निर्णय नं. १७७५ – ज्यान
निर्णय नं. १७७५ ने.का.प. २०४० अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०३८ सालको नि.नं. ९७४...
निर्णय नं. १७७५ ने.का.प. २०४० अङ्क १०
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् ०३८ सालको नि.नं. ९७४
सम्वत् ०३८ सालको फौ.पु.नं. ३५६
सम्वत् ०३८ सालको फौ.सा.नं. ८८
फैसला भएको मिति : २०४०।१०।२२।१ मा
निवेदक प्रतिवादी : सिराहा जि.निर्दाना गा.पं.वडा नं.७ बस्ने केशरमान श्रेष्ठसमेत
विरूद्ध
विपक्षीवादी : श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) गोली हानी मारेको भन्ने चस्मदिद गवाह भएको कुरा जाहेरवाला र सरजमीनका बयानले पुष्टी गरेकोबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(१) र ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको इन्साफ सदर हुने ।
(प्रकरण नं. २८)
(२) निवेदनपत्र बाहेक अरूमा षडयन्त्र गरेको तथ्य प्रमाण मिसिलमा नदेखिएकोले सजाय गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई शुरू जिल्ला अदालतको इन्साफ सदर ठहर्ने।
(प्रकरण नं. २९)
निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार
फैसला
न्या.बासुदेव शर्मा
१. विन्तिपत्र वालाको पुनरावेदन नपरे पनि पुनरावेदन परे सरह गरी दिनु भन्ने हु.प्र.बक्स भई आएको प्र.केशर मान श्रेष्ठ समेतको निवेदन र पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादी लखन खडका यादव समेको पुनरावेदन परी साधकको लगतमा समेत दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :
२. २०३४ साल श्रावण १२ गते राति अं.३ बजेको समयमा बन्दुकको आवाज भएको पनि हात हतियार सहितका जवान लिई ध्यानी मियाँको घरमा पुग्दा ध्यानी मियाँ गोली लागी छटपटाई राखेकोले अपराधी पत्ता लगाउँदा नलागेको र ध्यानी मियाँको मृत्यु भइसकेको निजको श्रीमती खैरूल मियाँइनी अपराधीहरूको कुटपिट परेर बेहोस हुँदा अपराधीहरूले फायर गरेको गोलीको खोका १ फलामको रड समेत फेला परेकोले लास सुरक्षित राखी जाहेर गरेको छु भन्ने समेत निर्दाना पोष्टको प्र.ह.चित्रबहादुर मगरको प्रतिवेदन ।
३. उत्तर सिरान दक्षिण खुट्टा पारी उत्तानो परेको आँखा दुवै बन्द रहे पनि हेरी रहेजस्तो मुख बन्द रहे पनि अगाडिको एउटा दाँत देखिएको दाहिने कान देखि २ इन्च माथि बन्दुकको छर्रा लागेको बाँया पट्टीको दुधमा ३–३ को बन्दुकको छर्रा लागेको साना प्वालहरू देखिने लासको छाती पेटमा रगत जमेको, दुवै हात मुठी पारी नाइटो नजिक रहेको दाहिने हातको औंलाहरू खुम्ची मुठी पारेको दाहिने हत्केलाको पछाडि पट्टी फलामे हतियार रोपेको सानो घाउ खत २ बाँया हातको कुहीना मुनी नारीमा भालाले रोपेको लिङबाट विर्य जस्तो निस्की लगौटीमा लागेको दाहिने पातामा कुटेको ३ इन्च लम्बाई निलडाम लास रहेको ठाउँ नजिक रगत ठाउँ–ठाउँमा जमी सुकी दाग रहेको भन्ने समेत लास प्रकृति मुचुल्का ।
४. छातीको बाँया पट्टी बन्दुकबाट हानेको गोलीले बाँया फोक्सो र मुटुलाई क्षती पुर्याएबाट मृत्यु हुनगएको भन्ने मेडिकल अधिकृतको राय ।
