निर्णय नं. ४०९४ – सवारी ज्यान
निर्णय नं. ४०९४ ने.का.प. २०४७ अङ्क ३ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४७ सालको फौ.पु.नं....
निर्णय नं. ४०९४ ने.का.प. २०४७ अङ्क ३
संयुक्त इजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४७ सालको फौ.पु.नं. ३९२
” ” फौ.सा.नं. ८०
फैसला भएको मिति : २०४७।३।२९।५ मा
पुनरावेदक/प्रतिवादी : कारागार शाखा पाल्पामा बन्दी रहेको पूर्णबहादुर आले
विरुद्ध
विपक्षी/वादी : प्र.ज.भविश्वरको जाहेरीले श्री ५ को सरकार
मुद्दा : सवारी ज्यान
(१) अनुमति प्राप्त चालक हुन् भन्ने कुरा पुष्टि हुन सकेको पाइँदैन, सवारी जस्तो जोखिमी पूर्ण साधन अनुमति बिना चलाउनु नै कानुन बर्जित कार्य मानिने ।
(प्रकरण नं. १८)
(२) मार्न पर्ने इवी र नियोजित नियतको अभावमा अपराध कानुनतः दण्डनीय नै भए पनि सो बमोजिम सजायँको भागिदार बनाइनु न्यायसंगत हुने नहुँदा निज पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ को सजायँको राय प्रस्तावित गरी साधक निकासा पठाएको क्षे.अ. को इन्साफ मनासिब ठहर्ने ।
(प्रकरण नं. १८)
पुनरावेदक/प्रतिवादी : विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादी पूर्णबहादुरको पुनरावेदन परी र साधक निकाशा समेतको लागि प्राप्त हुन आई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ ।
२. मिति २०४३।११।१५ गते सीतापुर गा.पं. को भवानी पाटा सुमाखोला सम्मको वस्तुस्थिति बुझी आउनु भनी खटाई पठाएको अं. १४.०० बजे सुपाखोलामा आइपुग्दा चुना वेशीबाट पत्थरकोट तर्फ आएको टे«क्टर सुपाखोलामा पल्टी टे«क्टरमा बसेकी लुरी विश्वकर्मा इन्जिन मुनी च्यापी मरेको अवस्थामा छ भनी थाहा पाई जाँदा लुरी मरेको अवस्थामा देखिएको चालक फेला नपरेकोले कानुनी कारवाही हुन प्रतिवेदन गरेको छु भन्ने समेतको २०४५।११।१६ को प्र.ज. भविश्वरको प्रतिवेदन ।
३. २०४३।११।१५ गते म, सुमती नेपाली, लुरी विश्वकर्मा समेत पत्थरकोटतर्फ जान भनी लु.अं. अ.नं. ४७ को टे«क्टरमा गएको अवस्थामा अं. १४.०० बजे सो टे«क्टर ढुंगामा ठक्कर खाई अगाडिको दुवै पांग्रा फुत्किएको कारणबाट टे«क्टर पल्टी लुरी कुच्चिएर मरेकी हुन । चालक पूर्णबहादुर पनि घाइते भएका हुन । म र सुमतीलाई केही चोट लागेन । चालकको लापरवाही छैन, ब्रेकफेल भएबाट लुरी मरेकी हुन् भन्ने समेत करिब एकै मिलानको कल्पना नेपाली र सुमती नेपालीले प्रहरीमा गरेको बयान कागज ।
४. २०४३।११।१५ गते अं. १ बजेको समयमा चुत्रा बेसीबाट सामान लिन पत्थरकोट जान लागेको अवस्था गच्छे खोला पुग्दा मैले नचिनेका ३ जना केटी टे«क्टरमा चढे, घुम्तीमा १ जना केटा समेत आई ट्रालीमा बस्यो । सुपाखोला ओरालोमा पुग्दा ब्रेकफेल भई दुर्घटना भयो । लुरी उछिट्टिई टे«क्टर मुनी परी मरेकी हुन । मैले मादक पदार्थ सेवन गरेको थिइन । गाडी चलाउने अनुमति पत्र २०४१ साल ज्येष्ठमा लिएको हुँ भन्ने समेत व्यहोराको चालक पूर्णबहादुर आलेले प्रहरीमा गरेको बयान ।
५. छोरा बालकृष्ण उक्त दुर्घटनामा घाइते भई उपचारार्थ बुटवल अस्पतालमा पुर्याउँदा मृत्यु भएको हो । चालकलाई चिन्दिन, कुनै रिसइवी पनि छैन भन्ने समेत व्यहोराको मृतक बालकृष्ण पाण्डेको बाबु लोमाकान्तले प्रहरीमा गरेको बयान ।
