March 30, 1989
Created by nepalarchives

निर्णय नं. ३७१८ – बन्धकी निखनाई पाउँ

निर्णय नं. ३७१८     ने.का.प. २०४६      अङ्क २   पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी...

निर्णय नं. ३७१८     ने.का.प. २०४६      अङ्क २

 

पूर्ण इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल

माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान

माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह

सम्वत् २०४२ सालको दे.पु.इ. नम्बर ७४

फैसला भएको मिति : २०४५।१२।१७।५ मा

निवेदक/वादी : का.जि. फर्पिड्ड छइमले गा.पं. वडा नं. ६ बस्ने चेतनकुमारी आचार्य

विरुद्ध

विपक्षी/प्रतिवादी : रौद्र शमशेर थापाको मु.स. गर्ने का.न.पं. वडा नं. १ नक्साल नागपोखरी बस्ने लोकप्रकाशकुमारी थापासमेत सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३८।१।५ को फैसला २०४१।४।१२ को फुलबेञ्चको फैसला (ने.का.प. भाग २६, २०४१, अंक ४, नि.नं. १९५२, पृष्ठ ३०१ मा प्रकाशित)

मुद्दा : बन्धकी निखनाई पाउँ

(१)    खाली मुखकै भरमा एकाका नाममा दर्ता रहेको भनी आफैंले स्वीकारेकाले जग्गामा प्रतिवादीहरुको हक भएको भन्न कानुनले नमिल्ने ।

(प्रकरण नं. १६)

पुनरावेदक/वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान वरिष्ठ अधिवक्ता श्री     मुकुन्द रेग्मी

विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

फैसला

न्या.गजेन्द्रकेशरी बास्तोला

१.     सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४१।४।१२ गतेको फैसला पुनः पूर्ण इजलासबाट हेरी छिनी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी वादी चेतनकुमारी आचार्यले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए फुलबेञ्चबाट छिनिएको प्रस्तुत मुद्दाको मिसिल झिकी पुनः फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ ।

२.    जिल्ला विराटनगर प्र. गोग्राहा मौजे मझुवा वकरीमा मेरो ससुरा चन्द्रमणीका नाममा दर्ता भएको रै.नं. १९ मौजा नं. २४६ को कित्ता कित्ता गरी जग्गा बिगहा २७१४४ जग्गा १९७० साल अघि नै कं. रु. ५२०।लिई कर्णेल डिल्ली शमशेरलाई भोगबन्धकी दिएको रहेछ सो जग्गा मेरा नाममा दर्ता गरिदिनु हवस् भनी जिमिदारी भीमप्रसाद समेतलाई भन्दा गरी नदिएको नापीमा बन्धकी जनाइदेउ भन्दा जनाई पनि नदिएकोले सोही कुराको प्रधानमन्त्रीज्यूमा निवेदन दिंदा नापी डोर समेतको उजूरी हुँदा भोगवाला साहुहरु झिकाई बुझी दर्ता गर्नेहरुमा ऐन सवाल रुल नियम बमोजिम गर्नु भन्ने आदेश भई सर्भे गोश्वारामा आई साहुहरु झिकी भोगबन्धकी लिएको होइन भन्ने र सो जग्गा बण्डा गरी खाई आएका छौं भन्ने कागज लेखी दिएबाट तेरो मेरो पर्न आई ऐनका म्यादभित्र इलाका अदालतमा गई हक बेहक छुट्याई आउनु भनी मिति २०१७।१२।४ मा पर्चा गरिदिएबाट मलाई हकदार होइन भनी थैली बुझिलिन मन्जूर नगरेकोले सो बन्धकी थैली रु. ५२०।धरौट राखी नालेश गर्न आएकी छु । ससुरा चन्द्रमणीको हक छुटेको लिखत कुनै छ भन्छन भने मलाई देखाएमा बयान गर्ने छु छैन भन्ने बुझी लिनुपर्ने थैली बुझी नलिएमा सजायँ गरी बन्धकी थैली तिराई उक्त जग्गा निखनाई पाउँ भन्ने समेत वादी दावी ।

