निर्णय नं. ७२६७ – बहाल भराई घर खाली गराई पाउं
निर्णय नं. ७२६७ ने.का.प.२०६० अङ्क ९.१० पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी २०६०...
निर्णय नं. ७२६७ ने.का.प.२०६० अङ्क ९.१०
पूर्ण इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा
माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी
२०६० सालको दे.पू.ई.नं. ………….. ५१
फैसला मितिः २०६०।९।१०।५
मुद्दा :– बहाल भराई घर खाली गराई पाउं ।
पुनरावेदक
वादीः का.म.न.पा. वडा नं १३ टंकेश्वर ताहाचल घर भै हाल ल.पु.जि.ल.पु. उप.म.न.पा. वडा नं. १२ लगनखेल वस्ने तुलसी भक्त श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी
प्रतिवादीः का.म.न.पा. वडा नं. १३ कालीमाटी टंकेश्वर वस्ने कृष्णवहादुर मानन्धर
§ विवादित जग्गा गुठीको भएको, पुतलीनानी श्रेष्ठको नाउंमा नै छुट दर्तामा दर्ता भएको, ०३३।६।५ पूर्व गुठीको जग्गामा मोही रहने व्यवस्था नभएको र २०२९।६।५ मा लाल मोहर लागेको तर लागू नै नभएको गुठी सम्बन्धी ऐनले मात्र दर्तावालाको हक समाप्त गरेको अवस्था देखिन आउनुका साथै छुट दर्तावाली पुतलीनानीको अदालतको बयान समेतबाट पुतलीनानीले विष्णु डंगोललाई विवादित जग्गा दिन सक्ने अवस्था र दिएको समेत पुष्टि हुन आउने ।
§ पुतलीनानीको मन्जूरीबाट प्राप्त गरेको जग्गा समेतको लिखत आफूले गरिदिएको हो भनि निज विष्णु डंगोल समेतले स्वीकार गरी रहेको अवस्था देखिंदा वादी दावी बमोजिमको दाता विष्णु डंगोल भएको २०२९।२।२४ को लिखत दावी बमोजिम जालसाजी नभई सद्दे व्यवहारको ठहर्ने ।
§ राधा देवीको दाता र वादी तुलसी भक्तको परदाता पूर्ण महर्जनले गरिदिएको जग्गा रोपनी ०–१३–१ बाहेक सो स्थानमा राधा देवी र यी वादीको नाउंमा अन्य जग्गा प्राप्त भएको भन्ने देखिन आउंदैन भने मूल लिखत भन्दा बढी नै जग्गा खरिद गरी लिने समेतको हक भोगमा रहेको देखिन आउँदा तुलसी भक्त कै राजीनामामा दक्षिण किल्लामा पुतलीनानीलाई देखाएको कारणले साविक कि.नं. ४७ को राधा देवीलाई बिक्री गरे देखि बाहेक अरु जग्गा रहे भएको तथ्यमा विबाद गर्न सकिने अवस्था देखिन नआउने ।
§ प्रत्यर्थी प्रतिवादीले लिएको लिखतमा नै घर उल्लेख भएको, सो घरमा जडान भएको धारा विजुली समेत निजैका नाउंमा दर्ता रहेको देखिन्छ । सो धारा बिजुली जडान गर्न आफूले सहमती दिएको वा निजको नाउंमा जडान भएको होइन, छैन भन्ने जिकिर पुनरावेदक वादी तर्फबाट रहेको देखिदैन । व्लक नम्बर आफ्ना नाउंमा रहेको भन्ने जिकिर लिए पनि मुद्दा परी रहेको अवस्थामा गरेको कार्यले मान्यता पाउन सक्दैन भने सो कारणबाट मात्र रितपूर्वक लिखत गरी लिएको र धारा बत्ती समेत आफ्नो नाउंमा जडान गरी खरिद गरेको मिति देखि नै अविछिन्न रुपमा भोग गर्दै आएको कुरालाई त्यस्तो विवादित व्लक नम्बर लिएको भन्ने झिनो मसिनो कुराले दरिलो र भरपर्दो उल्लेखित लिखत समेतका कागजलाई प्रभावहिन र निस्कृय बनाउन नसक्ने हुँदा घर आफूले बनाई बहालमा दिएको भन्ने वादीको जिकिरसंग सहमत हुने अवस्था नरहने ।
