December 12, 1982
Created by nepalarchives

निर्णय नं. १५८७ – लिखत पास

निर्णय नं. १५८७    ने.का.प. २०३९ अङ्क ९   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.पु.नं. २८० पुनरावेदक/वादी...

निर्णय नं. १५८७    ने.का.प. २०३९ अङ्क ९

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०३८ सालको दे.पु.नं. २८०

पुनरावेदक/वादी : बाँके लगदहवा गा.पं.वार्ड नं.३ बस्ने नारायण सिं च्यामजुङ्

विरुद्ध

विपक्षी/प्रतिवादी : बाँके इन्द्रपुर गा.पं.वार्ड नं.१ बस्ने सैफु तेली

मुद्दा : लिखत पास

(१)                जुन कुरामा प्रतिवादी छैन त्यस्तो कुरामा अदालत स्वयंले तर्क उठाउने अवस्था हुँदैन।   

(प्रकरण नं. ९)

फैसला

न्या.धनेन्द्रबहादुर सिंह

१.     न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ :

२.    प्रतिवादीले रु.३५,०००।लिई ईन्द्रपुर गा.पं.वडा नं.१ (क) कि.नं.१४४, १४६, १८७, २४१, २५१ को ज.बि.११३ र घरबास मिन्हा ऐ.पञ्चायत वाड नं.१ को मगौति चिडीमार, सो पश्चिम बच्चु तेली, सो उत्तर मगौती तेली, सो पूर्व सडक, सो दक्षिण, पूर्व पश्चिम १४ हात, उत्तर दक्षिण ९ हात, माटोको देवाल खपराको छानो भएको गोठ घर १ गोठदेखि उत्तरको उत्तर दक्षिण २० हात, पूर्व पश्चिम १३ हात भएको दुवारा जग्गा दुवारा र गोठ घर सो पश्चिम उत्तर दक्षिण १३ हात, पूर्व पश्चिम ७ हात माटोको देवल खपराको छानो भएका भुइतले बैठक घर १ गोठ घर सो पूर्व उत्तर दक्षिण लम्बा १७ हात, पूर्व पश्चिम ९ हात माटाको देवाल खपराको छानो भएको तरवाहदार बस्ने घर १ भगैती तेलीका घर सो पश्चिम अओटोलाल खटिकको घर सो पूर्व बच्चु तेलीको बारी सो उत्तर दुवारा जग्गा सो दक्षिण ०६ घडेरीवारी जग्गा १ समेत २०३३ साल फाल्गुण २१ गते राजीनामा गरी दिई म्यादभित्र पारित गरी दिनु होस् भनी प्र.सँग भन्दा आलटाल गरी ६ महिना म्याद गुजारी दिनु भएकोले रजिष्ट्रेशनका ५ नं.का म्याद ३५ दिनभित्र फिराद गर्न आएको छु भन्ने समेत नारायण सिंहको फिरादपत्र ।

      ०३४।६।१९ गतेको इतलायनामा म्याद प्र.सेफु तेलीले गुजारेको ।

      वादी नारायण सिंहलाई बिक्री गरेको घर जग्गा घरसारका राजीनामाबाट लेखी दिएको उक्त राजीनामा जुनसुकै अवस्थामा साहु असामी मिली लेखी लेखाई लिन र बच्चु तेलीको अंश मुद्दाको फिराद ०३४।५।३२।४ मा परेपछि घरसारको आडल ०३४।६।६ मा नारायण सिंहले सैफु तेली उपर पास गरी पाउँ भनी दिएको नालेसमा अंश मुद्दा पर्दा पर्दैको अवस्थामा भएको र बच्चु तेलीका अंश मार्नका लागि मिलोमतो गरेको समेत देखिनाले वादी दावी बमोजिमको राजीनामा लिखत रजिष्ट्रेशन पारित नुहने ठहर्छ भन्ने समेत वाँके जिल्ला अदालतको फैसला ।

३.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी नारायण सिंहको पुनरावेदन ।

