January 15, 1991
Created by nepalarchives

निर्णय नं. ४२२० – जग्गा खिचोला

निर्णय नं. ४२२०     ने.का.प. २०४७      अङ्क ११   संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह २०४७ सालको दे.वि.नं. ७३...

निर्णय नं. ४२२०     ने.का.प. २०४७      अङ्क ११

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

२०४७ सालको दे.वि.नं. ७३

फैसला भएको मिति : २०४७।१०।१।३ मा

पुनरावेदक/प्रतिवादी : जि.कन्चनपुर सुखाताल बस्ने जंजाली टमाटो

विरुद्ध

विपक्षी/वादी : ऐ.ऐ.बस्ने बली भद्र अवस्थी

मुद्दा : जग्गा खिचोला

(१)   नापी र जग्गाधनी प्रमाण पुर्जा समेतबाट जग्गा भित्रै विवादित जग्गा परेको देखिन आएकोले सो मा खिचोला गरेको ठहर्‍याएको शुरु जिल्ला अदालत अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने ।

 (प्रकरण नं. १७)

फैसला

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।११।१७।२ को निर्णय उपर इन्साफ जाँच गरिदिनु भन्ने हु.प्र. बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।

२.    २०३९।११।४ मा लुडके भन्ने धनबहादुर सुनारका नाउँमा दर्ता भएको साविक मुजेला गा.पं. वा.नं. २, कि.नं. १३, ज.वि. २१९० को जग्गा रु. २५,०००।तिरी मैले राजीनामा रजिष्ट्रेशन पारीत गराई जग्गाधनी दर्ता प्रमाण पुर्जा प्राप्त गरी भोगचलन गरी आएको, उक्त जग्गाको उत्तरतर्फ लगभग १ बिगहा जग्गामा जोत्न बाँकी भएकोमा २०४२ साल ज्येष्ठ २० गते विहान ७ बजे खेतमा जाँदा उत्तर सीमानामा मेरो जग्गाको साँधवालाले जोत्न बाँकी रहेको १ विगहा मध्ये आधा बिगहामा उत्तरपट्टि जोत्न लागेको देखी किन मेरो जग्गा जोत्न लागेको भनी सोधनी गर्दा यो जग्गा मेरो जग्गा भित्र पर्दछ अबदेखि तिमीलाई चलन गर्न दिने होइन भनी भनेबाट मैले राजीनामा गराई लिएको र कृषि विकास बैंकमा धितो समेत राखेको जग्गा तपाइको कसरी भयो भन्दा बढी कुरा नगर नराम्रो होला भनी विपक्षीले धम्की समेत दिई अन्याय गरी मेरो हक भोगको आधा बिगहा जग्गामा खिचोला गरी मकै र धान लगाइएको हुँदा जग्गा मिच्नेको १० नं. बमोजिम सो जग्गाको बाली रोक्का राख्न लगाई विपक्षीले जग्गा मिच्नेको १ नं. अन्तर्गतको कसूर गरेको हुनाले मैले राखेको कोर्टफी सहितको अन्य दस्तूर समेत दिलाई भराई गैरकानुनी खिचोला मेटाई जग्गा मिच्नेको १४ नं. बमोजिम सजायँ गरी पाउँ भन्ने समेत बलीभद्र अवस्थीको मिति २०४२।४।२८ को फिरादपत्र ।