§ प्रतिवादीले खरिद गरी लिएको घर जग्गा यो होइन कि भन्नलाई यी वादीले खरिद गर्दा लिएको जग्गाको ४ किल्लामा दक्षिण पुतली नानी भन्ने रहेको, पुतली नानीको र दाता विष्णु डंगोलको अदालतमा समेत भएको बयानमा पुतलीनानीले विष्णु डंगोललाई घर बनाउन मन्जूर दिएको र विष्णु डंगोलले घर बनाई बिक्री गरेको घर जग्गा नै यही हो भनि स्वीकार गरी रहेको देखिन्छ। विवादको घर भई आएको नक्साबाट यी तुलसी भक्तको घर जग्गा देखि दक्षिण मै रहेको समेत देखिन आउंनाका साथै प्रतिवादीले खरिद गरेको घर अन्यत्र रहेको छ भनी वादीले देखाउन सकेको अवस्था समेत नहुंदा विवादित घर नै विष्णु डंगोलले कृष्णबहादुर मानन्धरलाई पास गरि दिएको घर रहे भएको समेत पुष्टि हुने ।
§ विवादको न.नं. ५ र ६ को घर जग्गा साविक कि.नं. ४७ पचली भैरव दिपमाला गुठीको भै प्रचलित कानूनी व्यवस्था अनुरुप छवायवाली खाने पुतली नानीको मन्जूरीले विष्णु डंगोलले घर बनाई सो घर जग्गा समेत यी प्रत्यर्थी प्रतिवादीलाई विष्णु डंगोलले लिखत गरी दिई २०२९।२।२४ देखि नै यी प्रत्यर्थी प्रतिवादीले हक भोग दर्ता समेत गराएको पुष्टि हुन आएकोले दावी बमोजिम बहाल भराई घर खाली गराई चलन समेत चलाई पाउने ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत हुन नसकिने ।
§ विवादित घर प्रत्यर्थी प्रतिवादीको लिखत भित्रको निजकै हकभोगकै देखिन आएकोले वादी दावी नपुग्ने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहराई पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय मिलेकै देखिंदा सदर हुने ।
(प्र.नं. २१ देखि २३)
पुनरावेदक वादी तर्फवाटःविद्वान अधिवक्ताद्वय श्री प्रकाश वस्ती र श्री वालकृष्ण न्यौपाने
प्रत्यर्थी प्रतिवादी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री सवज्ञरत्न तुलाधर र विद्वान अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री महेश नेपाल
अवलम्वित नजिरः
फैसला
न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५५।३।११ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) अन्तर्गत परेको निवेदनमा निस्सा प्रदान भै पेश हुदां संयुक्त इजलासका माननीय न्यायाधीशहरुका बीच मतैक्य नभई यस पूर्ण इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यसप्रकार छ :–
२. सर्भे नापी हुँदा टंकेश्वर ताहाचल गा.पं. वडा नं १ क कि.नं. ४७ को क्षे.फ. १–१०–२ जग्गाको मोहीमा पूर्ण महर्जन, छुटवालामा पुतली नानी श्रेष्ठ जनाएको, श्री पचली भैरव दिपमाला गुठीको लगतमा दर्ता भै छुटवालावाट पूजा आजा चली आएको, उक्त जग्गा मध्ये ०–१३–१ जग्गा मिति २०२७।११।३ मा पूर्ण महर्जनवाट राधा देवी श्रेष्ठले खरिद गरी लिएको, उक्त ०–१३–१ मध्ये ०–५–१ जग्गा म फिरादीले २०२७।११।९ मा खरीद गरी लिई २०२८ सालमा घर वनाई पछी कित्ताकाट भै कि .नं ११९ को क्षे.फ. ०–५–१ फिरादीको नाउंमा कायम भएको जग्गामा घर बनाई उक्त घर रु २००। मासिक वहालमा लिने दिने मौखिक सहमति भई विपक्षीलाई बहालमा दिई बहाल लिई आएको थिएं । २०४१ सालमा पुनः वहाल बढाई दुवैको मन्जुरीले रु १,०००। लिने दिने गरी आएकोमा २०४२ साल वैशाख देखि उक्त घर आँफैलाई वस्न छाडी दिनु होस् भन्दा नछाडेकोले घरबाट उठाई हटाई फिराद परेको मिति सम्मको हिसावले वहाल विपक्षीवाट भराई चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको तुलसी भक्तको फिराद पत्र ।
३. मेरा नाउँमा मोहियानी नाउँसारी दर्ता भएको भनी ०४०।२।६ गते मलाई गुठी लगत तथा तहविल कार्यालयवाट जानकारी दिएको उक्त जग्गाको कर मैले नै तिरी आएको, विपक्षीको कुनै घर वहालमा लिई बसेको नहुनाले विपक्षीको झुठृा दावावाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको कृष्णवहादुर मानन्धरको प्रतिउत्तर पत्र ।