५. २०३४ साल श्रावण १२ गते रात अं.३ बजेको समय हामीहरू घरमा सुतिरहेको अवस्था भोला भन्ने केशरमान श्रेष्ठ, विल्टु खत्वे, अम्मर पति यादव, लखना यादव, लटु यादव, जोगेन्द्र यादव, रामदयाल साहुसुडी, गडेश तेली, खगेश्वर साहुतेली, रामदेव साहुसुडी, सत्य नारायण यादव समेत ११ जना हाम्रो घरमा आई बन्दुकको फायर गरी विलट यादवले फलामको छडले हाम्रो लोग्ने बाबुको टाउकोमा हानी जोगेन्द्र र लखनले मलाई बाँसका लाठीले यत्रतत्र प्रहार गरी भोला भन्ने केशरमानको हातमा बन्दुक थियो हाम्रो लोग्ने बाबु फायर गरी मारी उल्लिखित व्यक्तिहरू उत्तरतर्फ भागी गए तुरुन्त बाबुको मृत्यु भयो । उल्लिखित अपराधीहरूले ध्यानी साहु मंगल मियाँको ज्यान मारी दिएकोले पक्राउ गरी ज्यान मारेमा सजाय गरिपाउँ भन्ने समेत मर्ने ध्यानी मियाँको श्रीमती खैरूल मियाँइनी, छोरी अजिमा, छोरा दुखिया मियाँ, समेतको संयुक्त जाहेरी दर्खास्त ।
६. २०३४ साल श्रावण १२ गतेको रात म आफ्नै घरमा छु ध्यानी साहुलाई गोली हानी मारेको छैन साथै निजको स्वास्नी खैरूल मियाँइनी समेतलाई कुटपिट गरे गराएको होइन छैन कसले मारे थाहा छैन भन्ने खगैश्वर साहु सुडीले गरेको बयान ।
७. २०३४ साल श्रावण १२ गते राति ध्यानी मियाँलाई मैले ज्यान मारे मराएको र निजको परिवारलाई कुटपिट गरेको समेत होइन छैन भन्ने समेत सत्यनारायण यादवको बयान ।
८. ०३४ साल श्रावण १२ गतेका रात मैले ध्यानी साहुलाई मारे मराएको र निजको स्वास्नी खैरूल मियाँइनीलाई कुटपिट समेत गरे गराएको होइन भन्ने समेत वामदेव साहु सुडीको बयान ।
९. २०३४ साल श्रावण १२ गतेका राति अं.३ बजेको बन्दुकको फायर सुनी घटनास्थलमा आउँदा भोलाको हातमा बन्दुक, रामदयालको हातमा भाला, लटुको हातमा बन्दुक थियो । लखन यादव र लटु यादव समेतले ध्यानी मियाँलाई मारेमा शंका लाग्छ लखन जोगेन्द्र समेत चिन्हे ध्यानीलाई गोली हानी मारी अपराधीहरू पश्चिम कमला नदी धारतर्फ भागी गए देखाइएको फलामे छटु विल्टु खत्वेको हो भन्ने समेत सरजमीन मुचुल्का ।
१०. उल्लिखित सबूत प्रमाणबाट लखन यादव, लटु यादव, जोगेन्द्र यादव, रामदयाल साहु सुडी, विल्ट खत्वे भोला भन्ने केशरमान श्रेष्ठ समेत ६ जनाले ध्यानी मियाँलाई गोली हानी मारे मराएको देखिन आएकोले निजहरू उपर ज्यानसम्बन्धीको ३ नं.को दफा १ बमोजिम सजाय भई कारवाही हुन र सो बाहेक खगेश्वर साहु सुडी, रामदेव साहु सुडी, सत्यनारायण यादव, गणेश तेली, अमरपति यादव समेत ५ जनाले मारे मराएको जाहेरी दर्खास्त बाहेक अन्य सबूत प्रमाण कतैबाट नआएकोले निजहरू उपर कारवाही नचलाउने गरी सम्बन्धित मिसिल फाइल भएको खालीखोका १ र फलामको रड १ यसैसाथ पेश गरेको छ भन्ने समेत संयुक्त प्रहरी प्रतिवेदन ।
११. ०३४ साल श्रावण १२ गते राति ध्यानी मलंग मियाँ गोली लागी भरे भन्ने भोलिपल्ट सुनेको मैले कर्तव्य गरी मारे मराएको होइन । गत बैशाखमा जग्गा सम्बन्धमा झगडा भएको कारणबाट झुठ्ठा पोल गरेकोले म निर्दोष छु भन्ने समेत प्र.जोगेन्द्र खडका यादवले अदालतमा गरेको बयान ।
१२. ०३४ साल श्रावण १२ गते राति अं.३ बजे ध्यानी मलंग गोली लागी मरे भन्ने कुरा भोलिपल्ट बिहान सुनेको हुँ मैले कर्तव्य गरी मारेको होइन छैन बाली चराएकोमा जाहेरवाला दुखियासँग झगडा भएको इवीबाट झुठ्ठा पोल गरेको हो भन्ने समेत प्र.लखन खड्का यादवले अदालतमा गरेको बयान ।
