको मुखको ओठ समेत नभई दाँत सबै देखिएको, लाश पूरा क्षतविक्षेत अवस्थामा रहेको भन्ने समेत व्यहोराको नीरुजा श्रेष्ठको लाश प्रकृति विवरण ।

९.    उत्तानो अवस्थामा रहेको मृतक लाश हेर्दा मुख, आँखा थेप्चिएर कुरुप भएको, गर्धन पुरा कालो, घाँटीको भाग रही सो देखि तल आन्द्रा भुँडी समेत छताछुल्ल अवस्थामा रहेको, गोडाको पैताला बाहेक सो देखि माथि सबै क्षेत विक्षेत भएको, मलद्वार तथा मुत्रद्वार समेत केही टुड्डो नरहेको भन्ने समेत व्यहोराको भूमिनारायण श्रेष्ठको लाश प्रकृति विवरण ।

१०.    नाम, थर, वतन जानकारी नभएको जनाना व्यक्तिलाई अस्पतालमा ल्याएको, उपचारको क्रममा नै निजको मृत्यु भएको, भूमिनारायण, नीरुजा र सरीताको मृत्यु पनि बम विष्फोटनको कारणबाट भएको भन्ने लाश जाँच प्रतिवेदन ।

११.    २०४२।३।६ गते अपरान्ह काठमाडौं अन्नपूर्ण होटल लगायत विभिन्न ५ ठाउँमा भएको बम विष्फोटनमा गिरोहको मुख्य भूमिका खेल्ने सप्तरी जिल्ला कोइलाडी भई हाल भारतीय भूमिमा बस्ने रामराजाप्रसाद सिंह समेतले नेपालको शान्ति सुरक्षा खलबल्याउने अशान्ति आतंक फैलाउने विध्वंसात्मक कार्य गर्ने उद्देश्यबाट विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मा, शिवकुमार विश्वकर्मा समेतका व्यक्तिहरुलाई काठमाडौं उपत्यकामा पठाई उक्त विष्फोटन गराएको थाहा भएको, निजहरुको खोजतलास गर्दा फेला नपरेकोले सत्य तथ्यको जाहेर गर्न आएको छु भन्ने समेत व्यहोराको प्र.नि. शारदाप्रसाद पराजुलीको प्रतिवेदन ।

१२.   मेरो लोग्ने भूमिनारायण होटल अन्नपूर्णमा एकाउण्ट सम्बन्धी काम गर्नुहुन्थ्यो । २०४२।३।६ गते उक्त होटलमा भएको बम विष्फोटनमा परी मृत्यु भएको हो भन्ने समेत व्यहोराको निजकी श्रीमती सरोजनी श्रेष्ठले जि.प्र.का.मा गरेको कागज ।

१३.   उक्त दिन होटल अन्नपूर्णको रिसेप्शन अगाडि बेलक्याप्टेन डेक्समा ड्यूटी थियो । स्वीपर ठूलो भाइ खत्रीले लबी लन्च नेर सफा गर्न आउँदा एक कालो ब्याग कस्को छुटेछ भन्यो । मैले होटलको नियमानुसार सो व्याग रिसेप्शनकी सरीता पौडेललाई दिएँ । निजले पनि सो ब्याग दुरुस्त रिसेप्सन डेक्समा राखिन् । ब्यागको तौल अं. डेड किलो जति थियो । ब्याग बुझाएको करिब १० मिनेट पछि दिनको १३.४५ बजेतिर रिसेप्सनमा विष्फोटन भयो । त्यही ब्याग पडकिएको हो वा के हो मलाई थाहा भएन । विष्फोटनको कारण म पनि लडी कान बन्द भयो । अस्पतालमा लगी औषधि उपचार भएपछि होशमा आएँ । होटलमा फर्कि आउँदा रिसेप्सनमा बम पडकिएको, भूमिनारायण, सरीता तत्कालै मरेका र नीरुजा अस्पतालमा मरेको भन्ने कुरा थाहा भयो । उक्त विष्फोटन रामराजा समेतका गिरोहले गरेको भन्ने सुनें भन्ने समेत व्यहोराको बेलक्याप्टेन मोचाभाई नेपालीको कागज ।

१४.   वारदातको दिन मेरो ड्यूटी रिसेप्सन अगाडि थियो, अचानक रिसेप्सन नजिक विष्फोटन भयो । म लगायत अन्य व्यक्तिहरु व्यहोश हुँदा अस्पतालमा उपचार भएपछि होसमा आएँ । रिसेप्सनका नीरुजा, सरीता, भूमिनारायणको मृत्यु भएको छ । विष्फोटन रामराजाको गिरोहबाट भएको भन्ने सुनेकोले आवश्यक छानवीन गरी कारवाही होस् भन्ने होटलको बेल व्वाईमा काम गर्ने संग्राम खरेलले गरेको कागज ।

१५.   २०४२।३।६ गते होटल अन्नपूर्णमा अचानक बम विष्फोटन हुँदा मेरो कान बन्द भयो । अस्पालमा उपचार भएपछि ठीक भएँ । सरीता, भूमिनारायण र नीरुजाको मृत्यु भएको थाहा पाएँ भन्ने समेत व्यहोराको राजेश्वर बज्राचार्यले प्रहरीमा गरेको कागज ।

१६.    २०४२।३।६ का दिन अचानक होटलको रिसेप्सनमा बम विष्फोटन हुँदा मलाई उचालेर फाले जस्तो लाग्यो । केश डडेर रातो भएछ र निधारबाट रगत बगिरहेको देखें । होटलमा धुँवाले छाएको   थियो । अस्पतालमा उपचार भएपछि होटलमा फर्की आउँदा भूमिनारायण, सरीता र नीरुजाको मृत्यु भएको थाहा भयो भन्ने होटलका बेलक्याप्टेन प्रकाशबिक्रम शाहले प्रहरीमा गरेको कागज ।

१७.   २०४२।३।३ का दिन बिष्फोटक पदार्थ सहित भारतबाट आउँदै गरेको अवस्था जलेश्वर भन्सारमा पक्राउ परेको । विष्फोटक पदार्थ रामराजाले जनकपुर अञ्चलको विभिन्न ठाउँमा विष्फोटन गर्नु भनी मलाई दिई पठाएको । २०४१ सालदेखि नै रामराजाको गिरोहमा संलग्न भई तालिम समेत लिएको र भारत सिमुलतला क्याम्पमा तालिम लिंदाको अवस्था अन्य तालिम लिने व्यक्तिहरुमा केदारकुमार कार्की, हेमशंकर गुप्ता, शिवकुमार विश्वकर्मा, राजेन्द्र झा, लक्ष्मणप्रसाद सिंह, पवनकुमार साह, मजिद मियाँ, चन्द्रदेव ठाकुर, विश्वेश्वर मण्डल, किशोर साह, गुरुदेव दास तत्मा, महेन्द्रप्रसाद बजगाई समेत थिए । तालिममा विशेष गरी विष्फोटन, फाईरिङ, टाइम बम बनाउने, विष्फोटन गर्ने आदि सिकाइन्थ्यो । तालिम दिने मुख्य व्यक्तिहरुमा पवन, विश्वेश्वर मण्डल, लक्ष्मणप्रसाद सिंह आदि थिए । लक्ष्मणप्रसाद सिंहले २०४२ बैशाखतिर, विश्वेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मालाई विशेष तालिम दिन भनी लगेका थिए । २०४२ बैशाख १५।१६ तिर म र गुरुदेव दास तत्मा सुर्खेतमा रेकी गर्न भनी गयौं । त्यहाँबाट फर्किएर पटनामा रामराजासंग भेट हुँदा म, हरदेव चौधरी, मजिद मियाँलाई जनकपुरमा विष्फोटन गर्न भनी निजले भनेका र त्यहाँ फ्यूज समेतका विष्फोटक पदार्थ लिई जनकपुर आउने क्रममा २०४२ आषाढ ३ गते केही सामान जनकपुर ल्यायौं र गोपाल धर्मशालामा राखी बाँकी सामान सितामढीबाट ल्याउँदा जलेश्वर भन्सारमा पक्राउ परेको, साथी हरदेव र मजिद मियाँ भागे भन्ने समेत व्यहोराको विश्वनाथ गुप्ताले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा गरेको बयान ।

१८.   रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले विराटनगरमा विध्वंसात्मक कार्य गर्न मलाई खटाई पठाएको, २०४० साल आषाढदेखि म विध्वंसात्मक काममा लागेको, गिरोहमा निजहरु लगायत अशेश्वर यादव, वैजनाथ गुप्ता, ज्ञानचन्द्र यादव, पवनकुमार साह आदि भएको गिरोहको क्याम्पमा धेरै व्यक्तिहरुले तालिम लिइराखेका थिए । तालिममा विध्वंसात्मक कार्य सम्बन्धी सम्पूर्ण व्यवहारिक र सैद्धान्तिक ज्ञान दिइन्थ्यो । भारत जोगवनीमा रामराजाका भाइ लक्ष्मणप्रसादसंग भेट भई निजले मलाई जिलेटिन, डिटोनेटर, फ्यूज, कालो ब्याग र रु. २००।दिए । जुन विष्फोटक पदार्थ मैले रेकी गरेको विराटनगर पानी ट्यांकी, आ.इ.जि.पि. अफिस, जिल्ला कार्यालय आदि स्थानमा विष्फोटन गराउन भनी दिएका थिए । उक्त स्थानमा २०४२।३।५।६ गते रेकी स्थानमा विष्फोटन गराउनु भन्ने रामराजाको चिठ्ठी पाएँ । २०४२।३।६ गते आफ्नै घरमा बसी बम तयार पारी ब्यागको फसनर खोल्दा पडकन सक्ने अवस्था मिलाई बम सहितको ब्याग, ०४२।३।१० गते साथमा लिई हरिपुरबाट बसमा चढी विराटनगर पानी टंकीमा विष्फोटन गर्न भनी गइरहेको अवस्था चौकी थाना नजिक दास बसमा उक्त ब्याग सहित पक्राउ परेको भन्ने समेत व्यहोराको जि.प्र.का. सुन्सरीमा ०४२।५।६ मा गरेको बयान कागज ।

१९.    नेपाल अधिराज्यको शान्ति सुरक्षा र व्यवस्थामा खलल पार्ने उद्देश्यले विध्वंसात्मक कार्य गर्न गराउनको लागि भारतमा आतंककारी गिरोह खडा गरी रामराजाप्रसाद सिंहले नेपाल अधिराज्यभित्र आतंककारी कार्य गरे गराएको कुरा बताउन भनी कोशी अञ्चलाधीश कार्यालयमा जाँदा पक्राउमा परेको हुँ । उक्त गिरोहमा २०४१ चैत्रदेखि लागेको थिएँ । भारतको पटना पुगेपछि मात्र टेकेन्द्र विश्वकर्मा त्यस गिरोहको व्यक्ति रहेछ भन्ने जानकारी पाएँ । सिमुलतलामा पुगेपछि त्यहाँ धेरै व्यक्तिहरु तालिम लिइरहेका रहेछन् । तालिममा विध्वंसात्मक सिद्धान्त युद्धकला आदिको ज्ञान दिइन्थ्यो । तालिम सकिएपछि २०४२ ज्येष्ठको पहिलो हप्तातिर लक्ष्मणप्रसाद सिंहले क्याम्पमै हामीलाई नेपालको ७५ जिल्लामा विष्फोटन कार्य गर्न तिमीहरु सबैले खट्नु पर्छ भनेका थिए । सितामढीमा रामराजाकै समक्ष पवनकुमारले जनकपुरको लागि मजिद मियाँको नेतृत्वमा हरदेव चौधरी, भोजप्रसाद भट्टराई र मलाई खटाए । वीरगन्जको लागि पवनकुमारको नेतृत्वमा टेकेन्द्र विश्वकर्मा, सलबहादुर विश्वकर्मा, भूला सदा मुसहर खटिएका थिए । हाम्रो टोली २०४२।२।२३ गते विहान सितामढीबाट जनकपुरतर्फ लाग्यो । जनकपुर आइपुगेपछि ४ जना एकसाथ हिंड्दा शंका हुने कारण रु. १००।का दरले रुपैयाँ बाँडी अलग हिंड्ने मौका पाएपछि भोजप्रसाद र म काकरभिट्टाको बसमा चढी भाग्यौं । म घरमा बसें भने भोजप्रसाद डरले दार्जलिड्ड गए । २०४२।३।६ मा नेपाल अधिराज्यमा बम विष्फोटन भएको थाहा भयो । गिरोहको नाइके रामराजा हुन् भने अन्य सहयोगी प्रमुखमा खेमराज मायालु, पवनकुमार साह, लक्ष्मणप्रसाद सिंह, मजिद मियाँ, विश्वेश्वर मण्डल, चन्द्रदेव ठाकुर समेत हुन् भनी दुर्गाप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा गरेको बयान ।

२०.   २०४० असोज महीनामा पवनकुमार साहले रामराजाको क्याम्पमा तालिम लिनु पर्दछ भनी निजसंग भेट गराए । रामराजाले आफ्नो विध्वंसात्मक कार्यको लागि खोलिएको क्याम्पको सम्पूर्ण उद्देश्य बताए । जस पश्चात गिरोहमा काम गर्न म पनि लागें । तालिममा नेपालका धेरै व्यक्तिहरु सहभागी थिए । तालिम सकिएपछि ठाउँको रेकी गर्ने सम्बन्धमा रामराजाले भने । विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र प्रेमबहादुर विश्वकर्मालाई विष्फोटन सम्बन्धी उच्च तालिम दिन अन्यत्र स्थानमा लगिएको थियो । निजहरुलाई नै काठमाडौंमा रेकी गर्न पठाएको हुनुपर्दछ । दुर्गाप्रसाद अधिकारी, मजिद मियाँ, हरदेव चौधरी, भोजप्रसाद भट्टराईलाई जनकपुरमा, पवनकुमार साह, टेकेन्द्र विश्वकर्मा, भूलासदा मुसहर, सलबहादुर विश्वकर्मा, खेमनाथ पराजुलीलाई नारायणीको लागि रेकी गर्न, गण्डकी र सो देखि पश्चिमतर्फको रेकी गर्न भनी किशोरी साह, दाताराम बजगाई, महेन्द्र सदा मुसहर, गजेन्द्र विश्वकर्मा आदिलाई खटाइएको थियो । विराटनगरको लागि भने राजेन्द्र झा, इश्वरी ठाकुर, रामपुकार यादव, रामकृष्ण महतो र म खटिएका थियौं । जो जसले जुन ठाउँमा रेकी गरेको छ, उसैले त्यस ठाउँमा विष्फोटन गराउनु भन्ने निर्देशन थियो । नेपालको विभिन्न ठाउँमा विष्फोटन गरी आतंक फैलाउन नेपालको पूर्व क्षेत्रको लागि खटन पटन गर्ने पटनामा लक्ष्मणप्रसाद सिंहले मध्य क्षेत्रको लागि भारत सितामढीमा रामराजाप्रसाद सिंहले पश्चिम क्षेत्रको लागि गोरखपुरमा खेमराज मायालुले आफ्नो हेडक्वाटर कायम गरेका थिए । निजहरुले नै हामीलाई विराटनगरमा विष्फोटन गर्न जिलेटिन, डिटोनेटर, फ्यूज दिई पठाएको हुँदा सामान सहित ०४२।२।२० मा जोगबनी आयौं । भोलिपल्ट दुहवीमा आई डेरा खोजी सामानहरु त्यहाँबाट पार ग¥यौं । बाँकी सामान सहित इश्वरी ठाकुरलाई जोगबनी शारदा लजमा भारतीय प्रहरीले पक्राउ गरे । म भागी विराटनगर आएँ । आफू पनि पक्राउ पर्न सक्ने सम्भावना हुँदा राजेन्द्र झा सहित रामराजालाई खबर गर्न पटना गयौं । दुहवीको सामान लुकाउनु पर्दछ भनी भनेकाले तत्काल दुहवी आई केही सामानहरु डाईवर मानबहादुरको घरमा राखी केही पटना तर्फ लगे । तिमीहरु विराटनगरको लागि एक्स्पोज भएकोले मेचीतिर जानुपर्छ भनेकाले म र राजेन्द्र झा आवश्यक विष्फोटक पदार्थ सहित ०४२।३।३ मा पटनाबाट भद्रपुरको लागि हिंड्यौं । गलगलीया हुँदै भद्रपुर भन्सार पुग्दा म पक्राउ परें, राजेन्द्र भागी कहाँ गए । गिरोहको नेतृत्व रामराजाले गरेका हुन् भनी रामकृष्ण महतोले जिल्ला प्रहरी कार्यालय झापामा गरेको बयान ।