४. २०२९ सालमा वस्ने प्रतिवादीले जो राजिनामा लिएर वसेको छ सो मानिस लाई उक्त घर वनाएर मौखिक सर्तमा वहाल दिएको भन्ने जुन जग्गा वादीले आफनो समेत विवाद गराएको देखिएको र उक्त घर वादीले वनाएको भन्ने सम्वन्धमा कुनै भरपर्दो प्रमाण नभएको र कुनै शर्त कवुलियतवाट समेत प्रमाणित नगरेको हुँदा गुठी संस्थान वा नापीले कित्ताकाट गर्दैमा वादील्ो प्रमाण नै दीन नसकेको घरलाई प्रतिवादीको प्रमाण मौजुद भएको अवस्थामा होइन् भन्न मिल्दैन । वादीले वनाएको भन्ने प्रमाण नहुदा वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०४४।७।१९ को फैसला ।
५. उक्त फैसला घर वनाउनेको ८ नं ज.मि.को. १८ नं को विपरीत भएकोले उक्त फैसला वदर गरी मेरो फिराद दावी वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको तुलसी भक्तको तत्कालिन अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
६. जालसाजी दावीतर्फ सुरुले केही वोलेको नदेखिएको हुदा वदर गरी दिएको छ । लिखत जालसाजी तर्फ समेत वोली ठहर निर्णय गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल शुरु जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत व्यहोराको तत्कालीन वागमती अचल अदालतको फैसला ।
७. कि.नं. ४७ को क्षे.फ. ०–२–० जग्गा मैले कृष्णवहादुरलाई २०२९ सालमा रजिष्ट्रेशन पास गरी दिएको हुँ र मैले दाता पुतली नानीवाट लिई कृष्णवहादुर मानन्धरलाई दिई सकेकोले सो को सवुद प्रमाण मसंग छैन भन्ने समेत व्यहोराको पेट बोलिबाट बुझिएका व्यक्ति विष्णु डंगोलले अदालतमा गरेको वयान ।
८. का.न.पा वडा नं १३ टंकेश्वरको कि.नं. ४७ को ०–१३–१ मध्ये ०–५–१ जग्गा तुलसी भक्तलाई पास गरी दिएको, मैले २०२८ सालमा नक्सा पास गरी वनाएको घर पनि तुलसी भक्तले आफुले कि.नं. ११९ मा पारी गैरकानूनी तरिकावाट कित्ताकाट गरेको हो भन्ने समेत व्यहोराको श्यामवहादुर श्रेष्ठले गरेको वयान ।
९. कि.नं ४७ को जग्गा पहिला देखिनै विष्णु डंगोलले घर वनाई वसेपछि २०२९।२।२४ मा कृष्णवहादुरलाई लिखत गरी दिएको हो । उक्त लिखत सद्दे साचो हो भन्ने लिखतका साक्षी नानी काजी र दुवै थरीको मन्जुरीले लेखी पास गरेको हो वादीको भनाइ झुठृा हो भन्ने त्रिरत्न वज्राचार्यको वयान ।
१०. मिति २०२९।२।२४ को लिखत सद्दे हो भन्ने कृष्णवहादुर मानन्धर र २०२७।११।३ को लिखत सद्दे हो विपक्षीको वा मिश्री लालले मिति २०४३।८।२७ मा गरेको वयान झुठृा हो भन्ने तुलसी भक्तको वयान ।
११. २०२७।११।९ को राजिनामा र प्रतिवादीले पेश गरेको राजिनामा समेत सद्दे ठहर्छ । राजिनामा सद्दे ठहरे पनि विवादको घर प्रतिवादी कृष्णवहादुर मानन्धरको नै देखिदा वादी दावी पुग्न सक्दैन र वादी प्रतिवादीलाई दण्ड सजायंको १८ नं ले केही गर्नु परेन भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०५१।११।४ को फैसला ।
१२. काठमाडौं जिल्ला अदालतको २०५१।११।४ को फैसला अ.वं. १८४, १८५, १८९, प्रमाण ऐन २०३१ को ३, ५४, ८ किर्ते कागजको ३ नं. समेतको विपरीत भएकोले सो फैसला वदर गरी वादी दावी वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादी तुलसी भक्त को पुनरावेदन अदालतमा परेको पुनरावेदन पत्र ।