३.    यी वादी चन्द्रमणीको बुहारी होइनन् यीनले सर्भेमा यही नै जग्गा विषयमा उजूरी दिएकी थिइन । सर्भेबाट जग्गा हक बेहकमा निर्णय भएपछि मात्र बन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने नालेश दर्ता हुनु पर्ने थियो सो भएन चन्द्रमणीबाट बन्धकीमा लिए खाएको होइन चन्द्रमणी ६० सालमा परलोक भएका र हाम्रो मुख्य कारिन्दा हुँदा उनको नाममा जग्गा दर्ता हुन गए तापनि हकदार चन्द्रमणीका कोही नहुँदा नामसारी हुन नसकेको हाम्रो रुपैयाँबाट खरीद गरी कारिन्दाका नाममा दर्ता सम्म हुन गएको हो हाम्रो गोश्वारामा रही हामीले उपभोग गरी आएको हाम्रो जग्गा हुँदा हाम्रै सदर थामी पाउँ भन्ने समेत रौद्र शमशेर, किरण शमशेर समेतको प्रतिउत्तरपत्र ।

४.    चन्द्रमणी हाम्रो कारिन्दा हुन हामीले कारिन्दाका नामबाट जग्गा खरीद गराई कारिन्दाकै नाममा दर्ता गराई भोगी आएको हुँदा बन्धकी लिएको होइन । चन्द्रमणी परलोक भई निजको हकदार नहुँदा नामसारी हुन नसकी रहेको सर्भेले सुनाए उपर केही नगरी बन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भनी वादीले झुठ्ठा फिराद दिएकी हुन् भन्ने समेत डम्बर शमशेरको प्रतिउत्तरपत्र ।

५.    वादी दावी बमोजिमको जग्गा बन्धकी लिएको होइन । हाम्रो गोश्वारामा विर्ता कचहरीमा अघि ५८।५९ सालमा चन्द्रमणी हाम्रो निजामती हाकिम थिए त्यसैबखत हाम्रो रुपैयाँबाट खरीद भएको हाम्रो जग्गा हो भन्ने समेत दिव्य राजेश्वरीको प्रतिउत्तरपत्र ।

६.    चन्द्रमणीको छोरा मेरा पति कीर्तिप्रसाद हुन् म चन्द्रमणीका बुहारी हुँ भन्ने समेत कुरा ध्रुवलाल डोटेल र म चेतनकुमारी भएको अंश मुद्दा मिति १९८७।३।५।२ मा डायर भएको र १९८८।९।८ मा खारेजी फैसला भएको मिसिलबाट प्रष्ट देखिने छ । सो समेत बुझी पाउँ भन्ने समेत चेतनकुमारी आचार्यको वा.हरिविनोदको बयान ।

७.    यी वादी चन्द्रमणीको बुहारी हो, होइन भन्ने कुरा प्रतिवादीहरुले प्रतिवादी भई लेखिदिएको र निखनाई पाउँ भन्ने जग्गामा अरु कसैको हक छैन भए २००७ सालभन्दा पहिले आफ्नो हकको जग्गा आफ्ना आफ्ना नाममा दर्ता गराउनु भन्ने सवाल ईस्तिहार समेत भएको हकदार भए बन्धकी दिएको जनाई दर्ता समेत गराउन सक्नु पर्ने सो नसकेबाट हकदार भनेका चन्द्रमणीका नाममै कायम रहन सक्ने थिएन भन्ने समेत प्रतिवादीको वा.त्रिलोचनको बयान ।

