निर्णय नं. ४५४९ – सुनको गहना निखनाई पाउँ
निर्णय नं. ४५४९ ने.का.प. २०४९ (ख) अङ्क ६ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद...
निर्णय नं. ४५४९ ने.का.प. २०४९ (ख) अङ्क ६
पूर्ण इजलास
माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
सम्वत् २०४७ सालको दे.पु.नं.७५
फैसला भएको मिति: २०४९।६।२७।३ मा
निवेदिका/प्रतिवादी: का.न.पं. वडा नं.२९ ठमेल केशरमहल बस्ने कृष्णचन्द देवी राणा
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ. वा.नं.२ टंगाल बस्ने पद्मलक्ष्मी राज भण्डारी
मुद्दा : सुनको गहना निखनाई पाउँ
(१) नासो वा धरौट राख्दा नगद सुन चाँदी जुहारात र दुईसय रुपैयाँ देखि बढी मोल जाने अरु माल नासो वा धरौट राख्दा रसीद भर्पाई गराउनु पर्ने बाध्यता ऐनले गराएको पाइने ।
(प्रकरण नं. १७)
(२) नासो धरौट कायम हुनलाई कुनै धन माल बालगिरी दिएको वा बिक्री गर्न वा बन्धक राख्नको निमित्त कसैलाई दिएको हुन पर्ने ।
(प्रकरण नं. १७)
(३) दाम फिर्ता गरेपछि माल फिर्ता दिनेछु भन्ने बोली परी लिखत भएको देखिन्छ । यस प्रकारको व्यवहारमा नासो धरौटको १ नं.र ६ नं.आकर्षित हुने स्थिति देखिंदैन । त्यसकारण नासो धरौटको ७ नं.को हदम्याद नलाग्ने ।
(प्रकरण नं. १७)
निवेदक/प्रत्यवादीतर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
प्रत्यर्थी/वादीतर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा
फैसला
न्या.मोहनप्रसाद शर्मा
१. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालत संयुक्तइजलासको २०४५।११।१ को निर्णय दोहर्याई पाउँ भनी प्रत्यवादीले न्यायिक समिति मार्फत चढाई पठाउनु भएको निवेदनपत्र र न्यायिक समितिबाट चढाई पठाएको पत्र साथ संलग्न पर्चा समेतको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहराई हेरी कानुन बमोजिम गर्नु भन्ने हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालयबाट मिति २०४६।१२।१४ मा लेखी आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य संक्षेपमा यस प्रकार छ :–
२. पिता भिमबहादुरले मेरो लागि बनाई दिनु भएको नम्बरी सुन तोला २८।–।६ अठाइस तोला ६ लालको चन्द्रहार १ र ऐ.सुन तोला ११–९–८ एघार तोला नौमासा आठ लालको चुरी थान ४ समेत जम्मा सुन तोला ४०।१४ चालीस तोला चौध लाल विपक्षीलाई बन्धकी दिई रु. ८,५००।– २०२१।१२।२५।४ मा लिएको थिएँ । उक्त गहना बन्धकी दिएको निस्सा २०२१।१२।२५।४ को लिखत र रु. ८,५००।– बुझाई निखनी लिन भनी २०४० सालमा जाँदा धेरै वर्षको कुरा भयो यति पछि निखन्न मिल्दैन भन्ने जवाफ बक्सेकोले नालिस गर्न आएको छु । उक्त रु. ८,५००।– विपक्षीलाई बुझाउन लगाई उक्त सुनका गहना निखनाई पाउँ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीको फिराद ।