१३. विपक्षीको दाता राधा देवीको कागजमा कि.नं. ४७ को जग्गावाट आफुले ०–१३–१ जग्गा प्राप्त गरी ०–५–१ जग्गा विपक्षीलाई दिएकोमा मेरो घर जग्गा समेतलाई आफनो कि.न.. ११९ मा पारी जालसाजी गरेको प्रष्ट भएकोमा जालसाजी नठहराई भएको फैसला त्रुटी पूर्ण हुँदा मेरो दावी अनुरुप जालसाजी धोषित गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी कृष्णवहादुरको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
१४. दुवै पक्षले पेश गरेको राजिनामामा वादीको राजिनामामा घर पनि देखिई वादीको जग्गा नं.नं ७ मा देखिन्छ र सो राजिनामाले प्रतिवादीको हकमा हानीनोक्सानी पुर्याएको नदेखिदा दुवै पक्षको राजिनामा सद्दे ठहर्छ । विवादित घर वादीको हो भन्ने ठोस प्रमाण पेश हुन नआएको र प्रतिवादीको राजिनामामा घर उल्लेख भै कित्ता समेत भिडेकोले वादी दावी वमोजिम प्रतिवादीले वादीलाई वहाल वुझाउनु पर्ने र घरवाट निकाल्न पर्ने नदेखिदा वादी दावी पुग्न सक्तैन । शुरुको फैसला सदर हुने ठहर्छ र दुवै पक्षको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको मिति २०५५।३।११ को फैसला ।
१५. उक्त फैसलामा चित्त वुझेन । प्रस्तुत मुद्दा २०४२ साल मार्गमा दर्ता भएको र विपक्षीले म उपर दायर गरेको हक कायम मुद्दा २०४२ श्रावण मै दर्ता गरेकाले अ.वं. ८९ नं वमोजिम पहिले परेको मुद्दावाट इन्साफ गरी पछि परेको खारेज गर्नु पर्नेमा सो नगरी पछि परेको मुद्दालाई मुख्य वनाई इन्साफ गरिएको र मिति २०३९।१२।१५ को गुठी लगत तथा तहसिल कार्यालयको निर्णय वदर माँग गर्न नसकेको भन्ने आधारमा मलाई हराइएको छ । सोही निर्णयको वदरको लागी यो मुद्दा परेको र ठहर खण्डमा निर्णय वदर गरी पाउने दावी हो भन्ने फैसलाले स्वीकार गरेको कुरामा उल्लेख गरी मिशिल अध्ययनवाट न्यायिक मनको प्रयोग नै नगरी गरेको फैसला अ.वं. ८९,१८४(क), १८५, प्रमाण ऐन, २०३१ को दफा ३,५४ को विपरीत भएको शुरु सदर गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुंदा मुद्दा दोहर्याई हेरी सो फैसला वदर गरी वादी दावी वमोजिम वहाल भराई घरवाट उठाई पाउँ भन्ने समेत व्यहोराकोे वादी तुलसी भक्त श्रेष्ठको यस अदालतमा परेको निवेदन पत्र ।
१६. यसै मुद्दा संग सम्वन्धित दे.पु.नं ४४६७, ४४६८ का मुद्दामा आजै यसै इजलासवाट छलफलको लागि विपक्षी झिकाउने आदेश भएकाले उक्त मुद्दाहरुमा निर्णय हुँदा सोही संग सम्वन्धित प्रस्तुत मुद्दामा समेत प्रत्यक्षरुपमा असर पर्ने देखिएकोले न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को खण्ड (क) (ख) वमोजिम मुद्दा दोहोराउने निस्सा प्रदान गरिएको छ । विपक्षी झिकाई नियम वमोजिम पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५८।३।४को आदेश ।
१७. दुवै पक्षबाट पेश भएको राजीनामा सद्दे ठहर्छ । प्रतिवादीले छुट दर्तावालाको मन्जुरीले विष्णु डंगोलबाट पारित गरिलिएको लिखतमा घर समेत उल्लेख भई आफ्नो हक भएको जग्गाबाट वादी दावी बमोजिम बहाल दिलाई घर खाली गराई पाउं भनी वादीको दावी नपुग्ने गरी काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।३।११ को फैसला मनासिव हुंदा सदर हुने ठहर्छ । माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत नहुंदा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय ।
