निर्णय नं. १७३७ – कर्तव्य ज्यान
निर्णय नं. १७३७ ने.का.प. २०४० अङ्क ९ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी...
निर्णय नं. १७३७ ने.का.प. २०४० अङ्क ९
फुलबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४० सालको फौ.फु.नं. २७
फैसला भएको मिति : २०४०।९।२२।६ मा
पुनरावेदक/प्रतिवादी : गोरखा जिल्ला वोर्लाङ गा.पं.वार्ड नं.८ क्यामुनाटार घर भई हाल काठमाडौं कारागार थुनामा रहेकाहरू तारानाथ रेग्मीसमेत
विरूद्ध
विपक्षी/वादी : विष्णुदत्त शर्माको जाहेरीले श्री ५ को सरकारसमेत
मुद्दा : कर्तव्य ज्यान
(१) सहअभियुक्तहरूको भनाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टी हुनुपर्दछ तब मात्र त्यसलाई प्रमाणको रूपमा लिनसकिन्छ ।
(प्रकरण नं. ४३)
पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्ल र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल
विपक्षी वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कामानन्द देव झा
फैसला
न्या.धनेन्द्र्रबहादुर सिंह
१. डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीचमा राय नमिलेकोले सर्वोच्च अदालत नियमावली, २०२० को नियम ३३(क) बमोजिम यस फुलबेञ्च समक्ष निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यहरू यसप्रकार छ :
२. मेरी दिदी पद्मकुमारी रेग्मीको विवाह क्यामुनाटारमा भएको, छोरा नभएकी विधवा ६२ वर्ष उमेर पुगेको थिइन । ऐ.क्यामुनाटार बस्ने कनुप्रसाद, ताराप्रसादसँग २०१५ सालदेखि अंश मुद्दा परी हाल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा चली रहेकोमा २०३४ साल भाद्र १ गते वोर्लाङ सिमल्टार सुन्दरीपुर आफ्नो सहोदर बहिनीका घरमा भेटघाट गर्न जान्छु भनी माइत गई ऐ.४ गते कागजपत्र लिन दरभुंग जान्छु भनी बहिनीसँग बिदा भई हिँडेकी हालसम्म मरे बाँचेको समेत केही थाहा नभएकोले खोजतलासी गरिपाउँ भन्ने समेत ०३४।६।४।३ को जाहेरी दरखास्त ।
३. विष्णुदत्तलाई झिकाई सनाखत कागज गराउँदा दिदी पद्मकुमारीले दिदीकै भतिजा क्यामुनाटार बस्ने ताराप्रसाद रेग्मी र कनुप्रसाद रेग्मीसँग गोरखा जि.अ.मा परेको अंश मुद्दाको मिति ०३४।५।५ गतेको तारेख समेत गुजारेकी र क्यामुनाटारको बाटो भई दरभुंग जान हिँडेकी बेपत्ता समेत भएको कारण निज ताराप्रसाद र कनुप्रसादले नै मारे मराएको शंका लाग्छ भन्ने समेत ०३४।७।१५।२ को कागज ।
४. कान्छीआमा पद्मकुमारीसँग अंश मुद्दा परी रहेकोमा जिती अंश पाउने भएकी हुँदा निजको अंश भाग पनि आफैंले खाने उद्देश्यले बोर्लाङ सिमल्टार बहिनीको घरबाट दर्भुङ जान भनी आइरहेको बखत अँधेरी खोलामा २ भाइ बसी पद्मकुमारीलाई मारी स्याउलाले छोपी घर आयौं । सो बखत गाउँकै कुप्रे दमाई पनि आई पुग्यो उक्त काम गरेको निजले पनि देखेको थियो । राति दुई भाइ मिली लासलाई काठमा बाँधी अँधेरी खोला दोभानमा लगी खाडल खनी लास गाडी फर्केका हौं । हामी २ भाइ बाहेक अरू मद्दतगार कोही थिएनन् भन्ने समेत व्यहोराको २०३४।७।१८।५ को कनुप्रसादले प्रहरीमा गरी दिएको काजग ।
५. कान्छीआमा पद्मकुमारीलाई मार्ने अवस्थामा म थिइन मारी सकेपछि बुढीलाई मारे भनी कनुप्रसादले मलाई भन्यो दुवै भाइ भई लास गाडी आएको हो भन्ने समेत व्यहोराको ऐ.ऐ मितिमा ताराप्रनाथको प्रहरीमा भएको कागज ।
६. पद्मकुमारीलाई गाडेको च्याहान खनी हेर्दा खाल्टोमा मासु र छाला केही नबचेको नरकाल सिंगै देखिएको र फरिया र चोलो गली चिराचिरा भएको टुक्रा टुक्रिएको भन्ने समेत मिति २०३४।७।२० को लासप्रकृति मुचुल्का ।
७. मर्नेकी बहिनी नर्भदालाई झिकाई चोला फरियाको टुक्राहरू सनाखत गराउँदा मेरो घरबाट माइत दरभुङ जाँदा दिदी पद्मकुमारीले लगाई निस्केको कपडा यही हो भनी निज नर्भदाले २०३४।७।२० मा गरी दिएको बयान कागज ।