२१.   टेकेन्द्र विश्वकर्मा र महेन्द्रप्रसाद बजगाईले मलाई २०४१ सालमा रामराजा कहाँ पुर्‍याएका हुन् । त्यहाँ पुगेपछि सिमुलतलामा विध्वंसात्मक अपराध गर्ने सम्बन्धी तालिम रामराजाको गिराहले दिंदो रहेछ भन्ने जानकारी पाएँ । उद्देश्य मुताविक काम गर्न इच्छा भएन तर क्याम्पमा पुगेका मानिस भागेमा मारी दिने धम्की दिएको हुँदा तालिममा सरिक भएँ । तालिममा धेरै व्यक्तिहरुको सहभागिता थियो । विष्फोटन सम्बन्धी सम्पूर्ण ज्ञान तालिममा दिइन्थ्यो । २०४२ साल ज्येष्ठ महीनामा लक्ष्मणप्रसाद सिंहले नेपालको ७५ जिल्लामा विध्वंसात्मक कार्य गर्न खटिन पर्दछ भनेका थिए । पवनकुमारले सितामढीमा जनकपुरको लागि मजिद मियाँको कमाण्डमा हरदेव चौधरी, दुर्गाप्रसाद अधिकारी र मलाई खटाए । त्यसै गरी वीरगन्जको लागि पवनकुमारको कमाण्डमा टेकेन्द्र विश्वकर्मा, सलबहादुर विश्वकर्मा, मुलासदा मुसहरलाई खटाएका थिए । जो जसले जहाँ रेकी गर्छ उसले त्यस ठाउँमा विष्फोटन गर्नुपर्ने व्यवस्था हुँदा हामी जनकपुरका लागि खटिएका व्यक्तिहरु जनकपुर आई अलग हिंड्ने निर्देशन भएकोकारण प्रत्येक व्यक्तिले रु. १००।का दरले बाँडीलियौं । दुर्गाप्रसाद र म मौका मिल्नासाथ काकरभिट्टाको बसमा चढी दुर्गाप्रसाद आफ्नो घर गयो । म दार्जलिड्ड गएँ । २०४२।३।६ मा नेपालको विभिन्न ठाउँमा बम विष्फोटन भएको कुरा दार्जलिड्डमा नै थाहा पाएँ । सो कुरा जनकपुर अञ्चलाधीश समक्ष भन्छु भनी आउँदैको अवस्थामा काकरभिट्टामा प्रहरीले पक्राउ गरेका हुन् । गिरोहको मुख्य व्यक्ति रामराजा भएको भन्ने समेत व्यहोराको भोजप्रसाद भट्टराईले प्रहरीमा गरेको बयान ।

२२.   २०४० साल आषाढमा म समेतलाई गौरीशंकरले लिई भारत सिमुलतला लगे । जहाँ रामराजाको विध्वंसात्मक अपराध गर्ने तालिम क्याम्प रहेछ । क्याम्पमा धेरै व्यक्तिहरु तालिम लिइराखेका थिए । विध्वंसात्मक कार्य सम्बन्धी तालिम हुन्थ्यो । २०४१ कार्तिकमा घर फर्की आएपछि जनकपुर चुरोट कारखानाको पाल्पा शाखामा पियनको काम गर्दैछु । २०४२।३।५।६ को विष्फोटनमा म संलग्न छैन भन्ने समेत व्यहोराको चन्द्रविजय साहले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा गरेको बयान ।

२३.   विध्वंसात्मक कार्य गरी आतंक फैलाउन रामराजाले नेतृत्व गरेको गिरोहको मिटिङ २०३७ सालमा रक्सौल बैजनाथ गुप्ताको घरमा भएको थियो । जहाँ गिरोहको नेतृत्व रामराजा जेलबाट नछुटुन्जेल अनारसिंह कार्कीले गर्ने निर्णय भएको, जस पश्चात गिरोहको उद्देश्य अनुरुप वैजनाथ बाबाधाम नजिकै रामराजाले खडा गरेको तालिम क्याम्पमा म समेतले तालिम लिएका थियौं । तालिम सुचारु रुपले चल्न नसकी केटाहरु भाग्न लागेकोले केही समयको लागि तालिम स्थगित गर्ने सल्लाह भएको थियो, पछि रामराजासंग भेट नहुँदा तत्सम्बन्धमा कुनै सामूहिक कार्यक्रम बनाएको छैन भन्ने समेत व्यहोराको केशव भेटवालले जिल्ला प्रहरी कार्यालयमा गरेको बयान कागज ।

२४.   २०४० भाद्रमा गौरीशंकरले पटनामा काम लगाई दिन्छु भनी रामराजा कहाँ पुर्‍यायो । जस पश्चात रामराजाको तालिम क्याम्पको बारेमा जानकारी पाएँ । म पनि तालिममा संलग्न भएँ । जहाँ धेरै व्यक्तिहरु तालिममा सहभागी थिए । एक महीना जति तालिममा बसी फर्किएँ र जनकपुर होटलमा मेनेजरको नोकरी गरी बसेको थिएँ । पछि होटल नचलेकोले हिमाली छापाखानामा काम गर्दैको अवस्थामा शिवनाथ पासवानको आमाले छोरालाई ल्याई देउ भनी भनेकोले निजलाई लिन सिमुलतला जाँदा पवनकुमार र मजिद मियाँले कुटपिट समेत गरेकोले मौका छोपी भागी घरमा आई प्रेसमा नै काम गर्न लागें भन्ने समेत व्यहोराको महादेव साहु सुडीले ऐ. मा गरेको बयान ।

२५.   २०३७ आषाढतिर राम कार्कीले भारत रिसियामा लगी अनारसिंह कार्कीसंग भेट गरायो । जहाँ रामराजाको गिरोहलाई तालिम दिने क्याम्प रहेछ । तालिमको उद्देश्य थाहा पाई म पनि तालिममा सरिकभएँ, तालिममा धेरै व्यक्तिहरु सहभागी थिए । तालिम रामराजा र लक्ष्मणप्रसाद समेतले दिने गर्दथे । विध्वंसात्मक काम कारवाही सम्बन्धमा र हात हतियार सम्बन्धमा समेत तालिम दिइन्थ्यो । अर्थको अभावले तालिम चल्न नसकेको हुँदा घर फर्की आएँ । पछि तालिम सञ्चालन भएको कुरा थाहा हुँदा त्यहाँ पुगेको थिएँ । अनारसिंह कार्की समेत हामी १५।१६ जवान अन्य कार्यक्रम नेपालमा प्रवेश गरेपछि निश्चित गर्दै जाने भन्ने निर्णय गरी वीरपूर हुँदै लुकी छिपी काठमाडौं आयौं । त्यसपछि कुनै सामूहिक कार्यक्रम निश्चित गरेका थिएनौं भन्ने सन्तनु कार्कीले ऐ. मा गरेको बयान कागज ।

२६.   ०३७ आश्विन महीनामा राम कार्कीको साथ लागी भारत बाबाधाम पूर्व रिसिया क्याम्पमा पुग्यौं, जहाँ रामराजाको विध्वंसात्मक कार्यको तालिमदिने क्याम्प रहेछ । म पनि तालिममा समावेश भएँ । क्याम्पमा २६।२७ दिन बसेपछि परीक्षा नजिक आएको कारण नेपाल आएँ । २०४१।१०।१९ देखि नुवाकोट धुन्चे मा.वि.मा शिक्षक भई काम गरिरहेको छु । फेरि क्याम्पमा फर्केर गइन भन्ने समेत व्यहोराको अमर प्रधानको प्रहरी कार्यालयमा गरेको बयान कागज रहेछ ।

२७.   २०३७ आषाढमा रामराजा जेलमा परेकोले निजका नेतृत्व गरेको गिरोहको काम कारवाही कसरी चलाउने भन्ने सम्बन्धमा रक्सौल बैजनाथ गुप्ताको घरमा राम कार्की, केशव भेटवाल, युगल किशोर, खेमराज मायालु, कटकबहादुर म समेत भई मिटिङ गरेका थियौं । रामराजा जेलबाट नछुटुन्जेल अनारसिंह कार्कीले गिरोहको नेतृत्व गर्ने भनी निर्णय गरेको, २०३७ आषाढको अन्तमा रामराजा जेलबाट छुटेपछि वैजनाथकै घरमा पुनः मिटिङ गरी अब नेपालमा विध्वंसात्मक आतंक गरी देशको शान्ति सुरक्षामा खलल पुर्‍याउने भनी निर्णय गरी म आफ्नो घरमा फर्की खेती किसानमा लागें, पछि गिरोहमा सम्मिलित हुन गएको छैन भन्ने समेत श्यामकिशोर कुशवाहले प्रहरीमा गरेको बयान ।

२८.   २०३८ सालमा गाउँकै ज्ञानचन्द्र अहिरले रक्सौल सिनेमा हेर्न जाउँ भनी झुक्याई पटना हुँदै सिमुलतलाको रामराजा गिरोहको तालिम क्याम्पमा पुर्‍याए तालिम केही समय लिएको हुँ । केही दिन घरमा पुगी आउँछु भनी घरमा आएँ । फर्की गइन भन्ने समेत व्यहोराको रामनिवास गुप्ताले प्रहरीमा गरेको बयान ।

२९.   २०४० सालमा रामविलास पंजियारले काममा लगाई दिन्छु भनी रघुवंश झासंग भेट गराई दियो । निजले मलाई पटना हुँदै खेमराज मायालुको जिम्मा लगाई आई घर फर्कियौं । खेमराजले रोहना कोठीमा लगी रामराजाको तालिम क्याम्पमा पुर्‍याउँदा तालिममा सरिक भएँ । तालिम धेरै व्यक्तिहरुले लिई राखेका थिएँ । तालिमको समयमा एकपटक घरमा आई पुनः २०४१ आषाढमा सोही क्याम्पमा गएको थिएँ । दोस्रो पटक घर आएपछि फेरि गएको छैन भन्ने समेत व्यहोराको मेथरु साहले प्रहरीमा गरेको बयान ।

३०.   २०३८ चैत्र महीनामा गाउँकै सफरुद्दिन मियाँले भारतमा काम लगाई दिन्छु भनी सिमुलतला पुर्‍याउँछौं त्यहाँ रामराजाको गिरोहद्वारा सञ्चालित क्याम्प रहेछ । जहाँ गुरिल्ला युद्धको जस्तो तालिम समेत दिइदो रहेछ । मैले पनि तालिम लिएँ । २ महीना क्याम्प चलेपछि त्यहाँका सबै मानिस सहितको क्याम्प बाबाधाम नजिक लिलाश्रममा सर्‍यो । उक्त क्याम्पमा बन्दुकबाट निशाना लगाउन सिकाइन्थ्यो खर्चको अभाव हुँदा रामराजाको प्रतिक्षा गर्दा नआएकोले म आफ्नो घरमा आएँ । पुनः क्याम्पमा नगएको भन्ने समेत व्यहोराको भिखारी पण्डितले प्रहरीमा गरेको बयान ।

३१.   ०४१ कार्तिक महीनामा सत्यनारायण र रामु हाथीले म र शिवनाथ पासवानलाई भारतमा नोकरी दिलाई दिन्छौं भनी लगि सिमुलतला क्याम्पमा पुर्‍याई तालिममा समावेश गराएका हुन । क्याम्पमा धेरै व्यक्तिहरु सामेल थिए । पछि क्याम्पबाट भागी घर फर्किएपछि साविक जस्तै फलफूलको दोकान समेत गरी आएको हुँ भन्ने विरेन्दर साह सुडीले प्रहरीमा गरेको बयान ।

३२.   २०३७ साल आश्विनतिर राम कार्कीले भारततिर घुम्न जाउँ भनी कुनौली लगी सन्तनु कार्की, अमर प्रधान, दिलीप चौधरीसंग भेट गराए । हामी सबै रेल चढी बाबाधाम पुगी त्यहाँबाट शुशिलकुमार शुक्लाले हामीलाई रिसियामा लगे । जहाँ रामराजाले नेतृत्व गरेको गिरोहको तालिम दिइदो रहेछ, म पनि तालिममा समावेश भएँ त्यतिकैमा मलाई जरो आई घर फर्किएँ । जस पश्चात म गिरोहमा फर्की गएको छैन । २०४२।३।६ गते मुलुकमा भएको बम विष्फोटन सोही गिरोहले गराएको हुनुपर्छ, म भने संलग्न छैन भन्ने रमेशकुमार कार्कीले प्रहरीमा गरेको बयान ।

