निर्णय नं. ६२५२ – अंश
निर्णय नं. ६२५२ ने.का.प. २०५३ अङ्क ८ संयूक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५० सालको...
निर्णय नं. ६२५२ ने.का.प. २०५३ अङ्क ८
संयूक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
संवत् २०५० सालको दे.पु.नं.. .. १७६६
फैसला मितिः २०५३।३।२५।३
मुद्दाः अंश ।
पुनरावेदक
प्रतिवातीः जि. कपिलवस्तु गा.वि.स. धनकौसी वार्ड नं. ९ मौजे जनकपुर बस्ने हरद्धार पासीको मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने सहजराम पासी
ऐ.ऐ. बस्ने हरिराम पासी ।
ऐ.ऐ. बस्ने खेलावन पासी ।
विरुद्ध
प्रत्यर्थी
वादीः ऐ.ऐ. बस्ने खबुनी पासीन ।
ऐ.ऐ. बस्ने पियारे पासी ।
§ ७ नं. फाराम जग्गावालाको हैसियतले जग्गाको विवरण भर्ने सम्मको प्रयोजनको लागि भएकाले ७ नं. फाराम बेग्लाबेग्लै भर्दैमा अंश भैसकेको भन्न नमिल्ने ।
(प्र.नं. १६)
§ अंशवण्डा भएको कानून वमोजिमको लिखत नभएमा व्यवहार प्रमाणबाट अंशवण्डा भैसकेको कुरा प्रमाणित हुनका लागि त्यसको प्रमाण आवश्यक हुने । (प्र.नं. १६)
पुनरावेदक प्रतिवादी तर्फवाटः
प्रत्यर्थी वादी तर्फवाटः
विद्वान अधिवक्ता श्री एकराज भण्डारी ।
अवलम्बित नजीरः
ने.का.प. २०४८ अंक ठ, नि.नं. ४३२२ पृष्ठ ३५० मा प्रकाशित कृष्ण चमार विरुद्ध वर्खू चमार भएको अंश मुद्दामा प्रतिपादित सिद्धान्त ।
आदेश
न्या. गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत वुटवलको फैसला उपर पर्न आएको प्रस्तूत पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्रको भएकोले उक्त मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. गंगारामको छ छोरा जेठा गजाधर, माहिला हकव्दार, साहिला हरिराम, काहिला बन्सू र कान्छा वन्नर भएको, गजाधर स्वर्गे भै निजको हक खाने प्र. खेलावन र वन्नरको हक खाने पंचम भएको अर्थात उक्त पुस्तावरी मध्ये हामी वादीहरु तथा प्रतिवादीहरु मात्र अंश हक खाने अंशियारा भै सगोल सरावतमा बसी आएका छौं । अंशवण्डा भएको छैन । सगोलको आर्जन कमाईको सम्पत्ति सवै जेठा वाठा विपक्षीहरुकै नाउंमा दर्ता हुंदै आई निजहरुले अराए खटाए अनुसारको कामकाज गरी आएका थियौं । विवाद केही कुनै थिएन । तर मिति २०४०।१।१ देखि विपक्षीहरुसंग खाने मानो छुटर्याई भाग शान्ती ज्ञ।छ भाग जग्गा भोग गर्दै आएका थियौ । २०४३।१।१ देखि विपक्षीहरुले भाग शान्ती जग्गा जोतन नदिई अंश छुटर्याई दर्ता गराई दिन समेत इन्कार गरेकाले नालीश गर्न आएको छूं । विपक्षीहरुबाट तायदाती फांटवारी लिई १।५ भाग अंश छुटर्याई दिलाई पाउं भन्ने समेत व्यहोराको फिराद दावी रहेछ ।
३. वादी दावी अनुसार मैले अंश दिनुपर्ने होईन मेरो आमा अझ पनि जिवित नै छिन । उखडा ऐन, लागू भए देखि नै सवै अंशियारहरुको खानो मानो र अंश समेत छुटर्याई भिन्न भिन्न वसेका छन । कसैसंग कसैको अंश लिनु दिनु छैन । २०४०।१।१ मा मानो छुट्टिएको भन्ने होईन वादी दावी नपुग्ने ठहराई न्याय पाउं भन्ने समेत व्यहोराको प्रतिवादी पचंम पासीको प्रतिउतर पत्र।