८.    वादी यदि चन्द्रमणीको बुहारी नभई अरु नै थिइन भने फलानाको बुहारी भनी प्रतिवादीहरुले देखाउन सक्नु पर्ने सो नभई सिर्फ चन्द्रमणीको बुहारी होइनन् भन्ने समेत लेखेको र वादीका साक्षीहरुबाट चन्द्रमणीका बुहारी हुन् भन्ने देखिन आएबाट समेत वादी चन्द्रमणीको बुहारी कायम हुन्छ । अब बन्धकीको हकमा बन्धकी दिएको निस्सा वादीबाट पेश भएको छैन तापनि चन्द्रमणीको दर्ता जग्गा आजसम्म निजैको नाममा कायम रहेको देखिनाले समेत दावी बमोजिम बन्धकी निखन्न पाउने समेत ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको २०३०।१।१० गतेको फैसला ।

९.    काठमाडौं जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरुको पुनरावेदनपत्र ।

१०.    प्रतिवादीकै साक्षी पद्मनाथ उपाध्यायले बकपत्र गर्दा वादी चेतनकुमारी आचार्य, चन्द्रमणीकी बुहारी र चन्द्रमणीले डिल्ली शमशेरलाई बन्धकी दिएको थियो भन्ने बकेको देखिएकोले प्रतिवादीकै उक्त साक्षीबाट वादीको दावी समर्थित भएको समेत देखिन आयो । बन्धकी बाहेक अन्य अवस्थामा वादीको ससुरा चन्द्रमणीको नामको दर्ताको जग्गा प्रतिवादीले भोग चलन नै गर्ने अवस्था पनि देखिन आउँदैन । शुरु फैसलामा लेखिएको बूँदा प्रमाण समेतबाट शुरुले गरेको फैसला मनासिब ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३३।१२।२१।१ को फैसला ।

११.    मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर इन्साफ जाँची दिनु भन्ने हुकुम प्रमांगी बक्स भई निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा वादीका साक्षीहरुले वादी चेतनकुमारी, चन्द्रमणीकी बुहारी भएको कुरा समर्थन गरी बक्नुको साथै प्रतिवादीकै साक्षी मध्ये पद्मनाथ उपाध्यायले बकपत्र गर्दा वादी चेतनकुमारी चन्द्रमणीको बुहारी हुन् भन्ने र चन्द्रमणीले डिल्ली शमशेरलाई बन्धकी दिएको थियो भनी बकेको पाइन्छ । वादीको ससुरा चन्द्रमणीको नामको दर्ताको जग्गा प्रतिवादीले बन्धकी बाहेक अन्य तरिकाबाट भोगचलन गर्न पाउने प्रमाण देखिन नआएकोले मिति २०३०।१।१०।१ को शुरु जिल्ला अदालतको फैसला सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०३८।१।५ गतेको फैसला ।

१२.   वादी दावी प्रमाणित हुने कुनै किसिमको लिखत वादी पक्षबाट मुद्दामा पेश भएको छैन र फिरादपत्रमा भोगबन्धकी तमसुक प्रतिवादीहरुसंग नै छ भनी स्पष्ट उल्लेख गरेबाट वादीसंग भोगबन्धकी व्यवहार प्रमाणित हुने कुनै लिखत नभएको स्पष्ट देखिएको छ । भोगबन्धकी लिखतमा को को साक्षीहरु थिए ती साक्षीहरुको नाम फिरादपत्रमा उल्लेख नहुनुबाट वादीको भनाई प्रमाणित हुने अवस्था पनि देखिन आएन । वादी दावीको जग्गा वादीको ससुरा चन्द्रमणीको हकको भए यो जग्गा पनि बण्डा हुनै पर्ने सो भएको नदेखिएकोले चन्द्रमणीका नाममा दर्ता रहेको आधारबाट मात्र यी वादीले अहिले आएर दावी लिएको देखिन आउँदा भोगबन्धकीका आधारमा वादी दावीको जग्गामा प्रतिवादीहरुले गरेको देखिन आउँदैन । प्रमाणको मूल्यांकन नगरी भोगबन्धकी भन्ने अनुमानित आधार बनाई निखन्न पाउने निर्णय भएको त्रुटिपूर्ण देखिन आउँछ भन्ने समेत न्यायिक समितिको पर्चा ।