३. फिराद लेखबाट २०२१।१२।२५।४ मा धन माल गहना धरौट राखी रुपैयाँ लिई रसीद भर्पाई गराई लिएको देखिन्छ । नासो ऐन नासो धरौटको ७ नं.अनुसार १० वर्षभित्रको फिराद हुनु पर्नेमा १९ वर्ष पछि २०४० सालमा हदम्याद नाघेको आधारबाट खारेज हुनुपर्छ भन्ने समेत व्यहोराको कृष्णचन्द्रदेवी राणाको प्रतिउत्तर ।
४. वादीले प्रमाण दिएको लिखत २०२१ सालको भई फिरादपत्र २०४० सालमा पर्न आएकोमा १० वर्ष बितिसकेपछि पर्न आएको फिरादबाट नासो धरौटको ७ नं.को म्याद नाघी आएको हुँदा कारवाही गर्न नमिली खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४१।१।१२ को फैसला ।
५. कानुन बमोजिमको लिखतलाई मान्यता नदिई १० वर्षको हदम्याद नाघेको भनी खारेज गर्ने गरेको फैसला त्रुटिपूर्ण छ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीको वागमती अंचल अदालतमा परेको पुनरावेदन ।
६. प्रस्तुत मुद्दा स्पष्ट रुपमा मुलुकी ऐन, नासो धरौटको १ नं.अन्तर्गतको देखिन आएकोले ऐ. को ७ नं.अन्तर्गत नालेस गर्न पर्नेमा वादीले सो गर्न नसकेकोले शुरु का.जि.अ.को इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको वागमती अंचल अदालतको मिति २०४१।७।२८।३ को फैसला ।
७. विपक्षीलाई धितो दिएको सुन सुरक्षाको लागि धरौट राखेको नभई कर्जा लिए वापतको धितो हुनाले नासो धरौटको १ नं.लागू हुने भनी कानुनको गलत व्याख्या गरी भएको फैसला त्रुटिपूर्ण छ । पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको पद्मलक्ष्मी राजभण्डारीले दिएको निवेदन ।
८. २०२१।२।२५।४ को लिखत अनुसारको सुन गहना निखनाई पाउँ भन्ने वादी दावीबाट प्रस्तुत मुद्दा प्रारम्भ भएको देखिन्छ । उक्त लिखतमा दाम फिर्ता गरे पछि माल फिर्ता दिनेछु भन्ने समेत व्यहोरा रहे राखिएको देखिएको र पछि फिर्ता लिने गरी कसैलाई राख्न दिएको लाई नासो तथा ऋण लिए बापत धितो रहेकोमा बन्धकी मानिने हुनाले बन्धकीको रुपमा विवादित सुन गहना राखिएको स्पष्ट हुन्छ । चल भोगबन्धकी राखिने लेनदेन व्यवहारको १४ नं.ले ग्राह्य हुने हुनाले समेत प्रस्तुत विवादमा नासो धरौटको ऐन आकृष्ट हुने अवस्था देखिएन । तसर्थ सबूद प्रमाणको आधारमा ठहर निर्णय गर्नु पर्नेमा शुरुबाट खारेज गरेकोलाई मनासिब ठहर्याएको वागमती अंचल अदालतको फैसला नमिली कानुनी त्रुटिपूर्ण हुँदा न्या.प्र.सु. ऐन, ०३१ (संशोधन सहित) को दफा १३(३) को आधारमा निवेदक वादीलाई पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने मिति २०४२।४।२४।२ को आदेश ।
