निर्णय नं. १८३४-१ – ज्यान
(मूल किताबमा नि.नं १८३४ दुईवटा भएकाले सोही अनुसार नै राखिएको–संयोजक) निर्णय नं. १८३४ ने.का.प. २०४० अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर...
(मूल किताबमा नि.नं १८३४ दुईवटा भएकाले सोही अनुसार नै राखिएको–संयोजक)
निर्णय नं. १८३४ ने.का.प. २०४० अङ्क १२
फुलबेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
सम्वत् २०३९ सालको फौ.फु.नं. ५
सम्वत् २०४० सालको फौ.पु.नं. १३
फैसला भएको मिति : २०४०।८।२३।६ मा
पुनरावेदक : सदर खोर शाखा डिल्लीबजारमा थुनामा रहेकी शुशिला अर्यालसमेत
विरूद्ध
विपक्षी/वादी : श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) कर्तव्य गरी मारेको होइन भन्ने कुनै किसिमको सबूत प्रमाण पेश हुनआएको नदेखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको इन्साफ सदर गरेको मनासिव ठहर्ने ।
(प्रकरण नं. २६)
पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ताहरु श्री गोविन्दकुमार उपाध्याय र श्री विष्णुबहादुर राउत
विपक्षी वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल
फैसला
न्या.गजेन्द्रकेशरी बास्तोला
१. प्र.शुशिला अर्यालको हकमा डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूका बीचमा मतैक्य हुन नसकी र प्र.शिवबहादुर मल्लठकुरीको हकमा सार्वजनिक महत्त्वको जटिल कानुनी प्रश्न समाविष्ट भनी सर्वोच्च अदालत नियमावलीको नियम ३३(घ) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ :
२. ०३५।१।२१ गते बिहान ५ बजे चौकीबाट वडा घुम्दै अरनीको राजमार्ग भक्तपुर जाने र ठिमी जाने पुरानो बाटो गइरहेको अवस्था ध्रुवप्रसाद पराजुलीको खेतको खोल्सा सडक पूर्व फुटपाथ मुनी नाम, थर, वतन थाहा नभएको अं.वर्ष २५ को मर्दानाको घाँटीमा नाइलनको डोरीले बाँधी मृत्यु भएको देखी जाहेर गरेको छ भन्ने प्र.मदनबहादुर थापा समेतको ०३५।१।२१।५ को प्रतिवेदन।
३. उत्तर टाउको दक्षिण गोडा भई बाँया गोडा माथि दायाँ गोडा तल भई पश्चिम फर्किएको बायाँ हात माथि दायाँ हात तल भएको बायाँ हात उत्तानो परेको घाँटीमा बाँधी राखेको डोरी फुकाउन नसकी घाँटी हेर्दा घाँटी वरीपरी नै डोरीको अं.३ इन्ची चौंडाईको निलडाम भएको भन्ने समेत व्यहोराको मिति ०३५।१।२१ को लासप्रकृति मुचुल्का ।
४. लास हेरेँ देखेँ चिनेँ सो लास मेरो विवाहित लोग्ने पूर्णप्रसाद अर्यालको हो भन्ने शुशिला अर्यालको सनाखत बयान ।
५. २ वर्ष अघि विरामी भई उपचार गर्न अस्पताल भर्ना भएका गोपाल ठकुरीसँग प्रेम भएको १ वर्ष जति भयो र म अस्पतालकै वार्ड कूल्ली भएकोले हामी बीच भेटघाट हुँदै जाँदा निज गोपालले मलाई लान्छु भने मेरो लोग्नेले देखे झगडा हुन्छ भनी भन्दा म विष ल्याई दिन्छु तिमीले खुवाउनु भने । मैले विष इन्कार गरी मार्न सके मार भनी बचन दिएँ निज गोपालले आफ्ना फुपुको छोरा शिवबहादुरलाई मेरो लोग्ने मारेमा रु.२००। दिन्छु भनी मेरो लोग्नेलाई मार्न रु.१०। र २ सिसी रक्सी दिई पठाए । शिवबहादुर र मेरो लोग्ने भक्तपुरमा सिनेमा हेरी फर्किदा शिवबहादुरले मेरो लोग्नेलाई बैशाख २१ गते मारेको हो भन्ने शुशिला अर्यालको प्रहरीमा बयान ।