१३.   विवादको जग्गा डिल्ली शमशेरलाई भोगबन्धकी दिएको भन्ने वादीको जिकिर भएकोले यस्तो दावी प्रमाणित गर्ने भार वादीकै हुने स्थिति छ । तर भोगबन्धकीमा दिएको तथ्ययुक्त कुनै सबूद वादीबाट आउन सकेको छैन । वादीका ससुरा चन्द्रमणी प्रतिवादीका कारिन्दा भई बसेको कुरामा विवाद देखिदैन । आफ्ना मानिस नोकर चाकर कारिन्दा समेतका नाममा उस बखत जग्गा राख्ने प्रथा भएको कुरा पनि तत्काल बहाल रहेको सनदबाट देखिन्छ । १९७० साल अघि देखि कं. रु. ५२०।मा वादीले भोगबन्धकीमा दिएको भनिएकोमा ज.वि. २७१४४ जग्गा यत्तिका समयसम्म ननिखनाई रहनु पर्ने युक्तिसंगत आधार पनि केही देखिंदैन । चन्द्रमणीका नाममा भएको दर्ता बाहेक अन्य कुनै प्रमाण वादीबाट पेश हुन सकेको पनि देखिंदैन । यसबाट विवादको जग्गा चन्द्रमणीको नाममा दर्ता राखी आफूहरुले भोग चलन गरेको भन्ने प्रतिवादीहरुको भनाई नै पुष्टी हुन आयो । अरुको नाममा लिखत गरी जग्गा आफैंले भोग गरेको प्रमाणबाट देखिएमा जग्गा भोग तिरो गर्नेकै ठहर्ने भन्ने समेत सिद्धान्त नारायणविक्रम शाह समेत विरुद्ध गंगादेवी भण्डारी समेत भएको (नि.नं. ७९८ ने.का.प. २०३१ पृष्ठ १८) मा फुलबेञ्चबाट २०३०।११।१८।६ मा प्रतिपादन भएको हुँदा भोगबन्धकीको थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्छ भन्ने समेत यस अदालत पूर्ण इजलासको मिति २०४१।४।१२ गतेको फैसला ।

१४.   सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४१।४।१२ गतेको फैसला पुनः पूर्ण इजलासबाट हेरी छिनिदिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भनी वादी चेतनकुमारी आचार्यले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए फुलबेञ्चबाट छिनिएको प्रस्तुत मुद्दाको मिसिल झिकी पुनः फुलबेञ्चबाट दोहोराई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराज सरकारबाट हु.प्र. बक्स भई पेश हुन आएको रहेछ ।

