July 28, 1983
Created by nepalarchives

निर्णय नं. १६५२ – लिखत पास

निर्णय नं. १६५२     ने.का.प. २०४० अङ्क ४   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ४४९ सम्वत्...

निर्णय नं. १६५२     ने.का.प. २०४० अङ्क ४

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०३८ सालको दे.पु.नं. ४४९

सम्वत् २०३९ सालको दे.पु.नं. ५१५

सम्वत् २०३९ सालको दे.पु.नं. ३७६

फैसला भएको मिति  : २०४०।४।१२।५ मा

पुनरावेदक/प्रतिवादी : शान्तिदेवी शाह (थापा) मरी मु.स.गर्ने नक्साल बस्ने राजकुमार थापा    समेत

विरूद्ध

विपक्षी/वादी : चन्द्रकुमारी (साविक पेज नं. १६०) मास्केको मु.स.गर्ने सुन्दरराज मास्के

मुद्दा : लिखत पास

(१)                राजीनामा लिखतमा प्रतिवादीहरूको मञ्जूरी साक्षी नभएका कारणबाट लिखत पारित हुँदैन भन्न कानुनसंगत र न्यायोचित नहुने ।

(प्रकरण नं. २१)

फैसला

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

१.     प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य निम्नअनुसार छ ।

२.    कान्छी चौतार्नी दीपकुमारी शाहले मसँग रू.५५,००१। कर्जा लिई निजका नाउँको पोता विर्ता रोपनी ६।।।द्र३ र सो जग्गामा बनेको का.ई.महाराजगञ्जको स्वबासी घरहरू समेत २०११।६।६ गते फार्छै गरी दिएको पास गराउन नपाउँदै ऐ.आश्विन १३ गते दीपकुमारी परलोक हुनुभएको हकवाला अन्यायीहरूलाई भन्दा उसले उसलाई उसले उसलाई देखाई पास गरी नदिएकोले सो पास गराई पाउँ भन्ने समेत चन्द्रकुमारीको फिरादपत्र ।

३.    साँचो व्यवहार भए हामी सबैको मञ्जूरी गराई साक्षी समेत राख्न सक्नुपर्ने नसकेको । सो बखत जिजूबज्यै विरामी सारै छन् लिखत हुनै नसक्ने घरको मुख्य जानीफकार मुमा चित्र राजेश्वरी होइबक्सेकोले मलाई कुनै कुरा थाहा छैन । मुमा बुझी झुठ्ठा दावीबाट अलग हुनपाउँ भन्ने समेत अर्जुनजंग पराक्रम शाहको प्रतिउत्तर, फार्छे गरिदिएको हो । म फार्छेपत्रमा साक्षी बसेको छु भन्ने समेत अनन्तजंग पराक्रम शाहको प्रतिउत्तर ।

४.    फन्तेजंग पराक्रम शाह, पूर्णजंग, खडगजड्ड, डोर दण्डजंग, छत्रजंग, निरजंग, लोकजंग, हरिजंग, शंकरजंग, नारायणजंग रुद्रजंग, पराक्रम शाह समेतले प्रतिउत्तर नदिई शुरू म्याद गुजारेको रहेछ ।

५.    घर जग्गा बिक्री गरेकोमा मलाई साक्षी राख्न सक्नुपर्ने परलोक हुनु ७ दिन अगाडि त्यतिको रूपैयाँ सासूलाई के दरकार पर्‍यो रूपैयाँ कहाँ गयो । सक्कल तमसुक देख्न सुन्न पाए यथार्थ जाहेर गर्ने छु । सो कागज पास गरी दिन मञ्जूर छैन भन्ने समेत पेटबोलीबाट बुझिएका चित्रराजेश्वरीको बयान ।

६.    चौ.अनन्तजंगसँगको अपुताली हक बेहक मुद्दा र बकसपत्र पास मुद्दा किनारा लागेपछि मात्र बयान गर्ने छु । अहिले यस मुद्दामा केही बयान गर्न चाहन्न भन्ने समेत चित्रराजेश्वरीको वा. राजमानको लिखत सनाखत बयान ।

७.    सो फार्छेपत्र लिखत जालसाजी कीर्ते खडा गरेको हो भन्ने समेत पेटबोलीबाट बुझिएका शान्ति शाह भन्ने शान्तिदेवीको वा.पदमबहादुरले गरेको बयान ।

८.    जालसाजी कीर्ते होइन सद्दे साँचो हो भन्ने समेत चन्द्रकुमारीको वा इन्द्रकुमारले गरेको बयान ।

९.    फार्छे लिखत ०११।६।६ को देखिएको । चौ.दीपकुमारी परलोक भई हकदारले पास गरी नदिएको भनी ०११। (साविक पेज नं. १६१) ११।३० गते पाँच महीना चौबीस दिनमा दायर हुनआएको फिरादबाट फार्छे लिखत पास गराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन । पैंतीस दिन भित्र अर्को फिराद दिनु भनी वादीको वारिसलाई सुनाइदिने । सद्दे कीर्ते तर्फ केही गर्न नपर्ने ठहर्छ भन्नेसमेत बा.अं.अ.को फैसला ।

१०.    सो फैसलामा चित्त बुझेन भन्ने समेत सुन्दरराज मास्केको र शान्तिदेवी थापाको पुनरावेदन पत्र ।