१३. ०३४ साल श्रावण १२ गतेका रात ध्यानी मलंग गोली लागी मर्यो भन्ने कुरा भोलिपल्ट सुने मैले कर्तव्य गरी मारेको होइन छैन वादी श्री ५ को सरकार प्र.मर्ने ध्यानी मलंग समेत भएको ज्यान मुद्दामा सरजमीन हुँदा ध्यानीको विरूद्धमा खत्वेले गरेको बयान ।
१४. ०३४ साल श्रावण १२ गतेको राति ध्यानी मलंग गोली लागी मरेको भन्ने कुरा भोलिपल्ट सुनी थाहापाएको हुँ मैले कर्तव्य गरी मारे मराएको होइन म निर्दोष छु गत आषाढमा तरकारीको व्यापार गर्ने जाहेरवाला खैरूलले रु.१००। सापटी मागेको थियो मैले दिन इन्कार गरेकोले झुठ्ठा पोल गरेको हो भन्ने समेत प्र.केशरमान श्रेष्ठले अदालतमा गरेको बयान ।
१५. २०३४ साल श्रावण १२ गतेका राति ध्यानी मलंग गोली लागी मरे भन्ने कुरा भोलिपल्ट गाउँघरमा सुने मैले कर्तव्य गरी मारे मराएको होइन मेरो धान बाली जाहेरवालाहरूले चराई दिने गरेबाट गए आषाढ महीनामा बाझा बाझ भएको इवीबाट दर्खास्त दिएको हो । झुठ्ठा अभियोगबाट फुर्सत पाउँ भन्ने समेत प्र.रामदयाल साहु सुडीले अदालतमा गरेको बयान ।
१६. प्रहरी प्रतिवेदनद्वारा सबूत नपुग्ने भनी कारवाही नचलाएका खगेश्वर साहु सुडी, सत्यनारायण यादव, रामदेव साहु सुडी, गणेशीया तेली, अमरपति यादव समेत ५ जनाका हकमा विचार गर्नुपरेन । अन्य प्रतिवादीहरूले ज्यानसम्बन्धीको अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत शुरू सिराहा जिल्ला अदालतको २०३५।५।१९।३ को जाहेरी फैसला ।
१७. उक्त इन्साफमा चित्त बुझेन शुरू जि.अ.को फैसला बदर गरिपाउँ भन्ने समेत पुनरावेदनपत्र।
१८. प्रतिवादीहरूलाई सफाई दिने गरेको सिराहा जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं.र क्षे.अ.नियमावली बमोजिम विपक्षी झिकाई पेश गर्नुभन्ने डिभिजनबेञ्चको आदेश ।
१९. प्र.केशरमानले ताकेको बन्दुकको गोलीबाट मृतकको ज्यान मर्न गएको सिद्ध हुनगएकोले निजलाई सर्वस्वसहित जन्मकैद हुने ठहर्छ, ज्यान मार्ने वारदातमा संलग्न हुने प्र.विल्टु रामदयाललाई जन्म कैद हुन्छ । प्र.लखन यादव मुख्य षडयन्त्रकारी देखिएको हुँदा ५ वर्ष कैद हुन्छ साथै प्र.लखनको षडयन्त्रमा सामेल रहेका प्र.लटु यादव र प्र.जोगेन्द्र यादवलाई जनही २।२ वर्ष कैद हुन्छ भन्ने समेत पु.क्षे.अ.को फैसला ।
२०. पु.क्षे.अ.को फैसला उपर चित्त नबुझी प्र.केशरमान श्रेष्ठ समेतको बिन्तिपत्रमा पुनरावेदन नपरे पनि पुनरावेदन परे सरह हेरी कानुन बमोजिम गर्नु भनी श्री ५ बाट हु.प्र.बक्स भई आएको र प्र.लखन खडका यादव समेतको यस अदालतमा पर्नआएको पुनरावेदनपत्र ।
२१. बक्स भई आएको हुकुम प्रमांगी बमोजिम गर्न सम्बन्धित मुद्दाको मिसिल सामेल राखी डिभिजनबेञ्चमा पेश गर्नुभन्ने यस अदालतको सिंगलबेञ्चको मिति ०३८।१०।१४ को आदेश ।
२२. लखन खडका यादव समेतको पुनरावेदनपत्र यस अदालतमा पर्नआएकोमा सरजमीनका भनाई र अदालतको बकसपत्रमा भिन्नता देखिएकोले यी जाहेरवाला र सरजमीनको चस्मदिद व्यक्तिको वकाई भराही आपसमा बाझिएको देखिएको र त्यस्तो भनाई अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित भएको नदेखिएकोले सो को आधारमा पु.क्षे.अ.ले प्र.केशरमान समेतलाई ज्यानसम्बन्धी सजाय गरेको मिलेको नदेखिएकोले अ.बं.२०२ नं.र स.अ.नियमावली बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई छलफलको लागि सूचना दिई कानुनबमोजिम पेश गर्नुभन्ने यस अदालत डिभिजनबेञ्चको ०४०।५।२७ को आदेश रहेछ ।
