निर्णय नं. ८०६९ – कर्तव्य ज्यान ।
निर्णय नं. ८०६९ जेठ २०६६ अङ्क २ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश...
निर्णय नं. ८०६९ जेठ २०६६ अङ्क २
सर्वोच्च अदालत, पूर्ण इजलास
माननीय न्यायाधीश श्री खिलराज रेग्मी
माननीय न्यायाधीश श्री बलराम के.सी.
माननीय न्यायाधीश श्री तपबहादुर मगर
फौ.पु.इ.नं.. २१
फैसला मितिः २०६५।११।२२।५
मुद्दाः कर्तव्य ज्यान ।
पुनरावेदक वादीः पुष्परत्न भन्ने आश्विनकुमार स्थापितको जाहेरीले नेपाल सरकार
विरुद्ध
विपक्षी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका चिकमुँगल बस्ने पुष्परत्न भन्ने आश्विनकुमार स्थापित समेत
शुरु फैसला गर्नेः
मा.जि.न्या.श्री विष्णुप्रसाद पौडेल
पुनरावेदन फैसला गर्नेः
मा.न्या.श्री कोमलनाथ शर्मा
मा.न्या.श्री खेमराज शर्मा
सर्वोच्च अदालत संयुक्त इजलास
मा.न्या.दीलिपकुमार पौडेल
मा.न्या. श्री राजेन्द्रकुमार भण्डारी
§ घटनाको कारणका रुपमा प्रस्तुत गरिएको तथ्य अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि प्रमाणित भएबाट सो वयान स्वेच्छा प्रतिकूलको भनी अदालत समक्ष दावी लिँदैमा त्यस्तो वयानको प्रामाणिक मूल्यमा प्रश्न उठाउन नमिल्ने ।
(प्रकरण नं.४)
§ लाश प्रकृति मुचुल्काले बाहिरबाट देखिने लाशको अवस्थाको सामान्य चित्रण मात्रै गर्ने र त्यसरी मुचुल्का तयार गर्दा विशेषज्ञको उपस्थिति नरहने यथार्थतालाई पनि विर्सन नमिल्ने ।
§ सामान्य अवस्थामा बाहिरबाट हेर्दा नदेखिने कतिपय घाउ, चोट, दाग वा चिन्ह शव परीक्षणका क्रममा देखिनुलाई अन्यथा मान्न नसकिने , किनभने शव परीक्षण भनेको शवको बाहिरी तथा भित्री सम्पूर्ण अवस्थाका सम्बन्धमा विशेषज्ञद्वारा गरिने विशेष अध्ययन, अनुसन्धानयुक्त परीक्षण भएकाले त्यस्तो परीक्षणबाट शवमा रहेका मृत्युअघि (Ante-Mortem) र मृत्युपछि (Post-Mortem) का सबै लक्षणहरूको पहिचान गरिने हुँदा त्यस्तो परीक्षणबाट देखिएको चिन्ह लाश प्रकृति मुचुल्कामा नदेखिएको अवस्थालाई ती दुई प्रमाणका बीचमा तादात्म्यता नरहेको भनी संज्ञा दिन नमिल्ने ।
(प्रकरण नं.७)
पुनरावेदक वादी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटी
विपक्षी प्रतिवादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ताद्वय श्री सर्वज्ञरत्न तुलाधर र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री लभ मैनाली, श्री गीता पाठक, संग्रौला, श्री विश्वप्रकाश भण्डारी, श्री हिरा रेग्मी र श्री सन्तकुमार बाँस्कोटा
अवलम्वित नजीरः
सम्बद्ध कानूनः
§ प्रमाण ऐन, २०३१ को दफा ९(२)(क), १८
§ ज्यानसम्बन्धी महलको १३(३)
फैसला
न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनबाट भएको मिति २०५४।३।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम वादी/प्रतिवादी दुबैतर्फको पुनरावेदन परी पेश हुँदा संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :-
मिति २०४९।९।२४ गतेदेखि म आफ्नो घरमा काजक्रियामा रहेकोले सानीआमा (नानीशोभा उदास) लाई भेटघाट गर्न सकेको थिइन । उनी नै म कहाँ वेला वेलामा आउँदथिन् । मिति २०४९।९।२७ का दिन म आफ्नो अफीसमा गएको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा सदस्य माणिकरत्न स्थापितले तिम्रो सानीमा दूध लिन पनि आएकी छैनन्, ३ दिन देखि कतै देखिएकी छैनन् । ढोका वन्द छ भनी निजले भने पछि निज वडा सदस्य र म गै हेर्दा ढोका बन्द थियो । निज वडा सदस्यकै सल्लाह अनुसार पुलिसलाई खवर गरी पुलिस लिई उक्त स्थानमा गै चुकुल नलागेको ढोका खोली हेर्दा निज सानीआमालाई खुट्टामा बाँधी कर्तव्य गरी मारेको र सम्पत्ति चोरी लगेको हुँदा अनुसन्धान गरी कानूनी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको आश्विनकुमार स्थापितको मिति २०४९।९।२७ को जाहेरी दर्खास्त ।
दक्षिणतर्फ संकटा मन्दिरको कम्पाउण्ड, उत्तरतर्फ मृतकको घर, पूर्वतर्फ कमल चित्रकारको घर, पश्चिमतर्फ चतुररत्नको घर यति ४ किल्ला भित्र पर्ने काठमाडौं जिल्ला टेवहाल स्थित नानीशोभा उदासको घर रहेको, उक्त घरको भुईं तल्लाको पश्चिमतर्फको कोठाको पूर्व पट्टीको गाह्रोमा २ फिट परिधिको प्वाल पारेको र माथिल्लो तल्लामा आई हेर्दा झ्याल खुला रहेको, ओछ्यान लथालिङ्ग भएको, सो स्थानमा नानीशोभा मृतक अवस्थामा रहेको, टिनको वाक्सा खुला अवस्थामा रहेको, पूजा गर्ने ठाउँमा मूर्ति नभएको, दुवै गोडाको पिँडौलामा सेतो कपडाले वाँधेको, सोही कपडाले दुवै हात पछाडि लगी वाँधिएको, लास घोप्टो रहेको भन्ने समेत व्यहोराको मिति २०४९।९।२७ को घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का ।
मिति २०४९।९।२७ मा जिल्ला प्रहरी कार्यालयमा मृतकका सम्बन्धमा माणिकरत्न स्थापित तथा पुरुषोत्तम सिक्राकारले घटना सम्बन्धमा गरिदिएको कागज ।
नानीशोभा र मेरो घरको दूरी १ मिनेट मात्र पर्छ । निजको पिताको मृत्यु ७ वर्ष जति अगाडि भएको थियो । निज पतिसँग छोडपत्र गरी पितासँगै बस्थिन् । निजलाई दूध दिने काम मैले गर्दथे । मिति २०४९।९।१८ गते तिर कालो वर्णको मान्छे आई नेवारी भाषामा निजसँग मोही जग्गाको किनवेच सम्बन्धमा कुराकानी गर्दा निजको मनस्थिति ठिक नभएकोले आश्विनी कुमारसँग कुरा गर भनेको थिएँ । यसै क्रममा ३,४ दिन हुँदा पनि निज दूध लिन नआएकोले हामीहरू निजको घरमा गयौं, घरमा ढोका जोडिएको तर चुकुल नलागेकोले सोबाट भित्र प्रवेश गरी हेर्दा छिँडीको साँचो समेत खुला अवस्था रहेछ । कोठाको साँचो म सँगै भएपनि कोठा खुला, गारो फोरेको अवस्था देखि निजको मृत्युको शंका लागी सम्बन्धित प्रहरी कार्यालयमा जाहेर गर्यौं । प्रहरी कर्मचारी समेत भै उक्त स्थानमा जाँदा वाक्सामा भाडा वर्तन लथालिङ्ग परेको, मूर्ति समेत नभएको अन्य कागजहरू लथालिङ्ग अवस्थामा रहेको, निज मृतकको दुवै गोडा तथा हात सेतो कपडाले बाँधी उत्तानो अवस्थामा रहेको भन्ने समेत व्यहोराको मचाभाई महर्जनले गरेको कागज ।
मेरो श्रीमतीको नाता पर्ने भएकोले र निज मृतकको कोही नभएकोले मैले समय समयमा हेरविचार गर्ने, कहिले काहीं केही खर्च दिने गर्दथें । मिति २०४९।९।२७ गते निज नानीशोभालाई कर्तव्य गरी मारेछन् भन्ने पुरुषोत्तमले भनेकाले थाहा पाएको हुँ भन्ने समेत व्यहोराको दीर्घमान श्रेष्ठको कागज ।