८. मृतक पद्मकुमारी र तारानाथ कनुप्रसाद भतिजा र कान्छीआमा नाताका हुन निज अभियुक्त र मृतकको २० वर्ष अघि देखि अंश सम्बन्धी झगडीया भएकोले सोही रिस इवीबाट कर्तव्य गरी लास दबाएको पूरा शंका लाग्छ । कुप्रे दमैले अभियुक्तहरूलाई सहयोग गरेको शंका छैन ज्यान मारेको थाहा पाई प्रकाश नगरेको सम्म हुनसक्छ भन्ने समेत मिति ०३४।७।२०।७ मा भएको सरजमीन क्षेत्र जंग थापा क्षेत्री समेत ७०जनाको एकै मिलान भएको सरजमीन मुचुल्का ।
९. म विष्टहरूको घरमा मकै बाली उठाउँदै हिडेको थिएँ अन्दाजी दिनको १ बजेको समय हुँदो हो विष्टहरू कहाँबाट पाएको मकै दुई थुम्सेमा बोकी वर्ष ८ को मेरै छोरा बलबहादुर सँगसँगै घर फर्कदै थियौं मेरो घर जाने बाटो कनुप्रसादको घरबाट भएको हुँदा कनुप्रसादको आगनमा पुग्दा ध्यार ध्यारको आवाज सुने कनुप्रसादले पद्मकुमारीको घाँटीमा अठर्याइरहेको रुद्रप्रसादले पछाडि पीठ्यूमा टेकेको तारानाथले कपालको चुल्टो समातेको रामप्रसाद श्रेष्ठले दाहिने पाखुरा समातेको नकुले खनालले देब्रे पाखुरा समातेको पद्मकुमारी निस्सासिएर ध्यार ध्यार गर्दै थिइन म डराएर आफ्नो घरतिर लागे राति ७ बजे रुद्रप्रसाद महकहाँ आई दिउँसो देखेको कुरा कतै कसैलाई भनिस् भने जुन गती पद्मिको भयो त्यही गती तेरो हुन्छ भनी भनेकाले कतै जाहेर नगरी बसेको थिएँ । यही १५,१६ गते कार्तिकतिर रामबहादुर श्रेष्ठ निलप्रसाद खनाल र रुद्रप्रसादका बाबु समेत मेरो घरमा आई तँलाई रु.५००। दिन्छौं चितवनतिर भाग नत्र पुलिसले पक्राउ गर्नखोजेको छ भनेको थिएँ म अपराधमा सरिक छैन भन्नेसमेत व्यहोराको कुप्रे भन्ने मानबहादुर दमाईको २०३४।८।३।६ मा प्रहरीमा भएको कागज ।
१०. कनुप्रसादको घरमा पद्मकुमारीलाई अंश नलेउ हामी पाल्छौं भन्दा मलाई पाल्न पर्दैन अंश लिन्छु भनेकी हुँदा रिसले म कनुप्रसादले पद्मकुमारीको छातीमा मुड्कीले हानी गुहार गुहार भनी पद्मकुमारी कराउन थालेपछि तारानाथले पद्मकुमारीको घाँटी अँठ्याई दिए रुद्रप्रसादले पद्मकुमारीको छातीमा चढी हलचल गर्न दिएनन् नकुले खनाल र रामप्रसाद श्रेष्ठले पद्मकुमारीको दायाँ बायाँ पाखुरा समती सहयोग गरे । मरी सकेपछि परालले छोपी राखेको थियो बेलुकी दयाराम र मायानाथ समेतको सहयोग लिई ३ जना भई पद्मकुमारीलाई अँधेरी खोला दोभानमा गाडेको हुँ भन्ने समेतको प्रहरीमा तारानाथ कनुप्रसादले २०३४।८।४।७ मा प्रहरीमा गरेको ततिम्बा बयान ।
११. नकुले खनाल रुद्रप्रसाद र रामप्रसादलाई पक्राउ गर्न जाँदा गाउँमा नभई भागी फरार रहेको भन्ने ०३४।८।३ को प्रहरी प्रतिवेदन ।
१२. पद्मकुमारीलाई मारी अंश खाने उद्देश्यले कनुप्रसाद रेग्मी र तारानाथ रेग्मी समेतले मारेको हुँदा मुलुकी ऐन ज्यानसम्बन्धीका १३ नं.को देहाय १ बमोजिम र रुद्रप्रसाद, निलप्रसाद, रामबहादुर समेतले मार्नमा मद्दत गरी कुटपिट समेत गरी मारेकोले निजहरू ३ जनालाई ज्यानसम्बन्धीको १३(३) अनुसार र अपराध घटेको घटना देखि ३०,४० गज फरकमा अपराध गरेको चाल पाउनसक्ने साथै लास बोकी गाडन लगेकोमा निजहरूलाई पोलेको र प्रहरीहरू निजहरूलाई खोजतलास गर्न जाँदा भागी हालसम्म फेला पार्न नसकी छिपी रहेको हुँदा हत्यामा सम्मिलित छैन भन्न नसकिने हुँदा दयाराम, मायानाथ उपर ज्यानसम्बन्धी १७(३) अनुसार र मानबहादुर दमाईले मौकामा अपराध गरेको कुरा चाल पाई जाहेर गर्नुपर्नेमा अभियुक्तहरूको डरले जाहेर नगरेको पछि अनुसन्धान सहयोग गरेको देखिन्छ तापनि मौकामा जाहेर नगरेकोले ज्यानसम्बन्धी २५ नं.बमोजिम सजाय हुनुपर्ने भन्ने व्यहोराको जि.प्र.का.को मिति ०३४।८।१०।६ को प्रहरी प्रतिवेदन ।
१३. पद्मकुमारी मेरो कान्छीआमा नाता पर्ने हुँदा २०३४।५।४ का दिन म कनुप्रसाद मेरो सहोदर दाजु तारानाथ रेग्मी नकुले भन्ने निलप्रसाद खनाल, रामप्रसादभन्ने रामबहादुर श्रेष्ठ, रुद्रप्रसाद ढकालसमेत ५ जना मिली मेरो घरमा दिनको १ बजे मारी बूढी गंगामा बगरमा फाल्न हुँदैन भनी मायानाथ, दयाराम समेत मलामी लिई ३ जना भई गंगाको बगरमा खाल्टो खनी लासलाई पुरी घर आयौं भन्ने समेतको ०३४।८।१०।६ मा अभियुक्त कनुप्रसादले अदालतमा गरेको बयान ।
