December 27, 1983
Created by nepalarchives

निर्णय नं. १७४२ – लिखत पारित

निर्णय नं. १७४२    ने.का.प. २०४० अङ्क ९   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. ४२०...

निर्णय नं. १७४२    ने.का.प. २०४० अङ्क ९

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

सम्वत् २०३९ सालको दे.पु.नं. ४२०

फैसला भएको मिति  : २०४०।९।१२।३ मा

पुनरावेदक/वादी : जिल्ला सर्लाही छताना गा.पं.वा.नं. २ बस्ने असर्फी सिंह राजपूत

विरूद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ गंगापुर सीतापुर गा.पं.वार्ड नं.१ बस्ने विश्वनाथ उपाध्याय

मुद्दा : लिखत पारित

(१)                सक्कल लिखत हेर्दा पुराना कागज देखिनाको साथै ठाउँठाउँमा प्वाल समेत परेको र लिखत व्यहोरा लेखिएको मसी कतै अक्षर गाढा र कतै फिक्का अक्षर भई एकैप्रकारको मसीले लेखेको नदेखिएकोले प्रतिवादी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उपस्थित देखिन आएकोले सोही मितिमा प्रतिवादी सर्लाहीमा उपस्थित भई कागज गरेको भन्ने प्रतीतलायक नदेखिने ।

(प्रकरण नं. १५)

पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह

विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री राजन ढुंगाना

फैसला

न्या.बासुदेव शर्मा

१.     मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चले २०३८।१०।७।४ मा गरेको फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भन्ने २०३८।११।१२।३ मा परेको निवेदनपत्रमा २०३९।५।२९।३ मा पुनरावेदन गर्ने अनुमति भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार रहेछ ।

२.    विपक्षीले मसँग घरसारमा रु.३५,०००। पैंतीसहजार लिई सो रूपैयाँ निजका नाउँको नम्बरी गा.पं.गंगापुर वार्ड नं.१(ख) कि.नं.७ को ११७ भिट अवल जग्गा ०३४ सालको रविबाली देखि आफ्नो हक छाडी मेरो हक हुने गरी मेरो घरमा बसी प्रमाणको मानिसहरूको रोहवरमा ०३४।९।१५ गते राजीनामा गरी दिनुभएकोमा सो राजीनामा पारित गरिदिनुहोस भन्दा पारित गरी नदिएकोले पारित गराई पाउँ भन्ने समेतको २०३५।४।१० को फिरादपत्र रहेछ ।

३.    म राजकीय प्रज्ञा प्रतिष्ठानको पियनको जागीरदार व्यक्ति हुँ ०३४।९।१५ गतेमा रु.३५,०००। लिई जग्गा बिगहा ११७ विपक्षीलाई मैले निजको दरबाजामा बसी राजीनामा गरी दिएको भन्ने कुरा झुठ्ठा हो राजीनामा गरी दिएको छैन सो दिन म आफ्नो घर काठमाडौंमै आफ्नो जागिरे भएको कार्यालयमा छु वादीले छ भनेको लिखत अ.बं.७८ नं.बमोजिम हेर्नपाएका बखत प्रतिक्रिया जनाउने छु भन्ने समेत व्यहोराको विश्वनाथको प्रतिउत्तरपत्र रहेछ ।

४.    लिखतमा लागेको ल्याप्चे र हस्ताक्षर सही विश्वनाथकै हो तर सो राजीनामा लिफा कागजमा धनी र लेखक साक्षी र अन्तर साक्षी तथा बालकिशोर सिंह राजपूत समेत भई खडा गरेका हुन गंगापुरको जग्गाको रेखदेख काम कारोवार गर्नको लागि प्रतिवादी विश्वनाथको लिफा दिइराखेको थियो बालकिशोरको बाबु तेज सिंहलाई दिइराखेको हो सोही लिफामा यो वादीले रु.३५,०००। को राजीनामा खडा गरेको हो लिफा राजीनामा लिखत खडा गरे गराएमा निजहरूलाई सजाय गरिपाउँ भन्ने समेतका प्रतिवादीको वारेस खिलकुमारी पौडेलको बयान रहेछ ।