२३. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत ज्यान मुद्दाको पुनरावेदन प्रतिवादीहरूलाई लखन खडका यादव, लटु यादव र जोगेन्द्र खडका यादवलाई रोहवरमा राखी पुनरावेदक प्रतिवादीहरूतर्फ विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री वलीराम कुँवरको बहस समेत सुनियो ।
२४. प्रस्तुत ज्यान मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेमनासिव के रहेछ निर्णय दिनुपरेको छ ।
२५. यसमा प्र.केशरमानले फायर गरेको बन्दुकको गोलीबाट ध्यानी मियाँको ज्यान मर्न गएको र ज्यान मार्ने वारदातमा भाग लिई हतियार प्रहार गरेकोसम्म देखिएकोले प्र.केशरमानलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम र रामदयाल तथा प्र.विल्टु यादवलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम कैद हुन्छ । वारदातमा मुख्य षडयन्त्रकारी देखिएको हुँदा प्र.लखनलाई ज्यानसम्बन्धीको १६नं. ले ५ वर्ष कैद र वारदातमा साथै रहेका तर हतियार नछाडेका प्र.लुट यादव र प्र.जोगेन्द्र यादवलाई षडयन्त्रमा सहयोग गरेको देखिएकोले ज्यानसम्बन्धीको १६नं.ले जनही २।२ वर्ष कैद हुन्छ भनी पूर्वाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको पाइन्छ ।
२६. प्रस्तुत मुद्दामा मर्ने ध्यानी मियाँलाई प्र.केशवमानले बन्दुकले हानी मारेको आफ्नै आँखाले देखेको भनी मौकैमा मर्नेको स्वास्नी छोराछोरीले ०३४।४।१५ को जाहेरीमा लेखाएको र विल्टु यादवले मर्ने ध्यानी मियाँलाई छडले टाउकोमा हिर्काएको र रामदयालको हातमा भाला भएको भनी जाहेरीमा उल्लेख भएको पाइन्छ । मर्ने ध्यानी मियाँको शरीरमा बन्दुकको छर्रा लागेकोमा सा–साना प्वालहरू देखिएको, गोली फायर गर्दा फालेको खाली खोका थान १ मृतकको आँगनमा फेला परेको भनी ०३४।४।१४ को लासप्रकृति मुचुल्का र ०३४।४।१२ गते राति बन्दुकको आवाज सुनी आवाज आएको तर्फ जाँदा ध्यानी मियाँको मृत्यु भइसकेको र मर्नेको श्रीमतीलाई बेहोस पारी कुटेको र फायर गरेको गोलीको खोका १ फलामको १½ फुट केही मोडिएको छड १ समेत आँगनमा फेला परेको र अपराधीहरूले ध्यानी मियाँलाई ज्यान मारी भागेको भन्ने बुझिएकोले मृतकको लास सुरक्षित राख्न लगाई फेला परेका दसी प्रमाणसहित प्र.ह.चित्रबहादुर मगरले जिल्ला प्रहरी निरीक्षक कार्यालय सिराहामा कारवाहीको लागि चढाएको प्रतिवेदनबाट उल्लेख भएको पाइन्छ । ध्यानी मियाँको लासजाँच रिपोर्टमा पनि मृत्युको कारण छातीको बायाँपट्टि बन्दुकबाट हानेको गोलीले बायाँ फोक्सो र मुटुलाई क्षती पुर्याएबाट हुनगएको देखिन्छ भनी श्री ५ को सरकार सिराहा अस्पतालका का.मु.सिनियर मेडिकल अधिकृतले आफ्नो राय प्रकट गरेको पाइन्छ ।
२७. ध्यानीको घर र मेरो घर साथसाथ रहेकोले बन्दुकको आवाज सुनी बाहिर आउँदा भोलालाई देखे चिने र अन्य १५।१६ जनालाई चिनिन भन्ने इसाक मियाँ र बन्दुकको आवाज सुनी बाहिर आउँदा रामदयाल साहु सुडीको हातमा भाला भएको कुरा अलिका धोबीको र भोलाको हातमा बन्दुक, फलामे छड विल्टुको भन्ने समेतको सरजमीन मुचुल्कामा उल्लेख भएको पाइन्छ ।