मृतक नानीशोभा मेरी सानीआमा हुन् । निजको पिताको ७/८ वर्ष अगाडि मृत्यु भएको र निजको पतिसँग पनि सम्बन्ध विच्छेद भएकोले मैले हेरचाह गरी आएको थिएँ । हिराकाजी सिक्राकारको नाउँमा दर्ता रहेको काठमाडौं जिल्ला धापासीको ६ रोपनी जग्गा मेरो नाउँमा नामसारी गर्ने कार्य भइरहेको थियो । सो जग्गाको सम्बन्धमा नक्कली हिराकाजी सिक्राकार (उदास) खडा गरी हिराकाजी, रामकृष्ण पाठक, नानीवावु वुढाथोकी समेतले नक्कली हिराकाजी बनी लालपूर्जाको प्रतिलिपि निकाल्ने काम गरेका छन् भन्ने थाहा पाई निजहरूसँग सोधपुछ गर्दा यो जग्गा हिराकाजीको हो तिमीले पाउँदैनौ भनी रामकृष्ण पाठक समेतले भनेका र नानीवावुले मिलापत्र गरौं रु.३,००,०००।– (तीन लाख रुपैया) दिन्छु भनेकोले सो रकम लिई जग्गाको दावी छाडिदिएको हुँ । पछि उक्त कीर्ते काम गरेको कुरा थाहा पाएमा नानीशोभा उदासबाट हामी सवै कारवाहीमा परिन्छ भनी हत्या गर्ने षडयन्त्र गरेका हौं । सो बमोजिम मचाभाई महर्जन, रामकृष्ण पाठक, हरिबहादुर राउत समेत भई नानीशोभाको घरमा गयौं र निज भएको कोठामा भित्ता फोडी पसी हिराकाजीले निज मृतकको मुखमा रुमाल कोची घाँटी अठ्याई मारी घरतिर गयौं भन्ने समेत व्यहोराको पुष्परत्न भन्ने आश्विनकुमारको वयान कागज ।
कुनै भौतिक चिजबाट घाँटीमा कम्प्रेशन हुन गै उत्पन्न एफेक्सीयाले मृत्यु भएको हो भन्ने मिति २०४९।९।२९ को पोष्टमार्टम रिपोर्ट ।
म र नानीवावु वुढाथोकी भै काठमाडौं जिल्ला डिल्लीवजारमा लेखापढी सेन्टर खोली काम गर्दथ्यौं । पछि नानीवावु वुढाथोकी र रामकृष्ण पाठकले छुट्टै फर्म खोली वसे । काठमाडौं जिल्ला धापासी गा.वि.स. वडा नं. ८ स्थित मेरो जग्गा नजिकै हिराकाजी सिक्राकारको ६ रोपनी जग्गा भएकोले निजको हकवाला को रहेछ भनी वुझ्दै जाँदा उक्त जग्गाको हकवाला नानीशोभा र पुष्परत्न रहेछन् भन्ने मचाभाई मार्फत थाहा हुन आई निजले मेरो फर्मबाट जग्गाको नामसारी कार्य गर्न मालपोत कार्यालय जाँदा उक्त जग्गाको जग्गाधनी हिराकाजी सिक्राकारले प्रतिलिपि उतारका लागि निवेदन दिएको छ भनेबाट सो जग्गाको कारवाही कीर्ते रहेछ भन्ने थाहा पाई नानीवावु वुढाथोकी, रामकृष्ण पाठक, हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार समेतसँग कुरा हुँदा उक्त जग्गा बिक्री गरौं, सो वापतको रकम मिली लिने भन्ने कुरा भई पुष्परत्नले आफ्नो हकदावी छाडिदिए । जग्गाको सम्बन्धमा उक्त कारवाही भएको हो, तर मृतक नानीशोभालाई मार्न म गएको छैन भन्ने समेत व्यहोराको हरिबहादुर राउतको वयान ।
२०४२ सालमा हिराकाजी सिक्राकारको मृत्यु भएपछि निजको नामको धापासी गा.वि.स.को ६ रोपनी जग्गामा नक्कली हिराकाजी खडा गरी वेचविखन गरौं भनी रामकृष्ण पाठकले भनेकाले टेवहाल घर हुने हिराकाजी सिक्राकार तथा निजको नागरिकताको प्रमाणपत्र लिई रामकृष्ण पाठक र नानीवावु वुढाथोकीलाई दिई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २२ बाट सिफारिस समेत वनाई रामकृष्ण पाठकलाई दिएँ । उक्त कार्य हरिबहादुर राउतको ल फर्मबाट भएको हो भन्ने समेत व्यहोराको ज्ञानकाजी सिक्राकारको वयान कागज ।
मृतक नानीशोभाको पिता हिराकाजी सिक्राकारको मिति २०४२ सालमा मृत्यु भएको हो । ज्ञानकाजी सिक्राकारले मेरो घरमा आई तिम्रो र मृतक हिराकाजी सिक्राकारको नाम मिल्ने भएको हुँदा निज मृतक हिराकाजी सिक्राकारको नामको जग्गा कीर्ते गरी वेच विखन गरौं भनी रामकृष्ण पाठक र नानीवावु वुढाथोकी समेत भई हामीहरूकै मिलोमतोबाट उक्त जग्गाको लालपूर्जा पाऊँ भनी निवेदन दिएको र हरिबहादुर राउतको ल फर्मबाट पुष्परत्न स्थापितले उक्त जग्गा आफ्नो नाउँमा नामसारी गर्ने कार्य गरेको हुँदा उक्त कार्य कीर्ते गरेको रहेछ भन्ने थाहा भयो । दुवै पक्ष मिलोमतो गरी उक्त जग्गाको जग्गाधनी प्रमाण पूर्जा प्रतिलिपि प्राप्त गरी मिति २०४९।१।२१ मा छुनुमाया पाठक समेतलाई वकस गरी दिएको हो । रामकृष्ण पाठकले रु.२०,०००।– दिए, म नक्कली हिराकाजी सिक्राकार बनी उक्त कार्य गरेको हुँ । नानीशोभा उदासलाई कर्तव्य गरी मार्न म गएको होइन, मारेको पनि होइन भन्ने समेत व्यहोराको हिराकाजीको वयान कागज ।
काठमाडौं जिल्ला चारखालमा लेखापढी सेन्टरमा आज भन्दा २ वर्ष पहिला देखि वसी लेखापढी गर्दै आएको छु । नक्कली हिराकाजी सिक्राकार वनाई काठमाडौं जिल्ला धापासी वडा नं. ८ को जग्गा मिलोमतोबाट बिक्री गर्ने कार्यमा म समेत सहभागी रहेको छु । तर निज मृतक नानीशोभालाई कर्तव्य गरी मार्ने कार्यमा म गएको थिईन भन्ने समेत व्यहोराको रामकृष्ण पाठकको वयान कागज ।
२०४३ सालमा अभिकर्ताको प्रमाण पत्र लिई परिचित ल फर्म खोली सञ्चालन गरी आएको हुँ । हिराकाजी सिक्राकारको जग्गा सम्बन्धमा कीर्ते गरी नक्कली हिराकाजी खडा गरी जग्गा नामसारी गर्न निवेदन लेखाई मालपोत कार्यालयमा नामसारी सम्बन्धी कारवाही भएको र हरिबहादुरको ल फर्मबाट पुष्परत्नले नामसारी गर्ने कार्य गरेबाट हामीहरूका बीच मिलोमतो भै रु.३ लाख पुष्परत्नलाई दिई उक्त जग्गा मिति २०४९।१।२१ गते मेरो श्रमिती नानीमैया वुढाथोकीलाई संयुक्त रुपमा बिक्री गरी दिएको हो । नानीशोभालाई मार्ने कार्यमा कुनै षडयन्त्र गरेको छैन भन्ने समेत व्यहोराको नानीवावु वुढाथोकीको वयान कागज ।
काठमाडौं जिल्ला चारखालमा किराना पसल भएको कारण मेरो हरिबहादुरसँग चिनजान भएको हो । नानीशोभा उदासको घरको छिडी तला मैले उपभोग गरेको थिएँ । समय समयमा मैले उनलाई दूध पनि दिन्थें । उक्त कोठाको साँचो मसँगै हुन्छ । साँचो कसैलाई दिएको छैन । नानीशोभालाई मार्ने कार्यमा म गएको होइन भन्ने मचाभाई महर्जनको वयान कागज ।
मचाभाई महर्जन, नानीवावु वुढाथोकी, हरिबहादुर राउत, हिराकाजी सिक्राकार र आश्विनकुमार स्थापित समेतले नानीशोभा उदासको पिताको नाममा दर्ता रहेको काठमाडौं जिल्ला धापासी वडा नं. ८ (ख) को जग्गा कीर्ते गरी बिक्री गरेकोमा उक्त अपराध नानीशोभाले थाहा पाई अड्डा अदालतमा उजूर गर्छिन् भन्ने डर, त्रासले नानीशोभालाई कर्तव्य गरी मारेका हुन् भन्ने समेत व्यहोराको सर्जमिन मुचुल्का ।
प्रस्तुत मुद्दामा संलग्न भएका कागजात अध्ययनवाट प्रतिवादी मध्येका पुष्परत्न भन्ने आश्विनकुमार स्थापित, हिराकाजी सिक्राकारले नानीशोभालाई कर्तव्य गरी मारेकोले निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम तथा ज्ञानकाजी सिक्राकार, हरिबहादुर राउत, रामकृष्ण पाठक, मचाभाई महर्जन र नानीवावु वुढाथोकीले हिराकाजी सिक्राकार (उदास) को जग्गा कीर्ते गरी गराई सुक्री बिक्री गराएको कुरा थाहापाई उजूर गर्लिन् भन्ने डरले निज मृतक नानी शोभालाई हत्या गर्ने षडयन्त्र गरेको देखिएकोले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १६ नं. अनुसारको कसूर गरेको देखिँदा सो अनुसार नै सजाय हुनु पर्ने भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय काठमाडौंको राय ।