१८. यसै विवादित घर जग्गा सम्बन्धमा हक कायम गराई पाउं भन्ने दे.पु.नं. ४४६८ को मुद्दामा हक कायम नहुने ठहर भएकोले वादी दावी बमोजिम प्रतिवादी घर बहालमा रहे बसेको देखिन आयो । दावी बमोजिम प्रतिवादीबाट रु.१०००।– का दरले २०४२ साल वैशाख १ गते देखि फिराद परेको मिति २०४२।४।२० सम्मको हुने जम्मा रु.३६६६।६७ वादीले प्रतिवादीबाट बहाल भराई लिन पाउने र घर आफैलाई बस्न चाहिएको भन्ने देखिंदा प्रतिवादीबाट घर समेत खाली गराई चलन समेत चलाई पाउने ठहर्छ । वादी दावी नपुग्ने ठहर्याएको शुरुको सदर गरेको पुनरावेदन अदालतको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको रायसंग सहमत नहुंदा लगाउको मुद्दाहरु साथै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०५९।७।२५ को फैसला ।
१९. नियमानुसार पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तुलसी भक्त श्रेष्ठको तर्फबाट विद्वान अधिवक्ता द्वय श्री प्रकाश वस्ती र बालकृष्ण नेउपानेले विवादको साविक कि.नं. ४७ को जग्गा रोपनी १–१०–२ को मोही पूर्ण महर्जनबाट राधा देवीले जग्गा रोपनी ०–१३–१ खरिद गरी सो मध्ये निज राधा देवीबाट तुलसी भक्तले २०२७।११।९ मा जग्गा रोपनी ०–५–१ जग्गा खरिद गरी लिई २७।२८ सालमा घर निर्माण गरी २०२८ साल देखि प्रत्यर्थी कृष्णबहादुरलाई बहालमा बस्ने गरी घर दिएको हो । विवादको जग्गाको मोही पूर्ण महर्जन हो । विष्णु डंगोल मोही होइनन् । विष्णु डंगोलले गरिदिएको लिखत सद्दे नभई जालसाजी हो । छुट दर्ता वाली भनिएकी पुतली नानीलाई विष्णु डंगोललाई जग्गा दिने अधिकार गुठी संस्थान ऐनले प्रदान गरेको छैन । घर विष्णु डंगोलले बनाएको भन्ने प्रमाण केही छैन । अतः दावी नपुग्ने ठहर गरेको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय मिलेकै हुंदा सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नु भयो । प्रत्यर्थी प्रतिवादी कृष्णबहादुर मानन्धरको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञ रत्न तुलाधर, विद्वान अधिवक्ता द्वय श्री हरिहर दाहाल र महेश नेपालले राधा देवीले खरिद गरी लिएपछि पनि साविक कि.नं. ४७ मा जग्गा बांकी रहेको भन्ने कुरामा बिबाद छैन । राधा देवीले बिक्री गरी निजका नाउंमा बांकी रहेको र यी वादीको हकभोग समेतमा रहेको न.नं. ७ र ८ मा गरी हाल जग्गा रोपनी ०–१३–३–० कायम रहेको छ । यदि वादीको जग्गा नपुग भएको भए राधा देवी तर्फ दावी गर्नुपर्ने थियो, कृष्णबहादुर संग होइन । तुलसी भक्तले घर बनाएको भन्ने आधार प्रमाण पेश गर्न सकेको छैन । निजले विभिन्न प्रयोजनका लागि पटक पटक दिएको निवेदनमा घर समेत रहेको दावी गर्न सकेको छैन । कृष्णबहादुरले विष्णु डंगोलबाट गरी लिएको २०२९।२।२४ को लिखतमै घर समेत उल्लेख भएको छ । सो घर नै विष्णु डंगोलबाट खरिद गरी लिई धारा विजुली आफैले जडान गरी लाग्ने घरको कर समेत यी कृष्णबहादुरले नै तिरी बुझाई आई रहेको हुंदा दावी पुग्ने ठहर गरेको माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय मिलेको छैन । दावी नपुग्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराको वहस प्रस्तुत गर्नु भयो । विद्वान कानुन व्यवसायीहरुको उपर्युक्त बमोजिमको वहस जिकिर समेत सुनी सम्बन्धित मिसिल कागज अध्ययन गरी बिचार गर्दा यस मुद्दामा देहायको प्रश्नका सम्बन्धमा न्याय निरोपण हुनुपर्ने देखिन आयो ।
(१) विवादित २०२९।२।२४ को लिखत सद्दे वा जालसाजी के हो ?
(२) विवादको घर वादीले निर्माण गराएको वादीको दर्ता भोग को हो, होइन ?
(३) फिराद दावी र पुनरावेदन जिकिर बमोजिम विवादित घरको दावी बमोजिम बहाल प्रतिवादीबाट वादीले भराई पाउने र प्रतिवादीले घर खाली गरिदिनु पर्ने हो होइन ?