४. वादीहरुको फिराद दावी वमोजिम वादीहरु हाम्रो सगोल सराकतमा वसेको होईन । २०४०।१।१ मा खानो मानो छुट्टिएको होईन । ०४२।१।१ गते कुनै कुरा भएका होईन वादी दावी वमोजिम अंश दिनु पर्ने समेत कुनै कुरा होईन । फिराद दावी झुठा हो । १९९९ साल वैशाख १ गते नै वादीको लोग्ने, वावु वन्सु तथा म खेलावनका वावु गजाधर र वन्नर समेत जिवित छंदै निजहरु र हामी हरव्दार, हरिराम समेत ५ जना दाजुभाईले घरसारमा खानोमानो र अंश समेत छुटर्याई लिई दी पृथक पृथक बसी आफुले कमाएको धन लाएको ऋण आफ्ने आफ्नो हुने गरी छुट्टाछुट्टै भोग व्यवहार गरी आएको छु । सो अवस्था अचल जग्गा नभएको वण्डापत्रको लिखत भएको थिएन । हामीहरु र वन्नरको स्वास्नी काना पासिनले समेतले छुट्टाछुट्टै अर्काको उखडा जग्गा कमाएको पछि क्षतिपुर्ति बुझाई नम्वरीमा दर्ता गराई सर्भे नापीमा समेत नापी दर्ता गरी छुट्टाछुट्टै तिरो भरी गरी आएको हुं । आ-आफ्नो घरजग्गाको कर समेत छुट्टाछुट्टै बुझाई ७ नं फांटवारी समेत छुट्टै पेश गरिएको, अनिवार्य वचत, जनगणना परिवारको लगत, मतदाता सुची समेत छुट्टै छुट्टै भएको । पंचम पासीको आमा काना पासिन समेत छुट्टै मौजा बैकुण्ठपुरमा बसोबास गरेकी छिन । वादीहरुले निजलाई नदेखाई झुठा दावा गरेकोले निजलाई अ.वं. १३९ नं. वमोजिम बुझि पाउं हामीले निजि सिप प्रयासबाट आर्जन गरेको जग्गामा अंशवण्डाको १८, ३०, ३५ नं. समेतले अंश पाउने अवस्था नभएकोले वादी दावी खारेज गरी झुठा दावाबाट फुर्सद पाउं भन्ने समेत व्यहोराको प्रतिवादी खेलावन पासी समेतको प्रतिउतर पत्र ।
५. गंगारामको ५ भाई छोरा मध्ये कान्छा वन्नर पासीको म श्रीमती र पंचम छोरा हुन उक्त ५ भाई बीच अंशवण्डा भएको छैन । वादी लगायतका म समेतले अंश पाउनु पर्ने हो भन्ने समेत व्यहोराको पेटबोलीबाट बुझिएकी काना पासिनले शुरु जि.अ. मा गरेको वयान ।
६. वादी प्रतिवादीबाट अंशको तायदाती फांटवारी पेश भै मिसिल संलग्न रहेको ।
७. वादी प्रतिवादीहरुको पैतृक सम्पति नरहेको र पेश भएको फांटवारीबाट सवै प्रतिवादीको नाउंमा अलग अलग जम्मा दर्ता भएको देखिनुको साथै ७ नं. फांटवारी समेत छुट्टाछुट्टै भरेकोबाट प्र.का. नाउंको सम्पत्ति उखडाबाट आर्जन गरेको देखिंदा र यस्तो आफुले दुख गरी आर्जन गरेको सम्पत्तिमा वादीहरुको हकदैया लाग्ने देखिन नआउंदा अंश पाउं भन्ने दावी नपुग्ने ठहर्छ भन्ने शुरु जि.अ.को २०४५।०।१२।२ को फैसला ।
८. हामीहरुका नाउंमा कुनै पनि सम्पत्ति नभएको कुरामा स्वयंम प्रतिवादीहरु सावित भएका छन् । प्र. मध्येकै काना पासिनले वादीले अंश पाउनु पर्ने भनी स्वीकार गर्दा गर्दै र एक पटक अंश दिनुपर्ने स्थिति मिसिलवाट देखि फांटवारी माग भैसकेपछि पुनः पैतृक सम्पति नभएको उखडाको निजी आर्जनको सम्पती वण्डा नलाग्ने भनी हामीलाई अंश नदिलाएको शुरुको फैसला त्रुटिपुर्ण हुंदा सो फैसला वदर गरी न्याय पांउ भन्ने वादीहरुको तत्कालीन लु.अं.अ.मा परेको पुनरावेदन ।
९. यसमा उखडा जग्गा अलग अलग दर्ता रहेको स्थितिमा छुटिृएको ठहराएको शुरु जि.अ.को निर्णय विचारणीय हुंदा अ.वं २०२ नं वमोजिम विपक्षी झिकाउने भन्ने तत्कालिन लु.अं.अ को आदेश ।