१४. पद्मकुमारी मेरो कान्छीआमा नाता पर्ने हुन प्रहरीमा गरेको कागज मेरै खुसी राजीबाट भएको होइन पद्मकुमारी जीवित छन् कि मरेकी मलाई थाहा छैन भाइ कनुले मलाई किन पोले मलाई थाहा छैन कुप्रे दमाईसँग कुनै रिसइवी छैन निजले मलाई किन पोले मलाई थाहा छैन भन्ने व्यहोराको मिति २०३४।८।१०।६ मा अभियुक्त तारानाथले गरेको बयान ।
१५. २०३४ साल भाद्र ४ गते बिहान ८ वर्षको छोरा साथ २ वटा थुम्से लिई मकै बाली उठाई घर फर्की कनुप्रसादको घर डुम्रीको रुखनेर आइपुग्दा ध्यार ध्यारको आवाज सुने हेर्दा कनुको घर बलैन्धुरीमा ताराप्रसादले चुल्ठो समाउने कनुप्रसादले घाँटीमा समाउने रुद्रप्रसादले पछाडि पीठ्यूमा टेक्ने रामप्रसादले दाहिने पाखुरा समात्ने नकुले खनालले देव्रे पाखुरामा समात्ने गरेको देखेर म घरतिर जाँदै थिए कनुको धन्सारनेर पुगेपछि रुद्रप्रसादले त चुपचाप लागनी भने राति ७ बजे रुद्रप्रसाद मेरो घर आई तेरो यहाँ कोही छैनन् केही भनीस भने जुन चाला पद्मीको भयो तेरो पनि त्यही चाला हुन्छ भनको हुँदा ज्यानको डरले चुप लागी बसको थिए पछि गते बार याद भएन रुद्रप्रसादका बाबु रामप्रसादले मलाई बोलाई कनुप्रसादले तँलाई पोलेका छन् प्रहरीले तँलाई खोजेका छन् पक्राउ पर्लास् ५००। रूपैयाँ दिन्छौं त चितवन जा भनेका थिए । म जस्तो देखेको छु त्यस्तो भनी दिन्छु भनी कतै गइन । म अपराधमा सरिक छैन भन्ने समेतको मिति ०३४।८।१०।६ मा कुप्रे दमाइँ भन्ने मानबहादुर दमाईले अदालतमा गरेको बयान ।
१६. पद्मकुमारीलाई तारानाथ र कनुप्रसादले कर्तव्य गरी मारेकोमा पूरा शंका लाग्छ अरूको विषयमा हामीहरूलाई थाहा छैन मानबहादुर मार्नमा सहयोग छैनन् भन्ने समेत प्र.पं.अम्बरबहादुर र गा.पं.सचिव खडानन्द ढकालले मिति २०३४।१०।१७।२ गते अदालतमा गरेको बयान ।
१७. पद्मकुमारीलाई तारानाथ र कनुप्रसादले कर्तव्य गरी मारेको हो अरू मतियार छैनन् भने समेत रामबहादुरसमेत ६ जना सरजमीनका मानिसहरूले अदालतमा ०३४।१०।२०।५ मा गरेको बयान ।
१८. अदालतबाट जारी भएको म्याद भित्र हाजिर हुनआएको छु कनुप्रसाद र तारानाथले पद्मकुमारीलाई मारेको हुनुपर्छ निजहरू बीच अंश मुद्दा थियो मैले पद्मकुमारीलाई अंश दिनुपर्छ भन्ने सोही रिसबाट मलाई पोलेको हुनुपर्छ वारदातको दिन म घरमा थिइन भन्ने समेतको दयाराम अर्यालले मिति ०३६।१।२०।४ मा अदालतमा गरेको बयान ।
१९. पद्मकुमारीलाई रुद्रप्रसाद र तारानाथले अंश मुद्दाको रिसले मारेको हुनुपर्छ कनु र तारानाथसँग मेरो राम्रो बोलचाल छैन सोही रिसले पोलेको हुनुपर्छ भन्ने समेत मिति ०३५।१।१९।३ मा दयाराम अर्यालले अदालतमा गरेको बयान ।
२०. कनुप्रसाद र तारानाथले पद्मकुमारीलाई कर्तव्य गरी मारे अरे भन्ने सुनेको हुँ कनुप्रसादसँग भैंसीको लेनदेन व्यवहारबाट झगडा भएको हुँदा सोही रीसइवीबाट मलाई पोलेको हुन् । कुप्रे दमाइले बालीमा लुगा सिउन नपाएको हुँदा मलाई पोलेको हुनुपर्छ भन्ने समेतको ०३५।१।२५।२ मा रामबहादुर श्रेष्ठले अदालतमा गरेको बयान ।
२१. पद्मकुमारीलाई तारानाथ कनुप्रसादले कर्तव्य गरी मारे भन्ने सुनेको हुँ । मैले कुनै मार्ने सहयोग दिई अपराध गरेको छैन वारदातको समयमा म चितवनमा छु कनु र तारानाथसँग मेरो झगडा रिसइवी भएको हुँदा मलाई पोलको हुनुपर्छ भन्ने समेतको मिति २०३५।१।२५।२ मा निलप्रसादले अदालतमा गरेको बयान ।
२२. पद्मकुमारी र तारानाथ कनुप्रसादको अंश सम्बन्धी मुद्दा थियो त्यसै रिसइवीबाट कर्तव्य गरी मारेको हुनुपर्छ म समेत भई लास दबाएको होइन छैन वारदातको समयमा म भारत कलकत्तामा नोकरी गर्दथे । पोहोर साल म घर आउँदा झगडा नगर बुढीलाई अंश दिनुपर्छ भनी भनेको हुँदा रिसइवीबाट मलाई पोलेको हुनुपर्छ भन्ने समेतको मिति २०३५।२।१७।३ मा रुद्रप्रसाद ढकालले अदालतमा गरेको बयान ।
२३. अभियुक्त कनुप्रसाद अदालतमा साविती भई कर्तव्य गरी मारेको हुँ भनी साविती बयान दिएको तारानाथ इन्कार रहे पनि सरजमीनले किटानी बकी दिएको हुँदा पूर्पक्षको लागि थुनामा राख्नु पर्ने । रामबहादुर, निलप्रसाद, तारानाथ र दयाराम अर्यालले आफू इन्कारी रही बयान गरेको र पोल उजूर बाहेक अन्य सबूत प्रमाण केही नहुँदा रु.२,०००। दुईहजार धरौट लिई पूर्पक्षमा ठहरे बमोजिम हुने गरी तारेखमा छोडी दिनु भन्ने समेतको मिति–मितिको जि.अ.को आदेश ।