२०. सर्वप्रथम पहिलो प्रश्न २०२९।२।२४ को विष्णु डंगोलबाट प्रत्यर्थी प्रतिवादी कृष्णबहादुर मानन्धरले गरी लिएको लिखत सद्दे जालसाजी के हो भन्ने सम्बन्धमा निर्णयतर्फ विचार गर्दा विवादित साविक कि.नं. ४७ को जग्गा पचली भैरव दिप माला गुठीको भई मोही पूर्ण महर्जन भएको, विष्णु डंगोल सो जग्गाको मोही नरहेको र छवाय वाली खाने पुतली नानीलाई जग्गा दिने अधिकार समेत नरहेको हुंदा सो लिखत सद्दे होइन किर्ते जालसाजी हो भन्ने पुनरावेदक वादीको जिकीर रहेको देखिन्छ । छवायवाली खाने पुतली नानीको मन्जूरीले सो जग्गामा घर बनाएको र कृष्णबहादुरलाई बिक्री गरेको भन्ने विष्णु डंगोलको बयान रहेको र विष्णु डंगोलबाट निजको नाउं हक भोगको घर सहितको जग्गा आफूले खरिद गरि लिएको हुंदा लिखत सद्दे हो भन्ने जिकिर प्रतिवादी कृष्णबहादुरको रहेको पाइन्छ । विवादको साविक कि.नं. ४७ को जग्गा पचली भैरव दिप माला गुठीको भई पुतली नानी श्रेष्ठका नाउंमा दर्ता भएको छुट गुठीको जग्गा रहेको र सो मा जग्गा रोपनी १–१०–२ जग्गा रहेको भन्नेमा दुवै तर्फको मुख मिलेकै देखिन्छ । सो जग्गा रोपनी १–१०–२ मध्ये राधा देवीले ०–१३–१ र राधा देवीबाट सो ०–१३–१ मध्ये ०–५–१ यी वादीले खरिद गरी लिएको भन्नेमा पनि विवाद छैन । तुलसी भक्तले राधा देवीबाट जग्गा खरिद गरी लिंदाको चार किल्ला हेर्दा दक्षिण तर्फ पुतली नानीको जग्गा भन्ने देखाएबाट वादी तुलसी भक्तको दक्षिणपटिृ पुतली नानीको नाउं दर्ताको जग्गा वांकी रहेको देखिन आउंछ भने सो साविक कि.नं. ४७ को जग्गामा राधा देवी र तुलसी भक्तले लिए देखि बाहेक अरु जग्गा नरहेको भन्ने भनाई पनि यी वादीको रहेको र श्रेस्ताबाट पनि त्यस्तो देखिन आउंदैन । जहांसम्म विवादको साविक कि.नं. ४७ को जग्गाको मोही पूर्ण महर्जन हुन्, विष्णु डंगोल होइनन् भन्ने पुनरावेदक वादीतर्फको कथन छ ,त्यस तर्फ बिचार गर्दा निज विष्णु डंगोलले यी प्रत्यर्थी प्रतिवादीलाई २०२९।२।२४ मा विवादित घर जग्गा बिक्री गरी हक हस्तान्तरण गरेकोबाट सोही बेलाको कानूनी व्यवस्थाको विवेचना हुन पर्ने हुन्छ । तत्काल प्रचलित गुठी संस्थान ऐन, २०२१ ले त्यस्तो जग्गामा मोही लाग्ने व्यवस्था गरेको देखिदैन । ०३३।६।४ सम्म प्रचलनमा रहेको गुठी संस्थान ऐन, २०२९ को दफा २६ को प्रतिवन्धात्मक वाक्यांशको (१) ले गुठी तैनाथी जग्गामा संस्थानले लिखित मन्जूरी गरी मोहियानी प्रदान गरेकोमा बाहेक २०३० साल चैत्र मसान्तसम्म त्यस्तो जग्गामा कसैले मोहियानी हक प्राप्त गर्ने छैन ….. भन्ने व्यवस्था गरेको र २०३३।६।५ देखि लागू भएको गुठी संस्थान ऐन, २०३३ ले मात्र त्यस्ता जग्गामा खास जोताहाको मोहियानी हक रहने व्यवस्था गरेको देखिन्छ । यसबाट सो जग्गाको हक प्राप्त मोही २०३३।६।४ सम्म कुनै निश्चित व्यक्ति रहन सक्ने अवस्था नभई छवायवाली खाने व्यक्तिको तजविजमा या निजको मन्जूरीमा जो सुकै व्यक्तिले कूत बुझाई जग्गा कमोद गर्न सक्ने अवस्था रहेको देखिन्छ । छुट दर्ता वाली पुतली नानीले अदालतमा आई बयान गर्दा समेत विवादको जग्गामा घर निर्माण समेत गर्न विष्णु डंगोललाई आफूले मन्जूर गरी दिएको र निज विष्णु डंगोलले घर बनाई सो घर समेत यी प्रतिवादी कृष्णबहादुर मानन्धरलाई लिखीत गरी दिएको हो भनी किटानी साथ खुलाई दिएको अवस्था देखिंदा समेत प्रतिवादीको व्यहोरा खम्बिर भई प्रमाणित भइरहेको देखिन्छ । गुठी अधिनस्थ जग्गामा दर्तावालाको हक अधिकार समाप्त हुने व्यवस्था गुठी संस्थान ऐन, २०२९ को दफा २५ ले गरेपनि सो ऐन २०२९।६।५।५ मा लालमोहर लागेका तर सो ऐन लागू नै नहुंदै सो पूर्व नै पुतली नानीले विष्णु डंगोललाई मन्जूरी दिएको निज विष्णु डंगोलले घर बनाई बिक्री गरेको भन्ने कुरा पारित २०२९।२।२४ का लिखतबाट पुष्टि भएको देखिंदा दर्तावालाको हक समाप्त भई सकेको अवस्थामा मन्जूर दिन पुतली नानीलाई अधिकार नरहेको भन्ने वादी कथन कानूनी तवरबाट पुष्टि हुन सकेको छैन ।
