February 3, 1984
Created by nepalarchives

निर्णय नं. १७७१ – ज्यान

निर्णय नं. १७७१     ने.का.प. २०४० अङ्क १०   डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ४३९...

निर्णय नं. १७७१     ने.का.प. २०४० अङ्क १०

 

डिभिजनबेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको फौ.पु.नं. ४३९

फैसला भएको मिति  : २०४०।१०।२०।६ मा

पुनरावेदक/प्रतिवादी : जि.वर्दीया जमुनी गा.पं.वाड नं. ४ बस्ने सुन्दर कुर्मी

विरूद्ध

प्रत्यर्थी/वादी : गुरूप्रसाद नाउँको जाहेरीले श्री ५ को सरकार

मुद्दा : ज्यान

(१)                प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकी साधारण मुंग्राले हिर्काउँदा मृत्यु भएको देखिएको हुँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १४ नं.अनुसार १० वर्ष कैद हुने ।

(प्रकरण नं. १६)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

फैसला

प्र.न्या.नयनबहादुर खत्री

१.     ज्यान सम्बन्धी १३(३) अनुसार सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदनमा शुरू जिल्ला अदालतले ठहर गरेको फैसला सदर गरी तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको तथ्य निम्नबमोजिम छ ।

२.    २०३५।७।८ का दिन हलो जोत्न गई साँझ घर आउँदा सुन्दर कुर्मीका घरमा मानिसहरू धेरै देखि जाँदा दाज्यू नाउँ लडी रहेकोले के भयो भनी सोद्धा मुन्नी नाउनी समेतका गाउँका व्यक्तिहरूले खेदु नाउलाई सुन्दर कुर्मीले मुंग्राले कुटपिट गर्‍यो भनी भनेका र सोही रात अं. १२ ले खेदु नाउको कुटपिटकै चोटबाट कुटपिट गरेकै स्थानमा मृत्यु भएको हुँदा मार्नेलाई पक्राउ गरी कारवाही गरिपाउँ भन्ने जाहेरी दरखास्त ।

३.    दाहीने हातको नाडी माथि निधारको हड्डीमा चोट परेको जस्तो गहिरो दाग र पीठ भागमा असंख्य डाम देखिएको दाहिने कान माथि कानको पछाडि र निधारमा हड्डी समेत फुटेको जस्तो देखिएको भन्ने लास जाँच प्रकृति मुचुल्का ।

४.    मर्ने खेदु नाउ मेरो झगडीयाको साथी थियो । मेरो खिलाप कुरा गरी हिड्थ्यो । २०३४ साल चैत्र महीनामा मर्ने खेदुले जाहेरवाला गुरूप्रसादको घरमा आएका समयमा जग्गा खरीद गरी दिन्छु भनेका थिए मैले पनि खेदुले भनेको जग्गा खरीद गर्न मञ्जूर गरी जग्गा किन्न जमान गरेको थिए । २०३५ साल जेष्ठमा जमुनीको जग्गा समेत बेची १३,७९०। भा.रू. लिई खेदु नाउसँग जमान भएको जग्गा किन्ने कार्य गरी खरीद गरेको जग्गा आषाढ महीनामा जोत्न शुरू गर्दा खेदुले अर्काको जग्गा किन जोतिस् भनी रोके तिमीले खरीद गरिदिएको जग्गा त हो नि भन्दा तिमी नेपालीले जग्गा पाउँदैनौं भनी बाँसको लाठी समेतले हिर्काई रगत पारी दिए । २०३४ साल कार्तिक ८ गते भने खेदु गुरूप्रसादको घरमा आएको देखो । जग्गा विषयमा पहिला देखि नै रिस उठिरहेको थियो । मलाई जग्गा खरीद गरी दिन्छु भनी रूपैयाँ लगी जग्गा पनि दिएनौं रूपैयाँ देउ भन्दा तेरो रूपैयाँ कहिले लगेको छु भनी म माथि आमा चाकरी गाली दिएबाट रिस उठ्यो । पहिलेको र अहिलेको रिस थाम्न नसकी खुट्टाबाट चप्पल निकाली गालामा हान्न शुरू गरे । निजले बाँसको लठ्ठीले हिर्काए । त्यसपछि त्यही भएको काठको मुंग्राले निज माथि हान्दा खेदुको मृत्यु भएको हो । मार्छु भनी कुटेको होइन । तत्काल उठेको रिस थाम्न नसकी कुटपिट गरेबाट खेदु नाउको मृत्यु भएको हो भन्ने प्र.सुन्दर कुर्मीले प्रहरीमा गरेको साविती कागज ।