अनुसन्धानबाट संकलित कागजात एवं प्रमाणका आधारमा मृतक नानीशोभा (उदास) को हत्या गरेको देखिएको हत्या गर्ने कार्यमा संलग्न आश्विनकुमार स्थापित, हिराकाजी सिक्राकार उपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम तथा निज नानीशोभालाई मार्ने योजना तथा षडयन्त्र गर्ने नानीवावु वुढाथोकी, हरिबहादुर राउत, रामकृष्ण पाठक, ज्ञानकाजी सिक्राकार, मचाभाई महर्जन उपर सोही महलको १६ नं. अनुसारको सजाय हुनु पर्ने माग दावी सहित जना ७ लाई यसै साथ प्रस्तुत गरिएको छ भन्ने समेत व्यहोराको अभियोग–पत्र ।
जिल्ला सरकारी वकील कार्यालय तथा प्रहरी समक्ष गरेको वयान मेरो खुसीराजीबाट भएको होइन । निजको डरत्रासमा परी कागजमा सहिछाप गरेको हुँ । उक्त कार्य गर्दा मलाई शारिरीक तथा मानसिक यातना समेत दिइएको हो । मृतक नानीशोभालाई कर्तव्य गरी हत्या गरे गराएको छैन भन्ने समेत व्यहोराको आश्विनकुमारको काठमाडौं जिल्ला अदालतमा भएको वयान ।
धापासीको जग्गा नामसारी गर्न भनी आश्विनकुमार स्थापित मेरो फर्ममा आएकाले सो सम्बन्धी निवेदन सम्म लेखि दिएको हुँ । नानीशोभाको मृत्यु सम्बन्धमा कुनै कुरा थाहा छैन भन्ने समेत व्यहोराको हरिबहादुरको अदालतमा भएको वयान ।
चिनजानको नाताले डिल्लीवजार स्थित रामकृष्ण पाठकको फर्ममा हिराकाजी सिक्राकारलाई पुर्याइदिएकोसम्म हो । जग्गा नामसारी गर्ने गराउने सम्बन्धमा कुनै कार्य गरेको होइन, नानीशोभाको मृत्यु सम्बन्धमा कुनै कुरा थाहा छैन, अभियोग अनुसारको कसूर मैले गरेको होइन भन्ने समेत व्यहोराको ज्ञानकाजी सिक्राकारको वयान ।
मैले कुनै कीर्ते कार्य गरेको छैन । मुद्दामा साक्षी वस्न भनी म गएको र विभिन्न कागजमा सहिछाप गराइएको हो । नामसारी सम्बन्धमा कुनै काम गरेको छैन । नानीशोभाको मृत्यु सम्बन्धमा कुनै कुरा थाहा छैन भन्ने समेत व्यहोराको हिराकाजी सिक्राकारको र मचाभाई महर्जनको एकै मिलानको वयान ।
मैले कुनै किसिमको ज्यान मार्ने तथा मार्न लगाउने कार्य गरे गराएको छैन, अभियोग दावी बमोजिम मलाई सजाय हुनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी नानीवावु वुढाथोकीको वयान ।
प्रतिवादीका साक्षीहरू तथा सर्जमिनका मानिसहरूको घटना भएको हो, को बाट हत्या भयो किटानी भन्न सकिँदैन, कागजपत्र कीर्ते गरेको भन्ने सुनेका हौं भन्ने समेत एकै मिलानको अदालतमा भएको वयान ।
नानीशोभा उदासको मृत्यु कुनै भौतिक चिजबाट घाँटी कम्प्रेसन हुन गई मृत्यु भएको हो भन्ने समेत व्यहोराको पोष्टमार्टम गर्ने डा. विजयलाल श्रेष्ठको अदालतमा भएको वकपत्र ।
नानी शोभालाई कर्तव्य गरी ज्यान मारेको अभियोग प्रमाणित भएका प्रतिवादी आश्विनकुमारलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद र अन्य प्रतिवादी उपर अभियोग प्रमाणित हुन नसकेकोले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५१।१।१३ को काठमाडौं जिल्ला अदालतको फैसला ।
वरामदी मुचुल्कालाई फैसलाले महत्वपूर्ण प्रमाण लिएको, उक्त मुचुल्का प्रमाण ऐन, २०३१ को दफा २५ अनुसारको नभई दफा २७ बमोजिम मेरो निर्दोषिता प्रमाणित गर्न पर्याप्त र सक्षम छ, तसर्थ प्रमाण ऐन, २०३१ को दफा ९(२) २५, ५४ एवं मुलुकी ऐन अ.वं. १८४ (क) को विपरित फौजदारी न्यायका सर्वमान्य सिद्धान्त र सम्मानित अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल भएकोले उक्त फैसला बदर गरी पूर्ण सफाई पाऊँ भन्ने समेत व्यहोराको पुष्परत्न भन्ने आश्विनकुमारको पुनरावेदन पत्र ।
नानीवावु वुढाथोकी, हरिबहादुर राउत, ज्ञानकाजी सिक्राकार, मचाभाई महर्जन र रामकृष्ण पाठक समेतले निज मृतक नानीशोभालाई मार्ने कार्यमा योजना बनाएको, षडयन्त्र गरेको प्रष्ट हुँदाहुँदै सफाई पाउने गरी गरेको काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी ज्यानसम्बन्धीको १६ नं. बमोजिम सजाय गरिपाऊँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारकोतर्फबाट परेको पुनरावेदन पत्र ।
शुरु फैसलामा प्रत्यक्ष कानूनी त्रुटि भएको र फैसला समेत फरक पर्ने हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५१।८।१३ को आदेश ।
घटनास्थल लाश प्रकृति मुचुल्कामा प्रतिवादी आश्विनकुमारको वयानसँग मेल खान नआई फरक फरक रहेको अवस्था समेतमा अश्विनिकुमारलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको काठमाडौं जिल्ला अदालतको फैसला नमिली उल्टी हुने ठहर्छ । प्रतिवादी रामकृष्ण पाठक समेतको हकमा सरकारी पक्षबाट परेको पुनरावेदन जिकिर पुग्न सक्दैन, निजहरूले सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५ को फैसला ।
घटनास्थल लाश प्रकृति मुचुल्का र प्रतिवादी आश्विनकुमारको वयान मेल खान नआई फरक फरक रहेको भन्ने आत्मनिष्ट तवरबाट हचुवाको भरमा भएको पुनरावेदन अदालतको फैसला बदर भागी हुँदा बदर गरिपाऊँ साथै अन्य प्रतिवादीहरूका हकमा सरकारी पक्षबाट परेको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत उल्लेख भएको फैसलामा न्यायिक मनको सर्वथा अभाव छ । यो यति कारणले प्रतिवादीहरूलाई सजाय हुनु पर्ने भनी सविस्तार गरिएको पुनरावेदन जिकिर के कति कारणले पुग्न नसक्ने हो त्यसको सविस्तार वयान नगरी गरिएको फैसला बदर गरिपाऊँ भन्ने समेत व्यहोराको नेपाल सरकारकातर्फबाट यस अदालतमा परेको पुनरावेदन पत्र ।
मौकाको घटनास्थल तथा लाश प्रकृति मुचुल्का एवं लाश जाँचको प्रतिवेदन समेतका मिसिल संलग्न प्रमाणबाट मृतकको मृत्यु स्वाभाविक नभै कर्तव्यबाटै भएको भन्ने देखिइरहेको स्थितिमा शुरु काठमाडौं जिल्ला अदालतले प्रतिवादीहरूलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गर्ने गरेको फैसला उल्टी हुने गरी गरेको पुनरावेदन अदालतको फैसला नमिली फरक पर्न सक्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०६०।८।२९ को आदेश ।