२१. यसरी विवादित जग्गा गुठीको भएको, पुतलीनानी श्रेष्ठको नाउंमा नै छुट दर्तामा दर्ता भएको, ०३३।६।५ पूर्व गुठीको जग्गामा मोही रहने व्यवस्था नभएको र २०२९।६।५ मा लाल मोहर लागेको तर लागू नै नभएको गुठी सम्बन्धी ऐनले मात्र दर्तावालाको हक समाप्त गरेको अवस्था देखिन आउनुका साथै छुट दर्तावाली पुतलीनानीको अदालतको बयान समेतबाट पुतलीनानीले विष्णु डंगोललाई विवादित जग्गा दिन सक्ने अवस्था र दिएको समेत पुष्टि हुन आएको छ । निज पुतलीनानीको मन्जूरीबाट प्राप्त गरेको जग्गा समेतको लिखत आफूले गरिदिएको हो भनि निज विष्णु डंगोल समेतले स्वीकार गरी रहेको अवस्था देखिंदा वादी दावी बमोजिमको दाता विष्णु डंगोल भएको २०२९।२।२४ को लिखत दावी बमोजिम जालसाजी नभई सद्दे व्यवहारको ठहर्छ । अतः जालसाजी भन्ने पुनरावेदक वादी तर्फको कथनसंग सहमत हुन सकिने अवस्था देखिन आएन ।
२२. दोश्रो प्रश्न विवादको घर वादीले निर्माण गराएको हो, होइन ? भन्ने सम्बन्धमा विचार गर्दा राधादेवीबाट प्राप्त गरेको जग्गा रोपनी ०–५–१ मध्येमा विवादित घर २०२८ सालमा बनाई प्रतिवादी कृष्णबहादुर मानन्धरलाई बहालमा रहन दिएको, हाल वहाल नदिएकोले बहाल दिलाई घर खाली गराई पाउं भन्ने पुनरावेदक वादीले जिकिर लिई विष्णु डंगोलले घर बनाएको भन्ने प्रमाण नरहेको, घर जग्गा कर आफैले बुझाएको, घरको व्लक नम्बर आफ्नो नाउंमा रहेको कारण आधारबाट सो घर आफ्नो हो भन्ने कारण समेत उल्लेख गरी आफ्नो दावी जिकिर पुनरावेदक वादीले पुष्टि गर्न खोजेको देखिन्छ । करदाता पूर्ण महर्जनले कि.नं. ४७ को ज.रो. १–१०–२ मध्येबाट ०–१३–१ जग्गा दाता राधा देवीले खरिद गरी लिएको र राधा देवीबाट सो जग्गा रोपनी ०–१३–१ मध्येबाट ०–५–१ जग्गा यी वादीले खरिद गरि लिएको भन्ने देखिन्छ । राधादेवीले पूर्ण महर्जनबाट र यी वादीले राधा देवीबाट पास गराई लिएको लिखतबाट यी वादीले लिएको जग्गा रोपनी ०–५–१ जग्गामा घर रहेको भन्ने देखिदैन । मिति २०४५।१०।२ मा भई आएको नक्सा मुचुल्का र नक्सा प्रिन्ट अनुसार यी वादी तुलसी भक्तको घर रहेको न.नं. ७ को जग्गा रोपनी ०–३–०–१ र यी वादीका दाता राधा देवी श्रेष्ठको नाउंको न.नं. ८ को घर जग्गामा जग्गा रोपनी ०–१०–२३ समेत गरी जम्मा जग्गा रोपनी ०–१३–३–० रहेको देखिन आउंछ । राधा देवीको दाता र वादी तुलसी भक्तको परदाता पूर्ण महर्जनले गरिदिएको जग्गा रोपनी ०–१३–१ बाहेक सो स्थानमा राधा देवी र यी वादीको नाउंमा अन्य जग्गा प्राप्त भएको भन्ने देखिन आउंदैन भने मूल लिखत भन्दा बढी नै जग्गा खरिद गरी लिने समेतको हक भोगमा रहेको देखिन आउंछ । माथि प्रश्न नं. (१) को निरोपणको सिलसिलामा गरिएको विश्लेषणबाट तुलसी भक्त कै राजीनामामा दक्षिण किल्लामा पुतलीनानीलाई देखाएको कारणले साविक कि.नं. ४७ को राधा देवीलाई बिक्री गरे देखि बाहेक अरु जग्गा रहे भएको तथ्यमा विबाद गर्न सकिने अवस्था देखिन आउंदैन । विष्णु डंगोलको लिखत सद्दे देखिएको र सो लिखतमा नै घर उल्लेख भएको पाइन्छ भने तुलसी भक्तको लिखतमा घर उल्लेख भएको देखिदैन । तुलसी भक्तले आफ्ना नाउंको जग्गा नाउंसारी गरी पाउं भनि २०२७।११।