२४. तारानाथ रेग्मी र कनुप्रसाद रेग्मीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । रुद्रप्रसाद ढकाल नकुले भन्ने निलप्रसाद खनाल प्र.रामप्रसाद भन्ने रामबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैद हुने ठहर्छ दयाराम अर्याल र मायानाथ अर्यालले सफाई पाउने ठहर्छ कुप्रे भन्ने मानबहादुर दमाइलाई ज्यानसम्बन्धी महलको २५ नं.बमोजिम २०। रूपैयाँ जरिवाना हुने ठहर्छ भन्ने समेतको मिति ०३७।३।१२।४ को जि.अ.को फैसला ।
२५. उक्त फैसलामा चित्त नबुझी वादी श्री ५ को सरकार र प्रतिवादी तारानाथ कनुप्रसाद रेग्मी, रुद्रप्रसाद ढकाल र रामबहादुर श्रेष्ठको क्षेत्रीय अदालतमा पुनरावेदन पर्नगएको रहेछ ।
२६. शुरू अदालतले प्रतिवादीहरूलाई सजाय हुने ठहर्याएको इन्साफ मनासिव छ श्री ५ को सरकारतर्फको पुनरावेदन जिकिर र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेतको मिति ०३८।३।११।५ मा प.क्षे.अ.बाट भएको फैसला ।
२७. सो फैसला उपर चित्त नबुझी प्रतिवादीहरू तारानाथ रेग्मी कनुप्रसाद उपाध्याय रेग्मी, रुद्रप्रसाद ढकाल, निलप्रसाद खनाल र रामबहादुर श्रेष्ठको कर्तव्य गरी मारेको छैनौ सफाई पाउँ भन्ने समेत यस अदालतमा पर्नआएको पुनरावेदन ।
२८. जाहेरी दरखास्तमा प्र.रुद्रप्रसाद ढकाल, प्र.नकुले भन्ने निलप्रसाद खनाल, प्र.रामप्रसाद भन्ने रामबहादुर श्रेष्ठको नाम उल्लेख भएको नदेखिएको मिति ०३४।७।१८।५ मा प्र.कनुप्रसादको प्रहरीमा भएको बयानमा पनि निजहरूको नाम उल्लेख भएको नदेखिएको, प्र.रुद्रप्रसाद ढकाल प्र.नकुले भन्ने निलप्रसाद खनाल र प्र.रामप्रसाद भन्ने रामबहादुर श्रेष्ठलाई ज्यानसम्बन्धीको १३ (३) नं.बमोजिम जन्मकैद गर्ने गरेको शुरू गोरखा जि.अ.को इन्साफ सदर गर्ने गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिँदा छलफलको लागि अ.बं.२०२ नं.बमोजिम तथा स.अ.नियमावली बमोजिम सरकारी पक्षलाई झिकाउनु भन्ने मिति ०३९।५।२०।१ को यस अदालत डिभिजनबेञ्चको आदेश ।
२९. यसमा प्र.कनुप्रसाद पद्मकुमारीलाई कर्तव्य गरी मारेतर्फ अदालतमा समेत सावित हुँदा पद्मकुमारी जीवित छन् भन्ने स्थिति रहेन । अब को कसले पद्मकुमारीलाई कर्तव्य गरी मारे भनी हेर्दा पद्मकुमारीलाई कर्तव्य गरी मारेमा प्र.कनुप्रसाद र ताराप्रसाद प्रहरीमा साविती देखिन्छन । प्र.कनु प्रसाद अदालतमा समेत सावित भई प्र.ताराप्रसादले समेत पद्मकुमारीलाई मारेको भनी अदालतमा बयान गरेको पाइन्छ । स्वेच्छाले अदालतमा साविती भएकोलाई अन्यथा मान्ने स्थिति छैन । ताराप्रसाद अदालतमा इन्कार भए पनि पद्मकुमारीलाई कर्तव्य गरी मारेमा निज प्रहरीमा सावित भएको देखिन्छ । प्रहरीमा कागज गर्दा डरको मारे सही गरेको भन्ने ताराप्रसादको भनाई देखिन्छ । तर निजको उक्त भनाई साँचो भए निजको भाइ कनुप्रसादले नै ताराप्रसाद समेतले पद्मकुमारीलाई मारेको भनी पोल गर्ने स्थिति छैन । साथै साक्षी सरहको सह अभियुक्त कुप्रे भन्ने मानबहादुरले प्रहरीमा र अदालतमा समेत पद्मकुमारीलाई ताराप्रसाद समेतले मारेको भनेको छ । प्रहरीमा भएको ताराप्रसादको कागजलाई असंगत तुल्याउने अन्य कुनै प्रमाण देखिन्न। यस्तो स्थितिमा प्र.ताराप्रसादको प्रहरीमा भएको साविती स्वेच्छाले भएको रहेनछ भन्न मिलेन । रुद्रप्रसाद, निलप्रसाद र रामबहादुर समेतले पद्मकुमारीलाई मारेको भन्ने कनुप्रसादको बयान छ । उक्त तथ्यलाई मानबहादुर भन्ने कुप्रे दमाइको भनाइबाट समर्थित भएको पाइन्छ । उक्त वारदातमा हामी छैनौ भनी रुद्रप्रसाद र ताराप्रसादको बयान छ तापनि निजका साक्षीहरूले वारदातको दिन अन्यत्र देखे भनी निजहरूलाई सफाई दिएको देखिन्न वारदातको दिन र समयामा अन्यत्र यी प्रतिवादीहरू रहेको प्रमाणित छैन । पद्मकुमारीलाई मारेको कुरा सह–अभियुक्तको पोल परिस्थिति सबूतबाट यथार्थ रूपमा समर्थित भएको र वारदातको दिन अन्यत्र यी प्रतिवादीहरू रहेको साक्षीहरूबाट प्रमाणित हुन नआएकोले प्र.ताराप्रसादले ज्यानसम्बन्धीको १३(३) र रुद्रप्रसाद, निलप्रसाद, रामबहादुर समेतले १३(३) बमोजिम सजाय गरेको शुरू जि.अ.को इन्साफ सदर गरेको प.क्षे.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने माननीय न्यायाधीश त्रिलोकप्रताप राणाको राय ।