४.    पुनरावेदकले जुन जग्गा आफूलाई राजीनामा पास गरी पाउँ भन्ने फिराद गरेको छ सो नै जग्गा प्रमाणको रुपमा आएको अंश मुद्दाको तायदातीमा पुनरावेदकलाई बिक्री गरेको भनी देखाई तायदातीमा दिएको देखिएको र सो मुद्दा वादी बच्चु तेलीले अंश पाउने ठहरी फैसला गरेकोमा प्रस्तुत मुद्दाका विपक्षी सैफु तेलीले यस अदालतमा पुनरावेदन गरेकोमा निजले सो तारेख गुजारी ०३६।९।२४ मा सो पुनरावेदन डिसमिस गराएको देखिन नआएकोले पास गरी पाउँ भनेको जग्गा तायदाती भित्र परी बच्चु तेलीले अंश पाउने गरी भएको जिल्ला अदालतको फैसला अन्तिम रुपमा कायम भएको देखिएकोले सोही मुद्दाका तायदाती भित्र यो दावीको जग्गा परेको देखिन आएको र सो तायदातीमा परेको यो दावी जग्गामा यो यति कारण अंश दिन नपर्ने भनी उल्लेख नगरेको र राजीनामा दिने व्यक्तिले इतलायनामाको म्याद गुजारी बसेको कारणबाट सुरु जिल्ला अदालतले पास नहुने ठहराएको इन्साफ मनासिव ठहर्छ । सुरु जिल्ला अदालतले अंश मार्नको लागि मिलोमतो गरेको समेत देखिनाले भनी लेखेको सो बढी बुँदा लेखेको सम्म बदर हुने ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीको निवेदन ।

६.    ०३३।११।२ मा घरसारमा गरी दिएको लिखत पास गरी पाउँ भनी वादीले उजूर गरेकोमा सो जग्गामा बच्चु तेलीको हक कायम भएको पनि वादीको दाता सैफु तेलीको हुन आएको हक सम्म पास गरी दिनु पर्नेमा सो बमोजिम नगरी लिखत पास नहुने ठहराई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णयमा रजिष्ट्रेशनका ५ नं.बमोजिम त्रुटि देखिन आएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको आदेश ।

७.    पुनरावेदक वादी तर्फका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी तथा विपक्ष प्रतिवादी तर्फका विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेलले गर्नु भएको बहस समेत सुनियो ।

८.    प्रस्तुत मुद्दामा सु.प.क्षे.अ.ले गरेको इन्साफ मनासिव बेमनासिव के छ निर्णय दिनुपरेकोछ।

९.    यसमा निर्णय तर्फ हेर्दा प्रस्तुत लिखतको सम्बन्धमा सो लिखत पास हुन नपर्ने भन्ने कारण समेत उल्लेख गरी कसैको प्रतिवाद परेको देखिँदैन । प्र.सैफु तेलीले इतलायनामाको म्याद गुजारी बसेको देखिन्छ । सो लिखतबाट कसैको हक हितमा असर पर्ने भए कानून बमोजिम उजुरी गरी त्यसलाई बदर गराउन पर्ने कुरा हुन्छ । लिखत पास गराई पाउँ भन्ने प्रस्तुत मुद्दा भएको र त्यसमा कसैको प्रतिवादी समेत परेको देखिँदैन । जुन कुरामा प्रतिवादी छैन त्यस्तो कुरामा अदालत स्वयमले तर्क उठाउने अवस्था हुँदैन । वादी दावीको लिखत कानूनको रीत पुगेकै देखिएकोले अन्य कुरामा विचार गरी रहनु पर्ने अवस्था परेन । यस्तो अवस्थामा उक्त लिखत पास गर्नु नपर्ने कुनै कानूनी अड्चन नहुँदा सो लिखत पारित हुने ठर्हछ । लिखत पास  नहुने ठहराएको बाँके जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको सुुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक वादी नारायण सिं च्यामजुङ माथि इन्साफ खण्डमा लेखिए बमोजिम ठहरेकोले वादीले फिराद गर्दा राखेको कोर्ट फी रु.१०।र अन्य दस्तुर ५।४० सुरु उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु.१०।र अनुमतिबाट यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी १।५० समेत जम्मा रु.१९।४० भराई पाउँ भनी प्रतिवादीको जायजात देखाई ऐनका म्याद भित्र वादीको दर्खास्त परे दस्तुर केही नलिई वादीलाई दिनु भनी का.जि.अ.मा लगत दिनु………..१

माथि लेखिए बमोजिम पास हुने ठहराएको मिति ०३३।११।२१ को राजीनामा लिखत पास गरी पाउँ भनी दण्ड सजायको ४४ नं.ऐनको म्याद भित्र वादीको दर्खास्त पर्न आए सो राजीनामा लिखत पारित गरी दिनु भनी सम्बन्धित कार्यालयका नाउँमा लेखी पठाउनु । मिसिल बाँके जिल्ला अदालतमा पठाई दिनु……………………………………………………………….२

नियम बमोजिम मिसिल बुझाई दिनु………………………………………………………………………………………३

 

म सहमत छु ।

 

न्या.त्रिलोकप्रताप राणा

 

इतिसम्वत् २०३९ साल मार्ग २७ गते रोज १ शुभम् ।

 