१५.   निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद पन्त र मुकुन्द रेग्मीले जग्गा जसको नाम दर्तामा छ उसैको स्वामित्व मानिन्छ । जग्गा दर्तावालाबाट हक टुटाएको कानुनी मान्यता प्राप्त लिखत नभएसम्म सो जग्गामा दर्तावालाको हक स्वामित्व कायमै रहन्छ । विवादित जग्गा चन्द्रमणिका नाममा दर्ता भएको र यी वादी चन्द्रमणीकी बुहारी भएको कुरामा विवाद देखिंदैन । बयानबहादुर प्रधान विरुद्ध मंसीरमाया तामाङ भएको बन्धकी निखनाई पाउने भन्ने मुद्दामा (नि.नं. ६६२ ने.का.प. २०२९ पृष्ठ २७) हक हस्तान्तरणको सबूद नभएसम्म दर्तावालाकै जग्गा मान्नु पर्नेभनी सिद्धान्त प्रतिपादन समेत भइसकेको छ । हक टुटाई लिएको लिखत नभएसम्म दर्तावालाको जग्गा बन्धकी बाहेक अन्य किसिमले भोग गर्न सकिने स्थिति रहँदैन । कारिन्दाका नाम दर्ता गरी हाम्रो हक स्वामित्व राखेको भन्ने प्रतिवाद भएपछि त्यस्तो कुराको प्रमाणित गर्ने भार प्रतिवादीमा जान्छ । तर सो कुरा प्रतिवादीले प्रमाणित गर्न सकेका छैनन् । कारिन्दा बसेका कारणबाट चन्द्रमणीका नामको जग्गा प्रतिवादीहरुकै जग्गा हो भन्न मिल्दैन भन्ने र विपक्षी प्रतिवादीहरुको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्माले बन्धकी हो भन्ने वादी बन्धकी होइन भन्ने प्रतिवादी भएपछि यो विवादित जग्गा बन्धकी हो होइन भनी निर्णय गर्नुपर्ने हुन्छ । प्रतिवादीहरुको अध्यापी भोग रहेको भन्ने कुरामा विवाद छैन । १९७० साल अघि चन्द्रमणीले बन्धकी दिएको भनी अनुमानित कुरा उठाइएको छ । तथ्यसाथ यो यस मितिमा यसरी बन्धकी दिएको भनी वादीले प्रमाणित गर्न सक्नु भएको छैन । २००० साल भन्दा अघि अर्काका नाममा जग्गा दर्ता गरी आफ्नो हक स्वामित्वमा राख्न सक्ने स्थिति थियो । २००० सालको सनद पछि पनि स्वामित्वको हैसियतले प्रतिवादीहरुले भोग गरेकोमा वादीको नालेश गर्ने हकदैया रहदैन । चन्द्रमणीको नामको सबै जग्गा १९७४ सालमै नामसारी गरिएको छ तर यो विवादित जग्गा नामसारी गरिएको छैन । १९८२ सालमा मधेश र १९८५ सालमा नेपाल पहाडको जग्गा सम्पत्ति अंश बण्डा हुँदा यी जग्गा बण्डामा उल्लेख नै गरिएको छैन । यदी यो जग्गा वास्तव मै चन्द्रमणीकै हुँदो हो त १९७४ सालमा अरु जग्गा नामसारी हुँदा यो पनि नामसारी गरिने थियो र १९८२ मा बण्डा हुँदा बण्डापत्रमा पनि खुलाइने  थियो । सो नखुलाएबाट प्रतिवादीहरुले कारिन्दा चन्द्रमणीका नाममा दर्ता गरी आफ्नो हक स्वामित्वमा राखी भोगचलन समेत गर्दै आएका हुन यस्तोमा वादी दावी नपुग्ने ठहर्‍याएको यस अदालत फुलबेञ्चको मिति २०४१।४।१२ गतेको निर्णय सदर हुनु पर्ने भनी बहस गर्नु भयो ।