काठमाडौं जिल्ला धापासी गा.वि.स.को कि.नं. ३४ समेतका गरी जम्मा ६ रोपनी जग्गा नानीशोभालाई थाहा नदिई यी प्रतिवादी आश्विनकुमारले अन्य प्रतिवादी रामकृष्ण पाठक समेतसँगबाट रु.३ लाख लिई आफूले हकदावी छाडेको, मृतक नानीशोभा वाहेक उक्त जग्गाको हकवाला अरु कोही नभएको, नानीशोभाले थाहा पाएमा आफूलाई कीर्तेमा कारवाही हुने र रुपैया समेत फिर्ता गर्नु पर्ने डरले आफ्नी सानीआमा नानीशोभा उदासलाई यी प्रतिवादी पुष्परत्न भन्ने आश्विनकुमार स्थापितले कर्तव्य गरी मारेको देखिन्छ । अधिकारप्राप्त अधिकारीसमक्षको निजको साविती वयानलाई अन्यथा प्रमाणले पुष्टि गरेको अदालतमा भएको निजको इन्कारी वयानलाई अन्य कुनै प्रमाणले पुष्टि गर्न नसकेकेको अवस्थामा निजको अदालतमा भएको इन्कारी वयानलाई विश्वास गर्न सकिने भएन । अधिकारप्राप्त अधिकारी समक्ष आफुलाई कुटपिट गरी साविती गराइएको भन्ने निजको भनाई रहेको र प्रहरीमा कुटपिट गरेको भनी सँगै थुनामा रहेका भनेका श्याम वलामीले तीन तला माथि कुटेको आवाज सुनेको भनेपनि निजलाई घाउ जाँच गर्ने डा. अनिल श्रेष्ठले अदालतमा आई वकपत्र गर्दा विमारीले दुवै पैताला दुख्छ भन्थ्यो । मैले जाँच गर्दा त्यस ठाउंमा कुनै प्रकारको सुनिएको तथा घाउहरू देखिन भनी वकपत्र गरेको देखिँदा प्रहरीमा आफुलाई कुटपिट गरेको भन्ने प्रतिवादी आश्विनकुमार स्थापितको भनाई घाउ केश फारम र केस फारम गर्दा जाँच गर्ने डाक्टरको वकपत्रवाट खण्डित भएको देखिँदा निजको अधिकारप्राप्त अधिकारी समक्ष भएको वयानलाई कुटपिट गरी गराइएको साविती भन्न सकिदैन । तसर्थ उपर्युक्त प्रमाण आधारबाट प्रतिवादी पुष्परत्न भन्ने आश्विनकुमार स्थापितले आफ्नी सानीआमा नानीशोभा उदासलाई कर्तव्य गरी मारेको ठहर्छ । त्यसो हुँदा निजलाई अभियोग माग दावीबमोजिम मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुन्छ । यी प्रतिवादीलाई अभियोग दावीबाट सफाई दिने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५ को फैसला उल्टी हुन्छ । शुरु काठमाडौं जिल्ला अदालतको मिति २०५१।१२।२२ को फैसला सदर हुन्छ ।
अब, अन्य प्रतिवादीहरू हरिबहादुर राउत, ज्ञानकाजी सिक्राकार, हिराकाजी सिक्राकार, रामृकष्ण पाठक, मचाभाई महर्जन र नानीवावु वुढाथोकीको हकमा विचार गर्दा, उपर्युक्त ६ जना प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी समक्ष वयान गर्दा कसूरमा इन्कार रही वयान गरेको, साथै अदालतमा आई वयान गर्दा पनि अभियोगमा इन्कार रही वयान गरेको देखिन्छ । निजहरूबाट वारदातमा प्रयोग गरिएको भन्ने कुनै दशी प्रमाण प्राप्त हुन सकेको पाईदैन । प्रत्यक्ष देख्ने कुनै साक्षी प्रमाण पनि देखिँदैन । केवल प्रतिवादी आश्विनकुमारले अधिकारप्राप्त अधिकारी समक्ष वयान गर्दा यी प्रतिवादीहरू समेत भै आफूले नानीशोभा उदासलाई मारेको भनी पोल गरेको भए पनि निज सह–अभियुक्तको पोललाई समर्थन हुने अन्य कुनै प्रमाण आउन सकेको छैन । अन्य कुनै प्रमाणले समथर्न नगरेको अवस्थामा केवल सह–अभियुक्तको पोलको आधारमा मात्र ज्यान जस्तो गम्भिर अपराधमा शंकाको भरमा यी प्रतिवादीहरूलाई सजाय गर्न मिल्ने देखिएन । साथै शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने फौज्दारी कानूनको सर्वमान्य सिद्धान्त समेतले पनि कसूरदार ठहर्याउन मिल्ने भएन । तसर्थ यी प्रतिवादीहरू हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार, मचाभाई महर्जन, हरिबहादुर राउत, रामकृष्ण पाठक, नानीवावु वुढाथोकीले अभियोग दावीबाट सफाई पाउने ठहर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५१।२।२२ को फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५ को फैसला सो हदसम्म सदर हुन्छ । प्रतिवादी पुष्परत्न भन्ने आश्विनकुमार स्थापितलाई पनि अभियोग दावीबाट सफाई हुनुपर्छ भन्ने सहयोगी माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको रायसँग सहमत हुन नसकिएकोले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम निर्णयार्थ पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको संयुक्त इजलासका माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय ।
यी प्रतिवादी आश्विनकुमारले कर्तव्य गरी नानीशोभालाई मारेको भन्ने पुष्टि हुँदैन । केबल अधिकारप्राप्त अधिकारी समक्ष भएको निजको वयानलाई अन्य प्रमाणले समर्थन नगरेको अवस्थामा मात्र शंकाको भरमा ज्यान जस्तो अपराधमा कसूरदार घोषित गरी सजाय गर्न मिल्दैन । फौजदारी मुद्दामा शंकाको सुविधा अभियुक्तले पाउँछ भन्ने सर्वमान्य सिद्धान्त समेतबाट ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ भन्ने वादी श्री ५ को सरकारको अभियोग दावी पुग्न सक्दैन, सफाई पाउने ठहर्छ । त्यसोहुँदा निजलाई अभियोग दावी बमोजिम सजाय गर्ने गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५१।१२।२२ को फैसला उल्टी गरी अभियोग दावीबाट सफाई दिने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५ को फैसला सदर हुन्छ ।
अन्य प्रतिवादीहरूको हकमा विचार गर्दा, यी प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी समक्ष र अदालतमा वयान गर्दा कसूरमा इन्कार रही वयान गरेको देखिन्छ । यी प्रतिवादीबाट कुनै दशी प्रमाण फेला परेको देखिँदैन । मृतकसँग यी प्रतिवादीहरूको कुनै पूर्व रिसइवि रहेको पनि देखिँदैन । साथै नानीशोभालाई मारेको भन्ने ठोस सवूद प्रमाण पनि पाईदैन । प्रतिवादी मध्येका नानीवावु वुढाथोकीलाई प्रतिवादी आश्विनकुमारले पोल गर्दा पनि नानीशोभालाई मार्ने षडयन्त्रको वारेमा नानीवावु वुढाथोकीलाई पनि थाहा हुनु पर्छ भनी शंकासम्म देखाई वयान गरेको पाइन्छ । प्रतिवादी पुष्परत्न भन्ने आश्विनकुमारले अन्य प्रतिवादीहरूले पनि मृतकलाई मार्नमा सहयोग गरेका हुन् भनी अधिकारप्राप्त अधिकारसमक्ष वयान गर्दा पोल गरेको पाइन्छ । निजको अधिकारप्राप्त अधिकारीसमक्ष भएको साविती वयानलाई अन्य प्रमाणले समर्थन नगरेको भनी निजले समेत अभियोग दावीबाट सफाई पाउने हठर भएको अवस्थामा निजले पोल गरेका यी प्रतिवादीहरूलाई निजकै भनाईकै आधारमा कसूरदार ठहर गर्न मिल्दैन ।