३३.   भारत दरभंगामा म अध्ययन गरिरहेको बेलामा शुशिल शुक्ला मार्फत बोलाउन पठाएकोले रामराजासंग भेट भयो । निजले नेपालमा विध्वंसात्मक कार्यद्वारा आतड्ढ मच्याउनु पर्छ यस्को लागि मानिसहरु व्यवस्था गर्नु पर्‍यो भन्दा चित्त बुझ्यो । पछि शुशिल शुक्लाको साथ लागि वैद्यनाथ धाम पुगी दर्शन गरी रिसिया भन्ने ठाउँमा रामराजाले नेतृत्व गरेको गिरोहको तालिम क्याम्पमा पुगें । म पनि गिरोहमा सामेल भएँ । मैले विध्वंसात्मक कार्य सम्बन्धी र प्राथमिक उपचार सम्बन्धमा कक्षा लिने गर्थे । पछि म दरभंगामा नै पढ्न फर्किएँ । त्यसपछि म क्याम्पमा फर्की गएको नहुँदा २०४२।३।५ मा भएको बम विष्फोटनमा म संलग्न छैन भनी डा. जितेन्द्र महासेठले प्रहरीमा गरेको बयान ।

३४.   २०३८ श्रावणमा चर्म रोगको उपचार गरी दिने डाक्टरहरु पटनामा छन् भनी हरी भुजेलले भनेकोले निजको साथमा जाँदा रामराजासंग भेट भयो । निजले बाबाधाम लिला मन्दिरमा रामराजाले नेतृत्व गरेको गिरोहको तालिम दिने क्याम्पमा लगे । गिरोहको उद्देश्य चित्त बुझ्दा म पनि तालिममा सम्मिलित भएँ । १८।१९ दिनसम्म तालिम गरेपछि आफ्नो पुरानो रोगको उपचार गर्न भनी घर फर्की आएँ । त्यसपछि क्याम्पमा गइन । विष्फोटन रामराजाकै गिरोहबाट गरिएको हो भनी जगरनाथले प्रहरीमा गरेको बयान ।

३५.   सन्तनु कार्कीले काम दिलाई दिन्छु भनी ०३९ ज्येष्ठमा भारत मुगेर सिमुलतलामा लिएर गए साथमा शुकदेव चौधरी र शेषराज न्यौपाने पनि थिए । त्यहाँ गिरोहबाट विध्वंसात्मक तालिम दिने गरिंदो रहेछ । म पनि तालिममा सरिक भएँ । त्यसपछि पैसाको अभाव भएकोले हामी अनारसिंह र राम कार्कीको साथ लागी वीरपुरतर्फ लाग्यौं । म र शुकदेव घर आयौं । बम विष्फोटनको काम रामराजा समेतको गिरोहद्वारा भएको हो भनी सोमन चौधरीले प्रहरीमा गरेको बयान ।

३६.   ०३७ चैत्रमा संतनु कार्कीले काममा लगाई दिन्छु भनी दिलिप चौधरी, अमृत चौधरी, ईश्वरी चौधरी कुमार राई समेतलाई लिई सिमुलतला लगे । जहाँ रामराजाले नेतृत्व गरेको गिरोहको तालिम दिने क्याम्प रहेछ । मलाई पनि तालिममा सामेल गराए । २ महीना जति तालिम गरेपछि हामी सबैलाई राम कार्कीले बाबाधाम लिला मन्दिरमा लगी विध्वंसात्मक कार्य सम्बन्धी कक्षा दिन्थे । खानाको अभाव हुँदा अनार सिंहले घर जानु भनेकाले घर आयौं । विष्फोटन रामराजाको गिरोहबाट नै भएको हो भनी जीवन सार्कीले प्रहरीमा गरेको बयान ।

३७.   २०३८ बैशाखमा खेमराज मायालुले मलाई पटना लगी मेरो बारेमा केही कुरा रामराजासंग गरे रामराजाले मेरो नाम थर वतन सोधे र खेमराजले शुशिल सुक्लालाई बोलाई रिषिया क्याम्पमा लैजाउ भनेकोले साथमा लगि क्याम्पमा पुगें । मैले पनि तालिम लिएँ । समय समयमा रामराजा आई विध्वंसात्मक कार्यको बारेमा सिकाउँथे लक्ष्मणप्रसादले विध्वंसात्मक कार्य सम्बन्धी पढाउँदथे । केही समय तालिम गरेपछि घर फर्की आएँ । पछि गिरोहमा गएको छैन भनी झप्पुलाल कुवरले प्रहरीमा गरेको बयान कागज ।

३८.   २०३७ सालमा हरी कसाईले भारत दरभंगा डुल्न जाउ भनी म र राजनारायण देव असिम साहलाई लिई बाबाधाम पुर्‍याई रिषिया लगे । सो ठाउँमा रामराजाले नेतृत्व गरेको गिरोहको तालिम दिने क्याम्पमा लक्ष्मणप्रसाद सिंह समेत थिए । म पुगेको २ महीनापछि खर्चको अभावले घर फर्की आएपछि सिमुलतलामा तालिम सञ्चालन भएको सुनेको, २०३८ सालमा हरि भुजेलले लक्ष्मणप्रसादलाई दिनु भनी एक बन्द खाम दिएको सो खाम अनिल चौधरीलाई राख्न दिई आफ्नो काममा गएँ । निजको घर चोरी हुँदा खाम प्रहरीको हातमा पर्न गएछ । उक्त खाममा सैनिक तथा प्रहरी व्यारेकहरुको अवैध नक्शाहरु तयार गरेको रहेछ भनी थाहा पाएँ अब प्रहरीले पक्राउ गर्छन् भनी डरबाट भारत अमरशदपुरमा मोटरको वर्कशपको काम गरी ३।४ महीनापछि घर आएँ । विष्फोटन रामराजाको गिरोहले गरेको हो भनी शिवशंकर थापाले प्रहरीमा गरेको बयान ।

३९.   मेरो अध्ययन कालदेखि नै रामराजाको सिद्धान्त मन परी निजको गिरोहमा सम्मिलित भएको हुँ । रामराजा नेपालगन्ज जेलमा परेको अवस्था राम कार्की केशव भेटवाल, युगल किशोर समेतका व्यक्ति बैजनाथ गुप्ताको रक्सौलको घरमा भेला भई रामराजा जेलबाट नछुटिउन्जेलसम्म गिरोहको नाइके अनार सिंहलाई बनाई गिरोहको कार्यक्रमहरु यथावत नै राखी म काठमाडौं आएँ । रामराजा जेलबाट कहिले छुटे गिरोहको गतिविधि के कस्तो भयो मलाई थाहा भएन । बम विष्फोटनको कार्यमा मेरो कुनै हात छैन भनी कटकबहादुर मल्लले प्रहरीमा गरेको बयान ।

४०.   ०४० सालमा ईश्वरचन्द्र लामाले केदारकुमार कार्की, रामकृष्ण महतो संग परिचय गराएको, निजहरुले भारतमा नोकरी दिलाउँछु भनेकाले सिमुलतला परसाही क्याम्पमा पुर्‍याए । मैले पनि क्याम्पमा तालिम लिएँ । विध्वंसात्मक सम्बन्धी तालिम २४।२५ दिन जति लिइसकेपछि आउँछु भनी घर आएँ । म क्याम्पमा फर्कि गईन । विस्फोटनमा मेरो कुनै हात छैन भनी मुस्लिम मियाँले प्रहरीमा गरेको बयान ।

४१.   ०३८ बैशाख १० गते सन्तनु कार्कीले काम लगाई दिन्छु भनी सोमन चौधरी, शेषराज नेपाली, राजेश कसाई, वासुदेव, उपेन्द्र समेतलाई लिई सिमुलतला गएँ । त्यहाँ गिरोहद्वारा संचालित तालिमको क्याम्प रहेछ । म पनि तालिम लिन चाहें । विध्वंसात्मक कार्य सम्बन्धी तालिम २ महीना लिइसकेपछि हामीलाई राम कार्कीले बाबाधाम लिला मन्दिर लगी पूर्ववत तालिम दिलाउन लागे । राम कार्की समेतका केही व्यक्तिहरु वीरपुर हुँदै घर आए । त्यसपछि गिरोहमा फर्की गएको छैन, विष्फोटनमा मेरो कुनै संलग्नता नरहेको भन्ने सुकदेव चौधरीले प्रहरीमा गरेको  बयान ।

४२.   २०३७ सालतिर म र रामराजाको बीच सल्ला भई एउटा गिरोह बनाउने निर्णय गरेका थियौं । सोही अनुरुप २०३७ श्रावणमा भारत बैजनाथ बाबाधाम नजिकै रामराजा समेतका व्यक्तिहरुले रिषियामा तालिम क्याम्प खडा गरिसकेका रहेछन् । म क्याम्पमा पुगेपछि विध्वंसात्मक कार्य सम्बन्धमा मैले पनि १५।१६ दिन पढाएँ । हामी दुईको सल्लाहबाट तालिम लिएका व्यक्तिहरुको पछि आवश्यकता परेको समयमा बोलाउने गरी म आफ्नो घर आएँ । त्यसको केही महीनापछि म पटना गई रामराजालाई भेट्दा लिलाश्रममा तालिम चलिरहेको छ भनेकाले सो क्याम्पमा मैले पहिलेको क्याम्पमा जस्तै कक्षा लिएँ । रामराजाको गिरोहबाट आएका हाम्रो समूहको नाइके शोभाखर धनन्जयलाई छानी नेपालभित्र प्रवेश ग¥यौं । जस पश्चात सबै साथीहरु तितर वितर भएकोले जम्मा हुन नसकी गिरोहको कुनै कार्यक्रम तर्जुमा गर्न सकेनौं । त्यसपछि म गिरोहमा सरिक भएको छैन । बम विष्फोटनमा मेरोहात नरहेको भन्नेसमेत व्यहोराको अनारसिंह कार्कीले प्रहरीमा गरेको बयान ।

४३.   ०३७ श्रावणतिर भारत बैजनाथ बाबाधाम नजीक रिषियामा रामराजाले नेतृत्व गरेको गिरोहले तालीम क्याम्प खडा गरेको मैले पनि सो क्याम्पमा तालीम लिएको छु तालीम २ महीना जति चलेपछि तिमीहरु घर जाउ पछि बोलाउँला भनी सम्झाई बुझाई घर पठाई दिए । म नेपालगंजतर्फ आएँ । त्यसको १ महीनापछि सिमुलतला भन्ने ठाउँमा गिरोहको तालीम सञ्चालन भएको कुरा थाहा पाई म पनि त्यहाँ गएँ । विध्वंसात्मक कार्य सम्बन्धी कक्षा खेमराज मायालुले र मैले दिने गरेको थिएँ । २०३८ भाद्रमा सिमुलतलाबाट क्याम्प लिलाश्रममा सरेपछि पैसाको अभाव भयो । नेपालभित्र प्रवेश गरी आफ्नो घरतर्फ लाग्यौं । नेपाल प्रवेश पश्चात साथीहरुको जमघट हुन नसक्दा हामीले कुनै निश्चित कार्यक्रम तर्जुमा गर्न सकेनौं । विष्फोटनमा मेरो हात छैन भनी दिनेशप्रसाद श्रेष्ठको प्रहरीमा गरेको बयान ।

४४.   २०३७ सालको शुरुमा जितेन्द्र महासेठले दरभंगामा रामराजासंग परिचय गराएका थिए । निजले भारतमा नेपाली मानिसहरुको जमात तयार गरी नेपालमा आतंक मच्याउने कार्यका लागि तयार गर्न थालेको र नेपाली युवकहरुलाई निजको गिरोहमा सम्मिलित गराई तालीम दिने समेतको कुरा थाहा भयो । म पनि सोही समयदेखि गिरोहमा सम्मिलित भएँ । नेपाली युवकहरुलाई भारतमा विध्वंसात्मक कार्यको तालीम दिई हात हतियार चलाई बम विष्फोटन गरी नेपाल अधिराज्यको सुरक्षा तथा शान्ति र व्यवस्थामा खलल पुर्‍याउनु सरकारी तथा गैरसरकारी सम्बन्धितको तोडफोड गरी हानी नोक्सानी गर्नु र मानिसको जिउ ज्यान समेत लिने विध्वंसात्मक कार्य गर्नु गराउनु रामराजाले खडा गरेको गिरोहको मुख्य उद्देश्य हो । रामराजाले २०३७ सालदेखि नै गिरोहको खडा गरेका छन् । शुरुमा गिरोहको क्याम्प लिलाश्रममा थियो । २०३८ सालमा सिमुलतलामा सरेको हो । तालीममा विध्वंसात्मक कार्य सम्बन्धी विभिन्न तालीम दिइन्थ्यो । गिरोहको सञ्चालन गर्ने मुख्य व्यक्ति रामराजा र सहयोगीमा लक्ष्मणप्रसाद सिंह, खेमराज मायालु समेत थिए । रामराजाले पटक पटक म संग कुरा गर्दा नेपालको विभिन्न स्थानमा बम विस्फोटन गराई आतंक फैलाउनु पर्दछ भनी बताएका थिए । मैले पनि मेथरु साह र राजेन्द्र झालाई गिरोहमा सामेल गराएको थिएँ । ०४१ सालसम्म गिरोहका तीन समूहले फाइरिङको अभ्यास गरी सकेका थिए । सोही सालको अन्ततिर तालीम पूरा भयो । विष्फोटन गर्ने गराउने बेला भयो भनी रामराजा, लक्ष्मणप्रसाद र खेमराजले बताए । विभिन्न ठाउँमा विष्फोटन गर्न रेकी गर्ने मानिसहरु पनि पठाए । त्यसपछि गिरोहका व्यक्तिहरु मध्ये विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र प्रेमबहादुर विश्वकर्मा ५ जनालाई विष्फोटन सम्बन्धी विशेष तालीम दिन गिरोहबाट बाहिर लगिएको, यिनै व्यक्तिहरु काठमाडौंमा विष्फोटन गराउन खटाइएको हुनुपर्दछ भनी रघुवंश झाले प्रहरीमा गरेको बयान ।

४५.   रामराजाको गिरोहमा २०३७ सालदेखि लागेको २०३८ मा राजविराजको मुन्ना कसाई भन्ने राजेश कसाई र हरिबहादुर भुजेलसंग भेट हुँदा पटनामा रामराजासंग निजहरुले भेट गराएका थिए । रामराजाले मलाई र जगरनाथ दासलाई बाबाधाम लिलाश्रमको विध्वंसात्मक तालिमको क्याम्पमा लगेर तालिममा संलग्न गराए । तालिममा धेरै व्यक्तिहरु सरिक थिए । तालिममा विध्वंसात्मक कार्य सम्बन्धी तालिम दिइन्थ्यो । उक्त क्याम्प केही समयको लागि बन्द हुँदा म घर फर्की आएँ । ०३९ सालमा दरभंगा जाँदा शुशिल शुक्लासंग भेट हुँदा मानिस खोजी ल्याउ भनेकाले घर फर्की मुखियालाल चौधरी, सोनेश्वर चौधरी, कुशेश्वर चौधरी, सत्यनारायण ठाकुरलाई निजको जिम्मा लगाई दिएँ । ०३९ मै पटना गई रामराजालाई भेटी क्याम्प हेरी फर्कंदा २०३९ कार्तिकदेखि २०४० आश्विनसम्म राजविराजमा सुरक्षा कानुन अन्तर्गत थुनामा परी छुटेपछि पुनः सिमुलतला गएँ । त्यहाँबाट २।३ दिनपछि घर फर्किएँ र हेमशंकर गुप्ता, शिवकुमार विश्वकर्मालाई एकपटक र त्यसपछि विश्वनाथ गुप्ता, विश्वनाथ चौधरी, मूलासदा मुसहर, महेन्द्रसदा मुसहर, हरिदेव चौधरी समेतलाई अर्को पटक गरी गिरोहमा लगी सामेल गराएको थिएँ । २०४१ साल कार्तिक महीनामा म समेत प्रयोगात्मक अभ्यासका लागि उत्तर काशी गएका थियौं भन्ने समेत व्यहोराको लालबहादुर चौधरीले जि.प्र.का. काठमाडौंमा गरेको बयान कागज ।