५.    खिलकुमारीका बयान बमोजिम लिफा कागजमा कीर्ते लिखत खडा गरेको होइन छैन निजको बयान झुठ्ठा हो भन्नेसमेत वादी असर्फी सिंहका वारेस रामकेशव महतो कोइरीको बयान रहेछ ।

६.    रु. ३५,०००। को लेनदेन भएको सद्दे साँचो व्यवहारको भन्ने समेतको लेखक र अन्तर्गत साक्षी इनर मण्डल र मिजा मण्डल समेतको बयान रहेछ ।

७.    फिरादीले पारित गरिपाउँ भनी दावी लिएको मिति २०३४।९।१५।६ को लिखत कीर्ते गरी खडा गरेको देखिँदा त्यस्तो पारित हुन नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको २०३६।९।२९।१ को सर्लाही जिल्ला अदालतको फैसला रहेछ ।

८.    उक्त फैसलामा चित्तबुझेन भन्नेसमेत व्यहोराको वादी असर्फी सिंह राजपूतको पुनरावेदनपत्र रहेछ ।

९.    राजकीय प्रज्ञा प्रतिष्ठान सचिवालयले ०३६।५।१४ मा दिएको जवाफबाट प्रत्यर्थी विश्वनाथ उपाध्याय ०३४।९।१५।६ मा राजकीय प्रज्ञा प्रतिष्ठान कमलादीमा हाजिर रहेको व्यक्ति विश्वनाथ उपाध्यायले सोही मितिमा सर्लाही छतौंना वार्ड नं.२ मा उपस्थित भई लिखत गरी दिने अवस्था देखिँदैन, लिखत हेर्दा पनि दिई राखेको पुरानो वारेस लिफामा राजीनामा खडा गरेको हो भन्ने तथ्य कुरा लिखतको रूपरंग र प्रकृति समेतबाट देखिन आएबाट पुनरावेदक वादी असर्फी सिंह राजपूतले लिखत पारितमा दावी लिएको ०३४।९।१५।६ का रु.३५,०००। पैंतीस हजारको राजीनामा लिखत कीर्ते ठहर गरी पारित नहुने ठहराएको सर्लाही जिल्ला अदालतको इन्साफ मनासिव देखिँदा सदरहुन्छ भन्नेसमेत म.क्षे.अ.को २०३८।१०।७।४ को फैसला रहेछ ।

१०.    अ.बं.७८ नं.को प्रकृया पूरा भएको छैन हाजिरीको किताबको सहिछाप विपक्षीले अघि वा पछि पनि गर्नसक्ने पूर्णतथ्य सम्भावित कुरा हो । खाली लिफामा पछिबाट राजीनामा खडा गरेको भन्ने विपक्षीको दावी भएको लेखिई रहेको अन्य व्यहोरा उठाई राजीनामा खडा गरेको भन्ने ठहर भएकोबाट वादी दावी भन्दा विभिन्न विषयमा निर्णय भएको देखिन्छ । दावी भन्दा भिन्न विषयको ठहर गर्नु त्रुटिपूर्ण हुने नजीर कायम भइरहेकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत निवेदनपत्र रहेछ ।

११.    यसमा विवादका लिखतमा लागेको सहिछाप मेरो हो भनी प्रतिवादीले स्वीकार गरी सो कागज तेजसिंहलाई दिएको लिफामा खडा गरेको भनी बयान गरेको र सो लिफा तेजसिंहबाट कसरी वादीले प्राप्त गरेको केही खुलाउन नसकेको सो लिफामा खडा गरेको हो भन्ने कुराको पुष्टी तेजसिंहका साक्षीहरूबाट समेत हुन नसकेको प्रतिवादी प्रज्ञा प्रतिष्ठानमा हाजिर थिए भनी भनेकोमा सो हाजिरी किताब नझिकाई अ.बं.७८ नं.अनुसार वादीलाई देखाउन कारवाई नगरी नभएको निर्णय अ.बं.७८ नं.र अ.बं.१८४ क.नं.को समेत त्रुटि देखिँदा त्यस्तो त्रुटि सार्वजनिक महत्त्वको विषय भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) बमोजिम प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमित दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजनबेञ्चको २०३९।५।२९।३ को आदेश रहेछ ।