९. प्रतिवादीले गरी दिएको कागजबाट लेनदेन व्यवहारको १४ नं.बमोजिम भोग वा दृष्टिबन्धक भन्न सकिने अवस्थाको नदेखिँदा लेनदेन व्यवहारको १६ तथा १७ नं.बमोजिम फिर्ता बन्धक राखी कर्जा लिएको भन्नलाई उक्त १६ र ३० नं.को प्रावधान हेरिएमा जहिलेसुकै पनि नालेश लाग्ने गरी हदम्यादको व्यवस्था गरेको देखिन नआउँदा यस्तो अवस्थामा लेनदेन व्यवहारको ४० नं.को हदम्याद २ वर्षभित्र वादीको फिराद परेको समेत देखिन नआएबाट वादीको फिराद खारेज गरेको शुरुको फैसला सदर गरेको अंचल अदालतको इन्साफ मनासिब छ भन्ने समेत व्यहोराको म.क्षे.अ.को मिति २०४४।३।२८ को फैसला ।
१०. लेनदेन व्यवहारको १६ नं.ले थैली तिरी निखन्न पाउने गैह्र कुरामा भन्ने वाक्यांशले मैले बन्धकी राखेको सम्पत्ति थैली तिरी निखनी लिन पाउने हकमा विवाद गर्न सकिंदैन । थैली तिरी निखन्न पाउँ भनी दायर गरेको फिराद कदापि खारेज हुन सक्दैन । साहूको बन्धकी सम्पत्तिमा स्वामित्व नहुने भई दिएको ऋणमा मात्र हक हुने भएकोले सम्पत्ति नै साहूको हुने गरी गरिएको फैसलामा लेनदेन व्यवहारको १६ नं.को व्याख्या सम्बन्धी प्रश्न निहित हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको निवेदनपत्र ।
११. यसमा निवेदक वादीले सुनको गहना बन्धकी राखी रुपैयाँ लिए खाएको कुरामा विवाद देखिंदैन । वादीले त्यस्तो निर्विवाद बन्धकी गहना निखन्न पाउने नपाउने तर्फ कानुनी व्यवस्था के छ भनी लेनदेन व्यवहारको महलको २९ नं.मा हेर्दा चल अचल भोग बन्धक वा दृष्टिबन्धक लिई राखे तमसूक बमोजिमको वा त्यस भन्दा घटी लिई लखबन्धकी राखी थैली लिन हुन्छ बढ्ता लिई सार्न हुँदैन । लखबन्धक परेको चल अचल अघि भोग दृष्टिबन्धक राख्ने रुपैयाँ तिरी निखन्न जाँदा घटी लिई लख सारेकोमा आफूले बन्धक दिएका ठाउँमा तहतहसंगै गई निखन्न जानुपर्छ । पूरा लिई लख सारेकोमा पछिल्ला साहु कहाँ निखन्न गए पनि हुन्छ । पछि लिनेले अघिको भन्दा बढता थैली लिएको र करार लेखेको सदर हुँदैन भन्ने लेखिएको देखिन्छ । यस्तो स्थितिमा कानुनले हदम्यादै नतोकेको विषयमा हदम्यादभित्र फिराद नपरेको भनी खारेज गर्ने गरेको म.क्षे.अ.को फैसलामा उक्त लेनदेन व्यवहारको २९ नं.को प्रत्यक्ष त्रुटि गरी गरेको देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत व्यहोराको यस अदालत संयुक्तइजलासको मिति २०४४।५।७ को आदेश ।
१२. लिने दिनेको बीचमा लेनदेन कारोवार गरी चल धनमाल धितो दिएकोलाई माथि लेखी देखाइएका कानुनी व्यवस्था नासो धरौटको महल भित्र पर्ने नासो धरौटा भन्न नमिली लेनदेन व्यवहार अन्तर्गतको धरौट हो भन्नु पर्ने हुन आएको छ । यस अवस्था लेनदेन व्यवहारको १४ नं.मा भएको व्यवस्थाबाट यस्तो धरौट राखेको चल धनमाल जहिलेसुकै निखन्न आए पनि साहूले आफ्नो थैली बुझी लिई निखन्न दिनु पर्ने व्यवस्था गरेको हुँदा नासो धरौटको ७ नं.र लेनदेन व्यवहारको ४० नं.को म्यादभित्र फिराद नपरेको हुनाले हदम्याद नाघेको फिराद भनी म.क्षे.अ.समेतले खारेज गरेको इन्साफ मनासिब ठहर्न पर्ने भन्ने विपक्षी तर्फका जिरह मनासिब देखिन आएन । प्रस्तुत मुद्दामा इन्साफ दिनु पर्ने देखिन आएकोले कानुन बमोजिम ठहर गर्नु भनी पक्ष विपक्षीलाई तारिख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।११।१ को फैसला ।