४६.   २०४१ आषाढ महीनामा लालबहादुर चौधरी र मोहितलाल चौधरीले काम लगाई दिन्छु भनी सिमुलतला पुर्‍याए । त्यहाँ रामराजाको गिरोहलाई तालिम दिने क्याम्प रहेछ । क्याम्पमा म पनि संलग्न भएँ । विध्वंसात्मक तालिममा धेरै व्यक्तिहरु सम्मिलित थिए । २०४१ कार्तिक महीनामा उत्तर काशीबाट पनि टाढा लगी मजिद मियाँ, किशोरी साह, हरदेव मण्डल, विश्वनाथ गुप्ता, चन्द्रदेव ठाकुर, हरदेव चौधरी, विशेश्वर मण्डल, टेकेन्द्र विश्वकर्मा समेतलाई फाइरिङ विष्फोटन सम्बन्धी अभ्यास गराएको थियो । विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मालाई काठमाडौं जानु पर्छ भनी रामराजाले भनेका थिए । म, पवनकुमार साह, टेकेन्द्र विश्वकर्मालाई वीरगन्जमा रेकी गर्न रामराजाले नै पठाएका थिए । हामी ४ जना २०४२ आषाढमा रक्सौलबाट खेतको बाटो गरी वीरगञ्ज आयौं । रात घण्टाघर अगाडिको लजमा बसी भोलिपल्ट अञ्चल प्रहरी कार्यालय वीरगन्जको अगाडि लगी बम पड्काउने भनी निश्चित गरी लजमा फर्कियौं । राती ८ बजे एउटा तयार बम दियो र देखाएको ठाउँमा पड्काउनु भनी अह्राए । बाँकी बम उनीहरुले लिए राती ९ बजे रेकी स्थानमा बम राखी फ्यूजमा आगो लगाई भागें । करिब करिब १४०० गज पर पुगे पछि बम विष्फोटन भएको आवाज सुने, पछि लजमा नआई रक्सौलतर्फ लागें । रामराजा, लक्ष्मणप्रसाद, खेमराज मायालु समेतका व्यक्तिहरुबाट गिरोह सञ्चालन भएको हो भन्ने समेत व्यहोराको प्रदीप भन्ने मुलासदा मुसहरले प्रहरीमा गरेको बयान कागज ।

४७.   अन्नपूर्ण होटलमा टायम बम राखेको ब्याग राख्न म गएको होइन । मेरै साथी उद्दव भन्ने प्रेमबहादुर विश्वकर्माले उक्त बम राखेको र बम बनाउने, ठाउँको रेकी गर्नेमा मेरो समेत सहभागिता थियो । म रामराजाको आतंककारी गिरोहमा बसी विध्वंसात्मक कामको तालिम लिइरहेको र मैले अरुलाई समेत तालिम दिइरहेको मौका २०४१ को अन्ततिर रामराजा, सिमुलतलाको गिरोह क्याम्पमा आई मलाई समेत काठमाडौं लगायत नेपालको विभिन्न शहरको दौडाह गरी मुख्य ठाउँहरु हेरी आइसकेको हुँ, काठमाडौंमा रेडियो स्टेशन, राष्ट्रिय पञ्चायत भवन तथा होटल अन्नपूर्ण, राजदरबार समेतमा विष्फोटक पदार्थ विष्फोटन गराउने व्यवस्था गर्ने, रेकी गर्ने तयारीमा तपाईहरु तयारीमा बस्नुहोस् । काठमाडौंमा उपयुक्त त्रिपुरेश्वरको मैथली भोजनालय छ भनी रामराजा र लक्ष्मणप्रसादले समेतले सम्झाए । हामी ५ जनालाई १० दिन जतिको विशेष तालिम पनि दिइयो । त्यसमा विध्वंसात्मक कार्य कसरी गर्ने, मानिससंग कसरी कुरा गर्ने, कसरी बच्ने, पक्राउ कसरी नपर्ने भनी सिकाइएको थियो । तालिम सकिएपछि हामी ५ जनालाई ०४१ फाल्गुणमा प्रथम पटक काठमाडौं आई मैथली भोजनालयमा बस्यौं । जसताका हामीसंग कुनै सामानहरु थिएन । काम गर्नु पर्ने समय नजिक आएको भनी रामराजाबाट खबर प्राप्त भएकोले, होटलमा सुरक्षात्मक प्रबन्ध राम्रो नहुँदा बबरमहलको कुरिया गाउँमा सुकभाई तण्डुकारको छोरा अशोक भाइको घरमा २४० प्रति महीनाको दरमा एउटा कोठा भाडामा लिई समयानुकुल पटना जाने आउने क्रम जारी राख्दैमा प्रथम पटक शेखर र विजय गए । दोस्रो पटक उद्धव, विजय र म पटना गयौं र १०० थान जिलेटिन बक्स फल्स बटम बनाई त्यसमा हाली माथिबाट कपडाले छोपी ४ पिस डिटोनेटर कलगेट टुथ पाउडरको बट्टामा हाली ल्याएका थियौं । पछि शेखर र अरुणले क्रमशः २८ र ३० थान जिलेटिन र २ दर्जन डिटोनेटर सोही तरिकाबाट ल्याए त्यसपछि हामी सबै एकपटक फाइनल रेकीमा लाग्यौं, ज्येष्ठको अन्तिममा वीरगञ्ज हुँदै भारत पसी शेखर र उद्धव गोरखपुर गई विध्वंसात्मक कार्य गर्ने मिति र ठाउँको निधो गर्ने क्रममा २०४२।३।६ मा विष्फोटन गराउने निर्देशन हुँदा नपुग सामान सहित लिई डेरामा सबै भेला जम्मा भयौं । गोरखपुरबाट ल्याएको बेट्रीले काम नदिने भएर काठमाडौंमै बेट्री किनी ५ गते बम बनाउने तरखर गरी जम्मा ६ वटा टायम बम बनाउने निधो भयो । रामराजा र लक्ष्मणप्रसादकै निर्देशानुसार अन्नपूर्णमा बनाउने बम अलि पावरफूल बनाउनु भन्ने हुँदा सो को लागि ५० पीस जिलेटिन राखी सुतलीमा नटहरु छिराई बाँधी बम बनायौं । त्यसै गरी राजदरवारको पश्चिम गेटको लागि ४५ पिस जिलेटिनको, दक्षिण गेटको लागि ३० पिस, सिंहदरबार गेटको लागि ४५ पिस, राष्ट्रिय पञ्चायत भवनको लागि ३१ र ३४ पिस जिलेटिन सहितको बम बनाएको थियौं । सबै बमहरु पड्काउने समय भने पौने दुई बजेको हिसाबले मिलाएको र सबै बमहरु बिहान ६ बजे नै टायम सकी र फ्यूज फिट गरिएको थियो । राष्ट्रिय पञ्चायतको ढोकामा गमलामा बम राखी त्यसलाई प्लाष्टिक भाँडोले छोपी त्यसमाथि फूल रोपी राख्ने योजना अनुरुप नै ठीक पारेका थियौं । त्यसपछि ५ जनाले टेक्सीमा गमला राखी सिंहदरबार गयौं जुन बेला ९ बजेको थियो । उद्धव र शेखरले टेक्सीबाट ओर्ली एक एक गमला हातमा बोकी भवनको मूल डोकामा मिलाई राखी आए र हामी सबै डेरामा गयौं । ११ बजेतिर अरुणले सिंहदरबार गेटमा राख्ने बम प्लाष्टिकको झोलामा राखी माथिबाट काँचो हरियो साग तरकारी राखी लिएर गयो । हामी डेरामा सामान प्याक गर्न लाग्यौं एकै छिनमा अरुणले राखी आयो । ११.३० बजे तिर उद्धवले अन्नपूर्ण होटलमा, विजयले दक्षिण गेटमा र मैले पश्चिम गेटमा बम राख्न कालो छालाको ब्यागमा बम राखी तयार भयौं । टेक्सीबाट एकैसाथ गई निर्दिष्ट स्थानमा बम राखी आयौं । बम पड्किदा पौने दुई बजेतिर हामी कुरीया गाउँको डेरामा थियौं । त्यसपछि बसबाट वीरगन्ज हुँदै रक्सौल गयौं भन्ने समेत व्यहोराको सुमन भन्ने चन्द्रदेव ठाकुरले प्रहरीमा गरेको बयान ।

४८.   ०४१ फाल्गुण महीनामा ४।५ जना मानिसहरु मेरो कोठामा बसेका थिए । प्रत्येक दिन खाना खाई बेलुका आउने गर्दथे । के कसो गरेर आउथे मलाई थाहा भएन । मैले थाहा पाए अनुसार रामराजाको गिरोहबाट खटिई आएका ती व्यक्तिहरुबाट नै विध्वंसात्मक कार्य गरेको हो भन्ने मैथली भोजनालयका सत्यनारायण झाले प्रहरीमा गरेको बयान ।

४९.   देखाइएका चन्द्रदेव ठाकुरलाई चिनेको छु । निज समेत ४ जना मानिसहरु २०४१ चैत्र देखि २०४२ आषाढ ६ सम्म मेरो घरको माथिको तलामा एक कोठामा बसेका थिए । त्यति खेर पढ्ने काम गर्दछौं भनी भन्दथे यकीन काम मलाई थाहा भएन भन्ने समेत व्यहोराको सुकभाई तन्डुकारले प्रहरीमा गरी दिएको बयान कागज ।

५०.   प्रस्तुत मुद्दामा अन्नपूर्णको स्वागत कक्ष (रिशेप्सन काउण्टर) मा ०४२।३।६ गते अं. १.४५ बजे तिर विस्फोटक पदार्थ बम राखी विस्फोटन गर्ने गराउने काम गरी उपरोक्त गिरोहले विस्फोटन गराएको तथा सोही विस्फोटनबाट नीरुजा श्रेष्ठ, सरीता पौडेल र भूमीनारायण श्रेष्ठको मृत्यु भएको, वीरबहादुर लामा, संग्राम खरेल, नारायणबहादुर खड्का, प्रकाश विक्रम शाह, रामबहादुर बुढाथोकी, प्रदिपबहादुर सिंह, शिवप्रसाद अर्याल, बाबुराजा श्रेष्ठ, मचाभाई, वीरबहादुर तामाङ, ठूलो भाइ खत्री समेत घाइते भएको र अन्नपूर्ण होटलको स्वागत कक्ष टुटफुट भई रु. १८,००,०००।को क्षति भएबाट विध्वंसात्मक अपराध भएको भन्ने कुरा संकलित सबूद प्रमाणबाट समेत पुष्टि भएको छ । उक्त अपराध रामराजाको गिरोहद्वारा भएको, अभियुक्त मध्येका विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मा, पनि उक्त गिराहमै संलग्न भएका व्यक्तिहरु हुनु कै साथै निजहरु नै विध्वंसात्मक कार्यको विशेष तालीममा संलग्न भएको कुरा पक्राउमा परेका चन्द्रदेव ठाकुरबाट स्पष्ट भएको देखिन्छ ।

५१.   शेखर भन्ने विशेश्वर मण्डल, सुमन भन्ने चन्द्रदेव ठाकुर, समेतका व्यक्तिहरु नेपालमा प्रवेश गरी अन्नपूर्ण होटलमा विष्फोटक पदार्थ राखी विष्फोटन गराई विध्वंसात्मक अपराध गरेको हुँदा विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, प्रेमबहादुर विश्वकर्मा समेत ५ जना अभियुक्तहरुले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) अन्तर्गतको अपराध गरेको देखिन आएकोले निजहरुलाई सोही ऐनको दफा ७(१) अनुसारको सजायँ गरिपाउँ ।

५२.   अभियुक्त रामराजाप्रसाद सिंह गिरोहको मुख्य व्यक्ति भएको, लक्ष्मणप्रसाद सिंह र खेमराज मायालु क्षेत्रीय नेतृत्व लिने व्यक्तिहरु भएको, विशेश्वर मण्डल समेतका ५ व्यक्तिहरुलाई विष्फोटक पदार्थ सहित विध्वंसात्मक कार्य गर्न खटाई पठाएको समेत स्पष्ट हुन आएकोले निजहरु तीन जनाले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) अन्तर्गतको अपराध गरेकोले सोही ऐनको दफा ७(१) अनुसार सजायँ गरिपाउँ ।

५३.   अभियुक्त केशव भेटवाल, चन्द्र विजय साह सुडी, महादेव साह, सन्तनु कार्की, अमर प्रधान, मेथरु साह हलुवाई, श्यामकिशोर कुशवाह, राम निवास गुप्ता, भिखारी पण्डित, डा. जितेन्द्र महासेठ, सोमन चौधरी, जीवन सार्की, जगरनाथ दास, विरेन्दर साह, रमेशकुमार कार्की, अनारसिंह कार्की, सुकदेव चौधरी, कटकबहादुर मल्ल, मुस्लिम मियाँ, शिवशंकर थापा, झुपलाल कुँवर, दिनेश श्रेष्ठ समेत रामराजाको गिरोहमा सामेल भई विध्वंसात्मक कार्यको अभ्यास गरेको, गिरोहमा मानिस लगी सम्मिलित गराएको, नेपालभित्र पसी गतिविधि बुझी गिरोहमा जानकारी गराएको भन्ने समेत देखिन आएको, उक्त कार्य ऐनको दफा ३(१) र ३(२) ले अपराध मानेको हुँदा उक्त कसूर गरेको अभियोगमा ऐ. ऐनको दफा ७(२) बमोजिम सजायँ गरिपाउँ ।