३.    विपक्षीको सम्पूर्ण फिराद दावी झुठ्ठा काल्पनिक एवं तथ्यहीन हो । सो अनुसारको कार्य मबाट भए गरेको छैन । ०४२।२।२० गतेका दिन कथित खिचोला गरेको भन्ने खेतमा मैले खिचोला गरेको छैन । उक्त दिन मेरो विपक्षीसंग भेटघाट र भनाभन समेत केही भएको छैन । मैले जिल्ला कञ्चनपुरको सुकासाज तीन तराइमा २०२७ साल देखि नै कसैको हकभोग चलनको नभई सरकारी ऐलानी जग्गा आवाद गरी अं. १० जग्गामा घर वस्ती बनाई बसोवास गरी आएकोमा २०३९ सालमा नापी हुँदा म घरमा नभएको र मेरो सो भोगचलनको सम्पूर्ण जग्गा मेरो नाउँमा नाप नक्शा नभई केवल ०२ जग्गा मात्र साविक भूजेला प्लट नं. २(ख) कि.नं. ११२ परी मेरा नाउँमा नाप नक्शा भई फिल्डबुक समेत कायम भएकोमा मेरो श्रीमतीले मेरो नाउँको सम्पूर्ण जग्गा नाप नक्शा होस भनी मिति ०३९।२।३१ मा क्षेत्रीय बसोवास कार्यालय कञ्चनपुरमा हुलाकद्वारा रजिष्ट्री गरी निवेदन दिएकी र सम्पूर्ण जग्गा मेरा नाउँमा नाप जाँच नभएबाट नाप नक्शा भएको जग्गाको समेत जग्गाधनी प्रमाण पुर्जा समेत लिएको छैन । सो सम्पूर्ण ज.वि. १० जग्गा २०२७ सालदेखि निरन्तर मेरै भोगचलनमा रहेकोमा सो समेत आफ्नो जग्गामा घुसाई खाने बदनियतले यो झुठ्ठा फिराद दिएको हुँदा सफाई दिलाई विपक्षीले राखेको कोर्टफी समेत जफत गरिपाउँ भन्ने समेत मिति २०४२।६।२८ को जंजाली टमाटोको प्रतिउत्तरपत्र ।

४.    दुवै थरलाई मिल्नु पर्दछ भनी भन्दा नमानी जंजाली टमाटोले जोत चलन गर्न छोडेन भन्ने समेत वादीको साक्षी प्रतापहरी भट्टको बकपत्र ।

५.    जग्गामा तेरो मेरो भनी दुवै घरमा झगडा हुँदा मैले पनि सम्झाए नमान्ने ठानी जे गर्छौ गर भनी म बजारतिर आएको हुँ भन्ने समेत वादीको साक्षी खड्गसिं खड्काको बकपत्र ।

६.    वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको थाहा छैन । वादीको जग्गा वादीको भोगचलनमा र प्रतिवादीको जग्गा प्रतिवादीकै भोगचलनमा छ भन्ने समेत प्रतिवादीको साक्षी विरसिं ठकुराठीको बकपत्र ।

७.    वादी दावीको जग्गामा प्रतिवादीले खनजोत गरेको मैले देखिन । जंजाली टमाटो २०२७ सालदेखि सो ठाउँमा घरबस्ती गरी बसी आएका छन् । वादी प्रतिवादीले आआफ्नो जग्गा कमाई खाई आएका छन्, वादीले किन मुद्दा दिए थाहा छैन भन्ने समेत प्रतिवादीको साक्षी लछी लुहारको बकपत्र ।

८.    २०४२ साल ज्येष्ठ २० गते जंजालीले वादीको जग्गामा खनजोत गरी खिचोला गरेको छैन । सो दिन जंजाली घरमा नभई बझाङमा थिए । वादी प्रतिवादीले आफ्नो आफ्नो जग्गा भोगचलन गरेका छन भन्ने समेत प्रतिवादीका साक्षी हरिसिंह खड्काको बकपत्र ।

९.    २०४२ ज्येष्ठ २० गते वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको थाहा छैन भन्ने समेत प्रतिवादीका साक्षी रामचन्द्र चटौतको बकपत्र ।

१०.    कञ्चनपुर जिल्ला अदालतको मिति ०४२।११।२३ को आदेश बमोजिम भई आएको नक्शा प्रकृति एवं दर्ता उतार समेत मिसिल संलग्न रहेको ।