२८. मर्नेका स्वास्नी छोराछोरीले जाहेरी दरखास्तमा उल्लेख गरेका कुरालाई अदालतमा आई समर्थन गरेको र सरजमीनका ईसाक मियाँ र अलिका धोवी मियाँले पनि अदालतमा आई उक्त कुरालाई समर्थन गरेको जाहेरीमा विल्टु खत्वेको हातमा फलामको छड भएको र सो छडले मर्ने ध्यानी मियाँलाई प्रहार गरेको भन्ने कुरा समर्थन गरेको, घटना स्थलमा बन्दुकको खोका फेला परेको समेतबाट वारदात स्थलमा प्रतिवादीहरू रहेभएको र ध्यानी मियाँलाई भोला भन्ने केशरमान श्रेष्ठले गोली हानी मारेको भन्ने चस्मदिद गवाह भएको कुरा जाहेरवाला र सरजमीनका ईसाक मियाँ र अलिका धोवी समेतको बयानले पुष्टी गरेकोबाट पूर्वाञ्चल क्षेत्रीय अदालतले प्र.भोला भन्ने केशरमान श्रेष्ठलाई ज्यानसम्बन्धीको १३(१) प्र.विल्टु यादव र प्र.रामदयाललाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको इन्साफ सदर हुने ठहर्छ ।
२९. प्र.लखन खडका यादव, प्र.लटु खडका यादव र प्र.जोगेन्द्र खडका यादवको हकमा विचार गर्दा मर्ने ध्यानी मियाँले ०३४।४।१३ गते जिल्ला कार्यालयमा दर्ता गरेको निवेदनपत्रको आधारलाई लिई ज्यानसम्बन्धीको १६ नं.बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतले सजाय गरेको पाइन्छ । ध्यानी मियाँले दिएको फा.नं.५ मा उल्लेख भएको निवेदनपत्र बाहेक अरूमा षडयन्त्र गरेको तथ्य प्रमाण मिसिलमा नदेखिएकोले प्र.जोगेन्द्र खडका यादव, प्र.लखन खडका यादव र प्र.लटु खडका यादवलाई सजाय गर्ने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ गल्ती भई शुरू सिराहा जिल्ला अदालतको इन्साफ सदर ठहर्छ । पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला केही गल्ती ठहर्छ । साधकको लगत कट्टा गरी तपसीलको कलममा तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखे बमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ केही गल्ती ठहरिएकोले देहायका प्रतिवादीहरूले सफाई ठहर भएको हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतले देहायका प्रतिवादीहरूलाई देहायबमोजिमको कैद गर्ने गरेको लगत कट्टा गर्न शुरू सिराहा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…………………………………………………………………………………१
प्र.लखन खडका यादवके कैद वर्ष ५।, प्र.जोगेन्द्र खडका यादवके कैद वर्ष २।, प्र.लटु खडका यादवके कैद वर्ष २।
माथि इन्साफ खण्डमा लेखे बमोजिम प्र.लखन, प्र.जोगेन्द्र र लटुले सफाई पाउने ठहरिएकोले पू.क्षे.अ.ले ०३७।१०।२२।४ मा फैसला गर्दा ज्यानसम्बन्धी महलको १६नं.बमोजिम लखनलाई ५ वर्ष प्र.जोगेन्द्रलाई २ र्ष र प्र.लटुलाई २ वर्षको कैद हुने गरिएको र अ.बं.१९४ (२) अनुसार क्रमशः २७,००। रु.१,०८०। रु.१,०८०। समेत जम्मा रु.४,८६०। बापत कि.नं.२९४ र कि.नं.१५१ को जग्गा जेथा जमानी दिई पुनरावेदन गरेको मिसिलबाट देखिँदा उक्त जग्गा कानुनको रीत पुराई फुकुवा गरी दिनु भनी शुरू अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…………….२
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४० साल माघ २२ गते रोज १ शुभम् ।