३०. फौजदारी मुद्दामा सामान्यतः ३ अवस्थाहरू पाइन्छन् । प्रथम कसूर गरेको निश्चित प्रमाण दोश्रो कसूर नगरेकोले सफाई पाउने निश्चित स्थिति र तेश्रो, प्रमाण प्राप्त परिबन्धलाई विचार गर्दा एकभन्दा बढी सम्भावनाहरू सामु आउने स्थिति यो अन्तिम अवस्था विशेष जटिल हुन्छ र यसमा कुनै निष्कर्षमा पुग्दा एकभन्दा बढी सम्भावनाहरू सामु आउँछ र जुन सम्भावना बढी युक्तिसंगत हुन्छ त्यसैलाई ठहरको आधार बनाउने प्रचलन छ । परिणाम स्वरूप अभियुक्तलाई यस्तो अवस्थामा जेजस्तो सुविधा दिनसकिन्छ दिनु न्यायिक प्रणालीमा परम्परा बसिसकेको छ । न्यायकर्ताको मस्तिस्कमा यो विचार सर्वोपरी नै रहन्छ ।
३१. प्रस्तुत मुद्दामा पहिलो र तेश्रो अवस्था विद्यमान छ । यस कारणले जति सबूत प्रमाण मौजूद छन् त्यसको विवेचना र मूल्याड्ढन प्रमाण सम्बन्धी कानुनी व्यवस्थाको आधारमा गरिनु आवश्यक देखिन्छ । बस्तुस्थिति यसप्रकार छ :
३२. कनुप्रसाद आफू प्रहरी र अदालतमा सावित भएको र तारानाथ लास गाड्ने कुरामा प्रहरीमा सावित र मार्ने कुरामा प्रहरी र अदालतमा इन्कारी, सरजमीनका साक्षीहरू र अर्को सह–अभियुक्त मानबहादुर दमाईले पनि मार्ने कुरामा यी दुईजनालाई देखाएको, कनुप्रसादले दाजु तारानाथ समेत थियो भनेको आधार समेतबाट दुवैजनाको कृयाकलापबाट पद्मकुमारीको ज्यान मारेको कुरा प्रमाणित हुन्छ तर यहाँ प्रश्न छ– के कस्तो अवस्थामा मृतकको मृत्यु भएको हो ? यथार्थमा कनुप्रसाद र तारानाथले षडयन्त्र गरी मारेको हो अथवा आवेशमा आएर केही गर्दा मृत्यु भएको हो ? तथ्यको विवेचना गर्दा पद्मकुमारी र यी दुई अभियुक्तहरूको कान्छीआमा–छोरा नाता भई लामो समय देखि अंश मुद्दा चलेको देखिन्छ । मुद्दाको हैरानीले दाजुभाइले पद्मकुमारीलाई सम्झाई बुझाई गर्ने उद्देश्य लिई कनुप्रसादको घरमा बोलाइएको थियो । घटना पनि दिउँसो १ बजेको समयमा कनुको घर आँगनमा सबैले देख्ने ठाउँमा भएको पाइन्छ र यसबाट पद्मकुमारीलाई मार्ने पूर्व निश्चित योजना भएको थियो भन्न कठिन पर्दछ । मार्नुपर्ने कारण थियो भन्नलाई पनि मरी सकेपछि कनुलाई सावित हुनुपर्ने खण्ड पर्दैन सम्पत्तिको लोभमा पर्ने आफू सावित हुनु ज्यादै अस्वाभाविक हुन्छ । तसर्थ कनुप्रसादको बयानलाई केलाई हेर्दा लामो अवधिसम्मको मुद्दाको हैरानी र परेशानी पछि छलफलको क्रममा रिस उठनु स्वभाविक हुन्छ दाजुभाइले हातपात गर्दा विशेष गरी कनुले जोडले छातीमा हिर्काउँदाको कारण वृद्धअवस्थामा पुगेकी महिलाको कतिपय कारणबाट मृत्यु भएको देखिन्छ । पोष्टमार्टमको अभावमा मृत्युको कारण किटानी साथ भन्न सकिने अवस्था पनि छैन । यो हाम्रो अनुसन्धानकर्ताको उदासिन भावनाको परिणाम नै हो । जे होस् हाम्रो सामु उपस्थित तथ्य र प्रमाणबाट आवेशमा यो घटना घटेको भन्नु भन्दा अर्को विकल्पको आधार कमजोर नै देखिन्छ कनुप्रसादको बयानलाई निजको विरूद्ध प्रमाणमा ग्रहण गरिन्छ भने मुद्दामा प्रकाश पार्ने निजको बाँकी कथनलाई पनि पूर्णरूपमा स्वीकार गरिनुपर्दछ । तसर्थ तत्काल उठेको रिसमा कनु र तारानाथको हातपातबाट पद्मकुमारीको मृत्यु भएको हुँदा दुबैजना ज्यानसम्बन्धीको १४ नं.बमोजिम १०।१० बर्षको दरले कैद सजायको भागी ठहर्छ ।