१६.    आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा यसमा विराटनगर प्र.गोग्राहा मौजा मझुवा वकरीको मेरा ससुरा चन्द्रमणीका नाममा रै.नं. १९ मौजा नं. २४६ मा दर्ता भएको जम्मा जग्गा बिगाहा २७।।४ ४ जग्गा १९७० साल अघि नै रु. ५२०। लिई कर्णेल डिल्ली शमसेर थापा क्षेत्रीलाई भोगबन्धकी दिएकोमा थैली बुझी निखनी नदिएकोले उक्त बन्धकी थैली बुझाई जग्गा निखनाई पाउँ भन्ने फिराद दावी । वादी दावीको जग्गा बन्धकी लिएको होइन हामीहरुको गोश्वारा आयस्ताबाट खरिद भई उस बखतमा कारिन्दा चन्द्रमणी आचार्यका नाममा दर्ता राखी हामीले नै भोगी आएका हौं । नामसारी हुन नपाएको भन्दैमा हाम्रो हक स्वामित्व टुट्न सक्दैन भन्ने प्रतिउत्तरपत्र रहेछ । वादीले निखनाई पाउँ भनी दावी लिएको जग्गा वादीको ससुरा चन्द्रमणीको नाममा दर्ता रहेकोमा विपक्षी प्रतिवादीहरुले स्वीकारै गरेको देखिन्छ । प्रतिवादीहरुले सो जग्गा वादीका ससुरा चन्द्रमणी आफ्नो तहविलको मुख्य कारिन्दा भएको र प्रतिवादीहरु धेरै अंशियार भएकोले व्यवहार चलाउन अप्ठ्यारो परेको हुँदा तहविलको रकमबाट निजको नाममा खरिद गरी आफूले निजैको नामबाट तिरो भरो गरी भोगी आएको आफ्नो जग्गा हो । भोगबन्धकी लिएको होइन भनी जिकिर लिएको पाइन्छ । तर प्रतिवादीहरुको जिकिर बमोजिम प्रतिवादीहरुको तहविलबाट खर्च लेखाई दावीको जग्गा खरिद भएको भन्ने कुराको सबूद आउन सकेको छैन । यस अवस्थामा खाली मुखकै भरमा एकाका नाममा दर्ता रहेको भनी आफैंले स्वीकारेकाले जग्गामा प्रतिवादीहरुको हक भएको भन्न कानुनले मिल्ने देखिएन । प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा देखाउनु भएको ने.का.प. २०३१ पृष्ठ १८ मा प्रकाशित नारायणविक्रम शाह समेत विरुद्ध गंगादेवी भण्डारी समेत भएको जालसाजी मुद्दामा यस अदालत फुलबेञ्चबाट मिति २०३०।११।१८ गतेमा निर्णय भई यस्तै एकाको नाममा दर्ता रहेको जग्गा अरुको हक कायम हुने भनी ठहर भइरहेको भए तापनि सो मुद्दामा विवादको जग्गा खरिद गर्नको लागि तहविलबाट रकम खर्च लेखिएको र जसको नाममा जग्गा खरिद गरिएको भनिएको छ निजैले पनि सो जग्गा आफ्नो नाममा भए पनि आफ्नो होइन भनी लेखिदिएको समेत देखिन्छ । तर प्रस्तुत मुद्दामा तहविलबाट खर्च लेखी जग्गा खरिद गरिएको तथा दर्तावालाले पनि यो जग्गा मेरो होइन भनी कही कतै भनेको पाइन्न । अतः सो नजीरको आधारमा यस मुद्दामा विवादको जग्गा प्रतिवादीहरुको हो भनी ठहर गर्न मिल्ने देखिएन । जहाँसम्म भोगबन्धकीको सबूद नआएको भनिएको छ त्यसतर्फ विचार गर्दा जुन