६. शुशिलासँग चिनजान बोलचाल भई निजसँग ०३४ आश्विन महीनामा पुतली सडकको डेरामा करणी लेनदेन सम्म भएको थियो । म तिमीसँग पोइल आए लोग्नेले जहाँ भेटे पनि ल्याइहाल्छ त्यसैले मेरो लोग्नेलाई खतम पारे मात्र म तिमीसँग आउँछु भनी निज शुशिलाले भनेकीले मेरो फुपुको छोरा शिवबहादुरसँग पूर्णप्रसादको चिनजान गराई भक्तपुरमा सिनेमा हेर्न रु.१०। र २ सिसी रक्सी दिई पठाएँ । बैशाख २० गते बेलुका पूर्णप्रसादलाई खतम पार्यो होला भनी ढुक्क थिएँ । प्रहरीले के को शंकाबाट पक्राउ गरी ल्याएको भन्ने गोपाल ठकुरीको बयान ।
७. गोपाल र शुशिलाले हामीसँग माया प्रिती बढेकोले छाड्न नसक्ने भयो, शुशिलाको लोग्ने पूर्णप्रसाद नमारी पोइल नआउने भनी शुशिलाले भनेकी हुँदा गोपालले मलाई पूर्णप्रसादलाई मार्न भने । मैले ज्यानमारा काम गर्दिन भन्दा तिमीलाई केही हुँदैन जे परे पनि म बेहोर्छु भनी गोपालले मलाई घर जाने पैसा समेत दिन्छु भन्यो । बैशाख १९ गते पूर्णप्रसादको अफिसमा गई चिनापर्चि गरेँ । भोलिपल्ट भक्तपुर सिनेमा हेर्न जाने कुरा मिलाई बैशाख २० गते सिनेमा हेरी बेलुका ९ बजेको समयमा पैदल हिँडी आई झोलाबाट रक्सी झिकी मैले अलिकति पिएँ र पूर्णप्रसादलाई धेरै पिलाएँ निज पूर्णप्रसाद रक्सी लागी लडेपछि झोलाबाट नाइलनको डोरी झिकी घाँटीमा बेसरी २ गाँठो कसी तहीँ छोडी घर गई बसेको भन्ने समेत व्यहोराको शिवबहादुरको बयान ।
८. शुशिला, गोपाल र शिवबहादुर समेतको मिलोपतोबाट निजहरूको बयान बमोजिम रक्सी खुवाई डोरीले घाँटीमा बाँधी मारेको हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का ।
९. प्र.शिवबहादुरलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद र शुशिला र गोपालको हकमा ऐ.ऐनको १३(४) बमोजिम जन्मकैदको सजाय हुनुपर्ने भन्ने माग दावी सहितको प्रहरी तथा स.स.अ.को समेत संयुक्त प्रतिवेदन ।
१०. मैले शुशिला भन्ने आईमाईलाई तिमी गोपालसँग जाने रे हो ? भनी सोधेँ त्यसरी सोद्धा निजले हो भनी भनिन् । तिमी लोग्नेलाई नै सिध्याएर हिँडछु भन्छ्यौ रे किन सिध्याउने भन्दा नसिध्याइकन नजाने म जहाँ गए पनि पछि पछि आउँछ त्यसकारण निज लोग्नेलाई मार्नु प¥र्यो भनी भनिन् मैले म त मार्दिन भन्दा जे परे पनि म व्यहोर्छु । मैले नै लगाएपछि मैले नगरीकन तिमी पर्दैनौ भनी भन्दा म सक्तीन भन्दा पनि गर तिमी सक्छौं मेरो लोग्ने रक्सी बेसरी खान्छ रक्सी खाएर लडछ र डोरीले घिच्रामा कस्नु भनेर शुशिलाले भनिन् । त्यस बेला गोपाल पनि त्यहीँ थियो गोपालले पनि त्यसै गर्नु भनी भन्यो शुशिला र गोपालले भने बमोजिम रक्सी खाई लडेको बेला मैले यो नाइलनको डोरीले निज पूर्णप्रसादको घिच्रोमा कसें । डोरीले कसी सकेपछि मैले हेरिन भन्ने समेत शिवबहादुरको अदालतमा बयान ।