५४.   अभियुक्त समरुद्दिन मियाँ, गौरीशंकर सुडी, मोहरी पंजियार, सुरेश पंजियार, शंकर पासमान, राजेन्द्र झा, पवनकुमार साह, मजिद मियाँ, सत्यनारायण साह, किशोर साह, शनिश्चरा ठटेरी, रामु हाथी, ज्ञानचन्द्र यादव, युगल किशोर लाल कर्ण, राम कार्की, शुसिलकुमार शुक्ला, बुदुर चौधरी, अमृत चौधरी, रामनारायण देव, शोभाकर धनन्जय, महेन्द्रप्रसाद बजगाई, शिवनाथ पासवान, अशोक मियाँ, हरी भुजेल, राजेश कसाई, कपिलदेव मण्डल, मुक्तासदा मुसहर, कृष्णसिंह, शेष अब्दुल, फेकन पासवान, केदारकुमार कार्की, रामकृष्ण महतो, बिमल साह, हरदेव चौधरी, महेन्द्रकुमार गुप्ता, रामरतन यादव, कुमारजंग कार्की, हरी कसाई, मोहनराज रावत, हेमराज रावत, राजनारायण पोखरेल, ईश्वर लामा, इन्द्रलामा भन्ने पञ्चे लामा, अशेश्वर यादव, हरदेव मण्डल, टेकेन्द्र विश्वकर्मा, त्रिभुवन ढकाल, खेमराज पराजुली, दाताराम बगजाई, महेन्द्रसदा मुसहर, इन्द्रबहादुर विश्वकर्मा, मनोजप्रसाद सिंह, गजेन्द्र विश्वकर्मा, गुरुदेव दास तत्मा, विश्वनाथ गुप्ता, सलबहादुर विश्वकर्मा, सोनेश्वर यादव, हेमशंकर गुप्ता, ईश्वरी ठाकुर, रामनाथ ठाकुर, ज्ञानेन्द्र लामा, निदन राई, रामचन्द्र लामा, धनेन्द्र शाह, प्रदिपकुमार साह, राम कार्की, अमिलकुमार सिंह, मोहितलाल चौधरी, शुसिल शुक्ला समेत रामराजाको उपरोक्त गिरोहमा सामेल भई विध्वंसात्मक कार्यको अभ्यास गरी मानिस समेत लगी सामेल गरी ऐनको दफा ३(१) र ३(२) अन्तर्गतको कसूर गरेकोले ऐ. ऐनको दफा ७(२) बमोजिमको सजायँ गरिपाउँ ।

५५.   होटल अन्नपूर्णको क्षति भएको रकम रु. १८,००,०००।र घाइतेलाई उपचार गर्दा लागेको खर्च समेत विपक्षी प्रतिवादीहरुबाट ऐ. ऐनको दफा ७(२) अनुसार होटल तथा व्यक्तिहरुलाई दिलाई भराई पाउँ ।

५६.   लालबहादुर चौधरी र रघुवंश झाको हकमा निजहरुले गिरोहको सम्बन्धमा महत्वपूर्ण कुराहरु देखाई लेखाई दिएको समेतबाट निजहरुलाई ऐनको दफा ११(१) बमोजिम सरकारी गवाह कायम गर्दै, उल्लेखित प्रतिवादीहरुको ऐ. ऐनको दफा ८(३) बमोजिम चल अचल सम्पत्ति जफत हुन मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म रोक्का राखी पाउँ ।

५७.   अभियुक्त अनार सिंह कार्कीले पोल गरेका बैजनाथ गुप्ता, साकेतचन्द्र मिश्र, दिलिप चौधरी, मानबहादुर शाही, जितबहादर बस्नेत, गणेश भन्ने गोविन्द मण्डल, भरत सिंह, श्याम झा, राजकिशोर मुखिया, विन्दर साह, चन्द्रमाधव कुसवाह, इश्वरी पौडेल, शेषराज न्यौपाने, नेवालाल यादव, रामविजय साह, भारतीय मामा, शिवशंकर देव, कोकाई साह, पद्म लामा, बलदिप राई, रामस्वरुप साह, प्रेम कार्की, डा. लक्ष्मीनारायण झा, कुमार राई, किशोरकुमार बस्नेत, रमेश चौधरी, गोपाल श्रेष्ठ, अमित चौधरी, अशिप साह, अमिल चौधरी, विकास दारा सिंह, दिपबहादुर थिङ, बासुदेव, भूपेन्द्र, अब्दुल, लक्ष्मी जागिराम साह तेली, श्री चन्द्र साह तेली, गणेश थापा, शिवशंकर साह समेतका व्यक्तिहरुको वतन खुल्न नआएकोले पछि दावी लिइने व्यहोराको साथै संकलित कागज प्रमाण तथा दसी समेतका साथ पेश गरिएको भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

५८.   २०३९ साल चैत्रमा म सन्तोष पासवान, आनन्द साह, कोकवा साह र मोहरी साह समेतलाई पवन साहले सितामढी लगे । त्यहाँबाट लक्ष्मणप्रसाद सिंहले सिमुलतला पुर्‍याई १ वर्ष जति विध्वंसात्मक तालिम दिइयो । म, शेखर, उद्धव, विजय भन्ने शिव विश्वकर्मा र अरुण भनेको विश्वनाथ चौधरीलाई रामराजा र लक्ष्मणप्रसादले काठमाडौंमा गई अन्तर्राष्ट्रिय एयरपोर्ट, राजदरबार दक्षिण र पश्चिम गेट, सिंहदरबार, राष्ट्रिय पञ्चायत ग्यालरी बैठक, अन्नपूर्ण होटल, सोल्टीहोटलमा बम पड्काउनु पर्छ, ५ जना नै काठमाडौं गई रेकी गर्नु र काठमाडौं त्रिपुरेश्वरको मिथिला होटलमा बस्नु खानु, त्यसपछि काठमाडौं वाहिरपट्टि डेरा खोजी खाने प्रबन्ध समेत सोही ठाउँमा गर्नु, भनी हामीलाई सिकाए । ०४१ फाल्गुणमा हामी ५ जना नै वीरगन्ज हुँदै काठमाडौं आयौं र सिकाए बमोजिम नै ग¥यौं । शेखर र विजय पैसा र सामान लिन पटना गए । ३।४ दिनपछि पैसा र जिलेटिन १०० जति बाकसमा राखी फल्स बटम बनाई ल्याएका थिए । डिटोनेटर भने ४।५ वटा मात्र ल्याएका रहेछन् । त्यसपछि म, विजय र उद्धब फेरि पटना गयौं । पटनाबाट केही रुपैयाँ र जिलेटिन २ सुटकेश ६० थान जिलेटिन ल्यायो । त्यसको लगत्तै अरुण र शेखर पुनः गोरखपुरमा रामराज र लक्ष्मणलाई भेटन भनी गएँ । केही सामान सहित विष्फोटक मिति ०४२।३।५ गते भनी निश्चित गरी आएछन् । २०४२।३।४ मा डेरामा ६ वटा बम बनायो । बम बनाउँदा बेट्रीहरु काठमाडौंमा नै खरिद गरी गमलामा बम फिट गरेका थियौं । शेखरले गमलामा बम फिट गर्‍यो । उक्त मितिमा रेकी गरेका स्थानमा नै हामी सबैले बम राखेका थियौं । बम राखी सकिएपछि उद्धव, अरुण, कालिमाटी बस समाती वीरगन्ज जान हिंडे । विजय एक्लै ६ बजेको बसबाट जनकपुर हिंड्यो । म र शेखर ६१२ बजे भैरहवा हुँदै गोरखपुरतिर हिंड्यौ । यसरी हामीले २०४२।३।६ गते काठमाडौंका विभिन्न स्थानमा बम विष्फोट गराउने काम ग¥यौं । राजदरवारको ढोकामा बम पड्काउँदा राजा डराउँछन्, राष्ट्रिय पञ्चायत भवनमा बम पड्काउँदा २, ४ जना माननीयहरु मर्छन, अनि हामीलाई समर्थन गर्दछन्, होटलहरुमा पड्काउँदा विदेशीहरु नेपाल आउँदैनन्, जसबाट नेपालको नोक्सानी हुन्छ र देशभरी आतड्ढ फैलन्छ भनी हामीलाई रामराजाले भनेका थिए भन्ने समेत व्यहोराको चन्द्रदेव ठाकुरले अदालतमा गरेको बयान ।

५९.   जागिर खान भनी पवन साहको साथ सिमुलतला गएको थिएँ । त्यहाँ रामराजाले नेतृत्व गरेको विध्वंसात्मक तालिम क्याम्पको विषयमा स.फौ.नं. ४ को मुद्दामा सबै व्यहोरा खुलाई बयान गरिसकेको छु । यस अपराधमा म संलग्न छैन भन्ने समेत व्यहोराको केदारकुमार कार्कीले अदालतमा गरेको बयान ।

६०.   सिमुलतलामा मलाई कमल भन्ने गर्दथे रामराजा र लक्ष्मणप्रसादको उपनाम प्रकाश र मास्टर साह चन्द्र विजयको आनन्द महादेवको बजेरेग, समेत भनी उपनाम राखिएको थियो । होटल अन्नपूर्णमा विष्फोटन गर्न कसलाई पठाएको थियो । उक्त वारदातमा म संलग्न छैन । विष्फोटन सम्बन्धी अपराध सिमुलतलाबाट रामराजाले नै गराए होलान जस्तो मलाई लाग्छ । अपराध सम्बन्धमा अदालतमा दायर भएको फौ.नं. २ को मुद्दामा म समेत प्रतिवादी भएकोले सम्पूर्ण व्यहोरा खुलाई यथार्थ बयान गरिसकेको हुँ भन्ने समेत व्यहोराको महेन्द्रप्रसाद बजगाईले अदालतमा गरेको बयान ।

६१.    अन्नपूर्ण होटलमा भएको बम विष्फोटनको सम्बन्धमा म संलग्न नभएको साथै विष्फोटन कसले गराए मलाई केही जानकारी पनि नभएको भन्ने सन्तनु कार्कीले अदालतमा गरेको बयान ।

६२.   मलाई घुमाउन भनी विशेश्वर मण्डलले पटना लगेपछि रामराजाको सिमुलतला क्याम्पमा पुर्‍याई विध्वंसात्मक कार्य सम्बन्धी तालिममा सरिक गराइयो । मैले गरेको काम सम्बन्धमा म समेत प्रतिवादी भएको फौ.नं. ४ को मुद्दामा सबै व्यहोरा खुलाई बयान दिइसकेको छु । यस वारदातमा म संलग्न छैन भन्ने गुरुदेव दास तत्माले अदालतमा गरेको बयान ।

६३.   भारत सिमुलतलाबाट लक्ष्मणप्रसाद सिंहले अरुण भन्ने विश्वनाथ चौधरी, शेखर भन्ने विशेश्वर मंडल सुमन भन्ने चन्द्रदेव, विजय भन्ने शिवकुमार विश्वकर्मा, उद्धव भन्ने प्रेम विश्वकर्मालाई काठमाडौंमा रेकी गर्न पठाएका थिए । निजहरुले नै अन्नपूर्ण होटलको बम विष्फोटन गराएको होला । उक्त वारदातमा म संलग्न छैन । वीरगन्जमा बम राख्ने सम्बन्धमा फौ.नं. ३ को मुद्दामा सबै व्यहोरा खुलाई बयान गरिसकेकोले सोही बयान यसमा पनि कायम गरिपाउँ भन्ने समेत व्यहोराको भूला सदा सुमहरले अदालतमा गरेको बयान ।

६४.   यस वारदातमा म संलग्न छैन । विश्वनाथ गुप्तालाई लालबहादुरसंग भेट गराई दिएको कुरा अदालतमा दायर फौ.नं. ४ को मुद्दामा सबै व्यहोरा खुलाई बयान दिइसकेको छु भनी मोहितलाल चौधरीले अदालतमा गरेको बयान ।

६५.   काठमाडौंमा विध्वंसात्मक कार्य गर्न गराउन सिमुलतलाबाट रामराजाले केशव, अरुण, विजय, सुमन शेखरलाई खटाई पठाएका थिए । निजहरुले बम विस्फोटन गरे नगरेको सम्बन्धमा मलाई थाहा भएन म वारदातमा संलग्न छैन भन्ने समेत व्यहोराको विश्वनाथ गुप्ताले ऐ. मा गरेको बयान ।

६६.   यस वारदातमा म संलग्न छैन । रामराजा समेतले विष्फोटन गरे गराएका होलान मलाई शंका लाग्छ । सिमुलतला क्याम्पबाट आएर मैले गरेको विध्वंसात्मक कार्य सम्बन्धी सम्पूर्ण कुराहरु म समेत प्रतिवादी भएको फौ.नं. ९ को मुद्दामा खुलाएको छु भनी खेमनाथ पराजुलीले अदालतमा गरेको बयान ।

६७.   ०४२।३।६ मा म जनकपुर चुरोट कारखानाको पाल्पा शाखामा हाजिर रहेको हुँदा विष्फोटन मैले गर्ने अवस्था छैन भनी चन्द्रविजय साहले अदालतमा गरेको बयान ।

६८.   काठमाडौंको निर्वाचन आयोग र अन्य महत्वपूर्ण स्थलमा बम विष्फोटन गर्न विष्फोटक पदार्थ सहित ०४२।१।१८ मा काठमाडौं आई सुन्धाराको निलम लजमा विष्फोटक पदार्थ सहितका सामान राखेको र त्यहाँबाट दसी सहित पक्राउ परेको कुरा फौ.नं. ११ को मुद्दामा बयान गरी सकेको छु, भनी हरदेव मण्डलले अदालतमा गरेको बयान ।

६९.   २०४२।३।६ गते वीरगन्ज छपकैया सिनेमा हल छेउमा मैले बम राखेको सम्बन्धमा र सिमुलतलामा रामराजाको क्याम्पमा तालीम लिए सम्बन्धमा मैले फौ.नं. ११ को मुद्दामा बयान गरी सकेकोले सोही बयान यसमा पनि कायम गरिपाउँ भन्ने समेत व्यहोराको टेकेन्द्र विश्वकर्माले अदालतमा गरेको बयान ।

७०.   मैले नेपालगंज मालपोत कार्यालयमा बम राखेको सम्बन्धमा र भैरहवा रत्न होटलबाट विष्फोटक पदार्थ सहित म पक्राउ परेको विध्वंसात्मक घटना सम्बन्धमा दायर भएको फौ.नं. १० को मुद्दामा बयान गरी सकेकोले सोही बयान यसमा पनि कायम गरिपाउँ । यस वारदातमा म संलग्न छैन भनी त्रिभुवन ढकालले अदालतमा गरेको बयान ।

७१.   म समेत प्रतिवादी भएको फौ.नं. ४ को मुद्दामा सबै व्यहोरा खुलाई बयान गरी सकेको हुँदा सोही बयान यसमा पनि कायम गरिपाउँ । यस वारदातमा म संलग्न नहुँदा सफाई पाउँ भनी यूगल किशोरलाल कर्णले अदालतमा गरेको बयान ।

७२.   यसमा अभियोग लगाइएको कसूर मैले गरेको छैन । भएको साँचो व्यहोरा फौ.नं. ४ को मुद्दामा खुलाई लेखाएको छु भनी मेथरु साहले अदालतमा गरेको बयान ।