तसर्थ मृतकको कोठामा रहेको मूर्ति समेतका धनमाल हराएको अवस्थामा धनमाल चोर्नकै लागि घरमा सुतेकी एकल महिला यी प्रतिवादी वाहेकका व्यक्तिले पनि मार्न सक्ने शंकाको अवस्था घटनास्थल प्रकृति मुचुल्काबाट देखिएको र यी प्रतिवादीले यसरी मारे वा मार्नमा सहयोग गरे भन्ने कुनै प्रत्यक्ष प्रमाण नआई शंकासम्म देखाइएको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने भन्ने फौज्दारी कानूनको सर्वमान्य सिद्धान्त रहेको हुँदा सह–अभियुक्तको पोललाई अन्य प्रमाणले समर्थन गरेको नदेखिँदा प्रतिवादीहरू हिराकाजी सिक्राकार, ज्ञानकाजी सिक्राकार, रामकृष्ण पाठक, हरिबहादुर राउत, मचाभाई महर्जनले अभियोग दावीबाट सफाई पाउने देखिन्छ । तसर्थ यी प्रतिवादीहरूलाई सफाई दिने ठहर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।३।२५।४ को फैसला सदर हुन्छ । प्रतिवादी आश्विनकुमार स्थापितलाई सम्म कसूरदार ठहर गरेको सहयोगी माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रायसँग सहमत हुन नसकिएको हुँदा सर्र्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६२।२।२० को आदेश ।
नियमबमोजिम दैनिक पेशीसूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा, पुष्परत्न भन्ने आश्विनकुमार स्थापित (यसपछि आश्विनकुमार भनिएको) स्वयंले आफ्नी सानीआमा नानीशोभालाई खुट्टामा बाँधी कर्तव्य गरी मारेकोले आवश्यक कारवाही गरिपाऊँ भनी दिएको जाहेरीबाट प्रस्तुत मुद्दाको उठान भएको देखिन्छ । अधिकारप्राप्त अधिकारी समक्षको वयानका क्रममा निज जाहेरवाला आश्विनकुमार आफू समेत भै नानीशोभाको कर्तव्य गरी मारेको कुरामा सावित भएको देखिन्छ भने अन्य प्रतिवादीहरूले इन्कारी वयान दिएको देखिन्छ । प्रतिवादी आश्विनकुमारको उक्त वयान व्यहोरा तथा सो वयानमा उल्लेख भए बमोजिमका अन्य तथ्यहरूलाई आधार बनाएर निज प्रतिवादी आश्विनकुमार र अर्का प्रतिवादी हिराकाजी सिक्राकार उपर ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम र अन्य प्रतिवादीहरू नानीबाबु बुढाथोकी, हरिबहादुर राउत, रामकृष्ण पाठक, ज्ञानकाजी सिक्राकार, मचाभाई महर्जन उपर ऐ. १६ नं. बमोजिम सजायको मागदावी लिई अभियोगपत्र दायर भएकोमा अदालतसमक्षको वयानमा भने सबै प्रतिवादीहरूले इन्कारी वयान दिएको अवस्था छ । शुरु काठमाडौं जिल्ला अदालतबाट प्रतिवादी मध्येका आश्विनकुमारलाई अभियोग दावी बमोजिम सजाय हुने र अन्य प्रतिवादीहरूलाई सफाइ दिने ठहरी फैसला भए उपर प्रतिवादी आश्विनकुमारको र वादी नेपाल सरकारकातर्फबाट छुटृाछुटृै पुनरावेदन परेकोमा पुनरावेदन अदालत पाटनबाट प्रतिवादी आश्विनकुमार स्थापितलाई समेत सफाइ दिने ठहर्याई फैसला भएको देखिन्छ । सो फैसला उपर वादी नेपाल सरकारकातर्फबाट यस अदालतमा पुनरावेदन परेकोमा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूका बीच प्रतिवादी आश्विनकुमारलाई कसूरदार ठहर्याउने वा सफाइ दिने भन्ने कुरामा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावलीको नियम ३(१)(क) बमोजिम प्रस्तुत मुद्दा यस इजलास समक्ष पेश हुन आएको अवस्था छ ।
इजलास समक्ष पेश भै सुनुवाइ हुँदा पुनरावेदक वादी नेपाल सरकारतर्फबाट उपस्थित विद्वान सह–न्यायाधिवक्ता श्री ठोकप्रसाद शिवाकोटीले मृतक नानीशोभाको पिता हिराकाजी सिक्राकारको नाममा रहेको काठमाडौं जिल्ला धापासी वडा नं. ८(ख) कि.नं. ३४ समेतका जग्गाहरूमा प्रतिवादी आश्विनकुमारको पूर्ण हक अधिकार स्थापित नभएको कारणबाट ती जग्गाहरूमा पूर्ण हक प्राप्तिका लागि नै यी प्रतिवादीहरू मिली नक्कली हिराकाजी खडा गरी वकसपत्र पारीत गरिलिएको र सो कुरा वास्तविक हकवाला नानीशोभालाई थाहा भएको अवस्थामा आफूहरूलाई सजाय हुने देखी प्रतिवादी आश्विनकुमार समेत भै नानीशोभाको घाँटी थिची कपडाले घाँटी बाँधी मारेको भन्ने कुरा निज प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको वयानबाट पुष्टि भैरहेको छ । अधिकारप्राप्त अधिकारी समक्ष वयान हुँदा निजलाई कुनै किसिमको दवाव दिइएको थिएन भन्ने कुरा विशेषज्ञको वकपत्रबाट देखिएको छ । निज प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको वयान र वस्तुस्थिति मुचुल्काबीचमा सामञ्जस्यता देखिएको र कीर्ते कार्यलाई लुकाउन र त्यसबाट बच्नका लागि हत्या गरिएको भन्ने स्पष्ट भएको अवस्थामा घटनास्थलबाट मृतकका के कुन कागजात लगियो र के कस्ता कागजात छाडियो भन्ने कुराले घटनालाई अन्यथा ठहर्याउन सकिने हुँदैन, तसर्थ संयुक्त इजलासका माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय सदर हुनु पर्छ भनी वहस जिकिर प्रस्तुत गर्नु भएको थियो । प्रतिवादीहरूतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरू श्री सर्वज्ञरत्न तुलाधर र श्री हरिहर दाहाल तथा विद्वान अधिवक्ताहरू श्री लभ मैनाली, श्री गिता पाठक संग्रौला, श्री विश्वप्रकाश भण्डारी, श्री हिरा रेग्मी र श्री सन्तकुमार वास्कोटाले घटनास्थल, लाश प्रकृति मुचुल्का र अभियुक्तको वयानलाई तुलना गरेर अध्ययन गर्ने हो भने सबै तथ्य छर्लंग हुन्छ, नानीशोभाको घरबाट चोरी भएको भन्ने कुरा घटनास्थल मुचुल्काबाट नै देखिन्छ । विशेषज्ञको वकपत्रबाट हातले घाँटीमा अंठ्याएर मारेको होइन भन्ने देखिन्छ, तर अभियुक्तको अधिकारप्राप्त अधिकारी समक्ष भएको वयानमा हातले घाँटी थिची मारेको भन्ने उल्लेख छ । त्यसरी वयानलाई अन्य प्रमाणले समर्थन नगरेको अवस्थामा अधिकारप्राप्त अधिकारी समक्षको साविती वयानलाई आधार बनाएर कसूरदार ठहर्याउन मिल्दैन, यातना दिएर वयान गराइएको भन्ने कुरा पनि साक्षीको वकपत्रबाट देखिएको छ, प्रतिवादीहरूले नानीशोभालाई मारेको भन्ने कुरा कतैबाट देखिँदैन, घटनाका बारेमा देख्ने कुनै प्रत्यक्षदर्शी साक्षी छैनन् । प्रतिवादी नानीवावु वुढाथोकीलाई पोल गर्दा प्रतिवादी आश्विनकुमारको वयान सकिएपछि अन्तमा नानीशोभालाई मार्ने षडयन्त्रको बारेमा नानीवावु वुढाथोकीलाई पनि थाहा हुनु पर्छ भन्ने वाक्य थपी नानीवावुलाई पनि मुद्दा चलाउने उद्देश्य राखिएको भन्ने स्पष्ट रुपमा देखिन्छ । यसरी आश्विनकुमारको अधिकारप्राप्त अधिकारी समक्ष भएको वयान स्वेच्छाले नभएको र अन्य कुनै प्रमाणबाट प्रमाणित नभएको अवस्थामा प्रतिवादीहरूलाई अभियोग दावीबाट सफाई दिने ठहर्याएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सदर हुनुपर्दछ भनी वहस जिकिर प्रस्तुत गर्नु भएको थियो ।
विद्वान कानून व्यवसायीहरूको उल्लिखित बहस जिकिर सुनी समयाभावका कारणबाट निर्णय सुनाउनका लागि आजको तारेख तोकिएको प्रस्तुत मुद्दामा विद्यमान रहेको तथ्य, सो सम्बन्धी कानूनी व्यवस्था र संयुक्त इजलासमा मतैक्य हुन नसकेका विषयहरू समेतका सन्दर्भमा विचार गर्दा यस इजलासबाट मूलतः देहायका प्रश्नहरूको निरुपण गरिनु पर्ने अवस्था देखिन्छ :
१. मृतक नानीशोभाको मृत्युको कारण तथा घटनास्थल र लाशको प्रकृति अनुरूपको घटनाको कारण विद्यमान देखिन्छ वा देखिँदैन ?