११. पूर्णप्रसादलाई मार्नु भन्दा ६।७ दिन अगाडि वीर अस्पताल भित्र बरण्डामा शुशिला १ म गोपाल १ शिबहादुर १ समेत ३ जना बसी पूर्णप्रसादलाई मार्नु पर्यो भन्दा शिवबहादुरले आफू परिन्छ भन्दा शुशिलाले म कसैलाई भन्दिन कसरी तिमी पर्दछौं र ? भनी अनि शिवबहादुरले मञ्जूर गर्यो र कसरी मार्ने भन्दा रक्सी खुवाई लठ्ठ पारी डोरीले घाँटीमा कसी मार्ने भन्ने सल्लाह भयो । निजको मृत्य शुशिला र मेरो सल्लाह मुताविक शिवबहादुरले रक्सी पिलाई घाँटीमा डोरीले कसी श्वास नली थिची कर्तव्य गरी मारे मराएको हो भन्ने समेत गोपाल ठकुरीले अदालतमा गरेको बयान ।
१२. २०३५।१।१८ गते वीर अस्पतालमा म शुशिला १ गोपाल ठकुरी १ र शिवबहादुर ठकुरी १ समेत ३ जना भई बसेका थियौं । त्यसबेला गोपाल ठकुरीले शुशिला अर्यालको लोग्नेलाई मार्नु पर्यो त मार्न सक्छस् भनी गोपाल ठकुरीले शिवबहादुर ठकुरीलाई भन्दा निज शिवबहादुरले म सक्छु, गर्छु भन्यो तिमीहरू गर्न सक्छौं भने गर भनी मैले भने, मेरो लोग्ने पूर्णप्रसादलाई मार्ने सल्ला म शिवबहादुर ठकुरी र गोपाल ठकुरीले गरेको हो सल्लाह ३ जनाले गरेको हो मार्ने शिवबहादुर ठकुरी हो सो बाहेक अरू कसैको मिलोमतो सल्लाह केही छैन भन्ने समेत शुशिला अर्यालले अदालतमा गरेको बयान ।
१३. प्रतिवादीहरूले ज्यान मारेमा अदालतमा समेत आई साविती बयान गरेको र लासजाँचको प्रतिवेदनबाट श्वास नली थिची मृत्यु भएको भन्ने देखिनाले समेत प्र.शिवबहादुरले शुशिला र गोपाल समेतको बचन मानी कर्तव्य गरी पूर्णप्रसादको ज्यान मारेको ठहर्छ भन्ने का.जि.अ.को फैसला ।
१४. उक्त फैसला उपर चित्त बुझेन भन्ने समेत प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन ।
१५. शुरू अदालतको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला।
१६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत शुशिला अर्यालको पुनरावेदन ।
१७. शुरू मिसिल संलग्न पुनरावेदीका प्रतिवादी शुशिला आर्यालको अदालतमा भएको बयानको सवाल ९ र १० को जवाफमा मर्ने पूर्णप्रसादलाई मार्ने विषयमा सल्लाहमा सम्म बसेको भन्ने देखिएकोले निज प्रतिवादी शुशिला अर्याललाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(४) बमोजिम सजाय गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन । अ.बं.२०२ नं.बमोजिम सरकारी अधिवक्ता उपस्थित गराउनु भन्ने समेत सर्वोच्च अ.डिभिजनबेञ्चको आदेश ।