६. लु.अं. थ.नं. ४७ को टे«क्टर मेरो बाबु करिम मियाँको नाउँमा छ, तर पनि मेरो जिम्मामा थियो । २०४३।११।१४ गते सम्ममा आफैंले चलाई आएको थिएँ । वन डडेलो लागेको ठाउँमा जाँदा खलासी पूर्णबहादुरलाई कुर्न लगाएको थिएँ फर्कंदा टे«क्टर नदेखी सोध्दा पूर्णबहादुरले चलाई लाँदा सुपाखोलामा दुर्घटना भई मरेको छ भन्ने थाहा पाई जाँदा एकजना घटनास्थल मै मरेको देखें । टे«क्टर, खलासीलाई चलाउन दिएको होइन, किन चलाए थाहा छैन भन्ने समेतको अमिन बक्स मियाँले प्रहरीमा गरेको बयान ।
७. २०४३।११।२८ गते कागज गर्दा अस्पतालबाट भर्खर निस्केको र घाउ चोटको पिरले सजायँबाट मुक्त हुने आशाले ट्रेक्टर चलाई आएको भनी झुठ्ठा बयान गरेको हुँ । मासिक रु. ८००।– लिने गरी खलासी काम गर्दै आएको थिएँ । अहिले टे«क्टर चलाई लाँदा दुर्घटना भएको हो । सवारी चालक अनुमतिपत्र पाएको छैन । कोष बुकको लाइसेन्स लिएको छु भन्ने समेत व्यहोराको ०४३।१२।२ मा पूर्णबहादुरले प्रहरीमा गरेको बयान ।
८. मिति २०४५।१२।१३ मा हरिप्रसाद शर्मा समेतले गरी दिएको सरजमीन मुचुल्का ।
९. प्र.पूर्णबहादुरले चालक अनुमति पत्र नलिई टे«क्टर चलाई सवारी ऐन, २०२० को परिच्छेद २ को दफा ३(१) को बर्खिलाप गरी ऐ. को दफा ५१ अनुसार मारौं भन्ने नियत र इवी नभए तापनि यसरी हाँकेमा मानिस मर्न सक्छ भन्ने जानी जानी टे«क्टर चलाई लुरी विश्वकर्मा र वालकृष्ण पाण्डेको मृत्यु भएको देखिएकाले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. को कसूर गरेकाले निजलाई सो ऐन बमोजिम सजायँ हुन र मृतकको हकवालालाई क्षतिपूर्ति दिलाई पाउने माग दावी लिइएको छ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१०. २०४३।११।१५ गते चुत्रा वेशीमा माल सामान अनलोड गरी खाना खाइसकेपछि गाडि धोई पखाली म बाहेक ५ जना मानिस लिई मालिकको आदेश लिई गएको हुँ । टे«क्टर चलाउने लाइसेन्स छैन । ब्रेकफेल भई दुर्घटना भएकाले मानिस मरेका हुन् । मैले रिसइवीले दुर्घटना गराई मारेको होइन भन्ने समेत व्यहोराको पूर्णबहादुरले अदालतमा गरेको बयान ।
११. प्रतिवादी रामबहादुर भन्ने पूर्णबहादुर आले मगरलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजायँ हुने ठहर्छ, र अपराधको अवस्था विचार गर्दा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद गर्दा चर्को पर्ने हुँदा ५ वर्ष कैद गर्ने गरी साधक सदरको लागि लुम्बिनी अञ्चल अदालतमा जाहेर गर्ने भन्ने समेत व्यहोराको शुरु अर्घाखाँची जिल्ला अदालतको २०४५।३।२१ को जाहेरी फैसला ।
१२. उक्त इन्साफमा चित्त बुझेन । मलाई कैद गर्ने गरी गरेको उक्त फैसला बदर गरी सफाई पाउँ भन्ने समेतको प्रतिवादीको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन ।
१३. शुरुले ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गरेको फैसला मनासिब ठहर्छ । साथै अ.बं. १८८ नं. अनुसार ५ वर्ष कैद हुने गरी साधक जाहेर गरेको राय पनि मनासिब हुँदा सोही बमोजिम प.क्षे.अ. मा साधक जाहेर गर्ने भन्ने समेतको लुम्बिनी अञ्चल अदालतको मिति २०४६।१।१३ को फैसला ।