२. घटनाको कारण र प्रतिवादीहरूको कार्यका बीचमा कुनै तादात्म्यता छ या छैन ? यदि छ भने प्रतिवादी मध्ये को कसको के कुन कार्य घटनासँग सम्बन्धित देखिन्छ ? र संयुक्त इजलासका माननीय न्यायाधीशहरूको राय मध्ये कुन राय मनासिव ठहर्ने हो?
२. सर्वप्रथम पहिलो प्रश्नमा विचार गर्दा मृतक नानीशोभाको मृत्युको कारण कुनै भौतिक चिजबाट घाँटीमा कम्प्रेशन हुन गई भएको स्फेक्सीया (Death is due to Asphyxia Because of Physical Compression in neck) रहेको भन्ने शव परीक्षण प्रतिवेदनबाट देखिन्छ । विशेषज्ञको उल्लिखित रायलाई समर्थन गर्ने अन्य प्रमाणहरूको विद्यमानतातर्फ विचार गर्दा मृतक लाशको प्रकृतिमा दुबै गोडाको पिँडौलामा सेतो कपडाले बाँधेको, सोही कपडाले दुबै हात पछाडि लगी बाँधिएको, लास घोप्टो रहेको, मुखमा रुमाल कोचिएको र सो रुमालमा रगत समेत लागेको भन्ने कुरा लाश प्रकृति मुचुल्काबाट देखिएको छ । त्यसैगरी घटनास्थल प्रकृति मुचुल्कामा नानीशोभा उदासको घरको भुईं तल्लाको पश्चिमतर्फको कोठाको पूर्व पट्टीको गाह्रोमा २ फिट परिधिको प्वाल पारेको र माथिल्लो तल्लामा हेर्दा झ्याल खुला रहेको, ओछ्यान लथालिङ्ग भएको, सो स्थानमा नानीशोभा मृतक अवस्थामा रहेको, टिनको वाक्सा खुला अवस्थामा रहेको, पूजा गर्ने ठाउँमा मूर्ति नभएको भनी घटनास्थलको चित्रण गरिएको अवस्था छ । लाश र घटनास्थलको अवस्था दर्शाउने उल्लिखित तथ्यमा विवाद नरहेको र ती तथ्यहरूले नानीशोभा उदासलाई हात गोडामा कपडाले बाँधी हलचल गर्न नसक्ने अवस्थामा पुर्याई मुखमा रुमाल कोची घाँटी थिची श्वास प्रश्वास अबरुद्ध तुल्याई अर्थात् asphyxia को अवस्था सिर्जना गरी गरिएको भन्ने कुरा निर्विवाद रुपमा पुष्टि हुन गएको छ ।
३. एकातिर मृतकलाई हात गोडामा कपडाले बाँधी घोप्टो पारी घाँटी थिची हत्या गरिएको भन्ने देखिन्छ भने अर्कोतर्फ घरको गारो (पर्खाल) मा मानिस छिर्न मिल्ने प्वाल पारिएको, मृतकको सुत्ने कोठामा विच्छ्यौना लथालिंग अवस्थामा रहेको, टिनको बाक्सा खुल्ला रहेको, कागजातहरू यत्रतत्र छरिएको अवस्था पनि देखिएको छ । घटनास्थलको प्रकृतिबाटै मृतकको कोठामा रहेका महत्वपूर्ण कागजपत्रहरू पत्ता लगाउने कोशिस गरिएको भन्ने तथ्य पनि स्थापित भएको छ । यी स्थापित तथ्यहरूको सापेक्षतामा घटनाको कारणका रुपमा प्रतिवादी आश्विनकुमारले अधिकारप्राप्त अधिकारी समक्ष गरेको वयानलाई हेर्नु सान्दर्भिक हुने देखिन्छ । निजले अधिकारप्राप्त अधिकारी समक्ष गरेको वयानमा हिराकाजी सिक्राकारको नाउँमा दर्ता रहेको काठमाडौं जिल्ला धापासी स्थित ६ रोपनी जग्गा आफ्ना नाउँमा नामसारी गर्ने कार्य भई रहेको, सो जग्गाको सम्बन्धमा नक्कली हिराकाजी सिक्राकार (उदास) खडा गरी हिराकाजी, रामकृष्ण पाठक, नानीवावु वुढाथोकी समेतले नक्कली हिराकाजी बनी लालपूर्जाको प्रतिलिपि निकाल्ने काम गरेका छन् भन्ने थाहा पाई निजहरूसँग सोधपुछ गर्दा यो जग्गा हिराकाजीको हो, तिमीले पाउँदैनौ भनी रामकृष्ण पाठक समेतले भनेका र नानीवावुले मिलापत्र गरौं रु.३,००,०००।– (तीन लाख रुपैया) दिन्छु भनेकोले सो रकम लिई जग्गाको दावी छाडी दिएको हुँ, पछि उक्त कीर्ते काम गरेको कुरा थाहा पाएमा नानीशोभा उदासबाट कारवाहीमा परिन्छ भनी हत्या गर्ने षडयन्त्र गरेका हौं, सो बमोजिम मचाभाई महर्जन, रामकृष्ण पाठक, हरिबहादुर राउत समेत भई नानीशोभाको घरमा गयौं र निज भएको कोठामा भित्ता फोडी पसी निज मृतकको मुखमा रुमाल कोची घाँटी अठ्याई मारी घरतिर गयौं भनेका छन् । यसबाट घटनाको मुख्य कारणका रुपमा प्रस्तुत गरिएको नानीशोभा उदासको हक लाग्ने काठमाडौं जिल्ला धापासी ८ (ख) स्थित कित्ता नं. ३४ समेतका जग्गाबाट नानीशोभालाई वेदखल गरी सो जग्गा अन्य व्यक्तिहरूका नाममा दर्ता गरेको र सो क्रियाका सम्बन्धमा नानीशोभाले थाहा पाएमा आफूलाई कारवाही हुने भै त्यसबाट बच्न नानीशोभालाई कर्तव्य गरी मारेको अवस्था देखिन्छ । अधिकारप्राप्त अधिकारी समक्ष घटनाको कारणको रुपमा प्रस्तुत गरिएको उक्त साविती वयानको प्रामाणिक महत्वका सम्बन्धमा हेर्दा प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) ले फौजदारी मुद्दामा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगको सम्बन्धमा अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहाय बमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छ भनिएको पाइन्छ :
१. सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो ।
२. निजलाई बाध्य गरी वा निज वा अरु कसैलाई यातना दिई वा यातना दिने धम्की दिई वा निजलाई आफ्नो इच्छा विरुद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन ।
३. सो अभियोगबारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाईको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन, जसबाट निजले सो कुरा असत्य रुपमा व्यक्त गर्ने संभावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसंगत रुपमा विश्वास गरेको थियो ।