७३.   अन्नपूर्ण होटलमा भएको विष्फोटन सम्बन्धमा म निर्दोष हुँदा सजायँ हुन पर्ने नभई, भएको व्यहोराको नं. ५ को मुद्दामा लेखाई दिएको छ, सोही बयान यसमा पनि कायम गरिपाउँ भनी महादेव साह सुडीले अदालतमा गरेको बयान ।

७४.   यस मुद्दामा मैले अपराध नगरेको बम विष्फोटन सम्बन्धमा सबै कुराहरु म समेत प्रतिवादी भएको फौ.नं. ५ को मुद्दामा बयान गरी सकेको छु, सोही बयान यसमा पनि कायम राखी पाउँ भनी भिखारी पण्डितले अदालतमा गरेको बयान ।

७५.   यस मुद्दाको कसूर मैले नगरेको, कस्ले गरे सो पनि थाहा नभएको, अरु कुरा फौ.नं. ५ को मुद्दामा लेखाई सकेकोले सोही बयान कायम गरिपाउँ भनी जगरनाथ दास, शिवशंकर थापा, अमर प्रधान, अनारसिंह कार्की, रमेशकुमार कार्की, विरेन्दर साह, मुस्लीम मियाँ, सुकदेव चौधरी, जीवन सार्की, सोमनदेव चौधरी, कटकबहादुर मल्ल समेतले गरेको एकै मिलानको बयान कागज ।

७६.   लगाइएको अभियोग अनुसारको कसूर मैले गरेको होइन । अपराधमा मेरो संलग्नता पनि छैन । २०४२।२।११ मा पक्राउ परी २०४२।२।१८ देखि सुरक्षा कानुन अन्तर्गत थुनामा रहेको व्यक्ति मैले अपराध गर्ने प्रश्न नै उठदैन भनी केशव भेटवालले अदालतमा गरेको बयान ।

७७.   यस वारदातमा म संलग्न छैन अरु कुरा फौ.नं. ५ को मुद्दामा लेखाइदिएको हुँ सोही बयान यसमा पनि कायम गरिपाउँ भनी रामनिवास गुप्ताले अदालतमा गरेको बयान ।

७८.   मैले अपराध गरेको नहुँदा सजायँ हुन पर्ने होइन भन्ने समेत व्यहोराको श्याम किशोर कुशवाह, जितेन्द्र महासेठ, झुपिलाल कुँवर र दिनेश श्रेष्ठ र बुदुर चौधरीले अदालतमा गरेको बयान ।

७९.   प्र.हरु शोभाखर धनन्जय, खेमराज मायालु, कुमारजंग कार्की, इश्वरी ठाकुर, शम्भु हाली, सत्यनारायण शाह, शनिश्चरा ठटेरी, मोहरी पंजियार, किशोरी साह, धर्मेन्द्र शाह, सुरेस पंजियार, शंकर पासवान, गौरीशंकर सुडी, शिवनाथ पासवान, फेकन पासवान, अश्वेश्वर यादव, किशोर लामा, रामचन्द्र लामा, पन्चे लामा, रायनाथ ठाकुर, नबिन राई, ज्ञानेन्द्र लामा, प्रेमबहादुर विश्वकर्मा, इन्द्रबहादुर विश्वकर्मा, गजेन्द्र विश्वकर्मा, सलबहादुर विश्वकर्मा, महेन्द्रकुमार गुप्ता, बिमल साह, विशेश्वर मण्डल, कपिलदेव मण्डल, रामरत्न यादव, प्रदिपकुमार साह, राजनारायण पोखरेल, मोहनराज रावत, हेमराज रावत, दाताराम बजगाई, राम कार्की, कृष्ण सिंह, शेष अब्दूल, मजिद मियाँ, सफरुदिन मियाँ, ज्ञानचन्द्र यादव, शिवकुमार विश्वकर्मा, महेन्द्रसदा मुसहर, हेमशंकर गुप्ता, हरिदेव चौधरी, सुशिलकुमार शुक्ला, रामनारायण देव, हरी भुजेल, अशोक मियाँ, पवनकुमार साह, अमृत चौधरी, लक्ष्मणप्रसाद स्ंिह, रामराजाप्रसाद सिंह, मनोजप्रसाद सिंहले तामेली समाव्हान म्याद गुजारी बसेका रहेछन् ।

८०.   २०४२ साल आषाढ ६ गते राष्ट्रिय पञ्चायत भवनमा बम विष्फोटन भए सम्बन्धी मुद्दामा मैले सम्पूर्ण व्यहोरा खुलाई बकपत्र गरी सकेको छु । यस मुद्दामा पनि सोही बकपत्र कायम गरिपाउँ भन्ने समेत व्यहोराको सरकारी गवाह रघुवंश झाले अदालतमा गरेको बकपत्र ।

८१.   २०४२ आषाढ ६ गते अदालत समक्ष काठमाडौंमा बम विस्फोटनको सम्बन्धमा बकपत्र गरी सकेको हुनाले सोही बकपत्रलाई यस मुद्दामा पनि कायम गरिपाउँ भन्ने समेत व्यहोराको सरकारी गवाह लालबहादुरले गरेको बयान ।

८२.   प्रस्तुत मुद्दामा २०४२।३।६ गते दिनको १.३० बजे होटल अन्नपूर्णमा आतंककारीहरुद्वारा राखिएको बम विष्फोटन हुँदा होटलका कर्मचारी सरीता पौडेल, नीरुजा श्रेष्ठ, भूमिनारायण श्रेष्ठ समेतको मृत्यु भएको र अन्य घाइते भई होटलको भौतिक क्षति समेत भएकोले अभियुक्तहरु मध्ये विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र प्रेमबहादुर विश्वकर्मा समेत ५ जनालाई विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) अन्तर्गतको अपराध गरेकोमा निजहरुलाई सोही ऐनको दफा ७(१) अनुसारको सजायँ र अभियुक्त रामराजाप्रसाद सिंह गिरोहको व्यक्ति भएको र लक्ष्मणप्रसाद सिंह तथा खेमराज मायालु क्षेत्रीय नेतृत्व लिने व्यक्ति भएको, विध्वंसात्मक अपराध गर्न अराई खटाई पठाएको हुँदा निजहरु समेतलाई सोही ऐनको दफा ३(१) र ३(२) को कसूर गरेकोमा ऐनको दफा ७(१) अनुसार तथा अन्य अभियुक्तहरुलाई उक्त ऐनको दफा ७(२) बमोजिम सजायँ र नेपाल अधिराज्य बाहिर बसी काम गरेको हुँदा सोही ऐनको दफा ८(३) बमोजिम सम्पूर्ण व्यक्तिहरुको चल अचल सम्पत्ति समेत जफत गरिपाउँ भन्ने मुख्य माग दावी देखिन्छ ।

८३.   उक्त दिन होटल अन्नपूर्णमा आतंककारीहरुद्वारा राखिएको बम विष्फोटन भई होटलको भौतिक क्षति भई कर्मचारीहरुको मृत्यु भई केही घाइते समेत भएको कुरा प्रमाणिक रुपले पुष्टि हुन आएको पाइन्छ ।

८४.   नेपाल अधिराज्यको, सुरक्षा शान्ति र व्यवस्था कायम राख्न सर्वसाधारणको जिउ ज्यान र धन सम्पत्ति तथा महत्वपूर्ण सार्वजनिक सरकारी र गैर सरकारी स्थान भवन र साधनहरुको समेत सुरक्षा गर्न विध्वंसात्मक अपराधलाई विशेष रुपले नियन्त्रण गर्ने तथा तत्सम्बन्धी सजायँको विशेष व्यवस्था गर्न यो ऐन बनाएको कुरा ऐनको प्रस्तावनाबाट देखिन्छ । ऐनको प्रस्तावना नेपालको संविधानको धारा १७(२) को देहाय (क)(ख)(ग) भित्र परेकोले ऐन सार्वजनिक हितका निमित्त बनेको भन्ने कुरा प्रष्ट हुन्छ । नेपालको संविधानको धारा ११(३) मा जेसुकै कुरा उल्लेख भए तापनि उक्त संविधानको धारा १७(१) ले त्यस्ता हकहरुको प्रयोगलाई सार्वजनिक हितको निमित्त व्यवस्थित वा नियन्त्रित गर्ने कानुन बनाउन सक्ने देखिन्छ । यसै प्रयोजनार्थ बनेको विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ बमोजिम प्रस्तुत अपराधमा कारवाही गरी सजायँ गर्नेलाई अतित प्रभावी भयो भन्न पनि मिल्ने देखिन आएन ।

८५.   रामराजाप्रसाद सिंहको उद्देश्य अनुरुप आतंककारीहरुद्वारा जघन्य अपराध गर्ने गराउने उक्साउने बचन दिने, प्रोत्साहन गर्ने जस्ता अपराधिक मनसायहरु अभियुक्तहरुको बयान र घटित घटनाबाट पुष्टि भएको छ । काठमाडौंमा विध्वंसात्मक अपराध गर्ने अभियुक्तहरु मध्ये चन्द्रदेव ठाकुर, प्रेमबहादुर, विशेश्वर मण्डल, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी खटिई आएको देखिन्छ । संकलित सबूद प्रमाणको आधारमा अभियुक्त मध्ये प्रेमबहादुर विश्वकर्माले व्यागमा टाइम बम राखी होटल अन्नपूर्णको रिशेप्सन छेउमा राखेको सो बम विष्फोटन भई सरीता, भूमिनारायणको तत्काल मृत्यु भएको, नीरुजाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको, अरु होटलको कर्मचारीहरु समेत घाइते हुनुका साथै होटलको भौतिक क्षति समेत भएको हुनाले निज बम राख्ने अभियुक्त उद्धव भन्ने प्रेमबहादुर विश्वकर्माले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूर गरेको देखिएको हुँदा सोही ऐनको दफा ७(१) बमोजिम मृत्यु दण्डको सजायँ हुन्छ ।

८६.   अन्य अभियुक्त शिवकुमार विश्वकर्मा, शेखर भन्ने विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर र अरुण भन्ने विश्वनाथ चौधरीको हकमा सो बम होटल अन्नपूर्णमा राख्दा निजहरु पनि साथै गएको नदेखिएको तर निजहरु समेत बम राख्ने ठाउँको निरीक्षण रेकी गरी अपराध गर्ने गराउने कुरामा सहमतसम्म रहेको देखिँदा निजहरुले सोही ऐनको दफा ३(१) र ३(२) को कसूर गरेको हुँदा सोही ऐनको दफा ७(२) बमोजिम जनही जन्मकैदको सजायँ हुन्छ ।

८७.   रामराजाप्रसाद सिंहले खडा गरेको विध्वंसात्मक गिरोहमा भाग लिने मध्येका सरकारी गवाह लालबहादुर चौधरीले गरेको बकपत्र अनुसार रामराजा, लक्ष्मणप्रसाद सिंह समेतका व्यक्ति सो गिरोहको मुख्य व्यक्ति भएका र काठमाडौं नेपालको केन्द्रविन्दू भएको हुनाले विध्वंसात्मक बम विष्फोटन गर्ने विशेश्वर मण्डल, शिवकुमार विश्वकर्मा, प्रेमबहादुर विश्वकर्मा, विश्वनाथ चौधरी, चन्द्रदेव ठाकुर समेतलाई विशेष तालिम दिएको सोही व्यक्तिहरुले बम विष्फोटन गराएको हुनुपर्छ भनी भनेका र संकलित सबूद प्रमाणहरु समेतबाट पनि सो कुरा पुष्टि हुन आएकोले रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, ०४२ को दफा ३(१) र ३(२) को कसूर गरेको देखिन आएकोले सोही ऐनको दफा ७(१) बमोजिम मृत्यु दण्ड हुने ठहर्छ ।

८८.   अभियुक्त खेमराज मायालुको हकमा संकलित सबूद प्रमाणबाट निजले विध्वंसात्मक अपराध गर्न गराउन सहयोगसम्म गरेको देखिँदा दावी बमोजिम मृत्युदण्डको सजायँ गर्न नमिली ऐनको दफा ७  (२) बमोजिम जन्मकैदको सजायँ हुने ठहर्छ ।

८९.   अभियुक्तहरु मध्ये रामकृष्ण महतो, राजेन्द्र झा, इश्वरी ठाकुरको हकमा निजहरु पहिलो पटक विराटनगरतर्फ विध्वंसात्मक अपराध गर्न खटिई आई इश्वरी ठाकुरले भारत जोगवनीको शारदा लजमा बसी हात हतियार सप्लाई गर्ने र रामकृष्ण, राजेन्द्र झाले (साविक पेज नं. १८१) नेपालमा हात हतियारहरु ल्याई पहिलो पटक दुहवीको मानबहादुर, कृष्णप्रसादको घरमा विष्फोटक पदार्थ राखी निजहरु रामकृष्ण महतो र राजेन्द्र झा झापातर्फ विष्फोटक पदार्थ लिई विध्वंसात्मक अपराध गर्न खटिई विष्फोटक पदार्थ सहित रामकृष्ण महतो भद्रपुर छोटी भन्सारमा पक्राउ भएको फौ.नि.नं. १ को मुद्दामा जनही १०।१० वर्षका दरले कैद सजायँ गर्ने गरी फैसला भएको, महेन्द्रप्रसाद बजगाईको हकमा बम फिट गरेको विष्फोटक पदार्थ व्यागमा राखी बसमा चढी विराटनगरतर्फ जान लागेको अवस्थामा सुनसरीको लौकहीमा पक्राउ परी दायर हुन आएको फौ.नं. २ को मुद्दामा निजलाई १५ वर्ष कैदको सजायँ भएको, पवनकुमार साह, टेकेन्द्र विश्वकर्मा, सलबहादुर विश्वकर्मा र मूला सदा सुमहरको हकमा निजहरुले वीरगन्जको अञ्चल प्रहरी कार्यालयमा बम विष्फोटक पदार्थ राखेको ठहरी फौ.नं. ३ को मुद्दामा पवनकुमारलाई जन्मकैद, टेकेन्द्र विश्वकर्मा र मूला सदा सुमहरलाई जनही कैद वर्ष ५, सलबहादुर विश्वकर्मालाई कैद वर्ष १० सजायँ गर्न, वीरगन्ज छपकैया सिनेमा हलनिर विष्फोटक पदार्थ राखी दायर भएको फौ.नं. १३ को मुद्दामा पवनकुमार साहलाई कैद वर्ष १० टेकेन्द्र विश्वकर्मा र मुला सदा मुसहरलाई जनही कैद वर्ष ५।५ सलबहादुर विश्वकर्मालाई कैद वर्ष १० गर्ने गरी फैसला भएको, हरदेव मण्डल र टेकेन्द्र विश्वकर्माले काठमाडौंको निर्वाचन आयोग समेत विभिन्न स्थानमा बम विष्फोटन गर्न आएको मौकामा मिलन लजमा विष्फोटक पदार्थ सहित पक्राउ भएकोले निजहरु दुबै जनालाई फौ.नं. १० को मुद्दाबाट जनही १० वर्षका दरले कैद हुने ठहरी फैसला भएको तर २०४२।३।६ गते होटल अन्नपूर्णमा बम विष्फोटन भएको प्रस्तुत मुद्दामा निजहरुको संलग्नता भएको सबूद वादी श्री ५ को सरकारतर्फबाट पुर्‍याउन नसकेकोले सबूदको अभावमा कसूर कायम गर्न न्यायोचित नहुँदा निजहरुले यस अभियोगबाट सफाई पाउने ठहर्छ ।

