निर्णय नं. १७७० – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. १७७० ने.का.प. २०४० अङ्क १० फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह...
निर्णय नं. १७७० ने.का.प. २०४० अङ्क १०
फुलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको रिट फु.नं. ४५
आदेश भएको मिति : २०४०।१०।१३।६ मा
निवेदक : जि.सुनसरी सोनापुर गा.पं.वा.नं. ९ बस्ने पूर्णप्रसाद चौधरी
विरूद्ध
विपक्षी : भूमिसुधार अधिकारी, भूमिसुधार कार्यालय सुनसरीसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) निवेदकले कूत नबुझाएको भए भूमिसम्बन्धी ऐन तथा नियमबमोजिम मोहीबाट हटाउन पाउने जग्गाधनीको हक सुरक्षित नै देखिने ।
(प्रकरण नं. १४)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर
आदेश
न्या.पृथ्वीबहादुर सिंह
१. सर्वोच्च अदालत डिभिजनबेञ्चको निर्णय उपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा परेको बिन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने बक्स भई आएको प्रमाङ्गी बमोजिम यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ ।
२. लक्ष्मीनारायण मन्दिरका नाउँमा दर्ता कायम रहेको सोनापुर गा.पं.वा.नं. ७(क) को कि.नं.३ को बिगहा १–६–१० जग्गा २०२६ सालदेखि मोहियानी शर्तमा कमाई आएको र २०३७ सालको सिजनमा पनि बाली लगाई जग्गाधनीलाई बाली बुझाई भर्पाई प्राप्त गरी आएको छु । मोही कायम गरिपाउँ भन्ने दावी अनुसार उक्त जग्गाको मोही भई २०३६ सालदेखि बेचनलालले कमाई आएका हुन् । २०३७ सालको बाली पनि म मन्दिरको संरक्षक माधवगोविन्द श्रेष्ठलाई बुझाएको हुँदा भर्पाई दिएकोले वादीले दावी गरेको जग्गाको मोही कायम गरी मोहियानी हकको स्थायी प्रमाणपत्र दिएमा मेरो मञ्जूरी छ भन्ने माधवगोविन्द श्रेष्ठको बयान । वादीले दावी गरेको जग्गा म आफूले कमाएको छु । किन यस्तो उजूर गरेका हुन् भन्ने समेत निवेदक पूर्णप्रसादको बयान भएकोमा दावी बमोजिमको जग्गा २०३६ साल र २०३७ समेतमा बाली लगाई बुझाएको लक्ष्मीनारायण मन्दिरका संरक्षक माधवगोविन्द श्रेष्ठको बयान, सरजमीन मुचुल्का समेतको आधार गर्दै वादी बेचनलाल चौधरीका नाममा मोहियानी हक कायम गर्ने निर्णय गरेको रहेछ ।
३. भूमिसुधार ऐन लागू हुनुभन्दा अघिदेखि नै मेरो पिताजीले उक्त जग्गा कमाई अनुसूची १ भरी ४ नं. जोताहा अस्थायी निस्सा लिनुको साथै मोहियानी हकको प्रमाणपत्र समेत लिई विधिवत मोहीको रूपमा र पिताको मृत्युपछि म समेतले कमाई आएकोमा एका मोहीको ठाउँमा अर्को नयाँ उनाउ व्यक्तिलाई मोही बनाएको उक्त भू.सु.अ.को त्रुटिपूर्ण निर्णय उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी बदर गराई हनन् भएको हक प्रचलन गराई पाउँ भन्ने समेत निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने यस अदालत सिङलबेञ्चको ०३८।४।२८ को आदेश ।