५.    यसमा पक्राउमा परी रहेका सुन्दर कुर्मीले मर्ने खेदु नाउलाई समाती लछार पछार गरेको हामीले घरबाट देखि हल्ला ग¥यांै । हल्ला सुनी खेतमा काम गरी रहेका मानिसहरू आउँदा खेदु जमीनमा लडी रहेको रहेछ । डोरबाट देखाएको मुंग्राले सुन्दर कुर्मीले कुटपिट गरेको चोट पीरबाट खेदु मर्न गएको हो भन्ने मुन्नी नाउनी । मर्ने खेदुलाई किन कुटेको हो भनी हामीले सोद्धा मैले कुटेको भनी पक्राउमा परेका सुन्दर कुर्मीले भनेको हुन भन्ने फकिरी कलवार समेतका व्यक्तिहरूको     सरजमीन मुचुल्का ।

६.    पहिला समेतको रिस इवीबाट प्रतिवादीले मर्ने खेदुनाउँलाई बाँधछाँद समेत गरी हात मुक्का र मुंग्राले समेत हिर्काएको चोट पीरबाट खेदु नाउको मृत्यु भएको देखिएको हुँदा प्रतिवादी सुन्दर कुर्मी उपर मुलुकी ऐन ज्यानसम्बन्धीको १३ को दफा ३ बमोजिम सजाय गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन ।

७.    यसमा २०३५।७।२७ मा प्रहरीमा गरेको कागज मैले राजीखुशीले गरी दिएको   होइन । मलाई जबर्जस्ती कुटपिट गरेकोले सहिछाप गरी दिएको छु । कागजमा के के लेखेको थियो मलाई नसुनाएकोले थाहा छैन । २०३५।७।८ का दिन नेपालगञ्जबाट साँझमा आई खाना बनाई खाई सुतेको हुँ । राति ८।९ बजे तिर मुन्नी नाउँनीले हल्ला गर्दा जागी उठी हेर्दा मेरो बारीको छेउमा खेदु लडी रहेका थिए । मैले टाँडबाट हेरे चोटपटक केही देखिन राति कति बेला निजको मृत्यु भयो मलाई थाहा छैन । खेदु नाउ कसरी मर्‍यो मलाई थाहा छैन । प्रहरीले दाखिल गरेको चादर चप्पल र मुंग्रो समेत मेरो होइन जाहेरवालासँग गोरुका निहुँमा झगडा भएको थियो त्यही रिसले मलाई पोल गरेका होलान भन्ने प्र.सुन्दर कुर्मीले अदालतमा गरेको बयान ।

८.    यसमा मर्ने खेदु र प्रतिवादी सुन्दरको झगडा भई खेत तर्फमा मानिस बोलाउन गए । मानिसहरू आउँदा मृतक खेदु बोल्न नसक्ने अवस्थामा थियो भन्ने जाहेरवालाको कागज ।

९.    सुन्दर कुर्मीले खेदु नाउलाई गोरु चोरी सम्बन्धका रिसले कुटेको हुँ भनी भनेका  थिए । प्र.सुन्दर कुर्मीकै कुटपिटले खेदु नाउको मृत्यु भएको हो भन्ने सरजमीनका अधिकांश व्यक्तिहरूको बकपत्र ।