१४. उक्त इन्साफमा चित्त बुझेन । सो फैसला बदर गरी सफाई पाउँ भन्ने समेतको प्रतिवादी पूर्णबहादुरको प.क्षे.अ. मा परेको पुनरावेदन ।
१५. बिना अनुमतिपत्र टे«क्टर हाँकेकोमा मानिस मर्न सक्छ भन्ने अनुमान गर्नु पर्ने भएको प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ गर्ने गरी अ.बं. १८८ नं. बमोजिम ५ वर्ष गर्ने राय प्रस्ताव गरी गरेको शुरुको सदर गरेको लुम्बिनी अञ्चल अदालतको फैसला मनासिब ठहर्छ । साधक निकाशाको लागि मिसिल सर्वोच्च अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको प.क्षे.अ. को मिति २०४६।१०।८ को फैसला ।
१६. उक्त इन्साफमा चित्त बुझेन सो फैसला बदर गरी प्रहरी प्रतिवेदन अनुसारको आरोपबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पूर्णबहादुर आलेको यस अदालतमा परेको पुनरावेदन ।
१७. नियम बमोजिम पेश हुन आएकोमा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगानाले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतया प.क्षे.अ. ले गरेको इन्साफ मनासिब छ छैन भन्ने विषयमा नै निर्णय गर्नु पर्ने हुन आयो ।
१८. निर्णयतर्फ हेर्दा यसमा पूर्णबहादुरले हाँकेको ट्रेक्टरको चोटले लुरी विश्वकर्माको मृत्यु हुन गएको पूर्णबहादुर अनुमति प्राप्त चालक होइनन भन्ने कुरामा विवाद नरहेको, यस सम्बन्धमा निज पुनरावेदक प्रतिवादीको अन्यथा पुनरावेदन जिकिर पनि नदेखिएकोले निज पूर्णबहादुरले हाँकेको ट्राक्टरको चोटबाट नै लुरी विश्वकर्माको मृत्यु भएको देखिन्छ । यद्यपि मृतकलाई मार्न पर्ने स्थिति अवस्था या मनसाय प्रतिवादीको देखिंदैन तापनि खलासी तहका निज पुनरावेदक प्रतिवादी अनुमति प्राप्त चालक हुन् भन्ने कुरा पुष्टि हुन सकेको पाइँदैन । सवारी जस्तो जोखिमपूर्ण साधन अनुमति बिना चलाउनु नै कानुन बर्जित कार्य मानिन्छ । सवारी चालक अनुमति प्राप्त नगरी प्रतिवादीले हाँकेको ट्राक्टरको चोट बाट नै लुरी मायाको मृत्यु हुन गएको देखिन आउँदा त्यस अवस्थामा निजको लापरवाही थिएन होइन भन्न कानुनसंगत हुँदैन । निजको लापरवाहीपूर्ण कार्यबाट नै लुरीमायाको मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि भएको देखिँदा निजलाई सवारी ऐन, २०२१ को दफा ५१(क) र ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजायँ हुन्छ । तर लुरी मायालाई मार्नु पर्ने पूर्व नियोजित नियत र इवी निज पुनरावेदक प्रतिवादीको थियो रहेको छ भन्ने कुरा मिसिल संलग्न प्रमाणबाट पुष्टि हुन सकेको पाइँदैन । कसैलाई मार्न पर्ने इवी र नियोजित नियतको अभावमा निजको अपराध कानुनतः दण्डनीय नै भए पनि सो बमोजिम सजायँको भागिदार बनाइनु न्यायसंगत हुने नहुँदा निज पुनरावेदक प्रतिवादीलाई अ.बं. १८८ नं. बमोजिम कैद वर्ष ५ को सजायँको राय प्रस्तावित गरी साधक निकासा पठाएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । सफाई पाउनु पर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । साधक समेतको लगत कट्टा गरी फैसलाको जनाउ प्रतिवादीलाई दिई मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.महेशरामभक्त माथेमा
इति सम्वत् २०४७ साल आषाढ २९ गते रोज ५ शुभम् ।