१०. प्र. काना पासिन र खतूनी पासिनवाट समेत अंशको तायदाती फांटवारी लिने भन्ने पुनरावेदन अदालत वुटवलको मिति ०४८।१०।२१ को आदेश ।
११. दावी वमोजिम वादीले प्रतिवादीहरुवाट पेश भएको ०४५।१।२३ को तायदाती फांटवारीमा देखाएको ऋणको हकमा साहुको उजुर परेका अवस्था ठहरे वमोजिम हुने हुंदा सो तायदातीको अन्य चल अचल सम्पतिवाट प्र. काना पासिका हकमा वादी पियारेले ०४५।६।२६ मा पेश गरेको तायदाती फांटवारीमा उल्लेखित चल अचल सम्पतिवाट ५ भागको १ भाग अंश पाउने ठहर्ने भै अंश पाउं भन्ने वादी दावी नपुग्ने ठहर्याएको शुरु कपिलवस्तू जिल्ला अदालतको फैसला उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत वुटवलको २०४९।११।१९ को फैसला ।
१२. तायदाती फांटवारीमा ऋण समेत देखाइएकोमा सो तर्फ प्रष्ट ठहर निर्णय नभएको अंशवण्डाको १८ नं. तथा लेनदेन व्यवहारको ८ नं. र अ.वं. १९२ नं. समेतका त्रुटि भएको हुंदा पुनरावेदन अदालत वुटवलको फैसला उल्टाई शुरु कपिलवस्तू जिल्ला अदालतको फैसला सदर कायम गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी खेलावन पासी समेतको यस अदालतमा परेको पुनरावेदन ।
१३. यसमा प्रतिवादी मध्येका हरिराम पासीले २०३९ मार्ग २४ गते को मालपोत कार्यालय कपिलवस्तुको निर्णय समेतले कि.नं. २४,६०,१७ जम्मा ज.वि. ०-१९-१६ उखडावाट प्राप्त गरेकोमा सो समेत वण्डा लाग्ने ठहराएको पुनरावेदन अदालत वुटवलको फैसला मिलेको नदेखिंदा अ.वं. २०२ नं. वमोजिम झगडिया झिकाई आएपछि नियम वमोजिम पेश गर्नु भन्ने यस अदालतको २०५२।७।२७ को आदेश ।
१४. नियम वमोजिम पेश हुन आएको प्रस्तूत मुद्दामा प्रत्यर्थी वादीको तर्फवाट अधिवक्ता श्री एकराज भण्डारीले फिरादमा उल्लेखित पुस्तावारीमा विवाद रहेको अवस्था छैन, मेरो पक्षको नाममा पैतृक सम्पति एवं अचल सम्पति रहेको छैन । मेरो पक्षले उखडा फारम र भुमिसुधारको ७ नं. फारम भरेकै कारणले मात्र अंशवण्डा भैसकेको मानिने र अंश नपाउंने भन्ने स्थिति हुंदैन पुनरावेदन अदालतको फैसला न्यायसंगत हुंदा सदर गरी पांउ भनी वहस प्रस्तूत गर्नुभयो ।
१५. मिसिल अध्ययन गर्दा पुनरावेदन अदालत वुटवलको फैसला मिलेको छ छैन ? भन्ने विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
१६. यसमा विपक्षीहरुवाट अंशवण्डाको २०,२२ र २३ नं. वमोजिम ०४०।१।१ लाई मानो छुट्टिएको मिति कायम गरी तायदाती लिई हाम्रो पुस्तावारी वमोजिम हुने १/५ भाग हामीलाई अंश छुट्याई दिलाई पांउ भन्ने वादी दावी भएकोमा वादीको वावु लोग्ने वसू तथा गजाधर र वन्नर समेत जीवित छंदै निजहरु र हामी हरव्दार हरिराम समेत पांचै जना दाजुभाइहरुले घरसारमा खाने मानो र अंश समेत छुट्याई छुटृाछुटै भोग गरी आएकोले अंश दिनुपर्ने होइन भन्ने प्रतिवादीहरुको प्रतिवाद रहेको पाइन्छ । वादीले फिरादमा उल्लेख गरेको पुस्तावारीमा एवं वादी प्रतिवादी अंशियार रहेको कुरामा विवाद देखिंदैन । अ.