१८. मर्ने पूर्णप्रसाद अर्याललाई कर्तव्य गरी मार्ने प्रतिवादी शुशिलाले प्रत्यक्ष रूपमा बचन दिएको भन्ने देखिँदैन । शुशिलासँग गोपाल ठकुरीको प्रेम भएको कारणबाट शुशिलाको लोग्ने पूर्णप्रसादलाई कर्तव्य गरी मार्ने षडयन्त्र प्रतिवादी गोपाल ठकुरी र शिवबहादुरले गरेको कुरामा समर्थन गरी प्रतिवादी शुशिला अर्याल मार्ने मतलबमा रहेको सम्म देखिन आएकोले ज्यानसम्बन्धीको १७ नं.को देहाय ३ बमोजिम कैद वर्ष ३ तीन हुने ठहर्छ । ज्यानसम्बन्धीको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको का.जि.अ.को इन्साफ सदर गरेको हदसम्म म.क्षे.अ.को इन्साफ मिलेको देखिएन । गोपाल ठकुरी र शिवबहादुर मल्लको हकमा गोपाल ठकुरीलाई ज्यानसम्बन्धीको १३(४) बमोजिम जन्मकैद र प्र.शिवबहादुर ठकुरीलाई सर्वस्वसहित जन्मकैद गरेको इन्साफ मनासिव छ भन्ने समेत मा.न्या.श्री धनेन्द्र्रबहादुर सिंहको राय ।
१९. प्रतिवादीहरूको अदालतमा भएको बयानबाट प्र.शुशिलाले आफ्नो लोग्ने पूर्णप्रसादलाई मार्न प्रत्यक्ष रूपले बचन दिएको देखिन्छ । सो सल्लाह अनुसार गर्न गोपाल ठकुरीले वार्ड कूललीनारायण देवीलाई रक्सी ल्याई दिनुपर्यो भनी रु.१० दिएको शुशिला अर्यालले देखि चुपलागि बसेकी देखिन्छ । आफ्नो लोग्ने पूर्णप्रसादलाई नमारी नाठो लोग्ने गोपाल ठकुरीसँग जान नसक्ने कारण परी निज प्र.शुशिला अर्यालले पूर्णप्रसादलाई मार्न बचन दिएको देखिएकोले निज शुशिलालाई ज्यानसम्बन्धीको १३(४) बमोजिम जन्मकैद गर्ने गरेको शुरू इन्साफ सदर गरेको म.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ अरू प्रतिवादीहरूको हकमा राय सहमत भएकोले शुशिला अर्यालको हकमा सहयोगी माननीय न्यायाधीशसँग सहमत नहुँदा फुलबेञ्चमा पेश गर्नुभन्ने मा.न्या.श्री हेरम्बराजको राय भई ०३९।१।१४ मा निर्णय भएको रहेछ ।
२०. मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर प्र.शिवबहादुर मल्ल ठकुरीको पुनरावेदन परी डिभिजनबेञ्च समक्ष पेश हुँदा हाल निज प्र.शिवबहादुर मल्ल ठकुरीको पुनरावेदन यस बेञ्च समक्ष पेश भएकोमा यसै अदालतको डिभिजनबेञ्चबाट प्र.शिवबहादुर मल्ल ठकुरीको हकमा साधक तहबाट म.क्षे.अ.को इन्साफ सदर ठहरी ०३९।१।१४ मा निर्णय भइसकेकोले अब निज प्र.शिवबहादुर मल्ल ठकुरी के पुनरावेदन अर्को डिभिजनबेञ्चबाट हेर्न मिल्ने नमिल्ने प्रश्नमा स.अ.नियमावली, २०२१ को नियम ३३(घ) अनुसार सार्वजनिक महत्त्वको जटिल कानुनी प्रश्न समावेश भएकोले फुलबेञ्चमा पेश गर्नुभन्ने ०४०।२।३० को डिभिजनबेञ्चको आदेश ।
२१. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदीका शुशिला अर्यालतर्फबाट विद्वान अधिवक्त श्री गोविन्दकुमार उपाध्याय, प्र.शिवबहादुर मल्ल ठकुरीको तर्फबाट विद्वान अधिवक्ता श्री विष्णुबहादुर राउत तथा श्री ५ को सरकारतर्फबाट विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो ।