३३. अब अन्य अभियुक्तहरू निलप्रसाद, रामबहादुर र रुद्रप्रसादको सम्बन्धमा विचार गर्दा मुख्य अभियुक्तहरू कनु र तारानाथले ज्यानसम्बन्धीको १४ नं.बमोजिमको कसूर गरेको देखिएकोमा निजहरू पनि हातपातको कुरामा सामिल थिए कि भन्नालाई कनुप्रसादले प्रहरीमा गरेको ततिम्बा बयानमा निज तीनजना समेतले मृतकलाई समातेको र लास गाड्नेमा सहयोग दिएको भन्ने भनाई छ । अर्को सहअभियुक्त मानबहादुरको भनाईबाट पनि सो कुरा देखिएको छ तर सहअभियुक्तको भनाई सहअभियुक्तबाट पुष्टी भएको भन्न मिल्दैन । यसबाहेक कनुप्रसादको प्रहरीमा भएको शुरू बयान, निजको ततिम्बा बयान र अदालतमा गरेको बयानको कुराहरू फरक देखिन्छ । निजको कथन मानबहादुर दमाइको घटना चित्रणसँग पुरापुर मेल खाँदैन । मानबहादुर दमाइको छोरालाई अदालत र प्रहरीबाट समेत उपस्थित गराएको पनि छैन । सरजमीनका साक्षीहरूले तीनजना माथि शंका लिएको पनि छैनन् । तसर्थ कनु र मानबहादुरको यो भनाई छ कि यी तीनजनाले मृतकलाई समाती मार्नमा मद्दत गरेको थियो त्यति हदसम्म कनुप्रसादको बयान बाझिएको हुँदा दूषित मान्नुपर्ने छ । यति प्रमाण ग्रहणयोग्य भएता पनि पत्यार लाग्दो भन्न सकिन्न । यतिकोभरमा तीनैजनालाई मार्ने काममा समाती मद्दत गरेको थियो भनी ठहर्याउनु न्यायसंगत हुँदैन । तर यतिबाट निजहरू पूर्णरूपमा सफाई पाउनुपर्ने व्यक्ति हुन् भन्न मिल्ने पनि प्रमाण परिबन्धबाट देखिन्न किनभने कनुप्रसादको बयानको बाँकी भागबाट यी तीनजना घटनास्थलमा चाहे मध्यस्थ गर्ने उद्देश्यले होस् (जुन गाउँघरमा प्राय हुन्छ) चाहे दर्शकको रूपमा होस् उपस्थित थिए र पछि लास गाड्नमा मद्दत गर्ने व्यक्तिहरू मध्येका कनु भन्ने उक्त बयानबाट देखिन्छ । बयानको सो भाग कुनै बाझिएको पनि छैन । तसर्थ दृष्टित पनि छैन । मिसिलबाट निजहरू प्रहरीबाट भागी लुकी छिपी हिँडेको पनि देखिएकै छ तसर्थ निज षडयन्त्रमा नपसी घटनास्थलमा उपस्थित भएको बढी सम्भावना देखिनुको साथै लास गाडने कुरामा समेत सरीक रहेको देखिएकोले तीनैजना निलप्रसाद, रामबहादुर र रुद्रप्रसादले ज्यानसम्बन्धी महलको १७(३) बमोजिम ३।३ वर्षको दरले कैद सजाय पाउने ठहर्छ । माननीय न्यायाधीशसँग राय नमिलेकोले नियमबमोजिम फुलबेञ्चमा पेश गर्नुभन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।
३४. यसमा पुनरावेदक प्रतिवादी कनुप्रसादका तर्फबाट विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्लले मुख सावित हुुनु र अपराध हुनु भिन्दा–भिन्दै कुरा हो अभियुक्तहरूको सावितीको आधारमा मात्र कसूरदार ठहर्याउनु प्रमाणको उपहास गर्नु हो । कनुप्रसादले पद्मकुमारीलाई मार्नु पर्ने कुनै दुराशय नहुनाले निजलाई ज्यानसम्बन्धीको १३(१) लागू हुनसक्दैन भन्ने समेत बहस गर्नुभयो भने अर्का पुनरावेदक प्रतिवादीहरू रुद्रप्रसाद ढकाल, निलप्रसाद र रामप्रसादका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले मेरा पक्षहरू वारदातमा संलग्न भएको कुरामा अदालत समक्ष इन्कारी छन्, अभियुक्तहरू कनुप्रसाद र तारानाथले प्रहरी समक्ष पहिलो पटक गरेको साविती बयानमा मेरो पक्षहरूको नाम नै उल्लेख छैन । कुप्रे भन्ने मानबहादुरले प्रहरीमा मेरा पक्षहरूलाई पोलेपछि मात्र पुनः कनुप्रसाद र तारानाथको ततिम्बा गराउँदा मेरो पक्षहरूलाई पोलेका छन् । सरकारी मुद्दा सम्बन्धी ऐन, ०१७ ले यसरी अभियुक्तहरूलाई प्रहरीले पुनः ततिम्बा गराउन सक्ने छूट दिएको छैन । कनुप्रसादले प्रहरीमा गरेको पहिलो बयान र पछिल्लो ततिम्बा बयान एक अर्कोमा विरोधाभास छन् र वारदातस्थल कुन हो भन्ने कुरा निश्चित भएको छैन । पहिलो सरजमीनमा मेरो पक्षलाई कसैले शंका सम्म पनि देखाएका छैनन् । मेरो पक्षहरूले पद्मकुमारीलाई मार्नुपर्ने कुनै पनि कारण कसैले देखाउँन सकेको छैनन् । तसर्थ मेरा पक्षहरू उक्त वारदातमा संलग्न नभएकोले रिहाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नुभयो ।
३५. विपक्षी वादी श्री ५ को सरकारका तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री कामानन्द देव झाले यी पाँचैजना अयिुक्तहरूले पद्मकुमारीलाई कर्तव्य गरी मारेको कुरा कनुप्रसाद तारानाथको बयान, सरजमीनको भनाई कुप्रे भन्ने मानबहादुरको प्रहरी र अदालतमा भएको बयान समेतबाट प्रष्ट हुनआएकोले अभियुक्त कनुप्रसाद र तारानाथलाई ज्यानसम्बन्धीको १३(१) र अन्य अभियुक्तहरू रुद्रप्रसाद निलप्रसाद र रामप्रसादलाई ऐ.को १३(३) बमोजिम सजाय गर्ने गरेको डि.बे.का.मा.न्या.श्री त्रिलोकप्रताप राणाको राय मनासिव छ भन्ने बहस समेत गर्नुभयो ।