५. निवेदनमा उल्लिखित उक्त जमीनको हक प्राप्त मोही पूर्णप्रसाद भएको निजले जमीन जोत्न नसकेको र बेचनलाल चौधरीले जमीन जोती बाली लगाई सो जमीनको लाग्ने कूत जग्गाधनी लक्ष्मीनारायण मन्दिरको संरक्षक माधवगोविन्द श्रेष्ठलाई बुझाई सालसालै भर्पाई लिने गरेको देखियो र निज माधवगोविन्दले पनि बेचनलालले नै कमाई आएको निजको नाउँमा मोही कायम होस् भनी कार्यालयमा उपस्थित भई बयान समेत दिएको हुँदा र आफ्ना परिवारका परिश्रमले जमीन नकमाई अरूलाई कमाउन दिएमा बीचमा रही मोहीको हैसियतबाट खाने व्यक्तिको मोही हक समाप्त हुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५.४(क) मा प्रष्ट उल्लेख भएको हुँदा निज रिट निवेदकको नाम कट्टा गरी बेचलनलालका नाउँमा मोही कायम गरिएको हुनाले निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफ ।
६. मैले कमाउँदा उक्त जग्गामा अरू कोही मोही थिएन सो जग्गा मलाई जग्गाधनीले कमाउन दिएर नै मैले दुई मुख्य बाली कमाई सकेपछि अब आई मोहियानीमा विवाद उठाउन पाउने हैन । विपक्षीको बाबुको नाउँमा मोहियानी भए पनि निजको मृत्यु पश्चात विपक्षीले आफ्नो नाउँमा मोहियानी नामसारी गर्न सक्नुभएको नहुँदा निजको नाउँमा कुनै मोहियानी नै नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बेचनलाल चौधरीको लिखितजवाफ ।
७. विपक्षी माधवगोविन्द श्रेष्ठले यस अदालतबाट जारी गरेको म्याद गुजारी बसेको ।
८. निर्णयार्थ डिभिजनबेञ्च समक्ष पेश हुँदा निवेदकले विवादको जग्गामा खन जोत गरी कमाई आएको पनि देखिएन । प्रस्तुत विवादको जग्गामा दुई मुख्य बाली विपक्षीले कमाई सकेपछि मात्र विवाद उठाएको देखिन आयो । निवेदक मोही भएको भए जग्गाधनीलाई बाली बुझाई भर्पाई समेत लिनुपर्ने र भर्पाई नदिएमा कानुनबमोजिम उजूर गर्नुपर्ने सो समेत गरेको देखिँदैन । प्रस्तुत रिट निवेदनमा जग्गावालाले निजलाई पत्याएको व्यहोरा नदेखाएको हुँदा भूमिसुधार अधिकारीले आफ्नो क्षेत्राधिकार परिधि भित्र रही गरेको निर्णयबाट निवेदकको मौलिक हक हनन् नभएकोले रिट निवेदन खारेज हुने ठहर्छ भन्ने समेत डिभिजनबेञ्चको निर्णय ।
९. लक्ष्मीनारायण मन्दिरका नाउँमा दर्ता रहेको सोनापुर गा.पं.वा.नं. ७(क) कि.नं.३ को बिगहा १–६–१० को जग्गा विष्णुलालले भूमिसम्बन्धी ऐन, २०२१ लागू हुनुभन्दा पहिलेदेखि नै कमाउँदै आएकोले उक्त जग्गाको मोही भन्ने कुरा मिसिल संलग्न सोनापुर गा.पं.कार्यालयको पत्र, जोताहाको अस्थायी निस्सा तथा फिल्डबुक उतार समेतबाट देखिरहेको छ । यसरी ऐन, नियमबमोजिम स्थापित मोही विष्णुलाल २०३४ साल आश्विनमा परलोक भएको, मोही परलोक भएपछि मोहीको हक पति, पत्नी वा छोराहरू मध्य जग्गावालाले पत्याएको व्यक्तिलाई जानेमा साविक मोहीको पत्नी वा छोरामा मोहियानी हक कायम गरिदिने व्यवस्था रहेकोमा साविक मोहीका पत्नी वा छोरामा मोहियानी हक कायम गरी दिने काम नगरी भू.सु.का.ले सो हक अर्कै व्यक्तिलाई प्रदान गरेको निर्णय त्रुटिपूर्ण देखिएको बाली नबुझाएको भए बालीमा जग्गाधनीले दावी गरी मोही निष्काशनमा कारवाई चलाउनुपर्ने कबुलीयत नभएको स्थितिमा ०३६।०३७ सालको बाली लगाएको भन्दै दर्तावाला मोहीका छोरा हुँदाहुँदै जग्गामा नयाँ मोही खडा गर्ने गरेको त्रुटिपूर्ण निर्णय भएको छ भन्ने समेत न्यायिक समितिको पर्चा ।