२२. यसमा निर्णयतर्फ हेर्दा अन्दाजी २५ वर्ष जतिको मर्दनाको घाँटीमा नाइलनको डोरीले बाधी मृत्यु भएको भन्ने प्रहरी मदनबहादुर थापाको प्रतिवेदन, मुखबाट रगत निस्किएको, घाँटीमा नाइलनको डोरीले रूद्रघण्टी देखि केही माथि २ गाँठो बलियो बनाई फुकाउन नसक्ने, सास बन्द हुने गरी बेस्करी कसेको भन्ने लासप्रकृति मुचुल्का तथा श्वास नली थिची स्वास बन्द भई मृत्यु भएको देखिन्छ भन्ने लासजाँच प्रतिवेदन समेतबाट मृतक पूर्णप्रसाद अर्यालको मृत्यु कर्तव्यबाट भएको भन्ने कुरामा कुनै विवाद देखिँदैन ।
२३. प्र.शुशिला अर्याललाई वादी दावी बमोजिम ज्यानसम्बन्धीको १३(४) नं.बमोजिम शुरू काठमाडौं जिल्ला अदालत र सोही इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट जन्मकैदको सजाय गरेकोमा डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीच मतैक्य हुन नसकी यस बेञ्च समक्ष पेश हुनआएको देखिन्छ ।
२४. प्र.शुशिला अर्याल र गोपाल ठकुरीको बीचमा अनुचित सम्बन्ध रहेको कुरा मिसिलबाट स्पष्ट देखिन्छ । मर्ने पूर्णप्रसाद अर्याललाई मार्ने विषयमा प्र.शुशिला अर्याल, प्र.गोपाल ठकुरी, प्र.शिवबहादुरको बीचमा सरसल्लाहा भएको कुरामा विवाद देखिँदैन । प्र.शुशिला अर्यालको अदालतमा भएको बयानमा म, गोपाल ठकुरी, शिवबहादुर ठकुरी समेत तीनजवान भइबसेका थियौं त्यसबेला गोपाल ठकुरीले शुशिला अर्यालको लोग्नेलाई मार्नु पर्यो तँ मार्न सक्छस् ? भनी गोपाल ठकुरीले शिवबहादुर ठकुरीलाई भन्दा शिवबहादुरले म सक्छु, गर्छु भन्यो । तिमीहरू गर्नसक्छौं भने गर भनी मैले भनँे भनी प्र.शुशिलाले भनेको देखिन्छ । मृतक पूर्णप्रसादलाई बेस्सरी रक्सी ख्वाई लठ्याई घाँटीमा डोरीले कसी मार्ने योजना पनि प्र.शुशिला अर्यालबाटै बनेको मिसिल प्रमाणबाट देखिन्छ । प्र.शुशिला अर्यालको अदालतमा भएको बयानमा २०३५।१।१ गतेका दिन म शिबहादुर ठकुरी र गोपाल ठकुरी भई लोग्ने पूर्णप्रसादलाई मार्ने विषयमा सल्लाह गर्दा सुन्ने अरू कोही पनि थिएनन् र सो सल्लाह हामीले वीर अस्पतालको बाहिरपट्टिको बरण्डामा गरेको हो भन्ने समेत उल्लेख भएको देखिन्छ । यसबाट शुशिला अर्यालले मृतक पूर्णप्रसादलाई मार्ने कुरामा सहमति सम्म दिएको नभई उक्त अपराधिक कार्यको योजना बनाई सो योजनालाई कार्यान्वित समेत गराएको देखिन्छ । यस स्थितिमा मृतक पूर्णप्रसादलाई मार्ने षडयन्त्रको शुरूवात शुशिला अर्यालबाट भएको होइन भन्ने प्रतिवादी शुशिला अर्यालतर्फका विद्वान अधिवक्ताको बहस जिकिर पनि मिल्दो देखिएन । सम्पूर्ण मिसिलको अध्ययनबाट आफ्नो पति पूर्णप्रसाद जीवित रहँदैको अवस्थामा निज शुशिला अर्यालको परपुरूष गोपाल ठकुरीसँग भएको यौन लिप्साबाट घटनाको शुरूवात निजले नै गराई पूर्णप्रसादको हत्या गर्ने क्रिया समेत गराएको देखिन्छ । वारदातमा संलग्न अन्य अभियुक्तहरू मध्ये गोपाल ठकुरीको अदालतमा भएको बयानमा “शुशिलाले मेरो लोग्नेले मलाई सँधै कुटपिट गरी रक्सी खाई ज्यादै नै दुःख दियो मेरो लोग्ने पूर्णप्रसादलाई मारी देउ, मारी दिए, पछि तिमीसित केटाकेटी सहित स्वास्नी भई बस्दछु भनी” भन्ने उल्लेख भएको देखिन्छ । पोइल गएपछि पनि लोग्ने पछि पछि लागी आउने र दुःख दिने भएबाट प्र.