३६. दुवै पक्षका कानुन व्यवसायीहरूले गर्नुभएका बहसहरू समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूबाट भएको राय मनासिव छ छैन ? भन्ने कुरा हेर्नुपर्ने हुनआयो ।
३७. प्रस्तुत मुद्दामा मृतक पद्मकुमारीको मृत्यु कर्तव्यबाट भएको हो भन्ने कुरा अभियुक्तहरू कनुप्रसाद र तारानाथले लास गाडेको भनेको अँधेरी खोला दोभानको चिहानबाट लास निस्केको र सरजमीनका मानिसहरूले गरेको बयानबाट समेत प्रष्ट हुन्छ । अब निज मृतकको मृत्यु कस–कसको कर्तव्यबाट भएको हो भन्नेतर्फ हेर्दा अभियुक्त कनुप्रसादले मिति ०३४।७।१८।५ मा प्रहरी समक्ष बेगल भएका दाजु तारानाथसँग यी बुढीले हामीलाई अनाहकमै धेरै दुःख दिई, त्यो दुःख हैरानी कति सहने बरु मारी दबाइदिउँ जेल जान परे पनि जाउँला भन्ने सल्लाह भई निज पद्मकुमारीलाई हामी दुई भाइले घाँटी समाई मा¥यौं र त्यहीँ नजिक खोल्सामा लगी स्याउलाले पुरपार गरी आयौं भनेर निज पद्मकुमारीलाई कर्तव्य गरी मारेको साविती बयान दिएको पाइन्छ । यस्तै गरी निजले मिति ०३४।८।१० मा अदालत समक्ष गरेको बयानमा सहोदर दाजु तारानाथ रेग्मी नकुले भन्ने निलप्रसाद खनाल, रामप्रसाद भन्ने रामबहादुर श्रेष्ठ, रुद्रप्रसाद ढकाल र आफू समेत पाँचजना भई आफ्नै घर क्यामुनाटारमा दिउँसो १ बजे मारेको हो भन्ने कुरामा सावित भएको छ ।
३८. यसरी अभियुक्त कनुप्रसादले सहोदर दाजु तारानाथ समेत भई कान्छीआमा पद्मकुमारीलाई कर्तव्य गरी मारेकोमा अधिकार प्राप्त निकाय प्रहरी र अदालत दुवै ठाउँमा सावित भएको देखिन्छ। यसका अतिरिक्त ०३४।७।२० मा र ०३४।८।७।३ मा भएको सरजमीनमा पनि मृतक र यी अभियुक्तहरूको २० वर्ष अघि देखि अंशसम्बन्धी झगडा भएकोले सोही रीसबाट कनुप्रसाद र तारानाथले कर्तव्य गरी लास दबाएको पूरा शंका लाग्छ भनी सरजमीनका मानिसहरूले बकेको पाइन्छ । यी सरजमीनका व्यक्तिहरू मध्ये रामबहादुर समेतका ६ जनाले ०३४।१०।२०।५ मा र प्रधानपञ्च अम्बरबहादुर र गा.पं.सचिव खडानन्द ढकालले ०३४।१०।१७।२ मा पद्मकुमारीलाई तारानाथ र कनुप्रसादले कर्तव्य गरी मारेकोमा पूरा शंका लाग्छ अरू मतियार छैनन् भनेर अदालत समक्ष बयान दिएको कुरा मिसिलबाट देखिन आउँछ ।
३९. अर्को अभियुक्त तारानाथ अदालतमा पद्मकुमारीलाई मारेको कुरामा इन्कारी रहेता पनि यदि निज उक्त वारदातमा संलग्न नरहेको भए निजलाई आफ्नै भाइ कनुप्रसादले बिनाकारण उक्त वारदातमा संलग्न रहेको कुरा प्रहरी र अदालत समक्ष पोल्नुपर्ने स्थिति देखिँदैन । निज तारानाथले ०३४।८।४।७ मा प्रहरी समक्ष गरेको ततिम्बामा आफूले पद्मकुमारीलाई घाँटी अँठ्याएको कुरामा साविती भएका छन् र यो बयान निजले स्वतन्त्र रूपले गरेको हो भन्ने कुरा कनुप्रसादको अदालतमा भएको बयानले पनि पुष्टी गर्दछ । यो कुरा कुप्रे भन्ने मानबहादुरको प्रहरी र अदालतमा भएको बयानले पनि समर्थन गर्दछ ।
४०. यसरी माथिका सम्पूर्ण कुराहरूबाट अभियुक्तहरू कनुप्रसाद र तारानाथ रेग्मीले मृतक पद्मकुमारी कान्छीआमा र भतिजा नाताका र उनीहरू बीच १५ वर्ष देखि अंश मुद्दा परी निज पद्मकुमारीले अंश पाउने ठहरी अदालतबाट फैसला भइसकेकोले सो अंश भाग नदिनको लागि दुई दाजुभाइले निजलाई मार्ने मनसाय लिई कनुप्रसादले पद्मकुमारीको छातीमा मुक्काले र तारानाथले घाँटी अँठ्याई मारेको देखिन आएकोले निज अभियुक्तहरू कनुप्रसाद र तारानाथलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्याई गरेको मा.न्या.श्री त्रिलोकप्रताप राणाको राय मनासिव ठहर्छ ।