११.    बसोवास नापी केन्द्रबाट प्राप्त नक्शा हेर्दा कि.नं. ११२ संग कि.नं. १३ जोडिएको देखिएको हुँदा नापी भएको कि.नं. ११२ र बीचमा नापी हुन बाँकी मेरो जग्गा र त्यसपछि दक्षिणमा वादीको जग्गा पर्दछ भन्ने प्रतिवादी जिकिर मनासिब देखिएन । मिति २०४२।१२।५ मा भई आएको नक्शाको न.नं. ९ न.नं. ८ को प्रतिवादीको कि.नं. ११२ को ज.वि. ०२ को जग्गा न.नं. १० न.नं. ११ को विवादित जग्गा वादीको कि.नं. १३ को ज.वि. २१९० मध्ये देखिँदा वादी दावी बमोजिमको उक्त आधा बिगहा जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत कञ्चनपुर जिल्ला अदालतको मिति ०४३।३।१९।१ को फैसला ।

१२.   कञ्चनपुर जिल्ला अदालतबाट निर्णय गर्दा न.नं. १० र ११ को वादी दावी मध्येको भनी खिचोला गरेको ठहर गरेको छ । तर डोरबाट वास्तविक वादी दावीको दक्षिण सीमानाबाट नाप नक्शा गरेमा न.नं. १२ र १३ का जग्गामा नै वादी दावीको जग्गाको क्षेत्रफल पुग्ने र त्यो भन्दा बाहेकको न.नं. १० र ११ समेतको जग्गा मेरो प्रतिउत्तर जिकिरको देखिनेमा नक्शा गर्दा पुरानो नक्शासंग नभिडाई गरिएको हुँदा पुनः अ.बं. १७१ नं. अनुसार नक्शा समेत गरी शुरु कञ्चनपुर जिल्ला अदालतको निर्णय बदर गरी मेरो हक भोगचलनको जग्गा थामी पाउँ भन्ने समेत प्रतिवादी जंजाली टमाटोको महाकाली अञ्चल अदालतमा मिति ०४३।४।३१ मा दिएको पुनरावेदनपत्र ।

१३.   प्रतिवादीले आफ्नो भोगचलनको जग्गा नापीले छुट्याई दर्ता गरी दिएको ०२ भन्दा बढी थियो भनी दर्ता तिरो समेतबाट प्रमाणित गर्न सकिएको देखिँदैन । सोको विपरीत वादी दावीको कि.नं. १३ को जग्गा ज.वि. २१९० रहेको कुरा नापी, राजीनामा, जग्गाधनी प्रमाण पुर्जा तिरो समेतबाट देखिई रहेको अवस्थामा आफ्नो भोगचलनको ऐलानी जग्गा सो कि.नं. १३ मा रहेको भनी वादीको हक दर्ताको कि.नं. १३ को जग्गामा प्रतिवादीले दावी गर्न मिल्ने होइन । प्रतिउत्तर लेखबाट र अदालतबाट भई आएको नक्शा समेतबाट वादीको यस्तो दर्ता र हक स्वामित्वको कि.नं. १३ को जग्गा मध्ये ज.वि. ०१५ मा प्रतिवादीले घर गोठ समेत बनाई खिचोला गरेको प्रष्ट देखिएकोले वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहराएको शुरु जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत महाकाली अञ्चल अदालतको मिति २०४३।११।१०।१ को फैसला ।

१४.   वादी प्रतिवादी र झगडा परेको जग्गा समेतको नाप जाँच गरेको नक्शा हेर्दा दर्तावाल वादीको दर्ता बमोजिमको जग्गा बिगहा २१९० देखि बढी देखिन नआएको र प्रतिवादीको ०२ को कि.नं. ११२ को जग्गा वादीको जग्गादेखि उत्तरतर्फ स्पष्ट देखिन आएको न.नं. ७ मा प्रतिवादीको कि.नं. ११२ को जग्गा ०२ पूरै देखिएको र न.नं. २ मा जग्गा बिगहा २५ मात्र भई झगडा परेको ५ नं. मा जग्गा बिगहा ०१५ समेत मिलाउँदा ज.बि. २१९ भन्दा बढी देखिन नआएकोले र न.नं. ४ मा गोठ घर भएको सो वादीको भनेमा प्रतिवादी कायमी भएको यस अवस्थामा न.नं. ५ को जग्गा बिगहा ०१५ शुद्ध वादीकै देखिन आएकोले सो मा खिचोला ठहर्‍याएको शुरु कञ्चनपुर जिल्ला अदालतको इन्साफ सदर गरेको महाकाली अञ्चल अदालतको इन्साफ मनासिब छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४४।११।१७।२ को फैसला ।