१२.   नियमबमोजिम कजलिष्टमा चढी पेश हुनआएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी असर्फी सिंह राजपूतका वारेस संजयकुमार तथा प्रतिवादी विश्वनाथका वारेस खिलकुमारी समेतलाई रोहवरमा राखी पुनरावेदक असर्फी सिंह राजपूत तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले र प्रतिवादी विश्वनाथतर्फबाट रहनुभएका वैतनिक अधिवक्ता श्री राजन ढुंगानाले गर्नुभएको बहस समेत सुनियो ।

१३.   यसमा का.जि.जोरपाटी गा.पं.वार्ड नं.४ सुन्ताखन गोकर्ण बस्ने यस नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका पियन श्री विश्वनाथ उपाध्याय मिति २०३४।९।१५ गते शुक्रबारका दिन कार्यालयमा हाजिर हुनुभएको व्यहोरा अदालतलाई आवश्यक जानकारीको लागि अवगत गराउन चाहन्छु भन्ने नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको पत्र संख्या ३८० क १२।०३६ को पत्रबाट देखिन्छ ।

१४.   मध्यमाञ्चल क्षेत्रीय अदालतले वादी असर्फी सिंह राजपूतले प्रतिवादी विश्वनाथ उपाध्यायसँग भएको रु.३५,०००। पैंतीस हजारका राजीनामा लिखत कीर्ते ठहरी पारित नहुने ठहराएको इन्साफमा पेश भइरहेको लिखत विशेषज्ञबाट जाँच गराउन पर्ने भनी पुनरावेदक वादी असर्फी सिंह राजपूतका तर्फबाट रहनुभएका वरिष्ठ विद्वान अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले लिनुभएको बहस जिकिरसँग यो बेञ्च सहमत हुनसकेन ।

१५.   मिसिल संलग्न रहेको सक्कल लिखत हेर्दा पुराना कागज देखिनाको साथै ठाउँठाउँमा प्वाल समेत परेको र लिखत व्यहोरा लेखिएको मसी कतै अक्षर गाढा र कतै फिक्का अक्षर भई एकैप्रकारको मसीले लेखेको नदेखिएकोले प्रतिवादी विश्वनाथ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा ०३४।९।१५।६ मा उपस्थित देखिन आएकोले सोही मितिमा प्रतिवादी सर्लाहीमा उपस्थित भई कागज गरेको भन्ने प्रतीतलायक नदेखिने समेतबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा कुनै त्रुटि नदेखिएकोले उक्त इन्साफ सदर हुने ठहर्छ तपसीलका कुरामा तपसील बमोजिम गर्ने गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

तपसील

वादी असर्फी सिंह राजपूतके माथि इन्साफ खण्डमा लेखिएबमोजिम हुने गरी शुरू जिल्ला अदालतले कीर्तेतर्फ रु.८७५०। जरिवाना गर्ने गरेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतमा सयकडा दशले रु.८७५। थप जरिवाना गरेकोमा यस अदालतमा दोश्रो पुनरावेदन गर्दा अ.बं.२०३ नं. ले सयकडा पाँचका दरले सोको आधी थप जरिवाना रु.४३७।५० चारसय सैतीस रूपैयाँ पचास पैसा वादी असर्फी सिंह राजपूतबाट असूल उपर गर्नु भनी सर्लाही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु………………………………………………………………………………………१

शुरू सर्लाही जिल्ला अदालतले वादी असर्फी सिंह राजपूतलाई कीर्तेतर्फ रु.८७५०। जरिवाना गर्ने गरेकोमा म.क्षे.अ.मा पुनरावेदन गर्दा जग्गा जेथा जमानी राखी गरेको देखिएकोले उक्त शुरूले गर्ने गरेको जरिवाना रु.८७५०। असूल नभएसम्म रोक्का रहेको जग्गा फुकुवा नगर्नु भनी सर्लाही जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु………………………………………………………………………………………२

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशरामभक्त माथेमा

 

इतिसम्वत् २०४० साल पौष १२ गते रोज ३ शुभम् ।

 