वं. १३९ नं. वमोजिम बुझिएका काना पासिनले वादी प्रतिवादीहरु अंशियारा हुन वादी प्रतिवादीहरु तथा मेरो वीचमा समेत अंश वण्डा भएको छैन, जग्गा जमीन सवै सगोलमा नै छ । वादीहरुले सगोलको जग्गा जमीनमा अंश पाउनु पर्ने हो भनी वयान गरेकोबाट वादी प्रतिवादीहरु अंशियारा भई जग्गा जमीन सवै सगोलमा रहेको तथा वादी प्रतिवादीहरु वीच अंश वण्डा नभएको भन्ने वादीको दावी पुष्टि हुन आएको छ । जहांसम्म भुमि सूधारको ७ नं. फारम भर्दा अलग अलग भरेकोले अंशवण्डा भैसकेको भन्ने प्रतिवादीको जिकिर रहेको छ सो सम्वन्धमा विचार गर्दा ७ नं. पाखा जग्गावालाको हैसियतले जग्गाको विवरण भर्ने सम्मको प्रयोजनको लागि भएकाले ७ नं. फारम बेग्लाबेग्लै भर्दैमा अंश भैसकेको भन्न मिल्दैन । अंशवण्डा भएको कानून वमोजिमको लिखत नभएमा व्यवहार प्रमाणबाट अंशवण्डा भैसकेको कुरा प्रमाणित हुनका लागि त्यसको प्रमाण आवश्यक हुन्छ । व्यवहारमा अंशवण्डा भैसकेको भन्ने सम्वन्धमा प्रतिवादीका तथ्ययूक्त प्रमाण पेश हुन सकेको पनि पाईदैन ।
१७. पुनरावेदकले पुनरावेदनमा लिएको उखडाबाट कमाई गरेको जग्गामा अंश नलाग्ने भन्ने जिकिरका हकमा विचार गर्दा ने.का.प. २०४८ अंक ७ नि.नं. ४३२२ पृष्ट ३५० मा प्रकाशित पुनरावेदक प्रतिवादी कृष्ण चमार प्रत्यर्थी वादी वर्खू चमार भएको अंश मुद्दामा उखडामा कमाउंदा प्रतिवादी अन्यत्र स्थानमा रही आफ्नै मात्र श्रम सीपले कमाएको वा वेगल रहेको भन्ने प्रमाण नभएबाट सगोल भै रही कमाएकोमा सवैको श्रम शीपबाट कमाएको मान्नू पर्ने भनी यस अदालतबाट सिद्धान्त प्रतिपादन भैसकेको देखिएको प्रतिवादीले उखडामा कमाएको जग्गा आफु वेगल रही आफ्नो श्रम शीपबाट कमाएको भन्ने प्रमाण गूजार्न सकेको नदेखिएको हुंदा पुनरावेदकको सो सम्वन्धी जिकिर स्वीकार योग्य देखिएन ।
१८. यस प्रकार वादी प्रतिवादीहरु अंशियार भएकोमा विवाद नभएको, अंशवण्डा भैसकेको भन्ने तथ्ययूक्त प्रमाण प्रतिवादीबाट पेश हुन नसकेको तथा अचल सम्पत्ति सगोलमा रहेको देखिन आएकोले वादी दावी नपुग्ने गरेको शुरु कपिलवस्तु जिल्ला अदालतको फैसला उल्टी गरी वादी दावी बमोजिम ५ भागको १ भाग अंश पाउने ठहराएको पुनरावेदन अदालत वुटवलको ईन्साफ मिलेको देखिंदा मनासिव ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील वमोजिम गर्नु ।
तपसिल
माथि ईन्साफ खण्डमा लेखिए वमोजिम पुनरावेदन अदालत वुटवलको ईन्साफ मनासिव ठहरेकोले पुनरावेदन अदालत वुटवलको मिति २०४९।११।१९ को फैसलाले प्रतिवादीहरुबाट वादीहरुलाई भराउने गरेको जम्मा कोर्टफी रु. २४१।९० मध्ये पुनरावेदक प्रतिवादीहरुबाट भरी पाउने कोर्टफी रु.१४५।१४ यस अदालतमा पुनरावेदन गर्दा धरौटी रहेको देखिंदा पुनरावेदक प्रतिवादीहरुबाट उक्त कोर्टफी भराई पाउं भनी कानूनका म्याद भित्र वादीहरुको दरखास्त परेमा उक्त धरौटी रकमबाट वादीहरुलाई कानून बमोजिम भराई दिनु भनी शुरु कपिलवस्तू जिल्ला अदालतमा लेखी पठाई दिनु ….. १
मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छुं ।
न्या. केदारनाथ आचार्य
इति सम्वत २०५३ साल असार २५ गते रोज ३ शुभम् ………………………………. ।