११.    १५।१६ बर्ष पछि अर्को नालिस दिनु भनी खारेज गरी दिँदा न्यायोचित नहुने समेत देखिएकोले प्रस्तुत मुद्दा खारेज गरेको अञ्चल अदालतको इन्साफ मनासिव देखिएन । यसै मुद्दाबाट जो बुझ्नु पर्ने बुझी ठहरे बमोजिम निर्णय गरी दिनु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल बागमती अञ्चल अदालतमा बुझाई दिनु भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको फैसला ।

१२.   नारायणजंगका नाउँको तामेली म्याद वेरीत हुँदा अर्को म्याद जारी गर्ने भन्ने समेत ०३०।८।२८ को बागमती अञ्चल अदालतको आदेश ।

१३.   फार्छे पत्र लिखत जालसाजी होइन भन्ने समेत लिखत साक्षी बासुदेवले यो लिखत समेतको लिखत बदर मुद्दामा गरेको बयानको प्रतिलिपि ।

१४.   वादीसँग रूपैयाँ लिई लिखत गरिदिनुपर्ने अवस्था छैन । लिखत भएको भए मुमाको मञ्जूरी लिनुपर्ने सो लिखत देख्नपाए नामाकरण गर्नेछु भन्नेसमेत दक्षजंग पराक्रम शाहको प्रतिउत्तरपत्र ।

१५.   २०११ साल देखिको मुद्दा आजसम्म किनारा नलोगकोले सो मुद्दा सर्वोच्च अदालतबाट निर्णय गरी दिनु भन्ने हुकुम प्रमांगी पाउँ भनी सुन्दरराज मास्केको हकमा इन्द्रकुमारले श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको विन्तिपत्रमा सर्वोच्च अदालतबाट फिर्ता गई बागमती अञ्चल अदालतमा कारवाई चलिरहेको यसमा लेखिएका मुद्दाको मिसिल झिकी सर्वोच्च अदालतबाट हेरी कानुन बमोजिम गरी छिनी दिनु भन्ने हुकुम बक्सेको छ भनी लेखी आएको रहेछ ।

१६.    न्याय प्रशासन सुधार ऐन, २०३१ बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतमा सरी गएको रहेछ ।

१७.   लिखत जाल परीपञ्चबाट खडा गरेको हुनुपर्छ भन्ने नारायणजंग शाहले गर्नुभएको बयान।

१८.   लिखत सद्दे हो जालसाजी होइन भन्ने समेत वादीको वा.इन्द्रकुमारले गरेको बयान ।

१९.    मिति ०११।६।६।४ को रू.५५,००१।को राजीनामा लिखत सद्दे देखिन आई रीतपूर्वकको देखिन्छ । वादी दावी २०११।६।६।४ को रू.५५,००१।को राजीनामा लिखत पारित हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।९।२८।३ को फैसला ।

२०.   पुनरावेदक शान्तिदेवी मरी मु.स.गर्ने राजकुमार थापा पुनरावेदक नारायणजंग भन्ने दक्षजङ पराक्रम शाहको रोहवरमा रही पेश हुनआएको र पुनरावेदक अर्जुनजंग पराक्रम शाहको वारेस विनोद रोक्कालाई नियम बमोजिम नाम पुकार गरी बोलाउँदा उपस्थित हुन नआएको हुँदा प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी हेर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ । (साविक पेज नं. १६२)

२१.   यसमा निर्णयतर्फ हेर्दा चौतार्नी दीपकुमारी शाहले वादी चन्द्रकुमारी मास्केलाई २०११।६।६ मा रू.५५,००१। मा घरसारमा गरी दिएको राजीनामा लिखतमा चौ.अनन्तजंग पराक्रम साक्षी बसेको र निजले लिखत भएको स्वीकार गरी प्रतिउत्तर फिराएको पाइन्छ । अन्य प्रतिवादीहरूले जालसाजीतर्फ तथ्ययुक्त सबूत प्रमाण पुर्‍याई स्पष्ट दावी लिन समेत सकेको देखिँदैन । सो राजीनामा लिखतमा प्रतिवादीहरूको मञ्जूरी साक्षी नभएको कारणबाट लिखत पारित हुँदैन भन्न कानुनसंगत र न्यायोचित नपर्ने हुनाले समेत पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । वादी दावी बमोजिमको २०११।६।६ को रू.५५,००१। को राजीनामा लिखत पारित हुने ठहराएको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ अरू तपसील बमोजिम गर्नु ।

तपसील

वादी चन्द्रकुमारीको मु.स.गर्ने सुन्दरराजलाई प्रतिवादीहरूबाट म.क्षे.अ.का ०३८।९।२८ को फैसला र ०३९।२।३० को लगतले भराउने गरेको कोर्टफी रू.१०। मध्ये पुनरावेदक नाराणजंग भन्ने दक्षजंग पराक्रम शाहले पुनरावेदन गर्दा रू.।७६ पैसा ०३९।४।१४ मा का.जि.अ.मा धरौट राखेको देखिँदा सो धरौटीबाट भराई पाउँ भनी वादीको ऐनको म्यादभित्र दरखास्त परे दस्तुर केही नलिई वादीलाई भराई दिनु र पुनरावेदकबाट भराउने गरेको म.क्षे.अ.को लगत काटी दिनु भनी का.जि.अ.मा लगत दिनु……………………………………………………………………………………….१

मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०४० साल श्रावण १२ गते रोज ५ शुभम् ।(साविक पेज नं. १६३)

 