९ मा गुठी लगत जांच कार्यालय, जग्गा धनि प्रमाण पूर्जा पाउं भनि २०३९।१२।१३ मा गुठी लगत तथा तहविल कार्यालयमा जग्गा खरिद बिक्री गर्न सहमती पाउं भनि ०४१।६।१४ मा गुठी संस्थान केन्द्रीय कार्यालयमा मिति २०४१।३।२७ मा अर्थ मन्त्री र ०४१।८।११ मा श्री ५ महाराजाधिराजका हजूरमा दिएको विन्तिपत्रमा समेत जग्गा खरिद बिक्री सम्बन्धी भन्ने मात्र उल्लेख भई दावीको घरको सम्बन्धमा कुनै दावी जिकिर र घर रहेको व्यहोरा उल्लेख गरेको पाइदैन । प्रत्यर्थी प्रतिवादीले लिएको लिखतमा नै घर उल्लेख भएको, सो घरमा जडान भएको धारा विजुली समेत निजैका नाउंमा दर्ता रहेको देखिन्छ । सो धारा बिजुली जडान गर्न आफूले सहमती दिएको वा निजको नाउंमा जडान भएको होइन, छैन भन्ने जिकिर पुनरावेदक वादी तर्फबाट रहेको देखिदैन । व्लक नम्बर आफ्ना नाउंमा रहेको भन्ने जिकिर लिए पनि मुद्दा परी रहेको अवस्थामा गरेको कार्यले मान्यता पाउन सक्दैन भने सो कारणबाट मात्र रितपूर्वक लिखत गरी लिएको र धारा बत्ती समेत आफ्नो नाउंमा जडान गरी खरिद गरेको मिति देखि नै अविछिन्न रुपमा भोग गर्दै आएको कुरालाई त्यस्तो विवादित व्लक नम्बर लिएको भन्ने झिनो मसिनो कुराले दरिलो र भरपर्दो उल्लेखित लिखत समेतका कागजलाई प्रभावहिन र निस्कृय बनाउन सक्दैन । अतः घर आफूले बनाई बहालमा दिएको भन्ने वादीको जिकिरसंग सहमत हुने अवस्था रहेन ।
२३. प्रत्यर्थी प्रतिवादी कृष्णबहादुरले खरिद गरी लिएको घर जग्गा यो होइन कि भन्नलाई यी वादीले खरिद गर्दा लिएको जग्गाको ४ किल्लामा दक्षिण पुतली नानी भन्ने रहेको, पुतली नानीको र दाता विष्णु डंगोलको अदालतमा समेत भएको बयानमा पुतलीनानीले विष्णु डंगोललाई घर बनाउन मन्जूर दिएको र विष्णु डंगोलले घर बनाई बिक्री गरेको घर जग्गा नै यही हो भनि स्वीकार गरी रहेको देखिन्छ । विवादको घर भई आएको नक्साबाट यी तुलसी भक्तको घर जग्गा देखि दक्षिण मै रहेको समेत देखिन आउंनाका साथै प्रतिवादीले खरिद गरेको घर अन्यत्र रहेको छ भनी वादीले देखाउन सकेको अवस्था समेत नहुंदा विवादित घर नै विष्णु डंगोलले कृष्णबहादुर मानन्धरलाई पास गरि दिएको घर रहे भएको समेत पुष्टि हुन्छ ।
२४. माथि गरिएको पुनरावेदक र प्रत्यर्थी प्रतिवादीहरुले पेश गरेको प्रमाण कागजातको समष्टिगत मुल्यांङ्कन र तत् सम्बन्धी कानूनी व्यवस्था समेतबाट विवादको न.नं. ५ र ६ को घर जग्गा साविक कि.नं. ४७ पचली भैरव दिपमाला गुठीको भै प्रचलित कानूनी व्यवस्था अनुरुप छवायवाली खाने पुतली नानीको मन्जूरीले विष्णु डंगोलले घर बनाई सो घर जग्गा समेत यी प्रत्यर्थी प्रतिवादीलाई विष्णु डंगोलले लिखत गरी दिई २०२९।२।२४ देखि नै यी प्रत्यर्थी प्रतिवादीले हक भोग दर्ता समेत गराएको पुष्टि हुन आएकोले दावी बमोजिम बहाल भराई घर खाली गराई चलन समेत चलाई पाउने ठहर गरेको संयुक्त इजलासका माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत हुन सकिएन । माथि गरिएको विश्लेषणबाट विवादित घर प्रत्यर्थी प्रतिवादीको लिखत भित्रको निजकै हकभोगकै देखिन आएकोले वादी दावी नपुग्ने ठहर गरेको शुरु फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने ठहराई पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर गरेको माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठको राय मिलेकै देखिंदा सदर हुन्छ। नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उपर्युक्त रायमा सहमत छौं ।
न्या.कृष्णकुमार वर्मा
न्या.मीनबहादुर रायमाझी
इति संवत् २०६० साल पौष १० गते रोज ५ शुभम् …..