४. उल्लिखित कानूनी व्यवस्था र प्रस्तुत घटनामा देखिएको अवस्थालाई एक आपसमा भिडाएर हेर्दा अधिकारप्राप्त अधिकारी समक्ष वयान दिने क्रममा निज आश्विनकुमार सचेत अवस्थामा नै रहेको भन्ने कुरामा विवाद देखिँदैन । निजले आफूलाई स्वेच्छा विरुद्ध वयान दिन बाध्य बनाइएको भनी अदालत समक्ष दिएको वयानका सन्दर्भमा हेर्दा घाउ जाँच गर्ने चिकीत्सक डा. अनिल श्रेष्ठले अदालत समक्ष वकपत्रका क्रममा प्रतिवादी आश्विनकुमारले दुखेको भनी बताएको शरीरको कुनै पनि भागमा कुनै घाउ, खत वा सुन्निएको अवस्था नरहेको भनी उल्लेख गरिदिएबाट पनि निजलाई कुटपिट गरी स्वेच्छा विपरित अधिकारप्राप्त अधिकारी समक्ष साविती वयान गराइएको भन्ने पुष्टि हुन सक्ने अवस्था रहेन । त्यसैले पनि सो वयानलाई प्रामाणिक मूल्यका दृष्टिले शून्यमा राख्नु पर्ने अवस्था छैन । त्यति मात्र नभएर अधिकारप्राप्त अधिकारी समक्षको वयानमा व्यक्त भएका जग्गा सम्बन्धी कुरा अन्य प्रमाणबाट पनि पुष्टि भएको अवस्था छ । विवादित कित्ता नं. ३४ समेतका जग्गा नानीशोभाका बाबु हिराकाजी सिक्राकारको मृत्यु भैसकेको अवस्थामा पनि नक्कली हिराकाजी खडा भै निजको नामबाट अन्य विभिन्न व्यक्तिहरूको नाममा दर्ता गरी निजहरूबाट पुनः तेस्रो व्यक्तिको नाममा हस्तान्तरण भैसकेको र त्यस प्रकृयामा प्रतिवादी आश्विनकुमार पनि संलग्न रहेको भन्ने तथ्य मालपोत कार्यालय चावहिलबाट प्राप्त फाइलबाट देखिएको छ । वयानमा उल्लिखित घटनाको कारणका रुपमा प्रस्तुत गरिएको तथ्य अन्य स्वतन्त्र प्रमाणहरूबाट पनि प्रमाणित भएबाट सो वयान स्वेच्छा प्रतिकूलको भनी अदालत समक्ष दावी लिँदैमा त्यस्तो वयानको प्रामाणिक मूल्यमा प्रश्न उठाउन मिल्ने अवस्था हुँदैन । यसरी मृतक नानीशोभाको मृत्युको कारणका रुपमा विशेषज्ञद्वारा व्यक्त राय र मृतक लाशको प्रकृति एवं घटनास्थल प्रकृतिका बीचमा सामञ्जस्यता देखिएको, त्यसलाई सम्बन्धित विशेषज्ञद्वारा अदालत समक्ष उपस्थित भई पुनर्पुष्टी गरिएको, घटनाको कारणका रुपमा प्रतिवादी आश्विनकुमारले अधिकारप्राप्त अधिकारी समक्ष व्यक्त गरेको कथनलाई अन्य प्रमाणहरूले समेत पुष्टि गरेको समेतको आधार कारणबाट मृत्युको कारण तथा घटनास्थल र लाशको प्रकृति अनुरूप नै घटनाको कारणको विद्यमानता स्थापित हुन पुगेको छ ।
५. अब, दोस्रो अर्थात् घटनाको कारण र प्रतिवादीहरूको कार्यका बिचमा कुनै तादात्म्यता देखिन्छ या देखिँदैन ? भन्ने प्रश्नमा विचार गर्दा मृत्युको कारणका रुपमा स्थापित भएको तथ्य अर्थात् काठमाडौं जिल्ला धापासी ८(ख) स्थित कित्ता नं. ३४ समेतका जग्गामा मृतक नानीशोभाको हक मेटाउने कार्यले पूर्णता पाएको देखिन्छ । त्यस कार्यमा प्रतिवादीहरूको संलग्नता पनि पुष्टि भएकै छ । तर प्रस्तुत मुद्दा कर्तव्य ज्यान मुद्दा भएको हुँदा घटनाको कारणका रुपमा देखिएको तथ्यलाई निरपेक्ष रुपमा प्रस्तुत मुद्दाको विषयवस्तु बनाउन मिल्ने अवस्था नहुँदा मृतक नानीशोभा उदासको हत्या र निजको हत्यामा संलग्न रहेका व्यक्तिलाई नै प्रस्तुत मुद्दामा विचार गर्नु पर्ने विषयका रुपमा लिई सो सम्बन्धी तथ्य र त्यसलाई पुष्टि गर्ने आधार प्रमाणको मूल्यांकन एवं विश्लेषण गरिनु पर्ने भएको छ । मृतक नानीशोभाको मृत्युका सम्बन्धमा अघिल्लो प्रश्नमा नै पर्याप्त विश्लेषण गरिएको हुँदा त्यसको पुनरावृत्ति नगरी प्रतिवादीहरू मध्ये को कसको के कुन कार्य प्रस्तुत घटनासँग सम्बन्धित देखिन्छ ? भन्ने सम्बन्धमा विवेचना गर्नु यहाँ सान्दर्भिक हुने देखिन्छ ।
६. प्रतिवादीहरूमध्ये आश्विनकुमार अधिकारप्राप्त अधिकारी समक्ष कसूर गरेको कुरामा सावित भै वयान गरेको अवस्था छ भने निजको सो वयान अन्य प्रमाणहरूबाट पनि पुष्टि भएबाट यस घटनामा निजको संलग्नता रहेको देखिएको छ । अभियोग शंकारहीत तवरले पुष्टि गर्नुपर्ने भन्ने फौजदारी न्यायको मान्य सिद्धान्त रहेको परिप्रेक्ष्यमा हेर्दा निजले अधिकारप्राप्त अधिकारी समक्ष व्यक्त गरेका कथनहरू घटनास्थलको प्रकृति, लाशको प्रकृति, घटनामा प्रयोग भएका भनिएका चिजवस्तु र वरामदी मुचुल्का, मृत्युको कारणका रुपमा व्यक्त विशेषज्ञको राय र विशेषज्ञको वकपत्र समेतका प्रमाणहरूबाट पुष्टि भएका छन् । सो सँगै घटनाको कारणका रुपमा व्यक्त भएको निजको कथन अनुरूप विवादित कित्ता नं. ३४ समेतका जग्गाहरू समेत अन्य व्यक्तिको नाममा हक हस्तान्तरण भएको र त्यसमा निजको प्रत्यक्ष संलग्नता रहेको समेतका परिस्थितिजन्य प्रमाणले पनि प्रतिवादी आश्विनकुमार अभियोग दावी बमोजिमको कसूरमा संलग्न भएको पुष्टि भएको पाइन्छ ।
७. जहाँसम्म घाँटीमा physical compression को कारणले उत्पन्न भएको Asphyxia को अवस्थालाई मृत्युको कारणका रुपमा उल्लेख भएको र शव परीक्षणका क्रममा घाँटीमा २ वटा ligature mark रहेको भनी उल्लेख भएको कुरासँग लाश प्रकृति मुचुल्काको तादात्म्यता नरहेको भन्ने सन्दर्भ छ, शव परीक्षण गर्ने विशेषज्ञ डा. विजयलाल श्रेष्ठले डोरी जस्तै बाहिरबाट बाँधिने वा थिचिने चिजको दवाव परेर त्यस्तो चिन्ह हुन सक्ने भनी वकपत्रबाट स्पष्ट गरेको अवस्था देखिन्छ । asphyxia र ligature का बीचको सम्बन्धका बारेमा रहेको विधिशास्त्रीय मान्यतालाई हेर्दा “In most cases, asphyxia is the most common cause of death. The ligature is usually situated above the thyroid cartilage, and the effect of its pressing the neck in that situation is to force up the epiglottis and the root of the tongue against the posterior wall of the pharynx. Hence, the floor of the mouth is jammed against its roof, and occludes the air passage, also the uvula and soft palate are pushed upwards and the laryngeal opening is blocked by the depressed epiglottis.” भन्ने देखिन्छ (Modi’s Medical Jurisprudence and Toxicology, Twenty-third Edition, p. 566).यसबाट पनि मुखमा कुनै चिज वस्तु कोचिएको कारणबाट श्वास प्रश्वासको मार्ग अबरुद्ध भई asphyxia को स्थिति उत्पन्न हुने र asphyxia को अवस्थामा सामान्यतया ligature mark को विद्यमानता रहने भन्ने कुरा स्पष्ट हुन्छ । लाश प्रकृति मुचुल्कामा मृतकको घाँटीमा ligature mark नदेखिएको भन्ने जिकिरका सम्बन्धमा विचार गर्दा लाश प्रकृति मुचुल्काले बाहिरबाट देखिने लाशको अवस्थाको सामान्य चित्रण मात्रै गर्ने र त्यसरी मुचुल्का तयार गर्दा विशेषज्ञको उपस्थिति नरहने यथार्थतालाई पनि विर्सन मिल्दैन । त्यसैले सामान्य अवस्थामा बाहिरबाट हेर्दा नदेखिने कतिपय घाउ, चोट, दाग वा चिन्ह शव परीक्षणका क्रममा देखिनुलाई अन्यथा मान्न सकिँदैन, किनभने शव परीक्षण भनेको शवको बाहिरी तथा भित्री सम्पूर्ण अवस्थाका सम्बन्धमा विशेषज्ञद्वारा गरिने विशेष अध्ययन, अनुसन्धानयुक्त परीक्षण भएकाले त्यस्तो परीक्षणबाट शवमा रहेका मृत्यु अघि (Anti-Mortem) र मृत्यु पछि (Post-Mortem) का सबै लक्षणहरूको पहिचान गरिन्छ । त्यसैले त्यस्तो परीक्षणबाट देखिएको चिन्ह लाश प्रकृति मुचुल्कामा नदेखिएको अवस्थालाई ती दुई प्रमाणका बीचमा तादात्म्यता नरहेको भनी संज्ञा दिन मिल्ने हुँदैन ।