१०.    प्र.सुन्दर कुर्मी र मृतक खेदुका बीच रिसइवी समेत भएको देखिएको र प्रत्यक्षदर्शी मुन्नी नाउनीले समेत प्रतिवादी र मृतकका बीच झगडा भएको कुरा उल्लेख गरी प्रतिवादीले प्रहरीमा गरेको कागज मिलाई बकपत्र गरी दिएको हुँदा प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुने ठहर्छ भन्ने बर्दिया जिल्ला   अदालतको फैसला ।

११.    बर्दिया जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन भनी प्रतिवादीले तत्कालिन सु.प.क्षे.अ.मा गरेको पुनरावेदन ।

१२.   प्र.सुन्दर कुर्मीले खेदुलाई कुटपिट गरी मारेको भन्ने किटानी जाहेरी, प्रतिवादीको प्रहरीको बयान लासप्रकृति मुचुल्का र सरजमीनका व्यक्तिहरूले अदालतमा गरी दिएको बकपत्र समेतबाट प्रतिवादीले खेदुलाई कुटपिट गरेको र सोही कुटपिटबाट खेदुको मृत्यु भएको दखिएकाले शुरूको इन्साफ मनासिव छ भन्ने तत्कालिन सु.प.क्षे.अ.को २०३८।५।२१ को फैसला ।

१३.   तत्कालिन सु.प.क्षे.अ.ले गरेको निर्णयमा चित्त बुझेन सरजमीनका मानिसहरूले गरेको बकपत्रलाई आधार लिई शंका र विश्वासको भरमा समेत गरेको फैसला मिलेको छैन भन्ने समेतको जिकिर लिई प्रतिवादीले सर्वोच्च अदालतमा गरेको पुनरावेदन ।

१४.   नियमबमोजिम आजको दैनिक पेशी सूचीमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीतर्फका वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले प्रतिवादी अदालतमा इन्कार रहेको हुँदा प्रतिवादीले सफाई पाउनुपर्छ भनी जिकिर लिनुभएको वादी श्री ५ को सरकारको तर्फबाट सरकारी वकीलको उपस्थिति भएको नदेखिए तापनि मुद्दाको निर्णय गर्नलाई बाधा नपर्ने भई पुनरावेदन जिकिर समेतको मिसिल फायल अध्ययन गरी हेर्दा प्रतिवादी सुन्दर कुर्मीलाई ज्यानसम्बन्धीका १३(३) को अभियोग लगाएको जिल्ला अदालतको इन्साफ सु.प.क्षे.अ.(हाल म.प.क्षे.अ.) ले गरेको निर्णय मिले नमिलेको हेर्न पर्ने देखियो ।

१५.   यसमा प्रतिवादी अदालतमा इन्कार भए तापनि प्रहरीमा कुटपिट गरेमा सावित भएको र प्रमाण ऐन, २०३१ को दफा ९(१) बमोजिम निजको सावितीलाई प्रमाणमा लिन मिल्ने देखिएको र प्रतिवादीको प्रहरीमा भएको सावितीलाई किटान जाहेरी, लासप्रकृति मुचुल्कामा देखिएका घा खत जाँच तथा घटनास्थलमा प्राप्त भएको काठको मुंग्रो र उक्त काठको मुंग्राले कुटपिट गर्दाकै अवस्थामा देख्ने अदालतबाट बुझिए मध्येका मुन्नी नाउनीले र अन्य सरजमीनका व्यक्ति फिकेट कलवार, बाबु, कलवार, सत्य कलवार समेतका व्यक्तिहरूले किटान गरी कुटपिट गरेमा प्रतिवादीलाई देखाई बकपत्र समेत गरेको देखिएको हुँदा प्रतिवादीले मृतकलाई मुंग्राले कुटपिट गरेको र सोही मुंग्राको पिटाईबाट मृतक खेदु समेतको मृत्यु भएको भन्ने कुरामा शंका रहेन ।