१३. श्री ५ महाराजाधिराज सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहराई हेरी कानुन बमोजिम गर्नु भन्ने बक्स भएका हु.प्र. बमोजिम लेखी आएको मौसूफ सरकारका प्रमुख सचिवालय राजदरवारको मिति ०४६।१२।१४ को पत्रमा उल्लिखित मुद्दा दोहराउन सिफारिश जाहेर गरेको न्यायिक समितिको पर्चामा नासो धरौटको महल अन्तर्गत धरौट लिने दिने बीच रकम कर्जा लेनदेन व्यवहार हुँदैन भन्ने व्यवस्था समेत देखिंदैन । नासो धरौटको ६ नं.ले कसैले कसैलाई कुनै माल बालगिरीमा दिंदा लिने दिनेको बीचमा रकमको लेनदेन हुने नै हुँदा उक्त नासो धरौटको ६ नं.को व्यवस्था अनुसार समेत नासो धरौट महल अन्तर्गत नासो धरौट लिने दिनेको बीचमा रकम लेनदेन हुँदैन भन्न मिल्ने देखिंदैन । लेनदेन व्यवहारको ३२ नं.यस सन्दर्भमा अप्रासांगिक रहेको देखिन्छ । लेनदेन व्यवहारको अरु नं.मा भएको व्यवस्थाहरु हेर्दा विवादित धरौटलाई लेनदेन व्यवहार अन्तर्गतको धरौट भन्ने आधारहरु रहेको पाइएन । अतः नासो धरौटको ६ नं.समेतको त्रुटि हुन गएको सर्वोच्च अदालतको फैसला मिलेको देखिएन भन्ने उल्लेख भएको रहेछ ।
१४. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक प्रत्यवादीको तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारीले लिखतमा बन्धकी भन्ने कतै उल्लेख भएको छैन । धरौट राखेको सम्म हो । लिखत व्यहोराबाट नासो धरौट भित्रको व्यवहार हो । लेनदेन व्यवहार अन्तर्गत पर्दैन । लेनदेन व्यवहारको ऐन आकर्षित हुन नसक्ने लेनदेन व्यवहारको ४० नं.ले २ वर्ष भित्र उजूर परेको छैन । तसर्थ वादी दावी खारेज गरेको म.क्षे.अ.को इन्साफ सदर हुनुपर्दछ । सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेको छैन भनी बहस गर्नु भयो । प्रत्यर्थी वादी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री शम्भु थापाले लेनदेन व्यवहारको १४ नं.भोग र दृष्टिमा मात्र सीमित छ । तर लेनदेन व्यवहारको १६ नं.निखनी लिने गैर कुरा भन्दै बन्धक शब्द रहेको छ । लेनदेन व्यवहारको ३० नं.मा आसामीले निखनी लिन आएमा साहुले जस्ताको तस्तै निखनाई दिनु पर्ने प्रावधान भएबाट वादी उक्त ३० नं.को संरक्षणमै छ । यसै गरी लेनदेन व्यवहारको १४ नं.मा एकचोटी बन्धकी दिएपछि सधैको लागि बन्धकी हुने र असामीले भोग वा दृष्टिबन्धकी जहिलेसुकै निखन्न आए पनि निखन्न दिनु पर्ने व्यवस्था गरेको तसर्थ नासो धरौटको हदम्याद प्रस्तुत मुद्दामा आकर्षित नभई लेनदेन व्यवहारको महल आकर्षित हुन्छ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो ।