८. विशेषज्ञको भनाईको प्रामाणिक महत्वका सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा १८ मा भनिएको छः कुनै काम, घटना वा अवस्थाका सम्बन्धमा भएको तहकिकात वा जाँचबुझको सिलसिलामा प्रचलित नेपाल कानूनबमोजिम तयार भएको कुनै लिखतमा उल्लेख भएको कुनै कुरा सो कुरा व्यक्त गर्ने व्यक्ति साक्षीको रुपमा अदालतमा उपस्थित भै वयान गरेमा प्रमाणमा लिन हुन्छ । शव परीक्षण गर्ने विशेषज्ञ डा. विजयलाल श्रेष्ठले अदालत समक्ष उपस्थित भई गरेको वकपत्रमा मृतक नानीशोभाको मृत्यु कुनै भौतिक चिजबाट घाँटीमा कम्प्रेशन हुन गई उत्पन्न एस्फेक्सियाले भएको भनी उल्लेख गर्नुका साथै घाँटीमा अगाडिपटिृ रहेका दुई वटा ligature mark थिचिने चिजको दबाब परेर पनि हुन सक्ने भनी उल्लेख गरेको अवस्थाले लाश प्रकृति मुचुल्कामा गरिएको लाश र घटनास्थलको चित्रणका साथै प्रतिवादी आश्विनकुमार स्थापितले अधिकारप्राप्त अधिकारी समक्ष गरेको वयानको सान्दर्भिकता पुष्टि हुनुका साथै घटनास्थल तथा लाश प्रकृति मुचुल्का, प्रतिवादीको अधिकारप्राप्त अधिकारी समक्षको वयान, शव परीक्षण प्रतिवेदन र त्यस्तो परीक्षण गर्ने विशेषज्ञले अदालत समक्ष गरेको वकपत्रका बीचमा सामञ्जस्यता स्थापित हुन पुगेको देखिएको छ । प्रस्तुत मुद्दामा विद्यमान रहेको तथ्यलाई चिकीत्सा विधिशास्त्रको सापेक्षतामा हेर्दा त्यसबाट पनि प्रतिवादी आश्विनकुमार स्थापितले आफ्नी सानीआमा नानीशोभा उदासलाई मुखमा रुमाल कोची घाँटी अठ्याई मारी कर्तव्य गरी मारेको भन्ने अभियोग दावी समर्थित हुन पुगेको छ ।
९. अन्य प्रतिवादीहरूको संलग्नताको सन्दर्भमा विचार गर्दा मृतक नानीशोभाको हत्यामा अन्य प्रतिवादीहरू समेत संलग्न रहेको भनी प्रतिवादी आश्विनकुमारले अधिकारप्राप्त अधिकारी समक्ष गरेको वयानमा वाहेक अन्य कुनै स्रोतबाट त्यो तथ्य उजागर भएको देखिँदैन । अन्य प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारी र अदालतमा समेत अभियोग दावीमा इन्कार रही वयान गरेका छन् । निजहरू उपर लगाइएको अभियोग दावीको पुष्ट्याईंमा कुनै प्रमाणहरू पेश भएको पनि पाइदैन । घटनाको मुख्य कारणका रुपमा रहेको जग्गा सम्बन्धी विवादको विषय मात्रैले ज्यान जस्तो गंभीर अपराधमा संलग्न रहेको भन्ने तथ्यलाई स्थापित गर्न सक्दैन र कसूर कायम गर्न पनि सक्दैन । कसूर हुनका लागि आवश्यक तत्वका रुपमा रहने आपराधिक कार्य (Actus reus) र आपराधिक मष्तिष्क (Mens rea) मध्ये अन्य प्रतिवादीहरूमा प्रस्तुत घटनासँग सम्बन्धित कुनै पनि तत्वको विद्यमानता रहेको देखिँदैन । त्यसैगरी अपराधका चरणहरू अर्थात् मनसाय (intention), तयारी (preperation), उद्योग (attempt) र अपराधले पूर्णता पाउने अवस्था (commission) मध्ये मृतक नानीशोभाको कर्तव्य गरी हत्या गर्ने कार्यमा अन्य प्रतिवादीहरू कुनै पनि चरणमा संलग्न थिए भनी न त अभियोगपत्रमा स्पष्ट रुपले खुलाउन नै सकिएको छ, न त त्यसलाई पुष्टि गर्ने आधार प्रमाण पेश गर्न नै सकिएको छ । तसर्थ मृतक नानीशोभाको हत्यामा प्रतिवादी आश्विनकुमार बाहेकका अन्य प्रतिवादीहरूको संलग्नता रहेको भन्ने कुरालाई शंकारहीत तवरले पुष्टि गर्न सक्ने आधार प्रमाणको अभावमा केबल अधिकारप्राप्त अधिकारी समक्ष अभियुक्तले लगाएको पोल र अभियोग दावीमा अभियोजनपक्षले लिएको जिकिरकै भरमा कसूरदार ठहर्याउन मिल्ने अवस्था देखिएन ।
१०. तसर्थ माथि विभिन्न प्रश्नहरूको निरुपण गर्ने सन्दर्भमा गरिएको विश्लेषण समेतबाट प्रस्तुत मुद्दाका प्रतिवादी आश्विनकुमारले आफ्नै सानीआमा नानीशोभालाई कर्तव्य गरी मारेको ठहर्छ । सो ठहर्नाले निजलाई अभियोग दावी बमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र अन्य प्रतिवादीहरू हरिबहादुर राउत, ज्ञानकाजी सिक्राकार, हिराकाजी सिक्राकार, रामकृष्ण पाठक, मचाभाई महर्जन र नानीवावु बुढाथोकीलाई अभियोग दावीबाट सफाई पाउने ठहर्याएको संयुक्त इजलासका माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय मनासिव ठहर्छ । अरुमा तपसिलबमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी पुष्परत्न भन्ने आश्विनकुमार स्थापितलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी फैसला भएकाले निज मिति २०४९।१०।१४ गते देखि मिति २०५४।३।२५ सम्म प्रहरी हिरासत तथा थुनामा रहेको देखिएको हुँदा हिरासतमा रहेको अबधि कटृा गरी कैद ठेक्नु र निजको अंश समेत सर्वस्व गरी कानूनबमोजिम असूल उपर गर्न काठमाडौं जिल्ला अदालतमा लगत दिनू..१
यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू……. २
प्रस्तुत मुद्दाको दायरीको लगत कटृागरी मिसिल नियमानुसार गरी बुझाइ दिनू .. ३
उक्त रायमा हामी सहमत छौं ।
न्या. बलराम के.सी.
न्या.तपबहादुर मगर
इति संवत् २०६५ फागुन २२ गते रोज ५ शुभम् ..
इजलास अधिकृतः उमेश कोइराला