४१. अब अन्य पुनरावेदक प्रतिवादीहरू रुद्रप्रसाद, निलप्रसाद र रामप्रसाद निज पद्मकुमारीलाई मार्ने कार्यमा संलग्न थिए थिएनन् र निजहरूलाई मा.न्या.श्री त्रिलोकप्रताप राणाले ज्यानसम्बन्धीको १३(३) अन्तर्गत र मा.न्या.श्री हरगोविन्दसिंह प्रधानले १७(३) बमोजिम सजाय गरेको मिलेको छ छैन भन्ने तर्फ हेर्दा मिति ०३४।७।१८।५ मा कनुप्रसादले प्रहरी समक्ष आफू र तारानाथ मात्र भई पद्मकुमारीलाई मारेको भन्ने बयान गरेको र यी पुनरावेदक प्रतिवादीहरू उक्त वारदातमा संलग्न रहेको कुराको पोल गरेको पाइँदैन । अर्का अभियुक्त तारानाथले पनि यी सह–अभियुक्तहरूलाई प्रहरी र अदालत कँही पनि पोलेको पाइँदैन । अभियुक्त कनुप्रसाद र तारानाथले प्रहरीमा पछि ०३४।८।४ मा गरेको ततिम्बा बयानमा मात्र यी रुद्रप्रसाद, निलप्रसाद र रामप्रसाद समेत भई मारेका हौं भनेर बयान गरेका छन् । तर ती पुनरावेदक प्रतिवादीहरू के कति कारणले पद्मकुमारीलाई मार्ने कार्यमा संलग्न भएको हो भन्ने कुनै कारण दिएको देखिँदैन ।
४२. मिति ०३४।८।७।३ मा भएको सरजमीनमा पनि तारानाथ र कनुप्रसादलाई मात्र पोल गरेको र यी पुनरावेदक प्रतिवादीहरू मार्ने काममा संलग्न छन् भन्ने कुराको शंका लाग्दैन झगडा परेको रिसइवीले पोलेको होलान भनेर अधिकांश व्यक्तिहरूले बोलेको पाइन्छ । त्यस्तै गरी जाहेरवाला विष्णुदत्तले अदालतमा गरेको बयानमा पनि कनुप्रसाद र तारानाथलाई मात्र देखाएका छन् ।
४३. यसरी अभियुक्तहरू कनुप्रसाद र तारानाथको प्रहरीमा पहिलो बयान हुँदा यी पुनरावदेक प्रतिवादीहरू रुद्रप्रसाद, निलप्रसाद र रामप्रसादलाई उक्त वारदातमा संलग्नता वा मद्दत दिएको कुराको केही उल्लेख गरेको देखिँदैन । कुप्रे भन्ने मानबहादुरले प्रहरीमा यी तिनै व्यक्तिहरूलाई पोल परेपछि गराइएको ततिम्बामा मात्र यी अभियुक्तहरू कनुप्रसाद र तारानाथले यिनीहरू पनि मार्ने काममा सम्मिलित थिए भनेर बयान दिएको छ । यदि यी तीनैजना प्रतिवादीहरू पनि उक्त वारदातमा संलग्न भए कनुप्रसाद र तारानाथले प्रहरी समक्ष आफ्नो अपराध कबुल गरेको बखत नै यिनीहरूलाई पोल्नुपर्ने थियो । यसका साथै सरजमीन, अदालतमा जाहेरवालाको बयान, सरजमीनका व्यक्तिहरु मध्ये अदालतमा ६ जनालाई गराइएको बयान, यी पुनरावेदक प्रतिवादीहरूको वारदातमा संलग्न भएको कुराको अदालतमा इन्कारी बयान समेतले पनि यी व्यक्तिहरू वारदातमा संलग्न थिए भन्ने कुराको पुष्टि हुनआउँदैन । सह–अभियुक्तहरूको भनाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टी हुनुपर्दछ । तब मात्र त्यस्लाई प्रमाणको रूपमा लिनसकिन्छ । तर प्रस्तुत मुद्दामा त्यस्ता स्वतन्त्र प्रमाणहरूको अभाव छ । यस्तो स्थितिमा पुनरावेदक प्रतिवादीहरू रुदप्रसाद ढकाल, निलप्रसाद खनाल, रामप्रसाद श्रेष्ठले उक्त वारदात गरेको वा सो गर्नमा मद्दत पुर्याएको भनी ठह¥उनसक्ने अवस्था देखिन आउँदैन । तसर्थ जि.अ.र क्षे.अ.को इन्साफ मनासिव गरी डिभिजनबेञ्चका मा.न्या.श्री त्रिलोकप्रताप राणाले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय गर्ने गरेको र मा.न्या.श्री हरगोविन्दसिंह प्रधानले ऐ.को १७(३) बमोजिम सजाय गर्ने गरेको राय मिलेको देखिएन । अतः निजहरूले सफाई पाउने ठहर्छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम देहायका पुनरावेदक प्रतिवादीहरूको हकमा शुरू र पश्चिमाञ्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(१) बमोजिम सजाय गर्ने गरेको इन्साफ मनासिव ठहरेकोले पुनरावेदन गरे बापत केही गर्नुपर्छ कि भन्नालाई शुरू अदालतबाट सर्वस्वसहित जन्मकैद भइसकेको हुँदा अरू सजाय गर्नुपरेन……………………………………………………………………………………………………………..१
प्रतिवादी कनुप्रसाद रेग्मी १, प्रतिवादी तारानाथ रेग्मी १
देहायका पुनरावेदक प्रतिवादीहरूलाई जन्मकैद गर्ने गरी ०३७।३।१२।४ मा गोरखा जिल्ला अदालतबाट फैसला भएकोमा उक्त फैसला उल्टी भई निजहरूले सफाई पाउने ठहरेकोले उक्त कैदको लगत कट्टा गरी दिनु भनी गोरखा जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालत तहसिल फाँटलाई लगत दिनु……………………………………………………………………………………………………………………..२
रुद्रप्रसाद ढकाल १, निलप्रसाद खनाल १, रामप्रसाद श्रेष्ठ १
मिसिल नियमबमोजिम गरी बुझाई दिनु…………………………………………………………………………………………………………..३
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वीबहादुर सिंह
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४० साल पौष २२ गते रोज ६ शुभम् ।