१५. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत संयुक्तइजलासको इन्साफ मिलेको छ छैन र सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१६. यसमा निर्णय तर्फ विचार गर्दा नम्बरी सुन तोला २८।–।६ अठाइस तोला छ लालको चन्द्रहार १ र सुन तोला ११–९–८ एघार तोला नौमासा आठ लालको चुरी थान ४ समेत जम्मा सुन तोला ४०।१४ चालिस तोला चौधलाल विपक्षीलाई बन्धकी दिई रु. ८,५००।– रुपैयाँ ०२१।१२।२५।४ मा लिएको थिएँ । निखन्न नदिएकोले रुपैयाँ बुझाई निखनाई पाउँ भनी वादीले दावी लिएको देखिन्छ । प्रत्यवादीले धनमाल गहना धरौट राखी रुपैयाँ लिई रसीद भर्पाई गराई लिएको नासो धरौट रहे राखेको विषयमा नासो धरौटको ७ नं.अनुसार लिखत भएका मितिले १० वर्ष भित्रका फिराद नहुँदा खारेज गरी पाउँ भन्ने जिकिर लिएको पाइन्छ । सुनको गहना राखी वादीले रुपैयाँ लिई लिखत भएकोमा विवाद देखिंदैन । त्यसमा दुवै पक्षको मुख मिलेको देखिन्छ ।
१७. सो कारोवार नासो धरौट अन्तर्गतको हो होइन ? सो सम्बन्धमा हेर्नु परेको छ । नासो धरौटको १ नं.मा गैह्र धनमाल नासो वा धरौट राख्दा नगद सुन चाँदी जुहारात बाहेक दुई सय रुपैयाँसम्म मोल जाने माल रसीद भरपाई नगरीकन पनि साक्षी राखी लिन दिन गर्न हुन्छ । नगद सुन चाँदी जुहारात र दुई सय रुपैयाँ देखि बढी मोल जाने अरु माल दिंदा रसीद भर्पाई गराई मात्र दिनु पर्छ सो बमोजिम रसीद भर्पाई नगराई दिएकोमा नालिस लाग्न सक्दैन भन्ने लेखिएको पाइन्छ । यसबाट नासो वा धरौट राख्दा नगद सुन चाँदी जुहारात र दुई सय रुपैयाँ देखि बढी मोल जाने अरु माल नासो वा धरौट राख्दा रसीद भर्पाई गराउनु पर्ने बाध्यता ऐनले गराएको पाइन्छ । नासो धरौटको ६ नं.मा हेर्दा कसैले कुनै धनमाल बालगिरी दिएको वा बिक्री गर्न वा बन्धक राख्न निमित्त कसैलाई दिएकोमा नासो धरौट सरह यसै महल बमोजिम हुन्छ भन्ने लेखिएको छ । यसबाट नासो धरौट कायम हुनलाई कुनै धनमाल बालगिरी दिएको वा बिक्री गर्न वा बन्धक राख्न निमित्त कसैलाई दिएको हुनुपर्छ । प्रस्तुत मुद्दामा दाम फिर्ता गरेपछि माल फिर्ता दिनेछु भन्ने बोली परी लिखत भएको देखिन्छ । यस प्रकारको व्यवहारमा उक्त नासो धरौटको १ नं.र ६ नं.आकर्षित हुने स्थिति देखिंदैन । त्यसकारण नासो धरौटको ७ नं.को हदम्याद लाग्ने भन्न मिलेन ।
१८. तसर्थ सर्वोच्च अदालत संयुक्तइजलासले प्रस्तुत मुद्दामा इन्साफ दिनु पर्ने देखिन आएकोले कानुन बमोजिम ठहर गर्नु भनी पक्ष विपक्षलाई तारिख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिने गरेको इन्साफ मनासिब ठहर्छ । उपस्थित पक्षहरुलाई तारिख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा हामीहरु सहमत छौं ।
न्या.केशवप्रसाद उपाध्याय,
न्या.लक्ष्मणप्रसाद अर्याल
इति सम्वत् २०४९ साल आश्वित २७ गते रोज ३ शुभम् ।