१०. निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी तथा भूमिसुधार कार्यालय, सुनसरी तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरको बहस समेत सुनियो ।
११. यसमा निर्णयतर्फ हेर्दा विपक्षी बेचनलाल चौधरीको निवेदनमा भूमिसुधार कार्यालय सुनसरीबाट विवादको सोनापुर गा.पं.वा.नं. ६(क) को कि.नं.३ को ज.बि. १–६–१० जग्गा बेचनलाल चौधरीले जोत आवाद गरी कमाई आएको भनी भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (४) बमोजिम बीचमा रही मोहीको हैसियतले खाने पूर्णप्रसाद चौधरीले गरेको देखिँदा मोही लगत कट्टा गर्ने ठहर्छ भन्ने समेत निर्णय गरेको पाइन्छ ।
१२. विवादको जग्गाको साविक मोही विष्णुलाल चौधरी र निजको छोरा निवेदक पूर्णप्रसाद चौधरी भएमा विवाद देखिँदैन । साविक मोही विष्णुलाल परलोक भएको भन्ने मिसिलबाट देखिन्छ ।
१३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (४) को देहाय खण्ड (क) मा कसैले जग्गावालाबाट कमाउन लिएको जग्गा आफ्नो वा आफ्नो परिवारको श्रमले नकमाई अरू कसैलाई कमाउन दिएको रहेछ भने सो जग्गाको सम्बनधमा सो खास कमाउने व्यक्तिको बीचमा रही खाने व्यक्तिको सबै अधिकार समाप्त हुनेछ भन्ने व्यवस्था गरेको देखिन्छ । साविक मोही विष्णुलाल र निवेदक पूर्णप्रसाद कसैले पनि विवादको जग्गा विपक्षी बेचनलाल चौधरीलाई कमाउन दिएको भनी विपक्षीहरूले भन्न र देखाउन सकेको पाइँदैन । यस्तो अवस्थामा निवेदकले बीचमा रही मोहीको हैसियतले खाएको भनी भन्न मिल्ने देखिँदैन ।
१४. विवादको जग्गा भूमिसम्बन्धी ऐन, २०२१ आउनु भन्दा अघिदेखि निवेदकको बाबु विष्णुलाल चौधरीले कमाई आएको भन्ने निवेदकको जिकिर देखिन्छ । सो जग्गामा निज विष्णुलालले मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको पनि मिसिल संलग्न प्रमाणपत्रको प्रतिलिपिबाट देखिन्छ । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम विष्णुलालको हक निजको छोरा पूर्णप्रसादमा सर्न सक्ने देखिन्छ । बाबु मरेपछि पनि साविक बमोजिम बुझाउनुपर्ने कूत जग्गाधनीलाई बुझाई आएको छु भन्ने निवदेकको भनाई देखिन्छ । निवेदकले कूत नबुझाएको भए भूमिसम्बन्धी ऐन तथा नियमबमोजिम मोहीबाट हटाउन पाउने जग्गाधनीको हक सुरक्षित नै देखिन्छ । तर विपक्षी जग्गाधनीले सो बमोजिम उजूर गरी मोहीको लगत कट्टा गराएको देखिँदैन ।
१५. अतः उपर्युक्त कारणहरूबाट मोही लगत कट्टा गरी विपक्षी बेचनलाल चौधरीलाई मोही कायम गरेको भूमिसुधार कार्यालय सुनसरीको ०३८।३।१ को निर्णय त्रुटिपूर्ण देखिँदा उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ रिट निवेदन खारेज गर्ने गरेको डिभिजनबेञ्चको ०३८।१०।९ को निर्णय मिलेको देखिएन । यो आदेशको एकप्रति प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.धनेन्द्र्रबहादुर सिंह
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४० साल माघ १३ गते रोज ६ शुभम् ।