January 25, 1983
Created by nepalarchives

निर्णय नं. १५९७ – उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

निर्णय नं. १५९७    ने.का.प. २०३९  अङ्क १०   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको रि.नं. १७८० आदेश...

निर्णय नं. १५९७    ने.का.प. २०३९  अङ्क १०

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३९ सालको रि.नं. १७८०

आदेश भएको मिति  : २०३९।१०।११।३ मा

निवेदक      : सिं.पा.जि.बार्‍हबिसे गा.पं.वडा नं.९ जम्बुटोल बस्ने धनबहादुर श्रेष्ठ

विरुद्ध

विपक्षी : शा.अ.श्री रामप्रसाद अमात्य, जिल्ला भूमिसुधार शाखा सिन्धुपाल्चोक, सिं.पा.जि.रामचे मानेश्वर गा.पं.वर्डा नं.५ को हाल मानेश्वर गा.पं.वडा नं.२ बस्ने आइत सामी भन्ने ठूलो      आइते साल्मी

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)                कुनै सबूत प्रमाण नखुलाई आधार समेत नदेखाई गरेको निर्णयलाई न्यायिक मन प्रयोग गरी निर्णय गरेको भन्न सकिने अवस्था रहँदैन ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देल

प्रत्यर्थी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर

उल्लिखित मुद्दा :

आदेश

न्या.बब्बरप्रसाद सिंह

१.     प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३९।२।२१ मा दर्ता भई पेश हुन आएको छ  ।

२.    तथ्य यसप्रकार छ : मेरा नाममा सिं.पा.मालमा दर्ता भएको जुगेपानी स्वारा मकै विजन ।।६।२ को जग्गा विपक्षी आइते साल्मीले कमाई आउनु भएको । ०३४ सालदेखि ०३७ सालसम्मको कूत माग्दा दिनु नभएकोले मकै ढोड समेतको अधिया रु.१८४०।भराई मोही निष्कासन गरी पाउँ भनी मेरो निवेदन परेकोमा ०३६ सालसम्मको कूत बुझाएको छु, ०३७ सालको बुझ्न खबर गर्दा नआएकोले बुझाउँला भनी बसेको थिएँ भन्ने विपक्षी आइते साल्मीको प्रतिवादी बयान भएकोमा ०३७ सालको कूत मकै पाथी ।१५ का रु.७८।६७ बुझाउन पर्ने ठर्हछ । विपक्षीले सो कूत बुझाउनु पर्ने ठहर्नाले उक्त जग्गाको मोही यथावत कामय राख्ने भनी विपक्षी जि.का.भूमिसुधार शाखा सिं.पा.चौताराबाट मिति ०३८।६।७ मा निर्णय गरेको रहेछ ।

३.    रिट निवेदन जिकिर यसप्रकार छ : विपक्षी मोहीलाई कूत बुझाउन कानूनले बाध्यता गरेको छ । कूत नबुझे धरौट राख्नु पर्ने, धरौट राखेको छैन भन्ने कुरामा विपक्षी सावित हुनुहुन्छ । कूत नबुझाए मोही निष्कासन गर्ने आदेश दिन सक्नेमा भू.सु.का.ले ऐनको बर्खिलाफ इन्साफ गरेको छ । कूत समेत भराई दिनु पर्नेमा त्यसको विपरीत कूत भराएका छन् । मोही निष्कासन गर्न नपर्ने कुनै आधार दिई निर्णय गर्नु भएको छैन । न्यायिक मन प्रयोग भएको छैन । उत्प्रेषण मिश्रीत परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पूर्जि जारी गरी ०३८।६।७ को निर्णय बदर गरी पाउँ भन्ने समेत निवेदन जिकिर ।

४.    विपक्षीसँग लिखितजवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०३९।३।२० को आदेश ।

५.    जिल्ला कार्यालय भू.सु.शाखा सिन्धुपाल्चोकको निर्णय कानून अनुरुप छ । कूत भराई दिइएन भन्ने निवेदकको भनाई झुठ्ठा छ । मोहीलाई यथावत कायमै राख्ने भनी गरेको निर्णय त्रुटि छैन । विलम्बको आधारमा समेत रिट खारेज गरी पाउँ भन्ने समेत ठूले आइते साल्मीको लिखितजवाफ ।

६.    ०३७ सालको कूत मकै पाथी ।१५ निवदकले भराई लिन पाउने र विपक्षीलाई मोही कायम गर्ने गरी निर्णय भएकोबाट कुनै हक हनन् हुने गरी फैसला भएको छैन, निवदकको दावी जिकिर झुठ्ठा छ भन्ने समेत भूमिसुधार शाखा सिन्धुपाल्चोकको लिखितजवाफ ।

७.    निवदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री रोहिणीराज सिग्देलले कूत भरी पाउने गरी निर्णय गरेपछि मोही निष्कासन नगरेकोमा केही आधार दिएको छैन । सो निर्णय बदर हुनुपर्छ भन्ने समेत र प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले मोही निष्कासन हुनु पर्छ भन्ने बाध्यता छैन, कूत भराउने गरेकै छ । भू.सु.अ.को निर्णयमा त्रुटि छैन भन्ने समेत बहस गर्नु भयो । प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु परेको छ ।

८.    यसमा निर्णयतर्फ हेर्दा ०३७ सालको बाली पनि नबुझाएको हुँदा अधिया शर्तमा कमाएकोले आधा मकै ४। कोदो मुरी ४ समेतको हुने रु.१०४०।भराई निष्कासन गरी पाउँ भन्ने परेको उजुरीमा ०३७ सालको कूत मकै पाथी ।१५ को रु.७८।६७ कूत बुझाउनु पर्ने  ठर्हछ । विपक्षीले सो कूत बुझाउन पर्ने ठहर्नाले उक्त जग्गाको मोही यथावत कायम राख्ने भन्ने प्रत्यर्थी भू.सु.शाखाले निर्णय गरेको देखिन्छ ।

९.    कानून बमोजिम परेको उजुरीमा निर्णय गर्न पाउने अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्याङ्कन गरी न्यायिक मन प्रयोग गरी आधार समेत खुलाई निर्णय गर्नु पर्ने हुन्छ । तर, प्रस्तुत विषयमा मोही यथावत् कायम राख्ने भनी गरेको निर्णयमा सबूत प्रमाणको मूल्याङ्कन गरी आधार खुलाई न्यायिक मन प्रयोग गरी निर्णय गरेको देखिँदैन । त्यसरी कुनै सबूत प्रमाण नखुलाई आधार समेत नदेखाई गरेको निर्णयलाई न्यायिक मन प्रयोग गरी निर्णय गरेको भन्न सकिने अवस्था रहँदैन । तसर्थ प्रत्यर्थी जिल्ला कार्यालय भूमिसुधार शाखा सिन्धुपाल्चोकले कूत बुझाउन पर्ने ठर्हछ, मोही यथावत कायम राख्ने भनी गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो ।

१०.    अतः उपर्युक्त उल्लेख भए अनुसार प्रत्यर्थी जिल्ला कार्यालय भूमिसुधार शाखा सिन्धुपाल्चोकले गरेको मिति २०३८।६।७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । कानून बमोजिम निर्णय गर्नु भनी प्रत्यर्थी कार्यालयका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु । 

 

न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०३९ साल माघ ११ गते रोज ३ शुभम् ।

 