९०.   विश्वनाथ गुप्ता, दिपक भन्ने हरदेव चौधरी किशोरी साह, मजिद मियाँ, गुरुदेव दास तत्मा, केदारकुमार कार्की समेत ६ जनाको हकमा जनकपुरतर्फ विष्फोटन गर्न विष्फोटक पदार्थ सहित नेपाल प्रवेश गरी निजहरुले जनकपुर गोपाल धर्मशालामा विष्फोटक पदार्थ राखेको र पछि भारततर्फ गई विष्फोटक पदार्थ लिई आएको अवस्था महोत्तरी भिट्टामोड भन्सारमा अभियुक्त मध्ये विश्वनाथ गुप्ता पक्राउ परी दायर भएको, विध्वंसात्मक अपराध सम्बन्धी फौ.नं. ४ को मुद्दामा विश्वनाथ गुप्ता, मजिद मियाँ, किशोरी साह, हरदेव चौधरी ४ जनालाई जनही १०।१० वर्षका दरले कैद हुने र अभियुक्त गुरु देवदास तत्मा र केदारकुमार कार्कीलाई जनही ५।५ वर्षका दरले कैद सजायँ हुने ठहरी फैसला भएको देखिन्छ । तर अभियोगमा निजहरुको संलग्नता रहे भएको भनी शंकारहित तवरले सरकारी गवाहले पनि भन्न नसकेको र मिसिल संलग्न प्रमाणहरुबाट पनि निजहरुको संलग्नता देखिन नआएकोले निजहरु सबैलाई यस अभियोगबाट सफाई दिने ठहर्छ । अभियुक्त त्रिभुवन ढकाल, इन्द्रबहादुर विश्वकर्मा, दाताराम बजगाईको हकमा, त्रिभुवन ढकाल र इन्द्रबहादुर विश्वकर्माले बाँके मालपोत कार्यालय नेपालगञ्जमा विष्फोटक पदार्थ राखेको ठहरी फौ.नि.नं. १४ को मुद्दामा निजहरुलाई १०।१० वर्षको कैद र निजहरु २ जनाले नै भैरहवाको रत्न लजमा विष्फोटक पदार्थ राखेकोमा समेत जनही १०।१० वर्षको कैद हुने ठहरी फौ.नं. १० को मुद्दाबाट ठहर भएको छ । खेमनाथ पराजुलीले धनगढी अञ्चल प्रहरी कार्यालय नजिक विष्फोटक पदार्थ राखेकोमा दायर भएको फौ.नं. ९ को मुद्दाबाट निजलाई कैद वर्ष १५ गर्ने गरी दाताराम बजगाईलाई विध्वंसात्मक अपराध गरेकोमा फौ.नं. ११ को मुद्दाबाट कैद वर्ष ५ समेत गर्ने ठहरी फैसला भइसकेको देखिन्छ । तर प्रस्तुत वारदातमा निजहरुको संलग्नता रहे भएको कुरा सरकारी गवाहले पनि भन्न नसकेको र वादी पक्षले पनि प्रमाणिक पुष्टि गर्न नसकेको हुँदा निजहरुले सफाई पाउने ठहर्छ ।

९१.    अभियुक्त अनारसिंह कार्की, केशव भेटवाल, दिनेशप्रसाद श्रेष्ठ, राम कार्की, शोभाकर धनन्जय, भिखारी पंडित, रामनिवास गुप्ता, सोमन चौधरी र सुकदेव चौधरी समेत १० जनाको हकमा संकलित सबूद प्रमाणहरु समेतबाट प्रस्तुत वारदातमा निजहरुको संलग्नता रहे भएको नदेखिँदा निजहरुले पनि सफाई पाउने ठहर्छ ।

९२.   अभियुक्त अमर प्रधान, चन्द्रविजय साहको हकमा प्रस्तुत अपराध गर्न गराउनमा निजहरुको हात थियो भन्ने कुरा संकलित प्रमाणबाट खुलाउन सकेको नपाइएको, सबूद प्रमाणको अभावमा केवल अभियोग लगाइएको भरमा मात्र कसूर कायम गर्न मनासिब नपर्ने हुँदा निजहरुले पनि सफाई पाउने ठहर्छ ।

९३.   अभियुक्त मध्ये युगलकिशोरलाल कर्ण, श्यामकिशोर कुशवाह, कटकबहादुर मल्ल, रमेशकुमार कार्की, झुपलाल कुवर, जितेन्द्र महासेठ समेतको यस अपराधमा संलग्नता नदेखिएको हुनाले निजहरुले पनि सफाई पाउने ठहर्छ ।

९४.   सन्तनु कार्की र अमृत चौधरीको हकमा प्रस्तुत मुद्दामा लगाइएको अभियोग अनुसारको कसूर गरेको प्रमाणित हुन नआएकोले निजहरुले पनि यस मुद्दामा सफाई पाउने ठहर्छ ।

९५.   अभियुक्त शिवशंकर थापा, जीवन सार्की, जगरनाथ दास, मेथरु साह, विरेन्दर साह, मुस्लिम मियाँ, महादेव साह, बुदुर चौधरी समेतका हकमा विचार गर्दा निजहरुले विध्वंसात्मक गतिविधिमा सामेल भई यो यो काम गर्दथे भन्ने कुरा खुल्न नआएको, साथै उक्त कार्यमा यस किसिमको संलग्नता थियो भनी वादीतर्फका सरकारी गवाह समेतले लेखाउन पनि नसकेको शंकाको भरमा कसूर कायम गर्न नमिल्ने हुँदा निजहरुले पनि यस मुद्दामा सफाई पाउने ठहर्छ ।

९६.   मोहितलाल चौधरीको पनि प्रस्तुत अपराधमा संलग्नता रहेको नदेखिँदा निजले आरोपित अपराधबाट सफाई पाउने ठहर्छ ।

९७.   हेमशंकर गुप्ता, राजेश कसाई, हरि भुजेल, महेन्द्रकुमार, अशेश्वर यादव, सोनेश्वर यादव, प्रदिपकुमार, सत्यनारायण, सन्तोष भन्ने फेकन पासवान, गौरीशंकर साह, रामरतन यादव समेतका अभियुक्तहरुतर्फ विचार गर्दा निजहरुको नाउँमा यस अदालतबाट जारी भएको म्यादमा हाजिर हुन नआई म्याद गुजारी बसेका छन् । तापनि अभियुक्त मध्ये सत्यनारायण साह यस अपराधमा संलग्न थिए भन्ने कुराको प्रमाण वादीतर्फबाट प्रस्तुत हुन आएको नपाइदा निजहरुको हकमा कसूर कायम गर्न मिल्ने देखिएन । बाँकी अन्य प्रतिवादीहरुको हकमा निजहरुले विष्फोटक पदार्थ विष्फोटन गरी मानिस समेत मारेको भन्ने सम्बन्धमा सबूद प्रमाणको अभाव हुँदा निजहरुले पनि सफाई पाउने ठहर्छ ।

९८.   अभियुक्तहरु महेन्द्र सदा मुसहर, गजेन्द्र विश्वकर्मा, ज्ञानचन्द्र यादव, नवीन राई, धर्मेन्द्र साह, पञ्चलाल सकरुदिन, नविन कार्की समेतका हकमा होटल अन्नपूर्णमा बम विष्फोटन भई मानिस मरी घाइते समेत भएको सम्बन्धमा निजहरुको संलग्नता थियो भन्ने सबूद प्रमाण वादी श्री ५ को सरकारतर्फबाट प्रस्तुत हुन नआएकोले निजहरुले पनि यस मुद्दामा सफाई पाउने ठहर्छ ।

९९.   त्यस्तै अभियुक्तहरु मध्ये अशोक मियाँ, सुशिलकुमार सुक्ला, शेष अब्दूल, रामचन्द्र लामा, शनिश्चरा ठटेरी, कृष्ण सिंह, हेमराज रावत, मोहनराज रावत, शंकर पासवान, मोहरी पंजियार, सुरेश पंजियार, रामु हाथी, शिवनाथ पासवान, रामनारायण, देवराजनारायण पोखरेल, विमलप्रसाद साह, रामनाथ ठाकुर, कपिलदेव मण्डल, मनोजप्रसाद सिंह समेतका हकमा निजहरुले पनि होटल अन्नपूर्णमा घटेको वारदात सम्बन्धमा के के अपराध गरे वादी श्री ५ को सरकारतर्फबाट कुनै कुरा खुलाउन र प्रमाण पेश गर्न समेत सकेको नदेखिएकोले शंकारहित सबूद प्रमाणको अभावमा कसूर कायम गर्न न्यायोचित नदेखिँदा यस मुद्दामा सफाई पाउने ठहर्छ ।

१००.   प्रतिवादीहरु के विध्वंसात्मक कार्य गर्दा होटल अन्नपूर्णको रु. अठार लाख क्षति भएको सो क्षति भएको रकम प्रतिवादीहरुबाट होटललाई दिलाई भराई पाउँ भन्ने दावी भएको विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ७(२) मा त्यस्तो अपराध गर्ने व्यक्तिबाट धनसम्पत्ति क्षति भएको रहेछ भने सो क्षति निजको आफ्नो अंश भाग बमोजिम हुने चल अचल सम्पत्ति लिलाम गरी त्यसबाट भराई दिनेछ भन्ने उल्लेख भएकोले यस मुद्दामा मृत्यु दण्डको सजायँ पाएका प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह (३) जना बाहेक अन्य कैद सजायँ पाउने शिवकुमार विश्वकर्मा, चन्द्रदेव ठाकुर, विश्वनाथ चौधरी, खेमराज मायालु, विशेश्वर मण्डल समेत ५ जनाबाट सो क्षति भएको बिगो होटल अन्नपूर्णले भरी पाउने ठहर्छ ।

१०१.   वीरबहादुर, संग्राम, नारायण, प्रकाश, रामबहादुर, प्रदीप, शिवप्रसाद, बाबुराजा, मचाभाइ, ठूलोभाइ समेत घाइते भई उपचार गर्दा लागेको खर्च समेत प्रतिवादीहरुबाट दिलाई भराई पाउँ भन्ने वादी दावी भएकोमा ऐनको दफा ७(२) मा धन सम्पत्ति क्षति भएको भन्नाले भौतिक क्षतिलाई जनाउने हुँदा शारीरिक चोट लागेको व्यक्तिको उपचार गराए बापतको खर्च ऐन अन्तर्गत पर्न नआउने हुँदा उपचार खर्च बापतको रकम भराई दिन मिलेन ।

१०२.  नेपाल अधिराज्य बाहिर बसी अपराध गरेको हुँदा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण) तथा सजायँ ऐन, २०४२ को दफा ८(१) बमोजिम प्रतिवादीहरुको चल अचल सम्पत्ति जफत गरिपाउँ भन्ने दावीको हकमा उक्त ऐनमा भएको व्यवस्थानुसार प्रतिवादीहरु मध्ये चन्द्रदेव ठाकुर विश्वनाथ चौधरी, शिवकुमार विश्वकर्मा, विशेश्वर मण्डल, प्रेमबहादुर विश्वकर्मा, प्रस्तुत अपराध गर्दाको अवस्था नेपाल अधिराज्यभित्र प्रवेश गरी काठमाडौं उपत्यकामा आई प्रस्तुत अपराध गरेको ठहरेकाले निजहरु ५ जनाको हकमा निजहरुको अंश भागको चल अचल सम्पत्ति जफत हुन सक्ने देखिएन । रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह र खेमराज मायालुको हकमा अपराध गर्दाको अवस्था उक्त ऐनको दफा ४ बमोजिम नेपाल अधिराज्य बाहिर बसी अपराध गरेको देखिएकोले निजहरुको हकमा नेपाल अधिराज्य भित्र रहेको आफ्नो अंश भागको चल अचल सम्पत्ति समेत जफत हुने ठहर्छ ।

१०३.  प्रतिवादी मध्ये अनिलकुमार सिंहको हकमा निजको घरद्वार भारत गोरखपुर मोटी टोल देखिन आएकोले निज यस सरहदमा फेला परेका बखत ठहरे बमोजिम हुने समेत ठहर्छ भन्ने समेत व्यहोराको विध्वंसात्मक अपराध सम्बन्धी अदालतबाट भएको मिति २०४४।२।१४।५ को फैसला रहेछ ।

१०४.  प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकारलाई आंशिक रुपमा हराइएको विध्वंसात्मक अपराध सम्बन्धी अदालतबाट भएको फैसला मिलेको छैन । अभियुक्त मध्ये प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंह समेतलाई माग दावी बमोजिम सजायँ भएको हुँदा निजहरुको हकमा केही उल्लेख गरिरहनु परेन । फरार रहेका अभियुक्तहरुको हकमा निजहरुले अपराध नगरेको भए म्यादमा हाजिर भई आफ्नो सफाइको सबूद पेश गर्नु पर्नेमा सो नगरी अदालतबाट जारी भएको म्यादमा हाजिर नभएमा ऐन बमोजिम कारवाही गरी सजायँ गर्न बाधा पर्ने छैन भनी ऐनको दफा ११(१) मा प्रष्ट व्यवस्था भएबाट निजहरुले आफ्नो सफाई सबूद दिन नसक्नुबाट पनि निजहरुको यस अपराधमा संलग्नता रहेछ भन्ने प्रष्ट हुन्छ ।

१०५.  अन्य मुद्दामा सजायँ पाएका अभियुक्तहरुको हकमा हेर्दा फौज्दारी मुद्दामा वारदात अलग अलग भएपछि अलग अलग सजायँको दायित्वबाट छुटकारा नपाउने हुँदा अन्य मुद्दामा सजायँ पाएको भन्दैमा प्रस्तुत मुद्दामा सफाई दिने गरी गरेको फैसला मिलेको छैन, प्रस्तुत मुद्दामा अभियुक्तहरु सामूहिक रुपले परिणाम निस्कने र सामूहिक लक्ष्य भएको गिरोहका सदस्य भएको हुँदा र एउटै लक्ष्य विध्वंसात्मक कार्यका लागि काम गरेको हुँदा निजहरुलाई सफाई दिने गरी गरेको फैसला मिलेको नहुँदा बदर गरी दावी बमोजिम सम्पूर्ण अभियुक्तहरुलाई हदैसम्म सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारतर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन रहेछ भने विध्वंसात्मक अपराध सम्बन्धी अदालतबाट साधकनिकासाको लागि पनि आएको देखिन्छ ।