अवस्थामा वादीले भोगबन्धकीमा दिएको भनी देखाइएको छ त्यस अवस्थामा तत्काल प्रचलित साहु असामीको ३४ नं. मा भोगबन्धकीको लिखत दोहोरी हुनु पर्ने व्यवस्था गरेको भए दोहरी नगरेको भए पनि जरिवाना आदि गरी भोगबन्धकीको कुरामा इन्साफ दिन सकिने कानुनी व्यवस्था भएकै देखिन्छ । दोहरी नभएको कारणबाट मात्र वादीका ससुरा चन्द्रमणीको नाममा दर्ता रहेको जग्गा निजबाट हक टुटाई आफूले सो हक प्राप्त गरेको लिखत प्रमाण बेगर विपक्षी प्रतिवादीहरुको हक हुन सक्ने अन्य कुनै आधार नहुँदा जग्गा भोगी आएका विपक्षी प्रतिवादीले दावी बमोजिम भोगबन्धकीको नाताबाट भोगेको होइन भन्न कानुनले मिल्ने नहुँदा वादी दावीको जग्गा भोगबन्धकी कायम गरी निखन्न पाउने ठहराएको सर्वोच्च अदालत डिभिजनबेञ्चको मिति २०३८।१।५ को इन्साफ मनासिब ठहर्छ । वादी दावी नपुग्ने ठहराएको सर्वोच्च अदालत फुलबेञ्चको मिति २०४१।४।१२ गतेको फैसला मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले सर्वोच्च अदालत फुलबेञ्चको मिति २०४१।४।१२ गतेको फैसलाले शुरु का.जि.अ. को मिति २०३०।१।१० गतेको फैसला बमोजिमको लगत कट्टा गर्ने गरेकोमा सो बमोजिम लगत कट्टा गर्नु पर्दैन सो का.जि.अ. को २०३०।१।१० को फैसला बमोजिमको लगत कायम गर्नु भनी का.जि.अ. मा लगत दिनु ……..१ सर्वोच्च अदालत फुलबेञ्चको मिति २०४१।४।१२ को फैसलाले का.जि.अ.मा मिति २०१८।२।२० मा वादीले धरौट राखेको रु. ५२०।वादीलाई फिर्ता दिने गरेकोमा सो बमोजिम वादीलाई फिर्ता दिनु परेन सो फिर्ता दिने गरेको लगत काटी दिनु भनी शुरु जि.अ. मा लगत दिनु …..२ सर्वोच्च अदालत फुलबेञ्चको मिति २०४१।४।१२ को फैसलाले प्रतिवादीहरुलाई जम्मा कोर्टफि रु. २७।५० वादीबाट भराउने गरेकोमा सो बमोजिम भरी भराउ गर्नु नपर्ने सो भराउने गरेको कोर्टफिको लगत काटी दिनु भनी का.जि.अ. मा लगत दिनु ……..३ सर्वोच्च अदालत फुलबेञ्चको मिति २०४१।४।१२ को फैसलाले वादीबाट प्रतिवादीहरुलाई भराउने गरेको कोर्टफि रु. २७।५० वादीले मुद्दा दोहोराई ल्याउँदा यस अदालतको मिति २०४२।५।१७ गतेको पत्रसाथ का.जि.अ. मा धरौट राखेको देखिंदा सो धरौटी फिर्ता पाउँ भनी वादीको ऐनको म्यादभित्र दरखास्त परे दस्तूर केही नलिई वादीलाई फिर्ता दिनु भनी का.जि.अ. मा लगत दिनु…….४  वादी चेतनकुमारी आचार्यके मुद्दा दोहराई ल्याउँदा राखेको कोर्टफि रु. २।४९ प्रतिवादीहरुबाट भराई पाउँ भनी वादीको ऐनको म्यादभित्र दरखास्त परे केही नलिई प्रतिवादीहरुबाट बराबरका दरले वादीलाई भराई दिनु भनी का.जि.अ. मा लगत दिनु ………५