१६.    यसमा पुनरावेदक प्रतिवादीले अदालतमा इन्कारी भए तापनि प्रहरीमा बयान गर्दा जाहेरवाला गुरूप्रसाद नाउँको घरमा मर्ने खेदु नाउलाई देखेपछि निजसँग पहिलो जग्गा खरीद गरिदिन्छु भनी रूपैयाँ लिई जग्गा नदिई उल्टै मलाई कुटपिट गरेको समेतबाट निज उपर मेरो रिस उठी राखेको थियो । निज खेदु आई राखेको ठाउँको बारीमा म गई मेरो रूपैयाँ माग्दा उल्टै मलाई गाली गरी मैले रिस थाम्न नसकी पहिले हवाई चप्पलले हिर्काएँ, उस्ले पनि हातमा लिई राखेको बाँसको लाठीले मेरो जिउँमा हिर्कायो पछि त्यसै ठाउँमा भेटिएको काठको मुंग्राले मैले निजलाई हान्दा निज बेहोस भई लडेपछि त्यसैको पिरबाट मृत्यु भएको भन्ने उल्लेख भएको   देखियो । प्रतिवादीले प्रहरीमा गरेको बयानबाट मृतक खेदुलाई हिर्काई मारेको तर मार्नको निम्ति प्रतिवादीले कुनै योजना बनाएको, षडयन्त्र गरेको भन्ने कुरा कतैबाट देखिँदैन । प्रतिवादी र मृतकका बीचमा खरीद सम्बन्धमा विवाद भई केही रिसइवी समेत भएको भन्ने कुरा देखिए तापनि प्रतिवादीले गरेको प्रहरीको बयानमा नै मैले ज्यानै मार्छु भनी कुटपिट गरेको होइन, तत्काल उठेको रिस थाम्न नसकी कुटपिट गरेको हो र सोही कुटपिटको चोटबाट मृत्यु भएको हो भनी भनेको हुँदा प्रतिवादीले ज्यान मार्ने मनसायले कुटपिट गरेको देखिन आएन । ज्यानसम्बन्धीको १४ नं.अनुसार ज्यान मार्नको मनसाय रहेनछ, लुकी चोरीकन हानेको पनि रहेनछ, उस मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हान्ने वा वीष खुवाएकोमा बाहेक साधारण लाठा ढुंगा, लात, मुक्का इत्यादिले हान्दा सोही चोटको पीरले ऐनका म्याद भित्र ज्यान मारेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने व्यवस्था भएअनुसार प्रतिवादीलाई तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धी १३(३) बमोजिम जिल्ला अदालत बर्दियाको फैसला सदर गरी गरेको इन्साफ मिलेको देखिन्न । प्रतिवादीले तत्काल उठेको रिस थाम्न नसकेको साधारण मुंग्राले हिर्काउँदा खेदु नाउको मृत्यु भएको देखिएको हुँदा प्रतिवादीलाई ज्यान सम्बन्धीको १४ नं.अनुसार दश १० वर्ष कैद हुनेठहर्छ अरू तपसीलबमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी सुन्दर कुर्मीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गरेको शुरू बर्दिया जिल्ला अदालतको २०३५।१२।१६ को इन्साफ सदर गरेको तत्कालिन सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३८।५।२१ को इन्साफ मिलेको नदेखिएकोले उक्त अदालतका फैसला बमोजिमको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरी दिनु भनी शुरू बर्दिया जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…………………………………………………………………………………………………………१

प्रतिवादी सुन्दर कुर्मीलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम दस वर्ष कैदको सजाय हुने ठहरेको र निज ०३५।७।२७ देखि थुनामा रहेको देखिएकोले सोही मिति देखि कैद कट्टी हुने गरी लगत कायम गर्नु भनी शुरू बर्दिया जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु………………२

मिसिल नियमबमोजिम गरी बुझाई दिनु…………………………………………………………………………………………………………..३

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४० साल माघ २० गते रोज ६ शुभम् 