१०६.   नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्टले, मिसिल संलग्न रहेको सबूद प्रमाण, पक्राउमा परेका अभियुक्तहरुको साविती बयान समेतबाट विदेशमा बसी रामराजाप्रसाद सिंहले नेतृत्व गरेको गिरोहले यो वारदात गरे गराएको कुरा पुष्टि भएको छ । नेपालमा विध्वंसात्मक कार्य गरी आतड्ढ मच्चाउन गिरोहमा विशेष तालिम प्राप्त विरुद्ध खण्डमा लेखिएका अभियुक्तहरुलाई विष्फोटक पदार्थ समेत दिई काठमाडौंमा विष्फोटन गर्न उक्त गिरोहले अ¥हाई पठाएको तथ्य घटनास्थलको प्रकृति मुचुल्का र अभियुक्तहरुमध्येका पक्राउ परेका अभियुक्तहरुको साविती बयान, निजहरुको साथबाट बरामद भएको विष्फोटक पदार्थ समेतबाट निर्विवाद प्रमाणित भएको छ । उक्त कार्यलाई विध्वंसात्मक अपराध सम्बन्धी ऐनको दफा ३ ले अपराध मानेको हुँदा एकै उद्देश्यले एकै परिणाम निस्कने विध्वंसात्मक कार्यका लागि संलग्न अभियुक्तहरुलाई दावी बमोजिम सजायँ नभएको र सफाई समेत दिएको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसला मिलेको नहुँदा प्रहरी प्रतिवेदन दावी बमोजिम सम्पूर्ण अभियुक्तहरुलाई हदैसम्म सजायँ गरिपाउँ भनी प्रस्तुत गर्नुभएको बहस जिकिर समेत सुनियो ।

१०७.  प्रस्तुत मुद्दामा मुख्यतः विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजायँ ऐन, २०४२ प्रयोग हुन सक्ने नसक्ने र अभियुक्तहरुलाई दावी बमोजिम सजायँ नभएको साथै सफाई दिएको भनी ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने नै निर्णायक विषय देखिन आयो ।

१०८.  यसमा मिति २०४२।३।६ गते होटल अन्नपूर्णमा विष्फोटक पदार्थ बम विष्फोटन भई, होटलको भौतिक क्षति भएको, सोही घटना या विष्फोटनमा परी सरीता पौडेल, नीरुजा श्रेष्ठ, भूमिनारायण श्रेष्ठको मृत्यु भएको, होटलका अन्य व्यक्तिहरु समेत घाइते भएका भन्ने मिसिल संलग्न रहेको घटनास्थल प्रकृति मुचुल्का, मृतकहरुको लाश जाँच प्रतिवेदन, आदि समेतबाट घटनाको पुष्टि भएको देखिन्छ । प्रस्तुत वारदात लगायत काठमाडौंमा भएका सोही मितिको अन्य ठाउँमा विष्फोटन गर्न आएका अभियुक्तहरुमध्येका पक्राउ परी आएका अभियुक्त चन्द्रदेव ठाकुरले हाम्रै समूहका प्रेमबहादुर विश्वकर्माले व्यागमा टाइम बम राखी होटल अन्नपूर्णको रिसेप्सन नजिक राखी दिएका थिए भनी शंकारहित तवरले लेखाई दिएकोबाट पनि अपराध घटेको कुरा प्रमाणित भएको नै देखिन्छ ।

१०९.   उक्त वारदातलाई विध्वंसात्मक अपराध, (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) अन्तर्गतको अपराध मानी सोही ऐनको दफा ७(१) र ७(२) अनुसार अभियुक्तहरुलाई सजायँ गरिपाउँ भनी वादी श्री ५ को सरकारतर्फबाट मिति २०४३।३।२४ मा मुद्दा दायर भएको देखिन्छ भने वारदात २०४२।३।६ को पाइन्छ । उक्त ऐन २०४२।५।३ मा लालमोहर लागी सोही मितिदेखि प्रारम्भ भएको छ । ऐनको दफा ११(२) मा प्रचलित नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानुन बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराध सम्बन्धमा कुनै कानुनी कारवाही र सजायँ यसै ऐनमा परे सरह मानी यसै ऐन बमोजिम हुने छ भनी स्पष्ट उल्लेख भएको देखिँदा प्रचलित कानुन बमोजिम मुद्दा दायर भई नसकेको अपराधमा कारवाही र सजायँ गर्न उक्त ऐन बनेको देखिन्छ । प्रस्तुत ऐनको प्रावधान संविधानको धारा ११(३) को प्रतिकूल हुने हो की भन्नेतर्फ हेर्दा नेपाल अधिराज्यको सुरक्षा, शान्ति र व्यवस्था कायम राख्न सर्वसाधारणको ज्यू ज्यान र धन सम्पत्ति तथा महत्वपूर्ण सार्वजनिक सरकारी र गैरसरकारी स्थान, भवन र साधनहरु समेत सुरक्षा गर्न विध्वंसात्मक अपराधलाई विशेष रुपले नियन्त्रण गर्न तथा तत्सम्बन्धी सजायँको विशेष व्यवस्था गर्न संविधानको धारा १७(२) को उद्देश्य परिपूर्तिका लागि उक्त ऐन बनेको तथ्य ऐनको प्रस्तावनाबाट देखिन्छ । संविधानको धारा ११(३) मा जे सुकै कुरा लेखिएको भए तापनि संविधानको धारा १७(२) मा उल्लेखित उद्देश्य अनुरुप राज्यले कानुन बनाउन सक्ने र संविधानको धारा १७(१) समेतको आधारमा त्यसरी बनेको कानुनले संवैधानिक हकहरुको प्रयोगलाई समेत बन्देज लगाउन सक्ने देखिएबाट अघि भएको अपराधलाई पछि बनेको ऐनले सजायँ गर्न संविधान तथा ऐनको दफा ११(२) समेतको आधारमा कुनै असर पुर्‍याएको नदेखिँदा यस अपराधमा विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन बमोजिम कारवाही भई सजायँ गर्न समेत संविधान र कानुन अनुकूल नै देखिन्छ ।

११०.   अब विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसलाबाट दावी बमोजिम सजायँ नभएका, सफाई पाएका अभियुक्तहरुको हकमा पुनरावेदन दावी बमोजिम हुनुपर्ने नपर्ने के रहेछ भन्नेतर्फ विचार गर्दा, नेपालमा विध्वंसात्मक कार्य गरी गराई आतड्ढ समेत मच्चाउने उद्देश्यले विदेशी भूमिमा बसी रामराजाप्रसाद सिंहको नेतृत्वमा सञ्चालित गिरोहमा विध्वंसात्मक कार्यको विशेष तालिम समेत प्राप्त गरेका विशेश्वर मण्डल, चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी र प्रेमबहादुर विश्वकर्मा गिरोहको अह्रन खटन अनुसार विध्वंसात्मक कार्य गर्न विष्फोटक पदार्थहरु सहित काठमाडौंमा आएका र निजहरुले नै प्रस्तुत वारदात गरे गराएको तथ्य मिसिल संलग्न रहेका घटनास्थल प्रकृति मुचुल्का, सोही विष्फोटनमा परी मृत्यु भएका व्यक्तिहरुको लाश जाँच प्रतिवेदन, विष्फोटनमा परी घाइते भएका व्यक्तिहरुको बयान बकपत्र र अभियुक्तमध्येका चन्द्रदेव ठाकुरको साविती बयान समेतको आधार प्रमाणबाट प्रेमबहादुर विश्वकर्माले टाइम बम राखेको झोला अन्नपूर्ण होटलमा लगी राखेको प्रमाणिक रुपबाट पुष्टि भएको पाइन्छ । उक्त कार्य गर्न गराउन अह्रन खटन गरी पठाउने व्यक्तिहरुमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंह भएको वारदातमा सहमतसम्म भएको अन्य अभियुक्तहरुमा चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी, विशेश्वर मण्डल र खेमराज मायालु भएका संकलित सबूद प्रमाणबाट देखिन्छ । अभियुक्तहरुमध्ये प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहलाई प्रहरी प्रतिवेदन दावी बमोजिम नै सजायँ भएको पाइन्छ भन्ने अभियुक्तहरु चन्द्रदेव ठाकुर, शिवकुमार विश्वकर्मा, विशेश्वर मण्डल, विश्वनाथ चौधरी र खेमराज मायालुको हकमा जन्मकैदको सजायँ भएको देखिन्छ । तर उल्लेखित सबै अभियुक्तहरुलाई उक्त ऐनको दफा ७(१) बमोजिम सजायँ गरी अन्य अभियुक्तहरुलाई सोही अपराधमा उक्त ऐनको दफा ७(२) बमोजिमको सजायँ गरिपाउँ भनी वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर रहेको पाइन्छ, पुनरावेदन जिकिर बमोजिम सम्पूर्ण प्रतिवादीहरुलाई सजायँ हुने नहुने सम्बन्धमा विचार गर्दा मिसिल संलग्न रहेका सम्पूर्ण सबूद प्रमाण र अभियुक्त चन्द्रदेव ठाकुर समेतको साविती बयानबाट अभियुक्तहरुमध्ये प्रेमबहादुर विश्वकर्माले अन्नपूर्ण होटलको रिसेप्शन कक्षमा टाइम बम सहितको झोला लगी राखेको र सोही बम विष्फोटनबाट प्रस्तुत घटना घटेको देखिन्छ । रामराजाप्रसाद सिंहको गिरोहबाट उपरोक्त विशेष तालिम प्राप्त व्यक्तिहरु काठमाडौंमा विष्फोटन गर्न आएका भन्ने पाइन्छ । तापनि अभियुक्तहरुमध्येका चन्द्रदेव ठाकुर, विशेश्वर मण्डल, शिवकुमार विश्वकर्मा, विश्वनाथ चौधरी खेमराज मायालुको प्रस्तुत घटना गर्न गराउन सहमतसम्म रहेको देखिन्छ । वारदात निजहरुले नै गरे गराएको भन्ने शंकारहित प्रमाण वादी श्री ५ को सरकारबाट पनि प्राप्त हुन नआएको अवस्थामा निज अभियुक्तहरुको हकमा वादी दावी बमोजिम सजायँ गर्न मनासिब नहुने हुँदा निजहरुलाई वि.अ. (वि.नि. तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूरमा सोही ऐनको दफा ७(२) अनुसार जन्मकैदको सजायँ गर्ने गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसलामा त्रुटि देखिन आएन ।

१११.   प्रस्तुत अभियोगबाट सफाई पाएका अभियुक्तहरुको हकमा विचार गर्दा, विष्फोटक पदार्थ बम अन्नपूर्ण होटलमा विष्फोटन गरे गराएकोमा अभियुक्तहरुको संलग्नता यो यस्तो रुपबाट थियो भनी सरकारी गवाहले प्रमाणित रुपबाट लेखाउन सकेको पाइँदैन । यी अभियुक्तहरु यस अपराधमा संलग्न थिए भन्ने शंकारहित प्रमाण वादी श्री ५ को सरकारतर्फबाट पनि पेश गर्न सकेको देखिँदैन । पक्राउ परी आएका अभियुक्तहरुले पनि सफाई पाएका अभियुक्तहरुको संलग्नता रहे भएको सम्बन्धमा तथ्ययुक्त प्रमाण खुलाउन नसकेको र मिसिल संलग्न रहेको प्रमाणबाट पनि सो कुराको पुष्टि हुन सकेको नपाइँदा अभियोग पुष्टि गर्ने शंकारहित प्रमाणको अभावमा विध्वंसात्मक अपराध जस्तो संगीन प्रकृति र अवस्थाको कसूर केवल अभियोगको भरमा मात्रै ठहर गर्न न्यायसंगत नहुने हुँदा शंकाको सुविधा अभियुक्तहरुले पाउने देखियो । तसर्थ उपरोक्त आधार प्रमाण र शुरु फैसलामा लेखिएका बुँदाहरु समेतबाट पुनरावेदनको विरुद्ध खण्डमा लेखिआएका प्रतिवादीहरुलाई यस अभियोगमा मात्र सफाई दिने ठहर गरेको र कसूर नै कायम गर्न नमिली सफाई दिने समेत ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसलामा कुनै कानुनी त्रुटि देखिन नआउँदा इन्साफ मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

११२.   विध्वंसात्मक अपराध सम्बन्धी अदालतको फैसला उपर पुनरावेदन नगर्ने प्रतिवादीहरुको हकमा साधक तहबाट इन्साफतर्फ विचार गर्दा, वारदात नभएको, वारदातमा आफ्नो संलग्नता नरहेको, वारदात आफूले नगराएको भन्ने अभियुक्तहरुको जिकिर मिसिल संलग्न कागजातबाट नपाइएको घटनास्थल प्रकृति मुचुल्का, विष्फोटक पदार्थ बम सहित पक्राउ परेका अभियुक्तहरु र काठमाडौंको विभिन्न ठाउँमा विष्फोटन गर्न खटि आएका अभियुक्तहरुमध्ये चन्द्रदेव ठाकुर समेतको साविती बयानबाट अभियुक्तमध्ये प्रेमबहादुर विश्वकर्माले होटल अन्नपूर्णमा विष्फोटक पदार्थ बम राखी विष्फोटन गराई भवनको भौतिक क्षति र होटलका कर्मचारीहरु नीरुजा श्रेष्ठ, भूमिनारायण श्रेष्ठ र सरीता पौडेलको मृत्यु भएको निज अभियुक्त समेतलाई काठमाडौंमा विध्वंसात्मक कार्य गर्न गराउन विदेशी भूमिमा रामराजाप्रसाद सिंह र लक्ष्मणप्रसाद सिंहले खडा गरेको गिरोहले खेमराज मायालु समेतको सहमतिबाट विष्फोटक पदार्थ सहित विध्वंसात्मक कार्य गराउन गर्न पठाएको सिद्ध हुन आएकोले विध्वंसात्मक अपराध (विशेष नियन्त्रण तथा सजायँ) ऐन, २०४२ को दफा ३(१) र ३(२) को कसूरमा सोही ऐनको दफा ७(१) अनुसार अभियुक्तहरुमध्ये प्रेमबहादुर विश्वकर्मा, रामराजाप्रसाद सिंह, लक्ष्मणप्रसाद सिंहलाई मृत्युदण्डको सजायँ गर्ने ठहर गरेको विध्वंसात्मक अपराध सम्बन्धी अदालतको इन्साफमा केही परिवर्तन गरी रहन परेन । इन्साफ मनासिब ठहर्छ । साधकको लगत कट्टा गरी दिई मिसिल नियमानुसार गरी बुझाई दिनु।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.पृथ्वीबहादुर सिंह,

 न्या.महेशरामभक्त माथेमा

 

इति सम्वत् २०४५ साल ज्येष्ठ २४ गते रोज २ शुभम् ।