१५.   सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला चित्त नबुझी प्रतिवादीले चढाएको बिन्तिपत्रमा व्यहोरा साँचो भए सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको जग्गा खिचोला मुद्दाको मिसिल झिकाई इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत सर्वोच्च अदालतको नाममा हु.प्र.भई आएकोमा यो बिन्तिपत्र विविधमा दर्ता गरी शुरु रिकर्ड तथा भए प्रमाण मिसिलहरु समेत झिकाई संयुक्त इजलास समक्ष पेश गर्न बुझाई दिनु भन्ने समेत यस अदालतको एक न्यायाधीशको इजलासको मिति ०४६।१०।१।१ को आदेश ।

१६.    नियम बमोजिम पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी जंजाली टमाटोलाई समेत राखी मिसिल अध्ययन गर्दा यसमा सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिले नमिलेको के रहेछ निर्णय दिनु पर्ने हुन आयो ।

१७.   यसमा साविक भुजेला गा.पं. वा.नं. २ कि.नं. १३ को ज.वि. २१९० मध्ये उत्तर तर्फको आधा बिगहामा प्रतिवादीले खिचोला गर्‍यो भन्ने वादी र २०२७ सालदेखि सरकारी ऐलानी जग्गा आवाद गरी १० जग्गामा घरवस्ती बनाई बसोवास गरी आएकोमा २०३९ सालमा नापी हुँदा केवल ०२ जग्गामात्र साविक भुजंला प्लट नं. २(ख) कि.नं. ११२ मेरा नाउँमा नाप नक्शा भई फिल्डबुक समेत कायम भएछ मेरो नाउँका सम्पूर्ण जग्गा नाप नक्शा होस भनी मेरी श्रीमतीले २०३९।२।३१ मा क्षेत्रीय बसोवास कार्यालय कञ्चनपुरमा हुलाकद्वारा निवेदन गरेको छ वादीको जग्गा खिचोला गरेको होइन भन्ने समेत प्रतिवादी जिकिर रहेछ जग्गा नापी र जग्गाधनी प्रमाण पुर्जा समेतबाट वादी बलीभट्ट अवस्थीको नाममा कि.नं. १३ को ज.वि. २१९० र जग्गा नापीमा प्रतिवादी पुनरावेदक जंजाली टमाटोको नाममा कि.नं. ११२ को ज.वि. ०२ रहेकोमा कुनै विवाद देखिएन । नापी हुँदा भोगचलन गरी आएको जग्गा छूट हुन गएको भन्ने पुनरावेदक प्रतिवादीको जिकिरका सम्बन्धमा सम्बन्धित निकायमा निवेदन परेको भन्ने कुरा कहींबाट प्रमाणित समेत हुनसकेको देखिँदैन । कञ्चनपुर जिल्ला अदालत र सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत समेतबाट भई आएको नक्शाबाट पनि कि.नं. ११२ को प्रतिवादीको जग्गा ०२ पूरै देखिएको र विवादित जग्गा बाहेक वादीको ज.वि. २५ मात्र भई विवादित ज.वि. ०१५ समेत मिलाउँदा वादीको नाममा दर्ता भएको कि.नं. १३ को ज.वि. २१९० पूरा देखिन आएको छ । अतः नापी र जग्गाधनी प्रमाण पुर्जा समेतबाट वादी बलिभट्ट अवस्थीका कि.नं. १३ को ज.वि. २१९० भित्रै विवादित जग्गा परेको देखिन आएकोले सो मा खिचोला गरेको ठहर्‍याएको शुरु कञ्चनपुर जिल्ला अदालत र महाकाली अञ्चल अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४७ साल माघ १ गते रोज ३ शुभम् ।

 