उक्त रायमा हामी सहमत छौं । न्या.सुरेन्द्रप्रसाद सिंह, न्या.हिरण्येश्वरमान प्रधान, न्या.रुद्रबहादुर सिंह

माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय

            यसमा विवादको जग्गा वि.सं. १९७० साल अघि नै ससुरा चन्द्रमणीले डिल्ली शमशेरलाई भोगबन्धकीमा दिएकोले निखनाई पाउँ भन्ने फिराद दावी छ । उक्त जग्गा हालसम्म पनि प्रतिवादीको भोगमा रहेको भन्ने कुरामा विवाद देखिंदैन । यस्तो अर्काको भोगमा रहेको जग्गा यो यस कारणले भोग गरिरहेको हाम्रो जग्गा हो भनी दावी लिएपछि यस्तो दावी प्रमाणित गर्ने भार पनि वादीमा नै रहन्छ । तर सो बमोजिम भोगबन्धकीमा दिएको भन्ने दोहोरो लिखत सहितको तथ्ययुक्त कुनै सबूद वादीबाट आउन सकेको छैन । विवादको जग्गा चन्द्रमणीको नाममा दर्ता छ । प्रतिवादीहरुले आफ्नो तहविल गोश्वाराबाट जग्गा खरिद गरी कारिन्दा चन्द्रमणीको नाममा दर्ता राखी आफूले भोगचलन गरेको भनी प्रतिउत्तरपत्र गरेको देखिन्छ । वादीका ससुरा चन्द्रमणी प्रतिवादीहरुका कारिन्दा रहे बसेको कुरामा विवाद देखिंदैन । तत्कालिन अवस्थामा आफ्नो नोकर चाकर कारिन्दा लगायतका व्यक्तिहरुको नाममा जग्गा राखी भोग गर्ने प्रथा तत्काल बहाल रहेका सनदबाट देखिन्छ । वादी ध्रुवलाल र प्रतिवादी चेतनकुमारी समेत भएको अंश बण्डा जग्गा बण्डा गराई पाउँ भन्ने मुद्दामा चन्द्रमणीले अरुकै नाममा दर्ता राखी जग्गाधनीको हैसियतले आफूले भोग गरेको कुरालाई चेतनकुमारीले सो मुद्दामा दिएको प्रतिउत्तरपत्रमा स्वीकार गरेबाट भोगबन्धकी बाहेक अरुको नाममा दर्ता राखी जग्गाधनीको हैसियतमा आफूले भोग गर्न सक्ने चलन चल्ती रहे भएको पुष्टि हुन्छ । चन्द्रमणीको नाममा दर्ता रहेको बाहेक हक स्वामित्व सम्बन्धी अन्य कुनै पनि सबूद प्रमाण वादीले गुजार्न सकेको पाइदैन । यस्तै तथ्य भएको विक्रम शाह समेत विरुद्ध गंगादेवी भण्डारी समेत भएको जालसाजी मुद्दामा गोश्वारा तहविलको खर्चबाट जग्गा खरिद गरी कारिन्दाको नाममा दर्ता राखी आफूले भोग गरेको देखिएमा दर्तावालाको नभई भोगवालाकै हक स्वामित्वको मानिने भनी (ने.का.प. २०३१ पृष्ठ १८) सर्वोच्च अदालत फुलबेञ्चबाट मिति २०३०।११।१८ गतेमा सिद्धान्त समेत प्रतिपादित भइसकेको देखिन्छ । साथै भूमिसम्बन्धी ऐन, २०२१ को दफा ९ को उपदफा १ मा कुनै व्यक्ति वा निजको परिवारले आफैंले भोग गर्ने मनसायले अरु व्यक्ति खडा गरी आफ्नो जग्गा रजिष्ट्रेशन  पास गरी वा अरु कुनै व्यहोराबाट हक छाडी दिई वा अरु व्यक्तिका नाममा कुनै व्यहोराबाट जग्गा प्राप्त गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जग्गा आफैंले भोग गरेको रहेछ भने त्यस्तो जग्गा समेत निजकै साथमा कायम रहेको सरह मानी अधिकतम हदबन्दी कायम गरिनेछभन्ने उल्लेख भएको पाइन्छ । उक्त व्यवस्थाबाट अर्काकै नाममा जग्गा खरिद गरी जग्गाधनीको हैसियतले आफूले भोग चलन गर्न सकिने प्रष्ट छ । त्यसमा पनि आफ्नो तहविलको कारिन्दा चन्द्रमणी उपाध्यायको नाममा जग्गा खरिद गरी निजकै नाममा जग्गा दर्ता राखी प्रतिवादीहरुले निरन्तर भोग चलन गरी आएको त्यस्तो जग्गामा जग्गाधनीको हैसियत बाहेक कुनै अन्य व्यहोराबाट भोगचलन गरेको भन्ने ठोस एवं तथ्ययुक्त प्रमाणको अभावमा सो जग्गामा प्रतिवादीहरुको हक स्वामित्व रहन नसक्ने भन्न मिल्ने देखिएन । यसरी विवादित जग्गा भोगबन्धकीमा दिएको भन्ने कुरा पुष्ट्याई हुन नसकेकोले थैली बुझाई निखनाई पाउँ भन्ने वादी दावी नपुग्ने ठहर्‍याएको सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४१।४।१२ गतेको फैसलामा कुनै त्रुटि नहुँदा सोही इन्साफ मनासिब ठहर्छ । बहुमतको रायसँग सहमत नहुँदा आफ्नो छुट्टैराय व्यक्त गरेकोछु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या.बब्बरप्रसाद सिंह,

न्या.हरगोविन्द सिंह प्रधान

 

इति सम्वत् २०४५ साल चैत्र १७ गते रोज ५ शुभम् ।