शुशिला अर्यालले लोग्नेलाई मार्न चाहेको भन्ने देखिन्छ । यसबाट पूर्णप्रसादलाई मार्ने मनसाय राख्ने व्यक्ति प्र.गोपाल ठकुरी भन्दा बढी प्र.शुशिला अर्याल नै भएको पनि देखिन आउँछ । यसको अलावा प्र.शिवबहादुर मल्ल ठकुरीको अदालतमा भएको बयानबाट प्र.शुशिला अर्यालले पनि शिवबहादुरलाई लोग्ने पूर्णप्रसादलाई मार्न अ¥हाएको र मेरो लोग्नेलाई एकमाना सम्म रक्सीले छुँदैछुँदैन भनी प्र.शुशिलाले बढी रक्सी ख्वाई मार्ने तरीका समेत बताएको देखिन्छ । यी सब कुराहरूलाई मध्यनजर राख्दा प्र.शुशिला अर्यालले आफ्नो विवशतासम्म प्रकट गरेको र मार्ने बचन नदिएको भन्न मिल्ने देखिँदैन । तसर्थ ज्यानसम्बन्धीको १३(४) बमोजिम प्र.शुशिलाले पूर्णप्रसादलाई मार्ने माथि लेखिएबमोजिम सम्पूर्ण कुराको बन्दोबस्त मिलाई बचन दिएको देखिएकोले जन्मकैदको सजाय गर्ने गरेको डिभिजनबेञ्चका माननीय न्यायाधीश श्री हेरम्बराजको राय मनासिव ठहर्छ ।
२५. प्र.शिवबहादुर मल्ल ठकुरीको सन्दर्भमा विचार गर्दा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट ०३९।१।१४ मा साधक तवरबाट निजलाई ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने गरेको शुरू इन्साफ सदर भई गएको र साधक तवरबाट निकासा भइसकेपछि दर्ता भएको निजको पुनरावेदनमा डिभिजनबेञ्चबाट हेर्न मिल्ने नमिल्ने प्रश्नमा सार्वजनिक महत्त्वको जटिल कानुनी प्रश्न समावेश भएको भनी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(घ) बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।
२६. प्र.शिवबहादुरको हकमा एकपटक डिभिजनबेञ्चबाट निर्णय भइसकेकोले मुद्दाको औचित्यमा नै प्रवेश गरी निर्णय गर्नुपर्ने र प्र.शुशिलाको हकमा फुलबेञ्चबाट हेर्नुपर्ने भइरहेको हुँदा निजको हकमा पनि यसै बेञ्चबाट हेर्न उपयुक्त देखिएकोले सो तर्फ हेर्दा दुइसय रूपैयाँको प्रलोभनमा परी मृतक पूर्णप्रसादलाई अन्य अभियुक्तहरू प्र.शुशिला अर्याल तथा गोपाल ठकुरीले अ¥हाए बमोजिम मारांै भन्ने नियतले नियोजित षडयन्त्र गरी सिनेमा हेर्न लगी रक्सी ख्वाई लठ्ठिएको अवस्थामा नाइलनको डोरीले घाँटी कसी मारेमा निज शिवबहादुर मल्ल ठकुरीले प्रहरी तथा अदालत दुबैमा सावित भई बयान गरेको देखिन्छ । निजको बयानलाई सहअभियुक्तहरू प्र.शुशिला अर्याल तथा प्र.गोपाल ठकुरीको बयान समेतले पुष्टी गरेको देखिन्छ । मृतक पूर्णप्रसादलाई कर्तव्य गरी मारेको होइन भन्ने कुनै किसिमको सबूत प्रमाण निजबाट पेश हुनआएको नदेखिँदा ज्यानसम्बन्धीको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरेको काठमाडौं जिल्ला अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हाम्रो सहमति छ ।
प्र.न्या.नयनबहादुर खत्री
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
इतिसम्वत् २०४० साल मार्ग २३ गते रोज ६ शुभम् ।